सरोकार पत्रिकाको प्रवेशाकंको निम्ति मलाई दलितवादमाथि लेख दिन भनिएको थियो। तर म असमर्थ रहेँ । पछि पत्रिका प्रकाशन भएर बजारमा यसको निकै चर्चा रहेको जान्न पाइयो। सिलगढीको पुस्तक पसलतिर चाहारेँ। पाउन सकिएन।
दोस्रो अकंको निम्ति भनेर भाइ सुरज रोसुरीले वाट्सएप मार्फत प्रश्नहरू पठाएछन।
दोधार रह्यो मनमा संक्षिप्त रुपमा राख्ने कि अलि फरक गरेर केही विस्तारसित दिने भनेर । अन्तर्वार्ता छोटो रहे राम्रो जस्तो लाग्छ। पत्रिकामा निस्कने हुनाले स्थान कम हुन्छ र लामो लेखाइ राख्न कठिन पर्छ।
यद्यपि प्रश्नको गरिमा र गम्भीरता विचार गर्दा छोटो राखे अस्पष्टता आरुढ रहने लाग्यो । यसैले विवृत्तिमय लेखियो।
दोस्रो अंक प्रकाशित भएको सूचना पनि आदरणीय कवि मनप्रसाद सुब्बाको फोनकल मार्फत जान्नमा आयो । उहाँले यो अन्तर्वार्ता पढनु भएछ र मलाई आफ्नो प्रतिक्रिया राख्नुभएको थियो ।
पत्रिका पढन नपाउनुको विषाद रहेको थियो मनमा, र सम्भवतः यो अंक पनि हात नपर्ला ।
यही मुद्दालाई ध्यानमा राखेर यहाँ शेयर गर्ने विचार आयो ।
१. अहिले भारतको नेपाली आख्यान साहित्यलाई कसरी हेरिरहनुभएको छ?
२. गम्भीर र लोकप्रिय आख्यानका कुराहरू उठ्छन्। के भिन्नता छ यी दुई प्रकारमा? अहिले लेखिँदै गरेका आख्यान गम्भीर कि लोकप्रिय?
३. कस्ता विषयवस्तुहरू हाम्रा आख्यानले छुँदै छोएनन्?
४. तपाईँले पढ्नुभएका केही विश्वकै राम्रा, श्रेष्ठ आख्यानबारे केही भनिदिनुहोस् न।
५. तपाईँको एउटा पुस्तकको नामै छ - आख्यानदेखि पराख्यानसम्म। यो पराख्यान के हो?
६. हाम्रो साहित्यमा पराख्यान लेखिएको छ?
७. अहिले यताको साहित्यमा म्याजिकल रियलिज्मका कुराहरू उठाइँदैछन्। कस्ता हुन्छन् म्याजिकल रियलिज्म रहेका आख्यानहरू?
८. आख्यानबारेका समालोचना किन हाम्रो साहित्यमा अपेक्षित आउन नसकेको होला?
९. नेपाली साहित्यमा तपाईँलाई मन परेका केही उपन्यासका नाम? अनि मन पर्नाका कारण?
१. यहाँ तपाईंले "अहिले" शब्द प्रयोग गर्नु भएको छ। यसले समकालीन साहित्य लेखनलाई इंगित गर्दछ। तर अहिले भने पछि पहिले शब्द स्वत: स्मरण हुन्छ र यसलाई यही विपरीतमा बुझ्नु पर्ने हुन्छ। यसैकारण पहिले र अहिले को आख्यान लेखनमा कस्तो भिन्नता रहेको छ भन्ने प्रश्नमा अल्झन साविक ठहरिन्छ। यसले कथा लेखन तकनिक र विषयवस्तुमा देखिएको भिन्नता विचार गरिनु पर्ने बुझिन्छ।
साहित्य लेखनको निश्चित सीमा रेखा हुँदैन र गाउँ शहर वा राज्य सरह यसको सीमाना हुँदैन। लेखन सीमाना मुक्त क्षेत्रमा आवाद रहेको कारण यसले सहजताका साथ प्रभाव र देखासेखी गर्दछ। एकै समयमा लेखिएका अलग अलग सर्जक भिन्न काल समयको देखिनु यसैले अस्वाभाविक होइन। "अहिले" का भारतीय नेपाली आख्यान लेखन यस दृष्टिकोणबाट बुझिए हामीलाई हाम्रो समकालीन कथा लेखनको परम्परा र प्रवृत्ति आकलन गर्न निकै सरल हुनेछ।
वर्तमान समयमा भारतीय नेपाली आख्यान लेखनमा सक्रीय रहेका सम्मानजनक संख्यामा रहेका छन। केही सर्जक पछिल्लो छ दशक देखि रहेका छन। थोरै लेखिए पनि समय समय उनीहरूका सृजनाको लाभ आम पाठकले उपभोग गर्न पाइरहेका छन।
केही अपवादलाई छोडेर अन्य अघिल्ला पुस्ताका कथाहरू साधारणत: रुमानी, आदर्शवादी र यथार्थोन्मुख आदर्शवादी प्रवृत्तिका अधिक थिए। यदाकदा समाजवादी यथार्थवाद पनि देखिन्थे। यसमा हामी धनबीर पुरी जस्ता कथाकारलाई अघि लाउन सक्छौं। मनोविज्ञानमा आधारित आख्यान पनि रहेको थियो।
यसको पछि स्वछन्दतावाद र यथार्थवादमा सीमित नरहेर व्यक्ति र उसको कुण्ठा, सामाजिकआर्थिक समस्या, अस्तित्वको प्रश्न अघि लाएर लेखिएका आख्यान आए।
अहिले लेखिँदै गरेको आख्यान यही अघिल्लो पुस्ताले लेखेका भन्दा कति भिन्न छन वा फरक दृष्टिले हेर्नू पर्छ वा पर्दैन भन्ने प्रश्न हो।
आजका आख्यान फरक धारमा रहेको स्पष्ट देखिन्छ विषयवस्तु, तकनिक, दृष्टिकोण तथा प्रयोगधर्मिता जस्ता बुँदाका उपस्थितिले। आजका कथा फगत पाठकप्रियता र मनोहारितामा आग्रही छैन। अभिव्यक्तिप्रति सम्वेदनशील र कलात्मकताप्रति सचेत रहेको छ। यसैले सबै कथाहरू सहज र सरल छैनन्। पहिलेको झै कल्पनाको प्राचुर्यता देखिन्न किनकि यी कथाहरू भोगाइको जीवन्तता आत्मसात गरेका छन। कथामा अतिरञ्जना देखिन छाडिएको छ र बडी स्वाभाविकता आएको छ। सञ्जय विष्ट, प्रवीण जुमेली, उदय थुलुङ, खुसेन्द्र राई, शमसेर अली, छुदेन काविमो, युवा बराल, थीरुप्रसाद नेपाल, बिन्ध्या सुब्बा, शान्ति थापा( दिवंगत ) , उषा शर्मा, सतीश रसाइली, कालुसिहं रणपहेली, ध्रुव चौहान, अबीर खालिङ आजका विशिष्ट आख्यानकारहरू हुन। हालै लेखनमा आएका विनिता छेत्री, सन्ध्या आचार्य, निरज थापा, संजीव छेत्री, सुरज धडकन केही त्यस्ता नामहरू हुन जसका कृतिहरू आगामी दिनमा अझ सशक्त भएर आउने अपेक्षा गर्न सकिनेछ ।
यी नवीन कलमहरूको विशेषता उनीहरूको लेखनमा रहेको तात्कालिकता र समयोचित भाषा हो। आख्यानका विषयवस्तु पनि टाढा वा सुदूर तथा नितान्त काल्पनिक नभई आफ्नो परिवेशमा घटेका घटनाहरूमै प्रमुख छन। यसले यी आख्यानहरू यथार्थपरक मात्र नभएर आफ्नो समयको प्रतिनिधित्व गरेको देखिन्छ। कविता वा कथा लेखनलाई भएको घटनालाई काल्पनिक जस्तो बनाइ लेखिने कला पनि भनिने गरिएको छ। समकालीन कथाहरू सोपान गर्दा यस्तो आभास ठढकारो रुपमा आउने गरेको छ।
२. गम्भीर र लोकप्रिय साहित्यको विभाजन पश्चिमी अवधारणा हो। समग्र नेपाली साहित्य हेर्दा यश विषयमा चर्चा खासै देखिँदैन। नेपाली साहित्यमा आख्यान लेखनको प्रारम्भ बीरसिक्का जस्ता किस्सा कहानीबाट भएको देखिन्छ।
मध्यकालीन युरोपमा लिटरेचर र बेल्ले लेट्टर भनेर चर्चा गरिएको प्रसङ्ग पाइन्छ। पछिबाट पोपुलर लिटरेचर भनेर नाम आउन थाल्यो। यही पोपुलर लिटरेचरलाई नेपालीमा लोकप्रिय आख्यान भनेको हो। सिरियस लिटरेचर र पोपुलर लिटरेचर अर्थात गम्भीर साहित्य र लोकप्रिय साहित्य। यसलाई समालोचनासित जोडिएर हेरिन्छ। गम्भीर साहित्य (आख्यान) को मात्र समालोचना हुन्छ लोकप्रिय लेखनको समालोचना हुन सक्दैन। जुन लेखनको विश्लेषणको आवश्यकता पर्दैन र अर्थ सम्प्रेषण सहज छ त्यस्ता लेखनलाई लोकप्रिय लेखन भनिएको हो। लोकप्रिय लेखन अति भावुक र अतिरञ्जनामय हुन्छ। चित्रण यथार्थ नभएर नितान्त कपोलकल्पित हुन्छ र पाठकलाई मनोरञ्जन दिलाउन मात्र यसको उद्देश्य रहन्छ।
साहित्य लेखन हामीले सापेक्षतामा बुझ्नुपर्छ। यसको अर्थ के हो भने साहित्य एक अनुशासन हो अन्य अनुशासन जस्तै इतिहास, दर्शन, मनोविज्ञान, नृवंशशास्त्र आदि। यो सापेक्षतामा रहेको कारण स्पष्ट ढुंगा र माटो छुट्टिएको झै हुँदैन। यही कारण पनि अहिले साहित्यमनिषिहरू भन्ने गर्छन केवल साहित्यको फगत सिद्धान्त हुन सक्दैन। विनिर्माणी पल डी म्यानले यसैकारण एगेन्स्ट थ्योरी भनी लेख लेखेको छ। मार्क्सवादी साहित्यकार टेरी ईगल्टनले पनि आफ्नो प्रसिद्ध पुस्तक ए थ्योरी अफ लिटरेचर: एन इन्ट्रोडक्सन -मा यही साहित्यको सिद्धान्त निर्माणमा भएको कठिनाईको प्रश्न उठाएको छ।
वर्तमान समयमा विधा विभाजनमाथि पनि प्रश्न चिन्ह लाग्न थालेको छ। नेपाली भाषामा नदेखिए तापनि हिन्दी भाषामा त्यस्ता कथा देखिन थालिएको छ जसको पाठ कसरी गर्नु पर्ने हो भ्रम सृजना हुन्छ। समाचार लेखन, सरकारी दस्तावेज, राजनीति, समाजशास्त्र, दर्शन तथा आख्यान एउटै प्रवाहमा बहेको र छुट्याएर हेर्न नमिल्ने बुझिन्छ।
साहित्य पठन संस्कारसित जोडिएको हुन्छ। यसैले जुन साहित्यले पठन संस्कारमा सहयोग गर्छ त्यो आम जनमानसमा रहन सफल बन्दछ। उत्तराधुनिकताबाद एउटा आग्रह के रहेको छ भने कुनै पनि लेखन लेखकीय र पाठकीय दुवै हुनुपर्छ। यसको विशेषता पनि त्यही हुनजान्छ। अम्बर्टो ईकोको उपन्यास ए नेम अफ रोज यही सिद्धान्तको आधारमा लेखिएको छ। कथावस्तु एक जासुसी कथा जस्तो छ तर अनेकौं तकनिकको भरमारले यो उपन्यास एक गम्भीर पाठक र हल्का पाठ पढन रुचाउने दुवैका निम्ति रसमय रहेको छ। यसैले यो लोकप्रिय आख्यान र गम्भीर आख्यान एकैसाथमा भएको पाठ हो।
नेपाली आख्यान लेखन परम्परामा लोकप्रिय आख्यान पाठकप्रिय मात्र बनाइएर लेखिएकै हो। यसमा सबैभन्दा सफल लेखकको नाममा प्रकाश कोबिद आउँदछ। अर्को नाम हो सुवास। तर भारतीय नेपाली आख्यानमा यसप्रकारको लेखनको अनुशरण भने भएको देखिँदैन। पछि बाट जति पनि उपन्यास लेखिए ती कलापक्षलाई गम्भीरता दिइएर लेखिएको बुझिन्छ। पश्चिमी लेखन वा हिन्दीमा पाइने संस्करण जस्तो रुपमा यता भारतीय नेपाली आख्यानमा देखिँदैन। यसैकारण वर्तमान कालमा लेखिँदै आएका भारतीय नेपाली आख्यानलाई लोकप्रिय मात्र छन भन्नु न्यायसंगत हुँदैन । भारतीय नेपाली साहित्यमा आलोचनात्मक लेख सम्यक मात्रामा रहेको भनिनु पर्छ। लोकप्रिय साहित्य भनिनाले स्तरीयताको प्रश्न आउँदछ। अहिलेको साहित्यले जे जस्तो स्तर कायम गरेको छ। यसैले "लोकप्रिय" को उपाधि दिन अवमूल्यन हुन्छ।
३. मैले माथि नै चर्चा गरिसकेको छु आजका आख्यानहरू आफ्नो वरिपरि घटेका घटनाहरूसित बडी सचेत बनेर सृजना गरिएका छन भनेर। पछिल्लो समयको गोर्खाल्यान्ड आन्दोलन सबैभन्दा ठूलो घटना हो जसले पुरै भारतीय नेपालीलाई प्रभाव पारेको छ। यही आन्दोलनको पृष्ठभूमिमा केही आख्यानहरू लेखिए, छोटो कथा, उपन्यास दुवै रहेका छन। यद्यपि जति लेखिए ती एक सीमित घेरामा निर्मित छन। गोर्खाल्यान्ड आन्दोलनले भारतीय नेपालीको धेरै पक्षलाई छोएको हो। आन्दोलनको बृहत्तालाई आत्मसात गरेर साहित्य सृजना गरिएको भने देखिएको छैन। हुनत यसको निम्ति अपार अध्ययन र अनुसन्धानको आवश्यकता पर्दछ। 1966-68 मा नाइजेरियामा गृह युद्ध भएको रहेछ। यस गृह युद्धको आख्यान 1977 मा जन्मिएकी नाइजेरियाइ आख्यानकार चिमामाण्डाले "हाफ अफ यल्लो सन" शीर्षकमा उपन्यास लेखेकी छ। यो उपन्यासले उक्त गृहयुद्धको जीवन्त चित्रण गरेको छ। गोर्खाल्यान्ड आन्दोलनको पनि यही समग्रता बोकेको उपन्यास अपेक्षा गर्दछ।
भारतीय नेपालीको जीवन एकसरह छैन र भिन्दा भिन्दै भौगोलिक क्षेत्रमा भिन्न जीवन अनुभव रहेको देखिन आउँछ। सात उत्तर पूर्वी राज्य र सिक्किम गरेर आठ राज्यको समूहमा सबै ठाउँ गोर्खाहरूको कमोबेस बसोबास छ तर विबिधता छ उनीहरूले पाउने गरेको सुविधा र सुरक्षामा। यसैगरी भारतका अन्य प्रान्तहरूमा रहेका छन। यो सर्वभारतीय गोरखालाई प्रतिनिधित्व दिन सक्ने आख्यान अझसम्म लेखिएको छैन। मलाई यसमा एक सिङ्गापूरको लेखिकाले लेखेकी छोटोे कथाको स्मरण आउँछ। यो कथाले चिनियाँ संस्कृति, जापानको खेती, हङकङको जीवन, सिङ्गापूरको फेसन फोटोग्राफर, ग्रामीण स्पेन, मेक्सिको र आधुनिक सामाजिक सञ्जालले उपलब्ध गराएको सुविधा सबै समेटेको थियो। यसप्रकारको भारतीय नेपाली आख्यान आउन समयोचित हुनेछ।
४. विभिन्न कालमा विभिन्न उपन्यासहरू पढियो। एक समय मलाई लागेको थियो नोबेल पुरस्कार लेखकहरूका कमसेकम एक एकवटा भए पनि उपन्यास पढौँ भनेर। तर मलाई ती सबै पुस्तक हासिल गर्न र सबै पढन भ्याउन चर्को लाग्यो। फेरि थाहा पाइयो टल्स्टय विश्वका श्रेष्ठतम उपन्यासकारको गन्तीमा आए पनि उनलाई दिइएन रहेछ। त्यस्तै अमेरिकाको उपन्यासकार सिन्क्लेयर लेविस उच्च कोटिको आख्यानकार थिएन रे तर पनि नोबेल पुरस्कारको निम्ति चयन भए। काफ्का, बोर्गेस पनि चयनित भएनन। यसपछि मेरो रुचिमा वा छनौटमा फरक पर्यो।
मैले पढेको पहिलो विश्वस्तरको कृति डा जिभागो हो। दशौ श्रेणीमा पढदा पढेको हुँ। तर त्यतिबेला केही बुझिनँ। यो उपन्यास रसियामा प्रतिबन्धित छ भनेर पढेको थिएँ तर किन त्यसो भए पढेर थाहा पाउन सकिएन। मलाई यसको बारे विस्तारसित जान्न धेरै समय लाग्यो ।
केही समय पछि पर्ल एस बकको द गुड अर्थ पढियो। निकै सहज लाग्यो। धेर थोर बुझियो। उनको उपन्यास बुझिने रहेछ भनी अरु पनि पढियो।
गान्तोकमा सोभियत पवलिकेसनको दोकान खोलिएको थियो 1980 तिर। त्यहाँबाट दोस्तोवोस्की, गोर्की, पुस्किन, निकोलय ओस्त्रोभ्सकी, चेंगिज एतमातोभ, मिखाइल शोलोखोभको एण्ड क्वाइट फ्लोज त दोन जस्ता किताब किनिएर पढियो। टल्सटयको कथा संकलन र एन्ना केरेनिना पनि त्यही समय हेरियो। टल्सटयको वार एण्ड पीस पढनै पर्छ लाग्यो। लगभग एक महीना समय लगाएर भए पनि पढिसकेँ। पढिसक्दा अचम्भै लाग्यो कसरी लेख्न सके भनेर ? त्यहाँ अनेक प्रकारका चरित्रहरू छन अनि सबै फरक फरक। मान्छेको मृत्युको र प्रेमको अनुभवको यति सुन्दर चित्रण थोरै अन्य लेखनमा मात्र होला। नेपोलियन रसियामा आक्रमण गरेको काल त्यहाँको समाजको सजीव वर्णन चकित गराउँदो रहेछ। इतिहासमा लिखित युद्ध भन्दा भिन्न विश्लेषण। धेरै पात्र पात्रा अनेकौं घटनाहरू र सहस्र धारा रहेको कारणले होला पर्सी लुबकले उनको क्राफ्ट अफ फिक्सन किताबमा भने वार एन्ड पीस उपन्यास होइन भनेको रहेछ। तुर्गनेभ बुझ्न गाह्रो भयो।
टेगौरको गोरा पढेँ।
हेमिङवेको उपन्यासहरू पढने रहरले द सन अलसो राइजेस, टु व्हुम बेल टल्स, ओल्ड मेन एण्ड सी, र कथा सङ्ग्रह मेन बिदाउट वुमन खुबै रुचाएर पढेँ। एकपटक ईटलीको लेखक अल्बर्टो मोरावियाको कथा उपन्यास पढने रहर भयो । उनको कथाहरू अति नै मन परेको थियो। एउटा उपन्यास "द टु वुमन" पढेर पछि मैले एउटा कथाको यही शीर्षक राखेको थिएँ "ती दुई आइमाईहरू"।
सल बेलोको उपन्यास हमबोल्ड्स गीफ्ट दोहोर्याएर पढेँ। हुनत अमेरिकामा यो उपन्यासलाई अलि पुरानो ढंगको भनिँदो रहेछ।
गत वर्ष पोलेण्डकी ओल्गा टोकर्जुकको उपन्यास "फ्लाइट्स" पढेको अति नै राम्रो लाग्यो। यो पारम्परिक परिभाषाभित्र पर्ने आख्यान होइन रहेछ। एउटा सिंगो कथासूत्र छैन। अनेकौं कथा, निबन्ध, वैज्ञानिक लेख र अनुसन्धानले भरिएको यो कृति अविस्मरणीय लाग्यो। संकीर्ण राष्ट्रवादको विरोध र सम्पूर्ण मानवजातिलाई समान मानिएको एवम लैइ्गिक विभेद काल्पनिक रुपमा सृजित संरचना भएको यसको स्वरलहरी हो। यो उपन्यासको रुप (फर्म) सम्झेर इन्द्रबहादुर राईको आज रमिता छ उपन्यासको स्मृति भयो। यो उपन्यासमा पनि त्यस्तो केन्द्र छैन र कथाको सार यो हो भन्न सकिँदैन फ्लाइट उपन्यासमा जस्तै। यही केन्द्र विहीनतालाई आधार बनाएर एउटा छोटो लेख मैले फेसबुकमा पोस्ट गरेको थिएँ।
एक फेर टेरी ईगल्टनले मिलन कुन्देराको उपन्यास अनबियरेबल लाइटनेस अफ बिइङ माथि लेखेको आलोचना पढेँ। यसपछि मिलन कुन्देराको उपन्यास पढने रहर जाग्यो। पहिला अनबियरेबल लाइटनेस अफ बिइङ पढेँ। यो औधि मन पर्यो। यसपछि उनका अन्य उपन्यासहरू द फेयरवेल पार्टी, जोक, बुक अफ लाफ्टर एन्ड फरगेटिङ पढियो। फरक विषयवस्तु र प्रविधिमा लेखिएको उपन्यास इम्मोर्टलिटि केही समयबाद पढेँ। अघिल्ला उपन्यासहरू कुन्देराको आफ्नो देश चेकोस्लोभाकियासित सम्बन्धित थियो। ( चेकोस्लोभाकिया पछि गएर चेक गणराज्य र स्लोभाक गणराज्यमा विभाजित भए।)
तर ईम्मोर्टोलिटि उपन्यासमा पूरा युरोपीय अस्मिता देखाइएको थियो। त्यति मात्र नभएर यो उत्तराधुनिक तकनिक अपनाइएर लेखिएको आख्यान रहेको रहेछ।
एरिक आयरबाकको माइमेसिसमा एमिलि जोलाको उपन्यास जरमिनलमाथि अत्यन्तै सुन्दर आलोचना पढे पछि यो उपन्यास पढने विचार आयो।
एमिलि जोलालाई प्रकृतिवादको प्रवर्तक भनिन्छ। उनीद्वारानै यो तकनिक भित्र्याइएको हो। यथार्थवादको अर्को चरणको रुपमा हेरिन सकिन्छ। यथार्थवादी साहित्यमा सामाजिक चित्रण सहज रहेको हुन्छ। अश्लील अमर्यादित चित्रण प्रच्छन्न र प्रतीकात्मक रुपमा मात्र राखिएको हुन्छ। तर प्रकृतिवादी लेखनमा कुनै बन्धन रहेको हुँदैन र प्राकृतिक रुपमा जस्तो रहन्छ सोही अनुरुप बताइएको हुन्छ। यसैले प्रकृतिवादी लेखनमा अश्लील र अमर्यादित भाषा रहेको पाइनु स्वाभाविक रहन्छ। जरमिनल उपन्यास प्रकृतिवादी लेखनको प्रतिनिधि उपन्यास भन्न सुहाउने रहेछ।
यो उपन्यासको कथावस्तु उत्तरी फ्रान्सको एक कोइला खानी र त्यस कोइलाखानीमा काम गर्ने श्रमिकहरू हो। यसमा देखाइएको श्रमिक र कोइलाखानीको मालिकको द्वन्द्व र मानसिकताको पर्खाल हाम्रो चियाकमानका श्रमिक र मालिकको सम्झना गराउँदो रहेछ। कोइलाखानीका श्रमिकहरूले गरेको हडतालमा सबैभन्दा भुक्तभोगी श्रमिकहरू हुन्छ जसरी चियाकमानमा हुन्छ।
श्रम अधिकार र श्रमिकहरूको उद्धारमा समर्पित अधिकारकर्मीहरूको निम्ति यो उपन्यास उदाहरणीय हुनसक्छ। मार्क्सवादमा चासो रहनेहरूलाई यसमा मार्क्सवादमा जनाइएको फर्स्ट इन्टरनेसनलको प्रसङ्ग चाखलाग्दो छ।
यो उपन्यासको मुख्य आकर्षण भनेको यहाँ प्रस्तुत गरिएको अति निम्न गरिब मजदुरहरूको शारीरिक रुपको जीवन्त चित्रण र उनीहरूको कारुणीय कथा हो।
५. इन्द्रबहादुर राईको कथा "घाँसीसँग" पढेर म भ्रममा परेँ यो कस्तो कथा हो भनेर । मैले त्यतिबेला बुझे अनुसार कथा मौलिक हुनुपर्छ। कथामा लेखकीय हस्तक्षेप हुनुहुँदैन। लेखकीय हस्तक्षेप भन्नाले उसले आफ्नो निजी स्वर वा विचार राख्नु हुँदैन। चरित्र चित्रण र कथानकको निर्माणमा इमानदारीता रहनु पर्दछ। पात्रहरूको निजी स्वभाव(इन्डिभिजुअलिटि) स्पष्ट (डिस्टिन्क्ट) देखिनु पर्दछ। जसरी समाजमा भिन्दा भिन्दै व्यक्तिको भिन्न स्वभाव हुन्छ कथामा पनि त्यो झल्किनुपर्दछ। यसो रहनुको कारण हो प्रत्येक कथा आफैमा पूर्ण हुन्छ। कथामा लेखकको विचार छद्म रहेको हुनुपर्छ। संदेश छर्लङ्ग बुझिने हुनुहुँदैन किनकि त्यो पाठकको क्षेत्र हो।
प्रथमतः "घाँसीसँग" कथाको कथानक मौलिक छैन, भानुभक्त र घाँसीको प्रकरण दोहोरिएको छ। भानुभक्तको भूमिकामा स्वयं लेखक अर्थात् इबरा उभिएको छ। यसो बुझ्दा उनको आत्मकथा जस्तो। तर यो आत्मकथा होइन किनकि घाँसी यो कथामा वास्तविक होइन काल्पनिक हो भनेर बुझिन्छ। कल्पनाको मिश्रण भए पछि यहाँ देखिएको वास्तविक पात्र (लेखक) पनि काल्पनिक बन्दछ।
यो कथा मैले बुझेको कथाको परिभाषामा मेल नखाने लाग्यो। यसलाई कसरी बुझ्ने ?
यतिबेला उत्तराधुनिकवादको चर्को चर्चा थियो। मैले अम्बर्टो इकोको दुईवटा उपन्यास लिएको थिएँ – नेम अफ रोज र फुकोज पेन्डुलम। यो पछिल्लो उपन्यास बुझ्नलाई गाह्रो भइरहेको थियो। उत्तराधुनिकवाद बारे किताब खोज्दै गर्दा ब्राइन मेक्हेलको कन्सट्रक्टिक पोस्टमोडर्निज्म फेला पर्यो। यही किताब रोज्न मन पर्यो किनकि यसमा फुकोज पेन्डुलममाथि आलोचना रहेछ। यसले मैले नबुझेको फुकोज पेन्डुलम बुझ्न सहायता गर्नेछ पनि लाग्यो। उत्तराधुनिक कथाको उदाहरण पनि राखिएको रहेछ। यो किताब पढदा यसमा धेरै पटक मेटाफिक्सन पदको प्रयोग गरेको देखेँ। साधारण रुपमा मेटाफिक्सनको जानकारी दिएको रहेछ। मेटाफिक्सन अझ राम्ररी बुझ्नलाई पेट्रिसिया वा लिखित मेटाफिक्सन हेरियो।
आख्यान र पराख्यानमा फरक के छ भन्दा दुवै आख्यान नै हुन। तर आख्यानमा आत्मसचेतनता देखाइएको हुँदैन भने पराख्यानमा आत्मसचेतता देखाएको हुन्छ। पराख्यान कथाकारले आफैतिर हेरेर लेख्ने कलात्मक तकनिक हो। पराख्यानमा दुई स्तरमा आख्यान सृजना भएको हुन्छ यसैले पराख्यानलाई आख्यानको आख्यान वा महाख्यान पनि भनिन्छ। व्याकरणले भाषाको चर्चा गर्छ यसैले यो भाषाको भाषा हो अर्थात महाभाषा वा मेटालेग्वेज। पराख्यानले कथा र कथाको चर्चा दुवै राख्दछ।
पराख्यानलाई विज्ञानको रिग्रेसन सिद्धान्तको रुपमा हेर्ने सकिनेछ। रिग्रेसन सिद्धान्तले भन्छ भाषा वा कुनै पनि माध्यमले वास्तविकताको सही चित्रण गर्न अनन्तता बेहोर्नु पर्दछ जो व्यावहारिक रुपमा सम्भव हुँदैन। कथा लेखनमा पनि यो प्रक्रिया देखिन्छ। कथाकारले कुनै एक अवस्था वा घटना कथामा प्रस्तुत गर्दछ। कथा लेखन र कथाकारले मनसमा रहेको चित्रमा समयको व्यवधान हुन्छ। यसैले कथा र कथाकार भिन्न समयमा बाँचेको हुन्छ। कथा लेखनमा कथाकारको निजी भूमिका हुन्छ उसको हस्ताक्षर हुन्छ तर कथामा त्यो देखिएको हुँदैन। कथा लेख्ने प्रक्रियामा कथाकार जुन मानसिकतामा रहेको हुन्छ त्यो मानसिकता कथामा झल्केको पाइँदैन। यसैले त्यो कथामा पूर्ण सत्य वा वास्तविक रहेको हुन्न र कथा अर्ध सत्य मात्र हुन्छ। पराख्यानमा यसैले कथाकारको उपस्थिति देखाइएको हुन्छ अथवा कथा र कथा लेखिएको प्रक्रिया दुवै देखाइन्छ। यसले पराख्यानलाई पारम्परिक कथा भन्दा सत्यताको नजिक भएको बुझाउँदछ। कथा काल्पनिक भए पनि यसले कथाकारलाई यथार्थ मै प्रभाव पारेको हुन्छ र कथाकार उसको कथामा बाँचेको हुन्छ। यही उभय स्थिति देखाएर लेखिएको आख्यान पराख्यान हो।
पराख्यानको यति अध्ययन पछि बुझियो "घाँसीसँग" कथा पराख्यान रहेछ भनेर।
यतिबेला म सरकारी सेवामा थिएँ , अवकाश ग्रहण गरेको थिइनँ। सिक्किममा माथिल्लो दर्जाका अधिकारीहरू नेपाली भाषी र गैर नेपाली भाषी दुवै छन। साधारण बोलचालको भाषा सबैले बुझे पनि लिखित भाषा कतिलाई बोधगम्य हुँदैन। त्यसो त कला साहित्य विषयमा बातचित पनि हुँदैन। तर एउटा त्यस्तै परिवेशमा यो बहसको विषय बन्दा मलाई भने तैले नेपालीमा लेख्छस हामी बुझ्दैनौ। अङ्ग्रेजीमा लेख हामी पनि पढौला भने। यसैले मैले पहिलोपटक अङ्ग्रेजी भाषामा विथ द ग्रासकटर शीर्षकमा इबराको कथा घासीसँग-को आलोचना पराख्यानको दृष्टिले लेखेँ। पछि सुवास दीपकको सम्पादनमा निस्कने अङ्ग्रेजी समाचारप्रधान पत्रिकामा प्रकाशित भयो ।
आइबी सरले पढनु भएछ मेरो लेख। नोभेम्बर 2005 मा गेजिङमा आयोजित लीला लेखन संगोष्ठीमा उहाँले आफ्नो वक्तव्यमा यो उल्लेख गर्नु भएको थियो।
६. "घाँसीसँग" कथा पराख्यान हो। उनको "कठपुतलीको मन"मा पनि पराख्यानात्मक हस्तक्षेप रहेको छ। तर पराख्यानको चेतना लिएर र यसलाई केन्द्रमा राखेर लेखिएको कथा वा उपन्यास भने पढन पाइएको छैन।
७. मेजिकल रियलिज्म भनेर मैले पढेको पहिलो उपन्यास मार्खेजले लेखेको "वन हन्ड्रेड यियर्स अफ सलिच्युड" हो। यसमा मार्खेजले कोलम्बियाको लोक संस्कृतिमा रहेको विभिन्न लोक विश्वास र परीकथा जोडेका रहेछन। कुन सत्य हो र कुन असत्य हो वा मात्र कल्पना हो भनेर छुट्याउनु मुश्किल पर्ने। भएको वा सम्भावित घटना परिघटनामा लोक विश्वास र लोक बिम्वहरू जोडिएर लेखिएको आख्यान मेजिकल रियलिज्म वा जादुमय यथार्थ हो। हाम्रो लोक विश्वासमा पनि धामीझाँक्री, आँखी डाही, बनझाक्री, पराभौतिक शक्ति, दिव्य शक्ति रहेको छ। हाम्रो सामान्य जीवनमा यस्तो विश्वासले ठूलो भूमिका रहेको देख्न सकिन्छ। पूजापाठप्रतिको असिम श्रद्धा र विश्वास यसको हिस्सा हो। यही अदभुत शक्ति र अप्राकृतिक तथ्यहरू जीवनको सामान्यतामा समावेश गरी आख्यान लेखे यो जादुमय यथार्थ भन्न मिल्नेछ।
सलमान रस्दीको उपन्यास मिडनाइट चिल्ड्रन पनि जादुमय यथार्थको निम्ति प्रसिद्ध छ।
८. सृजना र समालोचना भनेर भनिन्छ। सृजनाको समालोचना हुने हुनाले समालोचनाले सृजनालाई पछ्याउने बुझिन्छ। सृजना बिना समालोचना हुँदैन। तर साहित्य निर्माण र यसको विधा निर्धारणको अवधारणा समालोचनाले निर्दिष्ट गर्दछ।
साहित्य चेतना एक फरक विषय हो। यो मानवीय कल्पनाबाट सृजना हुने कला हो। यसैले पनि पूर्वीय मनिषिहरू साहित्यलाई अलौकिक मान्छन्।( नाटके एव रस न तु लोके : अभिनव गुप्त )। अलौकिक शब्द बहुअर्थी छ संस्कृत भाषामा। यसले कल्पना र अभौतिक दुवै अर्थ बहन गर्छ। कल्पना मानवीय हो तर अभौतिक मानवीय नभएर दैविक पनि हुन्छ। पूर्वीय विश्वासमा शून्यतामा सृजना गर्न सक्ने दैविक शक्ति ब्रम्हालाई मात्र प्राप्त छ। यसैले सृजनालाई ब्रम्हको शक्ति शीत हेरिन्छ। यही आएर काव्य सृजन क्षमतालाई इश्वरीय प्रेरणा भनेर अर्थ्याइन्छ।
जुन कुरा यथार्थ जीवनमा हुँदैन वा छैन र नितान्त कल्पनाबाट सृजना गरिन्छ त्यही साहित्य हो। यसैले साहित्य चेतना भनेको यथार्थ जीवनको घटना वा अनुभव नभएर कल्पनाबाट सृजित लेखन हो। पश्चिमी साहित्यमा यसलाई फिक्सनल रियलिटि भनेर बताइन्छ। भएको घटना जस्तो लाग्ने तर त्यो काल्पनिक घटना हो।
कुनै पनि समालोचनाको मूल आधार यही चेतना हो। पाठकमा पनि यही प्रकारको चेतनाको अभीष्टता गरिन्छ। समालोचक प्रथमत: एक पाठक हो। ऊ पाठक भइसकेर मात्र समालोचक हुन सक्दछ। यसमा उसको विकल्प छैन। भारतीय नेपाली समाजमा पाठकको विशाल समूह देखिँदैन यसको संख्या सीमित छ। शिक्षित समूदायको दायरा फराकिलो हुन लागेको भरखर भरखरै मात्र हो। इबराले एक अन्तर्वार्तामा बताएको छ भारतीय साहित्यमा शुरुआतमा समालोचना थिएन समालोचनाको अवधारणासित परिचित थिएन। यतातिर यसको प्रवेश पछिबाट भएको हो। भारतीय नेपाली साहित्यमा समालोचनाको ढिलो प्रवेश शिक्षाको अभावले भएको हो।
यसरी समालोचनाप्रतिको चेतना अबेरसम्म नआए पछि यसको विकास पनि कम नै हुने भयो। सृजनाको विकासको निम्ति समालोचनाको महत्त्व हुन्छ। हुनत पाश्चात्य चिन्तनमा समालोचनालाई ज्ञानसित जोडेर हेरिन्छ र आख्यानलाई सृजनासित। उनीहरू लिटरेचर एन्ड क्रिटिसिज्म भन्छन। तर डेरिडाको आगमन पछि भने यो विभाजनमा प्रश्न उभ्याइएको छ। भाषाको स्वभाव सृजनात्मक रहेको कारण सबै भाषिक संरचना नै सृजनात्मक हुन्छ।
संस्कृत साहित्य सिद्धान्तमा पहिला रस, अलङ्कार, काव्यमिमांसा हुँदै चौधौ शताब्दीमा मात्र आएर साहित्य सिद्धान्त नामकरण भएको देखिन्छ। यद्यपि मूल सूत्र भने साहित्य चेतना अलौकिक रहेको बुझिन्छ।
भारतीय नेपाली निर्माण कालमा यी कुरा आएनन्। उनीहरू लोकलय, नीतिपरक र उपदेशात्मक स्तरमा रहेको द्रष्टव्य छ। यसप्रकारको लेखनमा समालोचना हुँदैन ती लेखनहरूको दस्तावेजिकरण मात्र गरिन्छ।
समालोचना एक फरक विधा र अनुशासन भएको कारण यसको धर्म पालन गर्न जुन अध्ययन र अनुशासनको आवश्यक पर्दछ त्यसको आवश्यकता आभास नभएको देखिन्छ। समालोचना कविता वा आख्यान जस्तो लोकप्रिय लेखन पनि हुनसक्दैन र यो सीमित समूहमा बाँच्दछ।
भारतीय नेपाली सर्जक समालोचनालाई सृजनाको सहायक मान्दछ र सृजनाको सकारात्मक भूमिका निभाउन यसको उद्देश्य रहेको ठहर गर्दछ। यसोगर्दा सृजनाको ओझेलमा समालोचना रहेको धेरैको बुझाइ भएको देखिएको छ र कतिपय समालोचनाले यही मात्र भूमिकामा सहज रहन न्यायोचित मानेको छ।
संस्कृत समालोचना परम्परामा कृति आलोचनाको परम्परा थिएन। कुनै सृजनात्मक कृतिलाई दैविक प्रेरणामा सृजित मानिए पछि समालोचनाको कुनै भूमिका रहँदैन। (त्यसो त होमरले पनि कवितालाई दैविक प्रेरणा भनेको पाइन्छ। तर पछि प्लेटोले कविता मान्छेको कल्पना मात्र हो र सत्य होइन, मिथ्या हो भने।
आइ ए रिचर्ड्सले उनको किताब "प्रिन्सिपल्स अफ लिटरेरी क्रिटिसिज्म" मा पनि कविता मानवीय कल्पना मात्र हो र दैविक प्रेरणा होइन भने) आलोचना दैविक नभएर मानवीय हुन्छ भौतिक हुन्छ। मानवीय आलोचना दैविक सृजनाको निम्ति हुन सक्दैन। यसले एउटा विचार जन्माउँछ सृजनात्मक कृति आलोचनाबाट पर हुन्छ र यसको स्तुति मात्र हुन सक्छ गुणदोष खुट्याउन सकिन्न। समकालीन समयमा यो विचारले प्रश्रय नपाए तापनि यस्तै विचार अपेक्षामा रहेको भने देखिन सकिन्छ। मिखाइल बक्तीनले भाषामा प्रजातन्त्र आउनु पर्छ भने साहित्यमा पनि प्रजातन्त्रको नितान्त आवश्यक पर्छ यसको निर्बाध विकासको निम्ति।
हुनत उत्तराधुनिकतावादले समालोचना र साहित्यको परिभाषामा आमूल परिवर्तन गरिदिएको छ। अहिलेको समालोचना पहिले जस्तो हुँदैन पनि र कुनै घेराभित्र बाधिएको हुन्न। ज्ञानका विभित्र अनुशासन समेटेको हुन्छ। साहित्य सिद्धान्तमा मात्र सीमित भएको हुँदैन। नभन्दै नेपाली साहित्य लेखनमा भने यो व्यवहारमा आइसकेको देखिएको छैन। तर विश्वभरि चलनमा आइसकेको यो रुप नेपाली साहित्यमा ढिलोछिटो आउने नै छ।
भारतीय नेपाली साहित्यमा पनि समालोचनामा कलम चलाउने अहिले निकै आइसकेका छन र विश्वविद्यालयका नेपाली विभागको महत्त्वपूर्ण भूमिका रहेको छ। धेरै शोधार्थीहरूले समालोचनामा गहन कार्य गरेका छन। प्राज्ञिक लेखन अनुशासित लेखन हुन्छ र सम्यक पनि हुन्छ। आख्यान साहित्यमाथि निकै काम भएको छ। भारतीय समालोचनाको उत्तरोत्तर विकास भएर जाने एउटा गोरेटो बनिसकेको छ।
8. नेपाली उपन्यासमा मलाई पहिलोपटक अत्यन्तै प्रभाव पार्ने विजय मल्लको "अनुराधा" हो। इबराले यसलाई मनोविश्लेषणात्मक भनी परिभाषित गर्नुभएको छ। विश्वेसरप्रसादको सबै उपन्यास पढनु पर्छ भन्ने लागेर पढियो पनि। हुनत उनको उपन्यासमा बडी चर्चा तीन घुम्तीको हुन्छ तर मलाई भने नरेन्द्रदाइ मन पर्यो। यसपछि मोदिआइन जो महाभारतमा आधारित छ। यसलाई युद्ध विरोधी भन्न मिल्छ।
एकसमय काठमाडौंमा अत्यन्तै चर्चामा रहेको पारिजातको शिरिषको फूल मलाई विशेष मन परेको मध्ये हो। स्वर्गीय राधाकृष्ण शर्मा शिरिषको फूल बजारमा आउँदा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत थिए। उनले बताए अनुसार यो उपन्यासको बजारमा यति औधि माँग बड्यो कि यसको कालाबजारी हुन थाल्यो। निर्धारित मूल्य भन्दा दुई तीन गुणा अधिक चुकाएर उनले पनि किनेको थिएछ।
इबराको आज रमिता छ नेपाली साहित्यको अप्रतिम उपन्यास हो। एवाँ गार्दे सिद्धान्तले बताउँछ आख्यान जैविक (ओरगेनिक) वा अजैविक (नन अर्गानिक ) हुन सक्छ। एवाँ गार्दे आख्यान अजैविक हुन्छ। राईको यो उपन्यास अजैविक छ। उहाँले लेख्नुभएको कुनै समालोचनामा अजैविक कृतिको उल्लेख भेटिँदैन। यसैले यो रहस्यमय छ उहाँले यो तकनिक कसरी प्रयोग गर्नु भयो वा उहाँको नितान्त नवीन चिन्तन प्रयोग हो भनेर। नेपाली आख्यानमा यही प्रविधिमा लेखिएको अन्य कृति पनि देखिएको छैन। नेपाली साहित्यमा क्लास्सिकको दर्जा दिने योग्यको उपन्यास निर्धक्क साथ भन्न सकिनेछ।
दौलतविक्रम बिष्टको चपाइएका अनुहार मलाई धेरै मन परेको थियो।
बिन्ध्या सुब्बाको केही वर्ष अघि प्रकाशित भएको उपन्यास सीमान्त मलाई उल्लेखनीय लाग्छ। साधारणत: नेपाली आख्यान एउटा मुख्य कथावस्तुमा केन्द्रित भएको हुन्छ र त्यही धुरीमा गुम्फन हुन्छ। तर यो उपन्यासले त्यो परम्परालाई छोडेर एक नयाँ विचार र कथावस्तु अँगालेको छ त्यो हो पीँढीको फाटँ (जेनेरसन ग्याप)। कथाको मुख्य धारा रुमानी र आदर्शवादी जस्तो देखिए पनि यसले हाम्रो समाजको बलियो र दुर्बल पक्ष दुवैको प्रवीण चित्रण गरेको छ। यसैले यो उपन्यास रुमानी पनि होइन र आदर्शवाद पनि होइन।
लेखनमा दुई पीढीको फाँट देखाउन सहज हुँदैन। यसको निम्ति दुवै पीढीको राम्रो अध्ययन र ज्ञान मात्र नभएर लेखन कौशलताको आवश्यकता पर्दछ। यो उपन्यासको सफलता यही पीँढीको फाँट सशक्त रुपमा चित्रण गरिनुमा रहेको छ।
जातीय संकीर्णता क्षेत्रीयवादबाट माथि उठेर प्रेम र मानवताको बोकेको यो उपन्यास भारतीय नेपाली साहित्यको निम्ति भविष्य देखाउने भएको छ।
Comments
Post a Comment