मृत्यु आभास - 4
2004 अप्रिल महीनाको कुरा हो। सोमबार विहान खाना खाएपछि केही क्षणमा मेरो पेट भतभत पोलेर दुख्न थाल्यो । ग्यास हो भनेर एउटा डाइजिन मुखमा च्यापेर अफिस हिडेँ। अफिसमा दिनभरि जस्तै पेट पोलिरह्यो। घर आएर फेरि डाइजिन खाएँ। तर दुखाइ एकको दुई पनि भएन। लगातार पोलिरह्यो। मलाई यसप्रकारको ग्यासको आक्रमण हुन थालेको निकै वर्ष भइसकेको थियो । अहिले सम्झँदा हुनसक्छ 1996 देखि भएको हो। तर यो दुखाइ कहिलेकाही मात्र हुने यसैले उपचार गरिएको थिएन। विशेषगरी दूध, घिउ, सिस्नु, बट्टर, दही , छुर्पी , रायोको साग, सिमरायो, गुन्द्रुक , बन्दकोभी, पालकको साग, डाल्डा भएको कुनै पकवान, चर्बी भएको कुनै खाद्य पदार्थ खानामा परे मलाई यस्तो दुखाइ भइहाल्थ्यो। यसले मलाई धेरै असुविधा बनाइरहेको थियो । त्यसबेला आफ्नो सरकारी कार्यको निम्ति कलकत्ता र दिल्ली निकै जाइ हुन्थ्यो । त्यस्ता सभामा साधारण खानपिनको व्यवस्था हुन्छ । यद्यपि यसप्रकारको खानपिनमा मलाई नमिल्ने खाद्य थोक हुनाले म नखाईहिड्नु पर्ने अवस्था हुन्थ्यो । तर त्यतिबेला दुखिहाले एक घण्टा दुई घण्टा मात्र दुख्थ्यो र एक निद्रा सुतेपछि शरीर हल्का भएर सञ्चो हुन्थ्यो । नभए पनि अर्को बिहान ठिकै हुन्थ्यो । तर यसपालि त्यस्तो भएन। सोमबारदेखि दुख्न थाकेको मगंलबार झन अझ पेट पोल्ने र दुख्ने क्रम वृद्धि भएर गयो। मैले सम्झे बुधबार सम्ममा ठिक हुन्छ होला। अफिस पनि जान सकेको थिइनँ । बुधबार बेलुकी मैले घरमा भने सिलिगुडी जानेछु। बिहिवार सिलिगुडी गइयो। डा भेटाएर जाँच शुरु भयो । निकै ठेस्टहरू गर्न लगाएका थिए । अल्ट्रासाउन्ड , एक्सरे, खुन जाँच, एल्बुमिन, किटोन इत्यादि । टेस्ट पेपर डाक्टरको देखाए पछि भने मलाई मधुमेह भएको छ, गलब्लाडर स्टोन भएको छ र झट्टै ओपरेशन गर्नु पर्छ। तर शल्यक्रिया हुनलाई पहिला ब्लड सुगर नियन्त्रणमा ल्याउनु पर्छ र यसको निम्ति मेडिसिन वा डायबेटोलोजिस्टलाई देखाउनु पर्छ। मेरो निम्ति दुवै चिन्ताको विषय । म तनाव ग्रस्त भइगएँ। मैले त्यति बेला सिक्किमको एक डाक्टर मित्रलाई सम्झे। एकपटक म बागडोग्राबाट दिल्ली तिरको हवाई यात्रामा जाँदा फ्लाइटमा दिएको खानाले मलाई बेलुका सिक्किम हाउस दिल्लीमा छेर्नु छाद्नु बनाएको थियो। निकै सिकिस्त भएको थिएँ । त्यो बेला मसित त्यही सिक्किमको डाक्टर सहयात्री थिए । उसले मेरो त्यो रातभर सेवा गरे दवाइ दिए। बिहानसम्ममा म सञ्चो भएको थिएँ । मैले उनलाई सम्झेँ र गान्तोक गएर उसैलाई देखाउने विचार गरे। उ मेडिसिनको स्पेशलिस्ट पनि हो। फर्केर आएर मैले उसको निजी क्लिनिकमा गएँ। उसले भन्यो अब तपाईलाई डायबिटिज भएछ। यो दवाई नियमित खानुपर्छ । बिहान मर्निङ वक गर्नोस् ।तर एकलै कहिले नहिडनु साथीसँग जानु । हातमा एउटा लौरो पनि लिएर हिड्नु । लौरोले कुकुरलाई खेदन सकिन्छ । कुकुरले टोके अब तपाईंको डायबिटिजले गर्दा घाउ जाती हुदैन । छिमेकीको कुरा नसुन्नु। छिमेकीको कुरा सुनेर खाना बार्ने जताभावि जगंली वा घरेलुु दवाइ खाने नगर्नु। सुगर कोही बेला तल माथि हुन्छ होशियार गर्नु । टाइम टाइममा मेरोमा आउनु। अ तपाईंको लिवर पनि ठिक छैन । यो दवाइ लेखिदिएको छु। खानु। कतै साह्रो परिहाले मलाई यो नम्बरमा कल गर्नोस।
मित्र डाक्टरको कुराले मलाई हतास बनायो । मलाई लाग्यो अब मेरो जीवन धेर छैन रहेछ। बेलुका घर आएर सुगरको दवाई खान शुरु गरेँ। खान अघि खाने दवाई खाना पछि खाने दवाई। उच्च रक्तचाप पनि छ भनेको कारण त्यसको पनि दवाई। साधारणत म यस अघि कुनै पनि प्रकारको दवाई नियमित रुपमा खादिनँ थिएँ । मनमा औधी भय र आतंक बडेको थियोे । कति बेला के भइहाल्छ भन्ने डर भइरहन्थ्यो।
दवाई खान शुरु गरेको प्रथम दिन साधारण बित्यो ।खाना पनि बार्न थालेको थिएँ । चिल्लो चाप्लो कम भएको भात नखाएर रोटीमात्र। खानाको मात्रा पनि कम। पानी निकै पिउन थालेँ।
तेस्रो दिन साझँ पाचँ बजेतिर घरमा म टिभी हेर्दै थिएँ अचानक मलाई अति डर लागेको आभास भयो त्यसै केही कारण बिना । सारा शरीर शिथिल भएको जस्तो । शरीर थाम्न नसक्ने । मुटु जोडले हल्लेको जस्तो । रिङ्गटा चल्न थाल्यो । म लडछु जस्तो भयो। पलङमा दुइटै हातले थामेर बस्यो। हठात डाक्टरलाई सम्झेँ र फोन गरुँ जस्तो लाग्यो । सम्झेँ के भन्ला फेरि मलाई । होइन केही हुदैन होला जस्तो पनि लाग्यो । म निकै बेर नचली बसे । केही आराम भयो । मलाई थाहा भयो मेरो सुगर लेवल धेरै कम भएर गएको हो भनेर । सुगर लेवल ज्यादै कम भयो भने हृदय गति बन्द हुने सम्भावना हुन्छ। मेरो एक मित्र यस्तै सुगर लेवल अचानक कम भएर मृत्यु भएको थियोे । म उनको अन्तिम दर्शनको निम्ति गएको थिएँ । मलाई यसपछि मैले खाइरहेको दवाईको मात्रामा संदेह हुन लाग्यो । अर्को दिन म कार्यलय गएँ। मध्याह्नतिर फेरि रिङ्गटा चलेको जस्तो भयो । मेरो टेबलको अघि भित्तामा अलमानक राखिएको थियोे । घरि घरि त्यो अलमानक मेरो अाँखाबाट गायब हुदैथ्यो। साधारण आँखाले हेर्न सक्ने सधैँ आज भने मुश्किल भइरहेको थियो। म हटात उठेँ मलाई के भएको भनेर । मनमा एक तमाशको हताशा भइरहेको थियो । यस्तैमा मेरो एक सहकर्मी आए र मलाई हेरेर भने के भयो सरलाई? नआतिनुहोस। केही भएको छैन तपाईंलाई। मैले भने म घर जान्छु । ड्राइभरले घरमा ल्याइपुर्यायो।
मलाई दोस्रो परामर्श लिने इच्छा भयो र अर्को दिन अर्को मेडिकल विशेषज्ञलाई भेट्न गएँ। उनले मलाई ब्लड टेस्ट गर्न लगाए। यसपटकको टेस्ट भने मेरो सुगर लेवल साधारण देखियो । डाक्टरले केही दवाई लेखिदिए। उनी कम बोल्ने डाक्टर रहेछ। यद्यपि मेरो मनमा डर भने रहिरह्यो । प्रकृतिक चिकित्सा गरौ कि जस्तो लाग्यो। मेरो एक मित्रले बुहारी झार र अन्य जडिबुटी प्रयोग गर्दो रहेछ। म पनि त्यसै गरु कि भनेर मगाएँ पनि। तर खाइनंँ। आयुर्वेदिक पनि हुन्छ रे भने कसैले । परामर्श पनि दिए। टिबेटेन मेडिसिन राम्रो हुन्छ पनि भने सुझाव दिए। एलोपेथिक मेडिसिनमा साइड एफेक्ट हुन्छ तर यस्ता वैकल्पिक उपचारमा साइड एफेक्ट हुदैन भने । सुगरको दवाई बेसी सेवन गरे यसले अन्य विमारी निम्त्याउछ भने। कसैले योग गरे मात्र पनि पूर्णरूपमा निको हुम्छ भने । मलाई योगको कुरा ठिक लाग्यो। वैकल्पिक दवाई नलिए पनि योग चाहिँ गर्छु सम्झेँ ।मण्डुक आसन, कपाल भाती, अनुलोम विलोम जस्ता केही आसनहरू गरँ झण्डै डेढ सालसम्म । तर मैले देखेँ पूर्ण सामान्य नहुदो रहेछ।
दोस्रो परामर्श लिएको केही दिन पछिको कुरा हो मलाई इन्टरनेट हेर्ने चाहना भएको यस समस्या बारे । मैले देखेँ अनेकौं साइट रहेछन् यसको निम्ति सबै पढन सम्भव थिएन। तर केही सुझाव र अनुभवका कहानीअरू भने निकै थुप्रै पढेँ । ती मैले पढेका कहानीहरूमा सबैभन्दा चाखलाग्दो मलाई एक पार्सी महिलाको लाग्यो । त्यो कहानी साल 2000 मा लेखिएको रहेछ। त्यतिबेला उनी पचास वर्ष पुगेकी रहिछ।
उनलाई मधुमेह जन्मजात थिएछ। जन्मजात मधुमेह हुनेलाई टाइप वन डायबिटिक भनिन्छ । हामी जस्तो पछि उमेर पुगेर हुनेलाई टाइप टु भनिन्छ । टाइप वन हुने मधुमेह रोगीलाई इनसुलिन लिनु पर्ने हुन्छ। कति लिनु पर्ने त्यसको मात्रा डाक्टरले तोकिदिएको हुन्छ । यद्यपि इन्सुलिन लिएर पनि कहिलेकाहिँ सुगर लेवल घटबड हुन्छ । सुगर घटदा निकै समस्या हुन्छ । पसिना आउने, डर लाग्ने , मुटु काम्ने जस्ता लक्षण देखिन्छ । निकै कम भए बेहोस हुने सम्भावना रहन्छ । यतिबेला उसको छेउछाउ कोही छ भने चकलेट जस्तो कुनै गुलियो खाने कुरा दिए उसलाई ठिक हुन्छ । यो महिलालाई पनि यो समस्या भइरहँदो रहेछ। कुनै बेला बाटोमा हिडदा हिडदै उ बेहोस भइन'रे। जब उ सोह्र सत्र बर्षकी भइ एकपटक डाक्टरकोमा गएकी थिइन । त्यतिबेला त्यो डाक्टरले उनलाई भने'रे उ पहिलै मरिसकेको हुनुपर्ने कसरी यतिसम्म बाचेँ। उसलाई धेरै मन दुख्यो डाक्टरको कुरा सुनेर। अठाह्र वर्षको उमेरमा पुग्दा उ काम गर्न थाली एक स्टेनोग्राफर भएर। यही कार्यलयमा काम गर्दै गर्दा उसलाई विवाहको प्रस्ताव आयो । पहिला उसले अस्वीकार गरी । उसलाई लाग्थ्यो उसलाई जुन रोगले ग्रस्त पारेको छ त्यो थाहा पाए कसैले उसलाई विहे गर्ने छैन र जुन व्यक्तिले अहिले विहेको प्रस्ताव दिइरहेको छ उसको विमारी थाहा पाए उसले रद्द गर्नेछ । तर त्यो व्यक्तिले उसलाई पछ्याइरह्यो र एक साल पछि फेरि प्रस्ताव राख्यो । त्यतिबेला उसले बताई उसलाई यस्तो रोग छ। त्यो व्यक्तिले भन्यो उसलाई थाहा छ उसको रोग तर पनि उ बिहे गर्न चाहन्छ उसैलाई । यसपछि उ विवाह बन्धनमा परी। एउटा खुशी र आनन्दको जीवन भयो । एउटा छोरा जन्मेको छ । उ अहिले 29 वर्षको युवा छ। उ भन्छे उसको छोरालाई उसको रोग नजाओस किनकि यो रोग हेरेडिटेरी हुन्छ। तर डर लागिरहन्छ कहिले देखि प्रारम्भ होला भनेर । उसलाई आइसक्रिम खुब मन पर्छ तर आफ्नो रोगको कारण खान हुदैन । ऊ भन्छे हप्ता पन्द्र दिनमा एकपल्ट खाइदिन्छे आइसक्रिम। मन थाम्नु कठिन । थाहा छैन यसले कतिको सुगर लेवल बडाएको हुन्छ। आफू यतिको स्वास्थ स्थिर राख्न सकेकीमा प्रसन्न हुन्छे उसले ती डाक्टरहरूको चेतावनीलाई पराजित गरेकी छ। जीवित रहेकी छ र आफ्नो जीवनप्रति मोह छ।
मलाई यो कथाले धेरै सान्त्वना दिलायो। मन खुशी बनायो। म निराश हुनुपर्ने आवश्यकता छैन रहेछ।यही वेबसाइटमा धेरै दवाई खानपिन र व्यायाम बारे बताइएको रहेछ। ब्यायामको विषयमा लेखिएको रहेछ दिनमा 10000 पाइला हिडने प्रयास गर्नु पर्छ। हुनत दिनको कुनै समय हिडदा हुन्छ तर विहान राम्रो हो। विहानको रोशनीमा अल्ट्राभायलेट किरण हुन्छ जो शरीरको लागि लाभदायक हुन्छ । बेलुकी इन्फ्रारेड किरण अधिक हुन्छ जो स्वास्थको हानिकारक हुन्छ । यदि 10000पाइला हिड्ने समय निकाल्न सकिन्न भने घरभित्र व्यायाम गर्न सकिन्छ अथवा त्यति उर्जा खर्चिने शारीरिक श्रम गर्नु पर्दछ। हप्तामा पाँच दिन पर्याप्त रहेको बताउँछन् विशेषज्ञहरू यस प्रकारको शारीरिक व्यायामको निम्ति । शरीरको सन्तुलन बनाइ राख्न व्यायामको अति आवश्यकता छ जसरी खानपिनको हुन्छ । आलस्यता , निष्क्रियता एवम अज्ञानताको कारण हामी जीवनका यी साना साना तर हाम्रो तन्दुरुस्तीको निम्ति अति नै महत्त्वपूर्ण विषयहरूबाट अलग भएका हुन्छौँ । यी कुराहरू सामुहिक रुपमा सम्पूर्ण समाज निर्माणमा प्रभाव पारेको हुन्छ। एकपल्ट म चेन्नाइदेखि दिल्लीको रेल यात्रामा रहँदा मेरो सहयात्री एक भारतीय हकी कोच रहेको थियोे । उनी एक समय भारतीय हकी दलको मुख्य कोच भएको बेला हकी खेलाडीको दललाई लिएर दुबई गएका थिएँ । हकी खेल्ने ती युवा खेलाडीहरूको स्वास्थ्य राम्रो होस भनी सबैलाई सुत्न अगाडि एक एक गिलास तातो दूध पिउन लगाए । अर्को विहान उनले थाहा पाए ती अधिकतर खेलाडी पखालाको शिकार भएछ। उनले त्यसपछि मलाई भनेको थियोे हाम्रो भारतमा धेरै नानीहरू कुपोषणको शिकार छन। बाल्यकालमा पौष्टिक खाना पाउँदैन यसकारण हाम्रो खेलाडी विश्व स्तरमा टिक्न सक्दैन । यो दूध पनि पचाउन नसकेको यही बाल्यकालमा कुपोषणको कारणले हो।
मलाई डर यति बिघ्न हुन थालेको थियोे हप्ता वा पन्ध्र दिनमा म खुन जाँच गराउँ'थे। प्राय निजी केन्द्रमा गराउन सजिलो लाग्थ्यो । एक खेप सरकारी एसटिएनएम अस्पतालमा गएँ। त्यहाँ मैले परिचित डाक्टर भेटाएँ उनी पनि एक विशेषज्ञ नै हुन मइक्रोबायलजिको र पेथोलोजी उपकेन्द्रमा नियुक्त । जाँच भए पछि रिपोर्ट हेरेर सोधे मलाई के के दवाई लिनु हुदैछ भनेर । मैले कोलेस्टोरल, लिभर, सुगर, प्रेसर सबैको खादैछु भने । उनले मुसुक्क हासेर भने तपाईं यो कोलेस्टोरल र लिभरको दवाई नखानोस। यो सामान्य छ र साधारण देखिएका मर्निङ वकले ठिक भइहाल्छ । तपाईंको सबै रिपोर्ट सामान्य छ कुनै चिन्ताको आवश्यकता छैन । यो डाक्टर मित्रको कुराले मलाई ढाडमा रहेको ठूलो भारी बिसाउन पाए जस्तो भयो। एकाएक मन प्रसन्न भयो। बित्थामा यति तनावग्रस्त रहेँ यति लामो समय लाग्यो । यही प्रसङ्ग पछि म आफ्नो स्वास्थ्य देखि निश्चिन्त भएँ। मानिसको शरीर एक जैव रासायनिक प्रक्रियाबाट गठित भएको हुनाले आन्तरिक र वाह्य दुवै प्रकारका प्रभाव रहेको हुन्छ । हाम्रो खानपिन र कस्तो वातावरणमा रहन्छौ त्यसले हाम्रो स्वास्थ निर्धारण गर्दछ। रासायनिक प्रक्रियामा प्रत्येक पल घडीमा सहस्र परिवर्तन भइरहेको हुन्छ । यो अति संवेदनशिल रहेको कारण हाम्रो साधारण भूल यसको निम्ति गम्भीर परिणाम हुन्छ । आधुनिक चिकित्सा विज्ञान यही असन्तुलनको अध्ययन र समाधानमा समर्पित छ। एकप्रकारले प्रकृति सित युद्ध पनि हो र मानव जाति आफू प्रकृति भन्दा भिन्न र प्राकृतिक विकृतिलाई नस्वीकारेर यसमा परिवर्तन ल्याउने प्रयास हो।
मेरो आफ्नो अज्ञानताको कारण मधुमेह लागे पछि धेरै खानपनि बार्नु मात्र होइन तर खानाको परिमाण पनि घटाएको थिएँ । यसले गर्दा मेरो शरीरको वजन मात्र घटेन म निकै कमजोर र बिमारी देखिन थालेँ। गालाहरू सुके। पेन्ट खकुलो भए । कमेज ठूलो भयो ह्वाङलाङ्ग देखिने। आँखा भित्र गाडियो। उभिइँदा बाँस जस्तो देखिने सिकुटे। हाड र छाला मात्र । मेरो यो विकृत रुपले विभिन्न प्रतिक्रिया जन्माए।
एक मराउमा गएको थिएँ श्रद्धाञ्जली चडाउनु। मेरो छेउमा एक मित्र आए। उ निकै फटाहा छ र अर्कालाई हेरेर व्यग्यं प्रहार गर्न सिपालु छ। छड्के आँखाले हेरेर भन्यो" के भयो तिमीलाई ? यहाँ एउटा लाशलाई बिदा दिनु आको अर्को पनि तयार होला जस्तो छ हा हा हा होश गर है अहिले यही शेष होला ठहरै। मान्छे भएर ई म जस्तो हुनुपर्छ हट्टा कट्टा रातो पिरो ।" मैले नरिसाइ भने मलाई सुगर प्रबलम छ तर अहिके ठिकै छु।"
यही साथी छ महिना पछि भेटेँ चिन्तन भवनभित्र एक कार्यक्रममा । ऊ टेबलमा दुईटै हात राखेर शीर पनि टेबलमा राखेर सुतेको जस्तो गरि बसेको थियोे । अनुहार उदास कुनै ठूलो चिन्ता वा गम्भीर बिमारले ग्रस्त भए जस्तो । मैले झल्यास्स छ महिना अघिको कुरा सम्झेँ र भने हास्दै" के भयो यही ठहरै भइएछ त हा हा हा।"
उसले भन्यो नजिस्काउन हौ एक हप्ता अस्पतालमा एडमिट भएर आको। प्रेसर हाइ भएर लडिएछ।
मधुमेह रहेछ भन्ने निश्चय भए पछि म नियमित रुप विहान एक घण्टा हिड्न थाले । बिहान साढे चार बजेर नित्य कर्म बीस पच्चीस मिनेटमा सक्ने त्यसपछि तयार भएर हिड्ने । म यसै त बिहान छ या साढे छ बजे मात्र उठने गर्थे ओछ्यानबाट। कोही कोही बेला सात बजेसम्म सुत्थेँ। यसैले मलाई केही हप्तासम्म बिहान 4 या 4.30 तिर उठनु मुश्किल पर्यो। त्यति बिहान दोकान घरहरू बन्द देखिन्छन् । सबै तिर सुनसान न त गाडी चलेको न मान्छेहरूको चहलपहल । बिहानीको चिसो हावा, उज्यालो भर्खरै धरतीतिर बिस्तार बिस्तार झर्दै गरेको । झार जगंल शीतले भिजेको बाटोमा पनि आद्रता रहेको । एकतमासको शान्त वातावरण । आफै पनि छैन जस्तो । परिवेशसित एकरुप भएको । त्यो मौनताले भने शुरु शुरुमा अत्यन्तै विझाइरहेको थियोे ।सबै चुपचाप आनन्दसित विस्तरामा मस्त निद्रामा छन्। म मात्र यसरी कष्ट गरेर हिडनु परिरहेछ । कस्तो तकदीर! के रोग लाग्यो मलाई !! मलाई पटक्कै मन लागेको थिएन । यसप्रकारको मानसिकता रहिरहेको हो निकै लामो समयसम्म । मनमा विषाद र आफ्नो दुर्भाग्य प्रति क्रोध नभएको होइन । एक महीना दुई महीना तीन महीना बित्न लागेपछि मलाई यो बिहानीको हिडाई अभ्यस्त भएको लाग्न थाल्यो । तीन महीना पार भए पछि घडीमा अलार्म पनि लाउन नपर्ने भयो । निद्राले छोडिहाल्ने।चाडैं बिउझेँ कतिबेला उज्यालो झर्ने र म हिड्नु सक्ने समयको पर्खाइ हुन थाल्यो । त्यो बिहानीको चिसो हावा आनन्ददायक स्फूर्ति प्रदान गर्ने हुनथाल्यो। मनमा छटपटी होइन तर प्रसन्नता जाग्न
थाल्यो । पहिला आफ्नो भाग्यलाई कोस्थे भने अहिले किन अघिदेखि यसो गरिन भन्ने पछुतावको भावना आउन थाल्यो । त्यो बिहान दोकान घर सबै बन्द भएको र मानिसहरूको निष्क्रियता मलाई उनीहरूको आलस्यता लाग्न लाग्यो ।
यसरी बिहान हिड्ने निकै देखिन्छ र चिनेका नचिनेका सबै देखिन्छ । एक बिहान एक व्यक्तिले मलाई नमस्कार भने। मैले पनि नमस्कार भने।उसित मेरो त्यस्तो खास परिचय थिएन । उ एक कुनै विभागमा कार्यरत अधिकारी हो भन्ने चाहिँ थाहा थियोे । बातचित पछि थाहा भयो उसको विभाग र ओहोदा। उ एक तामङ रहेछ भन्ने पनि जानियो। उसको घर म हिडिरहेको बाटोमै पर्दोरहेछ । उ मात्र नभएर उसको श्रीमती पनि विहान हिडने गरेकी रहिछ उसैले भनेको । त्यो दिन उति धेरै गफ भएन। फेरि निकै समयपछि देखियो । त्यतिबेला उसले सोधे मलाई "तपाईं किन शुरु गर्नु भएको विहान हिडनु ? के पहिल्यै देखि हो?"
मैले भने होइन भर्खरै देखि हो। बात अघि बडाएर सोध्यो उसले म त्यसै फुर्सदमा हिडेको। विहान छिटै उठिन्छ। काम केही हुदैन । जवाबमा मैले भनेँ मलाई मधुमेह भएको छ यसैले हिडेको। व्यायाम आवश्यक छ भन्छ डाक्टरले । उसले मुसुक्क हाँसेर भन्यो म मुक्त छु त्यस्ता रोगबाट बाबाको आशिर्वाद र कृपाले । मैले सोधेँ तपाई साई भक्त हुनुहुन्छ ? उसले प्रसन्नता साथ भन्यो मलाई बाबाको अनुकम्पा छ। यसैले प्रत्येक वर्ष सेवामा जान्छौं हामी दुवै पति-पत्नी । यो हिउँदमा जानेछौँ। यो विहान हिडेको चाहिँ मेरो आयु लामो होस भनेर हो।
उ आफ्नी पत्नीलाई लिएर हिउँदमा पुट्टपर्ती गएका थिए । झण्डै एक महीना सेवामा समय बिताएर ती दुई अन्य मित्रवर्गसित दिल्ली आएका थिए केही दिन घुम्नलाई। यही दिल्ली घुम्ने शिलशिलामा उनीहरू एउटा गाडी लिएर गुडगाउँ ( वर्तमान नाम गुरुग्राम) गएका थिए। बाटोमा त्यो गाडी भयकंर दुर्घटनामा पर्यो। गाडीमा भएका सबै चोटग्रस्त भए तर उनीहरू उपचार पछि आफ्ना घर फर्के सिवाय ती दुई पति पत्नी । ती दुईले दुर्घटना स्थलमै अन्तिम श्वास लिएका थिए ।
गान्तोकको कृषि भवनको पछि मेरो दाज्यु बस्नुहुन्छ। उनी अविवाहित छन। मेरो भानिज पनि त्यही बस्छन र भानिज पनि अविवाहित नै छन। उनीहरूलाई भेट्न म कहिलेकाही जान्छु । मधुमेह रोगले छ्यापेर केही दुब्लो भएकै काल म एकदिन त्यहाँ गएको थिएँ । त्यो घरमा प्राय धेरै मान्छेहरू हुन्छन् । समय काट्न तास खेल्ने गर्छन। झुरुम्मै बसेका हुन्छन् तास खेल्नेहरू। मेरएज खेल्छन बेसी जस्तो तास खेल । हुनत ठूलो रकमको हुदैन । त्यहाँ सबै प्रकार र तहका हुन्छन् । त्यो दिन मेरो चिनाजानी एक सरकारी गाडी चलाउने ड्राइभर पनि रहेछ । सायद उसले मेरो बिमारी बारे अघि बाटै सुनिसकेको थियोे । अनुहार केही अँध्यारो पारेर मलाई सहानुभूति दिदै भने " साइला बाबुलाई पनि रोग लागेछ। " म घरको साइला हुनाले घरकाहरूले साइला भन्छन मलाई । उसले यस्तो पाराले भन्यो कि म अब केही दिनको पाहुना मात्र हुँ र मेरो काल छिटै आउनेछ । मैले फिस्स हाँसेर भने के गर्ने यस्तो भइहाल्यो ।
यो ड्राइभर सरकारी सेवाबाट निवृत्त भएर घरमै थिए । केही वर्ष अघि उनको अचानक मृत्यु भयो ।
मेरो कमजोर शरीर सुकेको गाला हेरे पछि मलाई अघिबाटै चिन्नेहरूले मलाई देख्ने बित्तिकै केही न केही टिप्पणी राखिहाल्थे। यसै समय म डाढागाउँमा केही गृह निर्माणको समान किन्नु भनेर एक हार्डवेयर दोकानमा गएको थिएँ । दोकानेले मलाई चिनिहालेछ र आउनोस भने । म गएर गद्दीमा बसेँ। छेउमा जाँदा उसलाई पनि मैले चिनेँ। उ ग्राम विकास विभागमा कनिष्ठ अभियन्ता थिए । उ एक बगांली समुदायको हो। मान्छे कालो वर्णको अग्लो सुगठित शरीर भएको र हेर्दा खाइलाग्दो देखिने । उसले प्राय सेतो कमेज सेतो पेन्ट र कलेजी रगंको कोट लाउथ्यो। उ दोकान चलाएको देखेर सम्झे सायद नौकरी छोडेर व्यापार गरेको होला । तर उसले भन्यो उसले सर्भिस छोडेको छैन र अहिले छुट्टीमा छ। अरु बेला उसकी श्रीमतीले दोकान चलाउछे। मलाई हेरेर भने ए सारलाई पनि सुगर भयो ? नसुर्ताउनोस। मलाई पनि सुगर छ। म तीन महीना एम्समा बसेर आको हुँ। अहिले हार्टको दवाई खाँदैछु। यो हार्टलाई बचाउनु छ।
उसको बाट मैले केही समान किनेर निस्केँ।
केही दिनमा थाहा पाएँ उसके ड्युटी जोइन गरेछ।
चार पाचँ महीना पछि उसको एक सहकर्मीले मलाई भने सरले थाहा पायो त्यो जेई त खस्यो। उसको हार्ट एटेक भएछ।
Comments
Post a Comment