(मार्क्सवादमा चासो राख्नेहरूको निम्ति । बहस निकै लामो र सैद्धान्तिक कठिनाइ उत्तिकै रहेको यो लेख हो। यथाशक्य सहज बनाउने प्रयास गरिएको छ। अझै छोटो बनाउन सकिएन । )
मार्क्सवादी विचारधारालाई विकास गर्न गियोर्गी लुकास र रोजा लक्समबर्गका भूमिका महत्त्वपूर्ण मानिएका छन।
लुकासको किताब " इतिहास अनि वर्ग चेतना" अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । उनलाई राजनीतिमा मात्र नभएर साहित्यमा पनि उत्तिकै ठूलो सम्मान छ। उनको पुस्तक "ऐतिहासिक उपन्यास" र "उपन्यासको सिद्धान्त" मार्क्सवादी साहित्य बुझ्नलाई अत्यन्त उपयोगी छन।
रोजा लक्समबर्गको प्रख्यात किताब हो "पुञ्जीको सङ्ग्रह " ( एक्युमुलेसन अफ क्यापिटल )। मार्क्सवादी अवधारणाको विकासमा यो किताब भूमिका विशिष्ट छ। तर उनी लेनिन, अक्टोबर क्रान्ति,, सोभियत र रुसमा बोलसेभिकको क्रान्तिमा भूमिका माथि आलोचना गर्न पछि हटिनन्। उनले 1904 मा नै लेनिनको आलोचना गरेर लेखेकी थिइन। जर्मनीमा भएको एक विद्रोहमा उनलाई दोषी ठहरयाइएको थियो । यही बेला उनी कैदमा परिन् । हाजितमा रहँदा हतारमा एक लेख लेखेकी थिइन जो पछि उनको मरणोपरान्त प्रकाशित भयो ।
यो लेखमा उनले लेनिन, बोलसेभिक र अक्टोबर क्रान्तिको आलोचना गरेकी थिइन् । गियोर्गी लुकासले यही लेखको प्रत्यालोचना लेखेको छ । रोजाको लेख र त्यसको लुकासद्वारा गरिएको प्रत्यालोचनाले रुसको अक्टोबर क्रान्ति र क्रान्ति पश्चातको सरकारको गठन र भूमिकाबारे चाखलाग्दो जानकारी निस्केर आउँदो रहेछ। यो विषयको गम्भीरता र सैद्धान्तिक संकुलतालाई ध्यानमा राखेर यसको सतही र सरलरुपमा उल्लेख गर्ने प्रयास गरिएको छ।
लुकासले रोजाको लेखको सात मुख्य बुँदाहरू चयन गरेको रहेछ :
1. ग्रामीण कृषि समस्या
रोजाको आरोप रहेछ सत्तामा आएको समाजवादी सरकारले पछिबाट आउने कृषि सुधारमा आइपर्ने बुनियादि आवश्यकतामा उचित कदम उठाएको हुनुपर्दछ। यसले सुधार कार्यक्रममा आउन सक्ने वाधाहरू विषयमा सावधानी लिएको हुनुपर्छ । तर सोभियतले यसो गरेन। उनको विचारमा यो बुर्जुवा नीति भयो किनकि यसले सर्वहारालाई सहयोग पुर्याउँदैन। जमीन अधिग्रहणको पूर्ण अधिकार कृषकहरूमाथि छोडिदिए सर्वहाराको सत्ता आउँदैन ।
बोलसेभिक सत्ताले कृषकवर्गलाई उनीहरूको वर्ग चेतना अनुरुप कृषिभूमि विभाजन गर्ने अनुमति दिएको थियो । यसो गर्न दिनुको कारण यही थियो त्यतिबेला कृषकहरूलाई सत्ताविरोधी बनाउन जोखिम थियो र कृषकहरूको आक्रोशले क्रान्ति विफल बनाउन सक्ने थियो । लुकास बताउँछ त्यतिबेला प्रश्न यो थिएन बोलसेभिकहरूको भूमि सुधार नीति समाजवादी हो वा होइन भनेर । त्यो समय कसरी बुर्जुवा शक्तिलाई पराजित गर्नु सर्वोपरि थियो ।
2. राष्ट्रवादको विरोध
रुसको बोलसेभिक दल राष्ट्रवादी धारणा अपनाउन थालेको आरोप लगाएकी थिइन । प्रथम विश्व युद्धकालमा यो भावना अझ प्रबल हुँदै गइरहेको थियो । राष्ट्रवादी विचारले समाजवादलाई आघात पुर्याइरहेको थियो किनकि मार्क्सवादी अवधारणा अन्तर्राष्ट्रियवादमा आधारित हुन्छ ।
रोजाको अभिमतको आलोचना गर्न लुकासले लेनिनको भनाइ उद्धहरण गरेको छ। लेनिनले भनेको रहेछ साम्राज्यवादको युगमा राष्ट्रवादी युद्ध हुन सक्दैन । लुकासको अनुसार लेनिन राष्ट्रवादी थिएन।
लुकासले बताउँछ यतिबेला विश्वका धेरै मुलुकहरू उपनिवेश वा अर्धउपनिवेशले ग्रसित थिए । उपनिवेशबाट मुक्तिको निम्ति राष्ट्रवादी संघर्ष जायज ठहरिन्छ किनकि राष्ट्रवादले मात्र उपनिवेशवादलाई हराउन सक्छ । यसकारण क्रान्तिकारीहरूले यस्तो स्थितिमा राष्ट्रवादीलाई सहयोग गर्न समयोचित हुन्छ ।
राष्ट्रवादको अवधारणा क्षुद्र बुर्जुवामा मात्र होइन सर्वहारामाझ पनि रहेको हुन्छ। पीडित राष्ट्रका सर्वहाराहरूले राष्ट्रवादमा उन्मुक्ति खोज्दछ। लुकास भन्दछ रोजाले दुषित समाजवादको आवश्यकतालाई नजरअन्दाज गरी यसैले भूल धारणा बनियो उनको ।
3. संविधानसभा
रोजाको आलोचनाको तेस्रो बुँदा क्रमिक विकास (अर्गानिक डेभलपमेन्ट ) माथि थियो । यसप्रकारको जैविक बडोत्तरी समाजवादमा कारगर हुनेछैन । इतिहास द्वन्दात्मक रुपमा अघि बडछ। समाजवाद ल्याउनको लागि हिंसात्मक अभियान चलाउन अनिवार्य हुन्छ । उनको मान्यता थियो पुञ्जीवादी समाजमा उत्पादनको व्यवस्था समाजवादी जस्तै बन्दछ तर यसको राजनैतिक तन्त्र भने तगारो बन्दछ। यो राजनैतिक तन्त्रलाई बलपूर्वक तोडनु नै क्रान्ति हो। रोजा हिंसाको समर्थनमा रहेकी देखिन्छ ।
अक्टोबर क्रान्ति र बोलसेभिकको सत्ता आइसकेपछि त्यतिबेला गठित संविधानसभा भंग गरिएको थियो । यसको पनि रोजाले आलोचना गरेकी थिइन् ।
रोजाको विचारको खण्डन गर्दै लुकास बताउँछ क्रान्तिले स्वत समाजवाद स्थापना गरिहाल्न सक्दैन जबसम्म वर्ग संघर्ष रहेको हुन्छ । वर्ग संघर्ष समाप्त गर्ने प्रक्रिया हठात हुनसक्दैन। परिवर्तनकालमा समाजवाद फर्केर पुञ्जीवादको ध्रुवमा जाने आशंका रहन्छ बारम्बार । लुकासको मतानुसार रोजाको जैविक विकास माथिको नकारात्मक धारणा पनि इतिहाससम्मत छैन ।
4. सोभियतको भूमिका
रोजाले रुसी क्रान्ति उत्तर हुने संक्रमणकालमा सोभियत अर्थात् राज्य संरचना मुख्य रहन सक्न दिन सही नभएको ठहर गरिन्। सोभियत एक अधिरचना मात्र थियो जसको मार्फत समाजवादको परिवर्तन सम्पन्न गरियो । यो सर्वहारा सत्ताको लागि अनुपयुक्त छ।
राज्यसत्ता र राज्यको अर्थव्यवस्थाबारे मार्क्सले भनेको थियो राज्यको अर्थव्यवस्था सत्ताको विधिको अधीन हुँदैन । यसमा एंगल्सले थप मत राखेको थियो कि राजनैतिक शक्तिले अर्थव्यवस्थामा आघात पुर्याउन सक्छ । लुकासले भन्छ रोजाको प्रश्नको उत्तर सर्वहाराको आर्थिक सामाजिक स्थिति र बुर्जुवाको राज्यको अर्थनीति समान हो वा होइन भन्ने कुरामा अल्झिन्छ। सर्वहाराको सत्ता पूर्णरुपमा कायम भएपछि सोभियत वा राज्य संरचना अधिरचना भएको मानिन मानिनेछ । यसको आवश्यकता किन रहन्छ भने सर्वहाराको सत्ता आउँदैमा सबै पूर्व विधि विलुप्त हुने होइन । ती सबै विधिहरूको निर्माण प्राकृतिक रुपमा बनिँदै जानेछ । सामन्तवादको ह्रास भएर पुञ्जीवादको विकास भएको हुन्छ । तर पुञ्जीवादको पतन हुँदैमा समाजवाद विकास भइहाल्दैन। यद्यपि पुञ्जीवादको आर्थिक आधार समाजवादी तन्त्रमा सहयोगी बन्न सक्नेछ ।
रोजाले संविधानसभा सभा विखण्डनको विरोध गर्नु सर्वाहारा सत्ताको संक्रमणकालको आवश्यकतालाई नबुझ्नु हो।
5. अवसरवाद
रोजा र लेनिन दुवै अवसरवादीहरूको विरोध गर्थे। अवसरवादलाई धराशायी गर्ने विधिमा भने यी दुईको भिन्न मत रहेको थियो । लेनिनले भन्थे संस्थागत सुधार गरेर अवसरवाद विरोधी अभियान चलाउन सकिनेछ । रोजाले भने सर्वहारा अथवा आम जन स्तरमा नै यो अभियान चलाउनु पर्नेछ । उनको भनाइमा संस्था बनाइनु होइन उदभव हुनु पर्छ। संस्था भनेको वर्ग संघर्षको ऐतिहासिक उत्पाद हो।
लुकास रोजाको यो विचारको आलोचना गर्दै लेख्छ सर्वहारा वा आम जनतामा त्यसप्रकारको एकबद्दता वा वैचारिक एकता हुन कठिन पर्छ र व्यक्तिवादले प्रश्रय पाउँछ। यसो गर्दा दलको एकतामा विभाजन आउँछ। लुकास यहाँ कौटस्कीको उदाहरण दिन्छ। यही कारणले केन्द्रीकृत अधिकार रहेको हुनु जरुरी छ। केन्द्रीय भनेको संस्था हो। संस्थामा सुधार भयो भने संस्थाले नियन्त्रण गरेको दल पनि सुधार हुन्छ । क्रान्ति सफल बनाउन संस्थाको भूमिका यहीँबाट स्पष्ट हुन्छ ।
6. नेतृत्व र सर्वहारा वर्ग
सर्वहारा वर्ग स्वाभाविक रुपमा क्रान्तिकारी हुन्छन् तर उनीहरूमा स्पष्ट चेतना हुँदैन वा चेतनाको स्तर क्रान्ति सुलभ रुपमा विकास भएको हुँदैन । सर्वहारा वर्गलाई नेतृत्वबाट बचाउने युक्तिको हल के हुन्छ ? जैविक विकासको आवश्यकता यहाँ बुझिन्छ । सर्वहाराले नेतृत्वको अभिभारा जैविक रुपमा मात्र सम्हाल्न सक्दछ । संस्था यसकारण चाहिन्छ । सर्वहारा वर्गको त्यो समूह जो नेतृत्वमाथि असन्तुष्टि देखाउँछ उनीहरूले सर्वहारा वर्गको प्रातिनिधिक समिति बनाउनेछ र यही समिति संस्थागत बन्नेछ । क्रान्तिकारी दल यही बन्दछ।
रोजाको प्रख्यात किताब "पुञ्जीको सङ्ग्रह " मा तर्क राखेकी थिइन् जब पुञ्जीवाद अघि बडदछ यसले ती पाटाहरू ध्वस्त पार्नेछ जो न त पुञ्जीवाद हो न सर्वाहारावाद। यसपछि बुर्जुवाहरू हिंसक हुन पुग्दछ र उनीहरूको संरचना आफै धराशायी हुनेछ । सर्वाहारको क्रान्ति यहीँबाट हुनेछ । तर लुकास भन्छ रोजाको यो सिद्धान्त अनुसार क्रान्ति पनि असफल हुनेछ । रोजाको बोलसेभिक प्रतिको विरोधले उसलाई दक्षिणपन्थीको पक्षमा रहेको बनाइदिन्छ । उनको यो अन्तर्दृष्टि मार्क्सवाद र क्रान्तिको बुझाइको निम्ति महत्त्वपूर्ण भएतापनि यो निर्दोष छैन ।
7. स्वतन्त्रता
रोजा लक्समवर्ग अन्य क्रान्तिकारी भन्दा अलग देखाउने उनको वाक स्वतन्त्रता र फरक मत राख्न पाउनु पर्ने अधिकारमाथिको विचारले रहेछ। नेतृत्वले जे जसो भन्छ वा दलले जस्तो निर्णय लिएर आदेश दिएको हुन्छ त्यसको आलोचना गर्न पाउने अधिकार क्रान्तिकारीलाई हुनुपर्छ भन्ने उनको मत थिएछ।
लुकासले रोजालाई प्रश्न गर्दछ सर्वहारा सत्ताको निर्णयलाई आलोचना गर्नु प्रतिक्रान्तिकारी हुनु होइन ? यसप्रकारको स्वतन्त्रता कुन स्थितिमा क्रान्तिकारी भन्नू र कुनमा प्रतिक्रियावादी भन्नू ? यसको स्पष्ट रेखा हुन कठिन छ।
Comments
Post a Comment