वैरागी काईंलाका कविताहरू
: पेम्पा
तामङ
कवि परिचय
वैरागी काइँला नेपाली साहित्यको अति विशिष्ट कवि हुन। थोरै कविता लेखेर धेरै प्रसिद्धि हासिल
गर्ने र नेपाली साहित्यले जन्माएको श्रेष्ठतम प्रतिभामा एक भनिन सकिने अत्यन्तै गम्भीर
कविको रुपमा चिनिन सकिन्छ ।उनको आधिकारिक नाउँमा तिलविक्रम नेम्बाङ रहेतापनि
न्वरानको नाउँ ओझङ हाङ हो। उनको जन्म वि स १९९६ तद अनुसार सन् 1939 को सितम्बर
महीनामा मेची अञ्चलको पाँचथर जिल्ला अन्तर्गत पौवा सर्ताप गाउँमा भएको हो। माता
सरस्वती र पिता खडग बहादुर नेम्वाङको काइला छोरा हुन्। प्रारम्भमा स्वअध्ययनबाट
शिक्षा ग्रहण गरेपछि ईलामको श्री पद्मोदय आदर्श विद्यालयमा प्रवेश लिए । यही
विद्यालयमा प्रवेश लिँदा आफ्नो न्वरानको नाउँ ओझड नराखी एक नयाँ नाम तिलविक्रम
लेखे। सातौँ कक्षा सम्म यस विद्यालयमा शिक्षा आर्जन गरेपछि उच्च अध्ययनको निम्ति
दार्जिलिङ आए । दार्जिलिङ पढने क्रममा
जाडो महीनामा उनी झापाको बुधबारेमा झरेका थिए । त्यहाँ उनको ठुल्दाई भूविक्रम
नेम्वाङले ईश्वर वल्लभ लिएर आएका थिए र
वल्लभसित परिचय भयो जो मित्रतामा परिणत भए । बल्लभसित मित्रता भइसके पश्चात् १९६०को पछि
इन्द्रबहादुर राईको सम्पर्कमा आए। सन् १९६१मा उनलेे आफ्ना दौँतरीहरूसित
मिलेर एक साहित्यिक प्रतिष्ठान खोले । प्रतिष्ठानको अध्यक्ष उनी थिए र सचिव
ईश्वरवल्लभ। यसका कार्यकारिणी सदस्यहरूमा तारा कार्की , आर.बी. प्रधान , नरा
गुरुङ र चन्द्रजित थिए । यस सँस्थाले
१९६१मा एउटा पत्रिका प्रकाशित गर्यो - " फूल पात पत्कर"। तर यो पत्रिका
दुई अकं मात्र निस्केर बन्द भयो ।
सन् १९६२ मा वैरागी बिमार भएर अस्पताल भर्ना हुनुपरेको थियो ।
इन्द्रबहादुर बहादुर राई र ईश्वर वल्लभ दिनहुँ उनलाई भेट्न अस्पताल जाने गर्थे ।
यो भेटघाटमा साहित्यिक चर्चा चलिरहन्थ्यो। अरु भन्दा नौलो केही गर्ने सोँच यही
भेटघाटमा भयो र यो अभियान एक पत्रिका मार्फत प्रकाशमा ल्याउने निर्णय लिइयो ती तीन
साहित्यकारहरूबाट। पत्रिकाको नाम राखियो "तेस्रो आयाम " र यसको सम्पादक
वैरागी काइँला रहने। नभन्दै "तेस्रो आयाम" १९६३ मा प्रकाशित भयो । यही
पत्रिकामा प्रकाशित भएको थियोे उनको प्रसिद्ध कविता "मातेको मान्छेको भाषण
मध्यरात पछिको सडकसित"। यस पत्रिकामा निस्केका अन्य कविता र आयामेली
सिद्धान्तमाथि उनका लेखहरूले वैरागीको प्रसिद्धी र विवाद दुवै चुलियो।
उनी 2010-2014 को प्रज्ञाप्रतिष्ठान नेपालको कुलपति थिए।
काइँलाका कृतिहरू
तिलविक्रम नेम्वाङ साहित्यमा वैरागी काइँलाको उपनाम लिएर आएका थिए ।
यही नाममा कविता , गीत र लेखहरू लेखे। काइँला तर ईश्वरवल्लभ र इन्द्रबहादुर राई
झैँ उर्वरशील भएनन्। थोरै कविताहरू लेखे । हुनत सृजनशील लेखनमा अधिक सक्रियता
नदेखिए तापनि उनी निष्क्रिय रहे भन्ने होइन । लिम्बू भाषा, संस्कृति र परम्पराबारे
विषद अनुसन्धान अध्ययन र दस्तावेजिकरण गरे। हालैमा उनलाई अर्पण गरिएको जगदम्बाश्री
पुरस्कार उनको यही अवदानको निम्ति प्रदान गरिएको थियो। उनका प्रकाशित कृतिहरू
यसप्रकार छन्
1 वैरागी काइँलाका कविताहरू (कविता सग्रंह) (वि स-2031)
2. अन्धा मान्छेहरू र हात्ती
( कविता सग्रंह) (वि स-2068)
3.किरात जागरण गीत (अनुवाद ) (वि स -2038)
4. महागुरु फाल्गुनन्दका उपदेश तथा सत्यहाङमा पन्थका भजनमाला (वि स 2047)
5. लिम्बू जातिमा कोख-पूजा (वि स - 2049)
6. ईर्ष्या तथा आँखी डाहीको आख्यान (वि स - 2051)
7. प्रेतात्माको आख्यान तथा अनुष्ठान (वि स - 2051)
8. ससिक मुन्धुम : आख्यान र अनुष्ठान (बि स 2052)
9. नवकोइट मुन्धुम (बि स 2060)
10. माजिङ्गा खेयोङ्ना मुन्धुम (बि स 2070)
11. लाहाडोङ्ना सुहामफेबा मुन्धुम
( बि स 2070)
12. नामसामी केसामी मुन्धुम (बि स 2070)
13. तोङसिङ तोक्मा मुन्धुम
14. पाजाङबा मुन्धुम
15. खापुनामा मेलोडघाङमा नु लुपलिनामा
वादान्नामा मुन्धुम
16. याकथुङ हुप्पान (लिम्बू व्याकरण )(सहलेखन)
उनले दुई पत्रिका सम्पादन गरे
1. तेस्रो आयाम (2020)
2. याक्थुङ् साप्सक् नु साक्धिम , काठमाडौ , (2049)
प्रथम प्रवाह
कवि वैरागी काइँलाका कविताहरू तीन चरणमा बाट्ँन सकिन्छ
१. प्रेम कविता /गीत/ मुक्तक
२. आयामेली/ उच्चाधुनिक
३. नववामपन्थी धारा
एक ग्रन्थाकार कृतिको रुपमा प्रकाशित उनको पहिलो कृति हो
"वैरागी काइँलाका कविताहरू" जसको प्रथम सस्कंरण साझा प्रकाशनले वि स
२०३१ मा निकालेको थियोे । यस सकंलनका कविताहरू दुई खण्डमा विभाजित छन
(क) मेरो हजुरका कविताहरू
(ख) मातेको मान्छेको भाषण र अन्य कविताहरू
"मेरो हजुरका
कविताहरू" खण्ड उनका प्रारम्भिक कविताहरू हुन्। यसमा १५ वटा छोटा लामा
गीत/कविता छन्। यस खण्डका सबै कविताहरू प्रेमिल छन्। यी कविताहरूमा "हजुर
" शब्द माथि काइँला एक वक्तव्यमा भनेका थिए यो शब्द उनले लिम्बूवान क्षेत्रका
तरुणी लिम्बूनीहरूले प्रयोग गर्ने शब्दबाट लिएका हुन। यसैले हजुर सम्बोधन कुनै
शालीन उच्च वर्गीय वचन नभएर ती ग्रामीण महिलाहरूले आम प्रयोगमा ल्याएको शब्द हो।
यसबाट बुझिनु पर्दछ यी कविताहरूमा चलाइएको हजुर सम्बोधन आदरार्थी नभएर साधारण
मात्र हो। यसैले यहाँ हजुर भनिनु साधारण सर्वनाम हो र यसले तँ तिमी तपाईं जस्ता
कुनै पनि सार्वनामिक सम्बोधनको रुप हुनसक्छ ।
"चिया पिइसकेर उसको घरबाट हिड्ने बेलामा"
आज मेरो हजुर-को
दर्शनार्थ- धृष्टता गरौँ कि भनेर
यी- यसरी गुण्डिएर आएको थिएँ
यहाँ वक्ता आफ्नी प्रेमिकालाई भेटेर चिया पिएर हिडन लागेको दृश्य छ। चिया
पिउने बहाना मात्र हो लक्ष्य चाहिँ प्रेमिकालाई भेट्न आएको हो। यो भेटाईलाई
"गुण्डिएर" भनिएको छ। ग्रामीण परिवेशमा बोलीमा शिष्टता हुदैन र प्रेम हो
वा विवाद भइरहेछ त्यसको अन्तर स्पष्ट देखिँदैन । यसैले गुण्डा शब्द रहेको छ। तर
यहाँ गुण्डा शब्दले प्रेम चोर्नेको अर्थ सहज बोक्न सक्छ ।
औँलाहरू चुमेर
औलाहरू चुमेर औँलाभरि सलाम ।
मेरो हजुरलाई आँखाभरि सलाम।
यस कवितामा एक प्रेमी प्रेमिकासितको मिलन र त्यो प्रेमिल मिलनको
प्रतिक्रिया देखाइएको छ। यसलाई प्रख्यात संगीतकार गायक अम्बर गुरुङले संगीत भरेर
स्मरणीय गीतमा परिणत गरेको छ।
औटोग्राफ
मेरो अटोग्राफको
गुलाबी पन्नाभरि मुस्कान पोखिदिएर
अझ गुलाबी गुलाबी बनाइदिनु भएछ।
विद्दुतीय संचारको विकास हुन अघि किशोर किशोरी र तरुण तन्नेरीहरू माझ
एकार्कासित सम्बन्ध र प्रेमालाप पत्राचार प्रमुख भए जस्तै अटोग्राफ राख्ने र
लेख्ने प्रचलन थियो । यो कविताले यो त्यस कालको प्रतिनिधित्व गर्दछ।
"मेरो हजुरका कविताहरू" खण्डका स्मरणीय कविता रहेको छ
" मेरो मायाको नयाँ सस्कंरण"। समयको परिवर्तन साथ भाषा परिवर्तन हुन्छ
सम्बोधन फरक हुन्छ । पुराना परिपाटीका भनाइ अब बेसुरा, मिठासरहित लाग्छ । यसैले ती शब्दहरू नवीनीकरण गरिनु
पर्दछ। पुस्तकको नयाँ सस्कंरणमा संशोधन
गरिए झैँ माया झल्काउने भाषा पनि संशोधन हुनु पर्दछ ।
यसै भागमा परेको अर्को सुन्दर लकविता छ " सपनाको लास"।
कविताको शीर्षकले सपनाको मृत्यु देखाए
तापनि यो सपनाको मृत्युको कविता होइन । फरक बिम्ब विधान र अभिव्यञ्जनाको नयाँ शैली
यो कवितामा देख्न सकिन्छ जो पछि आयामेली अभियानमा पूर्णत विकास भएर जान्छ ।
" गञ्जी र कमेजले ढाकेको
स्याल र फ्याउरले मात्र
अपशकुनको आवाज कराउनलाई
सम्साँझै बास बस्ने
गाउँभित्रकै यौटा बूढो ओडार- हाम्रो छात्तीलाई
अफिसको फाइलको बिटाले
अरुप्रति नदेखाई नहुने
लोकाचार र बाध्यताको धर्मसंकटले
हिर्काउँदै निर्नमतापूर्वज..
मुख पनि नधोईकन
आफ्नो आदिम अनुहार
टेबलका ऐनामा हेरेपछि
एकजना आफूलाई त साँच्चो भन्नुपर्छ
सपना त रातभरिलाई हो"
यस उद्धरणमा देखिएका "गञ्जी" "कमेज " "बुडो
ओडार""आदिम अनुहार " त्यस्ता बिम्ब भएर आएको छ जसले लेखनले पाठकलाई पात्रको शारीरिक रुपको परिचय गराउँदछ।
उसको छात्ती (ओडार) ढाक्न गञ्जी र कमेज
लगाएको छ र उसको अनुहारमा कृतिम
श्रगांर छैन यसैले "आदिम अनुहार"
। "स्याल र फ्याउरा"ले भयावह रात भएको बुझाउँछ।
इन्द्रबहादुर राईले लेखेका छन्: अनुभूति भौतिक हुन्छ ; अस्तित्व भएको
हुन्छ; चित्रात्मक हुन्छ ध्वन्यात्मक
हुन्छ।
"स्याल" र "फ्याउरा" रातको बिम्ब भएर आएको छ। यी
जनावरहरू रातमा भुक्दछ र यो ध्वनि (आवाज ) दिन बितिसकेको र मानिस शयनमा रहेको अथवा
सपनामा पुगेको बुझिन्छ। "आदिम अनुहार " नसिगांरिएको अनुहार बुझाउँछ र
यसले पाठकलाई एक त्यसप्रकारको चित्र देखाउँछ। आयामेली चित्रात्मक भाषाको प्रयोग
यहाँ देखिन सकिन्छ ।
काइँलाका यी प्रारम्भिक चरणका कविताहरू स्वच्छन्दतावादी छन्। रुमानी
भावनात्मक कविताहरू विक्षोभमय नभएर सुखमय मिलनाभिलाशी हुन्छ । रुमानी रहनु भनेकै
अनेक बाट एक हुनु हो, विभाजन होइन समागम हो। नभन्दै काव्य भाषामा सघनता देखिन
सकिन्छ यस कालमा पनि। भाषाको यही सघनता पछि गएर आयामेली कविताहरूमा सशक्तताको साथ
प्रयुक्त रहेको देखिन आउँछ ।
यो कविता एक वियोगान्त प्रेमको गाथा हो। कवि एक अन्य जातकी
प्रेमिकालाई प्रेम गर्न पुगेको देखिन्छ यसैले "लोकाचार र वाध्यताको धर्मसंकटले"
प्रेमिकालाई अपनाउन सक्दैन उसलाई दिइँदैन । यसकारण ऊ भन्छ उसको समाजमा "आफ्नो
लागि कम र अरुको लागि धेरै बाँचिदिनु पर्ने " हुन्छ । उसको प्रेमको मृत्यु
भइसकेको छ र यसको ऊ "एकलो मलामी हो।"
यस कवितामा सपना प्रेमको प्रतीक हो।
सपना देख्नु र प्रेम
गर्नु पर्याय मानिएको छ। सपना बिउँझे पछि शेष
हुन्छ प्रेम पनि त्यस्तै हो यो अचेतन अवस्थामा मात्र बाच्दँछ।
दोस्रो चरण
यस कालमा लेखिएका कविताहरू तेस्रो आयाम अभियान भित्र का हुन्। ती
कविताहरू "तेस्रो आयाम" पत्रिकामा छापिएका थिए। टि एस इलियटले लेखेका
रहेछन " The situation of poetry in 1909 or 1910 was stagnant to a
degree difficult for any young poet of today to imagine." 1960 को
दशकमा वैरागी काइँला, ईश्वर वल्लभ र इन्द्रबहादुर राईलाई त्यस समयको साहित्यलाई त्यस्तै एक उकुसमुकुस
भएको देखिन्छ । त्यो बेला जस्तो साहित्य निस्किरहेका थिए उनीहरू सन्तुष्ट थिएनन्
।यही केही नयाँ सोच्ने , नयाँ लेख्ने आयामेली साहित्यका तीनै सर्जकहरूलाई अनुभूति
भयो । काइँलाले "तेस्रो आयाम" को सम्पादकीयमा (अकं १:२, १९६३) लेखेका छन
" कोरा भावुकता प्रलाप मात्र नभएर
दायित्व बोधदेखि पलायन पनि हो। फलत: जिन्दगीदेखि पनि पलायन
हो। यस किसिमका साहित्य लेखनलाई
आयामिक शब्दमा चेप्टा भनिन्छ । किनभने तेस्रो
आयाम (गहिराई तथा विचार वा दर्शन ) हुँदैन। जीवनमाथि आस्था पनि
हुँदैन । यस्ता रचनाले आधुनिक बौद्धिकताको
भोग तृप्त गर्न असमर्थ हुन्छन् ।" काइँलाको यो विचार
टि ई ह्युम
र
एज्रा पाउण्डको मान्यता (The
emphasis that both Hulme and Pound put on "art" on thr technique of
poetry and the process by which a poem crystallized out of experience , was a
means of escape from an alternation of sentiment and morals in verse .)(The New
Poetics: C. K. Stead) सित सामञ्जस्य राख्तछ। यसैले
कविताप्रति गम्भीर भए र काव्य भाषा सजकता देखाए । आयामेली कविहरूले पुराना रुढ भइसकेका
रुपक, शब्द, अन्योक्ति, शास्त्रीय छन्द चलाएनन्। उनीहरूले कवितामा मनोवैज्ञानिक सिद्धान्त र पाश्चात्य, पूर्वीय अनि स्थानीय मिथकहरू प्रचलनमा
ल्याए जो नेपाली लेखनमा यस अघि थिएन । विषयवस्तु भन्दा काव्य भाषाप्रति अधिक जोर दिए। यसले गर्दा एक मौलिक काव्य सिद्धान्त र नवोन्मेषी
लेखनको उन्नयन भयो । आयामेली कविहरूले पाठकको रुचि अनुरुप कविता लेख्न
रुचाएन बरु यसप्रकारका कविता पढुन भनी निर्देशित गरे। यही कारण यी कविताहरू
क्लिष्ट रहे, अबोध्य भाषा देखियो। आयामेली लेखन अवधारणा एज्रा पाउण्डको बिम्बवादी
घोषणाको प्रथम घोषणा वस्तुगत
वा मनोगत दुवैको प्रत्यक्ष
चित्रण गर्ने सित मेल खाएको देखिन्छ । (Direct treatement of the
"thing" whether subjective or objective)
काइँलाका यही कालमा निस्केका केही कविताहरूमा "मातेको मान्छेको
भाषण:मध्यरातपछिको सडकसित" सर्वाधिक चर्चित छ। "मातेको
मान्छे..." र "पर्वत"
कविताका विषयवस्तुमा सामान्यता देखिन्छ । यसैले यी दुई कविता पश्च अथवा श्रखंला
मानिन सकिन्छ ।( "मातेको मान्छेको भाषण...." कवितामाथि एक बेबाकको
विवाद सृजना गरिएको देखिन्छ ईश्वर बरालद्वारा। उनले आफ्नो लेख "साहित्य औ कलामा
मौलिक उद्भावन औ वाह्य प्रभाव" मा यो बंगाली कवि शक्ति चट्टोपाध्यायको कविता "से
बडो सुखेर समय नय, से बडो आनन्देर समय नय" बाट प्रभावित भनिएको रहेछ। यसैलाई टिपेर
सरोनारले हालै एक लेख लेखेको छ जसमा उनले बरालको विचार पुष्टि गरेको छ। केही
मित्रको सहयोग मार्फत यो कविता हात पर्यो मूल बंगाली भाषामा। यसको अनुवाद नेपाली भाषामा
गरेर पढियो । पढदा थाहा लाग्यो ईश्वर बरालज्युले यसतो दावी कसरी गर्नु भयो त्यो आश्चर्यजनक
नै रहेछ किनकि यी दुवै कविताको भाव एकदम फरक र कविताको संरचनामा केही पनि सामान्यता
देखिन्न। यसमाथि एक विस्तृत लेख अलग राख्ने विचार गरेकोले यो मुद्दा यहाँ यतिमै टुंग्यान्छ।)
"जो झुक्तैनन् जति डाँडाहरु,
पहाडहरु
टेक्दै झुकाउँछु प्रत्येक पाइलाको सघांरमाथि
मेरो सडकमाथि"(पर्वत)
"यहाँको वातावरणको निम्ति
यहाँको निर्जीवताको निम्ति
यहाँको व्यवस्थाको निम्ति
मेरो रक्सीको गन्धले भिजेको निश्वास पनि
आज, ठूलो आँधीसरह भइसकेको छ
सडकका दुवैतिर लाम लागेका यी
आलिशान भवनहरु
आफ्नो जगसहित आफ्नो कमजोरी माटोमुनि गाडिदिनु
अब, अब, अब लडनलाई तयार छ।"
( मातेको मान्छेको भाषण ..)
यी दुवै कविताशंमा परिवर्तन
र भविष्यमुखी अभिलाषा रहेका छन। "सडक" दुवैमा दोहोरिएको छ र यो प्रतीक
यहाँ वैचारिकताको निम्ति प्रयुक्त छ । "पर्वत"मा डाँडाहरु
पहाडहरु अर्थात विघ्न वाधा वा पुरानो असगंत धारणालाई बझुकाउने भनिएको छ। "यहाँको वातावरणको निम्ति,
यहाँको
निर्जीवताको निम्ति, यहाँको व्यवस्थाको निम्ति ........अब, अब,
अब लडनलाई
तयार छ"। "पर्वत" कवितामा रहेको
डाँडाहरु पहाडहरु यहाँ "मातेको मान्छे.." कवितामा
"वातावरण, निर्जीवता, व्यवस्था" चिन्हिन्छ।
कविताको संरचना भने यी दुई फरक देखिन्छ। बिम्ब
आयोजन "पर्वत"को भन्दा "मातेको
मान्छे ...."आकर्षक छ। "मातेको मान्छे " भनेता पनि ऊ एक चेतनशील
बौद्धिक पात्र हो। ऊ मात्नु मद
पदार्थले होइन तर बौद्धिकताले
मातिएको हो। उसलाई आफ्नो समाजको अज्ञानता अचेतनशीलता र साँगुरो
प्रवृत्तिले दिक्दार बनाएको छ।
"मात्र कोतपर्वका विजेताका
मात्र शासन गर्ने परिवारका
प्रशस्ति र वशांवली
लेखिएका नाङ्गा पन्ना जस्ता"
"कोतपर्व" नेपालको इतिहासमा ई 1846मा घटेको घटना हो। यही कालमा भएको
नरसंहार पछि जगंबहादुर राणा र राणा शासनको प्रदुर्भाव भएको हो। नेपालको इतिहासमा यही
कोतपर्व विजेताको मात्र इतिहास लेखिएको छ। कवि यसप्रकारको इतिहास लेखनलाई "नाङ्गा
पन्ना" भन्दछ। 1963मा सबअल्टर्न इतिहास लेखन र यस सिद्धान्त विकास भएकै थिएन।
सबअल्टर्न इतिहास लेखन शुरु भएको 1980 को दशकमा रणजित गुहा र उनका मित्रहरुबाट भएको हो। काइँलाले यहाँ सबअल्टर्न इतिहास लेखनको
शंखघोष गरेको देखिन्छ , पूर्वाभास भएकोछ।
"कोलम्बसको पैताला" प्रतीक यो कविताको केन्द्रीय चिन्ह हो। कोलम्बसले
एउटा नयाँ संसारको खोज गरे र विश्वमा ठूलो परिवर्तनको आँधी आयो । यस्तै परिवर्तनको
आवश्यकता रहेको कवि मान्दछ यो युगमा पनि।
"अश्वमेघ यज्ञका घोडा खेदेर विश्वविजयमा बडेका
सगरका ए शापित सहस्रदश पुत्र हो!
आकाशबाट बोतलको स्वर्गङ्गाको जल
भगीरथको आस्थाले छर्किरहेछु तिमीमाथि,"
वाल्मीकि रामायणको उपकथा सगर राजाको अन्योक्ति यहाँ कविले राखेको वर्तमान
समाजको "निर्जीवता" "व्यवस्था" "वातावरण" परिवर्तनको
निम्ति हो। भगीरथले जसरी आफ्ना पूर्खाहरुलाई मुक्ति दिलाउन सके कवि आफ्नो
आव्हानबाट सचेतना ल्याउन चाहन्छ।
विश्वमा नारीवादले अति प्रभावशाली रुप लिनसकेको 1980 देखि पछि मात्र हो।
यस अघि नारीवाद रहेतापनि त्यति सशक्त थिएन आन्दोलन थिएन। यद्यपि नारीवाद दर्शाउने एक
सशक्त कविता " विवाहित क्लर्क युवतीको डायरी : अन्य पुरुषमा"
यो सकंलनमा परेको छ। वैरागी काइँलाले 1960 को दशकमा नै नारीवादी लेखनको उपस्थिति
यहाँ अंकित गरेको यसले प्रमाणित गर्दछ।
"एकान्तको अजिङ्गर" कविको आत्मकथात्मक कविता हो। काइँला 1963को प्रारम्भिक
महीनामा सिकिस्त बिमार भएर अस्पतालमा भर्ना भएको थियो। आफ्नो यही
अस्पतालको एक कोठाको अनुभव यस कविताशंमा
देखिन्छ :
"बन्द गरेर राखेको यौटा कोठा छ
अस्पतालको सुन्सान-सुन्सान यो कोठाभित्र
कालो-कालो धमिलो-धमिलो
कानको जाली फुटाउने असह्य नीरवता छ।"
हाट
भर्ने मानिस
काइँलाका आयामेली कविताहरुमा "हाट भर्ने मानिस " विशिष्ट छ।
माइकल हटले गरेको नेपाली कविताहरूको अङ्ग्रेजी अनुवादमा यो कविता परेको छ। काइँलाको
कविता लेखनको चर्चा गर्दै लेखेका छन काइँला कविता लेख्दा एकै झमटमा नलेखेर धेरै
समय लगाएर लेख्छन्। कति कविता लेख्न महीनौँ लगाउछन। काइँलाको कविताहरुमा खाप माथि खाप
बिम्व हुन्छन र अर्थ भित्र अर्थ लुकेको हुन्छ । यसैले ती कविताहरु क्लिष्ट,
अबोध्य
र कविताभित्र रहेका बिम्व निरर्थक पनि हुन्छन् । "हाट भर्ने मानिस" कविताको
संरचना कठिन छ। अनेकन प्रयोगात्मक प्रत्ययहरु प्रयोगमा गरेका छन्। तथापि कविताको मुख्य
चेतना र अर्थ भने स्पष्ट छ।यो कविता आधुनिक मान्छेको अति भौतिकता र मूल्यहीनताप्रति
व्यंग्यात्मक प्रहार हो। "हाट भर्ने मानिस"को अर्थ आम मानिसलाई भनिएको
हो। "हाट" शब्दले बजार बुझाउँदछ जहाँ किनबेच हुन्छ , सबै
प्रकारका मान्छेहरुको भीड हुन्छ । हाटमा बस्तुको मोल भाव हुन्छ मान्छेको होइन । मान्छेहरु
ग्राहकमात्र रहेका हुन्छन् ।
कविताको पात्रलाई यहाँको शून्यताले पिरोलेको छ र सबै शून्य देख्छ
"हो, यौटा-यौटा शून्य
अनि बस, ठूलो शून्य "
ऊ क्रुद्ध हुदँछ र यो शून्यता भगं गरेर हरियाली ल्याउन चाहना हुन्छ
"च्यातेर मञ्जुश्रीका तलवारका तीखा औँलाहरुले
यो शून्य पोखरीलाई , चोभारमा
प्रत्येक दौडिरहेका क्षणको
बाकी फलाऊँ लहलह"
मिथक कथा अनुसार काठमाडौं उपत्यका एक विशाल पोखरी थियो र मञ्जुश्रीले
तलवारले काटेर पोखरीको पानी बहाएर आवादी योग्यको भूमि बनाए। यहाँ मञ्जुश्रीको प्रतीकको
प्रयोग बाँझोपन र शून्यता मेटाउन ल्याइएको छ।
उसले देख्छ मानव इतिहास रक्तरञ्जित छ। ऊ पराजित छ।
"इतिहास घिसार्दछ
कमीज च्यातिउञ्जेल इतिहासको पन्नाभित्र
आङमा नङ्ग्याएर कोतरिएको मानचित्र
रगतपच्छे
हिरोसिमाको
पराजयको साइनबोर्ड "
मान्छेको जीवन निरर्थक निराशाजनक भएको छ बरु यतिबेला मृत्यु सहिद
जस्तै सम्मानजनक छ
"हो, मृत्यु त सम्मान हो"
उसलाई लाग्दछ यति घोर निराशामा पनि तर मरुउध्यान देखिन्छ कतै ।
" यो यौटा ओएसिस"। तर त्यो हरियाली पनि यथार्थ नभएर भ्रम (mirage)
हो किनकि
यो " फगत प्रतिबिम्बित " हो।यो "फुक्का । स्वाधीन ।निरुद्देश्य"
छ। जीवनको निरुद्देश्यता विसगंतवादी चिन्तन हो। "पूर्व परम्परा अनुसार
मानवजाति बौद्धिक प्राणी रहेको र यो प्रजाति एक बोध्य ब्रम्हाण्डमा बस्दछ ,
उनीहरू
निर्दिष्ट सामाजिक संरचनामा रहन्छन् अनि पराजयमा पनि बीरता र आत्मसम्मान कायम राख्दछ।" (एम एच
अब्रम्स: विसगंत साहित्य; साहित्यिक शब्दकोश)
। तर आधुनिक मान्छे यस्तो देखिँदैन । उ एक अनजान संसारमा बाच्दँछ। यो जीवनको कुनै
अर्थ, मूल्य वा सत्यता छैन । यसैले शून्यता छ सर्वत्र।
विसगंतीबाट पुन: सार्त्रको श्रपित स्वतन्त्रतातिर फर्कन्छ
ऊ। सार्त्र भन्छ मान्छे स्वतन्त्र हुन श्रपित छ। उसलाई यो स्वतन्त्रताले आनन्द
दिदैन
"उफ! कति उदास उदास बाच्दँछन।
उफ! मुक्ति पनि यस्तरी खल्लो र उदास हुन्छ ।"
उसलाई याद छ ऊ स्वतन्त्र छ र आकाशसम्म पुग्न चाहन्छ। तर " कतै आकाश
नभेटेर , असन्तुष्ट र अपमानित" भएर "बीच बाटामै" अलझिन्छ। अब ऊ
निराश छ ऊ हताश छ र अपमानित मान्छ किनकि उसको " शिर ढलिसकेको" छ।
कवि द्वन्द्वमा अवतरण हुन्छ
"यद्यपि आफूलाई युद्धमा पठाउँछु"
यो कुनै अर्को व्यक्ति वा दुश्मनसित नभएर आफैसितको युद्ध हो विद्रोह
हो।
"पड्काउँछु भिसुभियस र बाली
आगोको लपलपाउँदो बाढीमा होमिदिनु"
उसको युद्धले "सुकाउँछन् नील नदी" र अस्तित्व मेटाइदिन्छ।
"श्रापित आँखाहरू" मान्छेको बिम्ब हो। युद्ध जारी रहन्छ र यसको भयानकतामा
सर्वत्र आगो फैलिन्छ र त्यो आगोमा "जीवनको होम" गरिन्छ ।
कवि यसपछि महाभारतका प्रकरण बिम्बात्मक रुपमा उतार्छन
"यी हाट भर्ने मानिसहरूलाई
च्याप्प समातेर आँखामा ,
निहुँ खोज्नु अनि पिटिदिनु
झाँपट झाँपट गीताको!
यस चोकमा
एकछिन रोकेर सूर्यलाई
क्यान्भ्यासको पल्लो छेउमा, कुरुक्षेत्र, जिन्दगीमा।"
गीता, सूर्य रोक्नु (युद्ध लम्ब्यानको निम्ति घाम समयमा डुब्न नदिनु ) र कुरुक्षेत्र
महाभारतबाट लिइएको हो।
यस उद्धहरणमा कविले श्याम ब्यग्यं ( डार्क ह्युमर) पनि प्रयोग गरेको
देखिन्छ
" निहुँ खोज्नु अनि पिटिदिनु
झाँपट झाँपट गीताको"
यो कविताको वैशिष्ट्य यहाँ रहेको चित्रमय भाषा पनि हो।
"क्यानभ्यासको पल्लो छेउमा, कुरुक्षेत्रमा, जिन्दगीमा ।"
क्यानभास शब्दले यहाँ विश्वलाई अँगालेकोछ यसैले पल्लो छेउ अर्थात एक ठाउँमा
(पुरै विश्वमा होइन ), त्यो पल्लो छेउ कुरुक्षेत्र हो, कुरुक्षेत्रको युद्ध
जिन्दगी हो जीवनमरणको निम्ति हो। प्रत्येक व्यक्तिभित्र कुरुक्षेत्र हुन्छ ।
"निर्वासन" काइँलाका कविताहरुमा स्वरलहरी भएर रहेको खुट्याइएको छ
इन्द्रबहादुर राईले । उनले लेखेका छन "पाँचथर, पौवा सारतापमा जन्मेर
उहाँको शैशवले मात्र आफ्नो घर र आँगनमा उफ्रिन पाई युवाकाल इलाम र दार्जिलिङमा
पढेर , होस्टलहरुमा खाएर निर्वासित बित्छ।" (वैरागी काइँलामा निर्वासन)।
"...आक्रमण गर्नु प्रत्येक उपत्यकाभित्र
अनि उझेलिदिनु प्रत्येक आँखामा
मलाई निर्वासित गर्ने उदासीनताका सीमास्तम्भ"
वीरत्व देखाउन सक्ने उसको "आँट" छैन, खुकुरी
खिया परिसकेको छ।जोश र उत्साह जगाउने "इन्द्रीयहरु मारिरहेछु"। यसैले "उफ!
कति साधारण मृत्यु ।"
काव्य युक्ति प्रयोग गरेर नयाँ रुपक(मेटाफोर) ानिर्माण गरेको छ
"गोली नभेट्टाएर गान्धीको छातीमा
खरीको बोट नभेट्टाएर टुँडिखेलमा
काँटी नभेट्टाएर जेरुसलेमका गल्तीहरुमा"
गान्धी = (गोडसेले हानेको ) गोली
टुँडिखेल = खरीको बोट (खरीको बोट टुँडिखेलको प्रतीक थियो जो उखेलिएको
छ, र अहिले छैन )
जेरुसलेम (यीशु ख्रिष्ट) = काँटी
मृत्यु = तक्षक
यहाँ अन्त्यानुप्रासको प्रयोगले यसको आलङ्कारिकता र ध्वन्यात्मकता श्रवनप्रिय
बनाएको छ।
"हाट भर्ने मानिस" कविताको सार हो यो कविताशं
" मलाई झण्डै छोएर जाने
पर....पुगिसकेको कालो मोटरसित
मृत्यु , आज जिन्दगीको छेवैतिर भएर गयो
सानो दुर्घटनाको खुद्रा पैसाले पनि नकिनेर
यो जिन्दगी
मृत्यु , आह बजारबाट खाली हात गयो।"
मान्छेको जीवनको मोल खुद्रा पैसा जति पनि छैन। यहाँ जीवन भन्दा मृत्यु
मूल्यवान छ तर त्यो मृत्युबाट पनि वञ्चित छ मान्छे ।
मान्छेको रगतको मूल्य कुहुन लागेको आलुको मूल्य जति मात्र छ। त्यही
सस्तो मोलको रगत बेचेर उसले आफ्नो अस्तित्व समेट्दछ।
अस्तित्वको
दावीमा साबातको बैला उत्सव
मुन्धुमको तकनिक प्रयोग गरि लेखिएको उनको अति विशिष्ट कविता हो "अस्तित्वको
दावीमा साबातको बैला उत्सव"। कविता ध्वन्यात्मक शब्द " झङ झङ..."
बाट
प्रारम्भ हुन्छ । कवि वैरागी काइँला लिम्बू समुदायको भएको र लिम्बू रीतिरिवाज र सस्कृंतिको
एक विशेषज्ञ भएको कारण उनलाई फेदाङ्गमाबारे पूर्ण जानकारी छ। फेदाङ्गमा लिम्बू
जातिको कुनै पनि शुभ वा अशुभ कार्य सम्पन्न गर्ने विशिष्ट क्षमता भएको व्यक्ति हो।
उसको व्यक्तिको भूत र भविष्य दुवै देख्न सक्ने पराभौतिक शक्ति हुन्छ। नेपाली
समाजका विभिन्न जनजातिहरुमा धामीझाँक्री, बोम्बो, बिजुवा, बुङ्थिङ,
फोमपो
पाइन्छ। अङ्ग्रेजी शब्द Shamanism भित्र यी सबै ज्ञान समेटिन्छ। भिन्दा भिन्नै
नामले जानिए तापनि सबैको लक्षण विधि मोटामोटी रुपमा समान हुने गर्छ। ती सबैले कुनै
न कुनै प्रकारको विशिष्ट वस्त्र आभुषण लगाउँछ। ढ्याङ्ग्रो, थाल वा कुनै
वाध्ययन्त्र प्रयोग गर्छ। सबैमा कम्पन
छुट्छ। अङ्ग्रेजी शब्द shaman को अर्थ काम छुट्नु हो। काम छुटेपछि फेदाङ्गमा
सचेत- अचेत अवस्थामा पुग्छ। यो अचेत अवस्थामा पुग्नु पराभौतिक अवस्थामा पुग्नु
हो।यही पराभौतिक अवस्थामा पुगेपछि फेदाङ्गमाले रोगीको रोग निदान गर्न सक्छ उसको भूत
भविष्य बताउने क्षमता प्राप्त गर्छ।
कवितामा फेदाङ्गमाको
नृत्य र उसले फलाकेको मुन्धुमको ध्वनि आउँछ। पाठकको अघि त्यो सम्पूर्ण दृश्य झल्किन्छ
। साहित्यमा यस्तो तकनिकलाई मन्त्रोच्चारण (incantation) भनिन्छ । यसको परिभाषामा
भनिएको छ फर्मुला बद्ध शब्दहरुको प्रयोग द्वारा जादुमय प्रभाव पार्नु र भावनात्मक
ताप तीव्र गराउनु (A formulaic use of words to produce a magical effect and
to create an intensifying emotional temperature.)(A Dictionary of Literary
Terms: J.A. Cuddon)
यस्तो प्रयोग शेक्सपियर, बेन जोनसन प्रभृति लेखकहरुले गरेका थिए।
नेपाली साहित्यमा विरलै देखिन्छ । अघि महाकवि देवकोटाले लोक सस्कृंतिलाई साहित्यको
मूलधारमा प्रयोग गरेका हुन तर यसप्रकारको पराज्ञानमूलक (esoteric) स्रोत भने छोएका देखिन्न।
कवि वैरागी काइँलाको यो काव्यात्मक उच्चारण कुनै फेदाङ्गमाले फलाकेको
होइन तर सृजनात्मक अनुकरण हो। यद्यपि यसको विश्वसनीयता र प्रभाव तुलनात्मक रुपमा विचार
गर्न सकिन्छ ।
"बाँधेर जन्तरले
लम्बाई, चौडाई र उचाई रातको,
रेखी हालेर बिजाक्षरहरुको, वरिपरि आयतन जिन्दगीको
बूढो रुखको झोल्लिएको लोतीभरि पाखामा
हामी जो छौँ युक्लिप्टसका झ्याङहरु
नाचौँ नाचौँ ....अकाल र बैलाहरुको विरुद्ध ।"
फेदाङ्गमा जस्तै तामङ जातिमा बोम्बो हुन्छ र गसले पनि फलाक्छ। डा डेभिड
होमबर्ग एक तामङ विशेषज्ञ हुन् र उनको किताब "Order in Paradox" मा बोम्बोले
फलाकेको वचन उतारेका छन:
सूर्य किरणको बीचमा
आभुषित बोम्बो म होइन
चन्द्र किरणको बीचमा
मैले वस्त्र लगाएकोछु
जब सबै सास फेर्ने र हिडडुल गर्ने सुत्दछ
जब घाम सुत्दछ
म बोम्बोको वस्त्र लगाउँछु
आउ मेरो बोम्बोको शरीर लैजाउ
आउ सुनौलो घोडा लैजाउ
आउ चाँदीको घोडा लैजाउ
आकाशको बाटो भएर उडौँ"
(अङ्ग्रेजीबाट अनुवाद : स्वयम्)
यी दुई तुलना गरेर पाठ गरे दुवैको प्रभाव समान देखिन्छ। मन्त्रको लयमा
एकरुपता रहेको छ।
कविताको संरचना मुन्धुमकै बुनोट
र बनावटमा छ। "झङ झङ ...." वाद्य यन्त्र मुन्धुमको उठान हो फेदाङ्गमाले आफ्नो
ईष्ट देव आव्हान गर्नको निम्ति । पहिलो सोह्र पंक्तिमा आह्वान छ सम्बोधन गरेको छ। कुन
विषयको निम्ति अनुष्ठान राखिएको छ त्यसको खुलासा गरिएको छ। यो अनुष्ठान " अकाल
र बैलाहरुको विरुद्ध " " अनस्तित्वको विरुद्ध " र " आफैभित्र पनि
निर्वासनको विरुद्ध " को निम्ति राखिएको हो।
यो आव्हान सकिएपछि दोस्रो चरणमा ध्वनि हुन्छ । एक लामो पंक्ति सानो अक्षरमा
राखिएको छ जसले फेदाङ्माको धीमा आवाज प्रतिनिधित्व गर्छ । थानमा इष्ट देवता आएको सूचना
हो यो। यतिबेला त्यहाँ हल्ला गरिनु हुँदैन । यसपछि २७ पंक्तिको कविता छ जो अर्चना हो
। एक पंक्ति काल मारण मन्त्र छ
" ॐ नम: काल स्वाहा: शत्रु भष्मी कुरू स्वाहा:"
तेस्रो चरणमा दृश्य चित्रण छ। उन्मत्त भैरवको अघि स्वास्नीमान्छे मृगासनमा
छे। भैरवको जिब्रो बाहिर निस्केको छ। त्यो स्वास्नीमान्छे पुजारिनी हुन र आफ्नो
देवताप्रति पूर्ण समर्पित छिन्।
लिम्बू मिथकीय कथा छ। आमा तिगेनजोङना चिन्ताग्रस्त छे उसका दुई
छोराहरू एक बाघ र एक मान्छे बीच द्वन्द्व
चलिरहेको छ। उ चामलको दानाले जोखाना हेरिरहेकी छे कसको पराजय हुन्छ ।
इतिहास दोहोरिन्छ र फेरि खलनायकहरु फर्केर आउने सम्भावना हुन्छ "इतिहासमा
फेरि पछिल्तिरबाट"। "गेस्टापोका प्रेत आङ चडाएर" "पुरोहित"
आउँछन र "फेरि झुक्याइदिएछन इतिहासलाई"। यो बाँझोपन र यो बञ्जर भूमि उर्वर
हुन सकिरहेको छैन किनकि " बिउहरु" चुहेको छ। भूमिलाई मलिलो वनाउने "तुहिए
वृष्टि" यसैले "तुहिए सृष्टि "।
यो उजाडपनमा हरियाली छाउने छैन किनकि यसको सम्भावना " बाँधा फल खुवाएर
त्यस पापी साँपले।" वञ्चित भइसकेको छ। यो बाइबलीय मिथक हो। साँपको आग्रहमा
आदम र ईभले वर्जित फल शेवन गरपछि मान्छेको ह्रसन भएको थियो।
"क्षीर सागरको गर्भ उधिनेर जितेको फूल
त्यो अमरत्वको फूल, चोरेर
फेरि झुक्याएको छ गिलगमेशलाई, हिज
त्यस पापी साँपले
हरे, जीवनबाट उम्कन असमर्थ छन् मानिस ।
स्वतन्त्र , केवल स्वतन्त्र हुन मानिस असमर्थ छब्।"
कविले मिथकलाई मिश्रण गरिदिएको छ र ती मिथकलाई एक नयाँ सन्दर्भ अनि अर्थ
प्रदान गरेकोछ। क्षीर सागर मन्थन गरिएको हो उधिनिएको होइन । क्षीर सागरबाट फूल होइन
अमृत निस्केको हो। अमरत्वको फूल लिन गिलगमेश गएको हो। गिलगमेश झुक्किएको होइन साँपबाट।
यश लेखनमा तीन स्रोत उल्लेख छन
(१)
क्षीर सागर = पुराण (समुद्र पुराण र भगवद
पुराण)
(२)
गिलगमेश = गिलगमेशको महाकाव्य ( उरुक देशको
राजा, मेसोपोटामिया)
(३)
साँप = बाइबलीय साँप ( आदम र इभलाई साँपले झुक्याएर
वर्जित फल खुवाएको थियो)
मानिसले क्षीर सागर मन्थनबाट
निस्केको अमृत खानु पाएन। गिलगमेशले अमरत्व खोज्न गए तर पाउन सकेन। मानिस ईश्वरसित
स्वर्गमा रहने क्षमता साँपले झुक्याएर वर्जित ख्वाए पछि समाप्त भयो।
"फर्केको छु ---साबातबाट निधार घिसारेर उरुक निवासी
रित्तो हत्केला र छालाभरि मृत्युको डाम टाँचा मारेर।"
उरुक निवासी गिलमेशलाई भनिएको हो। उ अमरत्वको खोजीमा गएको थियो तर पाउँन
सकेन "रित्तो हत्केला" फर्केको छ।
"अश्वत्थामाको प्रहारले फेरि गर्भ तुहिएको छ मेरो
आह! मुक्ति मेरै गर्भमा तुहिएछ कि!"
कवि यहाँ मान्छेको मुक्ति जन्म अघि नै तुहिएको बताउँछ। मा्न्छे स्वतन्त्र
र मुक्त हुन सकेकै छैन ।
यो एक कविताभित्र पत्र पत्र भिन्न मानवीय छटपटाहट देख्न सकिन्छ । मान्छेले
आफ्नो मुक्तिको निम्ति गरेका उपाय र मार्गहरु। दोस्रो स्तरमा उनले मान्छेको
सम्पूर्ण जीवनको दृश्यसत्तावली देख्छ । अन्तिम
चरणमा जीवन भग्न पिरोलिएका देख्छ त्यहाँ कुनै उपाय काम लाग्दैन । घोर निराशा छ।
प्लाञ्चेटको टेबल
प्लाञ्चेटको टेबल शब्द बहुल अर्थमा राखिएको छ। यो एक सामान्य टेबल हो।
यो टेबल इतिहास हो। इतिहासको मञ्च हो। सम्पूर्ण बिश्व हो। काव्यका गति अनुसार यसको
अर्थ परिवर्तन भएर गएको छ।
कविताको प्रारम्भ थकाइ मारेको दृश्यबाट भएको छ।
"आह! थाकेको छु!"
"धेरैवटा युद्धविराम" अथवा धेरै युद्ध र विराम हुँदै अब
"बिसाउने मन गर्छन् "।
"कुइनाले थिची वर्तमानलाई टेबलमाथि" ऊ आफ्नो इतिहास सम्झन थाल्छ
। "खण्डहर" बनिसकेको छ "अनुहार" र ती प्राचीन अजन्ताका स्तम्भहरु
झैँ "विवश" छन्।
आफ्नो इतिहासको सबै घटनाहरु बुझ्न चाहन्छ हेर्न चाहन्छ यसैले "फुकाउँछ
आवरण"। कागजको आविष्कार हुन अघि ताडपत्रमा लेखिन्थ्यो प्राचीन कालमा
" ताडपत्रमा यौटा यौटा शताब्दी सुकाएर"
"महत्वाकांक्षाहरु" "उदास" छन किनकि ती "आत्म-पीडनको
सम्मोहनमा" छन्। यसैकारण "जिग्गुरत र कोणार्कको" पत्थरहरुमा चित्रित
नग्न महिला जस्तै नग्न हुन चाहन्छ। घटनाहरु कुनै पनि गुप्त नराखी पारदर्शी बन्न चाहन्छ।
उसले देख्छ मानिसको आवादी वृद्धि साथै गाउँ मासिएर शहर फैलिरहेको छ र
"रोयल काउस्लिप" "ओन्दोङ" फूलहरु "निलिरहेछ"
कुनै विजयी सेना आएर उसलाई पराजित
बनाएको देख्छ। त्यो विजयीले हुँकार गर्छ:
"म आएँ
मैले देखेँ
मैले जितेँ।"
यी तीन वाक्यहरु मूल रुपमा रोमन साम्राज्यको जुलियस सिजरले भनेका भनिन्छ।
यो लेटिन भाषाको "विनी; विदी; विची" को अङ्ग्रेजी अनुवाद "
I came, I saw, I won" को नेपाली अनुवाद हो।
"प्रतिध्वनित सुन्दछौँ बाजेका कानले, हिज
आकाश वाणी
सावधान नाउ खोप्न थाल
सावधान नाउ खोप्न थाल
सावधान नाउ खोप्न थाल"
यो बाइबलीय मिथकीय कथन हो। बाइबलको उत्पत्तिको कथा अनुसार महाजलप्रलय
हुन आटेको थियो । यो जलप्रलयबाट बचाउन ईश्वरले उसको प्रिय सन्तान नोवालाई सावधान
गर्दछ। नोवाले एक विशाल नाउ बनाउछ जसलाई नोवाको आर्क भनिन्छ । यो माथिको "सावधान
....." यही ईश्वरद्वारा गरिएको सावधानी हो।
कविताले यसपछि मोड लिन्छ र भन्छ "भाग्नलाई तैयार हामीहरु,
यस भूमिबाट"।
मान्छेको यायावरीय स्वभावलाई देखाइएको छ।
जहिले भागिहिडने " कायर र निर्धाहरु" भनेर धिक्कार्छन।
कवि भन्छ मान्छे सधै पराजित छ र अब उसको अस्तित्व अजायबघरमा मात्र छ।
उ जिउँदो छैन, संघर्ष गर्न सक्ने छैन ।
कवि फेरि आव्हान गर्दछ
" जागो ! जागो!"
"विगत मसानघाटबाट ढुङ्गा पल्टाउँदै युगको
मदत गर्नु आत्मनिर्णय गर्नु पनि असमर्थलाई"
असमर्थ भएपनि आत्मनिर्णय लिनलाई मदत गर्नु पर्नेछ
" अहो!
पेन्सिल चल्मलाई रहेछ!
टाइरासियसको चोर औली: यो पेन्सिल"
पेन्सिल चल्मलिनु भनेको केही लेखिनु हो। केही लेखिनु भनेको इतिहास
परिवर्तन हुनु हो, जीवन हो, जीवन्त हुनु हो ।
टाइरासिसको बिम्ब टि एस ईलियटको कविता "उसर भूमि " को
"फायर सरमन" भागबाट प्रेरित हो।
"I Tiresiss, though blind, throbbing between two
lives"(T.S.Eliot: The Fire Sermon; Waste Land)
टाइरासिस ग्रीक मिथकमा चर्चा गरिएको छ। टाइरासिस एक दृष्टिहीन भविष्यवक्ता
थिए "मेटामोर्फोसिस" मा एक चरित्र
छ। यस कथा अनुसार टाइरासिस पुरुष र नारी एकै शरीरमा परिणत भएको देखाइएको छ। यो शिवको
अर्धनारीश्वर रुप जस्तै बुझिन्छ । टाइरासिसको प्रतिकले यसप्रकार पुरुष र नारी दुवैलाई
सम्बोधन गर्ने एक सामान्य चिन्ह बनेको छ। तर काइँलाले टाइरासिस प्रतीक एक बृद्ध मान्छेको
निम्ति मात्र प्रयोग गरेको छ। टाइरासिसको प्रवेश पछि कविता उज्ज्वलता र भविष्यमुखी
बन्दछ। यसैले यो प्रतीक द्रष्टाको निम्ति पनि भएको छ। उत्साहजनक र रमाइला दृश्य आएको
छ:
" नील नदीदेखि गङ्गाको जलभरि तरगिंत
फूल-फूलका ओँठमा पौडिँदै आएका किरणसित
प्रात:कालीन जल-तरङ्गमा
पर्वत गाउँछन् कि त आदिम सङ्गीतका ऋचाहरु।"
वक्तालाई चेतना हुन्छ र उसले निर्णय लिन्छ उसले "अनवरत संघर्ष "
गर्नु पर्नेछ । यो "अँध्यारो " अज्ञानताको "विरुद्ध " संघर्ष गर्नुपर्नेछ
।
यो विजय "मानचित्रमा" (भौगोलिक वा मान्छे मान्छेमा होइन ) होइन
यो विचारको मानसिकताको युद्ध हो।
"म, अर्को युद्ध प्रारम्भ गर्दछु अब-
भावना अनि बुद्धिमा,
अनि समयमा
बस, समयमा ।"
उसको युद्ध समयसित छ समयको अवधारणासित छ किनकि समय वास्तविक होइन
काल्पनिक हो मानव निर्मित हो। यो चेतनामा मात्र हुन्छ। चेतना छैन भने समयको चेतना
हुदैन । भावनामाथिको युद्ध उनको आयामीले साहित्य
अडानमा सटिक मिल्दछ। आयामेलीहरुले पूर्व कालका कतिपय कविता/साहित्य भावनात्मक र च्याप्टो रहेको भनेको छ। आयामेली साहित्य
त्यसप्रकारको साहित्यबाट मुक्ति दिलाउने अभियान मानिएको छ। बुद्धि बिश्वसनीय छैन । इन्द्रबहादुर राईले लेखेका
छन " बुद्धिले समय बुझेको र चेतनाले खपेको काल तर एउटा ढाँचा (प्याटर्न) मात्र
हुनसक्छ, छाँयाहरुका बुट्टाझैं छाँया, वास्तवमा अवास्तविक। छैन र शून्य भन्नसकिने।"(
काल: तिलविक्रम काइँलाको गङ्गा-मा)
ब्रेलमा हत्केला छामेर
यस कवितालाई समालोचक अभि सुवेदीले नेपाली "मुख्य कविताहरुमा एउटा
हो" भनेका छन्। (ब्रेलमा हत्केला छामेर: शैली र बुद्धिको
उच्चाट)( सिर्जना र मूल्यांकन ) । काइँलाको क्लिष्ट कविताहरुमा यो एक बताएको छ उनले
"बुद्धिजीवीहरुको जमातभित्र मात्र पढिने"। यसलाई एक बुर्जुवा कविता पनि भनिएको
छ। बुर्जुवा कविताले यो कविता आम पाठकको निम्ति होइन र आमजनतासित सरोकार नभएको भन्ने
पनि बुझिन्छ। बुर्जुवा त्यस्तो वर्गका व्यक्तिहरुलाई भनिन्छ जसले समस्त उत्पादन
केन्द्र आफ्नो अधिकारमा राखेको हुन्छ अनि वेतनमा श्रमिक राखेको हुन्छ। (the
class of modern capitalists, owners of the means of production and employers of
wage labour)( note to the 1888 english edition of the Communist Manifesto)
( A Dictionary of Marxist Thought) यो कविता
एक त्यस्तो व्यक्तिको मानसिकताको उपज हो भन्ने अर्थ दिन्छ। यो टिप्पणी राख्न
आवश्यक देखिन्छ वैरागी काइँलाका कविताहरु पाठ गरेर बुर्जुवा कविता भनिनु उनका कविताको
अपव्याख्या हो। बुर्जुवा यथास्थितिवादी हुन्छ। कुनै परिवर्तन चाहँदैन । क्रान्ति
उसको निम्ति तिरस्कृत शब्द हो। काइँलाको कविता "ब्रेलमा हत्केला छामेर" मा वर्तमानप्रति तीव्र
असन्तुष्टि छ, परिवर्तनको आग्रह छ र मान्छेमा देखिएको जडता देखि विरक्ती छ। यो कविताले
अपरोक्ष रुपमा क्रान्तिको आव्हान गर्दछ। यसकारण
यसलाई बुर्जुवा कविता भन्न सकिन्न ।
"ब्रेलमा हत्केला छामेर" कविता "अन्धा मान्छेहरु र हात्ती"
नामक सकंलनमा सग्रंहित छ र यो कविताले सग्रंहको सम्पूर्ण अर्थ बोकेको छ। यो कवितालाई
बीज कविता भन्न सकिन्छ यो किताबको। ब्रेल र अन्धा मान्छे र हात्तीको विम्ब दुवै
स्पर्श मात्र हुन्। देखिएको प्रत्यक्षता अथवा प्रामाणिक होइन , यो अनुमान
हो, सत्य नहुन पनि सक्छ । यो अर्ध सत्य हो। मान्छेको ज्ञान अनुभव उसको बुझाई
यही अर्ध सत्य मात्र हो।
"कत्ति पुगिनँ छु
(अहा! ओलिम्पस)
कहाँबाट छामेछ स्पर्श सडकमा ब्रेल
छिछोल्दैन कि हत्केलाको उमेर
धेरै थाक गुँडुल्किएर सडकमा ब्रेल
यत्रो शताब्दी नाघेर कत्ति हिँडिनँ छु"
साहित्यलाई साहित्य भनेर परिचय गराउने वा साहित्य कस्तो हुन्छ भन्ने संकेत
कविता विधा नै सर्वोपरि हुन्छ ।(Poetry lies at the centre of the literary
experience .."(Jonathan Culler: Structuralist Poetics) (p-162)। बोलचालको
भाषा र कविताको भाषामा अन्तर हुन्छ र त्यही भाषिक अन्तरले पाठकलाई सृजनासित परिचय गराउँछ
आनन्दानुभूति दिन्छ । माथिको पदलाई हेर्नु हो भने स्पष्ट हुन्छ यो साधारण बोलचालको
भाषा होइन र व्याकरणीय लाग्दैन । "कत्ति पुगिनँ छु।" यात्रा गरेको हिडेको
धेरै भयो तर दुरी तय गर्न सकेको छैन । यसको अर्थ यो पनि हुन्छ यति हिडेर पनि उ जहाँबाट
हिड्यो उ त्यही नै छ। मान्छेले जति नै हाँक देखाए पनि उ त्यही नै छ जहाँ ऊ अघि थियो
। "अहा ! ओलिम्पस"। ग्रीक मिथकमा ओलिम्पस एक उच्च पहाड हो जहाँ ईश्वरको वास
हुन्छ। मान्छेको चाहना पनि त्यही ओलिम्पसमा पुग्ने र ईश्वर सरह बस्ने अभिलाषा हो। यद्यपि
मान्छेको यो चाहना पूर्ण भएको छैन । यो प्रविषयलाई माथि कवितामा जुन भाषिक अभिव्यक्ति
दिइएका छन यसको प्रभाव छ यही भाषिक संयोजनमा निर्भर रहेको छ। रोम्याँ जाकोब्सनले भनेको
छ चयनको धुरीबाट संयोजनको धुरीमा पुर्याइने
समतुल्य सिद्धान्त नै काव्यिक व्यापार हो ।(The poetic function projects
the principle of equivalence from the axis of selection into the axis of
combination ) (Roman Jacobson: Linguistics and Poetics)
"कहाँबाट छामेछ स्पर्श सडकमा ब्रेल "
"छामेछ" र "स्पर्श " पर्यायवाची शब्द हुन। दोहोरिएको
लाग्छ यसैले । "छामेछ" "स्पर्श " "सडकमा" को अभिदेय
अर्थ सडक छामेको हुन्छ तर यो यात्रा भनिएको हो। "सडक" र "ब्रेल "
भिन्नार्थक शब्द हुन तर यहाँ दुवैलाई एउटै अर्थ प्रदान गरिएको छ । सडकमा टेक्नु पर्छ
र ब्रेल छाम्नु पर्छ दुवैमा स्पर्शको अनुभूति हुन्छ। रिफातेरेले भनेको छ कविताले एउटा
कुरा भन्छ तर अर्थ अर्कै हुन्छ।"a poem say one thing and means
another "(जोनाथान कलरले उद्धृत गरेको) (Riffatere and the Semiotics of
Poetry)(The Pursuit of Signs)
यहाँ जस्तो प्रकार व्याकरण भन्जन गरिएको छ यसबाट भिन्न अर्थ उत्पादन
भएको छ। कविताको यो प्रक्रियालाई रिफातेरेले सुन्दर ढंगमा व्याख्या गरेको छ
"The ungrammatacalities spotted at the mimetic level
are eventually integrated into another
system. As the reader perceives what they have in common, as he becomes aware
that this common trait forms them into a paradigm and this paradigm alters the
meaning of the poem, the new function of the ungrammaticalities changes their nature,
and now they signify as components of a different network of
relationships."
उल्लेखित कवितामा भएको व्याकरण भञ्जननै यो कविताको केन्द्रीय अर्थ बनेको
छ। अभिदेयबाट लाक्षणिक उन्मुख रहँदा यस कविताले भिन्नार्थ वरण गर्न सफल बनेको छ।
कवि वैरागी काइँलाले लेप्चा मिथक कथा प्रयोग गरेर ह्रास , पतन
र मान्छेको उपलब्धिको रित्तोपन देखाएको छ
" आह.........
आफैभित्र भ त् कि न्छु
चेकता
चेकता
चेकता
चेक्ता इजिप्ट मेसोपोटिमिया चेक्ता
चेक्ठता न्युयोर्क टोकियो चेक्ता
चेक्ता का ठ मा डौँ......
(आग ओलिम्पस ! मेरा लाप्चे साथीहरू )
यो मिथकले बताउँछ लेप्चा
जातिले स्वर्ग जाने सिँडी बनाए। त्यो सिडी हाँडीले बनाइएको थियो । तिनीहरु जब आकाशमा
पुगे आकाश छेडनको लागि (कोकबिन याङतसल) भनेर अङ्कुसे मागिपठाए फेदमा बसेकाहरुलाई। तर
तल बसेकाहरुले(कोकबिङ याङताललाई) चेकता (
भत्काउनु ) भनेको सुने र बसेकाहरूले सबै भत्काइदिए। यसरी उनीहरूको स्वर्ग जाने आकांक्षा
अधुरो रह्यो ।
मानव जातिले गरेको प्रयास यही मिथक जस्तै छ। उसले इजिप्ट झै समृद्ध
सभ्यताको विकास गरे, न्युयोर्क, टोक्यो, काठमाडौं जस्तो
विशाल शहर बसाए। यी सबै निर्माण त्यही मिथकीय सिडी झैँ हो। यसले उसको सपना पूर्ण
गरेको छैन । उसको ओलिम्पसमा अर्थात बैकुण्ठमा जान सक्ने क्षमता विकास गर्न सकेको
छैन, सक्दैन पनि। यसैले ती सपनाहरूको चेकता अथवा ध्वस्त हुनु अभिषप्त छ
कविताको यस पदमा मुद्रण प्रयोग गरेर भत्किएको लडेको अक्षर देखाइएको
छ। चित्रकलाको तकनिक हो यो। यसले तर भाषाको साम्प्रेषणिक क्षमतामा पनि प्रश्न उभ्याउँछ।
भाषाको असक्षमताको यही कवितामा अन्यत्र पनि उठाइएको छ
" हत्केला -सधैंको असमर्थ छ
छामी सक्नु सडकमा ब्रेल ____
वास्तविकता
यथार्थ
जिन्दगी
?= अन्धा मान्छेहरू र हात्ती "
यो माथि "वास्तविकता " "यथार्थ " "जिन्दगी "
तीनै शब्दहरू काटिएको मेटिएको देखिएको छ। यी
शब्दहरु राखिनु अनि काटिनुले यी शब्दहरुले अर्थ वाहन गर्न नसकेको इगिंत गर्छ। शब्दको
यो रुपको दार्शनिक हाइडेगरले प्रयोगमा ल्याएको थियो । पछि डेरिडाले पनि यो विधि चलाए
"the sign is that ill-named thing" (Of Grammatology)(p-19)
यहाँ माथिको "is"र "thing" शब्दहरु
काटिएको देखाइएको छ।(भारतीय सस्कंरणमा यो काटिएको शब्द छैन, यो अमेरिकी सस्कंरणमा
मात्र छ)
गायत्री चक्रवर्ती स्पिभाकले लेखेकी छ "शब्द लेख्नु हो, त्यो लेखिएको शब्द काट्नु अनि दुवै लेखिएको र काटिएको
छापामा देखाइनु हो"( This is to write a word, cross it out, and then
print both word and deletion) यसो गर्नु को कारण हो शब्द सही छैन यसैले काटिएको हो। तर यो राख्न आवश्यक
छ र यो बुझिने भएर रहन्छ (स्पिभाक)। हाइडेगरले "बिईगं एण्ड टाइम" ग्रन्थमा
"बिईगं" शब्दलाई काटेर राखेको थियो ।
डेरिडाको "ग्रामोटोलोजी" 1976 मा मात्र अङ्ग्रेजी अनुवादमा
निस्केको हो। "ब्रेल..." कविता २०२१मा प्रकाशित भएको हो । काइँलाले
यो अवधारणा यसकारण हाइडेगरबाट प्रभावित भई प्रयोग गरेको अनुमान लगाउँन सकिन्छ ।
वास्तविकता, यथार्थ र जिन्दगी शब्दहरु काटिएर राखिएको
अर्थ यी तीन शब्दहरु वास्तविकता यथार्थ र जिन्दगीका अर्थ खुलाउन असमर्थ देखाइएको
हो। यी तीन शब्दहरुले गरेका साकेंतित (सिगनिफाइड) र संकेतक (दिग्निफायर) बीचको सम्बन्ध यादृच्छिक मात्र रहेको
यसैले अन्तिम सत्य होइन भन्ने पनि बुझिन्छ । कवि काइँलाले यस कविताको पछिल्तिरको विचार
पोखेका छन: "त्यही कवितामा मैले 'अन्धा मान्छेहरू र हात्ती ' भनेर लेखेँ
र काटेँ। आखिर यथार्थ, वास्तविकता , जीवन केही होइन रहेछ। "(कृष्ण
बरालले वैरागी काइँलासित लिएको अन्तर्वार्ता ) ( लीला, वार्ता र शरणार्थी
: कृष्ण बराल) यो अन्तर्वार्ता हेर्दा यसरी अक्षर काटेर राख्ने विधि काइँलाको
स्वतन्त्र बिधि देखिन आउँछ।
गङ्गा नीलो बग्छु
आयामेली अवधारणा उच्चाधुनिक छ। वस्तुता आयामिक लेखनमा केन्द्रमा रहेको
हुन्छ। वस्तुताले गर्दा आयामिक साहित्य सारतत्ववादी (essentialist) रहन्छ।
मूल विचार स्थिर राखेर लेखनधर्मिता बाँचेको हुन्छ। यो सम्पूर्णतावादी (totalisation)
पनि
छ। गङ्गा नीलो बग्छु कविता यो अवधारणा बाट बाहिरिएको छ। समय(काल) र दिक् (वस्तु)
को समानन्तरता अनि अन्तर्परिवर्तनीयता यसको विशेषता रहेको छ। यात्रा यो कविताको प्रविषय
(थिम) हो। यात्राले जीवन, समय, परिवर्तन सबै
समेट्छ। भूतकाल, वर्तमान काल र भविष्य यात्रामा समाहित भएको हुन्छ । यात्रा भनेपछि यात्री
कहीँबाट आएको हुन्छ जो भूत काल हो अहिले एक निर्दिष्ट ठाउँमा छ जो वर्तमान हो र भोलि
अर्को ठाउँ पुग्नेछ जो भविष्य हो। यात्रा वस्तुता हुन सक्दैन किनकि यसको "आफैंमा
हुनु" हुँदैन उसको रुप निरन्तर परिवर्तन भएको कारण। यही कारण यो कवितालाई उत्तरआयामेली
कविता भन्न सकिनेछ । गङ्गा, यात्री र यात्रा
तीन विषयहरू छन। तर यी तीनै एउटै हो र होइन दुवै स्थिति देखिन्छ । निर्दिष्ट परिचय
वा चरित्र देखिँदैन। यसैले कविता सारत्तत्वहीन
(non essentialist) छ। आधुनिकोत्तर अवधारणा पनि एक सारतत्वहीन अवधारणा हो।
कविताको शुरुमा यात्रीको प्रवेश हुन्छ तर उ नहिडेर उभिएको हुन्छ। उसको
यात्रा स्थगन भएको हुन्छ । आफ्नो गन्तव्य पुग्नु भन्दा अघि उ विश्राममा हुन्छ ।
" यात्री-
उ
भि
न्छु"
ऊ कुदेको थियो "बुद्धिसम्म भित्र बाहिर "।यहाँ बुद्धि शब्दले
हामीलाई खुलासा गराउँछ उसको यात्रा भौतिक दुरी तय गर्ने होइन यो त मानसिक यात्रा हो
मनभित्रको यात्रा हो।
यस कविता गति र विश्राम दुवै
रहेका छन् जो परस्पर विरोधी हो। इन्द्रबहादुर राईले यस कवितामा काल हेरेका छन र गङ्गालाई
कालको वस्तुगत सहसम्बन्ध ( objective correlative) भनेको छ। यसको अर्थ
के भयो भने गङ्गा समयको प्रतीक हो। गङ्गा बगेर जान्छ र काल पनि बितेर जान्छ। तर यहाँ
विश्राम पनि छ जसले समयको बहाव रोक्दछ । यात्रा र विश्राम दोलायमान छ। यो यात्रा हो
र विश्राम पनि हो। कविले यहाँ यो स्थितिलाई क्वाण्टम चरित्र प्रदान गरेको छ। अणुको
न्युनतम कणको रुप जस्तै। क्वार्ज (quartz) कण छाल (wave) जस्तो हुन्छ र कण
(particle ) जस्तो पनि हुन्छ । यसरी यो निर्दिष्ट छैन यही हो भन्ने । यो कवितामा
पनि यात्रा स्थिरता झैँ देखिन्छ र स्थिरता यात्रा झैँ । कहीँ यात्राको उत्छृङ्कलता
छ भने कहीँ वृक्ष झैँ निश्चल छ।
यात्रा
"आँखाहरु लहरले छाल कुद्दछन
मोमबत्तीको प्रकाश थोप्लाहरु पोखिँदै अविरल
रात पोखिँदै, प्रात: पोखिँदै,
दिन
पोखिँदै अविरल"
विश्राम
तर कविलाई लाग्छ ऊ यात्रामा गतिहीन छ र स्थिर अचल छ
" जलको टापु जलमय
गतिमान गतिहीन
...........
यो यहीँ छ
म यहीँ छु"
" म घायल सक्तिनँ फुकेर
घायल र प्रतिबन्धित मान्छे
एकै ठाउँ
हग्छ
मुत्छ
सुत्छ"
उसको यात्रा विश्राम र विश्राम यात्रा। यो चिन्तनको दोलायमान यात्रा र
विश्रामको वैभिन्यता मास्दँछ। दुई विपरीत धुरी यहाँ आफ्नो विशिष्टता (विभेद) मेटाउँदछ।
यसले समयको अस्तित्व प्रश्नचिन्हमा राख्दँछ।
"वर्तमान पूर्वस्मृति यो पिएर पश्चात् बगेर नदी हेर्दछ
गिलासभित्र भरि छछल्किरहन्छ"
कविताले यहाँ अर्थको अर्को घुम्ती काटेको देखिन्छ । विगतलाई (पूर्वस्मृति...पश्चात्
) हेर्छ यतिबेला देख्छ त्यो नदी नबहेर एकै ठाउँ (गिलासभित्र ) रहेको छ। जीवनमा
परिवर्तन आएको छैन । मान्छेले गरेको क्रान्ति पनि असफल छ किनकि "क्रान्ति रातो कम्बल झर्केर बिमारीले"
पन्साए जस्तो मात्र छ। मान्छे "सडकमा" सालिगले तर्साए जस्तै मात्र छ।
"हत्केलाले आलो स्पर्श टिपेर सुनौला खेलाउँछु"
मान्छेको ज्ञान भनेको छोएर चाल पाए जति मात्र हो। उसको बुद्धि पनि अपर्याप्त
छ जान्न र बुझ्न "बुद्धिले सूर्य बालेर राँकोले हेर्छ हेरेर देख्दैँन"
एउटा सुन्दर पद छ :
"हिमाच्छादित शैलशिखर टाढा उज्याला छन बाहिर
दुर्भेद्य, दुरलङ्घ्य पहाडपर्वत टाढा उज्याका छन बाहिर
उज्यालो ज्योति हल्लाउँदै डाक्दछ भित्र "
टाढोमा हिमाल देखिन्छ ज्ञानज्योति देखिन्छ तर टाढा छन पहुँचमा छैन । त्यो
ज्ञान, बुद्धि दुर्भेद्य र दुरलङ्घ्य छ। हाम्रो भित्र हामी भित्र अज्ञानताको
अन्धकार छ र त्यहाँ ज्ञानज्योति फैलाउन त्यो उज्यालोको खाँचो छ।
"फुत्केर गएको माछाको आलो स्पर्श टाँस्सिएको छ हत्केलामा
चेतनाले थपथपाउँदै आफूलाई चाल पाउँछु
एकलो उभिन्छु"
हाम्रो बुझाई स्पर्श मात्र रहेको यहाँ भनिएको छ। व्यक्ति भीडमा जहिले
एकलै हुन्छ ।
यो ठूलो संसारमा व्यक्ति सानो छ, ऊ दिशाहीन छ र उसलाई
निर्देश गर्नु पर्छ। ऊ हिडन पनि सक्दैन र घिस्रिनु पर्दछ।
"पखेटाले छोपेर भुल्टुङ म-लाई चोर औँलिदिएर
भीडभित्र डोर्याएर एक्लो उभिन्छु
म जुलस घि/स्रि/र/हे/को/छु/"
यो कविताको अन्तमा संगीत, आवाज र पानी छ। चारैतिर कोलाहलमय
परिवेश छ। जलमग्न छ। निलो छ रङ्ग आकाश र नदी दुवैको । उसलाई लाग्छ उ जलमग्न नभई अन्य
विकल्प छैन यसैले "गंगा निलो बग्छु" । कवि बताउँछ जीवन यात्रामय छ तर मान्छेमा
परिवर्तन छैन । उसको यात्रा यात्रा होइन किनकि उ कहीँ पुगेको छैन उ जहाँको तहीँ छ।
उसको ज्ञान उसको बुझाई सतही मात्र छ स्पर्श जस्तो मात्र छ अधुरो छ ।
तेस्रो चरण
नेपालको द्वन्दकाल पछि लेखिएका कविताहरु तेस्रो चरणभित्र पर्दछन्। इन्द्रबहादुर
राईले यी कविताहरु "नववाम" भनेका छन। यसमा तीनवटा सशक्त कविताहरु छन (१)
बाँकी प्रश्नहरु (२) शरणार्थी विचार र मालीगाउँमा चितुवा र (३) बाग्मती लहरले उठेर
बर्सिदेऊ।
नववाम अथवा नव मार्क्सवादी विचारधारा त्यो विचारधारा हो जसमा कार्ल मार्क्सको
सिद्धान्तलाई अझ विकसित गरेर अन्य सिद्धान्त सम्पृक्त गरिएका छन। नववाम सिद्धान्तको
बुनियाद तयार गर्ने पहिलो व्यक्ति हो एन्तोनियो ग्राम्ची। पछिबाट लुइस अल्थुसर,
म्याक्स
विबर, जर्ज लुकास, हर्बर्ट मार्क्युज, थियोडोर
एडोर्नो, होक्काइमर, बेन्जामीन फ्राकंलिन आदि नामहरु जोडिए।
नव मार्क्सवादमा अस्तित्ववाद, मनोविश्लेषण, लैङ्गिकता,
संस्कृति,
आलोचना
सिद्धान्त जस्ता मुद्दा पनि समावेश गरिएका
देखिन्छ।
ग्राम्चीको नववाम अवधारणामा सांस्कृतिक आधिपत्य विषय प्रमुख छ। बुर्जुवाले
यही संस्कृति संरक्षणको नाममा निम्न वर्गलाई दमन गर्दछ। सांस्कृतिक आधिपत्यद्वारा आफ्नो
शासन प्रामाणिक बनाउँछ । ग्राम्चीले मार्क्सको प्रोलिटेरियटको बदलामा सबअल्टर्न पद
ल्याए।
नववाममा पहिचानवाद पनि पर्दछ जो विशेषगरी तेस्रो विश्वले भोगेको समस्या
हो। यसभित्र अनेकौं पत्र छन्। जातीय, क्षेत्रीय, रङ्गभेद जस्ता
विभिन्न मुद्दाहरू यसमा समेटिन्छन्।
नववाम सिद्धान्तमा साहित्यलाई हेर्ने फरक दृष्टिकोण राख्दछ र यसले
सृजनात्मक रचनालाई सृजना नभनेर उत्पादन भन्दछ। साहित्य रचना अलौकिक नभएर भौतिक नै हो
र यो नैसर्गिक प्रभावबाट नभएर भौतिक प्रभाव भएको हो। यसैले दैविक प्रेरणा जस्तो
केही होइन। जसरी कारखानामा समान उत्पादन हुन्छ र जुन नियम अनुसार हुन्छ त्यही नियम
साहित्यिक रचनामा पनि लागु हुन्छ। कुनै पनि साहित्यिक रचना पूर्णत काल्पनिक हुन सक्दैन।
साहित्यिक उत्पादनको सिद्धान्त प्रयोगमा पहिलोपल्ट फ्रान्सेली आलोचक पियरे मेसेरेले
ल्याएका थिए । यस अवधारणालाई अङ्ग्रेजी आलोचक टेरी ईगल्टनले थप विकास गरे उनको ग्रन्थ
"क्रिटिसिज्म एण्ड आइडियोलजी" मा।
"शरणार्थी विचार र मालीगाउँमा चितुवा " यस चरणको सर्वाधिक
प्रभावकारी कविता रहेको छ। नववाम अवधारणामा रहेको साँस्कृतिक आधिपत्यको ज्वलन्त
चित्रण गरिएको छ यस लेखनमा । कविताको शुरुवात एक कवि र समाजको भिन्नताबाट चिन्हाइएको
छ
" न त म सुराकी हुँ
न त म आतङ्कवादी
न त म पत्रकार कृष्ण सेन हुँ, न त वीरेन्द्र शाह
..........
भर्खर दोरुम्बा, गौर र चन्द्रौटामा बगेको
रगतको खोला, भलबाडी र लासको पहाड नाघेर
जलाइएका घरका तातो खरानी उफ्रँदै टेक्दै भागेको, विस्थापित
,
म त स्रष्टा -सर्जक हुँ
................
स्वतन्त्र विचार र मुक्त लेखन"
कवि बौद्धिक क्रान्तिकारी हो, हतियार उठाएर हिड्ने
क्रान्तिकारी होइन । यो वैचारिक र रक्तविहीन
क्रान्ति हो। कवि बुद्धिजीवी वामपन्थी देखिन्छ जसलाई प्राज्ञिक वाम पनि भनिन्छ
। कवि कविता र समाजको अस्तित्व देखिए तापनि कलाको विशिष्टताप्रतिको आस्था बुझिनु पर्दछ।
कविताको स्वायत्तता देखाइएको छ। यद्यपि पछिल्ला चरणमा भने कवि कविता र समाजको भिन्नता मेटिएको पाइन्छ।
अवा गार्दे कला पनि कवितालाई जीवन पक्षीय बनाउने पक्षधर थिए।
१९९१ मा भारतीय अर्थव्यवस्थामा संरचनात्मक सुधार ल्याएर बजारउन्मुख नीति
बनाए पछि खेती तथा अन्य संरक्षित भूमि अधिकरणमा सरलता ल्याइयो। तर यसले युगौँदेखि बन
जंगलमा रहेर आएका आदिवासी मूलवासीलाई भने उठिबास लगायो। यहीबाट भारतमा आदिवासी
साहित्यको अवधारणा विकास भएको मानिन्छ । आदिवासी साहित्यले ती आदिवासी जनजातिहरुले भोग्न परेको
समस्याप्रति सचेतना जगाउने र शासनलाई न्यायपरक बनाउने विचार लेखनमा राख्न थाले । काइँलाको
यो कवितामा पनि नेपालको आदिवासी जनजाति समूहले भोग्नु परेको
समस्या राखिएको छ। यो समस्याको मुख्य कारण प्राग कालदेखि रहेका जनजातिको स्वतन्त्र
राज्य विभिन्न कालमा आक्रमणमा परेर आफ्नो
भूमिबाट विस्थापित हुनु परेको नै हो। यसले जनजाति जनजीवन क्षतविक्षत बनाए र उनीहरूको
स्वतन्त्रता हनन भयो। यही विषय यो कविताको अन्तर्वस्तु रहेकोले यसलाई आदिवासी
साहित्यभित्र हेरिन सकिन्छ ।
हुनत वन्दना टेटेले "आदिवासी दर्शन र साहित्य " शीर्षक पुस्तकमा
आदिवासी साहित्यको पन्द्रहवटा नियम इगिंत गरेकी रहिछ जसमा आदिवासी साहित्य आदिवासी
भाषामै लेखिएको हुनुपर्ने नियम प्रमुख रहेछ। तर वीर भारत तलवार भन्छन आदिवासीहरुले
आफ्नो जनजाति भावना सिञ्चित गरी लेखे जुनै भाषामा पनि त्यो आदिवासी साहित्य कहलाइनेछ।
आदिवासी/जनजाति साहित्यको चार श्रेणी छुट्याइएको रहेछ। गैर आदिवासी जाति वा उच्च
जातिले आदिवासीप्रति लाञ्छना लगाएर असभ्य देखाएर लेखिएको साहित्य एक श्रेणीमा
पर्दछ। दोस्रो श्रेणीमा त्यस्तो साहित्य पर्दछ जो जनजातिप्रति सहानुभूति देखाएर तर
जनजातिको जनजीवन भने केही सतही ज्ञान मात्र रहेको लेखिएको हुन्छ। अर्का थरीका लेखन
जो जनजातिसित हुलमिल भएर लामो समाय उनीहरुसित जीवन बिताएर जनजीवनमाथि
सम्पूर्ण ज्ञान हासिल गरि लेखिएका हुन्छन्। यसप्रकारको लेखनमा आदिवासी जनजीवनको यथार्थ
चित्रण देखिन सकिन्छ। चौथो श्रेणीमा त्यस्ता आदिवासी साहित्य पर्दछ जो आदिवासी समूहकै
सदस्यले आफ्नो अनुभूति लेखेका हुन्छन् । यो लेखन नै असल आदिवासी/जनजाति
लेखन हुन्छ।(वीर भारत तलवार) "शरणार्थी ....." को कवि वैरागी काइँला
जनजाति समूहकै हुनाले अनि यो कविताको विषय पनि जनजाति उत्पीडन भएको कारण यो कविता
आदिवासी/जनजाति साहित्य भन्न मिल्छ। नभन्दै हामी यहाँ एउटा कुरामा सचेत रहनु पर्दछ
भारतीयहरुको जनजाति आदिवासी परिभाषा र नेपालको जनजातिमा सटीक हुन्छ हुँदैन त्यो विचारणीय
विषय बन्दछ। भारतको आदिवासी चेतना र उत्पीडनमा पुञ्जीवाद जिम्मेवार छ। आदिवासीको जग्गा
जमिन अधिग्रहण, खनिज उत्खनन र जलउर्जा निर्माण जस्ता ठूलाठूला परियोजनाका जनजाति
आफ्नो पुर्ख्यौली भूमिबाट उत्छेद भएका र विस्थापित हुन पुगेका कारण समस्या उत्पन्न
भएको हो। नेपालमा भने बाहिरी आक्रमण, हिन्दूकरण, जातिवाद र भूमि उत्छेदनबाट
जनजाति पीडित भएको हो। यसैले नेपालको आदिवासी/ जनजाति साहित्य
दर्शन फरक धारको हुनुपर्ने देखिन्छ। काइँलाको यो कविताले नेपाली जनजातिको उत्पीडनको
जड देखाएको छ।
"हामी प्रकृतिका सन्तति, घरबार विहीन
विस्थापित शरणार्थी चिन्तन।
यो चितुवाको तन।
यो आदिवासी मन।"
नेपालको मुख्यधाराका इतिहासकार बताउँछ प्राचीन कालमा नेपाल एक सिंगो
राष्ट्र थियो र समयको अन्तरालमा यो विच्छिन्न भएको थियो । पृथ्वीनारायण नारायण
शाहले त्यो विच्छिन्न भएको राष्ट्रलाई एक बनाए। यसैले पृथ्वीनारायण नारायण शाहको विजय
अभियानलाई एकीकरण भनिन्छ । तर अर्का थरीका इतिहासकारहरु भन्छन-जसमा
इतिहासकार डा कुमार प्रधान प्रमुख छन( उनको पुस्तकको शीर्षक छ ( TheGorkha
Conquest) पृथ्वीनारायण
नारायण शाहले नेपालमा रहेका थुप्रै राजारजौटामाथि धावा गरेर उनीहरूलाई पराजय गरी नेपाल
निर्माण भएको हो। यो एकीकरण होइन विजय गरिएको हो गोर्खा सेनाद्वारा अन्य गैर
गोर्खा समूदायमाथि। पराजित समुदायमा नेवार, राई, लिम्बू,
गुरुङ
आदि प्रमुख भनिन सकिन्छ।यहाँ गोर्खा शब्द पारिभाषिक रुपमा राखिएको छ। गोर्खा
भन्नाले पृथ्वीनारायण शाह र उनका समर्थक समूह पर्दछ जसमा तागाधारी वर्ग प्रमुख छन्।
यसैले नेपालमा विजेता र पराजित दुई समूहका नागरिकहरु छन। यो कविताको वक्ताको भाव त्यही
छ र ऊ आफूलाई "परास्त भएपछि इतिहास विहीन" मान्दछ। कविताको शीर्षक "शरणार्थी
विचार र मालीगाउँमा चितुवा" कविताको सार नै छ। लिम्बू मिथक अनुसार आदिम लिम्बू
बाघ र मान्छे दुई भाइ थिए र बाघ दाज्यु ती दुईको संघर्षमा मारिएका थिए । तर त्यो मान्छे
आधुनिक युद्धमा गोर्खा सेना सित पराजित भए पछि आफ्नो राज्य र शहर छोडेर बन पस्नु परेको
छ यसैले ऊ अहिले चितुवा जस्तै जंगलमा बसेको छ। मालीगाउँमा चितुवा मारिएको थियो र त्यही
मारिएको चितुवाको प्रतीक यहाँ कवितामा प्रयोग गरिएको छ। जनजातिलाई आदिवासी,
मूलवासी
पनि भनेर चिन्हिन्छ। जनजाति आदिवासीलाई बनजंगलको सहारामा बाँच्ने पनि भनिन्छ। यसरी
उनीहरू वनबासी पनि हुन। चितुवाले यही विम्ब बोकेको छ यहाँ । यो मारिएको चितुवाले एक
पराजित चितुवा बुझिनु पर्दछ। पराजय पछि पलायन हुन्छ । पलायन भएपछि उसको आफ्नो देश आफ्नो
ठेगाना हुँदैन र ऊ शरणार्थी बन्न पुग्छ। नेपालमा आदिवासी जनजाति शरणार्थी बन्न पुगेका
छन आफनै देशमा। ऊ अपहेलित, परास्त, दलनमा छ।
वक्ता कहिले अतीतमोही बन्दछ
"उहिले आदिवासी यी जनजातिका
नजरले भ्याएसम्मको भूमि थियो असीमित ,
असीमित भूमिभित्रको-
छहरा छङछङ
हरियो वनस्पतिका सुगन्ध,
गिठ्टा भ्याकुर र कन्दमूल सबै "
"घामको न्यानो र जूनको शितल
वनको हरियालीसँगको नाता
खोलाकि कलकल र पन्छीको कलरव
हामी प्रकृतिको सन्तति
सबै समान थियो, विचारहरु थिए समान
आफ्नै वन, आफ्नै जङ्गल, आफ्नै भूमि,
चाहिँदा चाहिँदो मात्र लिन्थ्यौँ।"
तर अब सबै यी कुरा वक्ताको निम्ति अतीत मात्र हो। अब ऊ पहिला झैँ मुक्त
र स्वतन्त्र छैन । उसको भूमिको स्वामित्व अर्कैकोमा छ। ऊ षडयन्त्रमा परी जालमा फसेको
छ। उसको गाउँ , खोला, पहाड, पर्वतको नाम अर्कै भएको छ। उसले नबुझ्ने उसले नचिन्ने भएको छ।
काइँलाका अन्य कविताहरुको हारमा यो फरक छ। यो इतिवृत्तात्मक (नेरेटिव)
छ। यसमा जडान गरिएको कथा स्पष्ट रहेको छ।
१.वक्ता एक मुक्त कवि हो।
२. विभिन्न कालमा विभिन्न आक्रमणकारीहरुको चपेटामा परेर आफ्नो देश गुमाएको
छ पराजित भएर
३. उसलाई लाग्छ अब उसले आफ्नो हराएको देश पुनः प्राप्ति गर्न संघर्ष
गर्नुपर्नेछ । तर यो संघर्ष रक्तमय हुनुहुँदैन। मान्छे मारेर समस्याको हल कहिले
भएको छैन ।
४. उसलाई लाग्छ एकार्कामा वैमनस्यता राखेर आफै पनि निर्वासित हुन उचित
होइन । विगतलाई भूलेर प्रेममय वातावरण बनाउनु पर्छ सबै एकजुट भएर।
"प्रतिशोध र मानवताको युद्धमा मानवताको जीत हुन्छ" (आदिवासी
और आदिवासी साहित्य की अवधारणा : वीर भारत तलवार) किनकि मानवता नै श्रेष्ठ
धर्म हो। यसैले यहाँ यो कविता नयाँ समाजको
कल्पना गरेर समाप्त हुन्छ। आव्हान छ सबै समुदाय परस्पर हात मिलाएर प्रेमिल सम्बन्धमा
रहने ।
उपसंहार
काइँलाका कविताहरुका तीन चरण देखिन्छ । प्रारम्भिक कविता प्रेममय छन।
प्रणयपरक रहेका छन।
दोस्रो चरणमा आयामेली कविताहरु छन। यी कविताहरु प्रतीकात्मक र विम्बात्मक
देखिन्छन्। क्लिष्ट र केही अबोध्य पनि छन। आधुनिक मान्छेको संकट यी कविताहरुको मूल
विषय हो।
तेस्रो चरणमा रहेका कविताहरु नेपाल र नेपाली केन्द्रित रहेका छन्। नेपालमा
घटेको जनवादी हिसांत्मक क्रान्ति, जनजाति मुद्दा खुलेर आएको छ।
उनका कवितामा घोर निराशा छैन । उनले प्रयोगमा ल्याएका दुई विम्बहरु
"ओलिम्पस" र "निर्वासन" कविताका स्वरलहरी बनेको छ। ओलिम्पस उच्चता,
सभ्यता,
लक्ष्य
र आकांक्षाको रुपमा आएको छ भने निर्वासनले व्यक्ति र आदिवासी /जनजातिलाई
समेट्दछ। आफ्नो पुर्ख्यौली भूमिबाट उच्छेद भएको र "देश" हराएर शरणार्थी
बनेको पीडाको अर्थ बोक्दछ। यसलाई पराजयको दुख पनि व्यक्त गर्दछ। कवि आफ्नै देशमा आफू
शरणार्थी भएको आभास गर्दछ।
कवि मानवतामा विश्वास गर्ने र सबै मानवजाति एउटै मात्र नभएर मिलेर बस्न
सक्ने कल्पना गर्दछ। ओलिम्पसको विम्ब यस सम्भावनालाई इगिंत गर्दछ।
Comments
Post a Comment