गान्तोक रोजनाम्चा : 2/07/19
हिजोआज गान्तोकमा कति बेला पानी पर्छ अन्दाज लाउन कठिन पर्छ यसैले बजार जाँदा छाता बोकेरै जान्छु । आज पनि छाता बोकेर निस्केको थिएँ । एउटा ट्याक्सीमा चढेँ। पछिल्लो सिटमा दुई जना थिए यसैले अघिल्लो सिटमा बसेँ। म चढने बित्तिकै ती दुइले छाता विषय कुरा गर्न थाले( सायद मेरो छाता बोकाइले प्रेरित गरायो त्यो गफ लगाउन। अथवा यसो पनि हुनसक्छ कस्तो दिमाग खुस्केको मान्छे घाम लागेको बेला छाता बोकेर हिडछ!!! यस्तै सम्झे होलान् । )एकले भने म कहिले छाता बोक्दिनँ। छाता जाबो के बोक्नु पानी परे किने भइहाल्यो नि। अर्कोले भने मैले कम्ता छाता हराइसकिनँ। बिर्सिहाल्छु जहाँ पनि। अस्ति नयाँ छाता हराइपठाएँ एकैपटक मात्र ओडेको थिएँ । यतिकैमा ट्याक्सी टिबेटेन स्कुल छेउ आइपुह्यो। त्यो अलि दब्ने ठाउँ छ। यो वर्षाको पानीले फेरि बाटो केही दबिएकोछ। ती दुईको फेरि बाटो विषय कुरा हुन थाल्यो छाताको गफ टुङ्ग्याएर। एकले भने अब त ट्याक्सी जस्तो हावा जहाज बनिएछ। मैले अस्ति पढेको । दाम चाहिँ महगों रहेछ 95 लाख अरे। त्यस्तो हावाजहाज जस्तो ट्याक्सी भए यस्तो बाटो को फिक्री भएन सुइअ उडेर गइहाल्यो। ड्राइभर अघि सम्म चुपचाप थियो अहिले बोले। त्यस्तो भयो भने त हामीलाई साह्रो पर्छ हाम्रो काम खोसिन्छ। अर्कोले थपे 95 लाख त धेरै हो तर पैसा हुनेले किन्छ । यहाँ कति मान्छेको पैसा छाप्ने कारखाना भाको जस्तै पैसा छ।
यी कुराहरु उरण्ठ्याउलो अपत्यारिलो लागे तापनि सिक्किममा यसप्रकारका अतियथार्थ (Surrealistic) कुराहरू धेरै सुन्न पाइन्छ ।
सिक्किममा अवकाश भएका धेरै मित्रहरू अनायस गायब हुन्छन्। सधैं भेटिरहने परिचित मुहारहरू फेरि वर्षौँ देखिदैन । आज एक त्यस्तै हराएको मित्र भेटियो। भेटिए के भन्नू उसैले चिनेर मलाई बोलाए । मेरो श्रवण क्षमता केही कमजोर छ र प्रथमतः मैले राम्ररी सुनिनँ। उसले दोहोर्याएर बोलाए पछि सुनेँ। तर यो मुहार मलाई एकदम अपरिचित लाग्यो। श्याम आकृतिमा श्वेत दन्तहार ठूला ठूला आँखा दुब्लो शरीर अग्लो देखिएको घुरमैलो स्वच्छ नदेखिने वस्त्र पहिरन निकै कमजोर देखिदै थियोे । उनले फेरि भने मलाई चिन्नु भएन म फलना भने। अनि मैले ठिम्याए। कति विशाल परिवर्तन चिन्नै नसकिने । मैले उसलाई अवकाश पूर्वको समय देख्दा उनी एक आकर्षक व्यक्तित्व भएको गम्भीररूपमा रहेको स्मृति छाप मेरोमा रहेको थियो । यो वर्तमान रुप मेरो निम्ति अपत्यारिलो कुनै ठूलो आपत्तिमा परेको जस्तो थियो । उनले मलाई मेरो स्वास्थ्य बारे सोध्दै भन्न लागे धाराप्रवाह - दाज्यु तपाईं आफ्नो स्वास्थ्य ठीक राख्नोस। रिटायर भएपछि मान्छे रोगी हुन्छ यसैले मोबाइल रहनुहोस हिडडुल गरिरहनोस। एकै ठाउँ बेसी नबस्नोस।
( मलाई भन्न त मन भयो म प्रत्येक बिहान 4.30 बजे उठछु र 6 किलोमिटर जति नियमित रुपमा द्रुत हिडाइ गर्दछु । तर भन्न मन लागेन उसको स्वास्थ्यको यो स्खलित अवस्था देख्दा।)
मैले सोधेँ तपाईलाई के भयो र तपाईंको यो रुप भयो। उनले भने ए ~~~दाज्यु के के भयो भयो। मलाई टि बी भयो। फेरि टि बी बिग्रेर एमडिआर भयो। धेरै अस्पताल बसियो तर अब ठीक छु स्वास्थ छु। ल दाज्यु टेक केयर नो टेन्सन अनलि पेनसन 😃😃😃😃
यति हाँसिराखेर उनले बिदा लिए।
Comments
Post a Comment