युद्ध र योद्धा : एक पठन
पेम्पा
तामङ
अगमसिहं गिरी भारतीय
नेपाली साहित्यमा सर्वाधिक चर्चामा रहेको कवि हो। उनलाई मूलतः स्वछन्दतावादी कवि र
जातीय कवि भनेर आलोचकहरूले चिनाएका छन भने कही कही अस्तित्ववादी भनी परिचय दिएको छ।
उनका प्रारम्भिक कविताहरू भावनात्मक र करुणामय थिए यसैले उनलाई दुखवादी पनि भनिएको
हो। गिरीका
कविताहरू आम चलनको भाषामा लेखिएका र प्रतीक र बिम्वको जडान थोरै रहेका छन। सरल,
सहज
र बोधगम्य रहेको हुनाले आम पाठकबीच लोकप्रियता बडी रहेको थियो। जीवन, मृत्यु,
दुख,
बिरह
उनका कविताको भावलहरी रहेको छ। कल्पनाको निर्बाध उडान र जीवन परान्मुख रहेको
मानिन्छ। जीवनलाई यसरी हेर्ने दृष्टि छायावाद र स्वछन्दतावा भनेर चिनिन्छ। हुनत छायावाद
र स्वछन्दतावाद यी बाहेक अन्य पनि हुन। स्वच्छन्दतावादको प्रवर्तक विलियम वर्डस्वर्थको
लेखन सिद्धान्त कविताको भाषा आम मानिसको बोलीको शैलीमा हुनुपर्छ भन्ने थियो। यसको अर्थ
यही लाग्छ कविताको भाषा जटिल र कठिन हुनुहुँदैन। अबोध्य बिम्व र अपरिचित प्रतिकको प्रयोग
हुनुहुँदैन। गिरीको कविताको भाषा यही सिद्धान्त अनुरुप नै छ।
स्वछन्दतावादी धारणा ईमान्युअल कान्ट, हिगल जस्ता जर्मन
दार्शनिकका दर्शनबाट प्रेरित भनेर बुझिन्छ। उनीहरूले कलालाई एक स्वायत्त विचारको अवधारणा
दिए। ज्ञानका अन्य अनुशासन झैँ कला पनि एक स्वतन्त्र अनुशासन हो। यसै विचारबाट
कलाको स्वायत्तता अथवा कला कलाको निम्ति भन्ने अवधारणाको सूत्रपात भयो। स्वछन्दतावादमा
कलावादी धारणा रहेको छ तर यो पूर्णत कलावादी भने होइन। लोक मंगल र बिद्रोहको भावना
पनि रहन्छ । स्वछन्दवादी कविहरूमा विलियम ब्लेक, जोन किट्स,
वर्डस्वर्थ
लोक मंगल र सामाजिकता रहेको कवि भनेर पनि चिनिन्छ। कवि गिरीमा यी विभिन्न धाराहरू विभिन्न
कालमा समाविष्ट रहेको देखिन आउँछ।
कवि गिरीका कवितामा रहेको भावुकता, सरलता र जन भाषा
पाठकप्रियताको युक्ति भनेर बुझिएको आरोप लागेको देखिन्छ। चन्द्र शर्माले
लेख्नुभएको छ, "एक ठाउँ त श्रद्धेय इन्द्रबहादुर राईले ईश्वर बल्लभका कविताको
प्रसङ्ग बनाई त्यसताकको कवितालाई 'भोलिनै जनप्रियता पाउने अर्थवादी कविताहरू' -सम्म
भन्न चुकेनन्।" आयामेली कवितालाई अघिल्ला कविता भन्दा भिन्न रहेका बताउन यसरी
लेख्नुभएको छ " कोरा भावुकता प्रलाप मात्र नभएर दायित्वदेखि पलायन पनि हो। फलत: जिन्दगीदेखि
पनि पलायन हो। यस किसिमका साहित्य लेखनलाई आयामिक शब्दमा चेप्टो भनिन्छ। किनभने तेस्रो
आयाम (गहिराई तथा विचार वा दर्शन ) हुँदैन । जीवनमाथि आस्था पनि हुँदैन।"
सम्वेदनशील एवम सचेत कवि गिरीलाई अर्थ लाउनु समय लागेन कि यो कटाक्ष उनलाई
हो भनेर। यसले उनलाई धेरै आहत बनाए। "यस्ता प्रत्यक्ष परोक्ष कटाक्षहरूले गिरी
हतास बने। आफ्नै दाइ, साथीहरूका नीतिले उनी विचलित बने कविता लेख्न छोडे। उनका कविताहरू अघि
झैँ पत्रपत्रिकातिर देखिन छोडियो।"(चन्द्र शर्मा)
पछि गणेशलाल सुब्बाको प्रोत्साहनमा उनले आफ्नो अघिल्लो भावनात्मक र रुमानी
कल्पनावादी धारका कवितादेखि अघि बडेर प्रेरणादायी सशक्त कविता लेखे "प्रसवको चिच्याहटसँग ब्युँझेको
एक रात।" यो कविताबाट उनले आफूमाथि लागेको लाच्छनाको चुनौती स्वीकारेको
स्पष्ट हुन्छ। यही उदबोधनमय कविताको विस्तारको रुपमा लिन सकिन्छ उनको सर्वाधिक
चर्चित र विवादित खण्डकाव्य "युद्ध र योद्धा"।
विश्वमा गोर्खा शब्द वीरता, शौर्य, प्रखर योद्धाको पर्यायवाची
हो। कुनै पनि शत्रु गोर्खा शब्ददेखि नै आतंकित हुने एउटा बिम्व बनाइएको छ। वीरता,
अनुशासन
र इमानदारी उसको मूल्यांकनको मुख्य कडी हो।
यसैले विश्वका अनेकन राष्ट्रहरूले उसलाई आफ्नो देश र महत्त्वपूर्ण संस्थानहरूको सुरक्षा
हेतु रुचाएर नियुक्ति दिन चाहन्छ। पछिल्लो दुई शताब्दीदेखि विश्वको विभिन्न सामरिक
क्षेत्रमा उसको भूमिका रहेको छ।
कवि गिरी गोर्खाको निम्ति गुथिएको यही आख्यानप्रति आक्रमण गर्दछ। उनी
युद्ध र योद्धाको नयाँ परिभाषा निर्माण गर्न चाहन्छ। उनी युद्ध विरोधी छैन,
शान्तिको
पक्षपोषण गरेको छैन। तर युद्ध आफ्नै निम्ति गरेको मात्र युद्ध हो, आफ्नो
जातिको निम्ति युद्ध गर्ने मात्र वास्तविक योद्धा हो। परजातिको युद्ध र परजातिको निम्ति
भएको योद्धा दासता हो भनिएको छ। यो काव्यको मूल विचार यही हो। यसलाई हामी
उत्तरऔपनिवेशिक चिन्तन अथवा साम्राज्यवाद विरोधी पनि भन्न सक्छौँ ।
"युद्ध र योद्धा" को संरचना एकालाप छ। आख्यान पाठ उपपाठ गरी
विभाजन छुट्याइएको नभए पनि पठनको क्रममा देखिन सकिन्छ। पाठको क्रमागत विकास काव्यको
आधार बनेको छ संरचनाको दृष्टिले। काव्यको उच्चता र सौष्ठव बनाउन यसले सहयोग
पुर्याएको छ। आख्यानको सूत्र प्रारम्भ मध्य र अन्त्य काव्यमा जीवन्त रहेको कारणले
पठनमा काव्यको रस साथै आख्यानको आनन्द पनि यसले दिन्छ। काव्य को यही संरचनात्मक
बुनाइले काव्यार्थ सहज सम्प्रेषण हुन्छ।
काव्य युद्धको भयानकता,
विभिषिका,
विरोधको
स्वरबाट प्रारम्भ हुन्छ :
" युद्ध
रक्त -पिपासा
मानव-मानवका
हत्या र संहारपूर्ण अभिलाषा
विध्वंसतापूर्ण घातक
नष्टप्राय: आकांक्षा
आँसु -आर्तनाद- आक्रोश
विध्वंसता – विस्फोट – विह्वलता
संत्रास – संघात – संकट
निर्दयता – निरंकुशता - निर्ममता"
युद्धले ल्याएको भयानक मानव संकटको दायित्व कवि योद्धा (गोर्खा)लाई ठहराउँछ।
"तिमीले खुकुरीको हाँक दियौं।" तर यो युद्ध कुठाराघातको युद्ध थियो,
भ्रम
थियो, धोखा थियो। वीर गोर्खा
योद्धाको यो युद्ध नभएर "विवस एक आत्म-समर्पण थियो,
योद्धा
वीर" बताउँछन कवि गिरी।
युद्ध पश्चात् गोर्खा योद्धा उनले गरेको मानव संहारको स्मृतिले प्रताडित हुने रेखांकन
गरिएको छ। गिरीले यसको निम्ति अलौकिक बिम्व प्रयोग गरेको देखिन्छ र लोक विश्वास
अनुरुप छ
"तिम्रो शान्त निद्राको
एकान्त सपनालाई
बिथोल्न आउँदा हुन्
तिम्रो विदीर्ण उपस्थितिलाई
निमोठ्न आउँदा हुन्
रक्ताम्मे आकृतिहरू
अङ्गहीन विव्हल घाइतेहरू
नर-कंकाल ब्युँझेर
..................
पिरोल्न आउँदा हुन्"
कुनै पनि कुकृत्य गरे पछि यसको फल भोग्नु पर्छ भन्ने लोकविश्वासमा आधारित
धारणा यहाँ परदेश मा पराया देशको निम्ति गरिएको युद्धमा अर्कालाई हत्या गरेको
अपराध हो भन्ने बुझाएको हो।
काव्यको अर्को चरणमा शत्रुको उल्लेख गरिएको छ :
"तिम्रा शत्रुहरू
थिए कति स्वतन्त्र तिम्रो भन्दा
बलियो एउटा इच्छा
उज्यालो एउटा चाहना
दरिलो एउटा आकांक्षा बोकेर
...............
स्वाभिमानको युद्ध लडदैँ
विसर्जन गर्न आतुरिएका थिए आफूलाई"
कवि भन्छ ती शत्रुको गोर्खा योद्धाबाट भएको मृत्यु
"एउटा चोखो मृत्यु
परतन्त्रता शून्य मृत्यु
बलिदानपूर्ण मृत्यु " थियो ।
गिरीले देखाएको युद्धपरायनता अभिलाषा युरोपेली उपन्यासकारहरूले उनीहरूको
लेखनमा दर्शाएको देखिन आउँछ । एडिथ व्हार्टन, डोरोथी क्यानफिल्ड
अनि विल्ला कार्थरका उपन्यासहरूमा उनीहरूले युद्धको आवश्यकता, अनिवार्यता
र समर्पण उल्लेखित छन्। व्हार्टनको निम्ति युद्धमा जानू भनेको नागरिकले गर्नु पर्ने
परम दायित्वको शिक्षा रहेको छ। (Frederick J. Hoffman) (The War
and the Postwar Temper: The Twenty's) (Collier Books-1962)
गिरीले देखाए झैँ यहाँ शत्रुहरू आफ्नो कर्तव्यबोध सम्झेर युद्धमा उत्रेका थिए। उनीहरूको
युद्ध स्वाभिमानको युद्ध थियो। आफ्नो देश, अस्मिता र जातिको सुरक्षाको निम्ति
गरेको युद्ध थियो। तर गोर्खालीले सुदूर देशमा गएर गरेको युद्ध स्वाभिमानको निम्ति
वा आफ्नो जाति वा देशको निम्ति थिएन। युद्ध गर्नु उनको कर्तव्य थिएन। यसैले गिरी लेख्छन,
वीर
गोर्खा योद्धाले गरेको परभूमिमा गरेको युद्ध
"दासत्वपूर्ण युद्ध
संकल्पशून्य युद्ध
उद्देश्यहीन युद्ध " हो।
उद्देश्ययुद्ध नलडने आव्हान गर्दै कवि ती योद्धाहरूलाई घर फर्किन आग्रह
गर्दछ
"फर्क, युद्धको विभीषिकातिर नजाऊ
फर्क, दावानलमा युद्धको नहोम व्यर्थ आफूलाई
फर्क, हिमालको वीर छोरो"
कवि गिरी उसलाई उसको सुरम्य गाउँको दृश्य सम्झना गराउँदछ। उनले
हिमाली गाउँको कल्पना गरेर रुमानी चित्रण गरेको छ गाउँको
" मङसीरका पहेँला धानबारी
फागुन-बन, चाँप-गुराँसका रमिताहरू
पत्रै – पत्रा हिमाच्छादित पहाडका
सयपत्री – मखमली फुलेका
पहाड – भञ्ज्याङका विमुग्ध रमणीयता"
कवि उसको अहिलेको भयानक युद्धस्थल र गाउँको रमणीय अवस्थाको चित्रण तुलना गर्दै बताउँछ
" क्षितिज थियो त्यहाँ आफ्नै
हिमाल थियो त्यहाँ आफ्नै
........................
टिठाउने सरल पहाडी हृदयहरू थिए
तर अहो! अहिले त
अगिल्तिर तिम्रा आँखाका नानीहरूमा
युद्धको ज्वालामुखी छ।"
त्यो योद्धा जन्मजात योद्धा थिएन, उसको युद्ध जान अघि
सामान्य जीवन थियो। ऊ उसको ग्रामीण परिवेशमा खेतीपाती, पशुपालन,
परिवार
र प्रेमिकासित आनन्दमय जीवनरत थियो। यी सबै उसले युद्धमा जान लथालिङ्ग छाडेर गएको
थियो। उसले छोडेर गएको चित्रण हृदयस्पर्शी रहेको छ
" खन्दै गरेका बारीका ड्याङ
तिमी उसै छोडेर आएका थियौ
छाप्रो खर छाप्दै गरेको
तिमी उसै नसकी आएका थियौ
कराइरहेथे गाई – बाख्राहरू
साँझको घाँस नहाली आएका थियौ ।"
युद्धरत जवान हुन्छन् र यौवनको रंग आच्छादित हुन्छ। यसैले उसको
प्रेमिका हुन्छ। यही प्रेयसीको सम्झना गराउँछ यहाँ यी पंक्तिहरूमा
" फूलेको जोवन – फूल ढकमक्क
छातीमा नसिउरी आएका थियौ
तिम्रो मायालुले मुटुमा जोगाएर
हजार सम्झना यत्नले सजाइराखेकी छ।"
आफू सुदूर देशको युद्ध भूमिमा रहेको र उसकी मायालु उसको जीवनदानको निम्ति
देवी देवताप्रति शरणागत रहन्छे
"देवता पुकार्दी हो रुदन आँशुले
वरदान दीर्घायु मागेर ।"
उसले यसरी आफ्नो प्यारो जन्मभूमि, आफ्नो सहोदर,
माया
ममतालाई छोडेर गएको छ। तर उसको यो त्याग निरर्थक रहेको मान्छ कवि यहाँ ।
"तिम्रो समर्पण थियो : सपना थिएन
तिम्रो विसर्जन थियो : विपना थिएन
तिम्रो उत्सर्ग थियो : उद्देश्य थिएन ।"
कवि योद्धाप्रति विरक्त हुन्छ र भन्छ उसले गरेको युद्ध उसको थिएन,
अर्कैको
निम्ति लडेका थिए आफू बेचिएर।
"युद्ध त्यो, आफ्नै युद्ध थिएन तिम्रो
तिमीले त आफूभित्रको आफूलाई मारेर
आफ्नै चिहानमाथि ब्यूझनु परेको थियो
.............
"बेचिदिएका थिए अघिनै
स्वार्थमा सामन्तीहरूले
किनिएका थियौ अहो!"
युद्ध पश्चात् उसको घर फर्काइ सुखमय नरहेको बताउँछ कवि।
"श्मसानको विरक्ति बोकेर
युद्ध – क्लान्त घाइते शरीर लिएर"
.............
"स्वागत – अभिव्यक्त थिएन
तिम्रो पहाडको छाती शुष्क थियो
प्रत्यागमनको प्रफुल्लता थिएन मुखरित कहीँ "
कवि गिरीको यो चित्रण वास्तविकतासित भने मेल खाएको देखिँदैन। पूर्व सैनिकहरूले
आफ्नो ठाउँमा उचित सम्मान पाएका उदाहरणहरू छन। दोस्रो विश्व युद्धमा सहभागी जनाउने
दुई प्रसिद्ध भूतपूर्व गोर्खा सैनिकहरू थिए : स्वर्गीय के बी लिम्बू
र गञ्जु लामा। गञ्जु लामा भिक्टोरिया क्रसले सम्मानित योद्धा थिए। हुनत उनी एक भोटे
परिवारबाट थिए। गोर्खा सेनामा भर्ती हुनलाई गोर्खा नाम धारण गरि गए। पछि युद्ध
पश्चात् आफ्नो देश सिक्किममा फर्केर आए पछि उनलाई ठूलो सम्मान दिए, राज्यबाट
खेतीयोग्य कृषिभूमि आवटन गरियो। उनको नाममा एक बाटोको नाम राखिएको छ। उनी जब परलोक
भए उनको अन्तिम यात्रामा सामेल हुन युनाइटेड किङ्डमबाट एक उच्च सैनिक अधिकारी आएका
थिए।
के बी लिम्बू पनि भूतपूर्व सैनिक भएको कारण आफ्नो देश सिक्किम फर्के
पछि गाउँघरमा सम्मान पाए। पञ्चायत भए। सिक्किमको लिम्बू समुदायले उनको नेतृत्व
स्वीकार गरे। सिक्किम भारतमा विलय भएर गठन भएको पहिलो सरकारमा उनी मन्त्री हुन पुगे।
गिरीको तर्कले वास्तविकतासित मेल नखाए पनि तर उनले राखेको विचार
भ्रामक भन्न मिल्दैन। उनले युद्धलाई युद्धको मानदण्डमा हेरेका होइनन् तर मान्छेले
आवश्यक पर्दा गर्नु पर्ने युद्धलाई वा आत्मरक्षाका निम्ति गर्नु पर्ने युद्धको
दृष्टिकोणले विचार राखिएको बुझिन्छ। अन्यको युद्ध आत्मरक्षाको युद्ध होइन, त्यो
त युद्धलाई पेशा बनाएको अथवा युद्ध निरपेक्ष बनाएको भनेर बुझिन्छ । यो दृष्टिले हेरे
गिरीको युद्ध पछिको घर प्रत्यागमन गरेको योद्धाको विचलित चित्रण मार्मिक लाग्नेछ।
युद्ध कसको निम्ति गर्नु पर्ने वा कस्तो युद्ध सम्मानजनक हुन्छ भन्ने
प्रश्नमा कविले नेपालको इतिहासमा फर्केर गएको छ। स्वाभिमानी युद्ध आफ्नो जातिको
निम्ति गरेको युद्ध हो। नालापानीको युद्ध, अमरसिंह थापा, भक्ति थापाको
त्यागका प्रसङ्ग ल्याइएका छन्।
"नालापानीका युद्धमय स्मृति
........
नेपालीत्वको जिउँदो अभिमान लिएर
म युद्ध सम्झेर घोरिन्छु जब
बीरहरूका महान उत्सर्गमा
वीरागंणाहरूका उच्च आत्म-बलिदान
युग – युगान्तर
जाज्वल्य रहने प्रदीप्त आदर्श "
कविले यहाँ यो युद्धको स्मरण गराएर यसलाई "मर्यादाशाली ऐतिहासिक
वैभव" भनेका छन। यसबाट निष्कर्ष निस्कन्छ कवि गिरी युद्ध विरोधी थिएनन्। युद्धको
ललकारलाई स्वागत जनाएको छ। युद्ध अनिवार्य हो र आफ्नो अस्तित्वको निम्ति युद्ध गरिनु
पर्ने विचार यहाँ रहेको पाइन्छ। "युद्ध हामीलाई घाम हो, जहाँ
लाग्छ हामी त्यहीँ ताप्न पुगेका हुन्छौं । हिंसा प्रकृतिको चिरगर्भमै छ, हामी
गोर्खाली प्राणी त्यस पक्षबाट बाँच्दछौँ। जीवनदायी युद्धहरूले हीन शान्तिनै शान्तिको
अशेष नृत्यु-स्थितिहरूमा बाँच्ने केही पनि पाउँदैनौँ हामी । यस्तो चिन्तन स्फुरणलाई
चतुर जिव्हा र शिक्षित विवेचना दिँदै गिरी भन्दछन, "युद्ध आफ्नो होस्।"
स्पष्ट छ गिरी जातीय तहमा आफ्नो अनुसन्धान गर्छन।" (इन्द्रबहादुर राई)
कुमार प्रधानले लेखेका छन "गिरीको काव्य तर युद्धकै विभीषिकाको,
हिंसा
र हत्याको विरुद्ध छैन। गिरी शान्तिवादी होइनन् , अहिंसा र मानवताको
दुहाइ दिएर युद्ध नगरौं भन्दैनन्।"
गिरी शान्तिको पक्षमा र युद्ध विरोधी थिएन। युद्धबाट हराएको जातित्व फर्किआउने
तथा युद्ध नै एक त्यस्तो युक्ति हो जसद्वारा आत्मसम्मान बचाउँन सकिन्छ भन्ने उनको विचार
रहेको छ। तर युद्ध आफ्नो निम्ति गरे मात्र सार्थक हुन्छ । अन्यको निम्ति गरेको
युद्ध दासत्व हो।
गिरीको युद्धबारे अवधारणाको प्रतिकारात्मक विचार राख्दै इबराले लेखेका
छन " अङ्ग्रेजी सैनिक कविहरूमा ग्रेनफेल, सास्सून,
ओवेनहरू
भए जसले युद्धको विभीषिकाको प्रतिरोध आफ्ना कविताहरूमा गरे। राष्ट्रिय रूपले "आफै"
युद्ध लडेका थिए तिनीहरूले, तर युद्धको बीभत्सताले स्वकीय र परकीय युद्धको
रेखा नराखेको देखे।"
डा कुमार प्रधान पनि लेख्छन "युद्ध विचारहीन घटना हो भन्ने कवि विल्फ्रेड
ओवेनको जस्तो भावना गिरीमा छैन।"
विल्फ्रेड ओवेन एक सैनिक कवि थिए र युद्धमा उनको मरण भयो। उनको युद्ध
विरोधी कविता " Dulce et decorum est Pro patria mori" प्रख्यात
छ। यो कविताको सार अन्तिम पंक्ति पदले बताउँदछ
"My friend, you would not tell with such high zest
To children ardent for some desperate glory.
The old Lie : Dulce et decorum est
Pro patria mori"
साथी , तिमी अति उत्साहित भएर सुनाउन सक्ने छैनौं
गौरव गाथा सुन्न लालायित नानीहरूलाई
त्यो पुरानो झुट : पितृभूमिको निम्ति बलिदान हुनु गौरव हो।
ओवेन कवितामा भनेको छ देशको निम्ति प्राण त्याग कुनै गौरव होइन। ओवेनले
युद्धलाई ग्लोरी वा गौरव भनेर भन्दैन, उनी युद्धलाई पिटी वा विक्षोभ भन्छन् ।
उनले भनेका छन " Above all I am not concerned with Poetry. My
subject is War and the pity of War. The poetry is in the pity." ओवेनको
यो भनाइले बुझिन्छ उनी युद्धको कविता लेख्छन् र भन्छ कविता विक्षोभमा रहन्छ। देशभक्तिको भावनाप्रति
प्रहार गरे। ( Observing suffering that they felt could be avoided, they
attacked stupid patriotrism)(Stead- The New Poetic) (page – 73)
ओवेनले युद्धलाई स्वकीय र परकीय दृष्टिले हेरनन, उनको
निम्ति सबै युद्ध एउटै हो, मानवताको निम्ति घातक हो। युद्ध हुनु दुरभाग्य
हो, युद्ध अवाञ्छित हो। स्वदेशको निम्ति युद्ध लडेको भन्दैमा त्यो युद्ध
बलिदान वा महान हुँदैन। युद्ध कुनै स्थितिमा न्यायसंगत हुँदैन। उनी देशभक्ति जस्तो
भावनात्मक विषयलाई नकारात्मक दृष्टिले हेर्थे र यसलाई असत्य अमान्य मान्थे।
ओवेन एक सैनिक पनि थिए र युद्ध स्वदेशकै निम्ति लडिरहेका थिए। उनको यही
युद्ध विरोधी धारणा डा कुमार प्रधान र इबराले गिरीको युद्ध अवधारणा हेरेको छ।
नभन्दै गिरी झैँ जातिप्रेमी र देशभक्त कविहरू थिए जो अगमसिहं गिरीले झैँ
स्वकीय युद्ध नागरिकको परम कर्तव्य भनेर सकारेर लेख्ने देखिन्छन्। रोपर्ट ब्रुक,
हेनरी
न्युबोल्ट, विलियम वाट्सन, जोन अक्सनहाम त्यस्ता राष्ट्रवादी कवि थिए
जसको लेखन गिरीको लेखनसित तुलनात्मक रुपमा राख्न सकिन्छ।
रुपर्ट ब्रुकले स्वदेश इंगल्याण्डबारे यसरी लेखेको छ
If I should die, think only this of me,
That there's some corner of a foreign field
That is forever England." (The Soldier)
"He died as few men get the chance to die
Fighting to save a world’s morality
He died the noblest death a man can die
Fighting for God, and Right and Liberty
And such a death is immortality."
(John Oxenham)
जब युद्ध आरम्भ भयो केही नयाँ र अघिल्ला पुस्ताका कविहरू जनतामा उत्तेजना
र उत्साह ल्याउन देशभक्ति र वीरताको कविता लेख्न थालेका देखिन्छन्। समयलाई बुझेर हेनरी
न्युबोल्टले त्यही प्रकारको कविता संकलन प्रकाशनमा ल्याए जो ७० हजार प्रति बिक्न सफल
भयो। उनको भिजिल शीर्षक कविता प्रसिद्ध छ।
युद्ध कविहरूमा दुई धारा देखिन्छ। ओवेन, सासुन
युद्ध विरोधी युद्ध कवि थिए। रुपर्ट ब्रुक, हेनरी न्युबोल्ट
स्वदेशको निम्ति युद्धको पक्षमा लेख्ने कवि थिए। गिरीलाई यही दोस्रो धाराका कवि मान्न
सकिन्छ। गुमानसिहं चामलिङले उनको लेख "कविका रूपमा स्व अगमसिंह गिरी" मा
यो विभाजनको विषय उठाएका छन्।
गिरी गोर्खाली सैनिकले आफ्नो इतिहास बिर्सेकोमा प्रश्न गर्दछ
"तिमीले आफूभित्रको
वीर अमरसिंहलाई चिनेनौ
न त आफूभित्रको
भक्ति थापालाई नै देख्न सक्यौ
...............
हो, इतिहासका पानाहरू पल्टाएर
स्व-अस्तित्वका गौरवशाली संघर्षहरू
हेरेनौ कहिल्यै तिमीले
देखेनौ कहिल्यै तिमीले "
गिरीले निकै अघि "नचिनिने भएछौ" शीर्षक कविता लेखेका थिए। माथि
उद्धृत पदले यही कविता प्रतिध्वनि गर्दछ
अभि सुवेदीले गिरीलाई नोस्टाल्जिया रहेको कवि भनेको छ। नोस्टाल्जिया भनेको
पूर्वस्मृति हो। यहाँ पूर्वस्मृति नेपाल हो। गुमानसिंह चामलिङले लेखेका छन " गिरीका
कवितामा अर्कोतिर सामाजिक भाव चेतनाको प्रबलता छ र यही नै वस्तुतः उनको जातिप्रेम हो
– नेपालीत्व, र यसैले जो अनिवार्यत: नेपालसित
सम्बन्धित हुने नै भयो । यहाँ कविताको मूल नै नेपाल प्रेमबाट फुटेको हो।"
चामलिङको दृष्टिको आधारमा "नचिनिने भएछौ" मा नचिनिने नेपाल
बाहिर रहेका नेपाली भए र परिचय सोध्ने नेपालको।
यो कवितामा दर्शाइएको गौरवपूर्ण अतीत र माथि "युद्ध र योद्धा"
मा एउटै प्रसङ्ग हो भनेर व्याख्या हुन्छ। यही पूर्व कविताको विस्तृति यसमा आएको
भन्न मिल्छ। यी दुवै लेखनमा कविको आरोप छर्लङ्ग
देखिन्छ।
नभन्दै गिरीले यहाँ सामुहिक विस्मृतिको प्रकरण उठाएको छ। वीर गोर्खाली
सैनिकले आफ्नो गौरवशाली इतिहास बिर्सेको र उनीहरूको वर्तमान दासत्वपूर्ण व्यवहार यही
विस्मृतिबाट भएको भन्ने बुझाइ हुन्छ।
सिगमन्ड फ्रायडको अनुसार बिर्सनु सहज क्रिया नभएर प्रायोजित हुन्छ,
अर्थात्
बिर्सनु लगाइन्छ। प्रख्यात चिनियाँ लेखक यान लियान्के भन्छ " हाम्रो स्मृति नियन्त्रित
गरिँदैछ, अदला बदली गरिँदैछ अनि मेटाइँदैछ। हामी त्यो मात्र याद गर्दछौं जो हामीलाई
याद गर्नु भनिएको छ।"
सत्ताले व्यक्ति वा नागरिकलाई त्यही मात्र सम्झनु प्रोत्साहन गर्दछ जो
सत्ताको हितमा हुन्छ।
यो सिद्धान्त अनुसार गोर्खाली सैनिकले आफ्नो गौरवशाली इतिहास उसले सहज
बिर्सेको होइन तर बिर्सन लगाइएको हो।
"नेपालभित्र व्यापक र तीव्र भएको सामन्ती प्रथाको शोषणमा नेपालबाट
हजारौंको संख्यामा मानिस बाहिरिए, रहरले होइन।" (डा कुमार प्रधान) अन्याय
र अत्याचारबाट पिसिएर पलायन हुनेहरूमा देशको
गौरवशाली इतिहासप्रति उदासीन नहुने प्रश्न उठदैन।
इन्द्रबहादुर राईको "आज रमिता छ" र वैरागी काइँलाका कविताहरूमा
नेपालका आदिवासी जनजातिमाथि घोर उत्पीडन भएको मार्मिक चित्रण देखिन सकिन्छ।
नेपालको इतिहास अंकित रहेको छ राणाशासनकालमा घरलौरी प्रथा थियो। विभिन्न
गाउँघरबाट युवाहरूलाई सैनिक बनाएर पठाएका हुन।
युद्धबाट जो फर्केर आए उनीहरूको जीवन शैलीमा परिवर्तन आए। उनीहरू
युगौँदेखिको घोर गरिबी र दुखबाट सुख र शान्ति हासिल गरे।
काव्यको चरित्र काल्पनिक बिम्वमा आधारित हुन्छ, मीथकीय
नै हुन्छ। "युद्ध र योद्धा" काव्य हो इतिहास लेखन होइन। यसैले कविले भावनात्मक
उडानको छुट लिएका छन्। काव्यको आख्यानत्मक रचनामा अघिल्लो चरणमा रहेका प्रकरणलाई सहयोग
पुर्याउन यहाँ आवश्यक थियो। गिरीको अतीत गौरव उदबोधन उनको जातीय प्रेम भावनाको प्रभावले
हो। उनले उल्लेख गरेको छ "जन्मभूमिश्च स्वर्गादपि गरियसी.........."।
यो पदको
पूर्ण रुप "जननी जन्मभूमिश्च स्वर्गादपि
गरीयसी" हो। जन्मभूमि स्वर्ग भन्दा महान
हुन्छ। जातिप्रेमको उत्कर्ष यही उदगारबाट पुष्टि हुन्छ।
"जननी जन्मभूमिश्च गरियसी....." गिरीको समयमा
नेपालको राष्ट्रगान थियो। कवितामा राखिएका अमरसिंह थापा, भक्ति थापा,
बलभद्र,
नालापानी,
सुगौली
सन्धि, बाग्मती, पशुपति दर्शन सबै नेपाल राष्ट्रका चिन्ह हुन। यसलाई डा कुमार
प्रधानले यसरी व्याख्या गरेका छन " अगमसिंह गिरीको कवितामा नेपालको मोह कविको
रोमान्टिक भावधाराको पक्ष थियो भने तिनताक मुगलानमा नेपाली जातियताको भावना प्रखर हुनथाल्दा
कुण्ठित, वञ्चित, शोषित मुगलानेले केही क्षण जातीयताको टेवाको निम्ति नेपाललाई हेर्यो।"
डा प्रधानको अडान गिरीको केही लेखनले पुष्टि गर्दछ ।
गिरी यो गीतमा भारतीय नेपालीको स्वतन्त्र अस्तित्व रहेको दावी गर्छन
" नडाक हिमाल हामीलाई, अस्तित्व हाम्रो बिलाउँछ
नडाक पहाड पखेरो जातित्व हाम्रो निदाउँछ"
अच्युत रमण अधिकारीले यस काव्यको सुन्दर आलोचना लेखेका रहेछन् तर यो माथि
दिइएको तर्कले उनको यो भनाइ अपुष्ट हुँदछ
"नेपाल राष्ट्र र नेपाली राष्ट्रिय अस्तित्व भने पछि हुरुक्कै हुनु उनका
काव्यको मूल विशेषत हो।" गिरीले वास्तवमा भौगोलिक नेपालको सीमाभित्र सीमित
नेपालीलाई नहेरेर सम्पूर्ण नेपाली समूहलाई हेरेका हुन र अझ वृहत्तर दार्जिलिङ क्षेत्र
उनको दृष्टि विशेष रहेको बुझिनु पर्दछ। यसैले गिरीलाई भारतीय नेपाली जातित्व चेतनाको
प्रखर कवि भन्न सकिन्छ र किताबसिहं राईले भनाई "कवि अगमसिंह गिरी भारतीय
नेपाली साहित्याकाशमा ध्रुवतारा झैँ चम्किरहेको एक उज्ज्वल कविपुञ्ज हुन" तार्किक
नै लाग्दछ।
गिरीका प्रारम्भिक चरणका कविताहरू जीवन र जगतको करुणामय
चित्रणमा सीमित थिए। विद्रोह र आक्रोश थिएन। उनी अथाह दुखाइ पीडाइले सन्तप्त देखिन्थे।
उनी निराशावादी देखिन्थे। आफ्नो पछिल्लो काव्य भने आक्रोश र विद्रोहले भरिएको
लेखे। यस वैचारिक परिवर्तनको प्रेरणा धरणीधर कोइराला रहेको ठहर गर्छन इन्द्रबहादुर
राई। "युद्ध र योद्धा" को आधारभूमि उत्खनन गर्दै लेख्छन् राई धरणीधर कोइरालाको
"नैवेद्य" नै यसको प्रेरक चेतना हो। उनमा देखिएको परिवर्तनको प्रेरणा ठहर
गर्छन राई ।(गिरी सगिरी)
"मदमस्त मतङ्ग सरी निजका
पुरखा अघिका बलवीर थिये
तर धीर थियर श्रुतिशील थिये
हिमशैल समान पवित्र थिये।"
(धरणीधर कोइराला)
राईले प्रभावको सैद्धान्तिक आधार देखाउन टि एस इलियटको प्रख्यात लेख "परम्परा
अनि वैयक्तिक प्रतिभा" को उल्लेख गरेका छन। यो लेखको पहिलो चरणमा रहेको
इलियटको भनाइ यस्तो रहेको छ
"No poet, no artist of any art, has his complete
meaning alone. His significance, his appreciation is the appreciation of his
relation to the dead poets and
artists." कुनै पनि कविता को अर्थ नितान्त निजको पाठमा हुन सक्दैन र उसले ग्रहण
गरेको प्रभावमा बुझ्नुपर्ने हुन्छ।
गिरीले जातीय गौरवको ऐतिहासिक प्रमाण देखाउन नेपालको एकीकरण अभियान र
अङ्ग्रेजसितको युद्धका योद्धाहरूको प्रसङ्ग उनलाई सूर्यविक्रम ज्ञवालीका लेखनबाट प्रेरणा
लिए भने अतिशयोक्ति हुने छैन। सूर्यविक्रम ज्ञवालीले लेखेका "वीर बलभद्र",
"अमरसिंह थापा", "नेपाली वीरहरू" जस्ता उ्त्प्रेरक ऐतिहासिक
पुस्तकहरू पढेका थिएन भन्न सकिँदैन। इबराको विचार यहाँ पनि सटिक देखिन्छ।
कवि गिरीलाई मूलतः एक स्वच्छन्दतावादी कवि भनेर जानिन्छ। उनको परिचय पनि
यसैमा बसेको छ। उनको समयका अधिकांश कविहरू छायावाद र स्वछन्दतावाद भित्रका कविताहरू
नै लेख्थे। स्वछन्दतावादको अनुसार कविता के हो भन्ने विषयमा एम एच अब्रामको पुस्तक
"मिर्रर एन्ड द ल्याम्प" चर्चित छ। स्वछन्दतावादको अघि कवितालाई प्रकृतिको
अनुकरण मानिन्थ्यो। कुनै कृति प्रकृतिको अनुकरण अर्थात एउटा ऐना प्रकृतितिर फर्काएर
हेर्दा ऐनाभित्र जो देखिन्छ त्यही कृति हो।
स्वछन्दतावादले भने प्रकाशको ज्योतिको एक केन्द्रबाट मात्र प्रसारित
भएको हुन्छ। यसले के बतायो भने कवितामा भएको विषयको मुख्य स्रोतबिन्दु कवि मात्र हो।
यसरी
कविताको स्रोतको केन्द्र व्यक्ति कविमा रहन पुग्यो।
यही सिद्धान्तमा बुझ्नु हो भने कवि गिरीका अघिल्ला कविताहरू गिरीका भावनात्मक
उद्बोधन देखिन्छन। हुनपनि उनको "याद" " आँसु" जस्ता कृतिहरूमा
पोखिएका भावना आमजनले भोगिरहेका व्यथा भनेर ठहर गर्न व्यावहारिक हुँदैन। यो बुझाइको स्रोत
कवि गिरी हो। यस दृष्टिकोणले उनलाई स्वच्छन्दतावादी भन्न मिल्दछ।
स्वच्छन्दतावादको केन्द्रमा रहेको विचार एकाभाव हो, मिलन
हो। यसले विभाजन विविधता स्वीकार गर्दैन ।भिन्नतामा होइन एकतामा विश्वास गर्ने धारणा
हो। प्रकृतिसित तादात्म्यता राख्नु, अतितमुखी हुनु, विछोडको विरोध
विद्रोह गर्नु जस्ता यसमा पर्छ। यी सबै देखिन्छन् उनका अघिल्ला र अधिकतर लेखनमा । तर
युद्ध र योद्धा खण्डकाव्यमा भने उनले केही थप धारणा अघि बडाएको स्पष्ट देखिन्छ।
वीरताको परिभाषा उनी परिवर्तन गर्न चाहन्छ। यहाँ उनी भन्छन् वीर स्वजातिको
युद्ध गर्ने मात्र वास्तविक वीर हो, परजातिको निम्ति युद्ध गर्ने वीर वीर होइन,
कायर
हो। युद्धको अनिवार्यतामा उनी विश्वस्त देखिन्छ। युद्धको विरोधमा छैनन्। यसबाट
देखिन्छ युद्ध पनि युद्धको मान्यता दिनु पर्ने र दिनु नपर्ने युद्ध हुन्छन्। यसप्रकार
युद्ध दुई प्रजातिका भए। यसले स्वछन्दतावादको एकाभाव भंग गर्दछ। नवीनताको आग्रह
देखिन्छ। पारम्परिक अर्थ, मोह, धारणाबाट नयाँ विचारको
शिलान्यास गर्ने प्रयास छ। यो काव्यको लयात्मकता पनि उनका अघिल्ला रचना भन्दा भिन्न
रहेको छ। स्थानीय आम बोलीको भाषा भन्दा मार्गरूपी भाषा संस्कृतमय बनाउनु उनको आग्रह
देखिन्छ। यो उनको काव्यिक उन्नयनको प्रयोग भन्न सक्छौं। आफ्नो अघिल्लो रूपबाट नवीन
रूप धारण गर्ने पाइला विछोड मोह भन्न सकिन्छ। यसैले "युद्ध र योद्धा" स्वछन्दतावाद
र स्वछन्दतावादोत्तरको दोसाँधमा रहेको स्पष्ट छ। वस्तुलाई नयाँ दृष्टिले हेर्न
सक्नु नयाँ अर्थ दिन सक्नु उत्तर स्वच्छन्दतावादी चेतना हो। गिरीले युद्ध र योद्धाको
नयाँ अर्थमा हेर्न खोजेको छ। स्वच्छन्दतावादीहरूको मूल प्रवृत्ति वस्तुको उत्सर्ग र
चेतनाप्रति सजग रहन्छ भने त्यही वस्तुको भिन्न अर्थ वा नयाँ रूपमा देख्ने अभिलाषा उ्तरस्वच्छन्दतावाद
हो।
यहाँ राखिएको प्रस्तावना कवि गिरी रोमाण्टिकोत्तर कवि हो भन्ने
पुष्टिको निम्ति भने होइन। तर उनी एक प्रतिभाशाली कवि भएको कारण काव्यमा देखिनु पर्ने
मौलिकता र नवीनताप्रति सचेत थिए भन्नू हो। वर्डस्वर्थले भनेका छन (कवि ) एक व्यक्ति
हो जो समाजलाई सम्बोधन गरिरहेको हुन्छ। ( He is a man speaking to men)।
"युद्ध र योद्धा" त्यसतो काव्य हो जसको मुख्य पात्र नेपाली
जातप्रति अगाध प्रेम राखेर उसको कर्तव्यबोध गराइरहेको हुन्छ। काव्यमा सम्बोधक र सम्बोध्यको
द्विचर रहेको छ। यहाँ सम्वाद नरहेर एकालाप छ। यसैले काव्यार्थको स्रोत एउटै बिन्दुमा
रहेको छ। एकातिर ती गोर्खाली सैनिक समूह छन जो बिदेशमा गएर अर्काको निम्ति युद्ध
गरे अर्कोतिर कवि सम्मुखिन छ। कविको अघि त्यो समूह छ। कविको कल्पनामा यसरी उनी एकको
अघि ती हजारौं सैनिकहरू लामबद्ध छन। यस दृष्टिले हेर्यौ भने टि एस इलियटले भने कवि
गिरी विशाल पाठक समुदायलाई सम्बोधन गर्न रुचाउने देखिन्छन्। तर इलियट यही लेखनमा
यो पनि भन्छ कविले एक काल्पनिक बौद्धिक पाठकसित मात्र सम्बोधन गरेको हुनुपर्छ जो कलाकारको
श्रोता हो। ( It is wrong of Mr. Kipling to address a large audience ; but it is better than to address a
small one. The only better thing is to address the one hypothetical Intellegent
Man who does not exist and who is the audience of the artist.) (Eliot)
यिट्सले पनि यस्तै इच्छा जाहेर गरेको रहेछ उनको "मछुवा" कवितामा
"A man who does not exist
A man who is but a dream." (Fisherman)
इलियट र यिट्स जस्तो नभएर वर्डस्वर्थ झै निजको काव्य केन्द्रमा रहेको
अर्थमा कवि गिरीको लेखन हेरिनु पर्ने यहाँ बुझिनु पर्दछ। गिरीले कुनै अमूर्त पाठकको
निम्ति होइन तर उनले चिनेका जानेका र बुझेका पाठकलाई हेरेर उनीहरूको निम्ति लेख्थे।
Comments
Post a Comment