कोरोना ब्लुज
केही दिन अघिको कुरा हो मेरो मोबाइलमा कल आयो । उठाएर हेरे, सेभ्ड नम्बर रहेछ, नाम सहित । मैले शिष्टता निभाउँदै "हल्लो! कसो हुनुहुन्छ ? " भने।
उताबाट गह्रौं भारीले थिचेको जस्तो आवाजमा खरो जवाब आयो " के छ? कोरोनाले लडायो कि क्या हौ तिमीलाई ?"
यो व्यक्ति मेरो व्यक्तिगत परिचयभित्र पर्ने मित्र होइन । म उसलाई व्यक्तिगत रुपमा चिन्दिनँ। उसको फेसबुक प्रोफाइलमा पनि हिजोआज चलेको फेसन जस्तै एनोनिमस राखेको देखेको थिएँ ।
यसले नचिनेको मान्छेले एकासी "तिमी " भनी सम्बोधन गर्दा झनक्क रिस त उठ्यो । तर फेरि सम्झेँ रमाइलो गर्नु पर्यो यो मान्छेसित भनेर ।
मैले भनेँ " समाचार पढनु हुँदै होला नि ? "
"पढछु, किन नपढनु ?" उसले भन्यो ।
"खबरमा कोरोनाले यति उमेरको फलना ठाउँको मान्छे घरमा साह्रो भएर अस्पताल लाँदा मृत घोषित गरेको निस्केको थियो ।"
"अनि के भो त ?"
मैले भनेँ "त्यो मान्छे मै हुँ नि ?"
उसले खुइ्य्य गरेर भन्यो " ला हौ बित्यास परेछ। "
"................"
"................"
निकै बेरको मौनता पछि उसले हठात भन्यो " अन्त तिमी कस्तो गाढु मान्छे रहेछ। कस्तो धोखेबाज ! खतम रहेछौं । त्यत्रो बिश्वास गरेर मैले तिमीलाई मेरो कविताको किताबमा लेख्नु दे'को थेँ। "
एक महीना अघि जस्तो उसले मलाई फ्रेन्ड रिक्वेस्ट पठाएको थियो । मैले सिक्किम कै रहेछ भनेर एकसेप्ट पनि छिटै गरेँ। फ्रेन्ड रिक्वेस्ट पछि उसैले मेरो फोन नम्बर दे भनेर भन्यो मैले दिएँ। फेरि वाट्सएप नम्बर दे भन्यो । मैले भनेँ मेरो फोन नम्बरमा वाट्सएप छ ।
वाट्सएपमा एउटा पिडिएफ फाइल आयो । मैले खोलेर हेरेँ , कविताहरू रहेछन। गन्ती गर्दा 65 वटा लामा छोटा कविताहरू। जम्मा जम्मी १०६ पेज रहेछ।
फेरि उसकोबाट मेसेज आयो यो किताबमाथि तिमीले लेखिदिनु भनेर ।
हिच्किचाउँदै मैले हुन्छ भनेको थिएँ ।
पिडिएफ पढेर केही लेख्न सजिलो हुँदैन । यसैले मैले यसको प्रिन्ट निकालेर पोस्ट गरिदेउ भनेँ। उसको बाट लगत्तै मेसेज आयो आफ्नो प्रिन्टर होला त्यसमा निकाल।
कस्तो फसाद! बाफरे.....
मेरो प्रिन्टर बिग्रेर बसेको धेरै महीना भइसकेको थियो । यसैले गान्तोक बजारमा गएर प्रिन्ट निकालेँ। गान्तोकमा सबै कुरा महगों छ। १०६ पेजको ६४० रुपियाँ तिर्नु पर्यो। पेपर राख्न सजिलो होस भनेर स्पाइरल बाइन्डिगं गर्न लगाएँ। एकसय रुपियाँ थप लाग्यो ।
यो मान्छेले यही किताबको कुरा गरेको थियो ।
उसले रिसाएर भन्यो " नसक्ने हो भने किन चाहिँ अस्त लुरुक्क परेर हुन्छ भनिस?"
"............."
" तिमी त मामाको घर गइहालेछ, अब त्यो मेरो किताब फर्का " भन्यो उसले ।
मैले भने " तपाईंले पिडिएफ फाइलको कपि पो मेरो मा ट्रान्सफर गरेको हो त, किताबै होइन नि। कसरी किताब फर्काउनु ?"
उसले झर्केर भन्यो " त्यो सब म जान्दिनँ। मेरो किताब चाहिँ झट्टै कसरी हुन्छ दे, नभा ठिक हुँदैन । म पनि जान्दछु के गर्नु पर्छ भनेर ।"
के उदेकलाग्दो मान्छे , सम्झेँ । अब यो मान्छेले मान्दैन । अनि मैले भनेँ " लु हुन्छ, फाइल फर्काइदिन्छु। वाट्सएप हेर्नोस।"
उसले अन्त्यमा भन्यो " अ, पाएँ।"
कल एन्ड भएको देखियो मेरो मोबाइलमा । सम्झेँ ढुक्क भयो । छुटकारा पाइयो ।
झन्डै दस मिनट पछि फेरि कल आयो उसको र सोध्यो " यो फोन कसको हो?"
"मेरो हो"
" होइन, कसको नम्बर हो भनेको?"
"मेरै नम्बर हो"
" अन्त त्यो ओगि बोल्ने को हो?"
" म नै हुँ।"
"तँ भूत हो?"
"होइन ।"
"फोन राख, धेरै बाठे कुरा नगर। तलाई कोरोना त्यसै लागेको होइन रहेछ।"
कल एन्ड उतैबाट भयो ।
( यसलाई पढनेहरूले सम्झिदिनु होस, यो रमाइलोको लागि मात्र हो।)
टिप्पणी :
एउटा फोन वार्तालाप यही लाइनमा भएको थियो, यसैलाई थपघट, सत्य असत्य mashup गरेर अकिंत।
Comments
Post a Comment