लुकास र वर्गचेतना
: पेम्पा तामाङ
गियोर्गी लुकासले लेखेको छ कार्लमार्क्सले वर्ग चेतना परिभाषित गरेन। (Marx's chief work breaks off just as he is about to embark on the definition of class.) यसले गर्दा उनको उत्तर्वर्ती मार्क्सवादी चिन्तकहरूले आफ्नै व्याख्या दिन थाले।
लुकास बताउँछ वर्ग चेतना बुझ्नको निम्ति इतिहास बुझ्नु पर्दछ । एंगल्सको विचार अनुसार कुनै चेतनशील विचार वा निश्चित उद्देश्य बिना कुनै घटना हुँदैन । यसको सरल अर्थ के भयो भने सोचेर सम्झेर लिइएका निश्चित घटनाक्रम इतिहास हो। तर ती घटनाक्रमको परिणाम व्यक्ति वा समूहले सोचे अनुरुप नभएर विपरीत पनि हुन सक्दछ। यहीकारण वैज्ञानिक मार्क्सवाद भनेको इतिहासको घटना र व्यक्तिको चेतना नितान्त स्वतन्त्र हुन भन्ने बुझाइ हो।
समाजमा विभिन्न संस्थाहरू हुन्छन् जसले मान्छेलाई एकार्कामा बाँधेका हुन्छन्। इतिहास भनेको यही संस्थाहरूको परिवर्तनको इतिहास हो। यी संस्थाहरूको परिवर्तनको साथै मान्छेहरूको एकार्काको सम्बन्धमा पनि परिवर्तन आउँछ ।
बुर्जुवा विचारमा इतिहासको विकासक्रम भनेको प्रत्येक नयाँ घटनाक्रममा मान्छेको समाज झन सफल र सुखमय भएको हुनुपर्छ । तर मार्क्स बताउँछन् त्यस्तो कुनै ऐतिहासिक विकास हुँदैन ।
मार्क्सले भनेका छन इतिहासका वस्तुहरू प्रकृतिको शाश्वत नियम अथवा अपरिवर्तनीय वस्तु जस्तो देखिन्छ । तर यो त्यस्तो होइन । उनी भन्छन मान्छेको सामाजिक सम्बन्ध पनि मान्छेले सामान्य रूपमा उत्पादन गरेको लुगाफाटा जस्तै हो। यो भौतिक नै हो। अझ स्पष्ट भन्नु परे संवेदना चेतना सबै भौतिक हुन्।
इतिहासलाई ठूलाठूला मानिसहरू अथवा राजा महाराजाहरूका इतिहास नै इतिहास हो भन्ने बनाइन्छ । इतिहास त्यसरी नै लेखिएको हुन्छ । बुर्जुवा लेखनमा इतिहास समाजको नभएर व्यक्तिको हुन्छ । यो इतिहास सत्यबाट टाढा रहेको हुन्छ । घटनाक्रमका अन्य सरोकार र कारकतत्वहरू अनुपस्थित बनाइएको हुन्छ। यसकारण यसप्रकारको इतिहास लेखन (historiography) विवेकशील ढंगबाट बुझिन सकिँदैन । यस्तो खालको इतिहास एक कलात्मक वा सृजनात्मक लेखन जस्तो मात्र हुन्छ । यसबाट हामी मनोरञ्जन मात्र लिन सक्छौं ।
इतिहास लेखन भनेको सामाजिक आर्थिक स्थिति र त्यहाँबाट निश्रित मानव सम्बन्धको आलोचना हो। जबसम्म अर्थतन्त्र र यसका सम्यक सरोकारवालाको भूमिका प्रष्ट हुदैन इतिहास लेखन मिथकीय सृजनात्मक मात्र देखिन्छ । यसैले समाजको सम्पूर्ण सरोकार रहने र त्यसको आर्थिक चलखेल बुझिने लेखन मात्र वास्तविक इतिहास लेखन हुन्छ। इतिहास भनेको एक व्यक्तिसित अर्को व्यक्तिको सम्बन्ध होइन तर कामदार र पुञ्जीपति, जमिन्दार र कुतियादारको बीचको सम्बन्ध हो। यो सम्बन्ध समाप्त गरे त्यो समाजनै समाप्त भएर जानेछ ।
पुञ्जीवाद आउन भन्दा अघि सामन्तवाद थियो । सामन्तवादी समाज व्यापारिक समाज थिएन। समाज भिन्दा भिन्दै एकाईमा विभाजित थिए। यसमा व्यवस्था भनिएको राज्य वा सत्ता मात्र हुन्थ्यो । यस्तो समाजमा सत्ता परिवर्तन हुँदा तल्लो तलाको वर्गमा केही फरक आउँदैन थियो । जात, धर्म, सम्प्रदाय , विर्ता जस्तोमा विभाजित समाजभित्र सत्तामा उनीहरूको सरोकारको चेतना लगभग शून्य रहन्थ्यो। यसैले उनीहरूमा ऐतिहासिक विकास वा वर्गीय चेतना हुन सम्भव थिएन ।
सामन्तवादलाई पुञ्जीवादले ध्वस्त पार्यो। पुञ्जीवाद आए पछि समाज दुई भागमा विभाजन भयो बुर्जुवा र सर्वहारा । नभन्दै पुञ्जीवाद आउँदैमा सामन्तवादको अवशेष भने रहिरह्यो । आफू सामन्त रहेको, समाजमा आफ्नो रसुक रहेको चेतना उसकोमा विकास भएर आयो । यो उसको आफ्नो वर्गको चेतना थियो । उसको यो चेतनाको विकासले आफ्नो स्वार्थ वा आफ्नो वर्गको हित सुरक्षा गर्ने प्रयास गर्न लाग्यो। यो चेतना ऐतिहासिक घटक हो। सामन्ती समाजमा आर्थिक घटक इतिहासमा कारक तत्व थिएन तर अब पुञ्जीवादी समाजमा व्यापार र अर्थतन्त्र केन्द्रमा आयो ।
बुर्जुवातन्त्रमा बुर्जुवा र सर्वहारा दुईवटा वर्गहरू हुन्छन् ।
लुकासले यहाँ बताउँछ चेतना र निजी हित एकार्कामा अमेल युग्मक हो। यी दुई एकसाथ हुन सक्दैन । बुर्जुवा माझ वर्ग चेतना र वर्गहित विरोधाभासी होइन द्वन्दात्मक हुन्छ । बुर्जुवाको क्लेष के हुन्छ भने उसले सामन्तवादलाई हरायो तर नयाँ चुनौतीको रुपमा सर्वहारा उसको अघि आएको हुन्छ ।
बुर्जुवाको वर्ग चेतना भ्रामक हुने गर्दछ। बुर्जुवाले पनि सम्पूर्ण समाजलाई समेटने कोशिश गरेको हुन्छ । उसले आफ्नो उद्देश्य पूर्तिको निम्ति अर्थशास्त्र, राजनीति , समाजको सिद्धान्त विकास गरेको हुन्छ । आफ्नो लक्ष्य हासिल गर्न उसले अनेकौं युक्ति अपनाउँदछ। तर बुर्जुवाको यो युक्ति विरोधाभासपूर्ण र अव्यावहारिक रहेको हुन्छ किनकि उसको शासन भनेको अल्पसंख्यकको शासन हो बहुसंख्यकमाथि। अल्पसंख्यकको शासन झुटो र भ्रान्तिको आधारमा हुन्छ किनकि यसले बहुमतको समर्थन पाएको हुँदैन र बहुसंख्यकको हितकारी पनि हुँदैन । बुर्जुवाको वर्ग चेतना भ्रामक हुन्छ। ऊ आफ्नै जालमा फसेर धराशय हुने हुन्छ। बुर्जुवा शासन दीर्घकालीन हुँदैन ।
विचारधारा अनि आर्थिक तौरमा बुर्जुवा र सर्वहारा परस्पर निर्भर रहेको हुन्छ । तर फरक के मा हुन्छ भने बुर्जुवा निराश हुन थाल्छ जहाँ सर्वहारा अझ हिम्मत बडाएर विजयोन्मुख हुन्छ । सर्वहाराको निम्ति सत्य जीतको हतियार हो। उसको जति बडी निर्दयता उतिनै उत्साही सर्वहाराको विजय रहेको हुन्छ । वर्ग संघर्षमा सर्वहाराको वर्ग चेतना मार्क्सवाद विचारधाराको मुख्य कडीमा पर्दछ । बुर्जुवाको सहयोगमा बुद्धिजीवी, राज्य सत्ता तथा अन्य रहेको हुन्छ भने सर्वहाराको योग्यता समाजको केन्द्रमा हेर्न सक्नु हो। यसको अर्थ के भयो भने यसले यथार्थलाई परिवर्तन गर्न सक्ने भयो । सर्वहारा वर्गको विचारधारामा सिद्धान्त र व्यवहारमा अन्तर हुँदैन ।
जब सर्वहारा वर्ग संघर्षको निर्णायक युद्धमा प्रवेश गर्दछ साँचो वा झुटो सिद्धान्तको अघि बडने वा पछि हटनेको गति बडनेछ। स्वतन्त्रताको राज्य वा मानवजातिको आदिम इतिहास भनेको मान्छे मान्छे माझको विभेदमय सम्बन्ध समाप्त भएर एक समान मान्छेमा अवतरण हुनु हो। यसबाट मान्छेले महाविनाशबाट मुक्ति पाउनेछ । सर्वहाराले आफू सर्वहारा रहेको वर्ग मात्र समाप्त गर्नु होइन तर वर्गको अस्तित्व नमेटिन्जेलसम्म सर्वहारा मुक्त हुन सक्तैन । वर्गहीन समाज सर्वहाराको मात्र नभएर सम्पूर्ण मानवजातिको नै मुक्ति हो।
Comments
Post a Comment