मई 2020 मा प्रणय शंकरको "पराकम्पन" कथा संग्रह माथि रिफ्लेक्टिभ आलोचना पढिएको थियो । लेख पढेर कथा पढने उत्सुकता जागेको हो। कसो कसो एकसाल पछि मात्र पढियो।
छोटो छोटो १४ वटा कथाहरू रहेछन नामुद कवि समालोचक जय क्याक्टसको भूमिकाले बाँधिएको।
कथा पढिसकेर फेरि रिभिजिट गरेँ प्रणयजीको आलोचना। उहाँको लेखाइले सन्ध्याको कथाहरूको सम्मान धेरै बडाएको लागेको हो। जयजीको लेखनले साहित्यिक मानदण्डमा कथाको स्तर खोजिएको लाग्यो।
सन्ध्याको लेखनमा रहेको विशेषता र यी कथाहरूले खोजेको स्पेसले हामीलाई झस्काउँदो रहेछ।
कथा समकालीन लेखन झैँ सहज र सपाट छैन । यसबाट बुझिने हुन्छ यी फरक धारको कथाहरू हुन्। एकै पंक्तिमा वा वाक्यमा अनेक अर्थ अटाउन सकेको । व्यक्तिको मनमा भावनाहरू एकएकवटा श्रङ्खलावद्द नरहेर नदीको प्रवाह जस्तै हुन्छ भन्छ मनोवैज्ञानिकहरू। तर जब यो अभिव्यक्तिको स्तरमा आउँछ त्यतिबेला एकैचोटि नआएर श्रङ्खलामा आउँछ। भाषा तगारो बनेको हुन्छ। यसैले कुशल लेखक भाषाको उचित प्रयोग गरेर मनको भाव सही रूपमा बुझाउन प्रयासमा रहन्छ। बहुल अर्थ बोक्ने पद वा वाक्यांश यसैको निम्ति कारगर हुन्छ । "घर" कथाको विश्लेषण यसै स्तरमा गरेको छ प्रणयजीले, बहुल अर्थ समेट्न सकेको ।
संकलनको नाम "पराकम्पन" राखिनु विशेष लाग्छ। ठूलो भुइचालो आइसके पछि साना साना कम्पन आइरहन्छन जसलाई पराकम्पन भनिन्छ। हाम्रो जीवनमा वा समाजमा ठूलो घटना घटेपछि त्यो घटनाको अनेकौं परिणाम पछि हुन जान्छन् साना र ठूला । १९८६को गोर्खाल्यान्ड आन्दोलन आधुनिक दार्जिलिङको इतिहासमा सबैभन्दा ठूलो घटना हो। यही घटनाको परिणामस्वरूप अनेकौं घटनाहरूको जन्म भयो । यसैलाई पराकम्पन भनिएको सुहाउँदो लाग्छ । यहाँ संकलित अधिकतर कथाहरू यसैले पराकम्पन झै नै लाग्छ । केही इतर विषयका कथाहरू अपवाद स्वरूप रहेको भन्न सकिन्छ ।
तीन कथाहरू पराकम्पन 1, पराकम्पन 2 र मूल्य प्रत्यक्ष छन। मूल्य कथाले आन्दोलनमा समर्पित आम जनता र आन्दोलनको नेतृत्वको वैचारिक विभाजन उदांगो बनाएको छ। यो संकलनको केन्द्रमा रहेको भनेर यस कथाको मूल्यांकन गर्न सकिन्छ।
"युँ" कथा विद्रुप/व्यग्य रहेछ। दुर्व्यसन पनि देखाइएको छ। घोस्ट राइटिङ वा भूत लेखन अपत्यारिलो होइन। यस्तो चरित्र समाजमा देखिन्छ। वास्तविक लेखक भने नशालु दुरव्यसनको शिकार रहेछ। दुरव्यसनमा लिप्त विश्वका शिर्ष लेखकहरू पनि रहेका छन। आर्तुर र्याम्बो, बदलेयर, अस्कर वाइल्ड, एलेन गिब्सन त्यस्ता प्रख्यात साहित्यकारहरू हुन जो ड्रग्सको आदी थिए।
महाप्रश्न-मा सरोगेसीको प्रकरण नेपाली कथामा धेरै देखिन्न । सन्ध्याले आफ्नो कथामा विषय प्रवेश गराएर कथाको फाँट बडाएकी छ।
संकलनको अन्तिम कथा "मृत्यु अनुभूति" रहेछ। संकलनमा पहिलो कथा "पराकम्पन-१" र कथाक्रममा अन्तिम कथा "मृत्यु अनुभूति" रहेको बाट गोर्खाल्यान्ड आन्दोलनको प्रभाव र परिणाम बयान गरेको देखिन्छ। यसप्रकार एक महाकथाभित्र साना साना कथा संगालिएको योजना भएको लाग्छ।
छोटो कथाहरूमा धेरै विषय समावेश गर्न सकिएको र समकालीन समयको प्रतिबिम्ब देखाउन सफल रहेको लाग्यो। विमर्शमा आउन सक्षम सृजना रहेछन कथाहरू।
Comments
Post a Comment