नाट्यशास्त्रका केही रोचक प्रसङ्ग
1.नाट्यशास्त्र भरतमुनिले लेखेको भनिन्छ । तर कोपिला वात्स्यायनको मत अनुसार भरतमुनि एक व्यक्ति नभएर स्कूल अफ थट्स वा वैचारिक समूहको नाम हो ।
2. भरतमुनिका सय पुत्र थिए । ती सबैजना नाट्यकार र कलाकार थिए । उनीहरूका नाटकमा ब्राह्मणहरूप्रति व्यंग्य हुन्थ्यो । ब्राह्मणहरूको नाटकमा उपहास गरे भनेर तिनीहरूलाई श्राप दिएर शुद्र बनाइदिए ।
3. नाट्यशास्त्रलाई पञ्चमवेद भनिन्छ । यो ग्रन्थमा लेखिएको छ वेद नारी र शुद्रलाई पढन वा वाचन गर्न वर्जित थियो । यसैले नाट्यशास्त्रको रचना गरियो। नाट्यशास्त्र पाठ गर्न, नाट्य अभिनयमा भागिदार हुन सबै जातीय समूहलाई स्वीकृत थियो । नाट्यशास्त्रलाई भारतको पहिलो समावेशी ग्रन्थ भन्न सकिन्छ । अर्को पाराले भन्नू हो भने किनारिकरण गरिएको समूहलाई समावेश गरी लेखिएको पहिलो किताब हो।
यद्यपि यहाँ मञ्च निर्माणको उल्लेख गर्दा नाट्यशास्त्र विभेद विरोधी नरहेको थाहा पाइन्छ । यसमा तीन स्तरको मञ्च निर्माणको प्रस्ताव छ। उच्चतम स्तरमा देवगणको लागि , दोस्रो स्तरमा शासक वर्ग र उच्च वर्गको निम्ति र साधारण जनलाई निम्न स्तरको । यसबाट बुझिन्छ समाजको स्तर अनुसार सामाजिक दुरत्व कायम राख्न नाट्यशास्त्रले मान्यता दिएको छ।
4. नाट्यशास्त्र छ हजार श्लोकमा रचिएको छ जो 36 अध्यायमा विभाजित छ। भनिन्छ प्राचीनतम नाट्यशास्त्रमा 12000 श्लोक थिए जो अहिले उपलब्ध छैन ।
5. नाट्यशास्त्रमा देशहरूको नाममा नेपालको पनि नाम छ।
7. भारतीय साहित्यमा रस सिद्धान्त पहिलोपल्ट यही ग्रन्थमा उल्लेख भएको पाइन्छ । तर यसमा नौ रस नभएर आठ रसको मात्र वर्गीकरण गरिएको छ। शान्त रस पछि आचार्य आनन्दवर्धनले "ध्वन्यालोक" मा जोडेको हो। महाभारत महाकाव्यको समालोचना "ध्वन्यालोक" गरिएको छ जो जसको चौथो उद्योतमा छ। यही उद्योतमा महाभारत को मूल रस शान्त रस भनी निर्क्योल गरिएको छ।( प्राचीन भारतमा कृतिको समालोचना गरिने परम्परा थिएन । यो एक मात्र अपवाद देखिन्छ ।)
8. नाट्यशास्त्र नाटकको मात्र नभएर संगीत(वाद्ययन्त्र ), मञ्च निर्माण , अभिनयकलाको पनि प्राचीनतम ज्ञान भएको ग्रन्थ हो। अभिनयकलामा रस अनुसारको शारीरिक मुद्रा कस्तो हुनुपर्ने बताइएको छ।
9. कविताको परिभाषा स्पष्ट रुपमा आएको यो नै प्राचीन ग्रन्थ हो।(उपनिषद र पुराणमा कविताको परिभाषा उल्लेख देखिन्छ तर ती ग्रन्थहरूको काल निर्धारण अनिश्चित छ।)
10. अभिनय गुप्तको "अभिनव भारती" नाट्यशास्त्रको सबैभन्दा पुरानो टिका ग्रन्थ हो जो दशौ शताब्दीमा लेखिएको थियो ।
11. यो ग्रन्थ भारतको लागि एरिस्टोटलको पोयटिक्स जस्तै पनि हो किनकि भारतको पहिलो काव्यशास्त्र यही हो।
Comments
Post a Comment