तेन्जिङको कथा डाँडामा घाम आइसकेको अघि नै हो, झलमल्ल छ अहिले। पल्लो कुना बाट झुल्केको घाम निकै माथि चडेको छ। घाँस दाउरामा जानेहरू गइसके। पानी पँधेरो गर्ने पनि निकै माथि पुगिसकेका छन, सायद मुहान कै छेउछाउ होला। हुनत धेरै तल खोला सुसाइरहेको छ। तर माथिल्लो गाउँका गाउँलेहरू तल खोलामा झर्नु भन्दा माथि तिरतिरे धारामा जानू सहज मान्दछन। केही हुनेखाने ठूलाठालु मन्डल, कारबारी र सामन्तीहरूका भने कि त बाँसको धारा नभए पोलिथिन पाइप तानेर घरमा पुर्याएका छन पानी। कसैले भेडा बाख्रा र गाई गोरु पनि चरणमा लगिरहेका देखिन्छन् । बिर्खे छेत्री, धनबहादुर कटुवाल आदि ले दुधको ठेकी बोकेर बजार गइसकेको पनि निकै समय बितेको हो। खरले छाएको घरहरूबाट धुवाँ निस्केको देखिन लागेको छ। च्यादर घर र ताले घरहरूबाट भने सल्याङबल्याङ मान्छेहरूको आवतजावत र हल्ला हुन लागेको थाहा पाइन्छ। कतै कतै नानीहरू चिच्याएर रोएका, साना साना केटाकेटीहरू आँगनतिर खेल्न लागेको देखिन थालेको छ। तेन्जिङको निद्रा अघि नै खुलेको हो। एकपटक उसले झ्यालबाट पर पाखातिर पनि हेर्...