र्क्सवाद बनाम उत्तराधुनिकतावाद
मार्क्सवादीहरूले उत्तराधुनिकतावादको तीव्र आलोचना गर्दछ। नेपाली लेखनमा यसको दृष्टान्त डा ऋषिराज बराल हुनुहुन्छ । अङ्ग्रेजी साहित्य र विश्व स्तरमा विश्वविख्यात मार्क्सवादी आलोचक टेरी ईगल्टनको नाम लिन सकिन्छ । उत्तराधुनिकताले पुञ्जीवादको समर्थन गर्दछ उन्मुक्त बजारको विचार दिन्छ यसैले विरोध गर्दछ मार्क्सवादीहरूले । तर के यही आधारमा मात्र विरोध गरिएको हो उत्तराधुनिकतालाई? कुनै पनि राज्यमा दुई तन्त्रहरू हुन्छन् : राजनैतिक तन्त्र र आर्थिक तन्त्र। आर्थिक तन्त्र पुञ्जीवाद र समाजवाद दुवै शासनमा हुन्छन् । आर्थिक तन्त्र भनेको पैसाको चलखेल हो विनिमय साधन हुन्छ । वस्तु सापट व्यवस्था व्यावहारिक हुन सक्दैन । यसो भने फरक भनेको राजनैतिक तन्त्र मात्र हो। उत्तराधुनिकतावाद राजनैतिक व्यवस्था होइन यो एक विचार मात्र हो।
यो समस्या बुझ्नलाई मार्क्सवादको मूल सिद्धान्त वा विचारधारामा प्रवेश गर्न पर्ने आवश्यकता पर्दोरहेछ । मार्क्सवादको जरामा बसेको विचारलाई गियोर्गी लुकासले यसरी खुलाएको रहेछ
मार्क्सवाद र बुर्जुवा विचारको निर्णायक भिन्नता भनेको आर्थिक उद्देश्य होइन वरण सम्पूर्णताको दृष्टिकोण हो।
(It is not the primacy of economic motive in historical explanation that constitutes the decisive difference between Marxism and bourgeois thought, but the point of view of totality."
सम्पूर्णताको अवधारणा बुझ्न मनोविज्ञानमा रहेको जेस्टाल्टवादबाट सहज हुन्छ । जेस्टाल्टवादले वताउँछ कुनै पनि वस्तु विभिन्न एकाइहरूले निर्मित हुन्छ । त्यो निर्माण भएको वस्तु पूर्ण देखिन्छ । तर निर्माण हुन भन्दा अघिको अवस्थामा त्यो एकाइ आफैमा पनि पूर्ण हुन्छ । मार्क्सवादले यहाँ त्यो व्यष्टिलाई होइन त्यो समष्टिलाई मान्यता दिन्छ ।
बुर्जुवावादले व्यक्तिलाई हेर्दछ तर समाजवादले समस्त समाजलाई हेर्दछ। पुञ्जीवादमा उत्पादन प्रक्रियामा पर्ने हरेक भागलाई स्वतन्त्र रुपमा हेरेर विश्लेषण गर्दछ। श्रमको विभाजन गर्दछ र विभाजन अनुरुप योजना बनिन्छ। समाजलाई हेर्ने दृष्टि पनि त्यही प्रकारले व्यक्ति व्यक्ति छुट्यएर हेर्छ। क्रान्तिकारी बिज्ञान (मार्क्सवाद) मा सम्पूर्णता प्रमुख प्रत्यय हो। सम्पूर्णताबाट एकाइमा हेरिन्छ । देशको बजेट बनाउँदा टप डाउन बजेट बनाइन्छ बटम अप होइन । यस्तो अर्थ व्यवस्थालाई कमान्ड इकोनोमि भनिन्छ । पुञ्जीवादमा मार्केट इकोनोमि अर्थात वजार अनुरुप बजेट बनाइन्छ ।
उत्तराधुनिकता मार्क्सवादी विचारको विपरीतमा स्थापित भएको यसको बुनियादी वैचारिक आधारको कारणले हो। फ्रास्वा ल्योटार्डले परिभाषित गर्दछ उत्तराधुनिकतावाद भनेको महाख्यानमा अविश्वास हो (IIncredulity towards grand narrative )। यो विचारले बताउँछ आधुनिक मान्छेको समस्याको समाधान कुनै महासिद्धान्तभित्र होइन आफ्नो स्थानीय परिवेशमा खोज्नु पर्दछ । यो आफ्नो परिवेशलाई ल्योटार्ड लघु आख्यान (little narrative ) भन्दछ । यसको अर्थ के भयो भने व्यक्तिले आफ्नो समस्याको हल आफ्नो परिवेशमा वस आफै भित्र खोज्नु पर्दछ।
मार्क्सवादले सम्पूर्ण मान्छेलाई एक विचारमा ल्याउने अपेक्षा राख्दछ भने उत्तराधुनिकताले व्यक्तिलाई व्यक्तिमा सीमित राख्ने प्रयास गर्दछ। मार्क्सवादले व्यक्तिवादी विचारलाई प्रोत्साहन दिदैन र यसप्रकार व्यक्तिको प्रतिस्पर्धात्मक उद्रेग निरुत्साहित गर्दछ। उत्तराधुनिकतावाद लघु र स्थानीय विषयलाई प्रोत्साहन दिने विचार भएको कारण अल्पसंख्यक र उपान्तमा रहेका विचार वा समुदाय जीवन्त भएर रहन सक्ने परिवेश विचार हो।
समकालीन समयमा केही व्यक्ति अत्यन्तै अमीर भएका र एक ठूलो मानव समुदाय गरिबीको चक्रबाट उम्कन नसकेको देख्दा विश्वका विद्वानहरू यसको समाधानको निम्ति मार्क्सवादलाई पुनर्वास वा पुनर्विचार गर्नु पर्ने सोच्न लागेको देखिन्छ । हालै भइरहेको वैश्विक महामारीलाई पनि पुञ्जीवादी बनाम मार्क्सवादी दृष्टिकोणले हेर्ने प्रयास गरेको देखिन्छ । मार्क्सवादको विरोधी रहेको जाक दरिदाले पनि आफ्नो पुस्तक स्पेक्टर अफ मार्क्स -मा बताएको रहेछ सोभियतको पतन पछि मार्क्सवाद मृत भए पनि यसको भूत हामीसित हमेशा रहनेछ किनकि भूत कहिले मर्दैन। हुनपनि पुञ्जीवाद र राष्ट्रवादको खतराबाट मान्छे वा व्यक्तिलाई उद्धार गर्न सबैभन्दा सबल हतियार मार्क्सवाद हुनसक्छ ।
Comments
Post a Comment