तेन्जिङको कथा
डाँडामा घाम आइसकेको अघि नै हो, झलमल्ल छ अहिले। पल्लो कुना बाट झुल्केको घाम निकै माथि चडेको छ। घाँस दाउरामा जानेहरू गइसके। पानी पँधेरो गर्ने पनि निकै माथि पुगिसकेका छन, सायद मुहान कै छेउछाउ होला। हुनत धेरै तल खोला सुसाइरहेको छ। तर माथिल्लो गाउँका गाउँलेहरू तल खोलामा झर्नु भन्दा माथि तिरतिरे धारामा जानू सहज मान्दछन। केही हुनेखाने ठूलाठालु मन्डल, कारबारी र सामन्तीहरूका भने कि त बाँसको धारा नभए पोलिथिन पाइप तानेर घरमा पुर्याएका छन पानी। कसैले भेडा बाख्रा र गाई गोरु पनि चरणमा लगिरहेका देखिन्छन् । बिर्खे छेत्री, धनबहादुर कटुवाल आदि ले दुधको ठेकी बोकेर बजार गइसकेको पनि निकै समय बितेको हो।
खरले छाएको घरहरूबाट धुवाँ निस्केको देखिन लागेको छ। च्यादर घर र ताले घरहरूबाट भने सल्याङबल्याङ मान्छेहरूको आवतजावत र हल्ला हुन लागेको थाहा पाइन्छ। कतै कतै नानीहरू चिच्याएर रोएका, साना साना केटाकेटीहरू आँगनतिर खेल्न लागेको देखिन थालेको छ।
तेन्जिङको निद्रा अघि नै खुलेको हो। एकपटक उसले झ्यालबाट पर पाखातिर पनि हेर्न भ्याएको हो। तर उठने जाँगर चलेन । धुसाले अनुहार गम्लङ छोपेर
ऊ सुतेको थियो। त्यतिनै बेला उसले उसकी आमाको चर्को स्वर सुन्यो र ढाडमा ढ्याप ढ्याप कसैले हिर्काएको लाग्यो। निकै दुख्ने गरी हिर्काएको उसलाई लाग्यो। रिसले आगो भएर लुगा फ्यात्त्त फ्याक्यो र त्यो हिर्काउनेलाई जाइलाग्न मुडकी कस्यो। उसकी आमाले उसलाई दाबिलोले ढ्याप ढ्याप हिर्काइरहेको रहिछ, छिटो उठ भनेर । आमालाई हात फर्काउन उसको आँट थिएन।
"किन हिर्का'को? अन्त उठ भन्यो भने उठछु त।" उसले रिसाएर भन्यो ।
"तँ उठछस कि अझै दाबिलोले दिऊँ?
के साह्रो सता'को मलाई ? तँ काँ गा'को थिइस? दुई दिन भइसक्यो , आजु मात्तै दे्ख्दैछु।
तेरो आपाले मलाई करा'को कराकै छ। केरा सिङ ( केहर सिहं) को भारी कालेबुङबाट ल्याउनु भनेर बोनेको कति भयो? तँले किन नमानेको ? अटेरी गरेको ?
खा मेरो मासु, घीच। कति दुखा देको मलाई "
यति भनेर त्यही रुन थालिन् ।
"छे ....अब के भाको? रुनु चेन कि पर्यो। म जान्छु । आजु जान्छु । नारुन।
खइ के खाएर जानू भन न?"
दुई दिन अघि देखि तेन्जिङ घर आएको थिएन। माथिल्लो गाउँमा मरौ परेको थियो। गाउँको एक पाको मान्छे फुर्बा घिसिङ परलोक भएको थियो। मलामी गएको थियो ऊ। अब उन्चासको काम थियो। त्यो गाउँमा तामाङ लामा थिएन र भोटे लामा नै चलाउने गर्थ्यो। यो काममा यसैले त्यहाँको गुम्बाको लामाले नै सबै गरिरहेको थियो। लामाको नाम ङाकपा लामा थियो। लामो नकाटेको केश कोरेर लाछाले बटारेको थियो। उसले अन्य लामाले जस्तो कलेजी रङ्गको नलगाएर सेतो रङ्गको लुगा हुन्थ्यो। लामालाई उसले लोबेन भन्थ्यो। निकै सम्मान गर्नेले रिम्पोछे नभए टुल्कु भनेर सम्बोधन गर्थे। बेला बेला उसित बातविवाद भइबस्थ्यो। यसैले लोबेन तेन्जिङ भने पछि चिडिने गर्थ्यो।
डम्बरे (डम्बर कटुवाल) आएको देखेर उसित गफ गर्न थालेको थियो। डम्बरे उसको सानैदेखि को साथी। सँगै स्कुल भर्ना भएर पढेको। पढाइमा राम्रो थियो डम्बरे, अल्छी नगर्ने, सरसित डराउने। तर तेन्जिङ भने महाढिट। कसैलाई नटेर्ने, सानैदेखि झगडामा अघि सर्ने। उसले पढन सकेन। कक्षा तीनदेखि उकालो चडन सकेन। घरमा आमा आपाले स्कुल जान कर गरे। घरमै बसे।
उनै डम्बरेसित कुशलक्षेम गर्न लागेको हो। डम्बरेले उसलाई सोधेको थियो के गर्दै छस भनेर। आफ्नो कथा बताए पछि उसले डम्बरेलाई भनेको थियो तँ नौकरी गर्छस होला। तैँले धेरै पढिस राम्रो नौकरी पाउलास।
यही बेला लोबेन कराउँदै बाहिर निस्केर तेन्जिङलाई एक घुस्सी हिर्कायो।
" साला तो मलाई नोकर भन्छस? तेरो मो नोकर हो ?"
घुस्सा निकै जोडले हिर्काएको भए पनि उसलाई साह्रै दुखेको भने थिएन तर रिस चाहिँ उठ्यो छक्क परेर लोबेनलाई हेर्यो।
साथी डम्बरेतिर फर्केर एक निमेष हेरे ऊ आँखा फारेर उसलाई हेरिरहेको देख्यो। अनि लोबेनतिर फर्केर जिस्केको पाराले भन्यो " ल..... छेगा भयो कि क्या हो ? लोबेनलाई नोकर भनेको होइन यहाँ डम्बरेले पो नोकरी गर्छ भनेको !"
लामा हात उजाएर आएर कराउँदै अघि आएर उसलाई फेरि घचेट्यो " मोलाइ साला पगला भन्छस ? तो पगला साला धीमू ! सोते काम्बो भन्न ! "
लोबेनले फेरि हिर्काउँदा उसले छल्यो। तेन्जिङ कान्लाको डिलमा थियो। त्यही भएर लोबेन हुत्तिएर तल्लो गरामा लडिपठायो। त्यहाँ होहल्ला हुन थाल्यो। त्यहाँ भेला हुनेहरूले गएर लोबेनलाई सम्हालेर उठायो। खासै चोटपटक त केही लागेको थिएन। रिसले हो कि कसो थरर कामिरहेको थियो।
डम्बरेले सुटुक्क भन्यो एइ जाऊँ यो कचिलो ठाउँमा बस्नु भन्दा।
हुनपनि उनीहरू त्यही बसिरहे निकै ठूलो हंगामा हुने सम्भावना थियो। ती दुई साथी तल तीन चार किलोमिटर टाढा आए जहाँ डम्बरेको घर थियो।
डम्बरेको घरमा कुनै पूजापाठ हुँदै गरेको तेन्जिङले देख्यो। त्यहाँ पन्डितहरूले मन्त्रपाठ गरिरहेका थिए। यज्ञ लगाएको थियो। घरमा छरछिमेक निकै भेला भएको देखिँदै थियो।
ऊ एउटा कोठामा बस्यो। एउटा पलङ, दुईवटा चौकी र टेबल, भित्तामा अल्मारी ठोकेको। दैलोको पछाडि काँटीमा लुगा झुन्ड्याएको। उँभो हेर्दा छाना देखिने, सिलिङ थिएन। काठको बीम र बटमले डाँडा भाटा लगाएको र त्यसको माथि च्यादरको छप्पर। उसले देख्यो त्यहाँ भएको पलङमा एक निकै सफा सुग्घर लुगा लगाएको बाहुन थियो। आफ्नो वस्त्र फोहोरी लाग्यो उसलाई हेरेर। त्यो अचिनारु बाहुन थालमा चिउरा, एक कटौरा दही, दुई तीन घेरा केरा र अर्को एक कटौरामा चिनी राखेर बसेको थियो। उसले पहिला केरा छिले र चिउरा भएको थालमा हालेर मुछ्न थाले। फेरि दही मिसायो। मुछ्न थाल्यो। अन्तमा अन्दाज गर्दै चिनी हाल्यो र फेरि मुछ्नु थाल्यो। उसले औँलाहरू मुलायम चलाउँदै थियो।
तेन्जिङले पहिला त वुझेन यो के गरेको भनेर। उसले यसरी चिउरा, केरा, दही चिनी हालेर मुछेको कहिले देखेको थिएन।
केही समयपछि त्यो मिश्रणबाट मीठो बासना आयो। उसले सम्झ्यो यो पूजामा छो (प्रसाद) को लागि बनाएको होला। देवतालाई चडाउँछ होला।
निकै बेर पछि त्यो बाहुन वाहिरतिर गयो र हात धोएर आए। उसले फेरि मुछ्यो त्यो चिउरा, केरा, दही र चिनीको मिश्रण अनि दाहिने हातले सोरेर एक मुठ्ठी आफ्नो मुख निकै खोलेर स्वाट्ट हाल्यो। यसो गर्दा उसको अनुहार उज्यालो भएको देखियो। उसलाई त्यो स्वादिष्ट भएको भान भयो।
तेन्जिङले त्यसपछि लाग्यो उसलाई पनि छुट्याएर दिन्छ होला, बाहुनले उसको सामुन्ने एकलै खाँदैन होला। उसको दस्तुरमा यसरी पाहुनाको अघि पाहुनालाई नदिइ कहिले खाँदैन। तर यहाँ त्यसो भएन। बाहुनले एकलै खाइरह्यो र खाइसकेर थाल लिएर गयो। तेन्जिङको मुखबाट राल चुहेला जस्तो भयो। थुक घुटुक्क निल्यो पनि। उसले त्यो बाहुनले खाएको एकटक लगाएर आँखा यताउता नघुमाइ हेरेको थियो। उसलाई लाग्यो उसले चाख्न नपाए पनि यो मीठो थियो भन्ने लाग्यो। आफूले पनि खान पाएको जस्तो भयो।
उसलाई डम्बरेले बोलाउँदा मात्र झसङ्ग भयो। उतिर फर्केर मुसुक्क हास्यो। कोठाबाट निस्केर गयो।
त्यो साँझ तेन्जिङ त्यही बसेको थियो। अर्को दिन ती दुई रङ्गेली बजार झरे। त्यहाँबाट फेरि दलपचन्द हिडे। तेन्जिङ चुङथाङमा बस्ने भयो, डम्बरे आरिटारतिर लागे।
उनीहरू बरालिएर दुई दिन बताएका थिए। तेस्रो दिनमात्र तेन्जिङ घर पुगेको हो।
घरमा के भइरहेको थियो उसलाई थाहा भएन। ऊ हराएको खबर गाउँभरि फैलिएको र आपाले चारदिशा खोजखवर गरेका थिए।
उनीहरूको मुख्य पेशा भनेको माल डुवानी हो। कालेबुङबाट खच्चरमा समान याटुङ र फारी पुर्याउनु अनि त्यहाँको समान फेरि कालेबुङ पुर्याउनु। खेतीबारी छ। अचैली बारी, सुखाबारी छ। माथि लेकतिर भएको जमिनमा आलु रोप्छ। तर अहिले धेर जसो अधिया र कुतियामा दिएका छन। ियद्यपि घरमा काम गर्ने जनको कमि हुन्छ। कोही एकदुई दिन अनुस्पथित भए हर्जा भइहाल्छ। फिटिफिटि पर्छ। गाईबस्तु छ, घोडा छ, खच्चर छन। सबैलाई घाँसदाना दिनु पर्यो। गोठाला छ तर उसले मात्र भ्याउँदैन। धावा धावा हुन्छ। तेन्जिङ दुई दिन हराउँदा यसैले घरमा हाहाकार नै भएको थियो। उनीहरू विपन्न होइनन्, तर हातगोडा जोर नचलाई घर सम्हाल्न हम्मेहम्मे हुन्छ।
यही हुनाले उसले आमाबाट दुई चार दाबिलो खानुपरेको हो त्यो बिहान। अघिल्लो साझँ आमाले आपाकोबाट गालि खाएकी थिई तेन्जिङको पत्तो नलगाएकी भनेर। कालेबुङ जानू ढिलो भइसक्यो। अस्ति एकदुई दिन अघि पुगिसक्नु पर्ने, यतै बरालिरहेको छ। नोक्सानी कसले बेहोर्ने? त्यो खच्चर कसरी पाल्नू? हातमुख कसरी जोड्ने ? पैसा आउने त्यही ढुवानी हो।
आमालाबाट यसरी बिहानै धुलाई भेटे पछि तेन्जिङ तयार भयो खच्चर लिएर कालेबुङ जानलाई। केही समान थियो घरमा जसलाई पुर्याउने पर्ने। खच्चरमा ती सबै समान चडाए।
उसलाई थाहा थियो बिहान घाम चडिसकेको कारण आज निकै ढिलो भएको छ र कालेबुङ पुग्न सक्ने होइन। पेदोङसम्म पुग्न सकिने हो नभए तल रेसीमा बास बसे हुने हो। तर उसको आफन्त चुङथाङमा भएको हुनाले आज त्यही बस्ने विचारले छ वटा खच्चरको लश्कर लिएर हिड्यो। आफू भने घोडामा थियो।
यसरी टाढो जाँदा ऊ बक्खु लगाउँछ। भित्री वस्त्रमा घुँडासम्मको सुरुवाल हुन्छ। खुट्टामा दोचा। पाताङ सँधै साथ हुने हो। कहिलेकाहीँ एक जोडी नै भिरेको हुन्छ। यो पालि उसलाई मनमा आशंका भएको हुनाले जोडी पाताङ नै बोक्ने भयो। कम्मरमा छोटो छुरी जो पाताङ कै आकारको हुन्छ।
उसको लामो केश लाछाले बटारेको थियो। भोटे टोपी लगायो। तेन्जिङ भर्खर एक्काइसौं वर्ष टेकेको हो तर ऊ छ फुट अग्लो र ठूलो डालको हुनाले उसलाई निकै उमेर खाएको जस्तो देखिन्छ। वास्तवमा ऊ एक आकर्षक व्यक्तित्व भएको युवक हो।
अर्को दिन अलगडा पार गरेर गएपछि उसलाई कालेबुङ पुग्न लागेको र मनमा एकतमासको शान्ति छाएको थियो। मुद्रा प्रसन्न हुनलागेको थियो। त्यहाँ उसले मानिसहरूको आछतजावत निकै देखिरहेको थियो। एक हुल ठिटीहरू देख्दा हठात उसलाई गाउँको निमफुटी सेर्पेनीको याद आयो।
महिना दुई महिना अघिको कुरा हो। ऊ माथि घट्टामा पिठो कुट्नु गएको थियो। भित्र पिठो कुट्न जिम्मा लगाए पछि बाहिर निस्केर खोल्छाको डिलमा बसेर त्यहाँ माछा हेरिरहेको थियो।
"ओइ तेन्जे ! के हेरेको लाटाले जस्तो ! " खितिति हास्दै बोलेकी थिई निमफुटी। निकै पर थिई यसैले उसको छेउतिर जान लाग्यो ऊ।
" एइ तोँ उता जा ! परै बस, छेउ नआइज!" भनी निमफुटिले।
"केना के भो ?" भनेर झन छेउ गयो।
निमफुटि झन चिच्याएर हाँस्दै भनी " तो उडुस जस्तो गन्हाउँछ। साला कहिले नुहाउँदैनस।"
तेन्जिङ त्यो दिन लाजशरमले भुतुक्कै भएको थियो। हुनपनि हो उसले कहिले नुहाएको छैन।
घरमा आएर दोकानमा पस्यो। एक सनलाइट साबुन किन्यो। तल खोलातिर गएर फेरि नुहायो। धेरै कालो भएर झरेको थियो पानी जिउबाट। हलुका भएको लाग्यो। मन खुशी भयो।
नुहाएर घरमा आउँदा आमाला फेरि कराउन सम्म करायो उसलाई
" या खोरे ! के गरेको ? तँ सिम्भू हो ? कोल्ले नुहाउनु सिकायो ? तँ मरिस ? तेरो आपाले नुहाएको देखेको छस ? धेरै लोदर नजना है ।"
अलगडा काटेर निकै अघि आइसकेको थियो। अब कालेबुङ पुग्नु धेर छैन। उसले निमफुटिलाई सम्झँदै यसपालि एउटा कोशेली किनेर लगिदिने सोच्यो। निमफुटि पनि सफा सुग्घर त कहाँ हुन्छ? विचरा ऊ त एउटा चितराले बारेको घरमा बस्छे। बाटो मुनि छ घर। त्यही बाटो तल खोलासम्म भएको भिरालो सुखा जमिन हो। राम्रो खेतीपाती हुँदैन। तेन्जिङले मनमनै भन्यो उसलाई एउटा राम्रो साबुन किनेर लगिदिने। सम्झेर रोमाञ्चित भयो।
साँझ पर्न अघि नै पुग्यो ठेगानमा। समानहरू जिम्मा लगाएर हिसाबकिताब गर्यो। भोलि लगत्तै फर्केर जानू छ। तर यसपालि भरपूर समान पाएन। छवटा खच्चरलाई पुग्ने थिएन। एउटा खच्चरको समान कम भयो। त्यहीबेला रङ्गली बजारमा एउटा महाजनको समान याटुङ लानू पर्ने याद आयो। ढुक्क लाग्यो।
कालेबुङमा सँधै जाने आइलाको भट्टीघरतिर हिड्यो। उसलाई देख्नेबित्तिकै आइलाले स्वागत गरी।
दुई ढुग्रो जाँड उसको अघि आइपुगिहाल्यो। एक फ्लास तातो पानी। उसलाई दुई ढुङरो पुग्दैन, यो सकेपछि फेरि अर्को दुई ढुङरो चाहिन्छ। कर्छीमर्ची साथै थियो। केही क्षणपछि आइलाले आँखा उज्यालो पारेर भनी "आजु ग्यारी छ। ल्याइदिऊँ ?"
सुङ्गुरको ग्यारी भनेपछि हुरुक्कै हुने तेन्जिङलाई नाम सुन्ने साथ अनुहारमा सातवटा घाम लागे जस्तो उज्यालो ल्याएर भन्यो " अजीई! ले न । " यसो भन्दै गर्दा उसको मुखभरी राल आयो र सिङ्गान पबि साथै आयो। बक्खुभित्रबाट एउटा लाकस्याक नुमा झुत्रो लुगा निकालेर फ्या गरेर त्यसमा भएभरको राल सिङ्गान सबै निकाल्यो। अनि त्यो फेरि बक्खुभित्र घुसार्यो।
भट्टीपसलमा थुप्रै ग्राहकहरू थिए। कोही जाँड चुसिरहेका थिए भने कोही रक्सी लिइरहेका थिए। अनेकथरिको गफ चलिरहेको। तर उसले खासै बुझिरहेको थिएन। कतै झगडा भएको छुरावाजी भएको जस्तो केही सुन्यो।
एकछेउ एकजना अलग बसेर रक्सी लिइरहेको थियो। गम्भीर मुद्रामा देखिन्थ्यो।
यस्तैमा त्यहाँ होहल्ला निकै भयो। उसले देख्यो त्यो एकलो मान्छे अहिले टेबलमा घोप्टिएको थियो। पिठ्युँमा चुप्पी पसेको लाग्यो। रगत बहिरहेथ्यो। कसैले त्यो व्यक्तिलाई छुरी हिर्कायो। कसले कहाँबाट छुरी हिर्कायो थाहा भएन। घाइते मात्र भएको हो वा प्राणपखेरु उड्यो पत्ता पाइएन। त्यतिने बेला उसलाई आइलाले भनी तेन्जिङ तो जाइहाल यहाँबाट। अहिले पुलिस आउँछ। लफडा हुनेछ।
सम्झेर उसलाई डर लाग्न थाल्यो। पुलिसले पकडेर झेल हाले के गर्ने ? के ठेगान उसलाई दोष लगाउला। छिटछिटो निस्क्यो। पैसाको हिसाबकिताब पछि गरिदिनेछु सम्झ्यो। आखिर कालेबुङ त आइरहने हो। अर्को पटक बुझाउँदा हुने हो।
बिहान उज्यालो झर्न अघि नै उठेर हिडने तयारी गर्यो। आज नै लिङताम पुग्न भोलि याटुङ जान सक्नेछ। रङ्गली बजारमा केही अल्झिनु छ त्यहाँबाट केही माल बोक्नुछ। पछिल्लो बाजिको हिसाबकिताब पनि छ।
उसको यात्रा भने जस्तो हुन सकेन। पानी पर्यो बाटोमा। गति लिन चर्को पर्यो। रङ्गली आइपुग्दा घाम डुबिसकेको थियो। अध्यारो भएपछि हिडन साह्रो छ। रङ्गलीमा बास नबसी नहुने भयो।
रङ्गलीबाट उठाउनु पर्ने मालको आधा भाग कसैले लगिसकेछ। झनन रिस उठ्यो। अब पूरा समान उठाउन नपाउने भयो। माल कम भए पछि आम्दानी पनि कम हुने हो। कसले समान लगे भनेर सोधपुछ गर्दा थाहा लाग्यो कार्कीले लगेको रहेछ।
कार्की त्यो ठाउँको स्थायी बासिन्दा होइन। कुनै पहाडबाट आएको हो। सँधै बस्दैन। बर्खा कालमा यता हुँदैन। दशैँ तिहार पछि आउँछ दुई चार महीना भारी बोक्छ अनि फेरि हराउँछ। हेर्दा खँदिलो त छैन तर दरिलो छ। उसले पचास साठी किलो वजनको भारी बोकेर नाक ठोकिने उकालो सजिलै दिनभरि हिडन सकेको धेरैले देखेको हो। थाकेर बिसाएको देखिँदैन। कहिले बिमार भएको कसैले देखेको छैन। उसले लाउने लुगा बाह्रैमास एउटै किसिमको हुन्छ। सुरुवाल, कमेज, इस्टकोट। उस्तै प्रकारको दुई तीन पतरा लुगा जिउमा जहिले हुन्छ। खुट्टामा सार्कीले सिलाएको बाक्लो जुत्ता। टायरको सोल थपिएको। ऊ हिडदा चाल पाउँदैन। बिस्तार हिडेको जस्तो देखिन्छ तर एकछिनमा डाँडा काटेको पत्तै पाउँदैन। उसले बोक्ने समान ठूलो डोको छ। त्यो डोको जताततै पाउने डोको जस्तो छैन। बाँसको चोयाले मात्र बुनेको नभएर बेतको चोयाले बाँधेको छ। धेरै बलियो।
तेन्जिङ तर कार्कीलाई हेर्नु सक्दैन। कार्कीले उसलाई हेपेर बोलेको जस्तो लाग्छ। उसको पहाडमा यस्तो छ उस्तो छ भनेर हेनतेन सुनाएको मन पराउँदैन। त्यस्तै राम्रो छ भने यहाँ मरिकुच्चे भारी बोक्नु किन आएको ? उसलाई यस्तै लाग्थ्यो।
कार्कीले कतिबेला हिड्यो भनेर सोध्दा उसलाई बताइयो यतिबेला क्यु खोला काटिसक्यो होला, मान्छे छिटो हिड्छ। आजु कुबुक पुग्ने भन्थ्यो रे। सुने पछि तेन्जिङ निराश भयो, नभेटिने रहेछ भने। उसले पनि आज जेलेपला पार गरेर याटुङ पुग्नुपर्छ। हुनत कुबुक बाह्र बजे भन्दा अघि पुग्न सके मात्र जेलेपला पार गर्न सकिनेछ। ढिलो भयो भने साह्रो पर्छ। अपरान्ह एक दुई बजे पछि त्यहाँ हावा हुन्डरी चल्छ। हावा यस्तो चल्छ ढुंगा पनि उडाउला जस्तो हुन्छ। खच्चर अघि बडन सक्दैन। जेलेपलाको ठाडो उकालो चडन सक्न असम्भव हुन्छ। फेरि कोही बेला बाटै नदेखिने कुइरो लाग्छ। हतार गरेको राम्रो। आफ्नो तयारीमा उसले कार्कीलाई बिर्स्यो र रिस पनि सेलियो।
लगभग आधा घन्टा हिडे पछि उसले निकै टाडोमा कोही हिडदै गरेको जस्तो देख्यो। उसले आफ्नो गति बडायो। नभन्दै त्यो मान्छेलाई देख्यो। थुक्क, मरेछ कार्की पो रहेछ। आजु किन यति ढिलो भयो यो मान्छेलाई ? यतिखेर क्यु खोला काटकि हुनुपर्ने लाग्यो। कार्की एकसुरमा हिडिरहेकै थियो।
उसले देख्यो कार्की बाटो बिचबाट बिस्तार बिस्तार हिडिरहेको थियो। लाग्थ्यो उसले पछि आउनेको बाटो रोकिराखेको र कोही अघि बाट उल्टो दिशा आउँदैछ भने उसले छेउ लागेर कार्कीलाई बाटो दिनुपर्नेछ। मानो यो बाटो कार्कीको सर्वाधिकार हो र उसको मर्जी हो जसरी जतासुकै हिडे पनि। उसको लागि अन्य यात्रीले बाटो छोडनु पर्नेछ।
तेन्जिङले देख्यो उसको खच्चरलाई कार्कीले बाटो छेलेको कारक हिडन बाधा पुगिरहेको छ। मरिसकेको रिस जागेर आयो। उसको समान कार्कीले लगिदेको र अहिले बाटो छेकेर हिडिरहेको सहिनसक्नु भयो। उसले मनमनै भन्यो
"साला घ्यागा, पारे… हाम्रै ठाउँमा हामीलाई धमास दिन्छ। यसलाई नमारी छाडदिनँ।"
यति सम्झेर उसको आँखा फर्फरायो। अनुहार ठूलो बनायो। चिच्याउला जस्तो गर्यो तर चिच्याएन।
उसले जसोतसो खच्चरलाई कार्कीबाट अघि लगायो। आफ्नो गति भने केही धिमा गर्यो।
यही क्रममा उनीहरूको लश्कर एउटा घुम्तीमा आइपुग्यो। छ वटा खच्चर दुई घुम्ती पार गरेर निकै टाढो पुगिसकेको थियो। कार्की अघि अघि र तेन्जिङ घोडामा पछि पछि जाँदै थिए। तेन्जिङले पछि फर्केर धेरै टाढोसम्म हेर्ने कोशिश गर्यो। उसले देख्यो कोही थिएन उनीहरूलाई पच्छ्याएर आउने। फेरि उसले अघिल्तिर हेर्यो। कोही पनि त्यस दिशाबाट आइरहेको थिएन। त्यो बाटोको यात्री उनीहरू बाहेक अन्य कोही थिएन।
ऊ जति अघि बडदै गयो उसको रिसको पारा उतिकै बडदै गयो।
आफ्नो पातङ झिक्यो अनि गएर उसले कार्कीको घिच्रमा हान्यो। कार्कीको डोको नामलो भुइँमा झर्यो। उसको त्यो टोपी लगाएको शिर भुइँमा लडेर उसलाई टुलुटुलु हेरेको जस्तो लग्यो। रगतको फोहोरा छुट्यो। तर उसले देख्यो कार्कीको त्यो टाउको नभएको शरीर नलडी त्यही गतिमा अघि बडिरहेको छ, हिडिरहेको छ।
यो देखेर तेन्जिङलाई डर लाग्नु थाल्यो। उसको मुटु जोडजोडले ढुक ढुक गर्नु थाल्यो। अब ऊ यही ढलेर मर्नेछ भयो।
टाउको नभएको मान्छे कसरी हिडेको ? यो त अब सेन्डे भयो । भूत भयो। यसले उसलाई खेदी खेदी मार्नेछ लाग्यो।
उसले घोडालाई तेज गतिले अघि बडायो। होशहवास नभएको जस्तो भयो। आँखा चिम्लेर अघि लाग्यो।
दुई तीन घुम्ती पार गरेर मुटु ढुकढुक हुँदै पनि उसले एकपटक पछि फर्केर हेर्यो उसलाई पछ्याएको छ कि छैन भनेर बुझ्न। उसले देखेन कोही पनि। यद्यपि डर र त्रास भने बनिरह्यो। कतिबेला कहाँ फेरि यो कार्की आइपुग्ने हो र उसलाई मार्ने हो भनेर।
मनको डर भगाउन उसले मन्त्र जाप गर्नु थाल्यो।
"ओम म्हाणि पेमे हुँ। "
मनमा अतिशय त्रास र असमञ्जसता बोकेर गन्तव्यतिर लाग्यो। त्यही दिन नै जेलेपला पार गर्ने साहस गरेन। कुबुकमा रात बिताउने मेलो गर्यो।
बिहान कुबुक पोखरीको छेउ गएर धुप बाती जलायो। भैरुङ पाती सुनपाती छेउछाउबाट टिपेर धुप जलायो। पोखरीको एक पाखा चिमल फुलेर पहाड नै पहिलाम्मे भएको थियो। यसको वासना भने मादक हुनेगर्दछ। मात लाग्छ, टाउको दुखाउने हुन्छ। पोखरीको एक छेउ भने कुनै जान्ने मालीले सिंगारेर रोपेको फूलबगैँचा जस्तै थियो। अनेकौं रंगका फूलहरू भुइँमा टेक्न पनि मुटु चिरेर आउने माया लाग्ने। जता टेके पनि फूलमाथि हिडनु पर्ने। पोखरीको पल्लो छेउ देखि उता केही देखिँदैन, आकाश मात्र देखिन्छ। एक पाखा भने जेलेपला जाने ठाडो भिरालो पहाड छ। त्यहाँ भने कुनै झार जङ्गल छैन, बञ्जर छ। हिउँदमा यो पूरा हिमाच्छादित हुन्छ।
घाम चडेपछि उसले जेलेपला पार गर्यो। यसपालि याटुङबाट फारीसम्म पुग्यो। माल पर्याप्त बोक्न नसके पनि कमाइँ भने सँधै भन्दा राम्रो भयो। यसैमा उसलाई खुशी लाग्यो। खुशीको साथै मनको डर हरायो।
यही प्रसन्नता लिएर फर्केर आउँदा पुलको एक छेउ एक हुल मानिसहरू देखे। उनीहरू बाटो छेकेर बसेका थिए। पुल साँघुरो थियो, छिरेर जान सक्ने ठाउँ थिएन। तिनीहरूले किन बाटो रोकेका उसले बुझ्न सकेको थिएन।
तेन्जिङले आफ्नो खच्चरलाई अघि लगायो र पुलतिर बडन थाल्यो। यही बेला एकजनाले पाताङ निकालेर आएको उसले देख्यो। अनि उसले वुझ्यो खासमा तिनीहरू डाकुँ रहेछन र उसलाई लुटपाट गर्ने त्यसरी बाटो छेकेका रहेछन। तीन चार जनाको हुल र ऊ भने एकलो। के गर्ने ? यहाँ त मर्ने र मार्नेको प्रश्न आयो। जसरी भए पनि नलडी धर छैन। ऊ घोडाबाट उत्र्यो र भएको दुईवटै पातङ निकालेर ललकार्यो।
उसको विशाल शरीर र दुईवटा पातङ देखेर सायद तिनीहरूले पुनर्विचार गरे। उनीहरू आफ्नो बाटो लागे।
वास्तविकता भने के थियो भने तेन्जिङ अत्यन्तै भयभित भएको थियो। आज यही मरिने रहेछ लागेको हो। उसले बले कार्कीलाई मारेको पापको फल भोग्नु पर्ने भयो जस्तो भयो। जब उनीहरू बाटो लागे उसले ठूलो सास फेरेको थियो। कसरी आज बाँच्न सक्यो ? उसले गुरु रिम्पोछेलाई मनमनै ढोग गर्यो।
बेलुका समयमै लिङताम आफ्नो घरमा आइपुग्न सफल भयो।
Comments
Post a Comment