दुई शब्द भूमिकाको
पेम्पा तामङ
नेपाली साहित्यमा सर्वाधिक
लोकप्रिय विधा कविता हो र सर्वाधिक रचना यसैमा देखिन्छ। कविता एक यस्तो विधा पनि हो
जसले कवि अनि रसिक दुवैलाई आकर्षित गराउँछ।
कविलाई अनिवर्चनीय आनन्द बोध गराउँदछ कविता सृजनामा। यसैले पनि कवि शब्द सुधाको धारा
बहाउन चञ्चल रहन्छ। हुनत कविता व्यक्ति र समाजमा जोडिने एक सेतु पनि हो। नेपाली
कविताको पहिलो कविता मानिने सुवानन्ददासको लेखनलाई हेर्नु हो भने कविता एउटा
त्यस्तो सशक्त माध्यम हो जसको सहाराले एक निरीह व्यक्ति सर्वशक्तिमानसित संवादमा रहनुसक्दछ। कुनै पनि कविताले व्यक्तिलाई एकदेखि अनेकमा पुर्याउने
क्षमता राखेको हुन्छ।
कविता एक परम्परा निर्वाह हो। कुनै पनि कवि अनेकौं पुस्ताको प्रतिविम्ब
हुन्छ, चाहे त्यो रूपमा होस, विचार वा दर्शनमा होस या फेरि फगत भाषिक
परम्परामा। तर कुनै कविताले परिचय त्यतिबेला मात्र सबल बनाउन सक्छ जब उसलाई अन्य
वा भिडबाट अलग छुट्याउन सकिन्छ। व्यक्तिलाई
चिनाउने उसको नाम हुन्छ, त्यही नाम परिचय बन्दछ। कुनै कविताले त्यसरी
नै एउटा नाम वरन गर्न सक्नु पर्दछ जसले त्यो कवितालाई परिचय दिन्छ। कविताको परिचय भए
कविको परिचय बन्दछ। भाषाको भूमिका यही नै प्रमुख भएर आएको हुन्छ। कविले आफ्नो
काव्यिक भाषाको निर्माण गरेको हुनुपर्छ। कवितामा निजत्व लिएर आएको यो भाषालाई
वाग्धारा भन्न सकिनेछ। भिन्दा भिन्दै कविले एउटै विषयवस्तु बोकेको हुनसक्छ तर यही वाग्धाराको
प्रयोगले कविताको परिचय दिन्छ। कुनै कविले प्रत्यक्ष वा अप्रत्यक्ष्य रूपमा यही वागधारा
पूर्व कविहरूबाट ग्रहण गरेको हुन्छ। पूजा उपाध्यायलाई हामी असमेली नेपाली कवि अनि अन्य
भारतीय महिला कविको लहरमा त्यो संक्रमनकालीन सँधारमा देख्न सक्छौं जहाँबाट नयाँ
नेपाली कविताको आवाज मुखरित हुन लागेको छ।
नेपाली कविता भाट र बीरताको
विषयवस्तु लिएर आए पनि समयान्तरमा आध्यात्मिकता, देशभक्ति र त्यसपछि
विद्रोह चेत देखिन थालिए। कवि र कवितालाई फरक नमानिने अवधारणा नेपाली साहित्यमा रहेको
थियो र केही परिमाणमा अझ पनि छ। कविलाई स्रष्टा र ब्रम्ह पनि स्रष्टा भनिने हुनाले
कविलाई त्यही अलौकिक शक्तिसम्पन्न मानिने परम्परा रहेको थियो। कवि र कवितालाई एकात्म
मानिने अवधारणाको यही कारण कविमा ठूलो दायित्व आइपर्यो, समाजको मार्गदर्शक,
नीति
निर्धारक एवम भविष्यद्रष्टा भनेर। पाठक/रसिक र कविबिच खाडल पनि सृजना भयो,
पाठकले
टाढाबाट मात्र हेर्ने सक्ने अवस्था भयो कवि र कवितालाई। वास्तवमा प्रत्येक पाठक एउटा
कविता हो, हरेक व्यक्ति र उसको जीवन कविताको विषयवस्तु हो। व्यक्तिले भोग्न
परिरहेको समस्या, उसको उहापोह उसको उल्लास र उसको जीवनको अर्थ कविताको अन्तर्वस्तु हो।
पूजाका कविताहरूको विशिष्टता यही प्रतिविम्ब
रहेको बुझ्न सकिन्छ। "ढुंगो" श्रंखला कविता र "युद्ध
चलिरहेको छ" मा देख्न सकिनेछ असल
मान्छेमा कोमलता, शान्ति र सहनशीलताको अपेक्षा गरिन्छ। तर कवयित्री यहाँ भन्छिन्
प्रत्येक व्यक्तिभित्र एउटा ढुङ्गो हुन्छ
"एउटा एउटा ढुङ्गा त हाम्रो मुटुमा पनि छ
उखेल्न नसक्ने गरी गाडिएको "
मान्छे यसरी दोहोरो जीवन बाँचेको
हुन्छ। जन्मेपछि नै व्यक्ति जीवनको संघर्षमा जुझ्नु पर्दछ र ऊ एक अन्तहीन युद्धमा
होमिन पुग्छ। उसको युद्ध कहिले शान्तिमा परिणत हुँदैन। युद्ध अन्यको विरुद्ध मात्र
हुँदैन आफै विरुद्ध पनि हुन्छ
"आफ्नै विरोधमा
आफ्नाको विरोधमा
अविराम युद्ध चलिरहेछ।"
युद्धमा विजय र पराजयको घटना हुन्छ। युद्ध
भनेपछि शान्तिको पनि कल्पना गरिन्छ। तर यहाँ विजेता र पराजिता कोही हुन सक्दैन किनकि यो युद्धमा विरोधी अन्य होइन
आफै र आफ्नैसित पनि हुने देखाइएको छ।
कविता किन र कसरी लेखिन्छ
यसको बहस कविताबारे मान्छेलाई आदिम चेतनादेखि भएको हो। समयान्तरमा यसको अर्थ पनि परिवर्तन
हुँदै आएको छ। एकप्रकारले कविताको अर्थ पनि विज्ञानको अर्थ जस्तै देखिन्छ। कवि एक विज्ञानको
विद्यार्थी हुनु भएको कारण यसको चेतना उहाँमा झनै चर्को देखिन आश्चर्य होइन। विज्ञानको
सत्य भनेको स्थिर सत्य होइन। त्यो समय र परिक्षणबाट जुन नयाँ कुरा आउँछ आफ्नो
पुरानो अवतारबाट नयाँ वस्त्रमा प्रस्तुत हुन्छ। कविता पनि झन्डै झन्डै प्रत्येक
समयमा आफ्नो रुप त्यसरी नै फेर्दै जान्छ। यसैले हरेक नयाँ पुस्तालाई उहीँ अनुरुपको
चरित्र लिएर आउन पुग्छ । वास्तवमा कविता सफलता यही निरन्तरतामा अल्झेको हुन्छ। हुनत
असल कविताले शाश्वतता बाँचेको हुन्छ र हजारौं सालपछि पनि कविता पठनीय रहेको हुन्छ।
यहाँ दुईवटा विचार अन्तर्विरोधी देखिए पनि यो अन्तर्विरोध भनेर गतिरोध होइन। व्यक्तिलाई
व्यष्टि र समष्टि दुवैबाट हेरिनु पर्ने हुन्छ। कविता त्यसैगरी निजताबाट सामान्यतामा
विस्तारित भएको हुन्छ। काव्यले व्यक्तिलाई
प्रदान गर्ने रसास्वादन वैयक्तिक हुन्छ। उसको जीवनको अनुभव र चेतनाले उसको सम्वेदनशीलताको
परिमाण निर्धारण गरेको हुन्छ । कविता समाजमा
वा पाठक माझ पुगे पछि यसलाई आदर या अनादर दुवै सामना गर्न पर्ने अवस्थामा पुग्न सक्छ।
सामान्यतः समाज यथास्थितिप्रति आास्थावान हुन्छ यसैले परिवर्तन भयास्पद लाग्छ। अपरिचित
वस्तु त्याज्य अस्वीकार्य मान्छ। नयाँ वस्तु आकर्षक रहे पनि मान्छेमा निहित यही अपरिचित अस्वीकार्यको मनस्थितिले वाच्छनीय पनि
अवाञ्छित बनाइदिन्छ। "एउटा कविताको हत्या" कवितामा यही भाव दृष्टान्त
देखिन्छ। एक हिन्दी कविले भनेको छ "जहाँ न पहुँचे रवि, वहाँ पहुँचे कवि" । तर कविताको यही शक्तिसित भयग्रस्त हुन्छन् कोही र विरोध गर्छन् ।
पूजाले कविताको यही क्षमता र फरक पहिचानको प्रयास रुढीबादी समाजमा कति अस्वीकार्य
हुन्छ यो कविताले विशिष्टताको साथ प्रदर्शित गर्न सफल भएकी छ।
"समाजले नबोलेका शब्दहरू बोल्नु नै दोष भयो
समूहले नदेखेका ठाउँहरूमा पुग्नु नै अपराध भयो"
एकाध कवितालाई
अपवाद स्वरूप रहे पनि कविता सङ्ग्रह परिवर्तनको तीव्र चाहना, रुढीवादको विरोध, प्रेम र मानवतावाद अँगालेको छ। "विधवा
", "नारीदिवस" र "राधा" श्रंखला कवितामा
नारीवादी दृष्टि आएका छन। "विधवा" कवितालाई मदन पुरस्कार प्राप्त
उपन्यास "सेतो धरती" को अन्तर्वस्तुको वैकल्पिक रचना मान्न सकिन्छ।
"फेरि एकदिन
आकाशमा बादल आउँछ
वर्सातको आभासमा
काकाकुलहरू आकाशतिर लम्कन्छन
नदीको सेतो बालुवामा
रङ्गको भेल आउँछ
गुन्यु चोलो लगाएर
नदी बगैंचातिर भर्छ
निधारभरि रातो भिरेर
हातभरि हरियो बोकेर ।"
विधवा नारी
सेतो धरती होइन र उसको जीवनमा फेरि हरियाली छाउन सक्ने र आफ्नो जीवन सुखमय जिउने
अधिकार रहेको यहाँ सन्देश रहेको छ। यो कविताले नारीलाई एकल पुरुषमा बाँध्ने मिथक पनि
भङ्ग गरेको छ।
हुनत विधवा पुनर्विवाहको आन्दोलन भारतमा उन्नाइसौं
शताब्दीमा नै चलाइएको हो। यद्दपि परम्परावादीहरू यसलाई संस्कार र संस्कृतिको अङ्ग मानेर
यसको समर्थन नगर्ने अझ पनि देखिन्छ। यो कविता त्यस्ता रुढीबादी समाजका निम्ति हो।
"राधा"
श्रंखला कविता अत्यन्तै आधुनिक विचार लिएर लेखिएका छन। मिथकीय राधाको विमिकरण भन्न
सकिन्छ। नभन्दै यसलाई पनि कृष्ण धरावासीको मदन पुरस्कार प्राप्त उपन्यास "राधा"
को प्रतिलेखन भन्न मिल्छ। धरावासीले राधालाई उसको धर्म र कृष्ण भक्ति र प्रेमबाट विच्छेद
गराएको छैन। तर पूजाले लेखेकी छ
" राधा नबनाऊ मलाई
पूर्णिमाको सम्पूर्णतामा
अपूर्णताको व्यथा सुमसुम्याएर
आँसु पगाल्न सक्तिनँ "
राधाको भूमिका निर्वाह स्वीकार नरहेको स्पष्ट छ।
अर्को नारीवादी अवधारणा लिएको सशक्त कविता हो "एउटा
प्रस्ताव - महिनावारीको"।
हिन्दू संस्कारमा रजस्वला महिला अस्पृष्य मानिन्छ।
ऊ सातदिन एकान्तवासमा बस्नु पर्छ। प्रज्ज्वल पराजुलीको अङ्ग्रेजी
कथा A Father's Journey मा एउटी महिलाले महिनावारी
समयमा भोग्नु पर्ने मानसिक र शारीरिक पीडाको जिवन्त चित्रण छ । पात्रा सुप्रिया आफ्नो पिताप्रति आक्रोश व्यक्त गर्दै भन्छे : Ever
since I had my period, you've become an entirely different person. You locked
me in the room for seven days after. Mua told me I couldn’t see the sun, that I
couldn’t seea man's face. All those days there, I cried. I cried because I felt guilty, because I
thought I had committed a sin. I would look at myself in the mirror and hate
myself. I honestly thought I was an evil person, or I had done something bad.
My body hurt, so did my thoughts." सुप्रियालाई उसकी
आमाले उसको पहिलो महिनावारीको समय कोठामा बन्द गरेर राखेकी थिई।
यही महिनावारी बार्ने प्रथाको प्रतिकार गरेर लेखिएको
कविता हो
"विज्ञानको मान्यताको हत्या गरेर
प्रकृतिको यथार्थलाई अपव्याख्या गरेर
त्यो विशेष दिनमा
खुम्चिएर बस्नु पर्दैन तपाईंले
एउटा घेराभित्र एकलै
नियमबद्ध
तपाई अलग्गै बस्ने अभ्यास नगर्नुहोस्
हिउँ जस्तो चिसो जाडोमा
भुईमा ओच्छ्यान लगाएर सुत्न
बाध्य नहुनुहोस।"
सुप्रिया
समेत समस्त ती रजस्वलामय महिलाहरूका आवाज बनेर आएको यो कविताले सचेत गराएको छ एक सामान्य
प्राकृतिक शारीरिक परिशोधनलाई धार्मिक आधार
दिएर अपराधबोध र अश्पृश्य दुर्भावना राख्न अनावश्यक हो।
संकलनका
कविताहरू विविध विषय अँगालेका छन र यही विविधताले कविताका पाठकलाई आकर्षित गर्न सक्षम
रहेको छ। प्रत्येक अर्को कविता र हरफहरू एक नयाँ वैचारिक मुलुक र आफूले नदेखेको
भूमिमा पुगेको आभास हुन्छ। भिक्टोर श्लोकोभ्सकीले उनको प्रसिद्ध लेख प्रविधिको
रूपमा कला (आर्ट एज टेक्निक) मा जनाएको छ कला या कविता भन्नू नै चिनेको
जानेको वस्तुलाई नचिनिने बनाएर नयाँ वस्तु जस्तो प्रस्तुत गर्नु हो। यसलाई विपरिचितिकरण
(डिफेमिलियराइजेसन) भनिन्छ। "असमर्थ शहर" कवितामा एउटा रोगग्रस्त
मान्छेको चित्रण रहेको छ।
"अहङ्कारको ज्वाला दन्किरहेको शहरको कलेजोमा
व्यस्तताको रोग फैलिएको छ
डाक्टरी जाँचमा दोस्रो स्टेजको अन्तिम समय पुगेछ
मेरो शहरको व्यस्तता तर रोगग्रस्त शरीर
भिडै भिडको कोलेस्ट्रोलले
शहरको मुटुलाई च्यापेर ल्याउँदैछ
कोलाहलको टुक्राहरूले शहरको रक्तचाप अनियन्त्रित पारेका
छन
धेरै दिन अनिद्राले
शहरका आँखाहरू खाडलमा गाडिएका छन
खुट्टा र हातहरूमा पक्षाघातको रोग लागेर
हिजोआज शहर व्हिलचेयरमा
बाहिर भित्र गर्छन "
"कलेजो"
"रोग" "कोलेस्ट्रोल" "रक्तचाप"
"व्हिलचेयर" आरोपित शब्दहरू अपरिचित छन किनकि शहर जिवित प्राणी
होइन र यी नामहरू शहरको चित्रणमा अनौठो लाग्छ। तर यी नामहरूले शहर स्वस्थ नरहेको र
मान्छेको निम्ति उपयुक्त नरहेको अर्थ बताउँछ। यसरी शहरलाई नचिनिने बनाएर नयाँ
तस्बिर उपस्थित गराएको छ।
तीनवटा
कविताहरू "राजनीति" "आरक्षण" र "भाइका सर्टिफिकेट"
एक आख्यान लिएर आएको छ। आरक्षण राजनैतिक नीतिभित्र आउँछ। आरक्षणको कारण आरक्षितभित्र
नपर्ने समूह मर्कामा पर्दछ र बेरोजगार बन्दछ वाच्छित योग्यता हासिल गरे पनि। राजनीति
ठिक छैन, यही राजनीति ठिक नभएको कारण आरक्षण जस्तो नीति
बनियो र एक शिक्षित युवा "भाइका सर्टिफिकेट" काम नलाग्ने भयो। भारत
जस्तो मुलुक समावेशी छैन। धर्मान्धता र जातिवादले ग्रस्त छ। यही धर्मान्धता र जातिवादको
प्रकोपको निवारणको निम्ति कमजोर र अल्पसंख्यक समूहको वैधानिक उपचार हो आरक्षण
निति। क्यान्सरको रोग उपचार गर्दा केमोथेरापी
गरिन्छ जसले क्यान्सर बडाउने नचाहिने कोशिका मात्र नभएर चाहिने स्वस्थ कोसिका पनि मार्छ।
यसलाई साइड इफेक्ट भनिन्छ । आरक्षण नीतिले
पनि साइड इफेक्ट गर्छ। पूजाको कविता "आरक्षण" यही साइड इफेक्टको चित्रण
हो।
फरक स्वादको
कविता पस्किने क्रममा एउटा प्रेम कविता रहेको छ "एउटा प्रेमको कविता" शीर्षकमा।
कविता सामान्य नभएर अधिकविता भएको छ। अधिकविता भनेको कविताभित्र कविता भनेको हो। मेटाफिक्सन
वा पराख्यान प्रविधिभित्र पर्ने लेखनमा आउँदछ अधिकविता। स्रष्टा र सृजना एकैसाथ देखिने
हुन्छ। यो कविता यस्तो घोषणाबाट शुरू भएको छ
"सबैले लेख्छन्
मलाई पनि एउटा प्रेमको कविता लेख्न मन लाग्यो"
यहाँ अघि नै बताइएको छ यो यथार्थ नभएर कल्पना मात्र
हो, कुनै वास्तविक प्रेमको चित्रण नभएर कल्पना
गरिएको मात्र।
कविता
रोमाञ्चक र रुमानी छ। श्रङ्गारात्मक छ। रोमाञ्चक लेखनलाई स्वच्छन्दतावादभित्र राखिन्छ।
तर यो कविता स्वछन्दतावादी होइन। रोमान्टिसिज्ममा कवि र कविता एक भएको हुन्छ, एकाभाव
हुने गर्दछ। स्रष्टा र सृजनामा विभेद
हुँदैन। यहाँ भने कविताको प्रथम र अन्तिम पद "भयो ? भयो र हजुर प्रेमको कविता?"
ले सृजना र स्रष्टामा स्पष्ट विभेद राखिदिएको छ। यसले बताउँछ पूजा उत्तरस्वछन्दतावादी
चेतना लिएकी स्रष्टा हुन भनेर । नेपाली कविता अझ पनि रोमान्टिक धाराबाट मुक्त हुन छटपटाइरहेको
समयम भर्खरै कलम चलाउन लागेकी युवा स्रष्टा पूजाबाट यस्तो कविता सृजना हुनु शुभ सन्देश हो।
लेखन
विषयवस्तुको चयन, वाक्यविनास, पदविन्यास
पूजाका कविताहरूमा हरदर असमेली साहित्यकारको तुलनामा विशिष्ट देखिन्छ। पुरातन
संस्कार, रुढ पदावली, विचार दोहोरिएको
छैन। अन्धविश्वास र अप्रासंगिक विचारहरूको निरस्तिकरण गरिएको छ। आधुनिकता, वैज्ञानिकता एवम नवीनताको आग्रह आएको छैन। कवितामा नयाँ आयाम दिन सक्ने क्षमता
देखिएको छ।
प्रथम
कविता संकलनमा नै भव्य एवम स्तरीय कविताहरू लिएर आएकी स्रष्टा पूजा उपाध्यायबाट नेपाली
साहित्यलाई समृद्ध बनाउने महत कार्य भएको छ। आफ्नो सत्कार्य सुमार्गमा सफलताको कामना
र अशेष शुभेच्छा राख्न चाहन्छु।
Comments
Post a Comment