"आज रमिता छ" : छोटो टिप्पणी
पेम्पा तामङ
इन्द्रबहादुर राई नेपाली साहित्यको सर्वाधिक चर्चित साहित्यकार हो।
आफ्नो जीवनकालमा 19 कृतिहरू प्रकाशित गरे। ती मध्ये उपन्यास एकमात्र रहेको छ
"आज रमिता छ"। दार्जिलिङको जनजीवनमा आधारित रहेको यो उपन्यास स्थानीय वासिन्दाको वास्तविकता बुझाउन यो भन्दा
उच्च स्तरको पाठ अझसम्म कुनै लेखिएको देखिन्न।
"आज रमिता छ" फरक धारको उपन्यास भएको कारणले पाठकलाई
अन्योलमा राख्दछ। एउटा पाठकको पूर्वग्रहमा रहने कथाको आधार र आकार यसमा छैन । यसको
शुरु र अन्त केही भिन्न शैलीमा छ।
कथाको शुरूवात दार्जिलिङदेखि सिलिगुडीसम्म को यात्राको दृश्यबाट
हुन्छ र अन्त एउटा राजनैतिक सभाको तयारीमा हुन्छ । त्यो यात्राको दृश्य यहाँ
उभ्याइएका पात्र वा पात्राको होइन तर यसको सम्बन्ध भने एक पात्रसित हुन्छ जसको
उपस्थिति उपन्यासको अन्तमा पनि हुन्छ । यद्यपि शुरूको दृश्यसित अन्तिम प्रकरण केही
सम्बन्ध रहेको हुँदैन । उपन्यासको अन्त शुरुआत जस्तो छ।यसले पाठकलाई झुक्याउँछ।
परम्परागत कथामा घटना, पात्र र विचारको अन्विति हुन्छ। यहाँ त्यही अन्वितिको भञ्जन
गरिएको छ।
उपन्यासको संरचना एक मुख्य पात्रको केन्द्रमा रहेको छैन र यसको
विचित्रता यही हो। मूल पाठभित्र अनेक उपपाठ रहेको छ जसको अर्थ हुन्छ उपन्यासभित्र
उपन्यास। उपन्यासले समानान्तर रुपमा अन्य उपन्यास बोकेको पाइन्छ। कथानकको बुनोट
यसप्रकार राखिएको छ धेरै कथाहरू अटाउन सकिएको छ। यसको निम्ति लेखकले एक मुख्य
पात्रमा भर नपरेर अनेक पात्रका सृजना गरेका छन र ती धेरै जसो पात्रहरू एकार्कामा
स्वतन्त्र छन एक पात्रले अर्को पात्रलाई प्रभाव थोरै प्रकरणमा मात्र पारेको
देखिन्छ । दशौ शताब्दीको राजशेखरले "काव्यमिमांसा" मा परक्रिया र
पुराकल्प काव्यको भेद वर्गीकरण गरेको छ। परक्रिया लेखनमा एकल नायक हुन्छ जसरी रामायणमा राम मुख्य नायक
छ। पुराकल्पमा बहुल नायक हुन्छ जस्तो महाभारतमा देखिन्छ । महाभारतको कथा एक सूत्रमा बाँधिएको छ र पात्रहरू एवम घटनाको महासञ्जाल बुनिएको छ।
सबै घटना र पात्रहरू एकार्कासित कुनै न
कुनै रुपमा जोडिएका छन। वैचारिक दृष्टिकोणले यसले एक निश्चित धारणा राख्दछ ।
"आज रमिता छ" उपन्यास बहुल नायक छ। तर यसमा अनेकन सूत्र र विभिन्न
विचारगोष्ठीको समागम छ। कथानक कुनै एक सूत्रमा बाधिएको छैन र अनेकौं कथाहरू एकैसाथ
प्रवाह जस्तै भएर आएका छन। कुनै निश्चित विचार बोकेको छैन । "आज रमिता छ" महाभारत जस्तो पुराकल्प
होइन । यो आधुनिक मान्छेको चित्रण हो।
जर्मन आलोचक एरिक आयरबाख
आफ्नो प्रसिद्ध पुस्तक माइमेसिस मा बताउँछ
महाकाव्य वा उपन्यासको दुईवटा परम्परा छ: एउटा होमरीय परम्परा र अर्को
बाइबलीय परम्परा। होमरीय परम्परामा पात्रको पूर्ण परिचय दिइएको हुन्छ । उसको
जीवनको सम्पूर्ण कहानी बताइएको हुन्छ। रामायण र महाभारतमा सबै पात्रहरूको पूर्ण
परिचय पाइन्छ। उनीहरूको जन्मजन्मान्तरको कथा राखिएको छ। यसैले रामायण र महाभारत
होमरीय परम्पराभित्र पर्दछ। बाइबलमा धेरै पात्रहरू यस्ता छन जसको केही परिचय
पाइदैन । कहाँबाट आए र कता हराए केही निश्चितता छैन। पात्रहरू अचानक देखा पर्दछ र
अचानक बिलुप्त हुन्छ । "आज रमिता छ" का धेरै पात्रहरू यस्ता छन जसको
केही परिचय दिइएको छैन । केही पात्र एकपटक देखा परेपछि फेरि फर्केर आउँदैन। उसको
जीवनको बारे केही जानकारी पाइँदैन । मुख्य पात्र जनक एक असफल व्यापारी थियो र के ऊ
दफल राजनीतिज्ञ भयो या भएन त्यो जान्न सकिन्न। एउटै मात्र पात्र एम के को मृत्यु
देखाइएको छ र उसको जीवनको पूर्णता देखिन्छ। यसैले यो उपन्यासलाई बाइबलीय परम्पराको
भन्न सकिनेछ ।
साहित्यमा जैविक(अर्गानिक )
र अजैविक (ननअर्गानिक ) लेखनको चर्चा आउँछ। जैविक लेखनमा व्यष्टि
(पार्टिकुलर) र समष्टि (युनिभर्सल)को सामञ्जस्य रहेको हुन्छ । जुन लेखनमा कथ्यको
स्वरुप एक सक्लो आकार वा अन्विति रहेको हुन्छ त्यस्तो लेखन जैविक लेखन हो। जुन
आख्यानको स्वरुप बहुल छ र कथानक
विकीरण भएर मूल सूत्रमा रहेको हुँदैन
त्यसतो लेखनलाई अजैविक भनिन्छ। ( Generally speaking, the
work of art is to be defined as the unity of the universal and the particular)
(In the organic (symbolic ) work of art, the unity of the universal and the
particular is posited without mediation; in the non- organic (allegorical) work
to which the works of the avant garde belong, the unity is a mediated one )
(Theory of the Avant -Garde) (Peter Burger) अजैविक लेखन
अवाँ गार्दे ( अवान्त गार्दे) को लक्षण हो। यो एक नयाँ र अपारम्परिक अर्थात् यसअघिका भन्दा भिन्न रहने हुनाको कारण यसलाई
आधुनिकता भित्र हेरिन्छ । "आज रमिता छ" उपन्यास एक अवाँ गार्दे रचना हो।
कथा सूत्र एक नभएर अनेक छन्। पात्रहरू स्वतन्त्र छन र ती एकार्काका सहायक छैनन्
। मूल कथा र उपकथा निर्भर छैन। यसैले कुनै
उपकथा निकाले मूल कथामा प्रभाव पर्दैन ।
यो उपन्यासको विशेषता भनेको कुनै एक मूल विचार नरहनु वा अर्थको स्थगन
रहनु हो। सृजनात्मक लेखनमा वा कुनै पनि कलामा अर्थ प्रक्षिप्त रहेको अर्थात्
स्पष्ट नरहेको हुनुपर्ने विचार राखेको छ रोल्याँ बार्थले।( "A work of literature or at least of the kind that is normally
considered by the critics ( and this itself may be a possible definition of
"good" literature ) is neither ever quite meaningless (mysterious or
inspired ) nor ever quite clear ; it is, so to speak,
suspended meaning ") (Roland Barthes: Criticism as Language). " आज
रमिता छ" पढिसकेर पाठकमा अन्यमनस्कता आउँछ । भ्रामक लाग्दछ; यसको अर्थ बोध
गर्न कठिन पर्दछ। शीर्षक र पाठमा सामञ्जस्यता भेट्न अलमल हुन्छ । पाठ अनेकार्थी
रहेको देखिन्छ। अर्थको क्रिडा राखिएको बोध
हुन्छ । यस उपन्यासमा समेटिएको यही तकनिकको कारणले यसले भिन्न पाठक र भिन्न समयमा
फरक अर्थ सम्प्रेषण गर्न सक्षमता देखाउँदछ।
1986 को गोर्खाल्यान्ड आन्दोलनमा घिसिङले दिएको "माटो "
नारा चर्चित थियो । धेरैले यो प्रतीक उनको देनको रुपमा लिएको थियो । तर दार्जिलिङ
र यहाँको मूलवासीको प्रश्न राईको यस
उपन्यासमा उतिबेलै रहेको देखिन्छ । "दार्जिलिङको फुस्रो र रातो माटोलाई जसले
खनेर खानेकुरा उमार्न सक्छ दार्जिलिङ आदिदेखि अन्ततक उनीहरूकै हो, अरु कसैको हुन
सक्तैन। माटोले जसलाई दिन्छ त्यो ठाउँ उसैको हो, अरु त आशामा बसेकाहरू मात्र
हुन्।" गोर्खाल्यान्ड मुद्दामा माटो शब्दको बिजारोपन यही भएको पढन पाइन्छ।
यसबाट उनको दार्जिलिङप्रतिको प्रेम र प्रतिबद्धता पनि देखिन्छ । नभन्दै छुट्टै
गोर्खा प्रान्तको मुद्दा लिएर गठित दलको नेतृत्व राईले गरेको थियोे । इबराले
पश्चिम बंगाल राज्यभित्र पर्ने दार्जिलिङ जिल्ला भनेर चिनाएको छैन तर भारत भनेर
बुझाइएको छ। दार्जिलिङको भारतभित्र फरक अस्तित्व रहेको बुझाइ यसबाट निष्कर्ष
निकाल्न सकिन्छ ।
"आज रमिता छ" प्रथमपल्ट "अञ्जली" पत्रिकामा
धारावाहिक रुपमा प्रकाशित भएको नर बहादुर दाहालले उल्लेख गरेको छ। यद्यपि सम्पूर्ण
कृति भने पत्रिका बन्द भएको कारण निस्कन सकेन । दाहालले यो चर्चामा ल्याएको छ
उपन्यास लेखिसकिएको हो उत्तिनै बेला । यो प्रकरणबाट उपन्यासको रचनाकाल 1955 देखि
भएको अनुमान हुन्छ । 1955 देखि यताका कुनै परिघटना कथामा नआएको कारणले यसको लेखनमा
पूर्णता यसैको एकदुई साल अन्तर्गत हुनु पर्ने अनुमान हुन्छ । यहाँ भारत र चीन माझ
गरिएको पञ्चशील सम्झौताको प्रसङ्ग छ जो 1954 मा भएको हो। गोर्खा जातिको परिचय
योद्धाको रुपमा रहेकोले यो शान्ति सम्झौताको व्याख्या युद्ध विरोधी रहेको र गोर्खा
सेनाको वीरता खेर जाने देखाइएको छ। " पंचशील र सह-अस्तित्वको शान्ति नीतिले
हामी रणकुशल गोर्खालीहरूलाई अनुपयोगी र बेकार पार्न आँट्यो। बाघ, विरालु, मुसा,
बाख्रा, साँप, चरा, घडियाल सबैले आपस्तको बैर भुली एक ठाउँमा मिलेर सह-अस्तित्व
बसेको मैले खालि एक जग्गामा देखेको छु।
पार्कको मुनि चिडियाखानामा।" मानव समूह बीच युद्ध स्वाभाविक र अनिवार्य रुपमा
हुने बताइएको छ र शान्ति सम्झौता सफल हुनेछैन। गोर्खा र युद्ध अलग गर्न नसकिने
तर्क हो र यहाँ विद्रुपताको साथ राखिए तापनि यो पछि गएर सत्य सावित भएको देखिन्छ ।
यहाँ भनिए झै पंचशील सम्झौताले युद्ध रोक्न सकेन। 1962मा चीनले भारतमाथि आक्रमण
गर्यो। भारत र चीनबीच को तनाव आजसम्म पनि यथावत रहेको छ।
दार्जिलिङको गोर्खाली वा भारतका अन्य प्रान्तमा रहेका कुनै पनि
नेपालीको नेपालसित पारिवारिक वा भावनात्मक सम्बन्ध जोडिएको हुन्छ । यस उपन्यासको
मूल पात्र जनककी पत्नी सीता पनि धनकुटा नेपालबाट रहेको छ। इबराले यसैले नेपालको
सामाजिक राजनैतिक स्थितिमा दृष्टि राखेको छ। नेपाल एकीकरण अभियान साथै एकल
संस्कृति र एकल जातिको प्रभुत्व बडेर गयो ।
यसले परापूर्व कालदेखि आवाद गरेका मूलवासी किनारिकृत हुन पुग्यो ।
आदिवासीजनजातिमाथि परेको प्रकोप यहाँ देखाइएको छ
" ठूलो एक चक्ला परेको रोज्जा खेत अब कसको छ, हेरेर त्यो
राजवंशी, सत्तार वा धिमालमाथि मुद्दा र अड्डा गोर्खाराजको आदिम अभिशाप भएको छ।
न्याय हराए गोर्खा जानू तर न्याय नपाउनु हो भने गोर्खाराजमै बसिरहनु - यिनीहरूको
अनुभवले भन्छ । रात-विरात तिनीहरू खेत छोडेर भागे, स्वास्नी छोराछोरी समेत माया
मारेर। भागेकै भोलिपल्टदेखि त्यो जमिन र खेत चौर विजेता गोर्खालीको सम्पत्ति भयो ।
दिन र रात समान भएको त्यस कालको मोरङमा गोर्खालीले दिउँसै डकैती गरे; धन, प्राण,
लज्जा लुटे ।"
इबराको नेपालको यो चित्रण कवि वैरागी काइँलाको कविता " शरणार्थी
चिन्तन र मालीगाउँको चितुवा" मा पनि देखिन्छ :
"लखेटिएका हामीहरू
देश खोज्दै जङ्गल पस्नु पर्यो"
"यसरी परास्त भएपछि इतिहास विहीन
गौरवगाथा लुटिएर श्रीहीन
हामी प्रकृतिका सन्तति, घरवार विहीन
विस्थापित शरणार्थी चिन्तन !"
काइँलाको कविताले एकीकरण पश्चात् आदिवासीजनजातिले भोग्न परेको पीडा
झल्काएको छ।
इबराले नेपालबाट नेपालीहरूको व्यापक पलायनमाथि पनि यहाँ व्यंग्यात्मक
रुपमा बताइएको देखिन्छ।
जनक नेपालबाट दार्जिलिङ फर्केर आउँदै गर्दा भारत नेपालको सीमानामा
मजुर देख्छ जो भारततिर जाँदै थियो । खेदेर गएर मजुरलाई छेकेर नेपालभित्र पसाउँछ र
भन्छ :
"हामी त पस्यौं पस्यौ स्वदेश छोडेर, त्यो मुजुर पनि हामी जस्तो
मुग्लान पस्न लागेको ! खुब चक्कर लाएर खेदेँ। खेदेरै पनि फेरि नेपालभित्रै
हालिराखेको छु। कडा चेताउनी दिएर छोडेको छु। हामी मान्छे त प्रवास पस्यौँ पस्यौँ ,
वनको पशु-पक्षीले पनि यसरी स्वदेश छोडन थाले कति दिन रहन्छ नेपाल ?"
यो उपन्यासलाई निम्न बुँदाहरूमा हेर्न सकिनेछ
1. कृति दार्जिलिङको कथा हो।
2. कथा सन् 1930 बाट शुरु
भएर सन् 1955 मा समाप्त हुन्छ । वेज्ञानिक
सी भी रमणले 1930 मा नोबेल पुरस्कार प्राप्त गरेको हो। रमणले पाएको पुरस्कारमा
महाविद्यालयमा हर्ष बडाइ गरिएको दृश्यको जनक साक्षी बनेको छ। 1955 मा दार्जिलिङमा
चियाकमानमा ट्रेड युनियनको हडताल भयो । यही बेला मार्ग्ररेट होप चियाकमानमा
पुलिसले गोली चलाएको कारण 6 श्रमिकहरूको मृत्यु भएको थियो । यही काण्डलाई
सृजनात्मक रुपमा उपन्यासको अन्तिम प्रकरणमा राखिएको छ।
3. "पुरानो दार्जिलिङको एउटा उपन्यास लेख्नुपर्ने थियो
कसैले।" राईको यो उपन्यास त्यही एक पुरानो दार्जिलिङको उपन्यास देखिन्छ ।
4. दार्जिलिङको मूलवासी गोर्खाली/नेपाली हुन र उनीहरू नै यो शहरको
निर्माता हुन भन्ने विचार राखिएको छ। भारत र नेपाल फरक देशहरू हुन र दार्जिलिङका
नेपालीहरूको नेपालसित वैवाहिक वा सांस्कृतिक सम्बन्ध भए तापनि उनीहरू मूल रुपमा
दार्जिलिङ कै रहेको विचार छ।
5. त्यो समयमा दार्जिलिङमा
आर्थिक स्तरमा निम्न वर्गका अधिक रहे तापनि यस उपन्यासका पात्रहरू भने अधिकतर
मध्यम वा निम्न मध्यमको रहेका छन्।
6. दार्जिलिङ एकल जातिको प्रभुत्व भएको भूमि नभएर बहुल जातिको
वासस्थान देखाइएको छ।सांस्कृतिक,, धार्मिक र भाषिक रुपमा पनि बहुलता रहेको चित्रण
छ। यसबाट दार्जिलिङ जातीय संकीर्णताबाट
मुक्त रहेको देखिएको छ।
7. यो छ दशक भन्द पुरानो उपन्यास हो तर यो दार्जिलिङको लागि अहिले
पनि सान्दर्भिक देखिन्छ।
8. कुनै पनि साहित्य स्रष्टाले आफूलाई एक जिम्मेवार सम्झन्छ र आफ्नो
मूल्य मान्यता अनुरुप समाज र व्यक्तिप्रति उसको बुझाइ र आदर्श व्यक्त गर्दछ। हुनत
असल सृजनात्मक लेखन निर्देशनात्मक हुनु सगुण मानिँदैन र यो गुण र अवगुणको
द्विचरबाट निरपेक्ष रहनु पर्दछ। राईको सबैभन्दा ठूलो सफलता यो उपन्यासमा कुनै स्पष्ट संदेश वा धारणा राख्नबाट निरपेक्ष रहनु
रहेको छ।
Comments
Post a Comment