Skip to main content

कथा

 

मैले फेसबुक डिएक्टिभेट गरेँ

 

्यतिबेला म सरकारी सेवामा थिएँ अवकाश लिएको थिइनँ। कार्यलयमा एक मित्र गेजेट फ्रेन्डली थिए। भनौँ न बजारमा कुनै पनि नयाँ इलेक्ट्रोनिक गेजेट निस्के उसले किनिहाल्थ्यो र सबैलाई गर्वसाथ देखाउँथ्यो। नयाँ उपकरण हासिल गरेर सबैलाई देखाउँदा उसको अनुहार उज्यालो भएको हुन्थ्यो। हामीहरू जो त्यस्तो महंगो उपकरण किन्न असमर्थ थियौं उसको प्रदर्शनीबाट मन मनै खिन्न र आरिस पनि गर्थ्यौँ।

यस्तैमा उसले हामीलाई उसले अचम्भको कुरा सुनायो हामीले कहिले नसुनेको। पहिला त पत्याएनौ पनि, कुनि के फेसबुक अरे।  संसार भरको मान्छेलाई साथी बनाउन तत्काल खबर लिन बात गर्न सक्छौं रे। के के हो के के!!! उसले हामीलाई उसको त्यो मोबाइल फोनमा देखायो। त्यहाँ उसले पिकनिक खाएको ,"होटलमा साथीहरू र आफ्नो परिवारसँग खाना खाएको, विहे र पार्टीमा गएर फोटो खिचेको जस्ता अबेकन देखाए। हामीहरू हक्कबक्क भयौं।

म स्वभावले त्यति बडी साथीभाइ बनाउँदिन। मलाई असमञ्जस हुन्छ। होटलमा गएर मदपान गर्न अथवा छुट्टीको दिन साथीहरूको घरमा गएर माजोङ, फ्लास, मेरिज खेल्न पनि आएन। हुनत यसो गर्नलाई निकै पैसाको खाँचो पर्दछ। धेरै पैसा हुनलाई आयस्रोत पनि राम्रो हुनुपर्यो। म एक साधारण तेस्रो दर्जाको सरकारी कर्मचारी भएको कारण मेरो आमदानी सीमित नै छ। मेरो परिवार सानै छ तर जिम्मेवारी मेरो हो। मेरै तनखाले मेरो घर चल्दछ। रासन, सब्जी, ग्यास सिलिन्डर, नानीको स्कुल फिस सबै तिरोतारो गर्दा वचत केही पनि हुँदैन।

कुनै दिन श्रीमतीले साडी किनिदिए घरको बजेट फेल हुने ।  एकदिनको घटना हो।अफिसमा मेरा केही मित्रहरू आए।गफ छुट्न थाल्यो । समय बाह्र बजेर उतै गएको थियो। हठात एउटा साथीले भने खाजा खाऊँ होइन, बिहान केही नखाई आएको यस्तो भोक लागिरहेको छ। ओ पार्ट लौ मँगाउ त, आज तिम्रोबाट जाओस। अब भयो त? त्यहाँ सात आठ जना थिए। खाजा मँगाए पछि सबैलाई मगाउँनु पर्छ। एक प्लेटको झण्डै दुई सय पर्छ। सिधै १४-१५ सयको हिसाब। त्यत्रो पैसा ले त मेरो तीन हप्ताको सब्जी आउँछ ।खल्तीमा सय रुपियाँ पनि छैन। क्यान्टिनमा खाजा खाने पनि गरेको छैन।  उधारो देला मलाई ? लु उधारो दिइहाले तिर्ने कसरी ? तलब थाप्ने दिन टुप्लुक्क आइपुग्यो भने लाजमर्दो भएन? सम्झेर मेरो पसिना छुट्न थाल्यो। धन्न एकजनाले घडी हेरेर भन्यो उसलाई हतार छ रे, र निस्किहाल्ने अरे। खाजा कुनै अर्को दिन खाने।  ऊ हिडे पछि अरु पनि हिडे।

मैले लामो सास फेरे त्यसपछि। सम्झेँ उपरवालाले मेरो इज्जत जोगाइदिनु भयो। मनमनै ढोगेँ पनि।

यसैले स्मार्ट फोन किन्न मेरो हबिगत नभएको आफैले ठहर गरेको थिएँ ।

डिसम्बर महीनामा हाम्रो बिभागीय पिकनिक भएको थियो। रमाइलो भएको थियो। खुब नाँच गान, तास खेलाइ, मासु भात खाइयो। म त्यति जाँड रक्सी खान्न। तर साथीहरूको लहैलहैमा लागेर दुईतीन बोतल बीयर भने सिध्याएँ। रनन भएको लाग्यो।मजा आयो।

बाबुनीहरू पनि खुबै जोशमा देखुन्थे। हल्ला खल्ला, जोक्स अनि हँसाइ पनि जुलुमै भइरहेको थियो। बाबुनीहरूको फेसन स्टाईल हेर्ने लायकको थियो। सधैं अफिसमा ढुस्स परेर रिसाइरहने, मुखमा जे आयो त्यही प्याच्च जवाब लाग्ने तर यहाँ भने हाँसी हाँसी खुशी मनाएको देख्दा मलाई पनि रमाइलो लाग्यो। एकदुई जना बाबुनीहरू मातेर नाँचेको नाँचेकै थिइन् भने एकजना रोएको रोएकै थिई। उसलाई सबै मिलेर सम्झाइरहेको पनि थियो। अर्को एलडिसी बाबु पनि मातेर झगडा गर्न निहुँ खोज्दै थियो। जोरी कोई नपाए पछि एकलै कराउँदै थियो।

केही  दिन पछि  अफिसमा सबै झुरुप्प परेर केही हेर्दै थिए। मैले पनि गएर हेरेँ। मोबाइलमा अस्ति पिकनिकको थुप्रै फोटोहरू हालेका रहेछन।

फोटो हेर्नेहरू तर सबै आफ्नो फोटो खोजी हेर्न मै मस्त थिए। हुनत ग्रुप फोटो हुन तर अन्यको तस्बिर भन्दा आफ्नै तस्बिरप्रति बडी चासो रहेको देखियो । मैले पनि भनौं भने त्यसै गरिरहेको थिएँ।

हुनत म आफ्नो फोटो हेर्न उत्सुक हुँदिनँ। मेरो फोटो राम्रो आउँदैन। तर एउटा फोटोले भने मेरो आँखा तान्यो। खोलाको डिलमा उभेको रहेछु। मेरो अनुहार देखिएको थिएन , ढाड पछि बाट खिचिएको रहेछ। घाम ढल्किन लागेको, केही अध्यारो छाउन थालेको, वास्तवमा त्यो फोटो छाया आकृति जस्तो मात्र देखिएको थियो । तर कलात्मक फोटोग्राफीको कारण सबैको ध्यान आकर्षण गरेको रहेछ। यो तस्बिरले निकै लाइक्स कमेन्ट बटुल्न सकेको रहेछ। कसैले इमोजीमा त कसैले कमेन्ट बक्समा लेखेर नै प्रशंसा घरेको देखेँ। मन प्रफुल्ल भयो। यद्यपि खिन्नता यसकारण आयो यो न त मैले पोस्ट गरेको हो न त मेरो कुनै उपकरणमा नै पसेको छ। फेसबुकले हामीलाई आनन्दित बनाउन सक्ने आत्मविश्वास बडाउन सक्ने पहिलोपल्ट मेरो बुझाइमा आयो। जीवनमा समावेश गर्नु पर्ने आवश्यक नै जस्तो आभास भयो। म आफू यसमा अझै जोडिन नसकेकोमा ग्लानि भयो।

हुनत यसो हुनुको कारण मेरो विकट आर्थिक परिस्थिति पनि हो। यतिबेला सम्झेँ कति कुरामा सम्झौता गर्ने ? कुन कुन कुरा त्याग गर्नु पर्ने? हामी जस्तो निम्न आय व्यक्तिको कुनै चाहना हुन सक्दैन?

बेलुका घर फर्केर आइसके पछि झन झिन्झट लागेर आयो। कति उराठिलो जीवन? अनि सोचेँ के मेरो कुनै रहरको मूल्य छैन ? कसैको कुनै रहरको कुनै मूल्य छैन भने उसको जीवनको मूल्य पनि के रह्यो र? यसरी मैले त्यतिखेर जीवन र रहरको एकार्कासितको अन्तर्सम्बन्धको सेतु बनाएँ। एउटा नभए अर्को पनि हुन नसक्ने ।

यसले मलाई एउटा उपाय सुझायो मेरो समस्याको समाधान हेतु। जहाँ इच्छा तहाँ उपाय। ठिकै हो मेरो बचत पैसा छैन। तर भविष्यनिधिमा केही रकम सञ्चित छ। प्रत्येक वर्ष यही कोषबाट निकासी गरि मेरो परिवारको दशैँ तिहार मनाउने खर्च चल्छ ।

मैले मेरी श्रीमतीसित परामर्श गरेँ। ऊ मेरो हर विचारमा सहमति जनाउँछे। यसपालि पनि नाइनास्ति गरिन।

सरसल्लाह मिले पछि मेरो मनमा लागेको कुइरो हठात मेटिएको झैँ भयो र मन प्रसन्न पनि भयो। मलाई खुशी हुन पनि डर लाग्छ किनकि बडी खुशीले बडी दुख निम्त्याउछ । यो मेरो आफ्नो अनुभव रहेकोछ। मान्छेको भागमा खुशी भन्दा दुखी हुनु बडी परेको हुन्छ। ऊ आफ्नो दुखमै रमाउन अभिषप्त हुन्छ।

जसोतसो मैले भविष्यनिधिबाट रकम झिकेर भए पनि दस हजार रुपियाँको मोबाइल किनिछाडेँ। नयाँ मोबाइलको स्पर्शले मेरो मनको धमिलो पनि मेटिन्छ जस्तो लागेको थियो।

मैले मेरो अफिसको साथीबाट मोबाइल र फेसबुक बारे जानकारी लिएँ। यतिञ्जेल मेरो इमेल आइडी खोलेको थिइनँउसले सिकाएर खोलेँ। पासवर्ड श्रीमतीको जन्मतिथि र नाम मिलाएर राखेँ किनकि यही मैले नबिर्सिने सूचना हो। अरु त धेरै कुरा बिर्सिहालिन्छ।

त्योदिन अलि छिटै घर फर्केँ, मनमा जो उत्साह थियो। फेसबुक आइडी खोल्नु पनि थियो। आइडी खोल्दा थाहा भयो आफ्नो फोटो हाल्नु पर्ने रहेछ प्रोफाइलमा। मलाई मन नपर्ने गर्नु नचाहने कुरा। मेरो फोटो राम्रो पटक्कै आउँदैन। अनुहार आकृति बताउनु हो भने मेरो टाउको सानो छ, केश पातलो, निधार बाहिर उछिट्टिएको अनि आँखी भौं र परेला झरेर चिल्लो देखिन्छ

आँखा भित्र पसेको, गालाको डिल चुच्चो। गालामा खोपिल्टा परेको छ। नाक केही ध्याब्रे परेको र ओँठ पातलो छ। तल्लो ओँठ अलि बाहिर आएको कारण माथिल्लो ओँठ भित्र  गएको देखिन्छ । चिउँडो चुच्चो छ। यसैले गर्दा इस्कूस मार्का छ अनुहारको आकार। घिच्र छोटो छ, देखिँदैन । हाइनेक लाउनै पर्दैन, राउन्ड नेक स्वीटर लगाए हाइनेक लगाएको जस्तै हुन्छ। यही घिच्र छोटो भएको कारणले हो दार्जिलिङको एउटा साथीले गर्दन छ इन्ची छिनाए क्या हो भनेर गिल्ला गरेको थियो। प्रोफाइल फोटोको समस्याले मलाई चर्को बनायो।

मेरो घरको केही माथि एउटा भव्य भवन छ त्यो एक जुनियर इन्जिनियरको हो। ऊ छिमेकी नै हुनाले चिनाजाना त छ। पहिला ऊ र म एउटै विभागमा थियौँ। म पछि ओ एस मा बडोत्तरी भए पछि यो नयाँ विभागमा आएको हुँ।

सिक्किममा इन्जिनियर भने पछि पैसावाला हुन्छन्। अघिल्लो विभागमा रहँदा विभागको वरीष्ठ लेखा अधिकारीले एक अनुभव बताएको थियो । वरीष्ठ लेखा अधिकारी र प्रामन्डलिक अभियन्ता एकै श्रेणीको अधिकारी हुन्। जब ऊ त्यस प्रामन्डलिक अभियन्ताको घरमा गए उसलाई त्यो घरको सोफामा बस्न असमञ्जस भयो किनकि ती अति महंगो देखिन्थ्यो । चिया र खाजा यति सुन्दर क्रोकरीजमा दिएका थिए ती छुँदा पनि हातको मैला लाग्छ भने जस्तो थियो। उसलाई लाग्यो एकै सरह मासिक तलब पाउने तर आर्थिक स्थितिमा यत्रो अन्तर कसरी हुनसक्छ? मनमा हिनताको भावना आयो। उक्त मित्रलाई आफ्नो घर बोलाएर जलपान गराउन शरमलाग्दो हुनेछ, आफ्नो कमजोर आर्थिक स्तरको विज्ञापन गरे जस्तो हुनेछ।

अहिले मलाई त्यो जुनियर इन्जिनियरको घरतिर जाँदा त्यही प्रकारको भावना आइरहेको थियो, त्यही लघुताभास, त्यही असमञ्जसता। त्यसो त बाटोघाटोमा कहिलेकाहीँ भेटदा राम्रै बोलचाल हुन्छ, भलाकुसारी हुन्छ, उसले दम्भीपन देखाउँदैन। तर कहाँ मेरो एकतले घर त्यो पनि ऋणमा चुर्लुम्म डुबेर बनाएको, किस्तीको रकम रिटायर हुँदा सम्म तिरी सक्ला या नसक्ला? हामी जस्तो को जीवन त्यसैमा सीमित हुन्छ, आधि जीवन घर बनाउनमा लाग्छ र रहल जीवन घर बनाउँदा लिइएको ऋण चुक्ता गर्दै बित्दछ।

उसको घरमा जाँदै गर्दा बाटोमा तीनजना दशबाह्र वर्ष पुगेका ठिटीहरू उत्छृङ्कलतासाथ आउँदै गरेका देखेँ। अनुहार भरी मीठो मुस्कान, प्रसन्न चित्त। अर्को दिशाबाट एक जवान मान्छे आए। उसलाई हेर्दै चिनिने, ऊ स्थानीय होइन भनेर। सायद मधिसे। बाक्लो कालो केश, नखौरिएको दाह्री जुँगा, सेतो कमेज, कालो पेन्ट घुरमैलो भइसकेको। सेतो कमेज पहेलिएको। जुत्ताको साटो चप्पल लगाएको थियो। उसले सायद ती ठिटीहरूलई चिन्थे। हाँस्दै जिस्काए ठिटीहरूलाई। तर तिनीहरू रोकिएनन्। केही पर पुगेपछि तीन मध्ये एकले मुख बनाउँदै भनी धोती लाउनेले पेन्ट लाउनु पायो भनेर टप भा'को होला नि !

सुनेर मैले मुस्कान रोक्न सकिनँ।

उसले पहिला आफ्नो एप्पल आइफोन लिएर आयो मेरो छेउ र आफ्नो प्रोफाइल खोलेर देखायो। उसले आफ्नी पत्नी र छोरीको फोटो हालेको रहेछ। मलाई बतायो प्रोफाइल फोटोमा जस्तै फोटो हाले हुन्छ। कसैले आफ्नो देवी देवताको फोटो हाल्छन कसैले कुनै प्राकृतिक दृश्य।

बातचित भइसके पछि उसले बोतल खोल्यो। ब्लु लेबल व्हिस्की रहेछ। मैले सुनेको थिएँ यो एकदम महगों हुन्छ भनेर तर दाम थाहा छैन । ग्लासमा एकदुई टुक्रा हिउँको डल्ला पनि हाल्यो। पहिलो घुट्कीमा नै सर्केर प्राण जाला जस्तो भयो। अब मलाई त्यो घोडे रम भन्ने थ्री एक्स नै कहाँबाट पाऊँ भन्ने मान्छेलाई कहाँबाट फाप्छ ब्लु लेबल? जसोतसो पिएर सकेँ आँखा रातो पारेर भए पनि। बिस्तार मात लाग्दो रहेछ मीठो। मन खुशी भयो। दुई हात जोरेर धन्येवाद है भनेर बिदा लिएँ।

घर आएर फेरि खोले फेसबुकको विवरण भर्नलाई। त्यहाँ उमेर पनि लेख्नु पर्दो रहेछ। अहिले मेरो उमेर ५२ वर्ष पुगेको छ। ५२ वर्ष सम्झिँदा तरगं भएँ। धेरै साल अघि एक टिबेटन रिफ्युजीको कुरा याद आयो। उसले भनेको थियो माओ त्से तुङको भनाइ अनुसार ५० वर्षदेखि उँभोको मान्छे सबै मार्नु पर्छ। ५० काटेका मान्छेहरू बेकामे हुन्छ, कुनै उत्पादन क्षमता हुँदैन। बलको काम गर्नु सक्दैन। तिनीहरू राष्ट्र र समाजको लागि बोझ हुन्छ। मेरो उमेर ५२ भइसकेको कारण म त दुई साल बडी बाँचिसकेछु। पहिलै मरिसक्नु पर्ने वा मारिनु पर्ने थिएछ। उसले  मलाई अर्को कुरा पनि भनेको थियो। माओको चिउँडोमा एउटा कोठी छ, त्यो पहिला सानो थियो। बडेर गएपछि टिबेट खायो अब जब त्यो कोठी सरेर निधारमा पुग्छ त्यसले संसार खानेछ। माओ राक्षस हो, मान्छेको जुनीमा आएको राक्षस हो।

मलाई पनि हो जस्तै लाग्यो र माओ भने पछि मनमा डर उप्जिन्थ्यो। तर वास्तवमा त्यस्तो होइन रहेछ भनेर धेरै पछि मात्र बुझेँ।

हाम्रो अफिसमा एक नौजवान अफिसर ट्रान्सफर भएर आयो। तीस वर्ष पनि नपुगेको र यस्तो कलिलो उमेरमै ऊ उपसचिवको पदमा थियो।

म भन्दा झन्डै एक फुट अग्लो। मेरो कद पाँच फुटको छ र यस हिसाबले ऊ पक्कै पनि छ फुट अग्लो होला नभए पनि पाँच फिट दस इन्च त हुनुपर्छ। गोरो, लाम्चिलो अनुहार, ठूला चम्किला आँखाहरू। एकदमै हेन्सम मान्छे, सिनेमाको हिरो जस्तो ।

उसले लुगाफाटा पनि दाम्मी दाम्मी लाउथ्यो। एकपटक ऊ सरकारी भ्रमणमा कोलकाता र दिल्ली गएको थियो। झन्डै दस बाह्र दिनपछि फर्केको थियो। त्यो दिन ऊ अलि ढिलो गरी अफिस आयो। अफिसमा पस्नासाथ एकजना बाबुनीले आइस्साला क्या दाम्मी सुट लाउनु भएछ सरले भनेर साउती गरी। अफिसर आफ्नो च्याम्बरमा पसिसकेको थियो। त्यो बाबुनीले अलि ठूलो स्वरमा भनी आम्बो आज त सरले अरमानी सुट लाएर आउनु भएछ नि हौ, क्या दाम्मी, क्या हेन्सम देखेको !!! मैले अरमानी सुट भन्ने सुनेकै थिइनँ यसैले सोधेँ। त्यो बाबुनीको लोग्ने एक उच्च पदस्थ अधिकारी मात्र नभएर उनीहरू सम्पन्न छन भनेर सुनेको हुँ। उसैले बताइ अरमानी सुट एकदम महगों हुन्छ र प्रायः पिक्चरको हिरोहरूले र धनाठ्यहरूले लाउँछन। यो डिजाइनर सुट हो।

हाम्रो अफिस आम जनताको केही विशेष काम हुँदैन र यो विभागीय समन्वयप्रति समर्पित सरकारी अनुष्ठान हो। यसैले कतिपय अफिस जस्तो भिडभाड हुँदैन। अफिसमा पनि उति धेरै कर्मचारी छैन। त्यही बीस तीस पुग्छ सबै मिलाएर। तर यो अफिसरको आगमन पछि भने अन्य विभाग का महिला कर्मचारी चियो गर्न निकै देखिन थालेको छ। चियो गर्नेहरूमा विवाहित र अविवाहित दुवैवर्गका सराबर देखिन्छन।

अफिसरले कुनै दिन कुनै बाबुनीलाई च्याम्बरमा बोलाए सल्याङबल्याङ भइहाल्थे। एकपटक ऐना नहेरी, केश मनमिलाइ, लुगा नमिलाइ एवम केही गम्भीर नभइ कोही भित्र नपस्ने। एउटी बाबुनी जो अविवाहित थिइ उसलाई बोलाए उसको मुहार उज्यालो भएर आइहाल्थ्यो। उसलाई म्याक्सी बाबुनी भन्छ। मैले पनि उसले म्याक्सी देखि बाहेक अन्य वस्त्र लगाएकी देखेको छुइनँ। एकदिन उसले भन्दै थिइँ। हिजो त क्या गजब भइदेको! बेलुका पानी पर्दै थियो, हो!, म घर जानलाई बाहिर उभिरा'को थेँ, हो? त्यतिबेलै सरले मलाई सोधिदेको नि, घर जाने? भनेर, हो? अन्त, म गाडीमा चडिदेको, हो? सरले घरसम्म पुराइदिन्छु भन्नू भा'को नि! मलाई पो अपठ्येरो लाग्यो। घर यही छ भनेर ब्लफ देँ नि, क्या भइदे'को, हो। म त हाइ हाइ......हा हा हा

केही उमेर खाएकी एक बाबुनीलाई उसलाई भनी अन्त तिमी त सरले सिलिगुडी जाऊँ भन्यो भने जाने रहेछ। यति भनेर हाँसेर खिल्ली उडाएकी थिइँ। तर म्याक्सी बाबुनी के कम प्याच्च जवाब दिइहाली ए सिलिगुडी भनेकि? उफ्री उफ्री जाने।

यो सुनेर झन सबै हाँसेका थिएँ, म लगायत।

हाम्रो विभागले एउटा समन्वय सभा आयोजन गर्नुपर्ने भयो। अफिसरले मलाई चियाचमेना र सभाको बन्दोबस्त मिलाउने जिम्मेवारी दिएको थियो।

सभा सञ्चालन राम्रै भयो। उपस्थिति सबै आमन्त्रितहरूले दिएका थिए। बहस निकै लामो चल्यो। चार बजेर उतै गइसकेको थियो। चियापान दिने व्यवस्था सभा सकेर गरिने मिलाइएको थियो। सभा सके पछि अधिकतर सदस्यहरू ढिलो भयो भनेर हतार गर्दै निस्के। खाने कम भएकोले चियापान निकै रहल रह्यो।

अफिसर प्रसन्न देखियो सभाको सफलताको कारण। खुशी देखिन्थ्यो। हामी बिच आएर भने लु बडा बाउ अब सबै बसेर केही खाऊँ। भोक पनि लाग्यो। बाबुनीहरूले हतार हतार गरेर सेन्डविच, कफी, पेस्ट्री एउटा सफा प्लेटमा पस्केर राखिदिए। बातचितको सिलसिला शुरु भयो। सिक्किममा कुनै बातचितको प्रसङ्गमा चिनको कुरा उठनु अप्रत्याशित होइन। आज पनि निस्केको थियो। कुराको चुर उठाउने म नै थिएँ। त्यो माओ भन्ने त राक्षस थियो होइन सर? एकदमै नराम्रो थियो रे।

अफिसर मुसुमुसु हाँसे, मेरो कुरा सुनेर।

माओ एक ठूलो क्रान्तिकारी नेता हो जसको विचारले विश्वमै प्रभाव पार्यो। चिनी समाज सामन्तवादी समाज थियो। थिचोमिचो धेरै थियो र देशमा गरिबी व्यापक थियो।  क्रान्ति ल्याएर सामन्ती समाजलाई ध्वस्त पारेर सत्तामा जनवाद आरुढ गराए। आर्थिकसामाजिक उन्नतिको निम्ति जनशक्तिको सदुपयोग गर्न र उत्पादनशीलता बडाउन आवश्यक थियो।

चिनी समाजमा पितृसत्ता चरम सीमामा थियो। विश्वको सम्पूर्ण मानव समाजमा नारी दोहन सर्वाधिक हान समुदायमा हुन्थ्यो। माओले नारी समुदायलाई आधा आकाशको नारा दिए। यो भनेको प्रकृतिमा भएका सबै संसाधन नारी र पुरुषको बराबरीको हक र अधिकार छ भनेको हो। उनले नारीलाई घरको चारदिवारी र पुरुषको सेवा मात्र गर्ने दासीबाट मुक्त गराएर राष्ट्र विकासमा सरोकार एवम सबल हितधारक बनाइदिए।

उनले ल्याएको कार्यक्रमहरू ग्रेट लीप फर्वर्ड, सांस्कृतिक क्रान्ति र लेट हन्ड्रेड फ्लावर्स ब्लुमले चिनमा ठूलो परिवर्तन ल्यायो।

माओले गरेका सबै कार्यक्रम चिनी जनतालाई लाभदायक भयो भन्ने होइन। कार्यक्रम कार्यवन्यनमा त्रुटि रहेको कारण ग्रेट लीप फर्वर्डले अकाल सृजना गर्यो। यसलाई सुधार्न सांस्कृतिक ल्याएका थिए तर यसमा पनि कार्यान्वयन त्रुटि रहेको कारण असंख्य जनसमूदाय प्रताडित हुन पर्यो। तर माओकै कारण चिनको समाजमा जुन परिवर्तन आयो त्यसैको परिणाम हो आजको चिन जो अहिले आर्थिक विकासको चरम सीमामा छ।

माओ तर रोमान्टिक पनि थिए। यस्तो देखिन्छ सबै क्रान्तिकारीहरू रोमान्टिक रहेका छन। रसियाको प्रख्यात क्रान्तिकारी नेता त्रोत्स्कीले भन्थ्यो रिभोल्युसन इज वुमन, इम्प्रिगनेट हर। क्युबाको क्रान्तिकारी नेता फिडल क्यास्ट्रो झन लिजेन्ड्री नै छ। इट इज सेड देट हि हेड फिजिकल रिलेसनसिप विथ मोर देन थर्टी थाउजन्ड वुमन।

 

यो सुन्ने बित्तिकै बाबुनीहरू एक साथ आआम्म्ब्बो भनेर कराए र जोर जोरले हाँस्न थाले। बाबुनीहरू हाँस्दा भुइचालो आएकै जस्तै टेबल चौकी सबै दिरिङरिङरिङ गरेर थर्किएको थियो।

बल्ल बल्ल फेसबुक एकाउन्ट खोलियो। मलाई बताइएको थियो एकाउन्ट खोलिए पछि फ्रेनसिप रिक्वेष्ट भटाभट आइहाल्छ भनेर। तर एक हप्ता बित्दा पनि एउटै फ्रेन्ड रिक्वेस्ट आएको देखिनँ। साथीहरूले जोतेछ लाग्यो। यस्तो कुरामा छलेर के पाउनु, उई मेरो खिल्ली उडाएर मजा लिनु मात्र त हो! होइन, अब आफै फ्रेन्ड रिक्वेस्ट पठाउनु पर्यो लाग्यो। पठाए रिक्वेस्ट दुई तीनसय जनालाई। एकदुई जनाले तत्काल स्वीकार गरे भने केहीले समय बिराएर गरे। धेरै जसोले भने स्वीकार गरेको देखिनँ। मनमनै झोँक पनि चल्यो । जाबो यसमा एउटा बटन थिच्न कति गाह्रो भएको ? उसको त केही जाँदैन। के साह्रो घमण्ड, फेसबुकमा भेटघाट पनि हुँदैन अनि के को त्यस्तो तमाशा ? हुनत मान्छेहरू कोही बिनाबिच्च मै  हुँ भनेर धमास देखाइरहेको हुन्छ , असलमा ऊ केही न कामको हुन्छ। उसले आफ्नो पुरै जीवन बिना कुनै सृजनशिलता र निहायतै स्वार्थपनमा बिताएको हुन्छ। केही जानेको हुँदैन, तर उसले नजानेको केही छैन जस्तो गर्छ। यो फेसबुकको दुनियाँ पनि त्यही समाजको छाया त हो! फरक के हुन्छ! मान्छेको जातै त्यस्तो, बैगुणी।

लगभग महिना दिन बादमा मेरोमा पनि फ्रेन्ड रिक्वेस्ट आयो, बल्लतल्ल । एकतमासको खुशी लाग्यो। मलाई पनि सम्झिने रहेछ भन्ने भयो। आठ दसवटा रिक्वेस्ट मध्ये एउटा कालेबुङको पासाङ डुम्जन र धरानकी एक तरुणी रहेका थिए। पासाङ डुम्जन मेरै दँवले रहेछ। तर फोटो गजबको हालेको थियो। फेल्टर ह्याट लगाएको, कालो गगल्स, ज्याकेट लगाएर खिचेको तस्वीर। हेर्दा व्यक्तित्व जमेको, हेन्सम देखिने, खाइलाग्दो पनि। त्यति गोरो चाहिँ होइन, लालवर्णे भनूँ। धेरैको फोटो मुस्कानसहित र स्टाइलसाथ हुने गरेको मैले बुझेँ तर पासाङको फोटो भने गम्भीर मुद्राको थियो।

उसको स्टेटसमा धेरै जसो जोक्स हुँदो रहेछ। मलाई पनि जोक्स मन पर्ने हुनाले पछि उसको प्रत्येक स्टेटस अपडेक चाख मानेर पढने गरेँ।

एकदिन उसले विसञ्चो भएको लेखेको थियो। मैले स्वास्थ्य लाभको कामना लेखेँ। उसले धन्यवाद पनि जनाएको थियो। यसपछि भने उसको अपडेट कम हुन थालेको थियो। फेरि एक साझँ मेसेन्जरमा उसको मेसेज देखेँ। यता गान्तोकतिरका हालचाल सोधेको रहेछ। साधारण जानकारी राखिदिएँ। उसको आफन्त सिक्किम भएको उसले बताएको थियो, तर मैले सोधिनँ, को हो र यहाँ कहाँ बस्छ भनेर। निजी कुरा जान्न मलाई उत्सुकता रहँदैन। यसरी नै समय समयमा हाम्रो मेसेन्जरमा भलाकुसारी चलिरहेको थियो।

धरानकी केटी राई रहिछ। राईनीहरू राम्री हुन्छन्। गोरो, गोलो मुहडा, चिम्सो आँखा, पातलो ओँठ, कद काठी मिलेको त्यति अग्लो होइन। तर ऊ भने निकै अग्ली थिइन्। गठिलो जिउडाल। हरदर राईनी भन्दा धेरै राम्री। सायद कुनै कार्यलयमा आबद्ध थिइन। समय समयमा आफ्नो कार्यलयको विषय स्टेटस लेख्छिन्। मलाई लाग्यो ऊएक हुने खाने घरानाकी छोरी हुन।

राई लिम्बू झोँकी हुन्छन भन्छन् , रिसाहा हुन्छन् भन्छन्। तर यो जातको वर्गीकरण गरेर यस्तो नाम दिएको सत्यता केही हुँदैन । रिसाउनु झोकिँनु मान्छेको स्वाभाविक प्रवृत्तिमा पर्ने कुरा हो। नभन्दै यो केटीले निकै पटक मैले फेसबुक स्टेटस अपडेटमा गाली अपशब्द र भद्दा वाणी राखेकी देखेँ। केही अश्लील शब्द पनि जोडिएको हुन्थ्यो । त्यस्तो स्टेटसको कमेन्टमा कतिले सम्झाएर के भयो बुनु किन रिसाएकी भनेर लेख्थे भने कसैले यस्तो लेख्नु हुँदैन भनेर सोझै भनेको पनि हुन्थ्यो। रिसाएर लेखेकी स्टेटसमा थुप्रै शब्दहरू क्यसपिटल लेट्टरमा लेखिएको हुन्थ्यो।

उसको यो क्यापिटल लेट्टरमा लेखेर आफ्नो रिस पोख्ने स्वभावले मलाई हाम्रो अफिसको एक अधिकारीको सम्झना गरायो। निकै वर्ष अघि हाम्रो अफिस एक जोइन्ट सेक्रेटरी म्याडम हुनुहुन्थ्यो। उहाँ कडा मिजाजको हुनुहुन्थ्यो। हाल उहाँ सेवानिवृत्त भइसक्नु भएको छ।

उपरोक्त म्याडमले फाइलको नोटिङ बेसी जस्तो हातले लेख्नुभएको देखेँ मैले। उहाँको निजी सचिव स्टेनोग्राफर हो, तर नोटिङ डिक्टेट नगरेर आफ्नो हेन्डराइटिङमा राख्ने । हेन्डराइटिङ सुन्दर थियो, स्पष्ट सबै बुझिने र हेर्दा आकर्षक। बिचबिचमा भने ठूलाठूला अक्षरमा क्यापिटल लेट्टरले लेखेका हुन्थे कहिलेकाही। एकपटक मलाई मार्क गरिएको फाइलको नोटिङमा पनि त्यस्तो निकै अक्षरहरू देखेँ जो क्यापिटल लेट्टरमा लेखिएका थिए। किन होला भनी बुझ्नलाई उहाँलाई सोधेँ। उहाँले भन्नु भयो तपाईंहरूलाई कति सम्झाउँदा पनि हुँदैन र म रिसा'को। यो क्यापिटल लेट्टर चाहिँ तपाईंलाई हकारेको हो, लेखेर।

वर्षमा एकपटक म विमार हुन्छै हुन्छु, सानोतिनो नै होस। कोही बेला रुगा मार्गीले ग्रस्त पार्दछ र लडिञ्जेल बनाउँछ। कुनै साल भने पेट खराब हुनु, पखाला चल्नु , भुडी ढुस्स भएर अटसमटस हुनु, ज्वरो आउनु, टाउको दुख्नु । हरेक सालको अप्रिल महीना काटेर गए पछि अगस्त सितम्बरको बीचमा कुनै समय हुन सक्छ। यो वर्ष भने अगस्त महीनाको दोस्रो हप्ता लाग्ना साथै विमारीले छोयो। यसपालि पेट दुख्ने, भुडी ढाडिने, खाना खानु मन नपर्ने अमन भएको थियो। यद्यपि म छुट्टी लिएर घरमा बसेको थिइनँ , अफिस गइनै रहेँ।

बिहीबारको दिन हो, घरमा आउँदा श्रीमतीले पाहुना कोठा मिलाउँदै रहिछ । मैले सोँचे कोही पाहुना आउँदै होला, बास बस्ने गरी। हुनत त्यसो होइन रहेछ। उसलाई सोध्दा छडके आँखाले मात्र हेरी,  मुस्काउँदै चिया खाजा दिन भान्सा कोठातिर गई।

खाजा खाइसकेपछि भनी आम्मामा तपाईंले मलाई रातभरि सुत्न नदिएर हैरान पारिसक्नु भयो। म छक्क परेँ। हन के त्यस्तो गरेँ।

उसले फेरि भनी दुई रात भइसक्यो पाद गनाएर सुत्न सकेकी छैन। हन कस्तो पादनु हुन्छ हौ, निद्राबाट ब्युझिपठाउँछु। म त विमार भइसकेँ। यसैले आज तपाईंलाई यो कोठामा मिलाइएको, एकदुई दिन यतै सुत्नुहोस ।

एकदुई दिन भनेको तर मेरो पेट सञ्चो हुनु निकै समय लाग्यो।

गान्तोकमा यो सिजनमा पानी खुब पर्छ। गान्तोकवासी भन्ने गर्छ यहाँ अरु ठाउँ जस्तो चार सिजन हुँदैन, दुईटै मात्र हुन्छ रेनी सिजन र विन्टर सिजन। हुनपनि कि त पानी परिरहेको हुन्छ कि जाडो भइरहेको हुन्छ।

पन्द्रह अगस्तको छेउ थियो। पोहोर साल त मेरो ड्युटी परेको थियो पन्द्रह अगस्त समारोह आयोजनमा। त्यो दिनभरि पानी परेको थियो। त्यसैले निर्धारित कतिपय कार्यक्रम रद्द गर्नु परेको थियो। म निथ्रुक्क भिजेको थिएँ । ज्वरोले तीनचार दिन थला पर्नु परेको झलझली छ।

पन्द्रह अगस्तमा स्वतन्त्रता दिवस आयोजन हुने हुनाले यो कार्यक्रम अनिवार्य रुपमा गरिनु पर्दछ। सिक्किमका धेरै ठाउँहरूमा आयोजन हुन्छ। तर यो वर्षाले आयोजन समिति र सहभागी सबैलाई समस्यामा पार्दछ। यही  वर्षेनी हुने समस्यालाई पार तार्ने सुझाव एक ग्रामीण राजनैतिक नेताले आफ्नो गाउँमा भएको कार्यक्रममा यसरी दिएछ --- यो पन्द्रह अगस्तमा सधैं पानी पर्ने गर्छ। अनि हामीले यो नमनाई पनि हुँदैन । यसैले आज यस सभामा म घोषणा गर्छु अर्को सालदेखि मुख्यमन्त्रीको अनुमती लिएर पन्द्रह अगस्त सारेर दिसम्बर महीनामा पुर्याउनेछु।

सभामा उपस्थित सबै दर्शकवृन्दले यो घोषणा  गडगडाहटपूर्ण ताली बजाएर हर्षको साथ स्वागत जनाए।

सुत्ने बेला म मोबाइल स्वीच अफ गरेर नै सुत्ने गरेको छु। आज एकलै सुत्न परेपछि निद्रा नलागेको जस्तो भयो। ओच्छ्यानमा ओल्याङ टोल्याङ गरिरहेँ। बन्द गरेको फोन खोलेँ स्क्रल गरेर केही हेरेँ।

कतिबेला निदाएँ थाहा भएन तर मोबाइलको आवाजले ब्युझायो। घडी हेरेको एघार मात्र बजेको रहेछ। यसको अर्थ एकै घन्टा पनि निदाइन रहेछु ।

मोबाइल हेरेँ, मेसेन्जरमा मेसेजहरू आएका रहेछन। एउटा मेसेज चाहिँ धरानबाट आएको रहेछ। कौतुहलता जाग्यो किन उसले यति अबेर मध्यराततिर मेसेज गरी भनेर। मेसेजमा मसित केही कुरा राख्ने अनुमति मागेकी रहिछ। मैले हुन्छ भनिदिएँ। तुरुन्तै उताबाट जवाब आयो उसलाई अहिले ठिक छैन रे। उसको जीवनमा सबै खराब चलिरहेको बताइ। ब्योप्रेन्डले चिट गरेको, काम पनि स्टेबल नभएको, छटपटाहट भइरहेको र डिप्रेस्स्ड लागिरहेको। कहाँ जाऊँ कसो गरूँ भइरा'को छ। कोही कोही बेला बिदेशी रोजगारमा हिडू कि! हताश भएको !

उसले लेखेकी रहिछ उसलाई सुझाव दिनु पर्यो। मनको अशान्ति बुझाउन केही भनिदिन पर्यो।

एउटी तरुणी केटीबाट पहिलो पल्ट यस्तो आग्रह आउँदा म अलमल्ल परेँ। साच्चै भन्नू हो भने मलाई अर्कालाई सम्झाउन आउँदैन । के भनेर बुझाउने, कस्तो भन्दा उसको चित्त बुझ्छ कसरी जान्नू! म कसैको परामर्शदाता हुनै सक्तिनँ। कसैलाई फटट आउँछ, यसो गर्न उसो गर्न भन्नु, तर मलाई आउँदैन, आउँदै आउँदैन। यतिबेला यही  कुराले पिरोलो पार्यो मलाई। अब के भनेर मीठो बोली गर्ने ? तैपनि मैले लेखेँ तपाईं अहिले जवान हुनुहुन्छ। तपाईंको अघि तपाईंको सुन्दर जीवन रहेको छ। यो उमेर भनेको खुशी मनाउने, आनन्दमा बस्ने, मोज गर्ने हो। तपाईं एक परी जस्तै मोहक सौर्न्दर्यको धनी हुनुहुन्छ।

निकै लामो बातप्रतिबाद भए पछि उसले लेखी म तपाईंलाई अझुसी भनेर एड्रेस गर्नेछु । अझुसी भनेको कोरियन भाषामा मिस्टर भनेको हो। हाम्रो जेनेरेसन अहिले कोरियन भने पछि मस्त हुन्छ। कोरियन ड्रामा, कोरियन गीत, कोरियन फेसन हामी खुबै मन पराउछौँ।

अझुसी, भन्नुहोस त म फोरेन कन्ट्री जाऊँ कि नजाऊँ? प्लिज मलाई बताइदिनोस।

म डिप्रेस्सड छु, अझुसी, म कसरी यो डिप्रेस्सनबाट फ्री हुनु? म कहिले हाँस्ने रमाउने हुनु? तपाईंलाई याद छ मलाई रुन मात्र मन लाग्छ। अहिले पनि आइ एम क्राइन्ग लुक एट मी ....

उसले आँसु सरीको फोटो पठाइ। उसको फोटोमा देखिन्थ्यो ऊ निकै रोएकी अनुहार नै रोदनीय देखिने।

मैले लेखेँ तपाईं यसरी नरुनुहोस। तपाईं हाँस्नु हुँदा कति राम्री देखिनु हुन्छ।

हामी बीच च्याट्टिङ चलिरह्यो, समय बितेको पत्तै भएन।

कतैबाट भाले बासेको मैले सुनेँ। झसङ्ग भएर घडी हेरेँ, अपुई बिहानीको साढे चार बजिसकेछ।

मलाई आफैंलाई अचम्भ लाग्यो यसरी रातभर जागेर कहिले बसेको स्मरण छैन, सक्दिनँ पनि। फेरि आज रात कसरी बसेँ ?

मैले उसलाई भनेँ बिहान हुन लागेछ, म केही बेर सुत्छु। अहिलेलाई बिदा लिनुपर्यो। हुनत मलाई बिदा हुन मन परेको थिएन। उसले भनी अब ऊ जग्गिङ जाने'रे। सधैं यही समय ऊ जग्गिङ्ग जान्छ'रे।

ऊ सित बिदा लिएपछि केही क्षण घोरिएँ। मलाई मनै रमाउने आनन्दानुभूति महसुस भयो। त्यसै मुस्कान छायो।

यद्यपि शरम पनि लाग्यो। छोराछोरी नातानातिनीको धनी भइसकेको वार्धक्यतिरको ढलानमा गइसकेको मान्छे एउटी तरुणीसित भररात च्याट्टिङमा आँखा झिमिक्क नगरी बस्नु, के यो सद्दे नै हो? मान्छेले थाहा पाए के भन्लान् ? कुन ठाउँमा लुकाउनु आफ्नो अनुहार ?

 

कुनै रात फेरि च्याट्टिङमा आउँछे भन्ने भाका त थियो तर त्यस्तो छिटै केही भएनँ।

एक बिहानी मेरो मोबाइलमा एउटा नोटिफिकेसन रहेछ। पासाङ डुमजन एन्ड सिक्स अदर्स हेव देयर बर्थडेज टुडे। सेन्ड देम गुड थट्स।

पासाङको प्रोफाइलमा गएँ र उसलाई जन्मदिनको बधाई दिएँ। एउटा फुलको गुच्छाको इमोजी पनि एटेच गरेँ।

फेसबुकको मात्र भए पनि उसलाई आफ्नो हितैषी साथी सम्झिन थालेको थिएँ। निकै दिन भयो च्याटमा नआएको र उसको स्टेटस अपडेट पनि नदेखेको। म उसको स्टेटस अपडेटको लालायित रहन्थे उसले पोस्ट गरेको ठट्टयौलीहरूको निम्ति। उसले कमसेकम हाँस्ने मौका दिन्छ, कति महगों छ हाँस्न पाउनु पनि अचेल।

दिनभर कार्यलयमा व्यस्त रहियो। फेसबुक हेर्ने फुर्सद पनि भएन। बेलुका निकै थाकेको झैँ भयो। श्रीमतीले चिया खाजा राखिदिएकी थिई टेबलमा। आराम गरेर केही क्षण पछि फेसबुक खोलेँ र अपडेट हेर्न थालेँ। त्यही अपडेटहरूमा पासाङ डुमजनको जन्मदिनबारेमा लेखिएको स्टेटसले मेरो ध्यान आकर्षित गर्यो। उसको एक परिचित मित्रले लेखेको रहेछ

आज तिम्रो जन्मदिन। ठिक यही दिन हामी तिम्रो जन्मदिनमा भेला भएका थियौँ तिम्रो घरमा। तिमी केही विसञ्चो त थियौ तर त्यस्तो साह्रो होइन। हामी सबै मिलेर खायौं पियौँ नाच्यौ गायौँ। कस्तो मजा आएको थियो।

तर त्यही बेलुका राती दस बजेतिर तिमी अचानक बिदा लिएर गयौँ भन्दा म छाँगोबाट खसे जस्तो भएको थिएँ।त्यतिनै बेला म तिम्रो घर गएँ। सबै रुवाबासी भइरहेको थियो।

आज ठिक एक वर्ष भयो। म यति नै भन्न चाहन्छु तिम्रो आत्माले चिरशान्ति पाओस र वैकुण्ठमा वास रहोस। तिम्रो सम्झना त सँधै भइरहनेछ।

यो पढने साथ म झसङ्ग भएँ। पासाङ त एक साल अघि नै मृत्यु भइसकेछ, अन्त के म मरेको मान्छेसित च्याट्टिङ गरिरहे'थे? एकक्षण होश हराएको जस्तो भयो। मुख सुकेर आयो। जिउ सिरिङ्ग भयो काँढा उम्रेर आयो। हात खुट्टा लल्याक लुलुक भयो। डर र त्रास यति भयानक रुपमा अनुभव गरेको अझैसम्म थाहा थिएन। के गरौँ कसो गरौं भन्ने भयो।

श्रीमती आएर मैले आधी मात्र खाएको खाजा हेरेर सोधिन के भयो किन नखानु भा'को?

मैले भनेँ अचानक के भयो भयो सातो गा'को झैँ भयो। मुटु लुकलुक कामिरहेको छ। पसीना पनि आउनु थाल्यो। उकुसमुकुस भयो।

श्रीमती रोएकी जस्तो गरी। मैले भनेँ माथि चपरासी बिजुवाकोमा जान्छु। लागू लाग्यो होला मलाई। अघि घर आउँदा तर्सेको थिएँ । (हुनत यो चाहिँ मैले ढाँटेको हो)।

चपरासी बिजुवा बन विभागको फरेस्ट गार्ड हो। उसले झारफुक गर्छ र हामी उसलाई बिजुवा भन्छौं।

उसले मलाई एउटा काँसको थालमा चामलको केही सीताहरू राखेर मन्त्र गर्यो, फू फू गर्यो। केही अक्षेता बाहिर फ्याक्यो। भन्यो बनको लागेको रहेछ, मैले मनसाइदिएँ। अब दुख दिँदैन।

अर्को दिन बिहानै म इन्चे गुम्बा गएँ। गुम्बा बाहिर पुजाको सरसमान किनेँ र गुम्बाको उकालो बाटो चढेँ। त्यहाँ पुजा गर्नलाई दुई ठाउँ छ, एउटा साधारण पुजा र अर्को तान्त्रिक पुजा। मैले दुवै ठाउँमा गरेँ पुजा। पाँच सौ रुपियाँको भेटी चडाएँ।

मन भने शान्त हुन सकेन। हताशा भइरहेको थियो। के हुने हो के नहुने हो डर त्यतिकै छाइरहेको थियो।

हाम्रो घरदेखि झन्डै आधी घन्टाको बाटोमा एउटा झाक्री छ, डम्बरे झाक्री भन्छ उसलाई । फेरि साझँ पख उसकोमा गएँ। उसले पनि झारफूक गरिदियो। एक बोतल थ्री एक्स लगेर गइको थिएँ। हुनत उसले भाले पनि चाहिन्छ भन्दै थियो। अब यस्तो महंगाइमा कहाँबाट ल्याउनु भाले ? अचेल दामले हुरुक्क पार्छ।

दुईदिन पछि मेरो अफिसको ख्रिष्टान साथीले पास्टरकोमा जाऊँ भन्यो। गएँ। उसले प्रार्थना गरिदिने भयो।

मेरी श्रीमती सत्सङ्गमा जान्छे। एक घरमा भेला रहेछ। भजन हुन्छ भन्यो। बाइजी पनि आउनुहुन्छ रे। उहाँको प्रतापले ठिक हुन्छ होला भनी। त्यहाँ पनि गएँ।

फेरि कसैले भन्यो यस्तो कुरामा बुङथिङ शक्तिशाली हुन्छ। जस्तै जन्डा भूतप्रेत पनि ठिक पार्छ । बुङथिङकोमा पनि गएँ।

सिक्किममा थुप्रै गुम्बाहरू छन र ती भिन्दा भिन्दै गुम्बाहरूको आआफ्ना विशेषता छन। माछोङ गुम्बा चाहिँ तन्त्र विद्याको निम्ति जानिन्छ। यसैले त्यहाँको रिम्पोछेको जाने विचार आयो। गाडी रिजर्भ गरेर लानु पर्ने भयो गोटे ट्याक्सीमा नभ्याउने जानू आउनु। गाडी भाडा पाचँ हजारमा मिलाएँ। पुजाको निम्ति सरसमान र भेटी पैसाको हिसाब गर्दा दस हजार खर्च हुने भयो। ऋण काटेर भए पनि जानेँ भए। बाँचे तिरौला ऋण।

हुन पनि यतिबिघ्न देवी देवताकोमा पुजाआजा र बिन्ती भाव गरेपछि निकै बिसेक भएको महसुस भयो। बिस्तार बिस्तार मनको डर कम्ति हुँदै गयो।

मलाई के कुराले यस्तो भयो आफै पनि विचार गरेँ। यो रोगको जड त यो नयाँ मोबाइल फोन र फेसबुक नै हो अडकल गरेँ। फेसबुक नचलाएको भए चिनजान नै हुने थिएन। नचिने पछि आफुले नचिनेको मरेको वा केही भएको खासै त्यस्तो फरक पर्दैन। मेरो डर र समस्याको जड यही फेसबुक हो।

यसैले पहिला फेसबुक एकाउन्ट डिएक्टिभेट गरेँ। फेरि सम्झेँ, होइन यो फेसबुक नै छैन भने एकाउन्ट कहाँबाट हुन्छ। अनि फेसबुक एप पनि अनइन्सटल गरिदिएँ।

घटना घटेको धेरै साल भयो तर कहिलेकाही सम्झिँदा अझ पनि आङ सिरिङ्ग भएर आउँछ।

 

 

 

 

 

 

Comments

Popular posts from this blog

अगमसिहं गिरी (युद्ध र योद्धा ) आलोचना

             युद्ध र योद्धा : एक पठन                          पेम्पा तामङ      अगमसिहं गिरी भारतीय नेपाली साहित्यमा सर्वाधिक चर्चामा रहेको कवि हो। उनलाई मूलतः स्वछन्दतावादी कवि र जातीय कवि भनेर आलोचकहरूले चिनाएका छन भने कही कही अस्तित्ववादी भनी परिचय दिएको छ। उनका प्रारम्भिक कविताहरू भावनात्मक र करुणामय थिए यसैले उनलाई दुखवादी पनि भनिएको  हो। गिरीका कविताहरू आम चलनको भाषामा लेखिएका र प्रतीक र बिम्वको जडान थोरै रहेका छन। सरल , सहज र बोधगम्य रहेको हुनाले आम पाठकबीच लोकप्रियता बडी रहेको थियो। जीवन , मृत्यु , दुख , बिरह उनका कविताको भावलहरी रहेको छ। कल्पनाको निर्बाध उडान र जीवन परान्मुख रहेको मानिन्छ। जीवनलाई यसरी हेर्ने दृष्टि छायावाद र स्वछन्दतावा भनेर चिनिन्छ। हुनत छायावाद र स्वछन्दतावाद यी बाहेक अन्य पनि हुन। स्वच्छन्दतावादको प्रवर्तक विलियम वर्डस्वर्थको लेखन सिद्धान्त कविताको भाषा आम मानिसको बोलीको शैलीमा हु...

Circle of Karma -Bhutanese novel review

Circle of Karma   Authored by Kunzang Choden, a native of a small village in Bumthang District in  north-central Bhutan, Circle of Karma is the first English novel to emerge from the land of the druk (Bhutan),   the mythical dragon. Published in 2005, the novel instantly courted fame far and wide, and has since been translated into several languages. The novel had been short listed for the prestigious Elle Prix des Lectrices too. Choden was born in the year of the druk , or the year of the dragon, corresponding to 1952 in the Gregorian calendar. Since Choden was born into a prosperous family, her parents sent her to a convent school in Kalimpong when she was nine years of age. Choden recounts the initial difficulty she encountered in the school because, as is prevalent in Bhutan, she did not have a surname attached to her first name. Moreover her father’s name was Kunzang Dorje and the Reverend Mother of her school refused to believe that the father an...

Poetry of Puja Upadhyay

             दुई शब्द भूमिकाको                           पेम्पा तामङ      नेपाली साहित्यमा सर्वाधिक लोकप्रिय विधा कविता हो र सर्वाधिक रचना यसैमा देखिन्छ। कविता एक यस्तो विधा पनि हो  जसले कवि अनि रसिक दुवैलाई आकर्षित गराउँछ। कविलाई अनिवर्चनीय आनन्द बोध गराउँदछ कविता सृजनामा। यसैले पनि कवि शब्द सुधाको धारा बहाउन चञ्चल रहन्छ। हुनत कविता व्यक्ति र समाजमा जोडिने एक सेतु पनि हो। नेपाली कविताको पहिलो कविता मानिने सुवानन्ददासको लेखनलाई हेर्नु हो भने कविता एउटा त्यस्तो सशक्त माध्यम हो जसको सहाराले एक निरीह व्यक्ति सर्वशक्तिमानसित  संवादमा रहनुसक्दछ।   कुनै पनि कविताले व्यक्तिलाई एकदेखि अनेकमा पुर्याउने क्षमता राखेको हुन्छ। कविता एक परम्परा निर्वाह हो। कुनै पनि कवि अनेकौं पुस्ताको प्रतिविम्ब हुन्छ , चाहे त्यो रूपमा होस , विचार वा दर्शनमा होस या फेरि फगत भाषिक परम्परामा। तर कुनै कविताले परिचय त्य...