सिर्जनवृत्तमा
मोहन ठकुरी : केही टिप्पणी
: पेम्पा तामाङ
पछिल्लो केही बर्ष अघि देखि
पदार्पण गर्नु भएको साहित्यकार कमला तामाङ आफ्ना कविताहरूबाट एक सबल परिचय दिइसक्नु
भएको छ। हिन्दी र नेपाली दुवै भाषाहरूमा सशक्त दखल राख्नु भएको र दुवै भाषाको क्षेत्रमा
उपस्थिति दर्ता गर्न सफल हुनु भएको पाउँदछौँ। उहाँले 2018मा "अन्तर्राष्ट्रिय
तथागत सृजन सम्मान" पाउनु भएको हो। विक्रमशील हिन्दी विद्यापीठ, गान्धीनगर,
भागलपुर,
बाट
विद्यावाचस्पतिले सम्मानित हुनु भएकोछ। 2019 मा इन्टरनासनल ह्युमन राइट्स एण्ड एन्टी
क्राइम अर्गनाइजेसनबाट नारीदिवसको उपलक्ष्यमा विभुषित हुनुभएको छ। राजनीतिमा पनि उहाँ
सक्रिय हुनुहुन्थ्यो र राजनैतिक सफलताको रूपमा उहाँले मिरिक नगरपालिकाको अध्यक्षताको
भार लिनु भएको उल्लेख गर्न सकिन्छ। आफ्नो जातीय संस्कृति पनि उहाँको भूमिका महत्त्वपूर्ण
रहेको छ। यसको उदाहरण उहाँले सम्हाल्नु भएको अन्तर्राष्ट्रिय तामाङ संस्थाको जिम्मेवारी
रहेको छ। साहित्य सेवामा योगदानको प्रश्नमा उहाँको पहिलो कृति "अक्षरयात्रा" कविता सङ्ग्रह हो जसले धेरै चर्चा पाउन सफल भएको छ। दोस्रो पुस्तकाकार कृतिको रूपमा भने उहाँले भारतीय नेपाली साहित्यको एक अति महत्त्वपूर्ण
हस्ताक्षर अकादमी पुरस्कारले सम्मानित स्रष्टा श्री मोहन ठकुरीको एक मोनोग्राफ लिएर
आउनु भएको छ जसको शीर्षक छ "सिर्जनवृत्तमा मोहन ठकुरी"।
केही ख्यातिप्राप्त साहित्यकार बाहेक हाम्रा धेरै सर्जकहरूबारे पुस्तकाकार
कृति पाउन सकिँदैन । यस्तो परम्पराले हाम्रो लेखन संस्कारमा जरा गाडेको छैन। हुनत यसको
धेरै मनोबैज्ञानिक, सामाजिक र राजनैतिक कारणहरू हुन सक्छन् । व्यक्ति विशेषांक भनेर पत्रिकाहरूको
प्रकाशन भने रहेको छ। विभिन्न आयामलाई छोएर लेखिएका लेखहरू रहे पनि यद्यपि यी प्रकाशनहरूले
अधिकतर संस्मरणात्मक रचना समेटेका हुन्छन् । यसले व्यक्तिको प्रतिभा र योगदानको
सर्वागं मूल्यांकन भने राखेको देखिँदैन। पाश्चात्य देशहरूमा व्यक्ति केन्द्रित पुस्तक
प्रशस्तै देखिन्छ । कुनै कृतिकारका धेरै कृतिहरू हुन्छन र एउटा पुस्तकभित्र उसको लेखनको
सार बुझिने गरी सङ्ग्रह प्रकाशन गरेको हुन्छ जसलाई रिडर भनिन्छ । यो प्रयोग भने नेपाली
साहित्यमा अद्यापि आएको देखिएको छैन ।
हाम्रा सबै स्थापित र प्रतिष्ठित सर्जकहरूको पूर्ण परिचय र योगदानको
मूल्यांकन गरेर लेखिएको ग्रन्थाकार कृति हुन आवश्यक छ। यही आवश्यकतालाई आत्मसात
गरेर कमला तामाङले एक ठूलो काम गर्नु भएको छ यहाँ यो ग्रन्थ पाठक प्रकाशनमा ल्याउनु
भएर।
कविता, उपन्यास , कथा, नाटक, निबन्ध सृजनात्मक लेखन हुन। सृजनात्मक लेखन भनेको कल्पना गरेर लेखिएको
हो, जो हाम्रो व्यावहारिक संसारमा हुँदैन र प्रमाण गर्न सकिँदैन। तर कल्पना
शून्यतामा हुन सक्दैन। कल्पनाको आधार हुन्छ । आधार के हो भन्दा सर्जकले व्यावहारिक
रूपमा भोगेका, बुझेका, सुनेका वा कल्पना गरेका नै हुन। यसैले हिजोआज भन्ने गर्छ कला भनेको यथार्थलाई
काल्पनिक रूप दिएको हो। कला कल्पना भए पनि
पूर्ण रुपेण कल्पना होइन। सत्य र असत्यको मझधारमा
रहेको, यथार्थ र कल्पनाको मिश्रण हो। यही कारण कविता, कथा, उपन्यास
नाटकलाई सृजनात्मक लेखनलाई राम्ररी बुझ्न सर्जकको विचारधारा बुझ्न सहयोगी बन्दछ। सर्जगको
विचारधारा उसको जीवनको वृत्त बनेको हुन्छ, यसैबाट निर्देशित हुन्छ। कविता जतिको महत्त्व
हुन्छ कविको जीवन पनि उत्तिकै महत्त्व हुन्छ। यसो भन्नाले कवि सामान्य व्यक्ति
भन्दा फरक हुन्छ भनिएको होइन। सबै व्यक्तिको आ-आफ्नो विशेषता
हुन्छ र जीवन सबै नै महत्त्वपूर्ण हुन्छ। सबैको जीवनबारे कविता लेख्न सकिन्छ तर सबैले
कविता लेख्दैनन, भिन्नता यति हो। यही भिन्नता हाम्रो ज्ञानको स्रोत बनेको हुन्छ। ज्ञान
सम्वर्धन, संरक्षण मानव सभ्यताको कोष हो। हामीलाई यो कुरा जान्न र बुझ्न विशेष बनेर आएको
हुन्छ।
डेरिडाले भन्छ पाठदेखि बाहिर केही पनि हुँदैन। यसैले कुनै सृजनात्मक कृति
बुझ्न पाठ नै पर्याप्त हुन्छ। यसले हामीलाई सर्जकतिर फर्कन होशियारी गरेको बुझिन्छ।
रोल्याँ बार्थले झन लेखक कृति जन्माएपछि मरिहाल्ने बताएको छ। जहाँ लेखकनै अस्तित्वमा
रहँदैन उसको खोजीको आवश्यकता पनि पर्दैन, कृति र कृतिकारको सम्बन्ध विच्छेद
रहेको बताइन्छ। टि एस इलियटले पनि कविलाई होइन कवितालाई हेर भनेको हो। आलोचना
कविताको हुन्छ कविको होइन। नभन्दै यहाँ यो स्पष्टीकरण चाहिन्छ डेरिडा र बार्थले भाषाको
चरित्रलाई मद्देनजर राखेर भनेका हुन। भाषाको संरचनावादी सिद्धान्तले भन्छ शब्दको
अस्तित्व भिन्नतामा रहेको हुन्छ। शब्द कुनै ठोस वस्तु जस्तो स्वतन्त्र अस्तित्व
भएको हुँदैन। यसको अन्य शब्दहरूको भिन्नार्थकतामा अर्थ लागेको हुन्छ । कुनै पनि कृति
(पाठ) भाषिक निर्मिति हो। भाषाको नियम यसमा
पनि लागू हुन्छ। कुनै पाठ अनन्त अनुपस्थित पाठको भिन्नार्थकतामा रहेको हुन्छ जो कृतिकारको
पनि अधीन हुँदैन। यसैले पाठको बाहिर केही नहुने सिद्धान्त सारेको हो डेरिडाले। यो एक
अमूर्त विचार हो।
यद्यपि कुनै पाठ उपस्थित बनाउनको लागि त्यसको पछि कुनै कारक तत्व रहनु
पर्यो। जन्माउने प्रक्रिया शून्यताबाट हुँदैन। उर्जा त हुनै पर्यो। उर्जाबाट हुने हो
सृजना। पाठ सृजनाको उर्जा लेखन (मौखिक/लिखित) हो। लेखनको पछि विचार हुन्छ। विचार
वाहक व्यक्ति हुन्छ। हुनत अहिले आर्टिफिसियल इन्टेलिजेन्स (कम्प्युटर) ले पनि कविता
लेख्न चित्र कोर्न सक्छ भन्छ। तर यो एल्गोरिद्मबाट भएको हो चेतनबाट होइन। मसिनमा चेतना
हुँदैन मान्छेमा भए जस्तो । यसैले कविलाई
जान्न उसको परिचय पाउन लालायित हुन स्वाभाविक हुन्छ। ज्ञान निर्माण र वृद्धिको कडी
बन्दछ।
कवि र कृतिमाथिको सम्बन्ध बारे टि एस इलियटको विचार प्रख्यात छ। उनले
निर्वैयक्तिक सिद्धान्तको प्रतिपादन गरेका थिए। यो सिद्धान्तले बताउँछ कवि र कविताको
बिच माध्यमको मात्र सम्बन्ध हुन्छ। कविको भावना कविताको भावनामा खोज्नु हुँदैन। इलियटको
यो विचारलाई चुनौती दिएर रोनाल्ड बुश नामक आलोचकले एक पुस्तक लेखेको छ "T.
S. Eliot: A Study in Character and Style" । यो किताबमा बुशले
बताएको छ उनको जीवनमा जस्तो उतार
चडाव भइरहेको थियो त्यस्तै उनको
कवितामा पनि सोही प्रकारको तनाव देख्न सकिन्छ। उनको प्रसिद्ध लामो कविता "The Waste Land"
लेखिन
अघि उनले विहे गरेका थिए। रोनाल्ड बुशले ईलियटको विहेको प्रकरण यसरी बताएको छ
" hoping to overcome his chronic detachment from life , Eliot had
in two months courted and wed the sometime governess, sometime painter,
sometime ballerina he first met at an Oxford
punting party. Yet there was hardly a time when his high-strung and
sickly wife was not a problem."(ऐजन) पत्नी
खर्चालु स्वभाव की थिई, इलियटको सीमित आयस्रोत कम पर्ने भयो । निजी जीवनमा रहेको त्रासदी उनको
कवितामा त्रासदी र रहस्य बनेर आयो भनेर बताउँछ आलोचक रोनाल्ड बुश। उसर भूमि जस्तो
कठिन कविताको रहस्य समाधान र पाठकीय हुन इलियटको जीवन बुझ्न पाउँदा सहयोग गरेको
यहाँ देखिन्छ। लेखक कविको जीवनी यसकारण पाठकलाई कुनै कृतिको ग्रहण सहजता वृद्धि
गराउन सफल हुन्छ। कमला तामाङको यो प्रयास यही कारण यहाँ स्तुत्य मानिन सकिनेछ।
कवि कथाकार मोहन ठकुरी भारतीय नेपाली साहित्यको एक स्तम्भ हुनुहुन्छ।
बिगत छ दशकदेखि उहाँको कलम निरन्तर चलिरहेको छ। कविता, कथा, निबन्ध तीनै विधामा उहाँको योगदान देखिन्छ।
धेरै प्रतिष्ठित पुरस्कारहरूले सम्मानित भइसक्नु भएको हो। उहाँको कृतिहरू विभिन्न
समालोचकका पारखी आँखाबाट मूल्यांकन भएको छ। यसले प्रमाणित गर्दछ उहाँ पाठकप्रिय भइसक्नु
भएको भनेर। यद्यपि साहित्य लेखन भनेको वा अन्य कुनै पनि लेखन विमर्श र व्याख्या
पुनर्व्याख्या भइरहन आवश्यक पर्दछ। रोला बार्थले बताए झैँ अर्वाचीन समयमा पाठको केन्द्र
लेखक नभएर पाठक हुन्छ। पाठक तर एक अवधारणा मात्र हुन्छ यहाँ र हरेक समयान्तरमा नयाँ
भएर आएको हुन्छ। यसैले पुनर्व्याख्याको जन्म हुन्छ । हुनत कुनै पनि लेखन अन्तिम भनाइ
जस्तै गरेर लेखिएको हुन्छ तर यसले अतिरिक्त लेखनको निम्ति उर्वर भूमि सृजना गर्दछ।
जोनाथान कलरको On Deconstruction किताबमा लेखिएको यो पद उल्लेख्य छ :
Any discipline must suppose the
possibility of solving a problem, finding the truth, and thus writing the last
words ona topic. ..........................In fact, this hope of getting it
right id what inspires critics to write, even though they simultaneously know that
writing never puts an end to writing. Paradoxically, the more powerful and
authoritative an interpretation, the more writing it generates" जति सशक्त लेखन त्यो त्यतिनै उर्वरशील बनेको
हुन्छ। कमला तामाङले संकलन गर्नु भएको यहाँ
मोहन ठकुरीका विभिन्न कृतिमाथि लेखिएका लेख मन्तव्यका प्रस्तुतिबाट थाहा पाइन्छ ठकुरीज्यू उर्वरशील सावित हुनुभएको छ।
यो उहाँको लेखकीय सफलताको सूचक हो। यस दृष्टिले
"सिर्जनवृत्त....."
एक सफल सर्जकको उसको लेखन यात्रा र कृति विमर्शको अभिनन्दन भन्न सुहाउनेछ।
कमलाको यो किताब हुनत अभिनन्दनदेखि अझै परतिर गएर ठकुरीको जीवन, उहाँको
साहित्य यात्रा र सृजनाको मूल्यांकन पनि बनेको छ। विभिन्न विचार, सिद्धान्त
र आधारहरू जसको घडेरीमा साहित्य निर्माण भएको छ ती सबैको सिंहावलोवकन हुने सम्भावना
यहाँ रहेको छ। हामीले हाम्रो साहित्य कसरी लेखिरहेका छौँ र कसरी हेरिरहेका छौँ यी दुवै
दृष्टिको झलक विद्यमान छ, वक्ररूपमा भए पनि।
"सिर्जनवृत्तमा मोहन ठकुरी" को आयोजन कमला तामाङले एक कुशल
डिजाइनरले झैँ मिलाउनु भएको छ। एउटै पुस्तकभित्र सर्जकको निजी जीवन, लेखन
यात्रा, उनको जीवन र लेखनीमा टिप्पणीकारको (कमला तामाङ) विचार सम्प्रेषण,
विभिन्न
सर्जकहरू जो मोहन ठकुरीका पाठक, समीक्षक थिए उनीहरूको लेखन, लेखनीमा टिप्पणी र परिचय समेत गाभिएर आएको यो अनुपम
उपहार हो।
नेपालको कृष्ण गौतमले एक पाठ अनेक पठन शीर्षकमा ग्रन्थ निकाल्नु भएको
छ। एउटै कृतिलाई विविध सिद्धान्तको आधारमा व्याख्या गर्ने नेपाली साहित्यमा अप्रतिम
प्रयोग थियो। कमला तामाङले भने यहाँ एउटै कृतिमा विविध समालोचकका विविध
दृष्टिकोणले लेखिएका लेखहरू हाराहारीमा राख्नु भएको छ। "निशब्द" ,
"अभिन्न अक्षर" , "सर्जक सन्दर्भ" माथि विविध लेखहरू
छन।
सुधीर छेत्रीले मोहन ठकुरीका
कविताका अग्रभूमिको विश्लेषण गर्नु भएको
छ। यसको निम्ति उहाँले उत्तर- संरचनावादलाई आधार बनाउनु भएको छ। ठकुरीको
काव्याधार स्वच्छन्दतावाद किटान गरिए पनि वाञ्छनीय बिम्व र प्रतीक रहेको देखाइएको
छ। "विन्यासक्रमिक" र सहचारक्रमिक" पद भाषाशास्त्रबाट आएको हो। भाषाशास्त्रबाट
साहित्यमा प्रयोग हुँदा यसको अर्थ भने विस्तार भएर गएको हुन्छ। हुनत यो शब्द
अमेरिकी न्यु क्रिटिसिज्मको सिद्धान्तको प्रकारान्तरमा यहाँ राखिएको रहेछ। न्यु क्रिटिसिज्मले
कवितालाई एक स्वतन्त्र अस्तित्वमान मान्छ। यसले कवितामा प्रयोग हुने विशिष्ट
पदावलि हेर्दछ जसको उपस्थितिले कुनै शब्द गुच्छा कवितामा परिणत हुन सकेको हुन्छ । न्यु
क्रिटिसिज्मबाट उत्तरसंरचनावादमा ल्याइनु भनेको ठकुरीको कविताको काव्यधरातलको शाश्वतता
हेरिनु हो। उहाँको कवितामा रहेको अर्थविन्यास फराकिलो रहेको स्वीकृति हो। सुधीर छेत्रीले
यसप्रकार "निशब्द" कविता आफ्नो समयलाई उछिनेर आएको आकलन गर्नु भएको छ। उहाँले
कविताभित्र नपसेर यसको उपान्तिक अवयवमा विचरण गर्नु भएको युक्ति डेरिडीय भन्न मिल्नेछ।
डेरिडाले साहित्यिक कृतिमा चर्चा राखे पनि कृतिको आन्तरिक संरचना र अर्थोत्घाटन कहिले
गरेनँ। निशब्द कविता विश्लेषणमा यहाँ सुधीरको लेखन त्यही अनुरुप देखिन सकिन्छ ।
सुधीरले लेखमा ल्याउनु भएको अनेकौं सन्दर्भबाट उहाँको अध्ययनको विस्तृतिको
परिचय दिन्छ। यसै कुरालाई अघि सारेर कमलाको सुधीरबारे यो लेखाइ न्यायोचित ठहर हुन्छ
: " (सुधीरको) गहिरो र फराकिलो अध्ययनको बलमा आफू अघिल्तिर आएको रचना,
कृतिलाई
सही परख गर्नुहुन्छ । समालोचनामा कुरालाई लामो नतान्काउने, आफ्नो अध्ययनको आधारमा
आवश्यक व्याख्या सकिन्छ ।"
"निशब्द" माथि अर्को महत्त्वपूर्ण लेख कवि मनप्रसाद सुब्बाको रहेको
देखिन्छ। सुधीर कविताको अग्रभूमिमा रहनु भयो भने मनप्रसाद कविताको रसातलभित्र प्रवेश
गर्नु भएको छ। सुब्बाले कविताको रहस्य उद्घाटन गर्नु भएको छ, यसको
अर्थ गहिरो समुद्रभित्र पसेर सिपीमा लुकेर बसेको मोती बाहिर निकालिदिनु हो। अर्थ अन्वेशण
क्रियामा उहाँले न्यु क्रिटिसिज्म र संस्कृत काव्यशास्त्रमा रहेको आचार्य कुन्तकको
वक्रोक्तिका औजार प्रयोगमा ल्याउनु भएको छ। न्यु क्रिटिसिज्मले बताउँछ कविताको
भाषा विरोधाभास (पाराडक्सिकल) र व्यंग्यात्मक
(आइरनिकल) हुन्छ। कविता जैविक अन्विति हुन्छ। उहाँले लेखमा "निशब्द" कवितामा विरोधाभासी पद
प्रयोग भएको देखाउनु भएको र चोटिलो
व्यंग्य प्रयोग उल्लेख गर्नु भएको छ। निशब्दतामा एकलोपन काव्यिक पीडा रहेको अर्थको
सम्प्रेषण गर्दछ। यस आलोचनाले मोहन ठकुरीको "निशब्द" कविताको संरचना र अर्थ
दुवै स्पष्ट बनाएको छ। जीवन शब्दहीन होइन र एकल पनि होइन। तर पनि उसको जीवन र प्रेमप्रतिको
मोह नितान्त एकलो चिन्तनमा पूर्ण अर्थ लागेको महसुस हुन्छ। उसले त्यो समयमा
गहिरिएर आभास गर्न सक्दछ। कविता रोमान्टिक रहेको टेक छ। यसको सौन्दर्य भने पुरानो
स्मृति झैँ छ। विछोड वेदना मानवीय समवेदनामा आघातपूर्ण
हुन्छ र उसको चाहना मिलनमा नै रहन्छ। यही सत्यलाई साहित्यमा प्रवेश रोमान्टिसिज्मको
देन हो र यसलाई आलोचक मनप्रसाद सुब्बाको उपमा "भिन्टेज वाइन" चाखको सुखद अनुभव मान्नुहुन्छ।
नरेशचन्द्र खाती "निशब्द" कवितामा कवि ठकुरीको जीवनदृष्टि देख्न
चाहनु भएको छ। उहाँले लेख्नुभएको छ "जीवन अनुभूतिमा भोगित विभिन्न प्रक्षेपाधीन
कविको सर्वाङ्गीण जैविक वस्तुस्थिति नित्य वेष्ठित हुँदछ।" खातीको यो लेखाइको
अर्थ हुन्छ कवि एक सामाजिक प्राणी हो र उसको
निजी जीवन उसको कल्पना र सृजनामा प्रतिभूत
भएको हुन्छ। यसबाट बुझिन्छ कविता कविको निजी जीवन अनुभवबाट निसृत हो। यसैले
कविताको अर्थ कविको जीवन दर्शन मूल्य मान्यतामा हेरिनु पर्दछ। उहाँले कवि मोहन ठकुरीको
जीवन मूल्य मान्यतालाई घतलाग्दो विश्लेषण गर्नु भएको छ
1. जीवन
अनुभूतिमा नैराश्य
2. नैराश्य
सामाजिक विघटन स्थिति
3.
सामाजिक विघटनबाट पुन: जैविक
अध्येता
कवि
ठकुरी जीवनलाई निराशाजनक हेर्नुहुन्छ। यो निराशा सामाजिक हो। यही नैराश्यजनक सामाजिक
विघटनको जैविक अध्ययन कवि ठकुरीका कविताका आधार हुन। कविता भनेको जीवनको आफ्नो बुझाइ
हो। यो विचारले सृजनालाई नितान्त कल्पनाको आधारबाट मुक्त गराइएको र प्रत्येक
सृजनात्मक लेखन आत्मपरक लेखन हो भन्ने अर्थ लाग्छ।
नरेशचन्द्र
खातीले ठकुरीको कवितालाई अस्तित्ववादभित्र हेर्नु पर्ने आग्रह गर्नु भएको छ। उहाँले
बताउनु भएको छ मानव जीवन यातनामय छ र यो यातनाको चेतना हुनु नै पीडाको कारक हो। ठकुरीका
कविताहरूमा यही पीडा परिलक्षित भएको लेखकको अडान छ। खातीको कविताको दृष्टिकोण
कविताबाट निसृत भावार्थमा आधारित भएको छ।
डा संजय
वान्तावाले ठकुरीका कवितामा प्रयुक्त पदहरूको विश्लेषण गर्नु भएको छ। शब्दको अर्थ र
त्यसको कवितामा रहेको भूमिकालाई लिएर चर्चामा आउनु भएको छ। कविताको मर्म र काव्यको
आभ्यन्तरिक विश्लेषणमा भने प्रवेश गर्नु भएको छैन ।
"अभिन्न
अक्षर" प्रकाशनको क्रममा पाँचौं हो तर कविता संकलनमा भने "निशब्द" पछि
दोस्रो हो। कवि मोहन ठकुरीको "अभिन्न अक्षर " 2006 मा प्रकाशित भएको हो।
उहाँको यही संकलनको प्रकाशन उपलक्ष्यमा इन्द्रबहादुर राईले वक्तव्य राख्नु भएको थियो
। यो बक्तव्य लिपिबद्धरूपमा यहाँ कमला तामाङले राखिदिनु भएको छ। राईको यो वक्तव्य यस
ग्रन्थको शोभा मात्र बडाएको छैन तर मुख्य आकर्षण हुन गएको लाग्यो मलाई। उहाँको अपार ज्ञान भन्डारबाट निसृत यो वक्तव्य साहित्यमा
लागी परेका र रसिकहरूका लाभार्थ अनमोल रहेको
भनिन सकिनेछ।
कविता
के हो वा कसरी जन्म भएको हुन्छ भन्ने प्रश्नमा राईले भन्नुभएको छ "मनमा आएका मात्रै
पनि त कविता हुँदैन, कविता त शब्दमा लेखिनु पर्छ।" भावना वा विचार जबसम्म शब्दमा
परिणत भएर आउँदैन तबसम्म कविता जन्मन सक्दैन। शब्द र कविता बारे फ्रेन्च
प्रतिकवादी कवि मलार्मेको भनाइ प्रसिद्ध छ "Poems are not made of
ideas. They're made of words." कविता शब्द कला हो। कविता र शब्दको सम्बन्धमा
अमेरिकी कवि रबर्ट फ्रस्टको विचार पनि सान्दर्भिक छ। उहाँले भन्नू भएको छ : A complete poem is one where an
emotion has found in thought and the thought has found the words My definition
of poetry (if I were forced to give one) would be this : Words
that have become deeds" । यो विचारको नजिक रहेको देखिन्छ राईको
भनाइ। मनमा कविता स्फुरण भए पछि यसलाई
शब्दमा कसरी राख्ने काव्य कलाको प्रश्न यहाँ आउँछ। राईले यसलाई यसरी भन्नुभएको छ
"कविले आफ्नो सम्पूर्ण शिल्प, आफ्नो सम्पूर्ण कौशल, आफ्नो
जुन सृजनात्मक शक्ति छ, मेधा छ, त्यसलाई खर्चेर ठीकसँग लेख्नु लाउनुपर्छ।" यहाँ "शिल्प",
"कौशल", "सृजनात्मक शक्ति", "मेधा"
विचारनीय चिन्हहरू आएका छन। "शिल्प" जन्मजात हुँदैन, यसलाई
ग्रहण गर्नुपर्छ तालिमबाट। शिल्प तालिमसित सम्बन्धित हुन्छ। शिल्पको विकास कौशल हुन्छ।
कौशलपूर्ण शिल्प। "सृजनात्मक शक्ति" व्यक्तिको कल्पना शक्ति वा कल्पनाशिलतामा
निर्भर गर्छ। "मेधा" व्यक्तिको ज्ञान क्षमता हो। कविता शिल्प हो जो व्यक्तिले
सिक्नु पर्दछ। यसको निम्ति तालिमको आवश्यकता पर्दछ। तालिमबाट शिल्प हासिल गरेपछि शिल्प
कौशलपूर्ण बनाउनु पर्दछ जो अभ्यास र सृजनात्मकतामा निर्भर रहन्छ।
कवि
ठकुरीको काव्य कलाको विश्लेषणको निम्ति राईले "अभिन्न अक्षर" मा संकलित
पहिलो कविता "ईश्वर" लाई लिनु भएकोछ। कविता थोरै शब्दमा धेरै अर्थ वहन गर्ने
कला हो। यसैले कविताको प्रत्येक शब्द प्रयोजनमा आउन सकेको र शब्दको छनौट न्यायिक
हुनुपर्छ। यो कुरा अति सुन्दर ढंगमा राईले बताउनु भएको छ। शब्द चयनको प्रसङ्गमा कवि
ठकुरीले "गंगा" र "निर्मल पानी" लेख्नुभएको उल्लेख गरेर गंगा शब्द
नै निर्मलताको प्रतीक हो यसैले निर्मल शब्द बेसी (अवाञ्छित) रहेको देखाउनु भएको छ।
अनुप्रास काव्यकलाको युक्ति हो। "घाटमा घचारो/संसार छ" पदमा
"घ" अक्षर अनुप्रास रहेको छ। उहाँले कविताको सौन्दर्यको प्रशंसा गर्दै
लेख्नुभएको छ " यहाँ कति राम्रो प्रयोग भयो भाषाको – गङ्गा बग्दैछ,
जीवन
छ, घाटमा घचारो, संसार छ।"
कवि
ठकुरीको कवितामा रहेको शाब्दिक मितव्ययिता र छोटो पदलाई लिएर राई मान्नुहुन्छ यो अनुसरण
रुपनारायण सिन्हा र बालकृष्ण समका अध्ययनबाट भएको हो। परम्परा अनुसरणको छुट्टै
सिद्धान्त रहेको छ। टि एस ईलियट र पछिल्लो आलोचक हेरल्ड ब्लुम प्रासंगिक छन। कुनै
पनि कवि कुनै न कुनै पूर्व कविको प्रभावमा रहेको हुन्छ। यसलाई इलियटले यसरी उजागर
गरेको छ " No poet, no artist of any art, has his complete meaning
alone. His significance, his appreciation is the appreciation of his relation
to the dead poets and artist." (Tradition and Individual Talent) हेरल्ड
ब्लुमले चाखलाग्दो प्रकारले भन्द कविले अन्यलाई प्रभाव पार्न लेख्छ र आफूलाई नक्षत्रको
नजरले हेर्छ तर ऊभित्र त्यो आभास हुन्छ जसले उसलाई सजग गराउँछ ऊ कसको प्रभावमा छ भनेर।
(Poets tend tend to think of themselves as stars because their deepest
desire is to be an influence, rather than to be influenced, but even in the
strongest, whose desire is accomplished, the anxiety of having been formed by
influence will persists.) (Poetic origins and final phases). हेरल्ड ब्लुम अझ
भन्छ "Trying to write a poem takes the poet back to the origins of
what a poem first was for him". कविलाई कविता भनेर कहिले चेतना भयो अथवा
कस्तो शब्द समूहलाई कविता भनिँदो रहेछ भनेर ज्ञान भएको थियो त्यसको हेक्का रहेको
हुन्छ। माथि राईको विचार कवि ठकुरीको प्रेरणाको अन्वेषण यही आधारमा हेरिन सकिेनेछ।
कुनै
पनि कविको कवित्व परख गर्नको लागि उदाहरणार्थ एकाध रचनालाई हेरेर होइन तर सम्पूर्ण
सृजनालाई हेर्नु पर्ने ज्ञान दिनु भएको छ राईले। व्यक्तिको मनस्थिति विभिन्न
परिस्थितिमा एकैनास नरहने र ती विविध स्थितिमा प्रतिक्रिया विविध नै रहने हुन्छ। कविलाई
उसको वरिपरिका परिघटनाले प्रभाव पारेको हुन्छ। उसको सिर्जना त्यही विविध
घटनाक्रमबाट प्रभावित रहेको हुनाले ती समग्रतामा मात्र उसलाई बुझ्न सकिने भनिएको
छ। यसैकारण राईले भन्नुभएको छ " एक सङ्कलनबाट मात्र होइन, उहाँका
समग्र कृतिहरूलाई हेरेर उहाँलाई हामी पाउन सक्छौं ।"
सबै
लेखकहरूलाई उहाँले सन्देश दिनुभएको छ " हामी कविहरूले जीवन र जगतप्रति जहिले
पनि सत्य कुरा बोल्नुपर्छ। जीवन र जगतप्रति एउटै पनि फल्स टेस्टिमोनि हामीले दिनुहुँदैन।"
यहाँ उहाँले किन यसो भन्नू भयो यसले सन्देह जन्माउँछ। राई दीर्घकालदेखि नेपाली
साहित्यको सृजना र अध्ययनमा लागिपर्नु भएको शीर्षस्थ साधक हुनुहुन्छ। धेरै कृतिहरू
त्यस्ता देखिन्छन् जो प्रायोजित हुन्छन र सत्यता लुकाइएर लेखिएका हुन्छन्। जो सत्य
होइन तर सत्य जस्तै गरेर देखाइएको हुन्छ। साहित्य लेखन दायित्वपूर्ण कार्य हो। हामीबिच
यही दायित्वको अभावको चेतावनी हो उहाँबाट।
वक्तव्यको
अन्त्यमा राईले व्यंग्य प्रहार गर्नु भएको छ। "हामीले कति कवि पढेका छौँ –
पढदैखेरि
भित्रभित्रै डर लाग्दै जान्छ, कहाँ हामीलाई गाली गर्छ कि? वा के गर्छ
कि?" नेपाली समाजमा कविलाई उच्च दर्जा दिइन्छ। कविले भनेका सबै ज्ञानका कुराहरू
हुन्छन भनेर विश्वास गरिन्छ , उनी सर्वज्ञानी हुन्छ। समाजले दिएको
सम्मानको उच्च मञ्चबाट कतिपय कवि पाठकलाई निम्न अज्ञानी नै देख्छन्। यसप्रकारको कविता
हाम्रो साहित्यमा पढन पाइन्छ। यही कुराको चेतना उहाँले यहाँ दिनुभएको हो।
"अभिन्न
अक्षर" को भूमिका कवि मनप्रसाद सुब्बाले लेख्नुभएको हो र यही लेख यहाँ उद्धरण
गर्नु भएको छ कमला तामाङले यस किताबमा। सुब्बाले भूमिकालाई नवीन रूप दिनुभएर गम्भीर
चर्चाको बदली बातचितको परिवेशमा आफ्नो विचार राख्नु भएको छ र यही शैलीको कारण यसले
विशिष्टता हासिल गरेको लाग्छ, पठनप्रिय भएको छ। सुब्बा मान्नुहुन्छ मोहन
ठकुरीका कविताहरू स्वछन्दतावादभित्रका छन भनेर। स्वछन्दतावादी कविताहरू रुमानी,
क्रान्तिकारी,
गम्भीर
चिन्तन र बौद्धिकतापूर्ण विविध हुने गरेका छन। यद्यपि कवि ठकुरीका कवितामा भने हार्दिकता
प्रधान रहेको ठहर गर्नु भएको छ भूमिकाकार सुब्बाले।
ठकुरी
अत्यन्त उर्वरक हुन नसकेको देखाउनु भएको छ किनकि उहाँको प्रकाशनमा आएका कृति संख्याको
परिमाणमा थोरै छन। 1966मा पहिलो प्रकाशित कविता पछि "अभिन्न अक्षर" (2006) प्रकाशन
बर्षसम्ममा कविका 70 वटा मात्र कविता देखिएका छन। कलमको गति सुस्त रहेको गुनासो पोख्नु
भएको छ।
माथि
नरेशचन्द्र खातीले भन्नू भए जस्तै यहाँ सुब्बाले पनि ठकुरीको कविता आत्मकथात्मक रहेको
देखाउनु भएको छ "झ्यालबाट एकलो क्षण" कवितालाई लिएर। आफ्नो वक्तव्यमा
इन्द्रबहादुर राईले पनि उल्लेख गर्नु भएको थियो यो कविताको।
पर ...........देखिने
एउटा रुख
हाँगा
भाँचिएर गएको पीडामा मौन"
यसलाई
सुब्बाले पत्नी वियोग भन्नुभएको छ।
कलामा
कलावादी र जीवनवादी भनेर निकै पुरानो विवाद छ। कलावादी भनेको कलाले जीवनलाई
निर्देशित गर्दछ भन्ने विचार हो। जीवनवादी भनेको कला जीवनको चित्रण मात्र हो भन्ने
अडान हो। जीवन नरहे कला पनि रहँदैन अर्थात् कलाको स्वतन्त्र अस्तित्वलाई नमान्ने
धारणा हो। यही विवादको साम्यतामा सुब्बाले लेख्नुभएको छ "कला कलाकै लागि भन्ने
एकलकाँटे विचार त हामी राख्दैनौं, तर कला कला उपयोगितामूलक नै हुनुपर्छ
भन्ने ढिप्पी पनि गर्दैनौं । बरू भन्छौं -
कला
जीवनको निमित्त, जीवन औदार्यको निमित्त , जीवनको उच्चताको निमित्त।" कला कलाको
निम्ति बनाम कला जीवनको निम्तिको सुब्बाले राख्नु भएको मध्यस्थता मननीय रहेको
देखिन्छ।
"अभिन्न
अक्षर – का कवि मोहन ठकुरी" शीर्षक लिएर अन्यपुरुष (छद्मनाम)ले लेख्नुभएको
अत्यन्त मनोरम लेख यहाँ यस संकलनको विशेष लेख मानिनु पर्ने देखिन्छ। "सुनचरी"
दैनिक समाचार पत्रको 8 सितम्बर 2009 मा प्रकाशित यो आलोचनात्मक लेख ठकुरीको
कवित्वको आकलन सटिक लाग्छ। कवि ठकुरीको कवितामा रहेको आत्मराग माथि राई, खाती,
मनप्रसाब
सुब्बाले इंगित गरेको यो लेखमा आएको "कवि ठकुरीका कविताहरू प्राय: जसो
आफूलाई नै केन्द्र धुरो थापेर उभ्याइएका देखिन्छन्"। मनप्रसाद सुब्बाले भन्नू
भए झैँ यी कविताहरू हार्दिकता प्रधान रहेको यहाँ पनि भनिएको छ "उनका कविताले पाठकलाई
बौद्धिकताको ठाडो उकालो हिडाउँदैनन्"। कविताहरू क्लिष्ट छैनन् ।
"अभिन्न
अक्षर" र "निशब्द" बिच रहेको अन्तर देखाउनु हुन्छ समालोचक
जय क्याक्टस। उहाँको विचारमा "निशब्दमा भेटिने ठकुरीका कविताको रोमान्टिकताको आधिक्य र प्रगतिवादी चेतनाको
प्रखरता धेरै संयम र संयोजित देखिन्छ यता अभिन्न अक्षरमा"। उहाँको
विचार अनुसार अभिन्न अक्षर निशब्द भन्दा विस्तृत हो। माथि रोमान्टिक भनिसके पछि ठकुरीका कविता
कल्पनाको उडान भएको बुझाइ हुन्छ तर प्रगतिवादी पनि भनिए पछि भने वस्तुवादी र लौकिक
रहेको अनुमान हुन्छ। (नभन्दै यहाँ यो भन्न आवश्यक छ प्रगतिवादी साहित्यले रोमान्टिसिज्मको
एकात्मकता आवरण गर्दछ। मार्क्सवादी साहित्यको मूल चरित्र कविता र कर्ममा रहेको
भिन्नता मास्नु हो।) यही पछिल्लो आधार केन्द्रमा रहेको उल्लेख गर्नु भएको छ जय
क्याक्टसले " कविवर मोहन ठकुरीका कविताहरू जीवन र जगतकै धरातलमा विचरण गर्छन।
लौकिक सङ्घटना, मानव चिन्तन र व्यवहार तथा समसामयिक विश्वव्यथाहरू उहाँका कविताका मूलस्वर
हुन।"
मोहन
ठकुरीका कविताहरू वादको घेराभित्र छैनन भनी भन्नुभएको छ। यसको अर्थ हुन्छ कवि कुनै
निश्चित विचारधारालाई लिएर हिडने हुनुहुन्न। उहाँ वाद निरपेक्ष रहनुहुन्छ। क्याक्टस
बताउँनु हुन्छ कवि ठकुरीका कवितामा रोमान्स, निम्नवर्गीय पीडा,
विद्रोह,
आध्यात्मिक
दर्शन, अस्तित्ववोध, आत्मालोचना समेटिएका हुन्छन् ।
आलोचक
क्याक्टसले पाठकीय अभिप्राप्त सिद्धान्तको पनि प्रसङ्ग ल्याउनु भएकोछ। यो सिद्धान्तले
बताउँछ कुनै पनि सृजनात्मक कृतिको अर्थ पठन केन्द्रित हुन्छ। पाठ र पठनको विभाजनको
सिद्धान्तका प्रणेतामा रोल्याँ बार्थको नाम प्रमुखतासित आउँदछ। उनको प्रख्यात लेख लेखकको
मृत्युमा यसको विश्लेषण छ। "We know now that a text is not a line
words releasing a single theological meaning (the message of the Author God) but
a multidimensional space in which a variety of writings, non of them original,
blend and clash." "The reader is the space on which all the
quotations that make up a writing are inscribed..." यसको अनुसार
लेखनको व्याख्या पाठकले उसको बुझाइ अनुरुप गर्न स्वतन्त्र हुन्छ। हेरल्ड ब्लुमले भनेको
छ प्रत्येक पठन नै बिपठन हुन्छ। यसमा उनले एउटा ग्रन्थ लेखेको छ Map of
Misreading भनेर। यसो भए पछि कुनै पनि पाठको एक निश्चित आधार भेटिदैन। यही
कुरालाई यहाँ जय क्याक्टसले आधारहिनता भन्नुभएको हो किनकि यो त पाठकमा निर्भर रहेको हुन्छ। बहुलता भनेको
अर्थ बहुल भनिएको हो। उहाँले छविभञ्जन (iconoclast) विषय पनि उठान गर्नु
भएको छ। छविभञ्जन यसकारण हुन्छ पाठमा लेखकको एकाधिकार रहेन र उसले मानेर लेखेको
अर्थ पाठकमा मूल्यवान रहेको हुँदैन। यद्यपि यी काव्यिक अवयवहरू वरन गरेर लेखिएका
कविता भने नेपालीमा थोरै रहेको स्वीकार्नु भएकोछ।
कवि
भनेर परिचित मोहन ठकुरी वास्तवमा गद्य लेखनमा अझ पोख्त देखिनुहुन्छ। पछिल्लो पाँच
दशकदेखि भाषा साहित्यसितको नजिक रहनु भएको कारण उहाँ धेरै आफू जस्तै अन्य अग्रज एवम
अनुज साहित्यकारहरूसित परिचित हुनुहुन्छ। कवि लेखक सामाजिक उपज हो र उनीहरूको जीवन
र लेखन आफू जोडिएको समाजको वरिपरि हुने गर्दछ। उनीहरू बाँच्ने समाज कतिको सहज वा असहज
रहेको छ वा त्यो समाजले लेखनमा के कस्तो सुविधा वा असुविधा प्रदान गरेका छन जस्ता मुद्दा
पाठको हिस्सेदार हुन सके यी कुराहरूको अवज्ञान हाम्रो संस्कृति निर्माण र पहिचान महत सहयोग गर्ने हुन्छ। यही ज्ञानको चेतना लिएर ठकुरीले
एउटा खोजपूर्ण अभियानमा लाग्नुभयो। उहाँको अनुसन्धान र सत्प्रयासले नेपाली साहित्य
विकासक्रममा एक अनुपम कृतिको जन्म भयो "सर्जक सन्दर्भ" नाम गरेर । इन्द्रबहादुर
राई, कुमार प्रधान, राजनारायण प्रधान, बिन्द्या
सुब्बा, अविनाश श्रेष्ठ, मनप्रसाद सुब्बा, शरद
छेत्री, एम एम गुरुङ, सम्पूर्णा राई, नोर्ज्याङ स्याङदान,
सानु
लामा, आनन्द कार्थक र शिव राईका अन्तर्वार्ता, परिचय र समालोचनात्मक
चर्चा आएका छन। वास्तवमा यो पुस्तकले एउटा
माइलखुट्टि बनाएको छ। आफ्नो किसिमको विशेषता भएको यो एकल ग्रन्थ हो। भाषा, साहित्य
, संस्कृति, साहित्यकर्मी परिचय समेटिएको यो किताबले शोधकर्ता, आम पाठक
र साहित्यको मर्म बुझ्न इच्छुक वर्गलाई यसले विशेष सहयोग पुर्याउने कुरामा दुईमत हुने
छैन । कमला तामाङले यो किताबमाथि लेखिएका सबै लेखहरूका विशेष अंश यहाँ राखिदिनु भएको
छ। जय क्याक्टस, शैलीका छेत्री, अर्जुन प्रधान, कविता लामा र पेम्पा तामाङका लेखहरूका उद्धरण राखिएका छन। सामाजिक सञ्जालमा आएका
टिप्पणीहरूको पनि यहाँ समावेश गरिएको पाइन्छ । यसले "सर्जक सन्दर्भ" किताब
पढन सहयोग मात्र होइन तर यसको बहुल व्याख्याको ढोका खोलिदिनेछ।
"सर्जक
सन्दर्भ" को आयोजन पारम्परिक ढाँचाको छैन। यो अन्तर्वार्ता मात्र होइन। जीवनी,
अन्तर्वार्ता,
सृजना
र आलोचना एकैसाथ आएको बहुविधात्मक रूप लिएको ग्रन्थ भएको छ। केही लेखहरूमा लेखकका अतरंग प्रसङ्ग पढन
पाइन्छन् जसले हामीलाई रोमाञ्चक बनाउँदछ। एक स्रष्टाको जीवन, जीवन
दृष्टिकोण र लेखनमा आउनु पूर्वका घटनाहरू जसले उसलाई एक भिन्नै परिचय दिलायो जस्ता
अनेकौं रहस्यमय चक्रपथ रमाइलो र ज्ञानवर्धक रहन गएको साबित हुन्छ। साहित्य लेखनमा रुचि
राख्न वा साहित्य बुझ्नको निम्ति यस्ता दस्तावेज अत्यन्त महत्त्वको हुने गर्दछ। ज्ञानको
क्षेत्रमा साहित्य कला सहज र स्वाभाविक देखिन्छ तर वास्तविक रुप त्यस्तो हुँदैन। साहित्य
लेखनमा अनेकन ज्ञानमिमांसा जोडिएको हुन्छ। हामीलाई कुनै पनि अमूर्त वस्तु सहज ग्रहण
गर्न कठिन पर्छ । तर त्यही अमूर्तलाई मूर्त रुप दिएर हाम्रो समक्ष आए हामीलाई
ग्रहण गर्न गाह्रो हुँदैन । साहित्य ले त्यही अमूर्त धारणा मूर्त रुप जस्तो बनाएर प्रस्तुत
गरेको हुन्छ। तथापि यसको पहिचानमा केही पूर्वज्ञान रहे धेरै सजिलो भएर गइहाल्छ। हामी
भूलबुझाइबाट बाँच्न सक्छौं। एउटा गोरेटो देखाएको हुन्छ बाटो हिड्नलाई। मनोरञ्जनात्मक
बनाएर साहित्यलाई बुझाउने यसप्रकारको किताब एक राम्रो उपक्रम बनेको हुन्छ।
सिर्जन
वृत्त – एक बहुआयामी किताब रहेको छ। कवि मोहन ठकुरीको जीवनी र सृजना मात्र होइन
तर उहाँबाट भएका इतर कामहरूको पनि चर्चामा ल्याइएको छ। यसमा गैर सृजनात्मक लेखन जस्तै
व्यक्तित्व परिचय, सम्पादन, अनुवाद, पत्रिका सम्पादन/प्रकाशन जस्ता अनेकन कार्यका विवृत्ति रहेको
पाइन्छ। पुस्तक आयोजनको एक थप आकर्षण यसमा राखिएका विविध साहित्यकारहरूका तथ्यपरक परिचयांकन
पनि हो। यसले यस भेकमा लेखन क्षेत्रमा रहेका प्रतिभाहरूको दस्तावेजीकरण भएको छ।
कथा,
कविता,
उपन्यास
जस्ता लेखनले मनोरञ्जन अवश्य दिलाउँछ। तर यही लेखन पठन पाठनमा पनि पर्दछ। विद्यालाय, महाविद्यालय र विश्वविद्यालयमा
विद्यार्थीहरूले यही पढन आवश्यक पर्दछ, ज्ञानको निम्ति, डिग्रीको निम्ति,
रोजगार
योग्य बनिनको निम्ति। राष्ट्र निर्माण र विकासमा यही ज्ञानानुशासनको भूमिका रहेको
हुन्छ। यस्तै कुनै पुस्तकले सिंगो सभ्यता देश बोकेर हिडेको हुन्छ। यसैले हाम्रो
जीवनमा पनि लेखनको भूमिका निभाइरहेको हुन्छ, अचेतनरूपमा भए पनि
हामी यसैबाट निर्देशित भएका हुन्छौं। यसैले हामीलाई साहित्य जान्न र बुझ्न अति आवश्यक
पर्छ चाहे लिखित होस या मौखिक स्तरमा रहेको होस। साहित्य कसरी लेखिन्छ र यो कुन प्रक्रियाबाट
भएर गएको हुन्छ यसको सूचना रहे धेरै सहज हुन्छ। अघि भनिन्थ्यो साहित्य दैविक प्रेरणाबाट
लेखिन्छ भनेर तर अहिले भनिन्छ यो विशुद्ध मानवीय क्रियाकलाप हो। मान्छेमा रहेको
कल्पनाको शक्तिले उसले सृजना गर्छ। यसैले प्रगतिवादी विचारकहरू मान्छन साहित्य
लेखन पनि उत्पादन नै हो। उत्पादनको निम्ति शिल्प सिकेको हुनुपर्यो। अभ्यास
हुनुपर्यो। यो सिकेर बुझ्ने र लेख्ने कार्य हो। यसको निम्ति हामीकहाँ सामग्री
हुनुपर्यो। स्रोत ग्रन्थ हुनु पर्यो। यहाँ "सिर्जन वृत्तमा मोहन ठकुरी" को
लेखनको मूल उद्देश्य यही हो। यसले साहित्य बुझ्न, कविता के हो र कसरी
पठन गर्नु पर्ने, आलोचना के हो र किन आवश्यक छ र यसमा सर्जकको सिर्जन स्रोतको अध्ययन यावत
विषयमा पुष्टि गर्दछ। धर्म र दर्शनल भन्दा साहित्य
अधिक महत्त्व रहेको कुरा बताउँछ एक सिद्धान्तले
। ( .......the study of literature is valuable because literature, even
more than religion (which is a combination of poesy and credulity) and even
more than philosophy (which is a mere dry abstraction from poetry ) is the
warmest and fullest revelation of the motives by which civilizations are
determined.) ( William K. Wimsatt, Jr. And Cleanth Brooks) ( Literary Criticism
: A Short History)। यसबाट स्पष्ट हुन्छ साहित्य साहित्यमा लागी पर्नेको लागि मात्र होइन
तर समाजका सबै तप्काका वर्गलाई चाहिने ज्ञान हो। सभ्य समाजमा यो विचार रहेको
पाइन्छ। टेरी ईगल्टनले आफ्नो किताब Literary
Theory: An Introduction को दोस्रो संस्करणको भूमिकामा बताएको छ
I am
gratified to report that it has been studied by lawyers as well as literary
critics, anthropologists as well as cultural theorists.............I have also been
struck by the number of non-academic readers it has attracted."
यद्यपि
टेरी ईगल्टनले पाउन सकेको समाज हामीसित छैन। पाठ्यक्रममा भएका पुस्तकबाहिर रहेका साहित्यिक
पुस्तक पढने संस्कार छैन। हाम्रो विचार साँधुरो छ र चुनिएका थोरै किताब बाहेक अन्य
पढन जान्न बुझ्न हुँदैन भन्ने विचार बोकेर हिड्ने सामाजिक समूह यदाकदा भेटिन्छन् अहिले
पनि। यस दृष्टिकोणले हेर्नु हो भने "सिर्जन वृत्तमा मोहन ठकुरी" जस्तो
किताब हामी माझ आउनु भनेको यही संकीर्ण विचारबाट मुक्त भएर वैविध्यता समेट्ने
आग्रह हो। हामीले हाम्रो पठन संस्कारलाई हुर्काएर लानु पर्नेछ । हाम्रो लेखनको आयतनमा
वृद्धि हुन आवश्यक छ। जति विविध विचार र लेखन आए सामाजिक चेतना उत्तिनै
विकास भएर जानेछ। एकालाप नभएर सम्वादको वातावरण बन्नु पर्दछ। विविध विचार र व्यक्ति
परिचयको समागमले हाम्रो सामाजिक चित्रण र एकार्काको भूल बुझाइको निराकरण हुन्छ।
एक व्यक्ति
कवि मोहन ठकुरीलाई केन्द्रमा राखिएर ग्रन्थ तयार गरिएको भए पनि कवि ठकुरीको
सम्पूर्ण समाजलाई यहाँ प्रस्तुत गर्ने कार्य कमला तामाङले गर्नु भएको छ। यसमा समावेश
गरिएका दर्जनौं लेख, तिनीहरूको पाठ अनि कवि ठकुरीका सहस्र पाठक र आलोचकबाट टिपिएका टिप्पणीहरू
मनन गर्दा बुझिन्छ कमलाले भगिरथ प्रयत्नको परिणाम हो यो ग्रन्थ भनेर हामीले
स्वीकार्नु पर्ने भएको छ। उहाँको साहित्यप्रतिको प्रतिबद्धता र लगनशीलता यस कृति परिचायक
बन्ने कुरामा आश्वस्त हुन चाहन्छु।
Comments
Post a Comment