मृत्युु आभास -3
1967 दिसम्वर 12 तारिखको साँझ हाम्रो घर रगंली बजार , पूर्व सिक्किममा चिन्ता बस्ने भयो । चिन्ता बस्ने झाँक्री थियोे मेरो बडा बाबू र चिन्ता बसेको मेरो आपाको निम्ति जो त्यतिबेला बिमार हुनुहुन्थ्यो ।
मेरो बडा बाबू निकै नाम चलेको झाँक्री थियोे र उनलाई कुबुक झाँक्री भने पछि यस क्षेत्रमा सबैले चिन्ने । पछि उनी सेरेथाङमा बस्न थाले व्यापार गरेर। हामीले सुनेका थियौं सिक्किमको राजा तिब्बत यात्रामा जाँदा कहिले काहिँ उनको घरमा बास बस्थे अथवा खाना खान्थे। यो बाटो भएर नथुला पुगिन्छ र त्यसपछि तिब्बती पठार पुगिन्छ । तिब्बतको दक्षिण भागमा छुम्बी भेली पर्दछ र उन्नाइसौं शताब्दीमा यो सिक्किमको अधीन थियो । त्यतिबेला सिक्किमको राजाको दरबार दुई ठाउँ रहेको देखिन्छ सिक्किममा तुमलोङ र छुम्बी भेलीमा। गरम महीनामा छुम्बी भेली र जाडो महीनामा तुमलोङ। त्यस समय याटुङ र फारी निकै नाम चलेको व्यापार केन्द्र थियो जो हाल दुवै तिब्बतमा पर्दछ। व्यापारीहरूमा मारवाडीहरू हुन्थे । त्यतिबेलाको व्यापारी मारवाडीका सन्तानहरू अहिले पनि गान्तोक र सिक्किमका अन्य क्षेत्रमा रहेका छन। यो सम्पूर्ण क्षैत्र हिमालय श्रखंलामा पर्दछ र जुन सुकै ठाउँबाट पार गर्न सकिन्न। यस क्षेत्रबाट हिमाल पार गर्न सक्ने दुई द्वारहरू छन जसलाई पास भनिन्छ - नथुला पास र जेलेपला पास। नथुला पास सेरेथाङ्ग भएर जान्छ भने जेलेपला पास कुबुक भएर। सेरेथाङ धेरै उच्च क्षेत्रमा पर्छ। अहिले सिक्किम चिनको अन्तर्राष्ट्रिय व्यापार सिक्किम पट्टि को केन्द्र( ट्रेड मार्ट) यही ठाउँमा छ। चिनियाँ व्यापारीहरू यो ठाउँ सम्म व्यापार गर्न आउन सक्छ । तर भारत चिनको 1962को युद्ध भए पछि यो सबै क्षेत्र भारतीय सेनाले आफ्नो कब्जामा लिए र यो पूरा क्षैत्र प्रतिबन्धित घोषणा गरियो कुनै पनि आम नागरिकको निम्ति । यसैले त्यहाँबाट उनीहरू उठिबास हुनु पर्यो र एक प्रकारले आफ्नै ठाउँमा शरणार्थी हुन पुगे ।
सेरेथाङ्गबाट उठिबास लागेपछि उनीहरू रगंली झरेका थिए र केही काल हाम्रै घरमा आबाद रहेका थिए।
मेरो बाल्यकालमा मलाई भदौरे पूर्णिमामा आयोजन हुने गुरुपूजाको खुब चासो लाग्थ्यो । हामीले सुने अनुसार बडा बाबुले यो गुरु पूजा कुबुकमा र सेरेथाङ्गमा रहँदा बडो धुमधामले मनाउथेरे। यो पूजा छाङ्गु पोखरी नभए कुबुक पोखरीको किनारमा मनाइन्थ्यो। धेरै सख्यांमा झाँक्रीहरू उनीहरूका शिष्य र सहायकहरू भेला हुन्थ्यो । भक्तजन विमारी र अन्यान्यको ठूलो जमावडा । सम्पूर्ण पोखरी परिसर रगंविरगीं तोरण पूजा स्थल साना साना अस्थायी झोपडीहरूले भरिभराउ । एक महाउत्सवको रुप लिएको देखिन्थ्यो । झन्डै एक हप्ता मनाइने यो आयोजन त्यसबेलाको महत्त्वपूर्ण सास्कृतिक पर्व हुन्थ्यो ।
भारतीय सेनाले त्यो सम्पूर्ण सीमावर्ती क्षेत्र निषिद्द घोषणा गरेपछि फेरि त्यहाँ त्यो प्रकारको उत्सव कहिल्यै हुन सकेन।
रगंली बजारमा आएर पनि यो गुरु पूजाको आयोजना त गरियो तर त्यसप्रकारको भव्य कहिले भएन। उनले हाम्रो घरको ठूलो कोठामा गर्थ्यो। हाम्रो घर ठूलो थिएन । त्यही सानो घरभित्र जसो तसो अटाएर गर्थ्यो। दुई तीन दिनभरि धेरै मानिसहरूको आवतजावत हुने गर्थ्यो। हामीलाई भने यही भीड आनन्ददायी लाग्ने । केही साल पछि यो आयोजन झन सानो हुदै गयो ।
आपा बिमार भइरहनु हुन्थ्यो र आमाको अनुरोधमा बडाबाबुले चिन्ता बस्ने भयो त्यो रात।
चिन्ता बस्दा निकै मन्त्र फलाके पछु बडाबाबु ढ्याङ्ग्रो बजाउँदै उफ्रनु हुन्थ्यो र अचेत भएर लडला जस्तो हुदा त्यहाँ भएका सहायक जनले पक्रनु पर्थ्यो लडन नदिन।
बडाबाबुले मन्त्र फलाक्ने भाषा एकदम फरक हुने गरेको कारण त्यो भाषा जोसुकैले नबुझ्ने । अहिले सम्झिँदा उनले प्राचीन तामाङ भाषा प्रयोग गर्थेछ। हाम्रो आमाले पनि त्यो भाषा बुझ्नुहुन्नथ्यो स्पष्टतासाथ। यो भाषा फढकालेर बुझ्न सक्ने आपा मात्र थिए। यसैले जोखानाको सार पछिबाट बडाबाबुले नेपाली भाषामा बुझाउनु हुन्थ्यो ।
हाम्रो घरमा चिन्ता बसेको त्यो रात आपा बडाबाबुको छेउमा बसिरहेका थिए। धेरै मन्त्र बकेर देवता बोलाएर जोखाना भन्दै गर्दा आपा मुसुक्क मुस्काएर बोल्नु भयो म अझै एक वर्ष बाँच्ने रहेछु ।
यो चिन्ता बसेको ठिक एक वर्ष वाद डिसम्बर 12, 1968 को मिर्मिरे विहान आपाले अन्तिम स्वास लिए । उनको अन्तिम घडीमा मेरी आमा र बडी आमा साथै थिए र त्यतिबेला बडीआमाको आवाज " कान्छा गोयो कान्छा गोयो" अझै मेरा कानमा गुञ्जायमान हुन्छ ।
Comments
Post a Comment