प्रतिलेखन
प्रतिलेखन शब्द अङ्ग्रेजी शब्द काउन्टर नेरेटिभ (counter narrative) को नेपाली अनुवाद हो।
एक मूल लेखन महाकाव्य, नाटक, उपन्यास वा कुनै कथाबाट प्रेरित भएर लेखिने रचनालाई पुनर्लेखन भनिन्छ । पुनर्लेखनको परम्परा पूर्व वा पश्चिम दुवै तिर प्राचीन कालदेखिनै चलिआएको बुझिन्छ। वाल्मीकि रामायणबाट प्रेरित भएर संस्कृत भाषामा धेरै काव्यहरू रचना गरेका पाइन्छन्। ती मध्गे दशवटा प्रमुख छन। त्यही दशमध्ये एक अध्यात्म रामायण हो। यही अध्यात्म रामायणबाट प्रेरणा लिएर भानुभक्तले सरल नेपाली भाषामा रामायण रचना गरे। यसैले भानुभक्तको रामायण पुनर्लेखन हो। तुलसी दासको हिन्दी (अवधी) मा लिखित रामचरितमानस पनि पुनर्लेखन नै हो। यो महाकाव्यमा तुलसी दासले वाल्मीकि रामायणमा नलेखिएको रामको बाल्यकालको थप चित्रण गरेको छ। यस्ता लेखनलाई अनुवाद नभनी पुनर्लेखन भनिन्छ किनकि यी रचनाहरूमा सृजनात्मक थपघट र शैली अन्तर रहेको हुन्छ। कालिदासको शाकुन्तल पुनर्लेखन हो महाभारतको। देवकोटाको शाकुन्तल महाकाव्य यही कालिदासको शाकुन्तलको पुनर्लेखन हो। यिनीहरू पुनर्लेखन मात्र हुन किनकि यिनीहरूले मूल स्रोत कृतिका भाव विचलन गरेका हुदैनन्। स्रोत काव्य वियोगान्त छ भने पुनर्लेखन पनि वियोगान्त रहेको हुन्छ । मूल लेखनको विरोधी स्वर हुँदैन यी उत्तर लेखनमा।
यसरी पुनर्लेखनको परम्परा प्राचीन कालदेखि रहे तापनि यसले सैद्धान्तिक रुप भने ग्रहण गरेको थिएन। नभन्दै दशौ शताब्दीको काव्य मर्मज्ञ राजशेखरको कृति काव्यमिमांसामा भने यसको चर्चा रहेको छ। उनले शब्दार्थ ग्रहण भनी यसको उल्लेख गरेको छ। यो पुनर्लेखन विधिको लेखन चर्चा भन्न सकिन्छ। तर उनका पछिका कुनै काव्य चिन्तकले यो विचारलाई अघि बडाएको देखिन्न। स्वयम् राजशेखर आफैले पनि उनको सृजनात्मक कृतिमा यो प्रयोगमा ल्याएको देखिँदैन।
वीशौ शताब्दीमा आएर धेरै सर्जकहरूले यो पुनर्लेखनमा जोर दिन थाले विशेषगरी पाश्चात्य लेखकहरूले। अर्जेन्टिनाको लेखक बोर्हेजले भने कुनै पनि लेखन मौलिक हुन सक्दैन र सबै पुनर्लेखन मात्र हुन्छ।
उच्चाधुनिक उपन्यास जेम्स जोयसको उपन्यास युलिससलाई पनि एक पुनर्लेखन भनिन्छ होमरको महाकाव्य ओडिसीको।
पुनर्लेखनको चर्चामा "वाइड सरगास्सो सी" बहुचर्चित उपन्यास हो। यो 1960 मा प्रकाशित भएको थियो। यस उपन्यासलाई आधुनिक क्लास्सिकको दर्जा दिइएको छ। यसको कथा चार्लोट ब्रन्टीको प्रसिद्ध उपन्यास "जेन आयर" को पुनर्लेखन हो। यस उपन्यासमा ब्रन्टीको उपन्यासमा रहेको एक पागल महिलाको चित्रण छ। यद्यपि यसले त्यस उपन्यासमा उसको पतिले उसलाई प्रताडित गरेको देखाइएको छ। यसरी यो काउन्टर नेरेटिभ वा प्रतिलेखन हो।
नेपाली भाषामा हेर्नु पर्दा इन्द्रबहादुर राईको 1980 को दशकमा लेखिएको "घाँसीसँग" कथा त्यस्तो पहिलो प्रतिलेखन वा प्रतिआख्यान देखिन्छ। राईले यो कथामा भानुभक्त र घाँसीको प्रसङ्गलाई नयाँ दृष्टिकोण दिइएको छ। यो कथा उनको "कठपुतलीको मन" कथा संकलनमा सामेल छ। उनको अर्को कथा "कठपुतलीको मन" मा पुनर्लेखनको दुवै रुप राखिएको छ। राईले विकथा भनेको छ। यो कथा गुरुप्रसाद मैनालीको चर्चित कथा "परालको आगो" को पुनर्लेखन हो। लोग्ने स्वास्नीको झगडा परालको आगो जस्तै एकैक्षण निभ्ने वा साम्य हुने मिथकमा आधारित छ। राईले "कठपुतलीको मन" मा देखाएको छ लोग्ने स्वास्नी झगडा गरेर क्षणभरमै मेलमिलाप नभएर छुटानाम हुनसक्छ अथवा एकार्कामा सधैंको निम्ति वैरभाव राख्ने सम्भावना रहन्छ। यसरी यो मिथकको अर्थलाई गलत सिद्ध गरेको छ। यसरी यो परालको आगो कथाको प्रतिआख्यान वा प्रतिलेखन भएको छ।
यी उदाहरणबाट बुझिन सकिन्छ प्रतिलेखन एक प्रतिकार गरिने लेखन हो। यसले अघिबाटै लेखिएका आख्यान वा विचारको सूत्र समातेर त्यो मूल लेखनको जरा खोतल्दछ र प्रतिकार गर्दछ। यसप्रकारको लेखनलाई प्रतिलेखन भनिन्छ ।
समकालीन समयमा नारीवाद, जनजातिवाद, दलितवाद, नश्लवाद लेखनमा प्रतिलेखनले अहम भूमिका निभाएको छ।
Comments
Post a Comment