Skip to main content

गुमानसिंह चामलिङ

  गुमानसिंह चामलिङ बनाम तेस्रो      आयाम

 

                                पेम्पा तामङ

 

आयामेली साहित्य आन्दोलन नेपाली साहित्यमा त्यस्तो पहिलो हस्तक्षेप हो जो औपचारिक रुपमा 1१९६३को मई महीनामा " तेस्रो आयाम" बाट घोषणा भएको थियो। यो आन्दोलन चलाउनुको मुख्य कारण यो रहेको थियो "छिमेकी साहित्यको तुलनामा हामी अत्यन्त पछाडिएको हाम्रा केही साहित्यकारहरूलाई बोध भयो। बौद्धिकताको प्रयोगको समय थियो, कोरा भावुकताको युग समाप्त गराउनु थियो। पलायनवाद प्रलाप मात्र हो भन्ने स्पष्ट गराउनु थियो।"(जगत छेत्री)। तेस्रो आयाम आन्दोलनको औचित्यमा वैरागी काइँलाले लेखेको  छ : " कोरा भावुकता प्रलाप मात्र नभएर दायित्वबोधदेखि पलायन पनि हो। फलतः जिन्दगीदेखि पनि पलायन हो। यस किसिमका साहित्य लेखनलाई आयामिक शब्दका चेप्टो भनिन्छ। किनभने तेस्रो आयाम (गहिराइ तथा विचार वा दर्शन) हुँदैन । यस्ता रचनाले आधुनिक बौद्धिकताको भोक तृप्त गर्न असमर्थ हुन्छन् ।" साहित्यमा गम्भीरता ल्याउन, बौद्धिकता ल्याउन र नयाँ प्रयोगको शुभारम्भ गर्न आयामेली आन्दोलन चलाइएको थियो।

 इन्द्रबहादुर राई उपन्यासकार (यतिबेला "आज रमिता छ" लेखिसकिएको भए पनि पुस्तक रुपमा छापामा आएको थिएन), कथाकार र समालोचक थियो भने वैरागी काइँला र ईश्वर वल्लभ कवि थिए  ।

आयामेली साहित्यको सैद्धान्तिक पक्षहर यी हुन (१) घनत्व (२) वस्तुता (३) सम्पूर्णता (४) आद्यस्वरुप र (५) चित्रकलाको सोझो साम्य भाषा ( अशेष मल्ल)। इन्द्रबहादुर राईले पछि "कथास्था" (१९७२) मा यी चार पक्षहरू देखाएको छ (१) सम्पूर्णता (२) वस्तुता (३) चित्र र (४) मूल्य ।

आयामिक आन्दोलनले एउटा विशाल तरगं ल्यायो। यसको भाषिक क्लिष्टता, अबोधगम्यता र अतिबौद्धिक विषयले यो रहस्यमय हुन गयो। आम पाठकले यावत पढिआएको हाँस्ने रुवाउने उद्वेलित गर्ने वा उत्तेजना बडाउने जस्तो नभएर यसले गम्भीर विषयहरू उठाइरहेका थिए भने भाषाको अमूर्त प्रयोगको कारण नबुझिने भइरहेको थियो । केही आलोचकहरूले यो पश्चिमी अनुकरण मात्र हो र प्रचार मात्र हो भने, नयाँपन केही नभएको । विरोधको मसाल बोकेर आउने लेखकहरूमा गुमानसिहं चामलिङ प्रमुख थियो । चामलिङको यो विरोध जीवनको अन्तिम कालसम्म पनि रहेको देखिन्छ। (गुमानसिहं चामलिङका अन्तिम वक्तव्य: १७-१८ अगस्त , २००२, गान्तोक कम्युनिटि हल)।

१९६३-६४ मा गुमानसिहं ईश्वरवल्लभ र इन्द्रबहादुर राई-का शिष्य थियो। गुरुहरूबाट प्रणित आन्दोलनमाथि आक्रामक लेख लेखे छात्र गुमानसिहंले। यो लेख तिनताकको जनप्रिय साहित्यिक पत्रिका "जनदुत" मा १९६३ मा छापिएको थियो। लेखको शीर्षक थियो "कवितामा 'तेस्रो आयाम' वा केवल 'प्रचारको ढोंग?' "। लेखको पृष्ठभूमि उल्लेख गर्दै यसो भनिएको छ

"जतिबेला आयामेली लेखन शुरु भयो, त्यतिबेला म विद्यार्थी थिएँ , स्कूल फाइनल सकेर बसेको थिएँ, कलेज गइहालेको थिइनँ, रिजल्ट पर्खिरहेको थिएँ ।………….प्रश्न गर्ने विद्यार्थीको स्वभाव नै हो, प्रश्नकर्ताले प्रश्न गरिदिए पो शिक्षकहरूले पनि आफ्ना कुराहरू बुझाउन, प्रतिपादन गर्न पाउँछन् ,….(लेखमा) मैले (आयामेली साहित्यप्रतिको) जिज्ञासाले सोधेको थिएँ।" (जीवन लावरले लिएको अन्तर्वार्तामा भने उनले यो लेख आफू कलेज पढदै गर्दा लेखेको भनेको छ)। गुमानसिहंको यो भनाइमा ४० वर्ष पछि आएको  भए पनि यसबाट बुझिन्छ उल्लेखित आक्रामक लेख एउटा प्रश्न मात्र थियो । हुनत यसलाई प्रश्न मात्र भन्न न्युनोक्ति हुन्छ किनकि निकै कठोर शब्द प्रयोग गरिएका छन जस्तै  "परम्पराविरोध नितान्त भ्रामक", "भुसुना "। यसैले यो जिज्ञासा वा प्रश्न मात्र नभएर कठोर समालोचना नै थियो।

 यो लेखको प्रतिउ्त्तरमा वैरागी काइँलाले लेखे जसको उल्लेख तिनले यसरी गरेको छ "तर वैरागी काइँलालाई प्रवक्ता बनाई कति अशिष्ट तरीकाले उहाँहरूले त्यसको जवाब छपाउनु भयो।" यो लेखको प्रसङ्ग वैरागी काइँलाले उठाएको छ। "चामलिङको आक्रमणको चर्को प्रतिउत्तरमा "तेस्रो आयाम र आयामिक लेखन" लेख्न बाध्य तुल्याएको थियो।" काइँलाले भनेको छ प्रतिउत्तरमा चामलिङको लेख उल्लेख गरेन। खालि पादटिप्पणीमा दुई पटक नाम लिइयो । काइँलाको यो भनाइबाट बुझिन्छ उनीहरूले चामलिङको आक्रमणलाई गम्भीरतापूर्वक लिएको थिएनन्। चामलिङले प्रयोग गरेको "प्रवक्ता" नाम शिष्ट लाग्दैन र कटाक्ष देखिन्छ ।

लाबरसितकै अन्तर्वार्तामा यो भनेको छ" कवितामा अर्थहीनताको प्रतिपादन तीनैजनाले शुरुमा जोडतोडले गर्नुभएथ्यो, तर जनदूत -मा मेरो आलोचनाको प्रकाशनपछि वैरागी काइँलाले भने हत्तपत्त सच्याउनु भो अर्थ निरपेक्षताको कुरो गरेर।" चामलिङको लेखमा कवितामा अर्थहीनतामाथि प्रश्न उठाएको छैन। यसैले यो अनुपुरक प्रसङ्ग हुनजान्छ। वैरागी काइँलाले गुमानसिहंमाथि लेखेको लेखमा कवितामा अर्थको मुद्दा लिएर केही लेखिएको छैन । तर इन्द्रबहादुर राईले सितम्वर १९६३ मा जनदूत-मा "आयामिक कवितामा अर्थनिरपेक्षता" शीर्षकमा लेख छापेको छ जो वासुदेव शर्माको जनदूत-मा प्रकाशित पत्रको जवाब भनिएको छ।   

 गुमानसिंहको लेख "कवितामा 'तेस्रो आयाम……"मा  राईको "आयामिक कवितामा अर्थनिरपेक्षता" लेखको उल्लेख छ। यसैले चामलिङको यो लेख पछिको होराईको भन्दा। यस लेखमा गुमानसिंहको लेखको चर्चा वा प्रतिउत्तरको प्रश्न आउँदैन किनकि यतिबेला तिनको लेख लेखिएकै थिएन।

"कवितामा 'तेस्रो आयाम' वा केवल 'प्रचारको ढोंग?' " शीर्षक लेखनै यिनको आयामेली लेखनप्रतिको विरोधको पहिलो र मूल लेख हो। जुन समय यो लेख प्रकाशित भयो यसको पुछारमा क्रमशः लेखिएको छ र यसले इंगित गर्दछ उपरान्तमा पनि लेखे भनेर ।  तर त्यो प्रकाशित भएको देखिदैन र अहिले प्राप्य छैन। (आदित्यविक्रम गुमानसिहं चामलिङ स्मृति ग्रन्थ : सम्पादकद्वय-डा जस योञ्जन प्यासी र जीवन लावर) । तिनले तर आयामेली लेखनप्रतिको अडान यथावत राखेको जीवन लावरको लेख "आदित्यविक्रम गुमानसिहं चामलिङ" र गान्तोकमा अगस्त 2002 मा दिएको भाषणबाट बुझिन्छ। यसको एघार महीना पछि जुलाई 2003 मा यिनको देहावसान भयो।

प्रस्तुत लेख लेख्दा गुमानसिहं एक्काईस वर्षको मात्र थियो र यति कलिलो उमेरमा एक गम्भीर र आफ्नो गुरुहरूलाई चुनौती दिन सक्ने बौद्धिक तर्क राख्न सक्ने क्षमतावान देखिँदा यिनको प्राज्ञिक स्तर उच्च कोटिमा रहेको प्रतीत हुन्छ। कुनै पनि सृजनात्मक लेखनको समालोचना त्यसको स्तर बुझेर मात्र गरिन सकिने उच्च साहित्यिक चेतना उतिबेलै विकसित देखिन्छ। यिनले लेखेको छ "तेस्रो आयाम -मा छापिएका औँलामा गन्न सकिने रचनाहरू समालोचना वा मूल्यांकनको स्तरमा पुगिसकेका रहेछन कि भन्ने भ्रान्ति भने कदाचित यस लेखले नउप्जाओस।" सबै लेखन समालोच्य हुँदैन किनकि ती गम्भीर विश्लेषण सहन गर्न सक्ने हुँदैन । अमेरिकी आलोचक मार्क स्कोररले १९३० मा साहित्यमा नोबल पुरस्कार जित्ने उपन्यासकार सिन्क्लेयर लेविसबारे लेख्दा भनेको छ "सामान्य रुपमा भन्नु पर्दा सिन्क्लेयर लेविसको लेखन गम्भीर समालोचनाको विषय हुन सकेन।" (Twentieth Century Views: Sinclair Lewis)(1962) यसको संकेत हो कुनै कृति समालोचना हुनुको निम्ति त्यसको स्तर समालोचना हुन लायकको हुनुपर्दछ। लेखकले लेख्दैमा ती सबै समालोचना योग्य छन भन्न मिल्दैन। गुमानसिहंको यही चेतना उसको मेधावान हुनुको परिचय बन्दछ।

यिनले यो लेखमा कलालाई आत्मअभिव्यक्ति हो भनी परिभाषित गरेको छ। तीन कलाका रुपहरू देखाइएका छन :

१.      मूर्तिकला

२.      चित्रकला र

३.      कविता

यिनीहरूको आयाम यसरी रहेका छन

(क)   मूर्तिकला : . दैर्घ्य २. प्रस्थ ३. स्थौल्य

(ख)   चित्रकला : . दैर्घ्य २. प्रस्थ

(ग)   कविता  : काल

यसैको आधारमा प्रश्न राखिएको छ "काल" कसरी आयाम भयो भनेर।काल वा समयको एउटै आयाम हुन्छ। कालको विभिन्न आयाम हुन नसक्ने भनिएको छ। कविताको चार प्रमुख तत्व रहेको उल्लेख छ : . भाव २. कल्पना ३. बुद्धि  र ४. शैली। यी चार तत्व ठोस होइन। भावनाको लम्बाइ, चौडाइ वा मोटाइ के हुन यिनी प्रश्न गर्दछ। पछिबाट यिनलाई यो पनि ज्ञात भयो तेस्रो आयाम मौलिक नभएर आयातित हो भनेर। यसैले लेखेको छ "हिन्दीमा निक्लन थालेको पत्रिका आयामको सिकोमा भन्ने कुरो पनि यहाँहरूलाई थाहा हुनुपर्दछ।" (जीवन लावर: आदित्यविक्रम गुमानसिहं चामलिङ)। यही लेखमा फेरि लेखिएको छ "नेपाली काव्यमा नितान्त नयाँ विचार सिद्धान्त र प्रयोग भनी घोषित गरिएको यो तेस्रो आयाम कसरी नयाँ भयो, जब कि कुनै पनि विषय वा वस्तुलाई अन्धाहरूले हात्तीलाई झैँ अथवा आफ्नै पारा वा दृष्टिले नभई त्यसैको वास्तविक रुप वा थिंग इन इटसेल्फ मा बुझ्न सक्नुपर्दछ भन्ने कुरा नयाँ होइन, न त पाश्चात्य काव्यशास्त्रमा डेप्थको अर्थमा थर्ड डाइमेन्सन- को नै हुँदै नभएको हो, यो शब्दावलीको प्रयोग र विस्तार टी एस इलियटको बेन जनसन माथिको आफ्नो लेख कति युग अघि नै गरिसकेका थिए।" यहाँ जनाएको टी एस इलियटको बेन जोनसनमाथिको लेखमा इलियटले ग्रिगोरी स्मिथले बेन जोनसनको नाटकमा सेक्सपियरको नाटकमा झैँ तेस्रो आयाम नरहेको उल्लेख गरेको छ। ( If we look at work of Johnson’s great contemporaries; Shakespeare and also Donne and Webster and Tourbeur (and sometimes Middleton), have a depth, a third dimension, as Mr. Gregory Smith rightly calls it, which Johnson’s work has not.) (T.S. Eliot) गुमानसिहंले भनेको यही हो। यहाँ तेस्रो आयामको अर्थ गहिराइ (डेप्थ) भनिएको छ। वैरागी काइँलाले पनि तेस्रो आयामको अर्थ गहिराइ तथा विचार वा दर्शन भनेको छ।(तेस्रो आयाम १:२; सम्पादकीय, १९६३)

थिगं इन इटसेल्फ आयामेली लेखनको वस्तुतासित सम्बन्धित छ। राईले लेखेको छ:" अर्थ ज्ञाताको आफ्नै हो, मूल्य द्रष्टाको आफ्नै हो, वस्तुको होइन। " वस्तु र हामीले लगाएको अर्थमा समतुल्यता हुँदैन। वस्तु र वस्तुको अर्थ सापेक्षिक वा विषयी रहेको हुन्छ। यसको अर्थ हुन्छ वस्तुको अन्तकरनमा प्रवेश सम्भव छैन । वस्तुको यही निरपेक्षतालाई वस्तुता भनिएको छ। आयामेलीले वस्तुताको यो अवधारणा ईमान्युएल कान्टको दर्शनमा भएको नुमेना र फेनोमेनाबाट प्रभावित छ। कुनै पनि वस्तु दृश्यसत्तावलीमा हामी जस्तो देख्छौ वा बोध गर्छौँ त्यो भन्दा वस्तुको वास्तविक स्थिति वा चरित्र भिन्नै हुनसक्छ । त्यो वस्तुको मौलिकता हामी जान्न सक्दैनौं । यो कुनै विचार वा वस्तु जो पनि हुनसक्छ । वस्तुको यही मूल स्थिति जो हाम्रो बोधबाट टाढो छ र जसलाई हामी देख्न सक्दैनौं यही  चरित्रलाई थिगं इन इटसेल्फ भनिन्छ । (The object as it appears to us is a phenomenon , an appearance , perhaps very different from the external object before it came within the ken of our senses; what that original object was we can never know ; the "thing-in-itself may be an object of thought or inference (a noumenon)..(The Story of Philosophy: Will Durant) (p-372) यसबाट गुमानसिहंक अडान  यो नयाँ नभएर पुरानो हो भन्ने पुष्टि हुन्छ । तर विचार गर्नु पर्ने विषय के हो  भने कान्टको यो उपलब्धि आयामेलीहरूले साहित्यमा प्रयोग गरेका हुन्। दर्शनबाट साहित्यमा अवतरण गरिएको प्रयोगले नवीनता यहाँ देखिन्छ ।

आयाम ज्यामितीय शब्द हो। आयामेली साहित्यले ज्यामितीय शब्द सापटी लिएको हो। चामलिङ ज्यामितीय अर्थमा अल्झेर बसेको छ र साहित्य भावना भएको कारण ठोस बिम्ब नमिल्ने कुरा गर्दछ। आयामेली लेखन पारम्परिक साहित्य धारणा साहित्य समाजको दर्पण हो भन्न हिच्किचाउँछ। साहित्यलाई दर्पण मात्र मान्न स्वीकार गरेको छैन । दर्पणमा दुई आयामको नक्सा आउँछ। ऐनामा देखिएको व्यक्तिको भित्री मन र विचार कस्तो छ त्यो देखिँदैन । त्यो व्यक्तिको वाहिरी रूपबाहेक केही थाहा पाइँदैन । यही मात्र दर्पणको बिम्वबाट अघि जाने प्रयास आयामेली लेखनको लक्ष्य देखिन्छ ।

१९५० को दशकसम्म नेपाली साहित्य लेखनमा स्वछन्दतावादको व्यापक प्रभाव थियो । हुनत स्वछन्दतावादमा पनि धेरै धाराहरू छन र ती अलग अलग प्रवृत्तिका छन। रहस्यवाद, प्रकृतिवाद, कल्पनावाद प्रभृति रहेका छन्। यद्यपि नेपाली लेखनमा भने भावना परक, अतितमुखी, राष्ट्रियता, प्रेमभाव प्रभावी थिए। यी लेखनहरू काव्यानुशीलन र प्रयोग वा नवोन्मेष ल्याउने जस्ता थिएनन् । यसले साहित्य लेखनमा सतहीपन र मनोरञ्जन मात्रलाई प्राधान्यता दियो। साहित्यको विकासको निम्ति यसप्रकारका लेखन अवरोधक मानिए। यसैको विरोधमा उठेको हो तेस्रो आयाम।

तेस्रो आयामप्रति प्रहार जारी राखेर चामलिङले गहन विषयमा प्रवेश  गरेको छ। "एउटा मान्छेको व्यक्तित्वका सबै पक्षहरू एउटै नछाडी कवितामा लिनसक्नु पर्दछ भन्नाको अर्थ काव्यमा व्यक्तिलाई सर्वोपरि स्थान दिइनु, तर यहाँहरूका तथाकथित तेस्रो सिद्धान्त -स्रोत इलियटले त काव्य निर्वैयक्तिकताको सिद्धान्त वा Theory of Impersonality अथवा Depersonalization पो प्रतिपादित गरेका छन, जो सोझै रोमाण्टिक सिद्धान्तको विरुद्ध स्थापित छ। यसरी यसको विरोध गरिरहनु त काव्य व्यक्तिको अभिव्यक्ति हो र जो आत्मनिष्ठ वा सब्जेक्टिभ हुँदैन भन्ने रोमाण्टिक सिद्धान्तलाई सोझै समर्थन गर्नु हुन जाँदैन र? तर रोमाण्टिक साहित्य धारालाई पनि उहाँहरूले कामै नलाग्ने थोत्रा , पुराना र च्याप्टा भनिसकेपछि उहाँहरूको आफ्नो सिद्धान्त चाहिँ वास्तवमा के? केही स्पष्ट छैन ।" यहाँ चामलिङको भनाइ यसरी बुझिन्छ : तेस्रो आयाम टी एस इलियटको निर्वैयक्तिक सिद्धान्तबाट प्रभावित भनिएको छ। निर्वैयक्तिक सिद्धान्त रोमाण्टिक धारा वा स्वछन्दतावाद विरोधी धारा हो। तर कवितामा व्यक्तिको सम्पूर्णता झल्किनु पर्छ भनिन्छ। कवितामा व्यक्ति आउनु भन्ने सिद्धान्त रोमाण्टिक हो। यसैले तेस्रो आयाम विरोधाभासपूर्ण रहेको बताउँछ चामलिङ।

रोमाण्टिकवादको मत अनुसार कविता भावनाको उच्छवास हो जो कल्पनाको प्रक्रियाबाट जन्मेको हुन्छ र समवेदनाको भूमिका रहेको हुन्छ । कविको आत्मनिष्ठ भावनाबाट नै कविता निसृत हुन्छ। यो सिद्धान्तले एकात्मकता र समायोजनमा जोर दिन्छ। मिलनको उत्साह र विछोडको पीडा रुमानी भावनाभित्र पर्दछ। कल्पनाको असीमित उडान र कल्पना नै प्रमुख तत्व हो यसमा। प्रकृति र मान्छेलाई एकात्म मानिन्छ । रुमानी कवितामा कवि केन्द्रमा हुन्छ । कविलाई परेको मानसिक प्रभाव कविता भएको हुन्छ ।

टी एस इलियट रोमाण्टिकवाद विरोधी थियो। उसको विचार अनुसार कवितामा कविको भूमिका एक उत्प्रेरक जस्तो मात्र हुन्छ। कवि र कविताको सम्बन्ध निरपेक्ष रहेको हुन्छ । कविले कविता सृजना गर्दा कवितामा भएको प्रभाव कविमा नरहेको हुनसक्छ। कविता कविको व्यक्तित्व होइन वरण व्यक्तित्वको पलायन हो। यसैलाई निर्वैयक्तिक सिद्धान्त भनिन्छ।

 

इन्द्रबहादुर राईले लेखेको छ "सम्पूर्णता लेखौँ, र सम्पूर्णता बाचौँ।" "विभाजनहरू अतिक्रम्य छन, सम्पूर्णता जीवन सापेक्ष छ, जीवन ग्राह्य छ।" "जीवन थाह पाउनु, चाल पाउनु पनि पर्छ।……………सब अनुभूति लेखकले लेख्न अघिनै उसको मनमा (बुद्धि पसेको ) बनिसकेको हुन्छ।" तेस्रो आयामको यो विचारलाई हेर्नु हो भने चामलिङको आयामेली लेखन रोमाण्टिकवाद रहेको जस्तो बुझिनु स्वाभाविक हुन्छ। राईको यो लेखनले बताउँछ कविता लेखकको व्यक्तिगत अनुभूतिबाट निस्केको हुन्छ। सृजना र स्रष्टामा यहाँ एकात्मकता देखियो । यसैले यहाँ  निर्वैयक्तिकतावादको सिद्धान्तको अन्तरमा देखिन्छ तेस्रो आयाम।

चामलिङको यो प्रश्नले भ्रम सृजना हुन्छ आयामेली साहित्य पनि स्वछन्दतावाद नै हो भनेर। यद्यपि माथि चामलिङले दावी गरे झै आयामेलीहरूले तेस्रो आयाम टी एस इलियटबाट उत्प्रेरित वा उसको सिद्धान्तमा आधारित भनेर कही उल्लेख गरेको पाइँदैन। त्यसो त टी एस इलियट १९६० को दशकसम्म विश्व भर प्रभावशाली लेखक मानिन्थ्यो र उसको प्रभावबाट अछुत नरहेको सन्जय वान्तावालाई दिएको अन्तर्वार्तामा स्वीकार गरेको छ राईले । इलियटका लेखबाट प्रभावित रहे पनि र उसको बाट पदावलीहरू टिपे तापनि प्रसङ्ग बदलिएको देखिन्छ। स्वछन्दतावादमा दृश्य र दृष्टि एक हुन्छ। पर्यवेक्षण र पर्यवेक्षकको भिन्नता मेटिन्छ। आयामेली लेखनमा भने दृश्य र दृष्टि एक हुन सकिन्न। दृश्यलाई वस्तुता भनिएको छ। वस्तुता निरपेक्ष रहन्छ। दृष्टिले दृश्यलाई प्रभावित बनाउँदैन।

आयामेलीहरू आफ्नो अनुभूति सम्प्रेषण गर्छन यसैले निर्वैयक्तिक सिद्धान्त हुन सक्दैन। तर वस्तु र अनुभूतिको विभेदको कारण यो स्वछन्दतावाद पनि हुन सक्दैन। यसैले यो नौलो सिद्धान्त हो।

वस्तुताको अवधारणामा भने सैद्धान्तिक अवरोध हुनसक्छ। वस्तुताको अवधारणा कान्टको थिगं इन इटसेल्फ-मा आधारित छ वा समतुल्य छ। राईले १९७३ मा ईश्वरवल्लभलाई मदन पुरस्कार पाए पछि नेपाली साहित्य परिषद-द्वारा आयोजित अभिनन्दन सभामा बोलिएको भाषणमा कान्टको दर्शनबाट अटोनोमस आर्टबाट प्रेरित उल्लेख गरेको छ। यसैले थिगं-इन-सेल्फ पनि अध्ययनको घेरामा परेन भन्न सकिन्न। कान्टको दर्शनमा यो तत्व अति महत्त्वपूर्ण हो।

कान्टले बताउँछ वस्तुलाई हेरेर हामी हाम्रो अर्थ दिन्छौं तर वास्तवमा त्यो वस्तु हामीले दिएको अर्थ जस्तो नहुन सक्छ। यसैले त्यसको वास्तविकता बारे हामी अनभिज्ञ नै रहन्छौ। कान्टले यसलाई नुमेना भन्छ र त्यसलाई हामीले दिएको अर्थको रुपलाई फेनोमेना भन्छ । यसको अर्थ के हुन्छ भने वस्तु हाम्रो बोध क्षमताभित्र हुँदैन । त्यो अन्धकारमा छ देख्न सक्दैनौं । यसैकारण हाम्रो दृष्टिबाट विलुप्त भए झैँ हुन्छ। यो हाम्रो कल्पनामा त रहन्छ। हिगलले भन्छ कान्टको यो प्रत्यय वा यथार्थिकता त्यहाँ मात्र राख्न सकिन्छ  जहाँ हाम्रो बोधगम्यता रहन्न। वस्तुतामा पनि हाम्रो प्रवेश निषिद्ध छ किनकि यो हाम्रो बोधबाट पनि स्वतन्त्र छ। यसलाई जुनसुकै रुपमा व्याख्या गरे पनि वस्तुतालाई प्रभाव पर्दैन। त्यसो भए पछि वस्तुता पनि कान्टको थिगं इन इटसेल्फ जस्तै भयो। यसैकारण यसको पनि अनुकरण गर्न सम्भव भएन। स्रष्टाको सृजनामा जसको अनुकरण गरिएको छ त्यसको  वस्तुता बाहिर बसेको हुन्छ। वस्तुताको अनुकरण यसैले विषयि मात्र हुन्छ विषयगत हुन सक्दैन। आयामेली लेखन सापेक्षिक हुने कुरा यहीबाट आउँछ र आइन्स्टाइनको सापेक्ष सिद्धान्त यसैले प्रासंगिक बन्दछ।

गुमानसिंह चामलिङले आयामेली साहित्यमाथि राखेका प्रश्नहरू हेर्दा एउटा चित्र देखापर्दछ। चामलिङ उत्तिकै अध्ययनशील र मेधावी थिए जतिको प्रतिपक्षी आयामेलीहरू थिए। उसको प्रश्न सिद्धान्तमा मात्र नभएर व्यवहारमा पनि रहेको बुझिन्छ। साहित्य ठोस वस्तु होइन। यदि कुनै ठोस वस्तुको साहित्यमा चर्चा गरिन्छ भने त्यो रुपकको रुपमा गरिएको हुन्छ। आयाम ठोस वस्तुको चिन्ह हो। चामलिङले तर्कको निम्ति साहित्यमा ठोस वस्तुको लक्षण साहित्यमा अमेल भनिएको हो। यो विरोध तार्किकता मात्र थियो । एकाध ठाउँमा चामलिङ भाषिक स्तरमा स्खलन भएको देखिन्छ र आयामेलीहरूको अध्ययन अनि ज्ञानमाथि कटाक्ष गर्छ। शिष्यले शिक्षकलाई स्थानापन्न गर्छ। निर्देशात्मक ढंगबाट लेखेको छ " कुनै पनि विषयमा लेख्न वा बोल्न अघि त्यस विषय सम्बन्धी स्पष्ट ज्ञान उप्रान्त राख्नुहुनेछ, तर्कशास्त्र र न्यायशास्त्रको अध्ययन शुरुदेखि नै गर्नुहुनेछ, साहित्य छिचोलेर दर्शन (Philosophy) -का पण्डित हुनलाई दार्शनिकहरूको नाम जानेर मात्र त हुन्न, अङ्ग्रेजी भाषाको पूरा मात्रामा ज्ञान हुन नितान्त नै आवश्यक  छ, किनकि हिन्दीका दुई  - चार अनुदित ग्रन्थहरूको त्यो पनि सरसरी पढाइले मात्र त दर्शनशास्त्र जस्तो गहन विषयको परिचयसम्म पनि पाउन कठिन पर्छ।" यो लेखाइको अर्थ हुन्छ आयामेली समूह अध्ययनप्रति सचेत छैन र प्रसिद्ध दार्शनिकहरूका नाम लिए पनि दर्शन बुझेका छैनन्। जे जति अध्ययन गरेका छन ती हिन्दीमा अनुवादित ग्रन्थहरू मात्र हुन र जो मूल अङ्ग्रेजी पढे जस्तो हुँदैन। यहाँ आयामेलीहरूको बौद्धिकताको उपहास देखिएको छ।

आयामेली समूहको तीनैजना उमेरमा चामलिङ भन्दा जेठो थिए। उसको लेख प्रकाशित (१९६३) हुँदा ऊ २१ वर्षको थियो। भर्खर कलेज पढदैथियो। राईको(१९२७) उमेर ३५ वर्ष भएको थियो भने काइँला(१९३९) २४ वर्षको र ईश्वरवल्लभ(१९३७)  २६ वर्षको। राई र वल्लभ शिक्षक थिए।

नेपाली साहित्य लेखनमा देखा परेका प्रतिभाहरू मध्ये राई अत्यन्तै अध्ययनशील बुझिन्छ। ज्ञानका विभिन्न क्षेत्रहरूमा दखल चकित बनाउने देखिन्छ। यिनको आलोचना पाठ गर्दा पाठक यिनीबाट अभिभूत नबनी धर हुँदैन। राईको विशेषता भनेकै पाश्चात्य दर्शन र साहित्यको प्रकाण्ड विद्वता हो। कवि ईश्वरवल्लभको कवितामा रहेको ग्रिसेली मिथ अङ्ग्रेजी भाषाबाट लिएको हो। आफ्नो समयको आधुनिकतम चेतना राख्ने एवम प्राप्त नवीनतम सामग्री अध्ययनको आधारमा यिनीहरूको साहित्य साधना रहेको दुईमत छैन। यसकारण चामलिङको यो लेखाइमा तार्किकता देखिँदैन। केवल विरोधको निम्ति विरोध बुझिन्छ।  यो आरोप उचित जच्दैन।

कवितामा तेस्रो आयाम कविताको गम्भीरता र गहिराइलाई लिएर आयामेलीहरूले भनेका थिए। अघिका कविताहरू सतही च्याप्टो भएको परिणामस्वरूप तेस्रो आयाममा कवितामा गहिराइको अपेक्षा गरिएको भनिएको थियो। यही अघिका कविताहरूमा गहिराइ नरहेको आयामीहरूको ठहरको विरोधमा चामलिङले लेखेको छ:

"प्रश्न उठछ, कवितामा गहिराइ, वा कविताका तत्वहरूमा गहिराइ? उत्तर छैन । पाश्चात्य साहित्यबाट म यहाँ केवल एउटै र जो पनि गत शताब्दीमा लेखिएको कविता "the last ride together " गहिराइको जाँचको निम्ति उहाँलाई टक्र्याउँछु। साह्रै खेदको कुरो।  मिल्टनका कविताहरू, कोलरिज, वर्डस्वर्थ, शेली, किट्स र वाइरनको कविताहरू, रवीन्द्रनाथका र व्यथित आदिका कविताहरू कुनैमा गहिराइ उहाँले पाउनु भएन, हुन पनि हो, कुवाको भ्यागुतोलाई प्रशान्तको गहिराइ के!"

"The Last Ride Together" रुमानी कवि रोबर्ट ब्राउनिङको प्रसिद्ध कविता हो।

 

माथि मिल्टन बाहेक अन्य सबै अङ्ग्रेजी कविहरू स्वछन्दतावादी कविहरू हुन। नेपाली कवि व्यथित पनि यही धारामा पर्दछ। चामलिङलाई लाग्छ यी कविहरूका कवितामा गहिराइ छैन भन्नू भ्रामक हुन्छ। चामलिङको बुझाइमा आयामेलीको अनुसार सबै  पुराना कवितामा सतही छन्। तर आयामेलीहरूले यो आन्दोलनको उद्देश्य ती विश्व स्तरीय कविताको विरोधमा होइन तर स्थानीय नेपाली कविता लेखन र साहित्य वातावरणलाई हेरेर चलाएका थिए । आयामेली आन्दोलन चलाउनुको उद्देश्य बारे डा लक्खीदेवी सुन्दासले बताएकी छ : " तेस्रो आयाम पत्रिकाको दोस्रो सम्पादकीय त्यस समय दार्जिलिङतिर लेखिँदै गरेको साहित्य निकै प्रणयपरक र भावुक भएर गएको हुँदा, त्यसलाई जीवनदेखिको पलायन ठानी गहिर्याइ वा विचार र दर्शनको नयाँ मोड दिने आवश्यकताको अनुभवले साहित्यमा गहिर्याइ भएको अर्थात् चिन्तनयुक्त साहित्य जन्माउनु पर्छ भनी भनेर यो आन्दोलन चलाएको रहेछ भन्ने स्पष्ट हुन्छ।" यो लेखाइले  बुझाएको छ  आन्दोलनको लक्ष्य नेपाली साहित्यमा गम्भीरता र स्तरीयता ल्याउन हो भनेर। आयामेली अघिका सम्पूर्ण कविता नकार्ने कार्य पनि गरेको होइन।

सञ्जय वान्तावालाई दिएको अन्तर्वार्तामा राईले बताएको छ सबै उच्च स्तरीय कवितामा तेस्रो आयाम हुन्छ :

"तेस्रो आयाम-को सम्पादकीयमा १९६२ मै यसको उत्तर छ। त्यसमा सम्पादक तिलविक्रम नेम्वाङले प्रष्टसँग लेख्नुभएको थियो  - आजसम्म लेखिएको सबै उच्चस्तरीय विश्वसाहित्यमा यो तेस्रो आयाम छ। विश्व साहित्य आयामिक छ।"

राईको यो भनाइ र माथि डा लक्खीदेवी सुन्दासको प्रस्तुति सम्पूरक छ। यसले पुष्टि गर्दछ आयामेलीहरूले तेस्रो आयाम पूर्वको सबै लेखन सतही भनेको थिएन।

आयामेलीहरूको आन्दोलन प्रणयपरक र अति भावुक रुमानी कविता प्रवृत्तिको विपक्षमा रहेको ठहर्दछ। यहाँ एउटा महत्त्वपूर्ण मुद्दा उभिएको देखिन्छ। गुमानसिहं चामलिङ स्वयम् पनि प्रतिष्ठित कवि हुन्। यिनको चार कविता संग्रह प्रकाशित छ। डा लक्खीदेवी सुन्दासको सम्पादनमा "गुमानसिहं चामलिङका केही कविता " थप प्रकाशनमा आएको छ। कवि/समालोचक मनप्रसाद सुब्बाले चामलिङको कविता बारे लेखेको छ: "प्रौढ अवस्थामा रचित कारागारभित्र प्रतीक्षा का कविताहरूलाई छोडेर उनका प्रायः जम्मै कविताहरू स्वछन्दतावादको पृष्ठभूमिमा नै चित्रित छन्।" आयामेलीहरूको विरोध दार्जिलिङका रुमानी भावुक कविताहरूतिर लक्षित थियो। चामलिङ पनि तिनताक रुमानी कवि भएको कारण त्यो विरोधको छिटा तिनको  कविताहरूमा अछुत रहने भएन। यस दृष्टिले हेरे आयामेलीको आक्रमणको चामलिङद्वारा प्रतिआक्रमण बुझिनेछ।

गान्तोक, सिक्किममा निर्माण प्रकाशनको रजत जयन्तीको अवसरमा तीनै आयामेली प्रवर्तक सर्वश्री इन्द्रबहादुर राई, ईश्वरबल्लभ र वैरागी काइँलालाई विशेष अतिथिको रूपमा आमन्त्रित गरिएका थिए। यो कार्यक्रमको अध्यक्षता भने गुमानसिहं चामलिङले गरेको थियो। आयामेली आन्दोलनको प्रमुख विरोधी उहीँ आयामेली त्रयको सम्मानको कार्यक्रमको शोभा बडाउने दृश्य विडम्बनापूर्ण रहेको थियो।

चामलिङले यो कार्यक्रम आफ्नो जीवनभरको आयामेली वितृष्णाप्रति सर्वसाधारण एवम आयामिक त्रय समक्ष विचार राख्ने अवसर खेर जान दिएन। तिनले क्षमा मागे आफूले गरेको प्रहारप्रति। तिनले भने, " सायद त्यो बेला विद्यार्थीको रूपमा शिष्टाचारको भङ्ग पनि गरेँ होला, मर्यादा क्रम पनि उलंघन गरेँ होला, त्यसको लागि आज म कर जोडी क्षमा चाहन्छु।" तथापि आफ्नो जीवनको अन्तिम सार्वजनिक वक्तव्यमा पनि पछि हटेको देखिन्न तेस्रो आयामको विरोध गर्न। "आफ्नो एम ए को थेसिसमा होला अशेष मल्लले विवेचना तयार पारेर छाप्नुभएकोछ। बडो राम्रो छ, उहाँले आयामलाई बुझ्ने प्रयास गर्नुभएको छ। तर अलिक बढता भयो कि! भुसुनालाई माइक्रोस्कोपमा राखेर हेर्दा त भएन नि!" यहाँनेर भुसुनासित तुलना गरिदिएको छ तेस्रो आयामलाई।

चामलिङलाई अवगत थियो आयामेली आन्दोलनको महत्त्व र यसको योगदान। तिनले भनेको छ यही मञ्चमा " यो सत्य हो कि दार्जिलिङको रोमाण्टिक साहित्य -धारालाई बदल्ने काममा तेस्रो आयामले ठूलो भूमिका खेलेको छ।"

चामलिङको तेस्रो आयामप्रतिको तीव्र विरोधले आयामलाई नकारात्मक प्रभाव पारेन। तिनले अनेकौं मञ्चमा तेस्रो आयामको उच्चारण गरेको कारण यसको बारे अनभिज्ञ रहेका र उदास रहनेहरूलाई  पनि पढन र बुझ्न  सहयोग पुग्यो। तिनीहरूले तेस्रो आयामको विचार र कविताहरू पढन थाले। यसको चर्चा परिचर्चा बडेर गयो। ईश्वरवल्लभले लेखेको छ: " वास्तवमा भन्ने हो भने २० सालतिर जुनबेला आयाम प्रारम्भ गरेका थियौ-गुमानसिहं चामलिङले आलोचना गरेर नै आयाम बहुचर्चित भएको थियो, उतातिरबाट टिस्टा, मेची  र महाकाली पनि नाघेर त्यो चर्चा नेपाल प्रवेश गरेको थियो।" यसैले आयामेली आन्दोलनलाई सफल बनाउन परोक्ष रूपमा चामलिङको महत भूमिका रहेको छ। विरोध विरोधको निम्ति हुनु हुँदैन। यो विरोध सृजनात्मक विरोध थियो। सृजनात्मक विरोध नकारात्मक जस्तो देखिए पनि सकारात्मक नै हुन्छ यसको परिणाम। यिनको विरोधभित्र ज्ञानको अभिलाषा र सफलताको कामना देखिन्छ। यसो नभएको भए यस्तो सृजनात्मक सुझाव राख्ने थिएन। यिनले सुझाव राखेको छ एक शुभचिन्तकले झै यस पंक्तिमा : "सबै किसिमका आयामिक सीमारेखा लगाएर एउटा आयामिक ग्रन्थ अथवा आयामिक साहित्य दर्शन लेखी हामीलाई पनि अध्ययन गर्ने मौका दिने उहाँको कर्तव्य हुन्छ।"

पछि आयामेली साहित्यको सिद्धान्तमाथि प्रकाश पारी लेखिएको इन्द्रबहादुर राईका दुई कृतिहरू "कथास्था" र "सन्दर्भ ईश्वरवल्लभका कविता" स्वागत गर्दै लेखेको छ: "आज हामीले कमसेकम इन्द्रबहादुर राईबाट कथास्था मा आस्था पक्ष र सन्दर्भ ईश्वरवल्लभका कविता पाएका छौँ ।"

चामलिङको यो भनाइले बुझिन्छ आयामेली साहित्य भनेर जुन अतिशयोक्तिको साथ घोषणा भयो त्यसको विरोध हो। आयामेली लेखन भनेर जो आएको छ त्यसको अस्पष्टता र विरोधाभासी तर्कको विरोध हो। यसले पूर्ववर्ती साहित्यप्रति राखेको नकारात्मक दृष्टिको विरोध हो। एक ठाउँ भनेको छ : " अवश्यै दार्जिलिङे कविता साहित्यमा ईश्वरवल्लभ र वैरागी काइँलाको प्रयोगलाई क्रान्तिकारी मान्नुपर्छ तर यो प्रयोगवस्तु अनि शैली दुवैमा एकैचोटि आकाशबाट खसेको वा भूईफूट्टा भई निक्लेको भने कदापि होइन  - धरणीधर कोइराला, गम्भीर राई हुँदै  ध्रुवनरेन्द्र कुमाई, सावित्री सुन्दास, अगमसिहं गिरी पछि एकैचोटि आएको प्रयोग यो होइन, गाँसिने कडी छ वीरेन्द्र र ओकियामा ग्वाइनका कविता।" हुनपनि कुनै पनि कविता आफ्नो अघिल्लो पुस्ताको कविताबाट प्रभावित भएर लेखिएको हुन्छ। यसमा टी एस इलियटको यो भनाइ सान्दर्भिक छ । उसले भन्छ कुनै कवि, कुनै कलाको कलाकार, एकलै पूर्ण अर्थ वहन गरेको हुँदैन। उसको महत्त्व कुनै मृत कवि अनि कलाकारको सम्बन्धमा हुन्छ।

 

(No poet, no artist of any art, has his complete meaning alone. His significance, his appreciation is the appreciation of his relation in the dead poets and artists.) (Tradition and the Individual Talent)।

 

प्रख्यात अमेरिकी आलोचक हेरल्ड ब्लुमले भन्छ प्रत्येक कवि कुनै पूर्ववर्ती कविको अवतार मात्र हो।( Poetic incarnation results from poetic influence …….No poet, I amend that to no strong poet, can choose his precursor, any more than any person can choose his father.)( Bloom : Poetic origins and final phases) ईश्वरवल्लभ र वैरागी काइँलालाई विरेन्द्र र ओकियामा ग्वाइनका अवतार मानेको देखिन्छ।

यिनको भनाइको अर्थ हो जसरी आयामेली कविहरूले आफूलाई नितान्त मौलिक र फरक परम्पराको भनेर दावी गरिँदैछ त्यो पूर्ण सत्य होइन। यी कविहरूका कविता पनि पूर्ववर्ती कविको  प्रभावमा सृजित हो।

चामलिङको कविताप्रतिको यो दृष्टिकोणले बताउँछ यिनी वैचारिकीमा आयामेली भन्दा पछि थिएन, समानान्तर थियो । यिनको यो विचारले कविताको पारम्परिक मौलिकताको धारणालाई नकार्दछ। यो धारणा स्वछन्दतावादोत्तर हो जसरी तेस्रो आयाम थियो।

साहित्यमा ध्रुवीकरण आउनु हुँदैन। जति धेर विचारले स्थान पायो उति नै साहित्यको निम्ति राम्रो हुन्छ। एकल धारणा घातक हुन्छ विकासको निम्ति। गुमानसिहंको कठोर विरोधले विकल्पको अवकाश सृजना गर्यो। प्रश्नको गरिमा स्थापित भयो । आयामेली साहित्य मात्र साहित्य होइन यसको बाहिर पनि साहित्यको अस्तित्व छ भन्ने चेतना जगाइदियो। गुमानसिहं चामलिङको अनेकौं योगदानहरूमा नेपाली समाजलाई सिकाएको प्रश्न गर्न पछि नपर्नु पर्ने पाठ महत्त्वपूर्ण छ।

 

 

 

 

 

 

 

 

 

 

Comments

Popular posts from this blog

अगमसिहं गिरी (युद्ध र योद्धा ) आलोचना

             युद्ध र योद्धा : एक पठन                          पेम्पा तामङ      अगमसिहं गिरी भारतीय नेपाली साहित्यमा सर्वाधिक चर्चामा रहेको कवि हो। उनलाई मूलतः स्वछन्दतावादी कवि र जातीय कवि भनेर आलोचकहरूले चिनाएका छन भने कही कही अस्तित्ववादी भनी परिचय दिएको छ। उनका प्रारम्भिक कविताहरू भावनात्मक र करुणामय थिए यसैले उनलाई दुखवादी पनि भनिएको  हो। गिरीका कविताहरू आम चलनको भाषामा लेखिएका र प्रतीक र बिम्वको जडान थोरै रहेका छन। सरल , सहज र बोधगम्य रहेको हुनाले आम पाठकबीच लोकप्रियता बडी रहेको थियो। जीवन , मृत्यु , दुख , बिरह उनका कविताको भावलहरी रहेको छ। कल्पनाको निर्बाध उडान र जीवन परान्मुख रहेको मानिन्छ। जीवनलाई यसरी हेर्ने दृष्टि छायावाद र स्वछन्दतावा भनेर चिनिन्छ। हुनत छायावाद र स्वछन्दतावाद यी बाहेक अन्य पनि हुन। स्वच्छन्दतावादको प्रवर्तक विलियम वर्डस्वर्थको लेखन सिद्धान्त कविताको भाषा आम मानिसको बोलीको शैलीमा हु...

Circle of Karma -Bhutanese novel review

Circle of Karma   Authored by Kunzang Choden, a native of a small village in Bumthang District in  north-central Bhutan, Circle of Karma is the first English novel to emerge from the land of the druk (Bhutan),   the mythical dragon. Published in 2005, the novel instantly courted fame far and wide, and has since been translated into several languages. The novel had been short listed for the prestigious Elle Prix des Lectrices too. Choden was born in the year of the druk , or the year of the dragon, corresponding to 1952 in the Gregorian calendar. Since Choden was born into a prosperous family, her parents sent her to a convent school in Kalimpong when she was nine years of age. Choden recounts the initial difficulty she encountered in the school because, as is prevalent in Bhutan, she did not have a surname attached to her first name. Moreover her father’s name was Kunzang Dorje and the Reverend Mother of her school refused to believe that the father an...

Poetry of Puja Upadhyay

             दुई शब्द भूमिकाको                           पेम्पा तामङ      नेपाली साहित्यमा सर्वाधिक लोकप्रिय विधा कविता हो र सर्वाधिक रचना यसैमा देखिन्छ। कविता एक यस्तो विधा पनि हो  जसले कवि अनि रसिक दुवैलाई आकर्षित गराउँछ। कविलाई अनिवर्चनीय आनन्द बोध गराउँदछ कविता सृजनामा। यसैले पनि कवि शब्द सुधाको धारा बहाउन चञ्चल रहन्छ। हुनत कविता व्यक्ति र समाजमा जोडिने एक सेतु पनि हो। नेपाली कविताको पहिलो कविता मानिने सुवानन्ददासको लेखनलाई हेर्नु हो भने कविता एउटा त्यस्तो सशक्त माध्यम हो जसको सहाराले एक निरीह व्यक्ति सर्वशक्तिमानसित  संवादमा रहनुसक्दछ।   कुनै पनि कविताले व्यक्तिलाई एकदेखि अनेकमा पुर्याउने क्षमता राखेको हुन्छ। कविता एक परम्परा निर्वाह हो। कुनै पनि कवि अनेकौं पुस्ताको प्रतिविम्ब हुन्छ , चाहे त्यो रूपमा होस , विचार वा दर्शनमा होस या फेरि फगत भाषिक परम्परामा। तर कुनै कविताले परिचय त्य...