मार्क्सवादी आलोचना सिद्धान्त
टेरी ईगल्टन(1943) विश्वविख्यात मार्क्सवादी आलोचक हुन् । उनी साहित्य सिद्धान्तका व्याख्याता पनि हुन् । उनको Marxism and Literary Criticism(1976) मार्क्सवादी साहित्य सिद्धान्तको चर्चित किताब हो। यो पुस्तकको संक्षिप्त चर्चा यहाँ राखिनेछ । साहित्यमा चासो राख्नेहरूका निम्ति उपयोगी रहला भन्ने मलाई लागेको छ। विश्लेषण वा तुलनात्मक दृष्टि राखिने छैन र परिचय मात्र दिइने चेष्टा रहनेछ ।
ईगल्टन लेख्छन कार्ल मार्क्स र फ्रेडरिक एंगल्स साहित्यको निम्ति प्रख्यात भएको होइन तर साहित्य लेखन वा अध्ययन गरेका थिएनन् भन्ने होइन । कार्लमार्क्सले युवा कालमा लयात्मक कविता, काव्यात्मक नाटक र उपन्यास (अपूर्ण ) लेखेका थिए । उनको साहित्य अध्ययन अत्यन्तै फराकिलो देखिन्छ । उनले ग्रीक साहित्य, स्पेनी साहित्य, जर्मन साहित्य , अङ्ग्रेजी साहित्यका धेरै किताबहरू पढेका थिए।
मार्क्सवादी साहित्यले साहित्यको इतिहासलाई ऐतिहासिक रुपमा हेरेन तर इतिहासलाई क्रान्तिकारी बुझाइ गरे। मार्क्सवादी साहित्य भनेको समाजशास्त्रीय साहित्य मात्र होइन ।
साहित्य (कला) समाजको अधिरचना (superstructure) हो मार्क्सवादी बुझाइमा। धर्म , राजनीति, दर्शन , विधिविधान पनि अधिरचना नै हुन।
एंगल्स बताउँछ राजनीति शास्त्र र अर्थ शास्त्र भन्दा साहित्य धेरै समृद्ध हुन्छ तर यो बडी अपारदर्शी हुन्छ । यसो हुनुको कारण साहित्य विशुद्ध विचारधारा (ideology ) नभएको कारणले हो ।
प्लेखानोभ भन्छ विचारधारा नभएको साहित्य हुँदैन अर्थात कुनै पनि लेखनको पृष्ठभूमिमा कुनै विचारधारा रहेकै हुन्छ। यहाँ एंगल्स र प्लेखानोभको भनाइ विरोधाभासी देखे पनि ईगल्टनले स्पष्ट पार्दछ साहित्यको विचारधारासित सूक्ष्म सम्बन्ध हुन्छ र त्यो राजनीति वा विधिमा जस्तो छर्लङ्ग देखिने हुँदैन । फ्रान्सेली नव मार्क्सवादी चिन्तक लुई अल्थुसर बताउँछ साहित्यलाई निर्दिष्ट विचारधाराभित्र परख गरिनु हुँदैन र यसको विचारधारासितको सम्बन्ध मात्र हेरिनु पर्दछ।
मार्क्सवादी विचारधारामा साहित्यमा रुपलाई महत्त्व दिइन्न। यसले यसैकारण रुपवादको खण्डन गर्दछ। हुनत विश्व साहित्यमा रुपवाद भित्र्याउने रसियाली साहित्य चिन्तक भिक्टर श्लोकोभ्सी हुन। उनको लेख Art as a Technique ले आधुनिक समालोचना वा समालोचनालाई सृजनात्मक साहित्यबाट अलग गरेर अध्ययन गरिने परम्पराको जग वसालेको मानिन्छ। मार्क्सवादी विचार अनुसार साहित्यमा तकनिकको कुरा गर्नु भनेको पुञ्जीवादी धारणालाई प्रश्रय दिनु हो। मार्क्सवादी साहित्यमा लेखनको शिल्प वा तकनिकलाई आवश्यक मानिँदैन । नभन्दै मार्क्सले भनेको थियो साहित्य लेखनमा रुप र विषय देखिएको हुनुपर्छ । तर त्यो रुप विषयको निम्ति हुनुपर्छ नभए मूल्यहिन हुनेछ ।
गियोर्गी लुकासको मत छ साहित्य एक निर्मित पूर्णता हो र जैविक विकास जस्तो वस्तु होइन । पियरे मेसेरे, जो एक फ्रेन्च मार्क्सवादी चिन्तक हुन, भनाइ छ साहित्य प्रेरणात्मक नभएर एक भौतिक उत्पादन मात्र हो। सृजनाको केन्द्र विकिरण भएको हुन्छ यसैले कुनै पाठले के भनेको छ होइन तर के भनेको छैन बाट यसको विचारधारा बुझिनु पर्दछ । मेसेरे यसरी पाठलाई विकेन्द्रीकरण गर्दछ।
यो किताबको एक महत्त्वपूर्ण अध्याय हो यसमा रहेको लेखक अनि प्रतिवद्धता बारे गहन चर्चा । मार्क्सवादी साहित्यमा प्रतिवद्धता विशिष्ट कडी हो।
टेरी ईगल्टन बताउँछ सोभियत रसियाको प्रारम्भिक कालमा कलात्मक स्वतन्त्रता थियो । रुपवाद, भविष्यवाद, बख्तीनवाद , भ्लादिमिर प्रप जस्ता विशिष्ट लोककथा सैद्धान्तिक, कन्स्ट्रक्टिभिज्म जस्ता कलात्मक बैचारिक आन्दोलन यही समयमा प्रदुर्भाब भएका थिए ।
अक्टोबर क्रान्ति उत्तर कालमा भने सर्वहारा साहित्यको निर्माण हुनुपर्छ भन्ने कुरा आयो। यो साहित्य बुर्जुवावादबाट मुक्त हुनुपर्छ भनियो । स्टेलिनको उदयको साथै यो अभियान प्रारम्भ भएको थियो । बोगदानोभको नेतृत्वमा एक संगठन स्थापना भयो र यसलाई सर्वहारा विचारधाराको प्रयोगशाला भनियो । यो अभियानलाई प्रोलेटकल्ट (proletkult)भनिन्छ ।1928 मा बोलसेभिक दलको केन्द्रीय समितिले एउटा प्रस्ताव पारित गर्यो साहित्यले पार्टीको हितमा सेवा पुर्याउनु पर्नेछ । यस आदेशले लेखकहरूलाई भवन निर्माण, कल कारखाना देखाउन लगिए र मसीन र निर्माण कार्यको बडी बडाइ गरी लेखिएका साहित्य रचना गर्न भनिए।
यो विचार एक उग्र धारणाको थियो । उनीहरूले विगतका सबै साहित्य लेखन नयाँ समाजको निम्ति असान्दर्भिक रहने अडान गरे। उनीहरूले विगतका सबै साहित्य जलाउनु पर्ने र एक नयाँ सर्वहारा साहित्य निर्माण गर्नु पर्ने आव्हान गरे। यसमा मायाकोभ्स्कीको एक कविता छ जसमा लेखिएको छ भोलिको निम्ति रफाइल जलाउनु पर्नेछ, म्युजियम ध्वस्त पार्नु पर्नेछ । नयाँ साहित्य निर्माण पुरानो भत्काएर मात्र हुने संदेश दिइएको छ।
1934मा समाजवादी यथार्थवादको घोषणा भयो । यो स्टेलिन अधीन ज्दानोभको अध्यक्षतामा भएको थियो । समाजवादी यथार्थवादको सिद्धान्त निर्माण स्टेलिन र म्याक्सिम गोर्कीले गरेका थिए। टेरी ईगल्टन ज्दानोभलाई ठग भनी लेख्छन् । अघि लेखकीय स्वतन्त्रताको कट्टर हिमायती गर्ने गोर्कीलाई पनि दोषी मानिएको छ र स्टेलिनको पिट्ठु (henchman) भनेको छ।
समाजवादी यथार्थवादको सिद्धान्त अनुसार लेखकको कर्तव्य भनेको क्रान्तिकारी विकासको सत्यताको यथार्थ चित्रण प्रदान गर्नु हो। साहित्य दलीय विचार सार्थक हुनुपर्छ अर्थात् राजनैतिक दलको समर्थनमा हुनुपर्छ । यो आशावादी र भविष्यमुखी हुनुपर्नेछ । यसले क्रान्तिकारीहरूको शौर्यताको चित्रण गरेको हुनुपर्छ र क्रान्तिको रुमानीकृत प्रस्तुति गर्नु पर्छ। कला वा साहित्य वर्ग संघर्षको हतियार हुनुपर्छ । लोक कथा, लोक भाका, लोक कला पनि क्रान्तिकारीहरूको निम्ति हुनुपर्छ ट। अबको लोक गीत क्रान्ति र क्रान्तिकारीहरूको गुणगान हुनुपर्छ ।
बोलसेभिक सत्तामा पहिलो संस्कृति मन्त्री हुने लुनाचार्स्कीले भने लेखकको स्वतन्त्रतालाई स्वीकार्थे। उनको विचारमा क्रान्तिको प्रत्यक्ष विरोध नभएसम्म कुनै कलाको रुपलाई स्वागत गर्नु पर्छ।
यो कालमा निकै रसियाली लेखकहरू प्रताडनको सिकार भएका थिए। मिखाइल बख्तीनलाई निर्वासन गरेर साइबेरियामा कारावासको जीवन बिताउन पठाइएको थियो । उनको मित्र भोलोसिनोभलाई 1938 मा मृत्युु दण्ड दिइयो । नाटककार मेयरहोल्डलाई पनि मृत्यु दण्ड दिइएको थियो । मेयरहोल्डको नाटकबाट प्रभावित थिए बर्टोल्ट ब्रेख्ट। उनको पत्नीलाई पनि सजाय दिएर मारियो । भ्लादिमिर मायाकोभ्स्कीले कला र राजनीतिको अमेल सम्बन्धमा तनावमा आएर 1930 मा आत्महत्या गरे ।
ज्दानोभको 1934 को समाजवादी यथार्थवादको घोषणाको आधार लेनिनको लेखन Party Organisation and Party Literature (1905) मा गरिएको भनिएको थियो । टेरी ईगल्टन भन्छ यो लेनिनको लेखनको भ्रामक बुझाइ हो। गोर्कीको उपन्यास "आमा " नारा जस्तो देखियो भनी प्लेखानोभले गरेको आलोचना लेनिनले विरोध जनाएको थियो । उनको मत अनुसार कुनै लेखन निष्पक्ष हुन सक्दैन । बुर्जुवाहरूले लेखक स्वतन्त्र हुन्छ भनेको पैसामा बिकेको हुन्छ । उनी निष्पक्ष लेखकलाई धिक्कार गर्छन् । टेरी ईगल्टन बताउँछ यो लेनिनको भनाइ दलको नीतिगत लेखाइको निम्ति थियो र साहित्यिक लेखनको निम्ति होइन । लेनिनले यो माथिको पुस्तकमा लेखेका निर्देश ट्रटस्की, प्लेखानोभ जस्ताहरूका निम्ति थिए दलको नीतिबाट नबहकियोस भनेर । ईगल्टन बताउँछ लेनिनको साहित्यप्रतिको दृष्टिकोण पारम्परिक नै रहेको थियो । त्यस समयको परम्परा अनुरुप उनी पनि यथार्थवादी साहित्यलाई प्रशंसा गर्थें । उनले भविष्यवादी र अभिव्यञ्जनावादी लेखनलाई बुझ्न नसकेको स्वीकार गर्थें । 1920 को भाषणमा उनले सर्वहारा साहित्य लेखनको कट्टरवादी प्रवृत्तिको विरोध जनाएका थिए । गोर्कीको बारे बोल्दै उनले भनेका थिए एक कलाकारले सबै दर्शनहरूको दृष्टि दिन सक्छ र एक दार्शनिकले लेखकले लेखेको सत्य खण्डन गर्न सक्दछ तर खास कुरा चाहिँ उसले के सोच्छ होइन के सृजना गर्छ त्यो विशेष हुन्छ । लेनिनको छवटा समालोचनात्मक लेखहरू देखिएको छ र दुईवटा हिन्दीमा अनुवाद भएको पाइन्छ । यो छवटा समालोचना पढदा बुझिन्छ उनी एक यथार्थवादी आलोचक थिए । लियो टल्सटयको मृत्यु पश्ञात उनी माथि लेखेको समालोचनामा उनले लेखेका छन टल्सटयले रसियाको इतिहासको गलत व्याख्या गरेको छ किनकि उनले भविष्य सर्वहाराको छ भनेर बुझेन। तर यो भूल बुझाइले उनलाई महान कला सृजना गर्न बाधा भएको छैन। सशक्त यथार्थ चित्रण र इमान्दार लेखनको बुनियादले उनको आदर्शवादी दर्शनलाई अभिभूत बनाएको छ। लेनिनको यही लेखाइबाट बुझिन्छ उनको साहित्य वा कलाप्रतिको दृष्टिकोण कट्टरवादी थिएन ।
समाजवादी यथार्थवादले आफ्नो सिद्धान्तको मूल आधार मार्क्स र एंगल्सलाई भनेको थियो । ईगल्टन बताउँछ यसको वास्तविक पूर्वज प्रजातान्त्रिक क्रान्तिकारी आलोचक बेलिन्सकी, चेर्निशैभ्सकी र दोब्रोल्युबोभ हुन। यिनीहरूले साहित्यलाई समाजको आलोचना र विश्लेषण भनेका थिए । लेखक कलाकारलाई समाजको दिग्दर्शक भनेर बुझिनु पर्ने भनिएको थियो । लेखन सौर्न्दर्यको निम्ति तकनिकको बोझ नभिराएर सक्दो सरल बोध हुने तथा यो समाज विकास उन्मुख हुनुपर्छ । पछि बाट प्लेखानोभले भने साहित्यलाई दलीय राजनीतिबाट अलग राख्नु पर्नेछ । कलाले इतिहासको पक्ष लिएको हुनुपर्छ र मनोरञ्जनको निम्ति मात्र हुनुहुँदैन ।
कार्लमार्क्सले साहित्यलाई दलीय राजनीतिको हतियार हुनुपर्छ भनेर कहिले भनेन लेख्छन टेरी ईगल्टन। मार्क्सले मन पराएका साहित्यकारहरू एचिलिस, सेक्सपियर र गेटे थिए यी तीनैजना क्रान्तिकारी थिएनन् । उनलाई यथार्थवादी, व्यंग्यात्मक, उग्र साहित्य मनपर्थ्यो। तर उनलाई रुमानी साहित्य मन पर्दैन थियो ।रुमानी साहित्यलाई उनी राजनैतिक यथार्थको काव्यात्मक रहस्य मान्दथे। साहित्य सिद्धान्त बारे मार्क्सको मन्तव्य मननीय रहेको छ उनलेे भनेको रहेछ एक लेखकले आफ्नो कृतिलाई कुनै लक्ष्य हासिल गर्ने माध्यम मान्दैन । कला आफै साध्य हो साधन होइन । उनले लेखेको छ मिल्टनले पाराडाइज लस्ट त्यही कारणले उत्पादन गरेको छ जुन कारणले रेशम किराले रेशम उत्पादन गर्दछ। यो उसको प्रकृतिको क्रिया हो।
मार्क्स र एंगल्सको विचारहरूबाट यो निचोड निस्कन्छ साहित्य लेखनमा प्रतिबद्धता हुनुपर्दछ तर त्यो प्रतिबद्धता प्रत्यक्ष होइन परोक्ष रहनुपर्छ जो पर्याप्त हुन्छ । यथार्थवादी लेखन समाजको वास्तविकतालाई चित्रण गर्ने हुनुपर्दछ। यसलाई पछिबाट मार्क्सवादीहरूले वस्तुगत पक्षपात (objective partisan) भनेर नामकरण गरे। 1920 को दशकमा वस्तुगत पक्षपात लेखन कठोर र कट्टरवादी थिएन। तर 1934 मा ज्दानोभ, गोर्की र स्टेलिनको पाला मा यो एक कठोर सिद्धान्त बन्यो । यसलाई उनीहरूले विशुद्ध वस्तुगत पक्षपाती (pure objective partisan) लेखन भनी नामकरण गरे ।
(मार्क्सवादी/प्रतिवद्ध लेखनमा अन्य धेरै सिद्धान्त र विचार प्रवेश गरेको यो किताबमा उल्लेख छ तर यो लेखलाई सीमित राख्न यही समाप्त गरिन्छ। )
Comments
Post a Comment