Skip to main content

Lall Bahadur Basnet

लालबहादुर बस्नेतको " हिज मेजस्टिज पेयेगं गेस्ट"

                                                     :   पेम्पा तामङ

यो अङ्ग्रेजी भाषामा लिखित उपन्यास स्वर्गीय लालबहादुर बस्नेतले लेखेका हुन र यो 1980 मा प्रकाशित भएको हो। यसको प्रकाशन गान्तोकबाट उनलेे स्वयम् गरेका थिए। अङ्ग्रेजी भाषामा उपन्यास सिक्किमबाट पहिलोपटक निस्केको यही हो। नेपालीमा र लिम्बू भाषामा भने अघिवाटै उपन्यासहरू प्रकाशित भइसकेका थिए ।
यो उपन्यास एक आत्मकथात्मक उपन्यास हो । लेखक लाल बहादुर बस्नेत 1965 मा काठमाडौ
नेपालको एक सरकारी सस्थांनबाट प्रकाशित हुने समाचार पत्रमा पत्रकारको नियुक्ति पाएका कारण काठमाडौं पुगेका थिए । यसै क्रममा उनी काठमाडौं नेपालको जेलमा निर्दोष रहेर पनि नौ  महीना  अधिक थुनुवा परे राजबिरोधको दोषारोपणमा।आफ्नो  कारावासको अवधि उनले क्रान्तिकारी, राजनैतिक बन्दी, विद्यार्थी सगंठनका सदस्यहरू, सुरक्षा अधिकारी, न्याय अधिकारी जस्ता अनेकन पात्रहरूसित सम्पर्कमा आउने योग मिल्यो । यसले उनलाई नेपालको तत्कालीन राजनीति , समाज, न्याय प्रणाली अपराध अनुसन्धान प्रक्रिया जस्ता विषयलाई राम्ररी बुझ्ने अवसर प्रदान गर्यो। आफ्नो यही अनुभवलाई आधार बनाएर उनले  यो उपन्यास लेखेका हुन।
बस्नेत मूलतः सिक्किमका हुन र त्यसबेला सिक्किम एक भिन्नै राष्ट्र थियो। उनी 1961मा सिक्किमको लोक सेवा परिक्षामा सफलता हासिल गरी मेजिस्ट्रेट भएका थिए । तर आफ्नो स्वतन्त्र विचार र त्यसबेलाको निरकुंश शासनाधीन कारण उनलाई असह्य भयो र आफ्नो पदबाट राजीनामा दिएर नेपाल गए रोजगारको खोजीमा । काठमाडौंमा उनलेे पत्रकारको सेवामा प्रवेश गरे । त्यसबेला नेपालमा प्रथमपल्ट प्रजातान्त्रिक चुनाव भएर गठन गरिएको बि पि कोइरालाको सरकार भरखरै बर्खास्त गरिएको थियो राजा महेन्द्रद्वारा। काङ्ग्रेस पार्टीका सक्रिय सदस्यहरू एक एक गर्दै गिरफ्तार हुँदै थियो । देशमा भय रआतकंको माहोल थियो। एक त उनी विदेशी अर्कोतिर सशकिंत परिवेश त्यसमा पनि पत्रकारिता यी सबै अनुकूल थिएन । यसैले उनी ती विद्रोही समूह भित्रका भनी आरोपित भए । यसैले पक्राउ परे। नौ  महीना अधिक कारागारमा रहे पछि देश निकाला गरियो । यो उपन्यासमा यही कथा रहेको छ र कथा पनि रिहा भएपछि टुंगिन्छ ।
यो उपन्यासले नेपालको त्यो नभनिएको इतिहास बोकेको छ जो इतिहासको पानामा अलिखित छ। ती धेरै विद्रोही क्रान्तिकारीको किस्सा , नेपालको  तत्कालीन न्यायव्यवस्था कारागार प्रणाली , न्याय निष्पादन, दण्डप्रणाली, राजा र उसको शासन व्यवस्था भ्रष्टाचार माथि प्रहार आदि । किन नेपाल विश्वमा यति पछौटे र गरीब ?? नेपालको राजा र राणाले कस्तो देश बनाए??? यी प्रश्नहरू यहाँ उठाइएका छन। वास्तवमा लेखकले ती धेरै मुद्दाहरू उठाएका  विषयहरू बि पि कोइरालाको जीवनीपरक पुस्तकहरु "आफ्नो कथा" ,"जेल जर्नल" र "आत्मवृतान्त"मा पनि राम्ररी खुलेर आएका छैनन् । पारिजातका उपन्यासहरू "वैशको मान्छे" र "अनिदो पहाडसगै" ले पनि शासकीय विषय यति सटिकको साथ दिएका छैनन् । केर कार विभाग जस्तो नसुनिएको विभाग बारे जानकारी पाइन्छ यहाँ । पुलिस, मिलिटरी, न्यायाधीश , गोपनीय सेवा बिचको तालमेल र  राजाको सम्पूर्ण व्यवस्थामा एकक्षत्र नियन्त्रणको विश्लेषण गरिएको छ। चिन, अमेरिका र भारत देशहरूले गरेको हस्तक्षेप र ती हस्तक्षेपलाई निरस्त गर्न नेपालको परराष्ट्र नीति चर्चामा आएको छ। एक छोटो कलेबरको उपन्यासमा यति धेरै विषय सामेल गर्न सक्नु ज्ञान अध्ययन र कला सबैको आवश्यकता पर्दछ जो बस्नेतजीले देखाएका छन ।

   दल बहादुर एक सिक्किमेली 25 वर्षीय शिक्षित युवक हुन । उनी काठमाडौंमा रोजगारको निम्ति गएको छ। उनलेे एक सरकारी समाचार पत्रमा काम पाएको हुन्छ । पत्रकारिताको शिलशिलामा उनले काठमाडौंको विभित्र सामाजिक तन्त्र भित्र मित्रता कायम गर्दछ र यसमा नेपाल सरकारको अपराध निरोधक शाखा को उप निर्देशक शेर बहादुर थापासित उसको मित्रता बडेको हुन्छ।
एकदिन काकेनी भन्ने ठाउँमा आग्नेय हातहतियार लुकाएर राखिएको सूचना आउँछ। खोजी गर्दा त्यहाँ हातहतियार बरामद हुन्छ । यो षडयन्त्र कसले रच्यो यसको अनुसन्धान पहिला अपराध शाखाले गरिरहेका थिए तर यसको दायित्व पुलिस विभागलाई दिइन्छ ।पुलिस विभागले यो षडयन्त्रको आरोप अपराध शाखाको उप निर्देशक शेर बहादुर थापा माथि थोप्दछ। उसलाई अमेरिकाको सि आइ ए एजेण्ट भनी शकां गरिन्छ। परिणामत पहिला उसको मुनि कार्यरत
निरीक्षक भीम थापालाई पक्राउ गर्दछ र आरोप स्वीकार्न लगाउँछन् । यसपछि उप निर्देशक शेरबहादुरलाई पनि पक्राउ गर्दछ। पत्रकार दलबहादुर शेरबहादुरको मित्र भएको कारण उसलाई पनि पक्राउ गरिन्छ । यसपछि उसलाई केर कार गरिन्छ । तर दल बहादुरलाई अन्य कैदी जस्तो झेलखानामा राखेको हुदैन । अन्य कैदी सरह उसलाई जेलमा भोजन उपलब्ध गराउदैन आफैंले बन्दोबस्त गर्नु पर्दछ आफ्नो भोजन।
यही जेलमा उनलेे नेपालका विभित्र क्रान्तिकारी युवा नेताहरूसित भेट्ने अवसर पाउँदछ। तिनीहरूबाट नेपालको वास्तविक राजनैतिक स्थिति थाहा पाउँछ।
ती विद्यार्थी क्रान्तिकारी युवाहरूले एक राजनैतिक प्रस्ताव पारित गरेर आफ्नो रगतले हस्ताक्षर गरेका हुन्छन। यो प्रस्ताव उनीहरूले नेपालमा प्रजातन्त्र ल्याउनलाई पारित गरेका थिए । हतियार काण्ड र विद्रोह षड्यन्त्र जाँच गर्न एक जाँच समिति गठन गरिएको थियो  सरकारबाट। यो समितिको विचारमा हतियार काण्ड शेरबहादुरको सक्रियतामा भएको थियोे भने यो प्रस्ताव विद्यार्थीहरूले नलेखेर कुनै ठूला राजविरोधी नेताले लेखेका हुन भन्ने थियोे । यसको पछाडि ती जाँच समितिका सदस्यहरूका स्वार्थ पनि थियो किनकि कुनै ठूलो राजाविरोधी राजनैतिक नेतालाई फसाउन सके उनीहरू आफ्नो राजभक्ति र राजाको नजिक हुन सफल हुने थिए।
दल बहादुरले देखे ती विद्यार्थीहरूलाई शारीरिक यातना दिइरहेका थिए। जबसम्म बिद्यार्थीहरूले त्यो प्रस्ताव ठूला नेताले लेखेका भनी स्वीकार्दैन उनीहरूको यातना समाप्त हुने छाटँ थिएन । यसैले उसले ती बिद्यार्थीहरूलाई अपराध स्वीकार्न लगाए। यसो गर्दा बिद्यार्थीहरूको केरकार समाप्त भयो र सजाय तोकिए । उता राजाले आफ्नो निजी जाचँबाट पता लगाइसकेका थिए कि दलबहादुरले जाँच समितिलाई मुर्ख बनाएर झुटो बयान लिइएको बिद्यार्थीहरूबाट। साथै यो पनि खुलासा भयो हतियार काण्डमा शेरबहादुर थापा वा दलबहादुर कसैसित केही लेनादेना थिएन। यो सबै चिनियाँ बिरोधी खाम्पाहरूको कारनामा थियो । यसैले सबै बिद्यार्थीहरू मुक्त भए र दलबहादुरलाई भने विदेशी भएको कारण देश निकाला गरियो । शेरबहादुर दोष मुक्त भए तापनि सेवामा बहाली हुन दिइएन तर एक मुष्ठ रकम क्षतिपूर्ति स्वरूप दिइए । उनी नेपालको नागरिक भए पनि भारत गएर बस्न लागे। कथाको अन्त्य दलबहादुर र कुसुम राणाको विहे भएर टुंगोमा पुग्छ। यसप्रकार उपन्यास सुखान्त देखाइएको छ।
कथाको उपसंहारमा दलबहादुरलाई दोषमुक्त रहेको बताइएको र शासनबाट क्षतिपूर्ति राशी र उच्च ओहदाको पद दिइने घोषणा रहेतापनि पात्रले ती सबै प्रलोभन अस्वीकार गरी सिक्किम फर्केको देखाइएको छ। निर्दोष नागरिकलाई अपराधीको रुपमा कैदमुक्ति हुदाँ क्षतिपूर्ति दिइने व्यवस्था नेपालमा थियो वा थिएन त्यो संदेहात्मक छ । बी पी कोइराला र अन्य राजनैतिक बन्दी जो निकै समय कारागार भित्र रहे उनीहरूले आफ्नो जीवनीमा यस प्रकारको क्षतिपूर्तिको उल्लेख गरेका छैनन् । भारतीय न्याय प्रणालीमा पनि क्षतिपूर्तिको व्यवस्थापन छैन । हुनत भारतले सम्पूर्ण मानवजातिको सभ्यताको मुहान भारत हो भनी दाबी गर्दछ तर नागरिक हक र अधिकारका प्रावधान हेर्दा त्यस्तो लाग्दैन । न्याय प्रणाली अनुसार कुनै पनि व्यक्ति प्रमाण नभइन्जेल अपराधी मा्न्न सकिदैन ।नेपालीमा उखान पनि छ नदेखेको चोर बाबु समान। तर व्यवहारमा त्यस्तो छैन। अपराध अनुसन्धान प्रक्रियामा ट्रायल एण्ड एरर मेथड प्रयोग गरिन्छ र यसमा सबै व्यक्ति संदेहको घेरामा रहन्छ जबसम्म व्यक्तिले आफ्नो निर्दोषिता प्रमाणित गर्दैन । निरपराध रहेको प्रमाण व्यक्ति स्वयमले दिनुपर्दछ। यसको अर्थ के हुन्छ भने भारतमा प्रत्येक व्यक्ति जन्मदै अपराधी हुन्छ र उसले जीवनकाल आफु निरपराध रहने प्रयासरत रहनु पर्दछ। शासनले कुनै निरपराध व्यक्तिलाई दीर्घकालीन सजाय दिएर आफ्नो सजाय पूर्ण भएर निस्के अनि पछिबाट उ निर्दोष रहेको सिद्ध भए उसलाई कुनै प्रकारको क्षतिपूर्ति दिने व्यवस्था छैन र क्षमा पनि माग्दैन शासनले । निरपराध व्यक्तिलाई कारावास मुक्त गर्दा उल्टा उसलाई क्षमा दिएको जस्तो गर्दछ। यसको अर्थ त्यो निरपराध व्यक्ति अपराधी नै हो भन्ने बुझिन्छ । यद्यपि अमेरिका कानाडा जस्ता बिकसित मुलुकमा भने निरपराध व्यक्तिलाई कारागारमा बन्द गरी सजाय दिए पछि जब त्यो सत्य खुलिन्छ उसलाई क्षतिपूर्ति दिइन्छ र शासन क्षमाप्रार्थी बन्दछ। देश नागरिकले बन्दछ माटोले होइन । यसैले नागरिकको सम्मान नै सभ्यता हो । लालबहादुर बस्नेतले यस उपन्यासमा यो क्षतिपूर्तिको प्रसगं ल्याएर यही नागरिकको सम्मानको सदेंश दिएका हुन। उनी प्रजातन्त्रको हिमायती र नागरिक अधिकारको पक्षधरमा रहेको यसैबाट सिद्ध हुन्छ। प्रजातान्त्रिक मुलुकमा नागरिकको सम्मान हुनुपर्दछ नत्र त्यो मुलुकलाई प्रजातन्त्र भन्न मिल्दैन । भारतमा अनेकौं त्यस्ता प्रकारण देख्न पाइन्छ जहाँ बिना इल्जाम प्रमाण वर्षौ कारावासमा राखिन्छ नागरिकलाई र जेल मुक्त हुँदा शासनद्वारा उ माथि गरिएको अन्यायको कुनै क्षतिपूर्ति दिदैन।
     यहाँ दलबहादुरलाई उच्च ओहदाको निम्तोको  प्रकरण वर्तमान कालमा अस्वाभाविक लागेतापनि त्यो समय अनुसार यो यथार्थिक लाग्दछ। पुष्प नेपालीको प्रख्यात गीत छ "फर्क है फर्क नेपाली तिमीलाई डाक्छ हिमाली " । यो गीतको बोल त्यसबेलाको नेपाल सरकारको नीति अनुरूप थियोे । राजा महेन्द्रले प्रतिभाशाली एवम उच्च शिक्षित प्रवासी नेपालीहरूलाई नेपालमा स्वागत गरेका निकै उदाहरण रहेका छन।

   कथालाई रुमानिकरण गर्नलाई प्रेम प्रसङ्ग जोडिएको छ। मुख्य पात्र द्हाल बहादुर र कुसुम राणाको प्रणय । जीवनको कठिन घडीमा प्रेमको प्रवेशले भय र आनन्द समानान्तर आएको देखिन्छ । आँधी पछिको मौनता अथवा शिशिर पछिको बसन्त झैँ । कुनै पनि अवस्था चिरस्थायी हुदैन र सबै परिवर्तनशील रहेको बुझिन्छ ।
     यो प्रणय प्रसङ्ग भने नितान्त काल्पनिक हो र यो लेखकको जीवनसित मेल खादैन। यतिबेला उनी विवाहित थिए र यिनले बहुविवाह गरेनन् । यसैले प्रणय प्रसङ्ग एक सृजनात्मक प्रकरण मान्न सकिन्छ यस उपन्यासको ।
     उपन्यासमा पात्रले आफ्नो कारावास रिहाइको निम्ति सर्वोच्च न्यायलयमा हेबियस करपस रिट दायर गर्ने प्रयास गरिएको देखाइएको छ। संयोगवश नेपालको सर्वोच्च न्यायलय गठन गर्न एक सिक्किमेलीलाई नियुक्त गरिएको थियो। राणा शासनको समाप्ति पछि नेपाल फेरि शाहवंशीय शासनाधीन भएको थियोे । न्याय व्यवस्थापनको निम्ति सर्वोच्च न्यायलय गठन आवश्यक थियो । त्यसकाल नेपालमा विधि शास्त्रमा उच्च अध्ययन गरेका नेपालमा कोही पनि थिएन । यसैले विधिशास्त्रमा उच्च अध्ययन गरेका र नेपाली भाषा बोल्न सक्ने भनी सिक्किमबासी हरिप्रसाद प्रधानलाई राजा त्रिभुवनले सर्वोच्च न्यायलयको प्रमुख न्यायाधीश नियुक्त गरेका थिए ।
    1960को दशकमा भद्रपुर हवाई अड्डाको वर्णन चाखलाग्दो रहेको छ। एयर पोर्टको कार्यलय भनेको  खरले छाएको झोपडी थियोे र सानो कोठा मात्र भएको । त्यहाँका कर्मचारीहरू बेञ्छीमा बसेका थिए र उनीहरूको अघि पुरानो टेबल थियो । त्यहाँ आउने यात्रीहरू गोरु गाडीमा आउथे । यस हवाई अड्डामा मेरो निजी अनुभव पनि यस्तै रहेको छ। 1994 मा  काठमाडौंबाट भद्रपुरको हवाई यात्रा  गरेको थिएँ। त्यतिबेला हवाई अड्डा कार्यलय च्यादरले छाएको सानो घर थियो । हवाई पट्टीको नाममा खेतको लामो गरा जस्तो मात्र थियो त्यहाँ कुनै निर्माण भएको जस्तो केही थिएन । बैलगाडीमा यात्रा गर्नु पर्ने अवस्था भने थिएन किनकि सडक बनेको थियो र हामी गाडीमा काकरभित्तासम्म आएका थियौँ ।लेखकले दलबहादुर नेपालबाट निस्कासन भएर फर्कँदाको  पनि सुन्दर रुपमा देखाइएको छ बाटोको दृश्य ।काठमाडौंबाट थानकोटको बाटो हुदै पालुङ र त्यसपछि 8200 फिट उँचाइमा बसेको सामभञ्ज्याङ पास र देखिन लाग्छ दामनको टावर । त्यहाँबाट पुरा हिमालय श्रखंलाको सुन्दर  दृश्य देखिन्छ । त्यहाँबाट उह्रालो झरेर सात घुम्तीमा पुगिन्छ र त्यसपछि हेटौंडा शहर । हिटौडाबाट बीरगजंको पूलमा दलबहादुरलाई पुलिसले गाडीबाट उतारेर रिक्सामा चढाएर रक्सौल निकास गरिदिन्छ । 1969मा यो पक्तिंकारले पनि यो बाटोको यात्रा तय गरेको थियोे र यो दृश्य त्यस्तै थियोे जस्तो यहाँ देखाइएको छ।
    लाल बहादुर बस्नेत सिक्किमको एक प्रसिद्ध र प्रतिष्ठित व्यक्ति हो । केही दशक अघि सम्म उनलाई नचिन्ने र सम्मान नगर्ने विरलै पाइन्थ्यो सिक्किममा । उनको जन्म 27 दिसम्बर 1926मा पूर्व सिक्किमको नाजिताम बस्तीमा भएको थियो। उनले किगं जर्ज रोयल इण्डियन मिलिटरी कलेज जलन्दर,बाट शिक्षा हासिल गरेका थिए र पन्जाब विश्वविद्यालयका स्नातक हुन। आफ्नो सेवा पहिला सेनामा शुरुवात गरेका थिए तर सेनाको समस्यालाई लिएर उनले उठाएका आवाजको कारण उनी कोर्ट मार्सल भए र सैन्य सेवाबाट निस्कासित भए। उनी निराश भएको देखिन्छ । यो विरक्तिपन निराशाको कारण  उनी हिमालयतिर लागे । एक त्यागीको जीवनमा रहे। निकै वर्ष पछि घर फर्केर आए।  त्यसपछि सिक्किम आएर  सिक्किमको लोक सेवामा पसेर मेजिस्ट्रेट भए । त्यहाँबाट पनि राजिनामा दिए ।नेपाल गए जहाँ उनी थुनुवा परे र त्यसपछि देश निकाला भए । फेरि सिक्किममा आए अनि सक्रिय राजनीतिमा भाग लिए। उनले  कलकत्ताबाट प्रकाशित हुने अङ्ग्रेजी साप्ताहिक पत्रिका Now मा धारावाहिक रुपमा Democracy  in Sikkim शीर्षकमा  तीन लेखहरू छपाए। यही लेखहरूलाई आधार बनाएर सिक्किमको तत्कालीन सरकारले 1966ंमा उनीमाथि देशद्रोहको आरोप लगाएर जेल हाले। पछि एक लाख रुपैयाँको जमानी रकमको धरौटीमा रिहा भए। 1969मा उनले सिक्किम जनता पार्टीको गठन गरे र यस दलको प्रथम सभापति उनी थिए ।
1974मा उनले "Sikkim: A Short Political History" पुस्तक प्रकाशित गरे । कुनै सिक्किमेले लेखेको यो पहिलो इतिहास  थियोे । हुनत सिक्किमको तेस्रो राजा छाग्दोर नामग्याल ले सिक्किमको इतिहास लेखेको थियो जो भोटे भाषामा थियो । तर छापामा यो कहिले आएको देखिएन र यसको अनुवाद पनि प्राप्त छैन । एक प्रकारले सिक्किमको इतिहास एक सिक्किमेले लेखेको यो पहिलो प्रयास भन्न मिल्दछ।
यस पुस्तकको श्रखंलामा उनले अर्को पुस्तक लेखेका थिए जसको शीर्षक रेप अफ सिक्किम भनी विवादास्पद रहेको थियोे र पछिबाट यसलाई " Sikkim: Merger With India" भनिएको थियोे । लेखकले यो किताब छपाउन भनी पाण्डुलिपि लिएर दिल्ली जाँदा बागडोगरा हवाई अड्डामा पश्चिम बगांलका सुरक्षाकर्मीहरूले त्यो पाण्डुलिपि खोसिदिए र यो पुस्तक प्रकाशनमा पाबन्दी लगाइयो । यसरी यो किताब अझैसम्म छापिन सकेको छैन । तर पछि जसले यो किताब पाण्डुलिपिमा पढेका थिए उनीहरूको भनाइ अनुसार पश्चिम बगांलको प्रसिद्ध पत्रकार र Statesman को सम्पादक  सुनन्द के दत्तारेले लेखेका "Smash and Grab: Annexation of Sikkim" किताबको मुख्य स्रोत  बस्नेतको त्यही पाण्डुलिपि रहेको दाबी गर्दछन।
1980मा उनको एकमात्र उपन्यास His Majesty's Paying Guest छापियो ।
यसपछि उनको नेपालीमा "धर्मछाडा" कथा सग्रंह छापियो । यो नेपालीमा लेख्ने उनको पहिलो प्रयास हो। यसमा सकंलित केही  कथाहरू अङ्ग्रेजीमा लेखिएका थिए । ती मध्ये एक कथा Apostate शीर्षकमा  बीबीसी वर्ल्ड सर्भिसबाट
बाट प्रसारण भएको थियोे ।  अर्को कथा मुम्बईबाट प्रकाशित हुने प्रसिद्ध अङ्ग्रेजी मासिक पत्रिका Imprint मा छापिएको थियोे । साठीको दशकमा उनले कालिम्पोङबाट प्रकाशित हुने अङ्ग्रेजी साप्ताहिक समाचार पत्र Himalayan Observer मा धेरै लेखहरू लेखे। यसको सम्पादकीय लेखे। सम्पादक पनि भए ।
1979मा उनी सिकि्म जनता पार्टीको टिकटमा गान्तोक निर्वाचन क्षेत्रबाट चुनाव लडे र विजयी भए। उनलाई सिक्किम लेजिस्लेटिभ एसेम्ब्लीको डिपुटि स्पीकर बनाइयो। आफ्नो राजनैतिक यात्रामा सबैभन्दा ठूलो सफलता यही रह्यो ।
आफ्नो कार्यकालको समाप्ति पछि यो पार्टी छोडे र सिक्किमको गोर्खा लिग दलबाट चुनाव लडे तर सफलता हासिल भएन।
यही काल पछि उनको अर्को पुस्तक चर्चामा आयो "Gorkhas of India" भनेर । यो किताब लेख्न उनलाई निकै परिश्रम गर्नु परेको थियो। यो विस्तृत अनुसन्धानमा आधारित लेखन हो। यसको निम्ति उनले निकै स्थानहरूको भ्रमण विभिन्न स्रोत सामग्री खोज तलाश गर्नु परेकोले निकै धनराशि व्यय भएको थियो । पूर्व मुख्य मन्त्री स्वर्गीय नरबहादुर भण्डारीसितको यस  कलमकारको एक भेटघाटमा उनले भनेका थिए यो किताब लेख्नुको लागि उनले बस्नेतजीलाई आर्थिक सुविधा प्रदान गरेका थिए भनेर ।  विभित्र व्यक्तिको हातमा परेको र प्रकाशन अधिकार लिएको हल्ला भए तापनि यो पुस्तक पनि प्रकाशनमा आजसम्म आउन भने सकेन । अमृत योञ्जन , काठमाडौं , नेपाल , को सूचना अनुसार उनले नेपालको खाम्पा विद्रोह माथि पनि एक लेख लेखेका थिए तर त्यो प्रकाशित भएको पाइदैन ।
    लालबहादुर बस्नेत धेरै भाषाका ज्ञाता थिए। उनी नेपाली र अङ्ग्रेजी बाहेक उर्दु, पंजाबी, हिन्दी र फ्रेन्च भाषाहरुमा पोख्त रहेका बताइन्छ ।
यस कलमकारको बस्नेतजीसित व्यक्तगत भेटघाट वा वातचित कहिल्यै भएन। उनीसितको मेरो स्मृति भने बाल्यकालदेखि रहेको छ।
रगंली बजारमा एकदिन हल्ला भयो आइतबार एउटा मिटिङ हुदैछ पार्टीको र लालबहादुर बस्नेत आउदैछ भाषण गर्न। ठूला बडा सबैले यसै भन्दै थिए । मलाई त्यसको खास चासो त थिएन कुन पार्टी के मिटिङ?? रगंली बजारमा आइतबारको दिन हाट लाग्छ र हामी केटा केटीहरूको निम्ति त्यो ठूलो कुरा हुन्छ । बजार बिचमा वर र पिपलको विशाल वृक्षहरू थिए। बरको रुखलाई छेकेर ढुंगाको मचान बनाइएको थियोे र त्यहीँ त्यसप्रकारको सभाहरू हुन्थ्यो । मलाई एउटै चासो थियोे लालबहादुर बस्नेतलाई एकपटक हेर्ने ।
दिउँसो बाह्र बजेतिर भाषण शुरु भयो । सबैले खसाक खुसुक गरेर कानेखुसी गरे लालबहादुर बस्नेत त्यही हो त्यही हो भनेर ।त्यतिबेला मैले एक अग्लो गोरो मान्छे देखेँ। मैले अन्दाज लगाएँ लालबहादुर बस्नेत भन्ने मान्छे खासमा गोरा अङ्ग्रेज रहेछ। तर नाम चाहिँ किन नेपाली र कसरी नेपाली बोल्न सकेको । मलाई उदेक लागिरहेको थियो ।
      उनीसँग जम्का भेट मेरो 1975 तिर पाक्योगमा भएको थियोे । त्यतिबेला हामी रगंली र गान्तोकको यात्रा एसएनटी बसमा गर्थ्यौ। त्यो बसमा जहिले भीड  हुन्थ्यो पेसेन्जरको। बसको कुनै निर्दिष्ट Parking point थिएन र पेसेन्जर जता सुविस्ता पर्यो त्यही चडने र झर्ने गर्थ्यो। यसले गर्दा बस आफ्नो निर्धारित समयमा कहिले पनि आफ्नो गन्तव्य स्थानमा पुग्न सक्दैन थिए जहिले ढिलो हुने । त्यो दिन पनि रगंलीबाट हिडेको बस पाक्योगंमा ढिलो पुगेको थियो। यही बसलाई पर्खेर बसीरहेको थियो बस बिसौनीमा लालबहादुर बस्नेत । उनको पुस्तकका ठेली थियो। मोटो मोटो थिए किताबहरू। एउटा किताब भियतनामको ईतिहास थियोे । अर्को किताब के थियो पता लगाउन  सकिनँ। उनी बस किन यति ढिलो भनिरहेको सुनेर मैले भनेको थिएँ बाटै पिछे पेसेन्जर चडछन उत्रन्छन यसो रोक्दै रोक्दै बस ढिलो भइहाल्छ ।उनले चासो नलेको जस्तो गरी मुन्टो फर्काए।
    1986-87 तिर यस पक्तिंकार दिल्लीमा एक सरकारी कार्यक्रममा गएको थिए। यो अफ्रो एसियाली प्रोग्राम थियो कमनवेल्थ नेशन कार्यक्रम अन्तर्गत । त्यतिबेला कमनवेल्थ नेशन थुप्रै कार्यक्रमहरू हुन्थे विभिन्न स्तरमा । यो विभित्र कमनवेल्थ राष्ट्रहरूमा पूर्वनिर्धारित योजना अनुरूप भेटघाट सभा कार्यक्रम आदि हुन्थ्यो । म सिक्किम सरकारको विभागीय प्रतिनिधि भएर गएको थिएँ। यो उच्च स्तरीय नभइ मध्यम स्तरीय सभा थियो। जब म कार्यक्रम स्थलमा पुगे मैले त्यहाँ धेरै अफ्रिकी मूलका प्रतिनिधि आएको देखेँ। शिष्टाचार स्वरूप मैले आफ्नो परिचय राख्दै गएँ ती विभिन्न सदस्यहरू माझ। त्यहाँ घाना, मोजाम्बिक,टान्जानिया, नाइजेरिया , दक्षिण अफ्रिका, केन्याका प्रतिनिधिहरू थिए । जब केन्याको प्रतिनिधिसित हात मिलाएर मैले म सिक्किम भारतबाट आएको हुँ भने उनलेे आफ्नो अनुहार उज्यालो बनाएर भने " So you are from the land of Mr. Basnet !" यो सुन्दा म चकित भएँ। कसरी जान्यो उसले लालबहादुर बस्नेतको नाम वा कसरी पायो परिचय उ त सिक्किममै छ? यसैले मैले सोधेँ उनलाई " How did you know him?" उनलेे हासेँर भने "I saw him when he came to Kenya some years earlier. His speech in the parliament was covered by all the Kenyan papers . He had become quite famous in our country ." यसपछि मैले अन्दाज लगाएँ। केही सिक्किमका समाचार पत्रले डिप्युटी स्पिकर लालबहादुर बस्नेत केन्यामा कमनवेल्थ नेसन्सको स्पिकर्स कनफरेन्समा भाग लिन गइरहेको समाचार छापेको थियो । तर त्यसको फोलोअप समाचार भने केही देखिएको थिएन। यसप्रकारको अन्तर्राष्ट्रिय समाचार सिक्किमको समाचार पत्रमा थोरै छापिन्छ। कुनै कुनै ले आफै प्रेस विज्ञप्ति मार्फत आफ्नो समाचार छापेको अर्कै विषयको कुरा हो। मेरो जानकारी अनुसार आफ्नो भाषणले अन्तर्राष्ट्रिय स्तरमा कुनै सिक्किमेले प्रभाव पार्न सकेको यो पहिलो घटना थियो । अर्को सिक्किमेली व्यक्ति जसले अन्तर्राष्ट्रिय स्तरमा छाप छोडन सकेको थियो उनी हुन केशवचन्द्र प्रधान । पुष्प र जैवविविधतामा आफ्नो योगदानको निम्ति उनको नाम रहेको छ। पर्यापर्यटनको अधारणाको विकास गर्ने विश्वका प्रमुख पात्रहरूमा उनको पनि नाम आउँदछ। तर कसैले प्रधानको नाम लिएर सिक्किमलाई सम्बोधन गरेको भने याद छैन ।
लालबहादुर बस्नेत एक सुन्दर र आकर्षक व्यक्तित्व भएको विद्वान थिए । उनको शारीरिक रुप उनले वर्णन गरेको पात्र(दलबहादुर ) जस्तै थियो। दलबहादुर काठमाडौं जाँदा भद्रपुर हवाई अड्डामा पुग्दा त्यहाँ रहेका अन्य यात्रीले यसरी देखेका थिए
"All eyes turned upon the stranger , who looked so conspicuously out of place in the small airstrip among the people waiting for the plane. He was 5 feet 10 inches tall, which gave him an imposing height among the short statured Nepalese. He was 25 years old and had a splendid figure , which showed to his advantage in his cream coloured bush shirt and light brown terylene trousers. His sued shoes matched the trousers. He had a fair complexion, glowing with health and vitality. He moved with the ease and grace of a trained athlete. His handsome features, and his whole bearing gave the unwary onlooker the false impression that he was a European from the warmer, southern part of the continent."
बस्नेतको जीव डाल र रुपरगं त्यस्तै थियोे जसरी यहाँ पात्रको बर्णन गरिएको छ। युवाकालमा उनी एक उच्च कोटिको फुटबल खेलाडी रहेको थियोे । अतिआत्मविश्वासी पनि रहेको देखिन्छ र आफ्नो आकर्षक व्यक्तित्वको पूर्ण लाभ उठाएको चर्चा सुनिन्थ्यो। सायद उनी एक प्लेबय प्रकारका थिए ।
समय अनुसार उच्च शिक्षा, सम्पन्नता सबै रहेतापनि उनी बारम्बार जीवनप्रतिको मोह र सासांरिकताप्रति उदासीन रहन चाहेका देखिन्छन। सैन्य जीवनबाट मुक्त भएपछि उनी हिमालयमा गएर एकान्त जीवनमा रहेका थिए निकै वर्षसम्म। फेरि फर्केर आएर पारिवारिक जिम्मेवारी सम्हालेर रहे ।
1985 मा चुनावमा असफलता पछि फेरि केही साल भित्रै उनी हरिद्वार गए एकान्त जीवन जिउन त्यहाँ रहेका अन्य साधु सन्तहरूको साथमा। निकै वर्षहरू बिताए हरिद्वारमा।आफ्नो जीवनको अन्तिम कालमा उनी हरिद्वारबाट फर्केर आए आफ्नो परिवार माझँ। सिक्किमको यस विलक्षण प्रतिभाको जीवन लीला 5 मई 1998 मा समाप्त भयो। उनी त्यसबेला आफ्नो पुत्रको नाम्ची, दक्षिण सिक्किम,  स्थित घरमा रहेका थिए।

Comments

Popular posts from this blog

अगमसिहं गिरी (युद्ध र योद्धा ) आलोचना

             युद्ध र योद्धा : एक पठन                          पेम्पा तामङ      अगमसिहं गिरी भारतीय नेपाली साहित्यमा सर्वाधिक चर्चामा रहेको कवि हो। उनलाई मूलतः स्वछन्दतावादी कवि र जातीय कवि भनेर आलोचकहरूले चिनाएका छन भने कही कही अस्तित्ववादी भनी परिचय दिएको छ। उनका प्रारम्भिक कविताहरू भावनात्मक र करुणामय थिए यसैले उनलाई दुखवादी पनि भनिएको  हो। गिरीका कविताहरू आम चलनको भाषामा लेखिएका र प्रतीक र बिम्वको जडान थोरै रहेका छन। सरल , सहज र बोधगम्य रहेको हुनाले आम पाठकबीच लोकप्रियता बडी रहेको थियो। जीवन , मृत्यु , दुख , बिरह उनका कविताको भावलहरी रहेको छ। कल्पनाको निर्बाध उडान र जीवन परान्मुख रहेको मानिन्छ। जीवनलाई यसरी हेर्ने दृष्टि छायावाद र स्वछन्दतावा भनेर चिनिन्छ। हुनत छायावाद र स्वछन्दतावाद यी बाहेक अन्य पनि हुन। स्वच्छन्दतावादको प्रवर्तक विलियम वर्डस्वर्थको लेखन सिद्धान्त कविताको भाषा आम मानिसको बोलीको शैलीमा हु...

Circle of Karma -Bhutanese novel review

Circle of Karma   Authored by Kunzang Choden, a native of a small village in Bumthang District in  north-central Bhutan, Circle of Karma is the first English novel to emerge from the land of the druk (Bhutan),   the mythical dragon. Published in 2005, the novel instantly courted fame far and wide, and has since been translated into several languages. The novel had been short listed for the prestigious Elle Prix des Lectrices too. Choden was born in the year of the druk , or the year of the dragon, corresponding to 1952 in the Gregorian calendar. Since Choden was born into a prosperous family, her parents sent her to a convent school in Kalimpong when she was nine years of age. Choden recounts the initial difficulty she encountered in the school because, as is prevalent in Bhutan, she did not have a surname attached to her first name. Moreover her father’s name was Kunzang Dorje and the Reverend Mother of her school refused to believe that the father an...

Poetry of Puja Upadhyay

             दुई शब्द भूमिकाको                           पेम्पा तामङ      नेपाली साहित्यमा सर्वाधिक लोकप्रिय विधा कविता हो र सर्वाधिक रचना यसैमा देखिन्छ। कविता एक यस्तो विधा पनि हो  जसले कवि अनि रसिक दुवैलाई आकर्षित गराउँछ। कविलाई अनिवर्चनीय आनन्द बोध गराउँदछ कविता सृजनामा। यसैले पनि कवि शब्द सुधाको धारा बहाउन चञ्चल रहन्छ। हुनत कविता व्यक्ति र समाजमा जोडिने एक सेतु पनि हो। नेपाली कविताको पहिलो कविता मानिने सुवानन्ददासको लेखनलाई हेर्नु हो भने कविता एउटा त्यस्तो सशक्त माध्यम हो जसको सहाराले एक निरीह व्यक्ति सर्वशक्तिमानसित  संवादमा रहनुसक्दछ।   कुनै पनि कविताले व्यक्तिलाई एकदेखि अनेकमा पुर्याउने क्षमता राखेको हुन्छ। कविता एक परम्परा निर्वाह हो। कुनै पनि कवि अनेकौं पुस्ताको प्रतिविम्ब हुन्छ , चाहे त्यो रूपमा होस , विचार वा दर्शनमा होस या फेरि फगत भाषिक परम्परामा। तर कुनै कविताले परिचय त्य...