मृत्यु आभास -2
मई 1997मा मेरो ट्रान्सफरको आदेश आयो सिम्फेडबाट पर्यटन विभाग। पर्यटन विभागको एक महिला अधिकारी मेरो ठाउँमा स्थान्तरण भएकी थिई। सिक्किम सानो ठाउँ र सरकारी अधिकारीहरूका सख्या सीमित रहेको कारण धेरै जस्ता व्यक्तिगत चिनाजाना रहेका हुन्छन् । यी महिला अधिकारी पनि मेरो परिचित नै थिई। सिक्किममा स्थान्तरन हुनेहरू प्राय मासान्त पर्खिन्छन। मैले पनि त्यसै गरिरहेको थिएँ । जुन महिनामा पर्यटन विभाग जाने विचार गरिरहेको थिएँ । मई महिनाको अन्त्यतिर उक्त महिला अधिकारी आफ्नो साथी ( उक्त साथी पनि पर्यटन विभागमा एक अधिकारी नै थिइन् ) लिएर आई। दुवै परिचित । क्षेमकुशल पछि साथी अधिकारी केही आतकिंत भाव बनाएर भनी " दाज्यु ( सिक्किमेली भोटयाको लवजमा दाज्यु शब्दको उच्चारण फरक हुन्छ द मा ह जोडेर द्हाजु भने जस्तो हुन्छ )यसलाई यहाँ नआउनु भनेको छ रिम्पुछेले"। मैले सोधेँ कुन रिम्पुछेले त्यसो भन्यो। सिक्किममा भोटिया समुदायका सबै सदस्यहरू आफ्नो कुनै पनि कार्य गर्न अघि रिम्पोछे , टुल्कु वा कुनै त्यस्तै उच्च कोटिको लोबेन वा लामालाई आफ्नो ची(जोखाना) हेराउँछ। घर बनाउँदा , घर सर्दा, बसाई जादा, कुनै नयाँ नियुक्ति लिँदा, परदेश जाँदा , स्वास्थ्य उपचारको निम्ति टाढो जाँदा जस्ता विषयहरूमा ची नहेराई उनीहरू कुनै कदम चाल्दैनन्। यस महिला अधिकारी पनि भोटिया समुदायकी थिइन। यसैले गान्तोक देउरालीमा स्थित सिक्किमको एक शीर्ष रिम्पोछेलाई ( जो सिक्किममा निङ्मामापा सम्प्रदायको शीर्षस्थ रिम्पोछे हुनुनुहन्छ) आफ्नो ची देखाउन गएकी रहिछ। रिम्पोछेले बताउनु भएछ यस स्थान्तरन उसको निम्ति घातक छ र स्वीकार्न नहुने बताउनु भएको रहेको रहेछ। यसैले उ चिन्तित थिई। तर त्यतिबेला उसले मलाई भनी सिएम साहबले ( पूर्व मुख्य मन्त्री पवन चामलिइ) मलाई राम्रो होस भनेर यो ट्रान्सफर गरेको हो। सिएम साहबको हुकुम कसरी नमान्नु । मेरो एमएलए साहबले पनि मलाई फोन गरेर बधाई दियो । अन्त्यमा उसले भनी दाज्यु मलाई अलिक समय दिनोस म विचार गर्छु र जोइन गर्छु ।
लगभग बीस बाईस दिन पछि उ आई र मलाई भनी दाज्यु मैले सिक्किमको सबै ठुलोठूलो गुम्बाहरूमा पुजा गरेँ। सबै लामाहरूले भने अब मेरो नराम्रो ग्रह टर्यो। सबै शाम्य भएको छ र यहाँ जोइन गरे अब केही हुदैन राम्रै हुन्छ ।
यो भनेकी केही दिनमा मेरो कार्यलय कार्यभर सम्हाली।
मैले सधैं झै कुनै ची जोखाना बार तिथि केही नबिचारी पर्यटन विभाग गई आफ्नो जिम्मेवारी ग्रहण गरेँ।
लगभग एक वर्ष पछि एउटा हल्ला फैलियो उक्त महिला अधिकारी लापता भइन भनेर ।
फेरि समाचार फैलियो जंगल उनको विक्ष विक्षत शरीर भेटियो। घाँस दाउरा जगंल जाँदा उनीहरूले जगंली जन्तुले आधा शरीर नष्ट गरेको अवस्थामा उसको मृत शरीर भेटेका थिए । एक साझँ आफ्नो घर जाँदा रातको समय उसको गाडी दुर्घटनाग्रस्त भएछ। भीरबाट धेरै मुनि झरेको हुनाले र राती भएको कारणले कसैले देखेनन्। ड्राइभर र उक्त महिला अधिकारी दुवैको मृत्यु भइसकेको थियो।
निकै समय पछि मैले एक अर्को महिला अधिकारी भेटे जो मृतककी परिचित थिइन । उनले बताइन् बाटोमा आफ्नो गाडीमा गान्तोकतिर आउँदै गर्दा त्यो अधिकारीलाई देखिन र हात हल्लाइन एकअर्कालाई । तर गान्तोक आएर थाहा पाइन् उक्त महिला दुई तीन दिन अघि नै परलोक भइसके भनेर । यो थाहा पाउनेसाथ उनलाई अत्यधिक भय भयो । यसैले त्यो डर भगाउन पास्टर ( यो महिला ख्रिष्टान भएकी कारण ) , बुम्थिङ्ग, फेदाङ्गमा, झाक्री, लामा सबैबाट उपचार गरिन। उनले पछि भनेकी थिइ मलाई त्यो घटनाले कोही कोही बेला अझ पनि आङ सिरिङ्ग हुने गरि डर लाग्छ।
Comments
Post a Comment