महिला लेखन
पछिल्लो एक सालदेखि यता महिलाहरू लिखित केही उपन्यासहरू पढिए। "अमेरिकाना" नाइजेरियाकी चिमामाण्डा, "लस्ट चिल्ड्रन आरकाइभ" भालेरिया लुइसेली, मिल्कम्यान" उत्तरी आयरल्यान्डकी अन्ना बर्न्स, "नथिया" नेपालकी सरस्वती प्रतीक्षा, मध्यान्तर" दार्जिलिङकी पुष्प राई, "सीमान्त" विन्ध्या सुब्बा, "मनु" र "छोरी" स्नेहलता राई , " फ्लाइट्स" पोल्यान्डकी ओल्गा टोकरजुक।
उमेरको तराजुमा हेर्नु हो भने(1) भालेरिया लुइसेली (1983), चिमामाण्डा (1977) र सरस्वती (1979) समवयस्क भन्न मिल्नेछ । (2) विन्ध्या सुब्बा (1955) , अन्ना बर्न्स (1962), ओल्गा टोकरजुक (1962) र स्नेहलता (1950) हाराहारीका माने हुन्छ । (3) पुष्प राई (1940) वरिष्ठ हुन यी सबैभन्दा । यो सूचीमा (4)स्वर्गीय पारिजातको (1937- 1993)नाम यहाँ ल्याउनु पर्यो। हुनत पछिल्लो एकदुई सालमा उनको उपन्यासहरूको पुनर्पठन गरेको छुइनँ।
नारीले नारीलाई कसरी हेर्दोरहेछ भन्ने विषयमा यो तुलनात्मक दृष्टिमा एक फरक चित्र आउँदो रहेछ। चिमामाण्डा अफ्रिकी देशको भएतापनि शिक्षा अमेरिकाबाट लिएकी र अमेरिका र नाइजेरिया दुवै ठाउँमा बस्ने सर्जक हुन्। अन्ना बर्न्स उत्तरी आयरल्यान्डका भएपनि हाल लण्डनमा बसेकी छन्। लुइसेली मेक्सिकोको स्पेनी भाषाको सर्जक भए पनि हाल अमेरिकामा बस्छिन् र यहाँ उल्लेखित उपन्यास उनको पहिलो अङ्ग्रेजी भाषाको उपन्यास हो।
सबै उपन्यासहरूमा कुनै न कुनै प्रकारले नारीहरू पितृसत्तात्मक समाजमा प्रताडित देखिएका छन। पितृसत्ताको चुनौती कसरी लिएका छन यसमा भने बुनियादी भिन्नता देखिएको छ। आकर्षण यसैमा छ।
चिमामाण्डा, भासेली, ओल्गा, बर्न्स र पारिजात पितृ सत्ताको उत्पीडनको बोध गर्दछन र जय र पराजयको द्वन्दात्मक द्विचर प्रत्ययको निर्माण गर्दैनन् ।
सम्पूर्ण व्यवस्था जिम्मेवार रहेको देखिन्छ । त्यो व्यवस्थाभित्र नारी र पुरुष दुवैको भागिदारी हुन्छ । उनीहरू जीवनको रुमानीकरण गर्दैनन् । जीवन र समाजको क्रुरताको वास्तविक चित्रण राख्दछन। यो वैचारिक द्विचर ब्रन्टी सिस्टर्स भनेर चिनिने ऐमिलि ब्रन्टी, चार्लोट ब्रान्टी र एनी ब्रन्टीका उपन्यासहरूमा पनि झलक छ। चार्लोटको उपन्यास जेन आयर सुखान्त छ तर वदरिङ हाइट्समा भने एमिलि ब्रन्टी मान्छेको अध्यारो पक्षको चित्रण अधिक गरेकी छन।
सीमान्त, निर्गमन, नथिया, मध्यान्तर , छोरी, मनु उपन्यासहरूमा भने महिलाहरूको विजय स्पष्ट देखिन्छ । यी लेखनहरूबाट एउटा विचार वा सन्देश दिइएको छ नारीमा पनि क्षमता उत्तिकै छ जतिको पुरुषमा छ। अझ पुरुषले भन्दा नारीले जीवनमा बडी संघर्ष गर्नु पर्दछ भनी जोर दिइएको बुझिन्छ ।
एउटा रेखा कोर्न सकिने रहेछ पारिजात र आजका यी स्रष्टाहरू माझ। पारिजातका नारी पात्र समाज निरपेक्ष स्वतन्त्र जीवनको खोजीमा देखिन्छन् भने यी पछिल्ला कृतिका पात्रहरू समाजभित्र स्वतन्त्र जीवनको खोजीमा देखिन्छन् ।
ओल्गा टोकर्जुक, चिमामाण्डा, भासेली, स्नेहलता राई र विन्ध्या सुब्बाका लेखनमा विचार समान रुपले आएको छ त्यो हो राष्ट्रवाद। ओल्गा राष्ट्रवादी धारणाको विरोधमा लेख्छिन। भासेली र चिमामाण्डा रंगवाद र राष्ट्रवाद दुवैको विरोध गर्दछन। सीमान्त उपन्यासको पात्रा अनेपाली समुदायको पुरुषसित विहे गर्दछे। यो उपन्यासमा यो प्रकरणले बताउँछ उपन्यासको अन्तर्वस्तु जातिवाद र त्यसैले राष्ट्रवादको विरोधमा अवस्थित छ भनेर । स्नेहलता राईको मनु उपन्यासको मुख्य पात्रा रोजगारको निम्ति विदेश पलायन हुन्छिन् । विदेश पलायनमै बेपत्ता हुन्छिन् । विदेश पलायन हुनु पर्ने मानसिकता राष्ट्रवादको विपक्षमै हुन्छ । छोरी उपन्यासको मुख्य पात्रा नन्दिनी विदेशीसित विहे हुन्छ। यसबाट निष्कर्ष निस्कन्छ यो राष्ट्रवादी होइन भनेर ।
Comments
Post a Comment