याम्बुनेर: एक पठन नेपाल देशलाई "चार जात छत्तीस वर्णको फूलबारी" भनिन्छ। उसैगरी "थरी थरी बाजा एउटै गीत" भनेर बहुसांस्कृतिक बहुल जाति भएको राष्ट्र भनेर परिचय दिइन्छ। वास्तविकता भने यस्तो कहिले थिएन। जमिनी स्तरमा राष्ट्र धर्म, नश्ल, जात, वर्गमा विभाजित थिए। सत्तामा रहेको समूहले सत्ताको आडमा फरक धर्म, नश्ल, जात, संस्कार र गरिबीमा रहेका निमुखा जनसमूहलाई जहिले थिचोमिचो गरेर नै शासन चलाए। यही धरापमा परेको र सत्ताको दलनमा परेको जात गोष्ठी मध्ये तामाङ चरम प्रताडनमा पर्न पुगेको इतिहासको डोबहरूले बताउँछ। तामाङ गोष्ठी पहिला किपटमा रहने मूलवासी थिए। नेपालको एकीकरण पछि उन्नाइसौं शताब्दीको प्रारम्भिक दशकबाट तामाङको समस्त किपट समाप्त भयो। सम्वत १९१० को मुलुकी ऐनले तामाङलाई मासिने मतवाली भनेर बेचविखनमा पर्न सक्ने जात गोष्ठीमा दर्ता गर्यो। यो ऐनले सम्पूर्ण नेपाली जाति समूहलाई चार भागमा विभाजन गरेर जाति वरीयता एवम सोही अनुरुपको दण्ड विधान तय गरिएको थियो। तामाङलाई तेस्रो वर्गमा राखेको थियो। ( यो वर्गीकरण जङ्गबहादुर राणाको नयाँ प्रयोग नभइ प्रचलित हिन्दू दण्ड विधानको अनुरसण थियो र प्र...