Skip to main content

भूमिका

 दुई शब्द

 

डा रेमिका थापा समकालीन समयको एक सशक्त कविको रुपमा आफ्नो उपस्थिति प्रमाणित गरिसक्नु भएको छ। उहाँको एक नयाँ कविता संकलन प्रकाशित हुन लागेको समाचारले मलाई पनि उत्साहित बनाए । यद्यपि यो खबरले ममाथि एक जिम्मेवारी पनि आउने विषयले मलाई भार भएको आभास भयो । केही दिन अघि उहाँले यो नयाँ प्रकाशनको निम्ति भूमिका लेखिदिने आग्रह गर्नुभयो । मलाई यस उत्तरदायित्वबाट उम्कने चाहना रहेतापनि त्यसो गर्न सकिएन।

डा रेमिकासित को मेरो परिचय दुई दशक अघि देखिको हो। 1998 मा म मङपुमा गएको थिएँ अखिल भारतीय तामङ अधिवेशनमा उपस्थिति दिन। त्यस कार्यक्रममा उहाँ उदघोषिका हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन र उदघोषणा अति आकर्षक ढंगमा गरिरहनु भएको थियोे । उहाँको वाचनकला मुग्ध बनाउने थियो श्रोतालाई। बीच बीचमा मीठा मीठा कविता उद्धरण र प्रकरण प्रस्तुतिले कार्यक्रमको रोचकता अझ बडेको थियो । उहाँलाई कार्यक्रममा सहयोग पुर्याउने कवि सुरेन्द्र थीङ्ग हुनुहुन्थ्यो। बेलुकी म सिक्किम फर्किने भएँ। यही प्रसङ्गमा सिक्किमका अन्य सहभागी पनि भेटिए । ती सहभागी मध्ये एक ले मलाई भने यति प्रतिभाशाली व्यक्तिलाई सिक्किममा किन नझिकाउने। कुनै ठाउँमा नियुक्ति दिन सकिनेछ। ती मित्रहरूको इशारा मलाई थियो । त्यसबेला म सिक्किमको शिक्षा विभागमा कार्यरत थिएँ । रेमिका स्नातकोत्तर शिक्षा हासिल गर्नु भएको कारण एक स्नातकोत्तर शिक्षिकाको नियुक्ति दिलाउन भन्ने । मलाई लाग्यो उहाँ जस्तो प्रतिभाशाली व्यक्तिको निम्ति कुनै ठाउँ छेकाबार लाग्न सक्नेछैन कुनै नियुक्तिको निम्ति । भने जस्तै हाल उहाँ एक सफल , योग्य र क्षमतावान प्राध्यापकको रुपमा कार्यरत हुनुहुन्छ । यस भेटको सात वर्षपछि उहाँलाई 2005को नोभेम्बर महिनामा गेजिङ, पश्चिम सिक्किममा देखेँ। गेजिङमा लीला लेखनमाथि संगोष्ठाी राखिएको थियो । मलाई पनि एक पत्र प्रस्तुति गर्नु थियो । मेरो प्रस्तुति समाप्ति पछि केही रेमिकाजीको कविता वाचन भएको थियो । बाहिर निस्केर उहाँ हतारमा देखिनु भयो र दार्जिलिङ फर्किहाल्ने भन्नू भएको थियो । त्यतिबेला यस्तै दुइ मिनटसम्मको बातचित भएको थियो होला ।

यसपछि भने चिनजानको घनिष्टता बडेर गएको हो। सिलिगुडी, गान्तोक, काठमाडौं आदि स्थानहरूमा भएका साहित्यिक कार्यक्रमहरुमा भेटघाट भइरहे । मनप्रसाद सुब्बा र उहाँको सहलेखन "किनाराको आवाज" मा बाहेक अन्य केही लेखेको थिइनँ । अवसर पनि जुटेको थिएन । आफ्नो यस नवीन संकलनमा उहाँले मलाई यसरी यस पुस्तकको भूमिका लेख्ने अवसर दिनु भएकोमा उहाँप्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।

कसैको कृतिमाथि भूमिका लेख्ने काम मेरो निम्ति असमञ्जसपूर्ण नै हुनेगरेकोछ। यसैले मन भारी पारेर भए पनि कसै कसैका प्रस्ताव स्वीकार गर्न  असमर्थ बनेको छु। त्यसो त धेरैले मलाई भनेका पनि छैनन्। ज्यादै थोरै भूमिका लेखेको छु। नेपाली साहित्यमा अत्यधिक चर्चामा आएको भूमिका पारिजाको उपन्यास "शिरिषको फूल" माथि शंकर लामुछानेले लेखेका भूमिका हो। भूमिकालाई एक सैद्धान्तिकरुप दिएर लेखेको भने दार्शनिक हिगलको हो। उनले लेखेका भूमिका पढेर उनको दर्शन बुझिन्छ । मलाई अति नै मन परेको भूमिका भने गायत्री चक्रवर्ती स्पिभाकद्वारा डेरिडाको पुस्तक "ग्रामोटोलोजी" मा अङ्ग्रेजी अनुवाद गर्दा राखेको लेखन नै हो। अर्को भूमिका भने एडवर्ड सइदले लेखेको लाग्यो । एरिक औरब्यकको समालोचनात्मक कृति "मामेसिस" मा लेखेको यो भूमिका पढदा पढदै सकेको जस्तो भयो ।

त्यसप्रकारको भूमिका पढे पछि लघुताभास स्वत: उप्जन्छ। भूमिका वास्तवमा पछि लेखिन्छ तर अघि राखिन्छ । पाठकले पहिला भूमिका देख्दछ किताब खोल्ने बित्तिकै । किताब त मूल विषयको लागि किनिन्छ र पढिन्छ। यहाँ रेमिकाका कविता प्रमुख हुन् भूमिका होइन । भूमिका परिचयात्मक हुन्छ अर्थात जहाँ प्रवेश गरिँदैछ त्यसको मार्ग चिन्ह जस्तो हुन्छ । भूमिका बाटो होइन र यात्राको अनुभव भूमिकाले अवश्य दिन सक्दैन ।

रेमिकाका कविता एक चरण पढिसके पछि मलाई यस्तै अनुभव भइरहेछ यी कविताहरुका भव्यता उदात्तता रसिकलाई अर्कै मुलुकमा पुर्याउन सफल रहने क्षमताशील देखिन आउँछ। संस्कृत साहित्य शास्त्रमा कोष काव्य भने झै यो कविता संकलन विविध कविताहरु रहेका छन्। यस संकलनको विशेषता पनि यही हो।

मलाई अर्को विशेषता यस संकलनमा के लाग्यो भने उहाँको अघिल्ला संग्रहहरु भन्दा यो फरक छ। त्यसो त भारतीय नेपाली कविता लेखनकै  परिप्रेक्ष्यमा हेर्नु हो भने यो अलग रहेको छ। समकालीन भारतीय नेपाली कविता कि त जातीय अस्मिता समसामयिक विषय आञ्चलिकता र नितान्त निजी मामिलामा अधिक रुमलिएका देखिन्छन् । शैलीको दृष्टिले आकर्षक पठनीय र रोचक रहेतापनि काव्यात्मक प्रयोगको अभाव, सीमित शब्द भण्डार,, अत्यधिक सरल र पारदर्शी देखिन्छन् । ती कविताहरु रहस्यमय रहेका देखिन्न। कविताहरु आफ्नो विषय आफै स्पष्ट पारेका र गुढ उत्घाटनको आवश्यकता रहँदैन । गहन आलोचनाको निम्ति अवकाश देखिँदैन ।यसैले उत्कृष्ट रहेतापनि उदात्त रहका देखिन्न। उत्तराधुनिक विचार वरण गरे तापनि अधिकतर कविताका काव्यानुशीलन भने पारम्परिक नै रहेका छन। एकप्रकारले स्वछन्दतावादबाट पूर्णरूपमा मुक्त हुन नसकेको देखिन्छ । कविता पाठकमुखी वा पाठकप्रीयता मात्र कविताको लक्ष्य अवश्य होइन । यहाँ आएर रेमिकाको यस संकलनको पहिलो कविता "महाकाल सिसिपस" फरक भंगालोतिर जान्छ । यो कविता उहाँको अन्य र अघिका कविताहरु झै सरल अर्थ र सहज बोध्य रहेको छैन । कविता लेखनमा एक तकनिक छ जसलाई पेस्टिच भनिन्छ । पेस्टिच भनेको टाल्नु भनेको जस्तो हो एक वस्तु माथि अर्को वाहिरी वस्तु थोप्नु। उत्तराधुनिक लेखनमा यो तकनिक प्रयोग हुन्छ । यसप्रकारको प्रयोगको मुख्य उद्देश्य कवितालाई मौलिक भनिने र सृजना भनिने मान्यताप्रति चुनौती हो। यसले कुनै पनि लेखनको पूर्वरुप रहेको , लेखन सधैं अपूर्ण रहने, लेखन जहिल्यै सहलेखन भएको चेतना गराउँदछ । बालकृष्ण सम, गरुढपुराण, कुमार प्रधान, इन्द्रबहादुर राई, विकास गोतामे -का लेखनहरुका उद्धहरण समाविष्ट गरिएका छन।

"महाकाल सिसिपस" यो संकलनको प्रथम कविता हो भने यसमा रहेको सर्वाधिक महत्त्व कविता पनि यही रहेको छ। कविता एक महाख्यान भएर आएको छ। पाश्चात्य र पूर्वीय मिथकको मिश्रण रहेको छ। सिसिपस ग्रीसेली पुराकथाबाट आएको हो भने महाकाल, महाभारत , वाल्मीकि , व्यास, काव्यपुरुष पूर्वीय । पूर्वीय विचारमा ब्रम्हलाई सृष्टिकर्ता भनिन्छ। कविलाई पनि स्रष्टा भनेर भनिन्छ र यसरी कवि पनि ब्रम्ह झैँ मानिएको छ। काव्यपुरुष त्यो प्रतीक हो जसबाट सबै स्रष्टाको आदिम परिचय प्राप्त हुन्छ। काव्यपुरुष नभइ कविता हुँदैन । ब्रम्ह इश्वर हो तर काव्यपुरुष मानवीय रुप हो। इश्वर चराचर जगतका चरित्रबाट उदात्त रहेको हुन्छ भने काव्यपुरुष भौतिकतामा सीमित हुन्छ। यसैले यहाँ कवि भन्छिन्

"हे महाकाल सिसिपस! निरपेक्ष तटस्थ भगवान बनिरहन सजिलो छ

सद्दे मान्छे बन्न गाह्रो छ! काल कवि बन्न झनै गाह्रो !"

यो कविता एक तनावको कविता हो। विभाजन देखिन्छ दुई मुलुकको: भौतिक र पराभौतिक। यसलाई कवि र कविताको द्वन्द्व पनि मान्न सकिनेछ। कविता अभौतिक हो कवि भौतिक भए पनि। कविता भौतिक भएर त्यतिबेला मात्र अवतरण गर्दछ जब त्यो सार्वजनिक हुन्छ लिखित वा मौखिक रुपमा। कवि आफ्नो सृजनाप्रति सधैं सचेत रहेको हुन्छ। काव्य सृजना अघि कविको अनेकन रुपहरु आउँछन्। असंख्य विकल्प एकैसाथ आएको हुन्छ श्रंखला वा क्रममा होइन। सही र गलत छुट्याउन सक्ने विवेक चाहिन्छ

"मेरो आङ चडेर बक्ने

जिउँदा र मुर्दा लाशहरुको सदगति गर्ने

साहसी कालबीज चाहिएको छ"

यहाँ कविले झाँक्री परम्पराको विम्ब उभ्याएको छ। एउटा झाँक्रीले आफ्नो विद्याको बलले प्रेतात्मा वा पवित्र आत्मालाई आफ्नो शरीरमा निम्त्याउँछ। आङ चडनु भनेको त्तो आत्मा शरीरमा आउनु हो। जिउँदा लास भनेको बिमारी भनिएको हो। मुर्दा लाश प्रेतात्मा वा अतृप्त आत्मा हो। बिमारीको रोग निदान गर्ने र प्रेतात्मालाई मुक्ति दिलाउने कामलाई सदगति भनिन्छ। सामानिज्म भनी जानिने यो ज्ञानलाई पराज्ञान पनि भनिन्छ । डा रेमिका

थापाले पराज्ञानमाथि एक प्रपत्र प्रस्तुत गर्नु भएको समाचारमा आएको थियो । यही अध्ययनबाट प्राप्त ज्ञान कवितामा प्रयोग गरिएको अनुमान लगाउँन सकिन्छ ।

"महाकाल सिसिपस" कविता बहुस्तरीय रहेको देखिन सकिन्छ। कवि, कविता, समाज, आधुनिक मान्छे, पाखण्डी प्रवाह बनेर बगेको छ। कवि एक आदर्श देखिएको छ। कवि समाजको मिथ्याचार देखेर विरक्त छ र उसको मुक्तिको चाहना राख्तछ। कविता लेखन सत्कार्य मानिन्छ यो मान्छेलाई असल मान्छे बनाउन नै लेखिन्छ । यो कवितामा पनि कविको प्रयास यही मानव मुक्तिको रहेकोछ। तर उसले देख्छ उसको कविता उद्देश्यमा सफल भइरहेको छैन । त्यो आदिम काव्यपुरुषको प्रयास सिसिपस जस्तै छ। सिसिपस निरर्थक अनन्त प्रयासको विम्ब हो। कवितामा सिसिपस देखिनु यसैले त्यही निरर्थकता देखनु हुन्छ। कविताको अन्तिम पदले यही निराशा जनाउँछ

"कहिले त लाग्छ अब गरिदिउँ

यस महाकाव्यको दुर्घटनामय आकस्मिक अन्त!!"

अन्तिम पंक्ति प्रश्न बोधक चिन्हमा अन्त्य नभएर विस्मयादिबोधक चिन्हमा अन्त्य भएकोछ। यसबाट बुझ्न सकिन्छ कविको यो आक्रोश मात्र हो प्रलयको। प्रलय निमन्त्रण गरेको भने होइन।

कवि भावनामा रुमल्लिएर अन्तरिक्ष विचरण गर्न, भावुक भएर व्यवहारदेखि टाढा रहन स्वाभाविक हुन्छ। यद्यपि कविको सामाजिक जीवन पनि हुन्छ । उ जुन समाजमा हुर्केको बडेको दुख सुख झेलेको हुन्छ त्यो समाजबाट प्रभावित भएकै हुन्छ। त्यो समाजप्रति चिन्तित हुन्छ। उसको हृदयमा आफू बाँचेको समाजप्रति प्रेम रहेकै हुन्छ। यसले उसलाई आफू र अन्यमा रहेको भिन्नताको परिचय गराउँदछ। आफ्नोपन के हो सचेतनता जन्माउँछ। के कस्ता कमी कमजोरी छन त्यसको ज्ञान दिलाउँछ। यहीँबाट जन्मन्छ के हुनु पर्ने थियो र के भएको छैन । रेमिका थापा दार्जिलिङ्गीय परिवेशमा जन्मेर र हुर्केका हुनुहुन्छ । चियाबारी, गाउँबस्ती, हिमाल, गरिबी, चिन्हारी जस्ता प्रश्न दार्जिलिङमा ज्वलन्त रहने विषय हुन। आम दार्जिलिङबासीको मानसिकता वा चरित्रले यदना उत्तिकै भूमिका खेलेको हुन्छ। "लोक अदालत" कविताको प्रविषय यही रहेको छ। लोक अदालत आर्थिक वा अन्य कारणले अधिकृत न्यायलय जान नसक्ने आम भुक्तभोगीको निम्ति वैधानिक स्तरमा स्थापित न्याय व्यवस्था हो। यस्ता न्यायलयमा न्याय त्वरित मात्र नभएर सनझौता पनि गरिन्छ। यसमा आवेदकले आफ्नो आवेदन सहजरूपमा गर्न सक्छ। जसो भएपनि साधारण जनताको निम्ति न्याय पाउनलाई यो एक सरल र सहज विधि हो।

यो कवितामा कविले सम्पूर्ण साधारण दार्जिलिङ्गीय आम जनतामाथि यही लोक अदालतमा उजुरी चडाएको छ। आम जनतामाथि जिरह भइरहेको छ।

कविता व्यंग्यात्मक छ। दार्जिलिङ्गीय आम मानिस दायित्वबाट पलायन रहने देखाइएको छ

"हामी लेखाजोखामा जोड घटाउमा टाउको दुखाउन्नौं

जिन्दगी कागजमा भएका अङ्क र अक्षरहरुमा जोख्दैनौं।"

"ज्यू, निजी सम्पत्ति भनेको शनिको टन्टा हो झ्याउले पीर ।

कागजपत्र लाइसेन्स पुञ्जी पुलिस पब्लिक आदि झन्झट नगर्ने "

"नो जिम्मेवारी! नो रिस्क!"

यही सबै दायित्वबाट पलायन रहने प्रवृत्तिले यहाँको समाज विश्रंखल भएको छ।

"परिवार कति छन?

के भन्नुभो? छोरा घरैमा । बुहारी मलेसियामा ?

नाति ड्राइभर ?पनाती दलाल भन्नभो?

घरमा को को छन जाँड खाने ? तासे जुवाडे?

गोटी खाने धुँवा फुक्ने र सुई लाउने?

साना नातिनीलाई रिह्याब पठाउनुभो?

एचआइभी पिडित पनि कोही छन?"

पेस्टिचको तकनिक यो कवितामा पनि प्रयोग गरिएको छ। हैकमसिहं राईको निम्न लेखन प्रविष्ट गरिएको देखिन्छ

"हामीले आत्मा धन फाल्यौँ, धर्म फाल्यौँ मान फाल्यौँ

इज्जत फाल्यौँ, छोरी फाल्यौँ बुहारी फाल्यौँ औ प्यारी स्त्री समेत ....."

यस उद्धरणबाट बुझिन्छ दार्जिलिङ्गीय समाजको  दर्दनाक हालको निम्ति कोही बाहिरी होइन उनीहरू स्वयं जिम्मेवार छन्।

कवितामा बताइन्छ समकालीन दार्जिलिङको यो समस्या वर्तमान पिढीलाई मात्र आरोप लगाउँन सही होइन। इतिहासको पृष्ठमा दर्ता भइसकेका पुराना दस्तावेजमा पनि दार्जिलिङको यो हालत देख्न सकिन्छ। यो यसकारण पुरानो घटनाको पुनरावृत्ति हो अनवरत घटिरहेको। नयाँ घटना होइन ।

कविले यो प्रतिविम्ब देखाइदिएको हो यहाँको समाजको। समस्याको निदान तर यहाँ देखिँदैन

त्यसो त कविता समस्याको समाधान अवश्य होइन। कविताको उद्देश्य यो होइन पनि।

"कालपुरुष" अलग धारको कविता हो। कविता भनेपछि कोमलता, स्निघ्तता, भावनात्मक, हृदयलाई शान्त बनाउने, आँखाबाट अश्रुधार बगाउने कल्पना गरिन्छ। तर यसको विपरीत यो कविता आक्रोश, उग्र ज्वाला, हुँकार र आवेग भएर आएको छ। मुन्धुमको तकनिक प्रयोग गरिएको छ। यही प्रविधि प्रयोग गरि लेखिएको वैरागी काँइलाको प्रसिद्ध कविता छ "अस्तित्वको दावीमा सावातको वैला उत्सव"। काइँलाका कवितामा भने पूर्ण विधान समावेश छ। उठान, वन्दना, ईष्टदेव आगमन, जोखाना, अर्चना सबै रहेको छ। तर "कालपुरुष" मा भने एकालाप मात्र छ। यद्यपि कविताको अन्तर्वस्तु भने समान होइन। काइँलाको कविता मान्छेको बाँझोपन, विरान र गतिहीनता प्रति प्रहार हो भने "कालपुरुष" क्रान्तिको आव्हान गर्ने उदगार हो। नभन्दै दुवै परिवर्तनमुखी रहेका छन्।

समकालीन समय मोबाइल फोन, इन्टरनेट, सामाजिक सञ्जाल वा डिजिटल युगको समय ुहो। मानिसको जीवनको दैनन्दिनीमा यसले अति नै कारगर भूमिका निभाइरहेकोछ। यो सञ्जाल बिना वर्तमान मान्छेको जीवन कठिन बन्दछ। जीवनमा यसको भूमिका रहेपछि कलात्मक सृजनामा यसको छाप रहनु सान्दर्भिक लाग्छ । काव्यलेखनमा यसले केन्द्रीय स्थान पाउन थालेको छ। कवि रेमिकाले यही विउ्धुतीय सञ्जाललाई केन्द्र बनाएर लेख्नुभएको छ "डब्लु डब्लु डब्लु च्याब्रुङ डट कम"। विद्धुतीय मञ्चमा लिम्बू जातिको फेदाङमालाई प्रवेश गराए झै देखिन्छ वा समन्वय गराइएको छ। कविता च्याब्रुङ बजेको आवाजबाट प्रारम्भ भएको छ। त्यो च्याब्रुङको तालमा तर धान नाँच होइन फेदाङमा आव्हान गरिरहेको ध्वनि आउँछ।

" .... माटोको जरा समातेर बसेका मेरा प्राचीन हातहरु

समात......समात त्यो शुन्यमा डुब्न लागेको शब्दको इन्द्रेणी

चुसेर ल्याऊ पातालबाट आफ्नै पसिनाको ओस र

विराट विश्वको मझेरीमा होस एउटा जिडदार विस्फोट

सभ्यताको गिदी गिदीमा।"

यहाँ कवि भन्दछ मान्छेको हात प्राचीन भएको छ अकर्मण्यता र निष्क्रियताले। इन्द्रेणी अर्थात जीवनको रंगीन छटा डुब्न लागेको छ उसले गुमाउन लागेको छ। युगौँदेखि उसले गरिल्याएको परिश्रम र त्यसमा बहेको पसिना अब खेरो फाल्नु हुँदैन। उसको सुखमय जीवन फर्काएर ल्याउनु पर्छ। एउटा विराट विस्फोट गराउने संकल्प चाहिएकोछ यो संसारमा। यो विस्फोट सभ्यताको विस्फोट हो। सभ्यताको चेतना जगाउँन विस्फोट हुनुपर्छ। विस्फोट क्रान्ति हो परिवर्तनको माध्यम हो। पराजय धेरै देखिसक्यो अब विजयको कामना छ।" जोडदार धक्कासँग भत्काऊ यो सहिष्णुताको बाँध

म स्पन्दित हुन चाहन्छु

म परिभाषित हुन चाहन्छु

.... विजयी शब्द

लुछेर ल्याऊ .."

कविता च्याब्रुङको तालमा शुरु हुन्छ र च्याब्रुङकै तालमा अन्त हुन्छ। अन्तिम पंक्तिले संकेत गर्छ मान्छेले बुझ्नु पर्ने आफैंलाई हो चेतना आउनु पर्ने सर्वप्रथम स्वयंमा हो। जबसम्म व्यक्ति स्वयंले जानेको हुँदैन तबसम्म सबै अनर्गल रहन्छ।

संस्कृत साहित्यको रस सिद्धान्त अनुसार रसहरु नौ प्रकारका (श्रृंगार,  हास्य, रौद्र , करुण, वीर, अद्भुत, वीभत्स, भयानक, शान्त) देखाइएका छन। रस भनेको पाठकले काव्य पठन गर्दा ग्रहण गर्ने अनुभूति हो। भरतको नाट्यशास्त्रमा दिइएको रससूत्र यसप्रकार छ

विभावानुभावव्यभिचारिसंयोगात् रसनिष्पत्ति।

कवि रेमिका थापाले "रीस" "डर" निन्दा" "निषेध" "हिंसा" शीर्षकमा कविताहरु राखेका छन् र यी कविताहरु रौद्र, बीभत्स, भयानक रसहरुका अनुभूति दिन्छन।

रस सिद्धान्तले भन्छ काव्यपठनबाट ग्रहण गरिने अनुभूति यथार्थ हुनसक्दैन सांसारिक हुन सक्दैन। अभिनवगुप्तले सूत्र राखेको छ

नाट्य एव रसो न तु लोके

काव्यको अनुभूति कविता पढिन्जेल मात्र हो र सामान्य जीवनमा यसको कुनै सत्ता हुँदैन। पाश्चात्य साहित्यमा पनि दृष्यसत्तावली (फेनोमेनल) र काल्पनिक/सृजनात्मक (फिक्सनल) संसारको चर्चा आउँछ। उपन्यास कविता आदि मा रहेका मुलुकलाई काल्पनिक संसार भनिन्छ किनकि ती घटनाक्रम र पात्रहरु वास्तविक संसारमा जिवित पात्रहरुमाथि लेखिएका होइनन् । अभिनवगुप्तको सूत्र यही रुपमा बुझिनु पर्ने हुन्छ। नभन्दै हामीलाई रेमिकाको कवितालाई रस सिद्धान्तभित्र सीमित राख्न जोखिम हुनेछ। कुनै पनि साहित्यिक लेखन प्रत्यक्ष अनुभव नभइ लेखिएको हुँदैन। उसको कल्पनाको आधार उसको जीवन हुन्छ। हिन्दीको प्रख्यात समालोचक आचार्य रामचन्द्र शुक्लले बताएको छ प्रत्यक्ष अनुभूति नभइ रसानुभूति हुन सक्दैन।

संसार सागर की रूप-तरगों से ही मनुष्य की कल्पना का निर्माण और इसी की रूप-गति से उसके भित्र विविध भावों या मनोविकारों का विधान हुआ है। सौन्दर्य, माधुर्य, विचित्रता, भीषणता, क्रुरता इत्यादि की भावनाएँ बाहरी रूपों और व्यापारों से ही निष्पन्न हुई हैं। (प्रत्यक्षानुभूति और रसानुभूति) यसबाट अर्थ निकाल्न सकिन्छ साहित्य लोक र लोकोत्तरको साँघु हो। इन्टरफेस हो यथार्थ र कल्पनाको । मार्क्सवादी साहित्यप्रति आस्था राख्नेहरु भन्दछन साहित्य जहिल्यै राजनैतिक हुन्छ र यसले वैचारिक रुपमा शासनारुढ भएको हुन्छ। राजनीति मानव जीवनमा प्रभाव पार्ने व्यवस्था हो। उनीहरू भन्छन साहित्य पनि भौतिक क्रिया हो र एक भौतिक उत्पादन नै हो। यसो भए पछि काव्यानुभूति पनि भौतिक नै हुन जान्छ काल्पनिक होइन । आइ ए रिचर्डले बताएको छ कविता मानवीय क्रिया हो र होमरले भने जस्तो दैविक प्रेरणाबाट नभएर उसको निजी जीवनबाट प्रभावित भएर निस्केको हुन्छ।

रेमिकाका यी कविताहरु रस सिद्धान्तलाई आधार बनाएर लेखिएका होइनन्। एक विशेष भावमा केन्द्रित भएर उक्त भावको काव्यात्मक अभिव्यक्ति दिइएको भने अवश्य हो। "डर" कवितामा डरको चित्रण छ तर डराउनु हुन्न भन्ने विचार राखिएको छ। यसैले पाठकलाई डरको अनुभूति जगाउन होइन तर डर मुक्त रहनु पर्ने भाव हुन्छ। यसैले यो कविता रस सिद्धान्त अनुरुप छैन।

वर्तमान समय बेरोजगारी, आर्थिक चपेट र रोजीरोटीको समस्याले धेरै युवाहरू थर थलो गाउँ घर छोडेर सुदूर जानुपर्ने वाध्यता रहेको समय हो। यसको भुक्तभोगी स्त्री पुरुष दुवै भए तापनि कविले यहाँ पुरुषको मात्र चित्रण गरेका छन "पुरुष पर्व" कवितामा। पारम्परिक समाजमा पुरुष बाहिर गएर कमाएर ल्याउने र स्त्रीले घर सम्हालेर बस्ने धारणामा आधारित देखिन्छ यो कविताको इतिवृत्त।

"दस वर्ष दुबईमा खटेको थिएँ

अब कतार जानेहरूको लहरमा छु।"

बाइबलको जिनेसिसमा रहेको मिथक कथा यहाँ कवितामा यसरी लेखिएको छ

" म आदम, सृष्टिको पहिलो नागरिक

परमपिताले एकदिन अचानक मेरो देब्रे छात्तीबाट

एउटा करङ झिक्नु भयो।"

यो करङबाट स्त्रीको सृजना भएको कथा भएतापनि यहाँ कवितामा उल्लेख गरेको देखिन्न। कविताले बताउँछ यसपछि पुरुषले दुख नपाउने विधान बनियो। बाइबलको कथा अघि बडाएर फेरि कवितामा लेखिएको छ

"फेरि म दैवी अपराधको अपराधी ठहरिएँ"

त्यो आदिम मान्छेले वर्जित फल खाएको कारण उसलाई दण्डित गरेको थियो।

ख्रिष्टिय मिथक पछि कवि फेरि स्थानीय लिम्बू जातिमा रहेको मिथक कथातिर फर्केर हेर्छ

"पारोहाङ म, सृष्टिको पहिलो प्राणी

तागेरानिङवाफुङमाले मेरो आदि स्वरुप बनाइ

सक्नु भएको मात्र थियो

मेरो काँचो कलिलो र फक्रँदो अनुहारमा

प्याच्चै थुकिदिनु भयो"

मान्छे दण्डित भएको यी दुवै मिथकहरुमा देखाइएको देखिन्छ ।

तेस्रो प्रकरणमा वैदिक मिथक कथा ल्याइएको छ। यस मिथक अनुसार पुरुषलाई श्रेष्ठ बनाइएको छ

"सर्वोपरि पुरुष हूँ!"

कविताको छैटौं पदमा भने पुरुष एक अनिर्णायक स्थितिमा रहने, उल्झनमा परेको अस्पष्ट मान्छे देखाइन्छ।

आठौँ , नवौं र दशौँ पदमा ऋणात्मक ढंगमा पुरुषलाई कर्तव्यबोध गराएको छ।

कविताको अन्तिम पंक्ति भने नाटकीय रहेको छ। मुख्यधाराका नारीवादी चिन्तकहरु भन्छन विश्वका सबै नारीहरु यौन हिंसाको सिकार भएका हुन्छन् तर सबै पुरुष बलात्कारी हुँदैनन्। यस कवितामा भने यसरी लेखिएको छ

"प्रतिपल छ्यासी हजार योजनाको वैतरणी यात्रा गरिरहेको

प्रतिपल त्यत्ति नै दरले गरुढ पुराण फलाकिरहेको

र प्रतिपल त्यतिकै दरले यता धारा ४९७ र ४९८ पढिरहेको पुरुष !" यी दुवै भारतीय दण्ड संहिताको यौन दुराचार सम्बन्धि धाराहरु हुन। यसले परस्त्रीसित बिना सहमति यौन सम्बन्ध बनाएको खण्डमा दण्डको प्रावधान उल्लिखित छ। सबै पुरुष यी दुई धारा पढिरहेको चित्रणले सबै पुरुष नै व्यभिचारी बलात्कारी हुन्छ भन्ने अर्थ लाग्छ। यसरी यसले ती मूलधाराका नारीहरुका पुरुष सम्बन्धि अवधारणामा सुधार ल्याउँछ।

संग्रह दुई खण्डमा विभाजित छ। पहिलो खण्ड उत्तेजना उग्रता उष्णताले भरिएको छ भने दोस्रो खण्डका कविताहरु कोमलता, मौनता र सौन्दर्यले भरपुर अभिव्यञ्जना छ। दुई श्रखंला कविताहरु छन "जङ्गल" र टिस्टा" शीर्षकमा। दुवैमा प्रकृति छाएको छ। स्वछन्दतावादका कविताहरुमा प्रकृति प्रचुर पाइन्छन्। उनीहरू प्रकृति प्रेमी हुन्छन्। तर स्वछन्दतावादको प्रकृति प्रेम प्रकृतिसित निर्लिप्त हुनुहुन्छ प्रकृतिमा विलीन हुन्छ। यसैले उनीहरू प्रकृतिको प्रशंसक हुन्छन्। उत्तर स्वछन्दतावादी कविहरुमा पनि प्रकृति प्रेम देखिन्छ। यद्यपि यो प्रेममा प्रकृति र मानिसमा एक दुरत्व रहन्छ। प्रकृतिको दर्शक वा संरक्षक भएर आएको हुन्छ। प्रकृति उसको सहयोगी र विरोधी दुवै रूप देखेको हुन्छ। यसैले प्रकृतिको सौन्दर्यको चित्रण गर्छ भने यसको विकरालतादेखि त्रस्त पनि हुन्छ । प्रकृतिसित एकात्मकता हुँदैन।

"सृष्टिको चरम सौन्दर्य भोग्न पनि एकान्तलाई पाल्नु पर्ने रहेछ"

"सारा सृष्टिको सौन्दर्याधानको उधुम मौसम छ

बेस्कन मुस्काइरहन्छु

यद प्रीतिविलासको साक्षी उभेर म आफै

समाधिस्थ योगी भइरहन्छु

उनीहरू भने मलाई भोगी भन्छन"(जङ्गल -२)

माथिको पदमा तीन तस्बिर देखिन्छ प्रकृति, प्रकृतिको उपभोगी र उपभोगीलाई अपव्याख्या गर्ने तेस्रो तस्बिर । कवि प्रकृतिप्रति मुग्ध छ किनकि प्रकृति अति सुन्दर छ। तर उ प्रकृतिभित्र विलीन भएको देखिँदैन बरु त्यसको उपभोग गर्दछ। यसले उसलाई एकान्तताको आनन्दको आभास दिलाउछ। समाज वा मान्छेको भीडबाट अलग भएर आफू भित्र आत्मनिर्भर भएर बाँच्ने प्रेरणा दिन्छ। तर उसको यो योग वा सत्कार्यलाई तेस्रोले अधम मानेर उसलाई भोगी भनिदिन्छ। कवितालाई एकात्म हुन दिइएको छैन। विभाजन राखिएको छ। यसैले यो उत्तर स्वछन्दतावादी कविता हो।

"जङ्गल" श्रखंलामा परेका कविताहरु जस्तै "टिस्टा" श्रखंलाका कविताहरु छैनन्। कवि टिस्टा नदीसित मोहित छ र नदीको प्रवाहसित एकात्म हुन चाहन्छ। यसैले यी कविताहरु भने स्वछन्दतावाद भित्र रहेका छन।

भारतीय नेपाली साहित्य कवितामा समृद्ध रहेको छ। सर्वाधिक लेखिने र पुस्तक प्रकाशनको संख्यामा  पनि कविता संकलन अधिक छन्। प्रबन्ध काव्य भने थोरै मात्र निस्केका छन्। लामो कविता लेख्न निकै कठिन काम हो। यतातिर लामो कविता नलेखिएर छोटो कविता नै लेखिन्छन। रेमिकाको यस संकलनमा पनि केही लामो कविता परेका छन तर अधिकतर छोटो कविता नै छन। नेपाली लोक समाजमा अनेकौं त्यस्ता प्रकरण र प्रसङ्गहरु जसको उद्धार र आधुनिक कवितामा प्रयोग वाञ्छित मात्रामा भएको देखिँदैन। महाकवि देवकोटाले नेपाली साहित्यलाई वैदिक संस्कृत आधारित लेखनबाट लौकिक र नेपाली ग्रामीण लोक परम्परामा लाने महत्त्वपूर्ण भूमिका निभाएको थियो। तर त्यो पहल उनको पछिल्लो पुस्ताले त्यतिकै समर्पण र गम्भीरताको साथ पालन गरेको देखिएन।केही विशिष्ट कविहरुबाट पहल गरिए तापनि यसले व्यापकता पाउन सकेन। नेपाली लोक परम्परा विशाल स्रोत हो साहित्य सृजनाको निम्ति। यस पहलले नेपाली साहित्यलाई एक नयाँ दिशा दिन कारगर बन्न सक्तछ। कवि रेमिकाले यहाँ त्यसप्रकारको पहल गरेको देखिन्छ । "ढटुवारे", "बगरमा उभेको सिमलको रुख", "तीजको गीत", " मारुनी", "किँरात बाजे", "टिस्टा ४" कविताहरु सबै स्थानीय परम्परामा आधारित छन। यी कविताहरुले जुन सौन्दर्य वरण गरेका छन स्थानीय माटो र जातिको स्मृति र संस्कार संरक्षण गर्न उत्तिकै सजग देखिएको छ। कुनै पनि कविता वा साहित्य सृजनाको महत्त्व त्यतिबेला झन वृद्धि भएर जब त्यसले आफ्नो संस्कृति र छुट्टै चिन्हारी बोक्न सफल बन्दछ। त्यस्तो रचना आम बाट खास भएर परिचय बनाउन सक्दछ।

कवि रेमिकाले सकंलनका अन्तिम कविताहरु प्रेम विषयक दुई कविता राख्नु भएको छ। हिन्दी साहित्यको शीर्ष आलोचक डा नामवर सिंहको अनुसार मध्यकालीन भारतको  भक्तिकालमा कृष्ण भक्तिमा एउटा नयाँ मन्त्र पाए- प्रेम सबैभन्दा ठूलो पुरुषार्थ हो (प्रेमा पुमर्थो महान् )। नारी मानसिकतामा प्रेमको भूमिका महत्त्वपूर्ण घटक हुन्छ। सोभियत रसियाको पहिलो मन्त्री मण्डलको एक मात्र महिला सदस्या एलेक्जान्ड्रा कोलोन्ताइले भनेकी थिई साम्यवादी समाजभित्र पनि प्रेम एक घटक हो महिलाहरुको निम्ति जसको चर्चा तर मार्क्सले गरेको छैन । प्रेम विना जीवन अधुरो छ। प्रेम समर्पणमा विश्वास गर्दछ। रेमिकाका यी दुवै कविताहरु प्रेमिल समर्पण मै रहेका देखिन्छन् ।

कविता प्रतिभाले लेख्न सकिन्छ। तर प्रतिभालाई तिखार्न अध्ययनको आवश्यकता पर्दछ। एक पाश्चात्य समालोचक पर्सी लुबकले भन्छ साहित्य लेखन शिल्प (क्राफ्ट) हो। शिल्प अभ्यास र तालिमले हासिल गर्ने सीप हो। कलाको ज्ञान छ भने उत्तम कला सृजना गर्न सक्तछ। दशौँ शताब्दीको साहित्यकार राजशेखरले आफ्नो कृति "काव्य मीमांसा" मा लेखेको छ साहित पन्द्रौ बिद्या हो। चार वेद, चार स्मृति ग्रन्थ र छ वटा दर्शन। यी चौध विद्या हासिल गरेर मात्र पन्द्रौ विद्या काव्यमा प्रवेश गर्नु पर्छ। यसले के बुझाउछ भने काव्य सृजनाको निम्ति अध्ययन आवश्यक छ। डा रेमिका थापा उच्च अध्ययम सम्पन्न गर्नु भएको विदुषी लेखिका हुन्। यस सकंलनमा रहेका कविताले स्पष्ट उजागर गर्दछ उहाँले प्रगाड अध्ययन गर्नु भएको छ। त्यही गम्भीर र अपार अध्ययनको परिणाम हो यी कविताहरु।

 

 

Comments

Popular posts from this blog

अगमसिहं गिरी (युद्ध र योद्धा ) आलोचना

             युद्ध र योद्धा : एक पठन                          पेम्पा तामङ      अगमसिहं गिरी भारतीय नेपाली साहित्यमा सर्वाधिक चर्चामा रहेको कवि हो। उनलाई मूलतः स्वछन्दतावादी कवि र जातीय कवि भनेर आलोचकहरूले चिनाएका छन भने कही कही अस्तित्ववादी भनी परिचय दिएको छ। उनका प्रारम्भिक कविताहरू भावनात्मक र करुणामय थिए यसैले उनलाई दुखवादी पनि भनिएको  हो। गिरीका कविताहरू आम चलनको भाषामा लेखिएका र प्रतीक र बिम्वको जडान थोरै रहेका छन। सरल , सहज र बोधगम्य रहेको हुनाले आम पाठकबीच लोकप्रियता बडी रहेको थियो। जीवन , मृत्यु , दुख , बिरह उनका कविताको भावलहरी रहेको छ। कल्पनाको निर्बाध उडान र जीवन परान्मुख रहेको मानिन्छ। जीवनलाई यसरी हेर्ने दृष्टि छायावाद र स्वछन्दतावा भनेर चिनिन्छ। हुनत छायावाद र स्वछन्दतावाद यी बाहेक अन्य पनि हुन। स्वच्छन्दतावादको प्रवर्तक विलियम वर्डस्वर्थको लेखन सिद्धान्त कविताको भाषा आम मानिसको बोलीको शैलीमा हु...

Circle of Karma -Bhutanese novel review

Circle of Karma   Authored by Kunzang Choden, a native of a small village in Bumthang District in  north-central Bhutan, Circle of Karma is the first English novel to emerge from the land of the druk (Bhutan),   the mythical dragon. Published in 2005, the novel instantly courted fame far and wide, and has since been translated into several languages. The novel had been short listed for the prestigious Elle Prix des Lectrices too. Choden was born in the year of the druk , or the year of the dragon, corresponding to 1952 in the Gregorian calendar. Since Choden was born into a prosperous family, her parents sent her to a convent school in Kalimpong when she was nine years of age. Choden recounts the initial difficulty she encountered in the school because, as is prevalent in Bhutan, she did not have a surname attached to her first name. Moreover her father’s name was Kunzang Dorje and the Reverend Mother of her school refused to believe that the father an...

Remika Thapa's Farak Baato

 Two novels of  Puspa Rai                         Pempa Tamang   “Farak Baato”  or “Different Road”  is the title of the critical  book  written by Dr. Remika Thapa. As the title suggests Remika highlights the alternative  point of view proposed by Ms Puspa Rai in her two fictional works namely “Bholiko Pratikshya” or “Waiting for Tomorrow” and “Madhyantar” or “Interval”. Dr. Remika maintains that Bholiko Pratikshya is the first feminist novel in Indian Nepali Language and consequently Puspa Rai has become the first feminist novelist  in Indian Nepali writings.   The two novels can be called duology as the second novel follows the theme of earlier one. The main characters of the fictions are women in both the novels.  The first novel “Bholiko Pratikshya” is about women’s  independence in choice of her existence and her life. It is about the motherhood outsid...