अन्नको इतिहास
मनुष्य
जाति पृथ्वीमा भएदेखि लाखौ वर्षसम्म
आहारको निम्ति पूर्णतय प्रकृतिमा निर्भर थियो । भोक मेटाउन शिकार र बन जङ्गलमा
पाइने फलादि बटुलबाटुल गर्थ्यो। जताततै घनघोर जङ्गल थियो। जङ्गलमा अनेकौं प्रकारका
पशुप्राणी थिए । थोरै परिश्रम गरेर धेरै खाद्यान्न सङ्ग्रह गर्न सक्थे। बन
जङ्गलबारे उसको ज्ञान अपार थियो । अनेकौं प्रकारको वृक्ष, तरुलता, फलफूलको ज्ञान
भएको कारण उसको खानपिनमा कुनै समस्या मात्र नभएर थरीथरीका आहार उपभोग गर्न सहज
भएको थियो । प्रशस्त पौष्टिक आहार उसले सहज रूपमा पाउन सक्थ्यो ।
यस समयको मानव जीवनको चित्रण यो कविताले देखाउँछ
"नजरले भ्याएसम्म भूमि थियो असीमित ,
असीमित भूमिभित्रको –
छहरा छङछङ
हरियो वनस्पतिका सुगन्ध,
गिट्ठा, भ्याकुर र कन्दमूल सबै
चर्ची आएको जिमीभूमि, वारि, स्वाँरा,
अलैँचीबारी, खेतपाखो, खर्क बनजङ्गल, जगर बगर
तित्या ढाली महभीर, तोतामैना, मोम खयर
साल सरङ्गा कठैया, सखुवा, लकडी बेतबाँस" –देखि
"उडन्तागडन्ता
रहता बहता, जलकर, वनकर" सबै सबै
प्राकृतिक स्रोत र सम्पदाहरूको ती थिए अधिपति
–
घामको न्यानो र जुनको शितल
वनको हरियालीसँगको नाता
खोलाको कलकल र पन्छीको कलरव
हामी प्रकृतिका सन्तति
सबै समान थियो, विचारहरू थिए समान
आफ्नै वन, आफ्नै जङ्गल, आफ्नै भूमि
चाहिँदा चाहिँदो मात्र लिन्थ्यौँ"
शरणार्थी विचार र मालीगाउँमा चितुवा
(वैरागी काइँला)
तर
उसले यो सुविधा त्यतिबेला समाप्त हुन लाग्यो जब पृथ्वीमा
जलवायु परिवर्तनको कारण शीत युग
आयो। पूरा संसार हिउँले ढाकियो। धेरै आवादी भिषण शीतको प्रकोपबाट लोप भए।
हजारौं सालपछि जब शीत युगको प्रभाव
कम हुन थाले। पृथ्वीको ताप बडन थाल्यो। हिमशैलहरू सरेर उत्तरतिर लागे। वृष्टि कम
हुन थाल्यो। बन जङ्गल बृक्षमय नभएर हरियो
झार मात्र भएको नांगो पठार देखिन थाले। सुकौरो लागेर जल स्रोत समाप्त हुन थाल्यो।
कतै घनघोर वृष्टि हुन थाल्यो भने कतै पानीको हाहाकार भए। धेरै
ठाउँ जलमग्न भयो। पशु प्राणी मारिए । यसले बन जङ्गल नष्ट मात्र भएन तर
त्यहाँ भएको पशु र खाद्यान्न पनि विनाश भएर गयो।
अब मान्छेलाई खानपिनको
संकट पर्नु थाल्यो। साविक बमोजिम खाद्यान्न पाउन सहज नहुन थालेपछि मान्छेले
यसको विकल्प खोज्न थाल्यो। खाद्यान्नको जोहो
आफैले गर्नु पर्ने रहेछ भन्ने चेतनाको विकास
भए पछि उसले खेती गर्न आरम्भ गर्यो।
खेतीको ज्ञान मान्छेले सहजरूपमा पाएको
होइन । यो आकस्मिक भएको पनि होइन । धेरै लामो समयसम्म प्रयास गरेर सफल भएको
हो।
शिकारी र सङ्ग्रहकर्ताबाट अब खेतीको
जीवनमा अवतरण हुने जब बाध्यता आइपर्यो उसको जीवन भने अझ कष्टकर हुने भयो
।
ऊ संसारमा स्वर्ग जस्तै भूमिमा
थियो। केही बडी परिश्रम नगरी आरामको जीवन बिताएर पौष्टिक एवम स्वादिष्ट भोजन
उपलब्ध हुन्थ्यो। फुर्सद धेरै थियो । बन जङ्गल घुमेर मनोरम प्राकृतिक दृश्यमा ऊ
रमाउन सक्थ्यो। भोक र भकारीको चिन्ता थिएन। तर कृषिजन्य जीवनमा उसले कठिन परिश्रम
गरेर जमिनबाट अन्न उप्जाउनु पर्ने भयो। रातदिन खटेर, घामपानी केही नभनेर शरीर
गलाएर अन्न उप्जनी नगरी धर थिएन यदि आफू बाँच्नु छ भने । यसैले उसको शिकार र
सङ्ग्रहको जीवनबाट कृषकको जीवनमा आउनु भनेको स्वर्गबाट नर्कमा झरेको समान देखियो।
बाइबलमा भनिएको आइफल सेवन गरेर स्वर्गबाट आदम र हव्वालाई बहिष्कार गरिएको प्रकरण
यही खेतीपातीलाई रुपकीय कथामा हेरिँदो रहेछ ।
किसानको जीवनमा उसलाई नयाँ समस्या आइलाग्यो।
शरीरमा अनेक प्रकारको रोगले आक्रन्त पारे । ढाढ दुख्ने, कम्मर दुख्ने , ज्यादा
परिश्रम गर्न परेको कारण थकान बडी हुने, फुर्सद नहुने र खानपिनको थोक पनि सीमित
हुन थाले । पहिला ऊ जङ्गलमा पाउने अनेक थरीका खाद्य पदार्थको स्वाद लिन सक्थ्यो ।
उसले ५०० भन्दा अधिक प्रकारका अन्न फलादि खान पाउँथ्यो। अब यो संख्या घटेर ५०
भन्दा कम हुन थाल्यो । आधुनिक मान्छेले पनि हरदरमा ५० भन्दा अधिक थरीका खान
पाउँदैन ।
यो समस्या आए तापनि ऊ तर अब फर्केर फेरि
शिकारी र सङ्ग्रहकर्ताको जीवनमा जान सक्ने सम्भावना रहेन। उसलाई यही जीवनमा रहन
अभिषप्त जस्तै हुने भयो ।
बनका पशुहरू घरेलु बनाउने प्रयास मान्छेले
अघि बाटै गरेको थियो तर बनमा भएको फलफूल र अन्न भने घरेलु वा कृतिम रूपमा उमारिने
प्रयास भएको थिएन । बन जङ्गलको विनाश र आहारको निम्ति बन जङ्गलबाट पर्याप्त नभएको
कारण जो जति छ त्यसको जोगाड गरेर उमार्ने प्रयास मान्छेले गर्न थाले । प्राकृतिक
रूपमा गहू, जौँ, धान उम्रेको पाइन्थ्यो । यही
उद्भिदहरू छेउछाउको जग्गा जमिनमा मान्छेले उमार्ने कोशिश गरे। यस्तो बिजन सार्ने
काम महिलाहरूबाट भएको थियो। यसैले आदिम खेतीको युक्ति भने पुरुषबाट नभएर
महिलाहरूले गरेका मानिन्छन्। यसो हुनुको कारण पुरुषवर्ग पहिलेदेखि उनीहरूको लगानी
मुख्यतय शिकार गर्नु मै हुन्थे। बनबाट कन्दमूल, फलफूल र अन्य खाद्यान्न वस्तुको
सङ्ग्रह भने महिलाहरूको दायित्वमा रहेका थिए । प्राकृतिक देन अनुसार महिलाहरूमा रङ्ग
पहिचान गर्ने क्षमता पुरुष भन्दा धेरै बेसी हुन्छ । एक पुरुषले ५० वटासम्म रङ्ग
पहिचान गर्न सक्छ भने महिलाले २५०सम्म सक्छे। नजर डुलाउनलाई शिरको लचकता पनि महिलामा
बडी हुन्छ। यही विशेष क्षमताको कारण खेतीपातीको महत्त्वको पहिचान र विकास महिलाबाट
हुनसक्यो।
यो
समय थियो अनुमानित 13000 वर्ष अघि। यसको अर्थ कृषिको इतिहास 13000 वर्ष पुरानो
मात्र हो। मान्छेले कृषि उत्पादन यही कालदेखि गर्न लागेको भनिन्छ । दुई लाख बर्षसम्म
मान्छेको जीवनयापन बन जङ्गलमा निर्भरित थियो तर यसपछि भने खेतीपातीको जीवनमा रुपान्तरण भयो । यसलाई
कृषि आन्दोलन भनिएको छ। आधुनिक कालसम्म हेर्नु हो भने यो सभ्यताको अवधि मनुष्यजातिको
आजसम्मको समयको पाँच प्रतिशत मात्र हो।
पहिलोपटक
गरिएको खेती मध्यपूर्व एसियामा बताइएको छ। यद्यपि विश्वको विभिन्न ठाउँहरूका मान्छेले
स्वतन्त्ररूपमा कृषि अपनाउन थालेको बुझिन्छ। चीन, अफ्रिका, दक्षिण अमेरिका, मध्य अमेरिका र उत्तर अमेरिकामा पनि खेतीको शुरुआत
भएको थियो।
मान्छे किसानको जीवनमा अवतरण भए पछि उसको जीवन शैलीमा व्यापक परिवर्तन आयो। पहिला समाज, जाति, सम्पत्ति, जस्ता अवधारणा थिएन। गाउँ , बजार, शहर वा देश थिएन। सबै स्वतन्त्र थिए अनि प्राकृतिक संसाधनमाथि सबैको समान अधिकार थियो।
खेती
गरेर जब अन्न अधिक उप्जनी हुन थाल्यो सबैले खेती नै गर्न पर्ने आवश्यकता रहेन। कोही
खेती र कोही अन्य पेशा निभाउने भए। यसबाट समाजमा श्रम विभाजन शुरू भयो। खेतीको उपज
सामुहिक हुन्थ्यो तर कालान्तरमा निजी सम्पत्ति हुन थाल्यो। खेती भूमि पनि सामुदायिक
स्वामित्वबाट वैयक्तिक स्वामित्वमा आउन थाल्यो। निजी सम्पत्ति शुरू भए पछि यो विधान
परिवारमा लागू हुन थाल्यो। समाज परिवार सम्पत्तिको निम्ति कठोर नियमहरू बनिए। कृषि
जमिन,
घरेलु पशु जस्तै
महिला पनि अब पुरुषको निजी सम्पत्ति हुन पुग्यो। जनजाति समाजको मुखिया जातिको
नेतृत्व गर्ने भयो। सबै उसको अधीन वा उसले निर्धारण गरेको नियम अनुरुप आचरणभित्र बाँधिए।
समाज पितृसत्ताको बलियो बन्धनमा बाँधियो। गाउँ, शहर, देश निर्माण भए।
अन्न बालीको जन्म: खेती गरिने धेरै जसो वनस्पति प्राकृतिक रूपमा बनमा पाइने हो। त्यही बीउबिजन बनबाट
निकालेर किसानले बनाएको जमिनमा उमारेको अन्नबाली
हो। यसरी ल्याएर रोपिने जुन ठाउँको हावापानी मिल्थ्यो त्यहाँ सप्रेर गएको
हुन्थ्यो। यही बिउ बिजन अलि हावापानी नमिल्ने ठाउँमा लगेर रोप्दा कि त फल्दै फल्दैन
नभएर राम्रो फसल नदिने खाल्को हुन्थ्यो। पछि गएर त्यो बीउ बिजनले त्यो नयाँ
हावापानी अनुसार अनुकूल हुने बन्दथ्यो अनि फेरि फसल राम्रो हुन्थ्यो। हुनत
यो नयाँ ठाउँमा फलेको फसल स्वाद, वासना, पौष्टिकतामा भिन्नता आउने हुन्छ। यसरी एउटा
नयाँ ठाउँ र फरक हावापानीमा हुर्केका बालीलाई लेन्डरेस भनिन्छ। उनीहरूले बुझे यो नयाँ
थरीका हो भनेर र यसको फरक नाम दिएर जतन गरी आउँदो मौसममा रोप्नलाई राख्थे। यसरी अन्नको
विभिन्न प्रजाति खेती गर्ने क्रममा विकास हुँदै गए। अहिले आएर धानको भिन्न भिन्न प्रकारको बिजन तीन हजार भन्दा
बेसी थरीका पाइन्छन् । मेक्सिकोमा मकैको पचास भन्दा धेर जातका मकैहरू छन। यो जातभित्र
पनि सयौँ थरीका हुन्छन् र जसको स्वाद, आकार , पौष्टिकता भिन्न हुने गर्दछ।
यहाँ तीन स्तर देखिन्छ । पहिलो हो प्राकृतिक
रूपमा पाइने वा उम्रेको अन्नको बाली। दोस्रो स्तरमा यो प्राकृतिक रूपबाट किसानले
घरेलु बनाएर उमारेको र तेस्रो स्तरमा अन्य नयाँ परिवेशमा उमारेको बाली। यही दोस्रो
स्तरलाई घरेलु केन्द्र वा सेन्टर अफ डोमेस्टिकेसन भनिन्छ। यसको नयाँ नाम हो बायो डाइभर्सिटि
स्पट वा जैव विविधता केन्द्र। यो तेस्रो स्तरको थरीलाई लेन्डरेस भनिएको हो।
निकोलाय भाविलोभ (१८८७-1943): धान, मकै वा कुनै पनि अन्य अन्न बाली लगाएको समय समयमा
रोग लागेर नष्ट भएर जान्छ। यसले किसानलाई ठूलो नोक्सानी र भोकमरीको स्थितिमा पुर्याइदिन्छ। खेतीमा विशेषज्ञता
हासिल गर्नेहरूलाई ज्ञान भयो पहिलोपल्ट बनबाट ल्याएर त्यसको छेउछाउको जुन जमिनमा खेती
गरिएको छ त्यो जमिनमा भएको खेतीको बीउ रोगमुक्त हुन्छ। यसैले त्यहाँको बीउको संरक्षण
गर्नुपर्छ। रसियाको कृषि वैज्ञानिक निकोलाय भाविलोभले यसैले ती कृषिभूमिहरूको खोजी
गर्ने र त्यहाँ फलाइएका सबै फसलका बीउ सङ्ग्रह गर्ने अठोट गरे । यसको निम्ति उनले पाँच महादेशका 65 देशहरूको भ्रमण
गरे। बीस वर्ष लगाएर उनले २५०० अन्न फल कन्दमूल इत्यादिका बीउ सङ्ग्रह गरे। यी २५००
प्रजातिका ३५०००० बिजनहरू एकत्र गरे। यसलाई सुरक्षित राख्नको निम्ति भँडार बनाए जसलाई
सीड ब्याकं भनियो। रसियाको लेनिनग्रादमा स्थापित यो नै विश्वको अन्नको पहिलो सीड ब्याकं
हो। उनले यो पनि जानकारी हासिल विश्वमा त्यस्ता आठ प्रमुख क्षेत्रहरू रहेछन जहाँ मान्छेले
प्रथमपटक खेती गरेका रहेछन्। ती आठ क्षेत्रका बन्य क्षेत्रमा त्यहाँ लगाइएका फसलको
प्राकृतिक रूप पाइन्छन्। यही आठ क्षेत्रलाई
घरेलुकरण केन्द्र वा सेन्टर फर डोमेस्टिकेसन भनियो। भाविलोभको मृत्यु पछि फेरि
अर्को एक क्षेत्र पनि घरेलुकरण केन्द्र रहेको खोज गरियो। अहिले यसकारण नौ केन्द्रहरू
छन। यही केन्द्रहरूलाई जैव विविधता केन्द्र वा बायो डाइभर्सिटि सेन्टर भनिन्छ । यो भँडार बनाउनुको उद्देश्य थियो रोगग्रस्त बीउ बिजनको
उपचार त्यस्ता केन्द्रबाट आएका बीउबिजनसित प्रतिरोपन गराउनु। प्रतिरोपन गरेको
बीउमा रोग प्रतिरक्षण क्षमता अधिक हुन्छ र फसल राम्रो हुन्छ। यसले संसार भरको कृषि उत्पादनमा ठूलो सहायता पुर्यायो
र अन्न बाली नष्ट हुनबाट जोगाउने महत्त्वपूर्ण दिशानिर्देशन दियो ।
भाविलोभको जीवनको अन्तिम क्षण भने हृदयविदारक
रह्यो। भ्रष्टाचारको आरोपमा जेलमा हालियो । त्यस समय रसियामा खाद्यान्न संटक चलिरहेको
थियो। जेलभित्र उनले खाना पाएनन र भोकले
1943 मा मरण भयो।
अन्नको विनिमय (कोलम्बियन एक्सचेञ्ज): आजकल सुपर मार्केट वा साधारण सब्जी बजारमा
अनेक थरीका सब्जी पाइन्छन्। राशन दोकानमा धेरै प्रकारका दाल चामल आटा चिनी चियापत्ती
आदि सबै उपलब्ध हुन्छ। आज भन्दा चार पाँच सय सय बर्ष अघि भने अवस्था यस्तो थिएन। धान, गहुँ, जौ, दाल भए पनि हामीसित मकै, आलु , टमाटर, सकरखण्ड, स्कुस, फर्सी, मेवा, भुइँकटहर, सिमी थिएन। यिनीहरूको जङ्गली रूप हाम्रो बनजङ्गलमा पाइँदैन।
हामीले यी खाद्य सामग्री देख्न र खान पाएको
तीन सय बर्ष पनि भएको छैन । एसिया, युरोप र अफ्रिकी मुलुकमा यी खाद्यान्न कोलम्बसले
अमेरिका आविष्कार गरे पछि मात्र देख्न पाएका हुन। अमेरिकालाई उपनिवेश बनाउने
क्रममा यताबाट केरा, धान, गहुँ उता लगिएको हो। हलिवुडको सिनेमामा रेड इन्डियनहरू
घोडा चडेर हावाको वेग जस्तै आक्रमण गरेको देखाउँछ। तर अमेरिकी महादेशमा घोडा थिएन। त्यहाँ युरोपेलीहरूले पुर्याएका हुन। गरमीको मौसममा
तरबुजा इन्डियामा खुबै स्वाद मानेर खाइन्छन्। यसलाई बाबरले हिन्दूस्तान विजय गर्न आउँदा
मध्य एसियाबाट ऊसित आएका सैनिकले ल्याएर रोपेका
रहेछन् । लसुन र प्याज भारतका केही सम्प्रदायले खाँदैन। कुनै अन्य भौगोलिक
क्षेत्रबाट ल्याइएको हुनाले विदेशी तत्व वहिष्कारमा परेको हो।
पृथ्वीनारायण शाह कालीन कवि सुवानन्ददासको कवितामा
नेपाली खानपिनको उल्लेख छ
"नेपालको सिन्कि लुटि मंरातको घिले भुटि
पालपाको ल्याव हिंग जिरो रिसिंगको ल्याव पिरो
तनहुँको भातसित भीर्कोटको दालसित
कन्चन कटोरा भरि स्ववर्णका थलिया भरि
अष्टदल चौकि वसि गंगाजल झारि भरि
पुरुव मुहुंडा गरि महाराजको जिवनार वनाव है "
यहाँ चामल, दाल, खोर्सानी, हिंग, सिन्कीको चर्चा छ तर मकै, आलु, गोलभेडा जस्ता अहिलेको नेपाली भान्सामा हुने छैन।
यसले बुझाउँछ अठारौं शताब्दीसम्म पनि नेपाली भोजनमा यी अन्नहरू सामेल भएका थिएनन्।
प्रकृतिमा दुई लाख पचास हजार थरीका उद्भिद रहेको
थाहा लागेको छ। यसमा तीस हजार खान योग्यका छन। एक सय पच्चीसको मात्र खेती गरिएको
छ।
चिनी र दासप्रथा : भारतीयहरूलाई
चिनीको स्वाद प्राचीन कालदेखि रहेको अथर्वेदमा ईक्षु शब्दले प्रमाणित गर्छ। ईक्षु भनेको
इच्छा वा चाहना हो। मीठो वा गुलियोको इच्छुक नै हुन्छ। ईक्षु वनस्पति पनि भनिएको
छ। ईक्षुबाट हिन्दीमा ईख बनियो र नेपालीमा रुपान्तरण भएर उखु भयो। उखु भारतमा प्राचीनकालदेखि पाइए तापनि उखुको
रसबाट दाना बनाउने प्रविधि भारतीयलाई जानकारी थिएन। चीनमा भने यो प्रविधि विकास भइसकेको थियो। यही दानादार
चिनी चीनबाट आए र पछि भारतमा पनि प्रविधि आयो । चीनबाट आएको हुनाले यसलाई चिनी अर्थात्
चीनबाट आएको भनिएको हो।
युरोपवासीलाई चिनीको स्वाद पहिला थाहा पाएको थिएन
र उनीहरूले महको स्वाद मात्र जान्दथ्यो। जब चिनीको स्वाद पायो उनीहरू हुरुक्क भए। अब
उनीहरूलाई चिनी जसरी भए पनि चाहिने भयो। यसको माँग अत्यन्तै बडेर गयो। चिनीको उत्पादन बडाउनको निम्ति
पहिलोपटक पुर्तगालीहरूले उखुको बगान केरिबियन राष्ट्रहरूमा बनाए। त्यहाँ कारखाना
लगाउन सजिलो थियो, कारखाना लगायो तर काम गर्ने श्रमिक त्यहाँ थिएन। पश्चिम अफ्रिकामा पुर्तगालीहरू
पहिलै देखि हात्तीको दाँत लुट्न अभ्यस्त
थिए। उनीहरूलाई यहाँका गरिब निवासीलाई कमारा कमारी बनाएर लानु सहज भयो। तिनीहरूलाई
अमेरिकी महादेश लगेर उखुको बगान र कारखानामा काम दलाउन थाले। यहीबाट अफ्रिकी कमारा
कमारीको कालो इतिहास शुरु भएको हो। पुर्तगालीको
सिको गरेर युरोपका अन्य देशहरू ईङ्ल्यान्ड, स्पेन, फ्रान्स, डचले पनि यस्तै उखुको कोलोनी दक्षिण अमेरिकाको देशहरूमा
बनाए। यी बगान र कारखानामा काम गर्न अफ्रिकाको निवासी दास दासी बनाएर लगे। एकपटक यसरी
पानी जहाजबाट अङ्ग्रेजहरूले लाँदा जहाजमा पिउने पानीको अभाव भयो। पानीको अभावको समस्या
हल गर्न एक सय पचास दासहरूलाई समुद्रमा फेकिदिए। कामदार लाने क्रममा भारतको गरिब हिन्दू
समूह पनि चपेटामा परे। यद्यपि यिनीहरूलाई भने तनखा दिने (एग्रिमेन्ट) प्रावधान
बनाएर लगे। यसरी कमारा बनाएर नलगिएको भए पनि जीवनस्तर भने दास दासी जस्तै रहेको थियो।
यिनीहरूलाई गिर्मिटिया भनिन्थ्यो। यिनीहरू निश्चित समय सुविधा र पारश्रमिक अनुबन्ध
गरि लगिएको हुन्थ्यो। अनुबन्ध अङ्ग्रेजीमा एग्रिमेन्ट हुन्छ। ती गरिब मजदुरहरू एग्रिमेन्ट
उच्चारणलाई गिर्मिट भन्थे। गिर्मिटबाट गएका यसैले गिर्मिटिया। दक्षिण अफ्रिका, त्रिनिदाद, गुयाना, फिजी, मरिशस जस्ता देशहरूमा बसेका भारतीय मूलका बासिन्दाहरू
यही गिर्मिटियाहरू हुन।
यी हिन्दू श्रमिकहरू म्याद पुगेर घर फर्कन सक्थे
तर यिनीहरू घर फर्केनन। हिन्दू आचरणमा गाउँ घर नभए देशै छोडेर कतै पनि जान राम्रो
मानिँदैन। उनीहरू सात समुद्र नाघेर गएका र गोराहरू जसलाई म्लेच्छ भनी घृणा गर्छन्
उनीहरूकि मातहतमा थिए, झन ठूलो विपतमा परे। यी गिर्मिटियाहरूलाई डर भयो आफ्नो गाउँ फर्केर गए
समाजबाट बहिष्कार हुने र जातै पनि काटिन सकिने भनेर।
गान्धीजी 1893मा दक्षिण अफ्रिकामा भारतीय व्यापारीवर्ग र पूर्व गिर्मिटियाको पक्षमा
मुद्दा लडन गएका थिए। अर्को विश्व प्रसिद्ध लेखक नोबेल पुरस्कार बिजेता भि एस नयपुल
पनि गिर्मिटियाको सन्तान थिए ।
चिया : चिया वनस्पतिको वैज्ञानिक नाम केमेलिया साइनेन्सिस
हो। यसको मूल थलो उत्तरी बर्मा र दक्षिण पश्चिम चीनको वन्य क्षेत्र हो। चियाको आविष्कार
ईशा पूर्व 2700 मा चीनको सम्राटले आकस्मिक
रूपमा गरेको हो। ईशा पूर्व 350 वर्षदेखि यसको नियमित प्रयोग देखिन्छ। सातौँ शताब्दीमा
चिनमा ताङ वंश शासनकालमा लु यु नाम गरेको कविले काव्य लेखे "चा जिङ" शीर्षकमा।
यसमा चियाको महिमा गाइएको थियो । चियालाई चिनियाँ
बोलीमा च्छा उच्चरण गरिन्छ। बंगाली बोलीमा चा भनिन्छ। यही नेपालीमा चिया भएर आएको
छ।
पुर्तगाली र डचहरूले चीनको मकाउ टापुबाट चियाबारे
सोह्रौँ शताब्दीतिर जानकारी पाए। चियाको चस्कामा युरोपेलीहरू मस्त हुन थालेपछि यसलाई
हासिल गर्ने प्रयास गर्न लागे। शरूआतमा उनीहरूले चीनबाट चिया किने। चीन सबै कुरामा
आत्मनिर्भर थियो यसैले यी विदेशीहरूले आफ्नो समान बेचेर चिया खरिद गर्ने कुरा मिलेन।
चियाको मूल्य सुन र चाँदीले चुकाउनु
पर्थ्यो। अङ्ग्रेजहरूलाई यसले अपठ्यारोमा पार्यो किनकि यसो गर्दा सुन चाँदीको
भन्डार रित्तिने भयो। अफिमको चलन
चीनमा प्रतिबन्धित थियो तर चोरीछिपी अफिमको लेनदेन भइरहेको थियो। अफिम बेचेर चिनियाँहरूबाट
चिया किन्ने योजना बनाए।
1757 को प्लासीको युद्ध पछि अङ्ग्रेजको हातमा
भारतको उत्तरी क्षेत्रको गएको थियो। बिहार, उत्तर प्रदेश , बंगाल र उडिस्साका किसानहरूलाई बारीमा जबर्जस्ती
अफिमको बिरुवा रोप्नु लगाए। पटना र बनारसमा यसको लागि कारखाना बनाए। यसरी
निकालेको अफिम कलकत्ताको बन्दरगाहबाट जहाजमा चीन पठाइन्थ्यो। अङ्ग्रेजहरूले अब चियापत्तीको
भुक्तान अफिमबाट गर्न थाले। चिनी जनता अफिमको कुलतमा फसेको देखेर त्यहाँको सरकारले
अफिमको सेवन र व्यापारमा प्रतिबन्ध लगायो। चीनले अफिम लिएर गएको एउटा जहाज जब्त गर्यो
र त्यहाँ भएको अफिम डडाएर नष्ट गरिदियो। चीनमा अफिम बेच्न नदिएको र जहाज पकडेको जवाबी
कार्वाही गर्दै अङ्ग्रेजी सेनाले चीनको बन्दरगाह र समुद्री किनारका शहरहरूमाथि आक्रमण
गरे। युद्ध भयो तर चीनको सेना हारे, निकै हताहत भए। त्यसपछि अङ्ग्रेहरूलाई अफिमको
व्यापार गर्न अनुमति दिए । उनीहरूले हङकङ पनि
कब्जामा पारे। यसपछि अफिमको व्यापार अझ फस्टाएर गयो।
उन्नाइसौं शताब्दीको मध्यतिर यी अङ्ग्रेजहरूले
चिया बगानको बिस्तार गर्नको लागि आफ्नो उपनिवेश भारतमा बोट बिरुवा ल्याएर प्रयोग
गरे सफल पनि भए। दार्जिलिङ, डुवर्स, आसाम र श्रीलंकामा चियाबगान लगाइयो।
मकै : मकै लेटिन अमेरिकाको प्रमुख खाद्यान्न हो। मकैको
मुख्य थलो मेक्सिको हो। पछिल्लो सात हजार बर्षदेखि यसको खेती हुँदै आएको अनुमान
गरिन्छ।
सोह्रौ शताब्दी भन्दा अघि अमेरिकादेखि बाहिरका
कसैलाई मकैको बारे जानकारी थिएन। बिश्वको अन्य ठाउँमा यसको खेती नै गरिँदैन थियो। युरोपका
खोजकर्ताहरूले अमेरिका र यहाँ भएका वनस्पति पत्ता लगाएर फर्किदा लिएर पनि आए। त्यही
देखि बिश्वका अन्य ठाउँमा पनि पुग्यो र खेती गरिन लागियो।
मेक्सिकोमा मकैको खेती हजारौं सालदेखि भइरहेका
थिए। धेरै लामो समय खेती भएको कारणले जमिनको उर्वरता र उप्जनीमा प्रभाव परिरहेको
थियो। उत्तरी अमेरिका भन्दा उपजाव कम हुँदै थियो। यसले मकै खेती गर्ने कृषकलाई
मर्का परिरहेको थियो। अमेरिकी कृषि
वैज्ञानिकहरूको एक टोलीले त्यहाँ आएर अनुसन्धान गरे अनि प्रत्यारोपण (क्रस ब्रिडिङ)
प्रविधि प्रयोग गरे। पहिला एक स्तर र फेरि दुई स्तरमा। दुई स्तर वा डबल प्रत्यारोपण
गरिएको मकै तीन गुणा ज्यादा उत्पादनशील भयो।
प्रत्यारोपण गरिएको मकैको बीउ भने फरक उत्पादन
गर्नु पर्थ्यो किनकि बोटबाट फलेको बीउ उर्वरशील हुँदैन थिए। यसले बीउ उत्पादनको वाणिज्यिक
सफलता ल्यायो। किसानले बीउ जोगाउनु परेन। प्रत्येक पल्ट फसल लगाउने समयमा उसले बीउ
खरिदमा पाइहाल्ने भयो।
यसरी मकैको अनेकौं थरी विकास भएको छ। अहिलेसम्म
28000 भेराइटिको बीउ सुरक्षित राखिएको छ।
गहुँ : गहुँको मूल थलो टर्की बताइएको छ। दस हजार बर्षदेखि
यसको खेती हुँदै आएको छ। सात हजार बर्ष अघि गहुँको खेती एसिया महादेशका विभिन्न
ठाउँहरूमा फैलिएको पाइएको छ। गहुँको पिठो सामान्यत: दुई भेराइटिमा पाइन्छन्। ट्रिटिकम दुरुम सेमलिना
र पास्ता बनाउनु चलाइन्छ। रोटी, केक, ब्रेड बनाउने आटा ट्रिटिकम एस्तेविमबाट हुन्छ।
नोरमन बोर्लोग(1914- 2009): गहुँको उन्नत जातको भेराइटि विकास गर्ने मुख्य
श्रेय वैज्ञानिक नर्मन बोर्लोगलाई दिइन्छ। ग्रीन रिभोल्युसन वा हरित क्रान्ति भनेर
कृषि उत्पादनको बडोत्तरीमा गरिएको घटना उनको भूमिकाको केन्द्रमा रहेको छ।
मेक्सिकोमा गहुँको फसल राम्रो भइरहेको थिएन। एक
हेक्टर भूमिमा मुश्किलले एक टन फसल हुन्थ्यो। उत्पादन कम भएकोले सरकारलाई गहुँ
आयात गर्नु पर्थ्यो। समस्याको समाधान गर्नुको लागि अमेरिकाले युवा कृषि वैज्ञानिक
बोर्लोगलाई पठायो। अधिक उत्पादन हुने गहुँको विकासको निम्ति नयाँ भेराइटि निकाल्नु
पर्ने भयो। एउटा नयाँ भेराइटि निकाल्न दस बर्ष लाग्छ। उनले विचार गरे एकै बर्षमा दुई
फसल लगाउन सके दस बर्षको बदलि पाँच बर्षमा नयाँ भेराइटि निस्कनेछ। मेक्सिकोको दुई ठाउँमा भिन्दा
भिन्नै समयमा गहुँको रोपाइँ हुँदो रहेछ र यसैको फाइदा उठाएर उनले पाँच बर्षमा गहुँको
हाइब्रिड भेराइटि निकाल्न सफल भए । नयाँ
भेराइटिको उत्पादन एक हेक्टर भूमिमा 8 टनसम्म भयो। यसले मेक्सिकोलाई आयातकर्ता बाट
निर्यातकर्ता बनाइदियो।
उत्तरी अमेरिको गहुँ रोगले धेरै विनास गरिरहेको
थियो। अर्को समस्या के भइरहेको थियो भने गहुँको बोट ७-८ फिट अग्लो हुन्थ्यो। फल लाग्दा फलको भारले बोट
निहुरिने र फसल बिग्रेर जाने र हावा हुन्डरीले बोट भाँचिदिने समस्या भएको थियो। बोर्लोगले
बिमार प्रतिरोधी बीउ र जापानमा पाइने होँचो बिरुवाको बीउ प्रत्यारोपण गरेर रोग पनि नलाग्ने अनि हावा हुन्डरी थाम्न
सक्ने नयाँ भेराइटि बनाए। उन्नत बीउ, रसायनिक मल, नयाँ मसिनको सहयोगले कृषिमा क्रान्ति आयो। यसले
लाखौं मानिसहरूलाई भोखमरी बचाए र धेरैलाई गरिबीबाट मुक्त गराए।
धान : धानको बोट झार
(ग्रास) वर्गमा पर्छ जसलाई ओरिजा प्रजातिको भनिन्छ। प्राकृतिक रूपमा २४ किसिमका पाइन्छन्
तर मान्छेले दुई प्रकारका मात्र खेती गरे, ओरिजा सतिभा र ओरिजा ग्रेबरिमा।
धानको खेती सबैभन्दा पहिलोपटक चिनको याङ्जे नदीको
बगरमा ११००० बर्ष अघि गरिएको भनिन्छ। भारत
गंगा नदी क्षेत्रमा ५००० वर्षदेखि खेती शुरु गरिएको हो। भारतमा खेती गरिएको प्रजाति ओरिजा
सतिभा इन्डिका हो। संसारमा सबैभन्दा बडी यही ओरिजा सतिभाको खेती गरियो।
प्राकृतिक रूपमा पाइने धानको रंग रातो हुन्छ।
यसको चामल पाक्दा दाना सीता टासिने हुँदैन। तर पछि यसको भिन्न प्रजातिका बीउसित संक्रमण
भएको कारण मान्छेले गरेको खेतीबाट उत्पादित चामल भने सीता टासिने र रंग सेतो भयो। भारतमा
पाइने बासमती चामलको सीता नटासिने हुन्छ। धानको खेती अमेरिकी महादेशको कुनै ठाउँ
पनि हुँदैन थियो। अफ्रिकाबाट कमाराहरू अमेरिका लैजाने बेला ती कमाराहरूले धानको बीउ
लगेर गए र उता फैलियो।
ग्रीन रिभोल्युसन र भारत : १९६८मा तत्कालीन प्रधानमन्त्री इन्दिरा
गान्धीले अमेरिकी सरकारसित अनुबन्ध गरेर ग्रीन रिभोल्युसन भारतमा लागू गरिन। यो भनेको
उन्नत बीउ, रसायन मल, आधुनिक कृषि औजार र यन्त्र एवम कृषि तालिमको एक
मुष्ठ योजना हो। भारतीय किसान गरिब रहेको हुनाले बीउ मल किन्न सक्ने थिएन। त्यतिबेला
भारतका बेंकहरू निजी नै बेसी थिए। इन्दिरा गान्धीले १९६९ मा ब्यांकहरू राष्ट्रियकरण
गरिन। यसले ती किसानहरूलाई ऋण उपलब्ध गराउन सहज भयो। ब्यांकमा रोजगारको अवसर पनि बडेर गयो। भारतमा भएको
धानबाट पैदावार कम हुन्थ्यो र मनसुनले राम्रो साथ नदिएको बेला अकाल सृजना
हुन्थ्यो। अन्न उत्पादनमा पूर्ण आत्मनिर्भर थिएन।
देशको खेतमा रोपिने धान उँचाइ बडी भएको कारण फसल
लाग्दा ढल्किन्थ्यो। यसैले योजनाको शुरूवातमा ताइचुङ धानसित मिलाइयो। यद्यपि पैदावार
खासै बडेन। यसपछि आइआर 8 नामक नयाँ भेराइटिको विकास गरियो। पारम्परिक धान एक हेक्टरमा
1 टन भन्दा थोरै अधिक मात्र उप्जाव हुन्थ्यो भने नयाँ भेराइटिबाट रसायनिक मल र
नहरको बन्दोबस्त गरेपछि 8 -19 टन हुन थाल्यो।
हरित क्रान्तिको प्रयोगले गहुँ र धानको
खेतीमा पैदावर वृद्धि भयो र यसले भारतमा खाद्यान्नको
संकट समाधान गर्यो। आयात गर्नु परेन बरु अतिरिक्त गहुँ र धान निर्यात हुनथाल्यो। पञ्जाब, हरियाना, उत्तर प्रदेशका धेरै किसानहरूलाई गरिबीबाट मुक्ति
दिलाए।
आधा शताब्दी अघिसम्म विश्वका गरिब अनि पानी
कम्ती पर्ने क्षेत्रमा अन्न उत्पादन थोरै हुने र अनिकाल सृजना भइबस्थ्यो। यही हरित
क्रान्तिको कारण पछिल्लो पचास वर्षमा उप-सहारा मरुभूमि क्षेत्र बाहेक अन्य क्षेत्रमा
अनिकाल समाप्त भएको छ। जनसंख्याको वृद्धि धेरै बडे तापनि खाद्यान्नको अभाव खटकिएको
छैन। यसरी विशाल जनसमूहलाई भोक र अकाल मरणबाट बचाएको छ।
युवान लोङपिङ (1930-मई2021)र हाइब्रिड धान : चीनको एक कृषि वैज्ञानिक युवान लोङपिङले 1964मा
धानको हाइब्रिड भेराइटि विकास गर्यो। धानमा हाइब्रिड अघि गरिएको थिएन। यसैले उनलाई
हाइब्रिड धानको जन्मदाता भनिन्छ। उनले गरेको अनुसन्धानले चीनको विशाल जनसमूहलाई खाद्यान्न
संकटबाट मुक्ति दिलाए। 1994 देखि भारतमा पनि हाइब्रिड धानको खेती गर्न लाग्यो।
हरित क्रान्तिको सीमितता : हरित क्रान्तिको सफलता धेरै भए पनि यसलाई
दीर्घकालीन समाधान भन्न सकिएन। किसानले बीउ, रसायनिक मल, मसिन किन्न पर्ने हुँदा उसलाई ऋणको बोझ बड्यो।
भारतका धेरै किसानहरूको आत्महत्या यसको कारण पनि हो। हरित क्रान्तिले एकै प्रकारको
खेती लगाउन प्रोत्साहन गराउँछ, यसले गर्दा जमिनको उर्वरतामा प्रभाव पर्ने भयो।
पारम्परिक कृषिमा खेतीवालाले एकपटकमा एउटै बाली मात्र नलगाएर धेरै थरीका लगाएको
हुन्छ जसले जमिनको उर्वरता कायम भइरहन्थ्यो। तर यो नयाँ कृषि प्रविधिमा त्यस्तो प्रावधान
राखिएको थिएन। यसैले अहिले कृषि वैज्ञानिकहरू हरित क्रान्ति उत्तर योजना आवश्यक
रहेको मान्दछन।
जीनेटिक परिवर्तित अन्न : पारम्परिक खेतीमा फसललाई धेरै कुराले हानि पुर्याउने
किरा फटेंग्रा, भाइरस, अवाञ्छित झारहरूको रोकथामको निम्ति किसानले धेरै परिश्रम गर्नु पर्छ र अधिकतर
फसल यसले विनाश गर्छ। हरित क्रान्तिकालमा यसबाट छुटकारा पाउनु किटनाशक दवाई र झारपात
मास्ने रसायन प्रयोग गरियो। किटनाशक दवाई र रसायन स्वास्थ्यलाई आघात पुर्याउने हुन्छ।
यसैले वैज्ञानिकहरूले यो समस्याहरूको हल जिनेटिक विज्ञानमा खोजे। उनीहरू चाहन्थे किरा
नलाग्ने भेराइटिको विकास गर्न। किरा नलाग्ने
भए पछि किटनाशक दवाई प्रयोग गर्नु परेन। चामलको रङ्ग सेतो हुन्छ र सेतो चामलमा भिटामिन
ए हुँदैन। आर्थिक स्थिति कमजोर हुने र भात मुख्य भोजन हुने परिवारलाई प्रशस्त
सागसब्जी र फल उपलब्ध हुँदैन। यी परिवारहरू भिटामिन ए को अभावको कारण स्वास्थ्य
समस्यामा पर्छन्। जीन तकनिकद्वारा यस्तो चामल भिटामिन ए युक्त फलाउन सकिन्छ।
हुनत मान्छेले हजारौं सालदेखि जङ्गली बीउबिजन
छानेर छुट्याएर उमार्ने काम गरेकै हो। यसो गर्दा अप्रत्याशित रूपमा जीन एक देखि
अर्को वनस्पतिमा आरोपित हुन्थ्यो। कुनै पनि जीव चाहेँ वनस्पति अथवा पशुजन्य सबैमा क्रोमोजोम
हुन्छ। क्रोमोजोम डिएनएले बनिएको हुन्छ। डिएनए जिनेटिक वस्तु हो। अहिले सुनियोजित
रूपमा जीन प्रत्यारोपण गरिन्छ। एउट उद्भिदमा देखिएको कमजोरी वा अभाव अर्को
उद्भिदको जीन प्रत्यारोपन गरेर त्यसको अभाव वा रोग निवारण गर्ने कामलाई जिनेटिक मोडिफिकेसन
भनिन्छ। यसरी कृतिम रूपमा तयार गरिएको वनस्पतिको फसल वा फल जिनेटिकल्ली मोडिफाइड फुड
भनिन्छ। एक वनस्पतिमा ३०००० देखि ५०००० जीनहरू हुन्छन्। जीन प्रत्यारोपण
भने ५ प्रतिशत मात्र हुन्छ। यसैले कृतिम जीन प्रत्यारोपित बोट घरेलु बनाइएको बोट जस्तै
हुन्छ। विश्वको १२ प्रतिशत कृषि भूमिमा जीन परिवर्तित अन्न उत्पादन हुन्छ। यो १२ प्रतिशत
भनेको १७९.७ मिलियन हेक्टर हो। १५ भन्दा धेर थरीका यस्ता अन्नहरू छन। तिनीहरू आइफल, तोरी, आलु, बैगुन, मकै, सुनौलो धान, कपास, भटमास आदि छन। अमेरिकाको भटमास खेतीको ९४ प्रतिशत
र मकै खेतीको ९२ प्रतिशत जीन परिवर्तित हो। नयाँ जीन परिवर्तित अन्नको बाली लगाएको
२५ वर्ष भयो। यो अन्नको सेवन गरेर स्वस्थ्य क्षति भएको कुनै आँकडा अंकित भएको छैन।
अमेरिकी सरकार अधीन खाद्य औ औषधि प्रशासनले ( एफडिए) जिएमओ अन्न सुरक्षित रहेको
भनेको छ।
अङ्ग्रेजीमा जीएमओ फुड भनिने यो खाद्यान्नको बिरोध
भएको देखिएको छ। कृतिम तरिकाले उमारेको अन्न प्राकृतिक जस्तो सुरक्षित हुँदैन र यसको
सेवनले गम्भीर स्वास्थ्य समस्या आउन सक्ने
बिरोधी पक्षको मत रहेको छ। पर्यावरणवादी र
अर्गानिक फुडको पक्षधर चाहे हरित क्रान्ति होस या जीएमओ, दुवैमाथि तीव्र प्रहार गरेका छन। अर्गेनिकका पक्षधर
रसायनिक मल प्रयोग बहिष्कार गर्छन र प्राकृतिक मल प्रयोगमा विश्वास गर्छन्। ग्रीन रिभोल्युसनको
सफलता नै रसायनिक मलमा आधारित हुन्छ। मोनसान्टो
कम्पनी जीएमओ फुडको ठूलो निर्माता भएको कारण धेरै देशहरूमा विरोध गरेका छन।
( सुषमा नैथानीद्वारा लिखित पुस्तक History and Science of
Cultivated Plants मा आधारित लेख)
Comments
Post a Comment