Skip to main content

सेपियन्स

मान्छेको कथा

 

विश्वमा जनसंख्या सात अरब भन्दा अधिक छ मानिसहरूको। कोही कालो, कोही गोरो , कोही पीत वर्णका भए तापनि सबै एकै प्रजातिका मानिस हुन् जसलाई वैज्ञानिक नाममा होमो सेपियन्स (Homo Sapiens) भनिन्छ । होमो भनेको मान्छे र सेपियन्स भनेको ज्ञानी ज्ञानी मान्छे । यद्यपि वैज्ञानिकहरू बताउँछन् यो संसारमा हामी होमो सेपियन्स मात्र होइन अन्य प्रजातिका मानिसहरू पनि थिए जो कालान्तरमा मासिएर गए। ती विलुप्त भएका प्रजाति पनि हामी जस्तै मान्छे नै थिए । तिनीहरू पनि हामी जस्तै दुई खुट्टामा उभिएर हिडन सक्ने दौडन सक्ने, बोल्न सक्ने, हात हतियार बनाउन सक्बे थिए ।

 

हालसम्मको खोजमा यसप्रकारका १५ भन्दा अधिक मानव प्रजाति अस्तित्वमा रहेको थाहा लागेको छ। विगत एक लाख वर्ष अघिसम्म ती मध्ये छ प्रजातिका मानिसहरू यस धरतीमा जीवित थिए ।ती थिए  होमो बरेक्टस, होमो नियन्डरथल, होमो फ्लोरेन्सिस, होमो रुडोल्फेन्सिस, होमो सेपियन्स र होमो स्पेलियन्सिस।

 

 होमो नियन्डरथल वर्तमान उत्तरी युरोप र मध्यपूर्व एसियामा पाइने प्रजाति थियो। यो मानव विशाल  डाल भएको आठ देखि दस फुटसम्म अग्लो हुन्थ्यो । उसको शरीरमा अधिक रौं रहने गर्थ्यो। सबैभन्दा होँचो र सानो कद भएको मान्छे फ्लोरेन्सिस थियो।यसको कद तीन चार फुट मात्र हुन्थ्यो र यसको अवशेष इण्डोनेसियाको टापुमा पाइएको थियो। नियन्डरथल मानव तीस हजार वर्ष अघि विलुप्त भएको थियो भने फ्लोरेन्सिस 13 हजार वर्ष अघि सम्म रहेको प्रमाण देखिएको छ।

होमो सेपियन्स अर्थात् वर्तमान मानव प्रजाति भने दुई लाख वर्ष अघि पूर्वी अफ्रिकामा उद्भव भएको मानिन्छ। समयान्तरमा यो प्रजाति विश्वको विभिन्न भूभागमा छरिएर गए। उसले धरतीमा आफ्नो अस्तित्व बचाउँन र वर्चस्व कायम गर्न सफल बन्यो। सबै जीवित प्राणीहरू मध्ये ऊ अहिले सर्वशक्तिमान छ।

ती प्राचीन प्रजातिका मानिसहरू के भए भन्ने तथ्यमा वैज्ञानिकहरूको दुई अनुमान (सिद्धान्त ) राखेका छन – (१) वर्णशङ्कर सिद्धान्त र (२) स्थानापन्न सिद्धान्त । वर्णशङ्कर सिद्धान्तका प्रतिपादक मान्दछ होमो सेपियन्स यी विभिन्न प्रजातिका मानिसहरूसित सम्पर्कमा आए, बिहेवारी गरे र उनीहरूको सन्तति आजका मानव समाजमा रहेका विभिन्न रङ्ग अनुरुप रहेको हो। कोही कालो कोही गोरो हुनु यसैकारण भएको हो। वर्तमान मानव यसैले यी विभिन्न प्रजातिका वर्णशङ्कर सन्तति हुन। यो सिद्धान्त ले मानव समाजमा रहेको जातिवाद, नश्लभेद र रङ्गभेद समर्थन गर्दछ। हिटलर यही सिद्धान्तको समर्थक थिए। उनको विचारमा आर्य जाति श्रेष्ठ जाति हुन र अन्य कमसल।

स्थानाोन्न सिद्धान्तले भने यो वर्णशङ्कर विचारलाई पूर्ण रूपमा नकार्दछ र भन्छ यो असम्भव हो। घोडा र गधामा यौन सम्पर्क भए खच्चरको जन्म हुन्छ। तर खच्चरको गर्भ धारण गर्न सक्ने र बच्चा जन्माउन सक्ने क्षमता हुँदैन। यसैले घोडा र गधाको मीलनबाट जन्मेको सन्तान फैलिन सक्दैन। यो सिद्धान्तले भन्छ होमो सेपियन्स अन्य मानव प्रजातिसित यौन सम्पर्कमा रहने सम्भावना रहे तापनि उनीहरूबाट जन्मेको सन्तानमा खच्चरको नियम लागू हुन्छ ।यो स्थानापन्न सिद्धान्तको अनुसार होमो सेपियन वर्णशङ्कर भएर आएको होइन । अन्य मानव प्रजातिको अंश उसकोमा छैन । ती अन्य मानव प्रजाति प्राकृतिक वा होमो सेपियन्सको कारण विनाश भएर गए। मान्छे सबै एउटै प्रजातिको हो। यसलाई सरल भाषामा सबै एउटै जातको हो भन्न मिल्छ।।

 ती विलीन भएका मानव प्रजाति अहिलेको मानव झैँ आगो प्रयोग गर्न सक्ने, ढुङ्गाको हतियार बनाउन सक्ने, शिल्प, भाषिक क्षमता भएका थिए। यसैले उनीहरू पशु जस्तो भन्नू मिल्दैन। आहारको निम्ति अन्य बन जन्तु, फलफूल र कन्दमूलमै निर्भर थिए जस्तो होमो सेपियन्स कृषि आन्दोलन पूर्वको अवस्थामा थिए।

सत्तरी हजार वर्ष अघि देखि होमो सेपियन्सले अन्य मानव प्रजाति र वन्यजन्तु भन्दा भिन्न स्वभाव देखाउन थाले जसलाई वैज्ञानिकहरू कगनिटिभ रिभोल्युशन भनी चिन्दछन।

यसकालमा होमो सेपियन्समा नवीन चेतना विकास भएको देखिन्छ । उसको मानसिकतामा परिवर्तन आउँदछ। उसले यही चेतनाको प्रकाशमा आफ्नो आदिम भूमि अफ्रिकाको कालाहारी मरूभूमिलाई त्यागेर एक महायात्रा आरम्भ गरे। यसको एउटा कारण बडदो जनसमूहबीच खाद्यान्नको अभाव पनि थियो ।

यो यात्रा सहज थिएन। त्यससमय समुद्रको जलस्तर कम थियो। अहिलेको जस्तो समुद्र विभाजन भइसकेको थिएन। यसैले एउटा महादेशदेखि अर्को महादेशको यात्रा गरे। हुनत यो यात्रा हजारौं कोशको र हजारौं साल लगाएर तय गरेका थिए। कठ्याङ्ग्रिने चिसो साइबेरिया पार गरेर अमेरिकी महादेश पुगे।कोही पूर्वी अफ्रिकाको टापु माडागास्कर पुगे। एसिया महादेश काटेर अस्ट्रेलिया प्रवेश गरे। जहाँ आवाद गर्न सकिन्छ त्यहाँ पुगेको देखिन्छ।

यो यात्रा एकाधको नभएर सामुहिक हुन्थ्यो। हुनत यो समूह विशाल हुँदैन थियो। अहिलेको समाजविज्ञानले बताउँछ एक आदर्श मानव समूह १५० संख्याभित्रमात्र हुन सक्छ। कुनै विचार वा अनौपचारिक स्तरमा यतिको संख्या भित्रको मानव समूह मात्र सहजसाथ रहन सक्दछ। यसैकारण अनुमान लगाउन सकिन्छ त्यो आदिम यात्रामा हिडने समूहमा यति कै संख्यामा हुनथ्यो। यही संख्यामा उनीहरू अलग अलग दिशामा गए।

यही कालमा मनुष्य जातिमा ईश्वर, भूत प्रेत, भय जस्ता भावनाको विकास भयो। उसले कल्पना गर्न थाल्यो, कलाको चेतना स्फुरण भयो। त्यतिबेला उनीहरू ओडारमा बस्थे। घर बस्ती बनाउने चेतना आएको थिएन। तर उनीहरूको यायावरीय जीवन शैलीको कारण घर बस्तीको आवश्यकता पनि भएन।कृषिको विकास नभइन्जेल मनुष्य आफ्नो आहारको निम्ति बन जंगलमै निर्भर थियो। जंगलमा आहारको उपलब्धि सामयिक रहने हुनाले उनीहरू भोक मेटाउन नयाँ ठाउँ नखोजी धर थिएन। यसैकारण पनि उनीहरू निरन्तर यात्रामा रहनु बाध्य थिए। आफ्नो भोक मेटाउन  र ज्यानको सुरक्षाको निम्ति यसो गर्न कर लाग्थ्यो।

जर्मनीको स्टाडेल कन्दरामा एक मूर्ति पाइएको छ जो ३२ हजार वर्ष पुरानो भनी अनुमान गरिएको छ।यो मूर्तिको धड मनुष्यको छ र शिर सिहंको छ। यो मूर्तिले हिन्दू धर्ममा वर्णित भगवान विष्णुको नरसिंह अवतारको चित्रणसित तुल्य देखिन्छ।  शिर सिहंको र धड मान्छेको जस्तो कुनै प्राकृतिक जीव हुँदैन। यसैले यो चित्रण नितान्त काल्पनिक हो। यसले बताउँदछ मान्छेमा कलाको चेतना उतिबेला विकास भइसकेको थियो। कल्पना गर्न सक्नु भनेको झुटो बोल्नु सक्नु पनि हो। यसबाट बुझिन्छ यससमयमा आएर मान्छेले ढाट्ने, झुक्याउने छल गर्ने तर्साउने सबै व्यपारमा महारत हासिल गरिसकेको थियो।

यस नवीन मानव प्रजातिको महायात्रामा त्यसबेला स्थिरता आयो जब उसले खेती गर्न सिक्यो। मनुष्य जातिले खेती गर्न सिकेको 12 हजार वर्ष अघि मात्र हो भनिन्छ। बन जंगल फाँडेर कृषि भूमि योग्य जमिन बनाउने , त्यसमा खाद्यान्न उमार्ने, जङ्गली पशुलाई घरेलु पाल्तु बनाउने जस्ता विधि यही कालदेखि सिके। यसलाई कृषि क्रान्ति भनिन्छ।

कृषि क्रान्तिले मानव जातिमा क्रान्तिकारी परिवर्तन ल्यायो। उसको जीवन र जीवन शैलीमा व्यापक भिन्नता आयो। उसलाई धेरै सहज भयो । अब खाद्यान्न र जीवन सुरक्षाको निम्ति भटकिरहनु परेन। जङ्गली पशु र प्राकृतिक प्रकोपबाट उसले केही निदान पाउन सक्यो। उसको यायावरीय जीवनबाट घरेलु जीवनमा विश्राम पाउँछ। तर उसको यो नयाँ जीवन पद्धतिले लाभ मात्र होइन हानी पनि पुर्यायो। उसको यायावरीय जीवनमा खाद्यान्न बन जङ्गल जताततै पाउथ्यो र ती अनेक प्रकारका हुन्थे। पौष्टिक आहार प्रशस्त सेवन गर्न सक्थ्यो। परिश्रम पन धेर गर्न पर्दैन थियो। यसको विपरीत खेती गर्दा अधिक परिश्रम गर्नु पर्ने भयो।  खाद्यान्नको परिकार पनि सीमित भयो। पौष्टिक आहारको मात्रा पनि कम रहने भयो। कृषि जीवन अचल जीवनको प्रतीक भएको कारण यात्रा स्थगित रह्यो । कुपोषण, कम व्यायाम कठोर परिश्रम र अचल जीवनको कारण ऊ ढाड दुख्ने, कम्मर दुख्ने जस्ता विभिन्न रोगको सिकार हुन थाल्यो।

कृषि जीवनले यात्रामय जीवनमा स्थगन ल्याए पछि ओडारबाट घरतिर बस्नु पर्ने वाध्यता आइपर्यो। अब उसले आफू अनि आफ्नो परिवारको निम्ति घर बनाउनु पर्ने भयो। विस्तार विस्तार परिवार फैलिएर गयो। घरहरू धेरैले निर्माण गरे। घरहरूको संख्या बडेर गाउँ बने। कालान्तरमा गाउँ बडेर शहरमा परिणत भए।

कृषि क्रान्तिले मनुष्य जातिलाई थप समस्या सृजना गरेको खेती जमिनको स्वामित्वको प्रश्न हो। पहिला सबै भूमिमा सबै मान्छेको समान अधिकार थियो। प्राकृतिक उपजमाथि कुनै एक व्यक्ति वा समूहको एकल अधिकार थिएन। जल जमीन खाद्यान्नमाथि कसैको एकाधिकार थिएन। जनसंख्याको वृद्धि साथै संसाधनको स्रोतमाथि प्रतिस्पर्धा हुन थाल्यो। यसले संसाधनको स्वामित्व रहनु जीवन र मरणको प्रश्न बन्ने चेतना जगायो। अब मानव समूहमा विभाजन , अन्य र आफू भन्ने भावना प्रवेश पाउन थाल्यो ।

मान्छेलाई यो नयाँ समस्याले उसको अस्तित्वमा पुन जोखिममा धकेलिदिन देखिन थाल्यो। यही समस्याको समाधानको निम्ति उनीहरूले एक काल्पनिक संरचना निर्माण गरे जसलाई समाज भन्दछ। समाजभित्र चिनेका नचिनेका सबै मानिसहरू एक समूह भएर बसेको हुन्छ। समाजका सबै सदस्यहरू एक आपसी सम्झौतामा निर्मित नियमभित्र बाँधिएर बस्दछन। यो नियम कुनै धर्म वा आचार संहिता हुनसक्छ। जसले पनि त्यो धर्म वा आचार संहिंता पालन गर्न राजी हुन्छ ऊ त्यो समाजको सदस्य हुनसक्दछ।

परिवारमाझ एकसाथ बस्न सहज थियो तर अब अन्य अन्जानसित बस्नु भूल बुझाबुझ हुन स्वाभाविक हुन्छ जसले वैमनस्यता सृजना गर्दछ। यसको लागि उनीहरू बीच एक सशक्त गठजोड शक्तिको आवश्यकता पर्दछ। यस्तो सशक्त सेतु धर्म वा कुनै विशेष विचारधाराले मात्र हुनसक्छ; एकप्रकारको संस्कृतिमा बस्ने एक समूह मानिसहरूको। यसलाई वर्तमान समयमा जनजाति वा कबिलाई जीवन भनी चिन्हिन्छ।

आवादी बडेर गए पछि गाउँहरूको संख्या अधिक भए, शहरहरू निर्माण भए। अब त्यो विशाल जनसमूहलाई नियन्त्रणमा राख्न अर्को संरचना निर्माण गर्नु पर्यो। राज्यको कल्पना र निर्माण यहीबाट शुरु भयो। यसबाट बुझिन्छ समाज, संस्कृति, राज्य वा देश मानवीय संरचना हुन, उसले आफ्नो सुविधाको निम्ति बनाएको र  प्राकृतिक होइन। राज्य सञ्चालनको निम्ति अर्को संरचना निर्माण भयो जसलाई हामी राजसत्ता वा सरकार भन्दछौँ। यसरी मान्छेले आफ्नो सामुहिक जीवन सहज बनाउनको निम्ति जटिल भन्दा जटिल संरचनाको निर्माण गरे। हुनत यी संरचना आफ्नो स्वतन्त्रता र हितको निम्ति बनाएको थियो तर ऊ आफ्नो जालभित्र आफै फस्दै गयो। उसको जीवन सहजबाट कठिन हुन पुग्यो। ऊ सत्ताको बन्दी भयो। ऊ सत्ताको मालिक होइन तर यसको अधीनमा रह्यो। कानुनको शासनमा उसको भूमिका त्यो अमूर्त कानुनको मुनि रह्यो। तर उसको मुक्तिको निम्ति हराएको स्वतन्त्रताको निम्ति फेरि त्यो कृषि क्रान्ति पूर्वको जीवनमा फर्केर जान सक्ने सम्भावना पनि रहेन। अघि ऊ स्वतन्त्र थियो अब ऊ समाज र राज्यको नियन्त्रणमा बस्नु पर्ने भयो।

राज्य निर्माण सबै जनताको सुखसुविधाको निम्ति भए तापनि पछि गएर राज्य एक व्यक्तिको नियन्त्रणमा हुन गयो जुन व्यक्ति राजा भनियो। जल जमिन आकाशमाथि त्यो एक व्यक्तिको एकाधिकारमा आउन गयो र अन्य सबै उसको दास वा सेवक मात्र रहे। राजालाई शक्तिशाली देखाउनको निम्ति उसलाई दैविक आशिर्वाद प्राप्त भएको सर्वशक्तिमान भनिन थालियो। ऊ आम साधारण मान्छेबाट खास मान्छे हुन पुग्यो। राज्यको संसाधनहरूमा सबै आम जनताको अधिकार रहे तापनि सम्पूर्ण राज्यको मालिक राजालाई घोषित गरियो। राज्यको वासिन्दा राजाको दया धर्ममा मात्र रहने पुग्यो र यसरी उसले आफ्नो स्वतन्त्रता सुरक्षाको निम्ति तिलाञ्जली गर्यो। राजाको शक्ति वृद्धि साथै उसको महात्वाकांक्षा पनि बडेर गयो। अब उनीहरू ससाना राज्यको राजा मात्र नभएर विशाल साम्राज्यको शासक बन्ने आकांक्षा राख्न थाले। यसले युद्धको स्थिति सृजना गर्न थाल्यो। छेउछाउका कमजोर राज्यमा आक्रमण गरी आफ्नो अधीनमा ल्याए। यसप्रकार विशाल सम्राज्यको निर्माण हुन प्रारम्भ भयो । ईशा पूर्व १८०० शताब्दीमा विश्वको सबैभन्दा ठूलो सम्राज्य बेबिलोनको थियो। बेबिलोन त्यस कालको सबैभन्दा ठूलो शहर हो। यो सम्राज्यमा दस लाखभन्दा अधिक जनसंख्या रहेको अनुमान गरिन्छ। बेबिलोन सम्राज्यको सम्राट् हामुराबी प्रसिद्ध छ। उसले सम्राज्य चलाउनको निम्ति मुलुकी ऐन बनाएको थियो जसलाई हामुराबी कोड भनिन्छ। मानव इतिहासमा पाइएको प्राचीनतम ऐन यही हो। यो ऐनको प्रस्तावनामा लेखिएको अनुसार मेसोपोटामियाका प्रमुख तीन देवगण अनु, ऐनलिल र मार्दुकले हामुराबीलाई धरतीमा न्याय दिलाउन, दुष्ट र पाखण्डीलाई निर्मुल पार्न र कमजोरलाई बलियोले प्रताडित गर्नबाट रोक्न नियुक्त गरेका हुन्।

यो ऐन मताविक सम्पूर्ण जनतालाई तीन श्रेणीमा विभाजित गरिएको थियो  - उच्च , आम नागरिक र दास वर्ग। ऐनका प्रावधान यही नागरिकको श्रेणी अनुसार लागू हुन्थ्यो अर्थात् दण्डको विधि समान थिएन। भारतमा पनि प्राचीन कालमा समाज यसैप्रकार विभिन्न वर्गमा छुट्याइएको देखिन्छ  --ब्राह्मण, क्षत्रीय, वैश्य र शुद्र जसलाई चतुर वर्ण भनिन्छ। तर त्यो कालमा त्यो चतुर वर्ण देखि पनि बाहिर  परिगणित समूह राखिएको थियो । यसरी हेर्दा भारतमा पाँच श्रेणी देखिन्छ। भारतको प्राचीन कालमा समाजमा रहेको यो विभेदको विरोध गरिएको बौद्ध सूत्र "आङ्गन सुत्त" मा पाइन्छ र जसले प्रमाण गर्दछ त्यतिबेला जातिभेद रहेको। हामुराबीको ऐन जस्तै नेपालमा जङ्ग बहादुर राणाले सन १८५४मा नेपालको मुलुकी ऐन जारी गरेको थियो। यो ऐनले तल्लो दुई श्रेणीका जाति समूहलाई दास बनाएको थियो। यो नेपालको जातको आधारमा बनाइएको थियो।

जनसंख्याको अत्यधिक वृद्धि, शहरीकरण, विभिन्न अनेकन राज्यहरूको गठन, नवीन सामाजिक संस्था र संरचनाले मान्छेलाई अवसर र थप चुनौती आउन थाल्यो। यही चुनौतीको सामना गर्न नयाँ शिल्पहरू विकास गरे, कतिले विशिष्टता हासिल गरे। प्राचीन कालमा पैसाको चलन थिएन। आफूले बनाएका, उप्जाएका वा आफ्नोमा रहेका संसाधन अर्कासित साटेर आफ्नो अभाव पूर्ण गर्थ्यो। यसलाई बार्टर सिस्टम भनिन्छ। यो अर्थ व्यवस्था एक सीमित स्थान र कम जनसंख्यामा आधारित समाजमा ठिकै थियो। तर जब समाज बडेर राज्य र विशाल शहरहरू भए यो व्यवस्था असफल हुने भयो। वस्तुको मूल्य कसरी तोक्ने र कुन वस्तु कुन वस्तुको परिमाणमा साटासाट गर्ने निर्धारण गर्न जटिल बनियो। यो समस्याको हलको निम्ति उनीहरूले एक यस्तो युक्ति आविष्कार गरे जसले सबै वस्तुको मूल्य तोक्न सहज बनायो। यो युक्ति हो पैसा। तर पैसालाई वैधानिकता दिन एक निश्चित केन्द्रीय अधिकृत चाहिएको थियो । राजशक्ति यस कार्यको लागि सर्वाधिक उपयुक्त मानियो। राजशक्तिलाई पैसाको अधिकृतको रुपमा मान्यता दिइयो। यहाँ पैसा भनेर अहिलेको जस्तो सिक्का वा कागजी ब्याकं नोट होइन। राज्यद्वारा अधिकृत वा सर्वस्वीकृतिद्वारा मानिलिएको कुनै वस्तु पैसाको रुपमा स्वीकारिएको हुन्थ्यो र त्यही अनुसार लेनदेनको क्रिया सम्पन्न हुन्थ्यो। उदाहरणको निम्ति पहिला धेरैले ठाउँमा कौडी पैसाको रुपमा मान्यता दिइएको थियो । नेपाली उखान "फुटेको कौडी छैन" भनेको अर्थ आफूसित पैसा भनेको हो। यहाँ कौडी भनिएको पैसा भनिएको हो र यो त्यही कौडी पैसा भएको स्मृति हो। पैसा भनेको परस्पर विश्वासमा चल्ने एक ब्यवस्था हो। विश्वास नगरे पैसा नचल्ने हुन्छ। सरकारले विमुद्रिकरण गर्दा पुरानो नोट नचल्ने हुन्छ।  मान्छेले पैसा चलाउन थालेको चार हजार वर्ष भएको मानिन्छ।

पैसाको व्यवस्था सफल भए पछि यसले मानव जीवनमा व्यापक परिवर्तन ल्यायो। यसले मान्छेलाई एकार्कासित सम्पर्क गर्न र एक हुनमा ठूलो सहायता पुर्यायो। पहिला जमिन र पशुधन महत्त्वपूर्ण थियो भने अब यो नयाँ धन अथवा पैसाको झन महत्त्वपूर्ण हुन गए र मान्छेले यसको सञ्चयनमा लाग्न उचित ठान्यो। पैसा सबैको निम्ति आकर्षणको केन्द्र बन्न गयो ।

छरिएर बसेका विभिन्न मानव समुदायलाई एकत्रित बनाउने भूमिकामा धर्म र साम्राज्यले निभाएको छ। शासकवर्गले आफ्नो क्षमता बडाउन र आफूलाई शक्तिशाली अपराजेय देखाउनु , अधिक सम्पत्ति सङ्ग्रहको लालसा र राज्य विस्तारका निम्ति अनवरत युद्ध गरेर धेरै मान्छेहरू र विशाल भूभाग अधीनमा ल्याए। फलस्वरूप एक विशाल जनसमूह एक व्यक्तिको नियन्त्रणमा आउन गयो। उसरी नै  धर्मको विकास र प्रचारले धेरै अपरिचित मानिसहरू धर्म आलम्बन गरेका कारण एक विशेष बन्धनमा बाँधिएर एक हुन प्रोत्साहित गराए।उनीहरूको एकिकरणको बाटो खुल्यो ।

 मानवजातिले एकता, सदभावना, समता, भाइचाराका निम्ति धर्मको कल्पना गरे। व्यक्तिमा आएको तनाव, दुखको अनुभूति, असन्तुष्टि, निराशा जस्ता मानवीय भावनालाई दमित गर्न र उसलाई सुख र शान्तिको पथमा लैजान भनेर नै उसले गरेको युक्ति थियो धर्म। यद्यपि कालान्तरमा धर्म नै मान्छे मान्छे बीच दुर्भावना, वैमनस्यताको कारण बन्न पुगेको देखिन्छ। धर्मकै खातिर मानवजातिले अनेकौं युद्ध लडे, असंख्य मारिए। धर्मको युद्ध आज पनि जारी छ यति हो यो युद्धको भिषणता र सघनता भने त्यतिको छैन जतिको केही शताब्दी अघिसम्म थियो। धर्मको नाममा घृणा र उपेक्षा भने यथावत रहेको भन्न सकिन्छ।

प्रारम्भिक चरणको धर्म भिन्दा भिन्दै तत्वहरूका भिन्दा भिन्दै हेतुमा थिए जसलाई बहु ईश्वरवाद (पानथिइज्म) भनिन्छ। पछिल्लो चरणमा यसको विकास भएर एकल ईश्वरवाद वा एक परमेश्वर मात्र भएको धारणामा आए। पूर्वीय दर्शनमा यसलाई अद्वैतवाद भनिन्छ।

मान्छेले ईश्वरीय सत्तामा विश्वास गर्न थाले पछि दृश्यसत्तावली संसार अर्थात् भौतिक संसारलाई अर्ध सत्य वा मिथ्या मान्न थाले। सत्य र चिरस्थायी ईश्वरीय सत्ता मात्र हो। भौतिक संसार अस्थायी छ यसैले यो मिथ्या हो, भ्रामक हो। यसैले मान्छेको लक्ष्य ईश्वरीय सत्ता प्राप्ति हुनुपर्छ। उसको जीवन भन्दा मृत्यु पछि भोग्नु पर्ने जीवन महत्त्वपूर्ण छ। यसरी बुझाउनु थाले धर्माधीशहरूले।

आर्यवर्त अर्थात् भारतमा शंकराचार्यले "ब्रम्ह सत्यम जगत मिथ्या" को सूत्र प्रतिपादन गरे। भौतिक जगत मिथ्या हो र परब्रम्ह मात्र सत्य हो। पाश्चात्य मुलुक युरोपमा पनि थोमस एक्विनसले यस्तै दर्शन अघि राखे।सांसारिक विषय अस्थिर र असत्य हो मर्त्यलोक नै स्थिर तथा सत्य हो। यसलाई थोमिस्ट दर्शन भनिन्छ। ईटलीको अलिघियरी दाँतेको विश्व प्रसिद्ध काव्य "दि डिभाइन कमेडी" यही दर्शनमा आधारित छ। यो काव्यमा लोक, परलोक, स्वर्ग, नर्क सबै दृश्य देखाइएको छ। तर यो काव्यका समालोचकहरू बताउँछन् दाँतेले "चित्रात्मक यथार्थ" (फिगरल रियलिटि) हो भनेर।

इतिहासकार बताउँछन् मध्यकालसम्ममा वा मध्यकालीन भारत चीन जस्ता ठूला राष्ट्रहरू युरोप भन्दा धेरै शक्तिशाली र धनी थिए। मुगलकाल भारतको सकल घरेलु उत्पादन त्यसबेलाको सम्पूर्ण विश्वको तीस प्रतिशत थियो। यस हिसाबले अहिले अमेरिकाको बराबरको स्थिति रहेको बुझिन्छ। तर 15औ र सोह्रौ शताब्दीमा युरोपमा ठूलो क्रान्ति आयो जसलाई अहिले वैज्ञानिक क्रान्ति भनिन्छ। यो क्रान्ति आउन अघि त्यहाँ साँस्कृतिक पुनर्जागरणको क्रान्ति आएको थियो। वास्तवमा यो क्रान्ति 12 हजार वर्ष अघि आएको कृषि क्रान्ति भन्दा पनि प्रभावकारी देखियो।

साँस्कृतिक पुनर्जागरणमा युरोपमा एउटा वैचारिक क्रान्ति ल्यायो। उनीहरूमा प्राचीन ग्रीसको ज्ञानमा अचानक रुचि बडेर आयो। ख्रिष्टेली विचारमा यो प्राचीन ग्रीस दर्शनलाई पागान भनी पर सारिन्थ्यो। मान्छेले जान्नु पर्ने ईश्वरीय ज्ञान हो र बुझ्नु पर्ने पनि ईश्वरीय सत्ता हो भनिन्थ्यो। प्राचीन ग्रीस दर्शनमा भने त्यस्तो ईश्वरीय सत्ता प्राप्त गर्ने दर्शन छैन। यसमा मानवीय सत्ता र भौतिक विषय नै यसका मुद्दाहरू थिए। पुनर्जागरण कालमा युरोपमा धार्मिक पुस्तकबाट यी भौतिक ज्ञानपट्टि आकर्षण बडन थाल्यो। उनीहरूले सम्झन थाले अध्ययन गर्नु पर्ने ईश्वरको सत्ता वा धार्मिक पुस्तक होइन तर मानव समाज रहेछ। यही मानव समाज अध्ययनको निम्ति नयाँ ज्ञान अनुशासन उदभव भयो जसलाई ह्युमनिटिज भनिन्छ।

ज्ञानको अपार भण्डार भारत, चीन, दक्षिण अमेरिकाको  इन्का सभ्यता, मध्य अमेरिकाको माया सभ्यता, एजटेक सभ्यतामा थियो। तर यी सभ्यताहरू वैज्ञानिक क्रान्ति ल्याउन सकेनन्। पुनर्जागरण, औद्योगिक क्रान्ति युरोपमा आए। यसको पछाडी युरोपमा भएका ती घटनाहरू उत्प्रेरक छन।  मार्को पोलोको कुबलय खाँनको शासनकालमा चीनको भ्रमण जसले युरोपलाई पूर्वीय सभ्यताबारे परिचय गरायो।  नयाँ नयाँ ज्ञानको खोज, ब्युबोनिक महाव्याधीको आतंक, मुस्लिम साम्राज्यसितको शताब्दी लामो धर्म युद्ध जस्ता अनेक घटनाक्रमले युरोपलाई अपारम्परिक सोँच बनाउन प्रेरित गर्यो।

 

युरोपवासीले बुझे उनीहरूले धेरै कुरा जान्दैनन् रहेछन। उनीहरूले कोरेको विश्व मानचित्र भ्रामक रहेछ। प्राचीन ग्रन्थमा रहेका ज्ञानका स्रोत विश्वसनीय छैन रहेछ र आधुनिक समयको निम्ति अप्रासंगिक हुँदो रहेछ।  संसारमा त्यस्ता धेरैले मुलुकहरू रहेछन जसका बारे उनीहरू अनभिज्ञ रहेछन। यी नयाँ मुलुकहरूको खोजी गर्न, ती सभ्यतामा रहेको ज्ञान प्राप्त गर्न उत्कण्ठा बडेर गयो। कोलम्बसको अमेरिका खोज, भास्को ड गामाको भारतको समुद्री बाटो आविष्कार, क्याप्टन कुकको अस्ट्रेलिया न्युजिल्यान्ड र हवाई टापूको खोज, मेजिलेण्डको विश्वको चक्करले उनीहरूलाई विश्वको भूभागबारे विस्तृत जानकारी उपलब्ध गराए। जब 14औ शताब्दीमा ब्युबोनिक प्लेगको महामारी फैलिएर युरोपमा करोडौंको संख्यामा मानिसले ज्यान गुमाउनु पर्यो उनीहरूले बुझे पारम्पारिक चिकित्सा पद्धतिमा यसको कारगर उपचार छैन। यसबाट उनीहरूलाई चिकित्साबारे नयाँ पद्धति विकास गर्नु पर्ने आवश्यकता महसुस भयो। आधुनिक एलोपेथिक चिकित्सा यही घटनाहरूको बुनियादमा बसेको हो। किप्लर, कोपर्निकस, गेलिलियो जस्ता वैज्ञानिकहरूले सौर्य मण्डलबारे नयाँ धारणाको जग बसाइदियो। अघि पृथ्वी सौर्य मण्डलको केन्द्र मानिन्थ्यो र सूर्य पृथ्वीको परिक्रमा गर्छ भनिन्थ्यो। यी वैज्ञानिकहरूले पत्ता लगाए सूर्य होइन पृथ्वीले परिक्रमा लगाउछ सूर्यको वरिपरि। पृथ्वी ब्रम्हाण्डको केन्द्र पनि होइन भनेर भने। यसअघि पृथ्वी च्याप्टो भएको मानिन्थ्यो तर यी वैज्ञानिकहरूले भने पृथ्वी गोलो छ। न्युटनले गुरुत्वाकर्षणको सिद्धान्त बनाए, क्यालकुलस जस्तो गणितीय सूत्र प्रतिपादन गरे। फ्रानसिस बेकनले ज्ञान एक शक्ति भएको विचार दिए। यसैले ज्ञानको निम्ति हर प्रयास गर्नु पर्ने रहेछ भन्ने चेतना आयो।

मध्यकालीन समयमा भारत र चीनमा ठूला साम्राज्यहरू थिए तर नयाँ मुलुकको खोजमा लगानी गरेनन। पूर्वीय मान्यता अनुसार सांसारिक ज्ञानको खासै मोल हुँदैन। यो क्षणभइ्गुर छ। उनीहरू भन्थे ज्ञानको प्रमुख स्रोत प्राचीन धर्म ग्रन्थ नै पर्याप्त छ। मान्छेले जान्नु पर्ने र बुझ्नु पर्ने सबै ज्ञानका विषय ती धार्मिक पुस्तकहरूमा सञ्चयित छन। यसैले नयाँ खोज वा ज्ञानको कुनै आवश्यकता छैन। भारतको धार्मिक मान्यतामा भक्तिको अवधारणाको मुख्य भूमिका हुन्छ। भक्ति भनेको पूर्ण समर्पण हो। जिज्ञासा, कौतुहलता, सन्दिग्धता अथवा कुनै प्रश्नको अपेक्षा गरिनु हुन्न। तर विज्ञानमा जिज्ञासा, कौतुहलता, प्रश्न आधारभूत तत्व हो। युरोपले यही प्रश्नको बाटो, वैज्ञानिक खोज र पुरानो धार्मिक मान्यतालाई पर सारेर अघि बडे। यसैको बलमा उनीहरू समृद्धि र भौतिक उन्नतिको शिखरमा पुगे। विकासको चरम स्तरमा छन उनीहरू।

 

 

 

Comments

Popular posts from this blog

अगमसिहं गिरी (युद्ध र योद्धा ) आलोचना

             युद्ध र योद्धा : एक पठन                          पेम्पा तामङ      अगमसिहं गिरी भारतीय नेपाली साहित्यमा सर्वाधिक चर्चामा रहेको कवि हो। उनलाई मूलतः स्वछन्दतावादी कवि र जातीय कवि भनेर आलोचकहरूले चिनाएका छन भने कही कही अस्तित्ववादी भनी परिचय दिएको छ। उनका प्रारम्भिक कविताहरू भावनात्मक र करुणामय थिए यसैले उनलाई दुखवादी पनि भनिएको  हो। गिरीका कविताहरू आम चलनको भाषामा लेखिएका र प्रतीक र बिम्वको जडान थोरै रहेका छन। सरल , सहज र बोधगम्य रहेको हुनाले आम पाठकबीच लोकप्रियता बडी रहेको थियो। जीवन , मृत्यु , दुख , बिरह उनका कविताको भावलहरी रहेको छ। कल्पनाको निर्बाध उडान र जीवन परान्मुख रहेको मानिन्छ। जीवनलाई यसरी हेर्ने दृष्टि छायावाद र स्वछन्दतावा भनेर चिनिन्छ। हुनत छायावाद र स्वछन्दतावाद यी बाहेक अन्य पनि हुन। स्वच्छन्दतावादको प्रवर्तक विलियम वर्डस्वर्थको लेखन सिद्धान्त कविताको भाषा आम मानिसको बोलीको शैलीमा हु...

Circle of Karma -Bhutanese novel review

Circle of Karma   Authored by Kunzang Choden, a native of a small village in Bumthang District in  north-central Bhutan, Circle of Karma is the first English novel to emerge from the land of the druk (Bhutan),   the mythical dragon. Published in 2005, the novel instantly courted fame far and wide, and has since been translated into several languages. The novel had been short listed for the prestigious Elle Prix des Lectrices too. Choden was born in the year of the druk , or the year of the dragon, corresponding to 1952 in the Gregorian calendar. Since Choden was born into a prosperous family, her parents sent her to a convent school in Kalimpong when she was nine years of age. Choden recounts the initial difficulty she encountered in the school because, as is prevalent in Bhutan, she did not have a surname attached to her first name. Moreover her father’s name was Kunzang Dorje and the Reverend Mother of her school refused to believe that the father an...

Poetry of Puja Upadhyay

             दुई शब्द भूमिकाको                           पेम्पा तामङ      नेपाली साहित्यमा सर्वाधिक लोकप्रिय विधा कविता हो र सर्वाधिक रचना यसैमा देखिन्छ। कविता एक यस्तो विधा पनि हो  जसले कवि अनि रसिक दुवैलाई आकर्षित गराउँछ। कविलाई अनिवर्चनीय आनन्द बोध गराउँदछ कविता सृजनामा। यसैले पनि कवि शब्द सुधाको धारा बहाउन चञ्चल रहन्छ। हुनत कविता व्यक्ति र समाजमा जोडिने एक सेतु पनि हो। नेपाली कविताको पहिलो कविता मानिने सुवानन्ददासको लेखनलाई हेर्नु हो भने कविता एउटा त्यस्तो सशक्त माध्यम हो जसको सहाराले एक निरीह व्यक्ति सर्वशक्तिमानसित  संवादमा रहनुसक्दछ।   कुनै पनि कविताले व्यक्तिलाई एकदेखि अनेकमा पुर्याउने क्षमता राखेको हुन्छ। कविता एक परम्परा निर्वाह हो। कुनै पनि कवि अनेकौं पुस्ताको प्रतिविम्ब हुन्छ , चाहे त्यो रूपमा होस , विचार वा दर्शनमा होस या फेरि फगत भाषिक परम्परामा। तर कुनै कविताले परिचय त्य...