सिक्किम, साहित्य अनि कवि भीम ठटाल
पेम्पा तामाङ
सिक्किममा साहित्यको गतिविधिको शुरुआत अपतन
साहित्यदेखि मानिलिनु हो भने सात दशक बडी हुन लागेको ठहर हुन्छ। प्रारम्भिक
चरणमा तर सिक्किमको साहित्य
लेखन अग्रता शिक्षित र सापेक्षित सम्पन्न समूहबाट भएको देखिन्छ। यस समूहमा रहेका साहित्यकारहरूमा
तुलसी अपतन पछि गएर उत्तर बंगाल विश्वविद्यालयको प्रोफेसर भए। पदमसिहं सुब्बा विशेष सचिव थिए भने हरिप्रसाद
प्रधान नेपालको सर्वोच्च न्यातलयको प्रथम मुख्य न्यायाधीश। चन्द्र दास राई आइएएस भइ
सिक्किम सरकारको सचिव हुन पुगे। अगमसिंह तामाङ पनि सम्पन्न थिए। हुनत त्यतिबेला
शिक्षाको प्रचार भएको थिएन र निरक्षरता व्यापक थियो। यसैले साहित्य सीमित वर्गमा रहेको
मानिलिन सकिन्छ। नभन्दै यसले सिक्किमको साहित्यको एक विशेष परिचय प्रदान गर्यो। माथि
बताइएको वर्गीय चित्रणले बुझाउँछ समाजको विभिन्न तहको प्रतिनिधित्व नगरेर विशेष वैचारिक
र सामाजिक स्तरमा रहेको थियो। यसको प्रभाव दीर्घ कालसम्म रहन गयो।
सिक्किम भारतमा विलय भएर गएपछि
भने भारतबाट आउन लागेको विपुल धन राशी, प्रशस्त रोजगारको
उपलब्धता,
व्यापक शिक्षाको प्रचारले
समाजमा अभूतपूर्व परिवर्तन आउन थाल्यो। सामन्ती व्यवस्थादेखि पुञ्जीवादी व्यवस्थामा
रुपान्तरण हुन पुग्यो। सामान्य पिता पूर्खाका सन्ततिहरू उच्च शिक्षा र उच्च सरकारी
ओहदाको हकदार बन्न पुगे। नयाँ आभिजात्य वर्ग उदय भयो । अचानक आएको धन सम्पत्ति, मान मर्यादा, सुख सुविधा, क्षमताले यो नयाँ
वर्ग आफूलाई एक अलग परिचय बनाउने क्रममा उसलाई लागेको सहज विषय उसले जस्तो विलासी जीवन
जिउन नपाउने र एवम निम्नस्तर वा ऊमाथि निर्भर रहनु पर्ने समूह मानसिक रुपमा सृजना
गरे। कुनै पनि ज्ञान र कलात्मक सृजनाको निम्ति प्रतिभा लगन र परिश्रम आवश्यकता
पर्दछ। यो समूहलाई यस्ता विषय जीवनको अत्यावश्यक श्रेणीमा राख्न वाहियात लाग्न थाले।
यी सब बजारमा पाइने र पैसामा किन्न सकिने बाजारु मानिन थालियो। किताब किन्ने र पढने
संस्कार विलुप्तिमा पुगे। किताबले मनोरञ्जन दिँदैन र पढ्नु समयको बर्बादी हो। काम नहुनेले
मात्र किताब पढछ। कथा कविता वा कुनै त्यस्ता सृजनात्मक लेखन निम्न दर्जाको काम हो।
शिक्षित र सुविधाजनक ओहदामा
रहने समूहबाट यसैकारण १९८०को दशक देखि साहित्य लेखन विस्थापन भएर कर्मचारी
तन्त्रको मध्यम र निम्न वर्गतिर बडी हुन थाल्यो। लेखनमा आउने बडी समूह
अघिसम्म किनारामा रहेकाहरू देखिन थालिएका हुनाले विषयवस्तुमा पनि स्थान्तरन हुन थाल्यो।
सत्ता र क्षमता माथिल्लो वर्गको पकडमा रहेको तथा समाजको दिशानिर्देशनमा उनीहरूकै प्रभाव
बडी रहेको कुरा लेखनमा ओझेल हुन थाल्यो किनकि लेखनमा उनीहरू रहेनन। केही अपवाद
स्वरुप कवि लेखक रहेका थिए सानू लामा, गिर्मी सेर्पा, सानुभाइ
शर्मा तर यी स्रष्टाहरू सिक्किमको नव रुपान्तरित समाजको चित्रण भन्दा पारम्परिक लेखनमा
नै रहन रुचाए। यसैले उनीहरूको लेखनबाट पनि नयाँ सिक्किमको चित्र आउन सकेन। एकप्रकारले
यसो भन्न सकिन्छ पछिल्लो तीन दशकमा सत्ता सञ्चालित परिवर्तन र त्यो भित्रको विद्रुपता
सिक्किमेली सृजनात्मक लेखनबाट मुक्त रहे र पाठक लाभान्वित हुन सकेन।
हुनत सिक्किमेली जनसमूह पुस्तकप्रेमी रहेको देखिँदैन। अहिले एकाइस्सौँ शताब्दीको
तेस्रो दशकतिर पनि पठन संस्कार भने जस्तो विकास हुन सकेको छैन। आजको युवावर्ग अधिकांश
शिक्षित रहे तापनि पुस्तक अध्ययनप्रति आकर्षित भएको कुनै लक्षण रेखांकित हुन सकेको
छैन। यसैले सत्ताको नजिक रहेर सुविधाजनक जीवन यापन गर्न सकेका समूहले लेखेका कुनै
सामग्री अध्ययन गरेर सिक्किमेली समाजको चुनौती र अवसर बुझ्ने प्रयास गर्न सहज हुन्थे
भन्न जोखिम नै हुन्छ। हालको समय सामाजिक सञ्जालको सुविधाको कारण धेरै जना लेखन क्षेत्रमा
आफ्नो प्रतिभा देखाउन सक्षम बनेका छन। सामाजिकआर्थिक अवस्था निकै सुधार आएको कारण
कृति प्रकाशन पनि बग्रेल्ती आउन थालेका छन। तर यी लेखन सबै सिक्किेली समाजको चित्रण
नभएर आम जीवन, जिजीविषा, एकांगी विचार र आफू बाँचेको
परिवार र समाजमा सीमित छन। केही राजनैतिक विद्रोह र अधिकतर रुमानी छन। कवि भीम ठटालका
कविताहरू यसैले विशेष महत्त्वको भएर आएको छ। उनको लेखनले त्यो रिक्तता भर्दछ जो सिक्किमेली
सिर्जनामा पछिल्लो दशकौंदेखि झल्किरहेको छ। उनी हाल जिल्लाधीशको पदमा छन र राज्य लोक
सेवाको श्रेणीमा विशेष सचिवको हारमा रहेका छन। एक उच्च पदमा रहँदा आइपर्ने
जिम्मेवारी र कर्तव्यबोध निर्वहनको निम्ति आइपर्ने चुनौती र अवसरको बोध उनले
गरेको यहाँ कवितामा देखिन आएको छ।
कवितालाई कल्पना भनिन्छ यसैले अलौकिक नै
मानिलिनु पर्ने हुन्छ। तर कतिपय सर्जक आफ्नो जीवनको अनुभूतिलाई काव्यात्मक रूप दिन
तत्पर रहेको हुन्छ। यसको उदाहरण विश्वका विभिन्न सर्जकहरूदेखि लिएर नेपाली भाषा साहित्यमा
पनि पाइएकै छ। यसलाई आत्मकथात्मक लेखन भनिएको छ। नेपाली साहित्यमा महाकवि देवकोटाको
अविस्मरणीय कविता "पागल" यही प्रवृत्तिमा पर्दछ। कवि भीमले पनि यही
परम्परा अनुसरण गरेर आफ्नो निजी जीवनको अनुभूतिलाई काव्य विषय बनाएको छ। उनको यही कविताहरूले
ब्युरोक्रेटिक जीवनको चित्रण पाठक माझ आउन
सकेको छ। सिक्किममा नौकरशाहीलाई सत्तामा हुने राजनैतिक दल होस या आम जनता दुवैको
निम्ति एक सम्वेदनहीन वेतन र सुविधा भोगी समूह भएको हुन्छ। उनीहरूलाई निष्क्रिय र निहायतै
स्वार्थी भनेर सम्बोधित गरिन्छ। एक ब्युरोक्रेटलाई भने सत्तासीन दल र आम जनता बिच कसरी
सेतु निर्माण गर्ने जस्ता चिन्ताले ग्रस्त बनाएको हुन्छ। शक्ति सन्तुलन बनाइ राख्न
ऊ प्रयासरत रहन्छ। आफ्नो शक्ति र क्षमताको आकलन गरेको हुन्छ। प्रजातान्त्रिक
प्रणालीमा नीतिगत निर्णय सबै जनप्रतिनिधिको अधीन हुन्छ। जनप्रतिनिधि सीमित समयको निम्ति
शासनमा हुन्छ र समयसीमा पछि पुनः जनसमर्थन प्राप्त गर्नु पर्दछ। शासनमा नैरन्तर्यता
कायम राख्न नौकरशाही स्थायी रूपमा रहेको हुन्छ। जनप्रतिनिधिले तय गरेको नीतिको कार्यान्वयन
यही नौकरशाहीको दायित्वमा हुने गर्दछ। जनता र सत्ताको बिचमा रहेको नौकरशाही यसैकारण
सशक्त हुन्छ। समाजमा नौकरशाहीको भूमिका प्रभावकारी हुने गर्दछ। नौकरशाहीले समाजलाई
कसरी हेर्दछ वा एक व्यक्तिको रूपमा उसको आकांक्षा के कस्तो बुझ्न
जरुरी छ। उनीहरूको जीवन जान्नको निम्ति उनीहरूले लेखेका वा उनीहरूमाथि लेखिएका साहित्यिक
गैर साहित्यिक लेखन निकै सहयोगी बन्दछ। कुनै एक समाजलाई जान्नको निम्ति समाजका सबै
तप्काका सदस्यबारे विचार आवश्यक हुन्छ नत्र बुझाइ एकांगी हुन्छ। कवि भीम ठटाल यस संकलनमा
राखिएका कविताहरूबाट यही एक नौकरशाहीको दृष्टिकोण विश्वसनीय आधारमा बुझिन सकिन्छ। एक
नौकरशाह क्षमता, सुविधा र सम्मानको जीवन मात्र होइन उसलाई उत्तिकै सकस,
द्विविधा र निरीहताको बोधले निराश पनि बनाएको हुन्छ। उसको यही
जीवनको चित्रण यहाँ कविले यसरी गरेका छन
"दिउँसो कार्यलयमा त्यही युवक
आफ्नो रोजगार कार्ड दशौँपल्ट रिन्यु गरिमाग्न आउँछ
अनि जाबो एउटा नोकरीसम्म नभएको त्यस युवकलाई
नैराश्य र बेरोजगारी रिन्यु गर्नुबाहेक केही गर्न नसक्दा
तमाम कर तिरेर मेरो तलब भर्नेहरूका आशासम्म बाँच्न नसक्ने
म ब्युरोक्र्याट विचलित हुन्छु ।"
एक नोकरशाही किन यति लाचार हुनुपुग्छ यसको पृष्ठभूमि यसरी दिएको छ
"मसँग क्षमता छ तर ममाथि
मेरो क्षमतामाथि पनि ताण्डव गर्न सक्ने मान्छे छ
त्यसर्थ मेरो क्षमता आफ्नै नपुङ्सक मुस्कानसँगै
घोल बनाएर नसडकिने गरी पिउनुपर्छ।"
एक नोकरशाहले स्वतन्त्र निर्णय लिन सक्दैन र उसले गर्ने काम नीतिगत हुन अनिवार्य
हुन्छ। यसले गर्दा उसले स्थलगत निर्णय लिन सक्दैन। उसले धेरै गर्न सक्दछ तर सबै गर्न सक्दैन। यही
कारण यहाँ "नपुङ्सक मुस्कान" भनिएको हो।
आम जनता कुनै एक नौकरशाहलाई उसले पाउने मोटो तनखा, सुविधा र
क्षमताशील भएर पनि असम्वेदनशील र जनविरोधी करार गर्छ भने राजनैतिक सत्ता उसलाई
विकास विरोधी, नवचेतनाविहीन र स्थितिवादी ठान्छ। कवि तर भन्छ
उसको वास्तविकता यस्तो छैन र ऊ खासै शक्तिशाली छ भनिन सकिन्न।
" ब्युरोक्रेसी वास्तवमा केही होइन
जसले जे पाउनुपर्छ उसलाई तेही दिने एउटा चर्या मात्र हो।
आधार, अधिकार अनि आवश्यकताको क्रय विक्रय मात्र हो"
कविले एक नौकरशाहीको औसत दिनचर्या जीवन्त देखाएका छन
"अहो ! जिन्दगी घडीमा चडेर कुद्छ
अब आजको नोटिङ समेट्नुपर्ने भयो
साँझ होटेलमा डिनर छ, भोलि मन्त्रीको प्रोटोकोल,
टाइट प्रोग्राम छ, टूर पनि छन्
अनि फाइल समेट्दै म घर फर्कन्छु"
जब एक राज्य प्रशासनिक सेवामा नियुक्त हुन्छ उसको कार्य क्षमता प्रसासनको निम्ति
सुदक्ष बनाउन तालिम दिइन्छ। प्रशासनमा उसको भूमिका कस्तो हुनुपर्ने र आइपर्ने
अनेकन चुनौती कसरी सामना गर्ने जस्ता गुरु मन्त्र सिकाइने हुन्छ। एक आदर्श नागरिक
र दक्ष प्रशासक हुनलाई आवश्यक मार्गनिर्देशन दिइएको हुन्छ। यही विषयवस्तुमा आधारित
छ कविता " आफ्नो नामको चिट्ठी"।
"कुनै एउटा प्रशिक्षणमा गएका थियौं हामी ।
त्यहाँ हामीलाई प्रशासन, सुशासन, नीति,
मूल्य अनि व्यक्तिगत नैतिकता जस्ता
खस्रा अनि सुक्खा विषयहरूमा निरन्तर घोटेर पिलाउने काम भयो।बिहानै उठेर प्रकृतिसँग
वार्तालाप गर्नेहरू जस्ता सन्की कामहरू पनि भयो।"
प्रस्तुत कविता एक व्यग्यप्रहार हो र नौकरशाहीमा रहने दोषको उजागर हो। नौकरशाहलाई
उसको जिम्मेवारी दक्षताको साथ सम्पन्न गर्न उत्कृष्ट तालिम उपलब्ध गराए पनि सबै
इमानदारीपूर्वक कर्तव्य निर्वहन गर्ने हुँदैन। आलसी, ढोंगी, विलासी र भ्रष्टाचारी हुन्छन्। उसलाई दिएको पद र ओहदा उसले आफ्नो निजी जीवनको उत्तरोत्तरको लागि हो भन्ने मात्र बुझ्छ,
परोपकार र जनहितको चेतना हुँदैन। समाज देश र मानवताकै निम्ति
हानिकारक रहने यस्ता व्यक्ति असम्वेदनशील र क्रुर पनि हुन्छ। यही प्रवत्तिलाई विलोम
प्रस्तुतिमा सुन्दर रुपमा कविले यसो भनेका छन
"अनि अन्तमा आफूलाई चिट्ठी लेख्नु थियो
चिट्ठीमा लेख्नु पर्ने कुराहरू :-
आजदेखि म कैल्यै रिसाउने छुइनँ अनि सहनशील भएर काम गर्नेछु
अब उसो म अर्काकी स्वास्नीलाई आफ्नै स्वास्नी सोँच्ने छुइनँ
सम्पूर्ण अनैतिक गतिविधिबाट आफूलाई अलग राख्नेछु
मलाई नोक्सान गर्नेहरूलाई हृदयबाट नै क्षमा गर्छु
सर्वदा अरूको हितमा मेरो जीवन अर्पण गर्नेछु
कार्यालयमा अनि सरकारको पैसाको हिनामिना कदाचित गर्दिनँ
भ्रष्ट आचरण त्याग गर्नेछु अनि मानवहितका लागि जीवन समर्पित गर्नेछु।
सर्वदा अन्तरात्माको आवाजलाई सुन्नेछु अनि आमूल परिवर्तन ल्याउनेछु।
मेरो जीवनको अनि म हुनुको अर्थ बुझेर जीवनलाई अर्थ दिनेछु।"
चिट्ठीको प्रेषकले अन्य सबै सरकारी गैर सरकारी निजी पत्र, सूचना,
आदेश पाउँदछ उसको तोकिएको ठेगानामा। तर यही विशेष चिट्ठी भने हात लाग्दैन,
उसको ठेगानामा आइपुग्दैन। चिट्ठी नआइपुग्नुले बताउँछ ऊ तालिमबाट प्रभावित
भएर परिवर्तित हुनु सकेको छैन। उसको कार्य क्षमतामा आउनुपर्ने इमानदारी, दक्षता, परोपकारी र जनहितको भावना आएको छैन। ऊ त्यस्तै
एक व्यभिचारी, भ्रष्ट र कामचोर नै छ। उसले आफ्नो आचरण,
आफ्नो आदर्श तालिम अनुरुप बनाउन कहिले सक्दैन। यसरी कवि यहाँ
नौकरशाहीको अध्यारो पक्ष देखाउन पुगेको पाइन्छ।
"ब्युरोक्रेसी र कविता" चोटिलो व्यंग्य हो। विभिन्न कार्यको समन्वय
र कुनै नयाँ योजनाको कार्यान्वयनको निम्ति विभागभित्र र अन्य विभागका अधिकारीहरूसित
सभा बस्तछ। सहभागी सदस्य सबै आफ्नो विषय अघि राख्न र दमदार राख्न होडबाजी जस्तै
हुन्छ। एकले अर्कोलाई नसुनिरहेको र सबै आफ्नै धुनमा बोलिरहेका हुन्छन्। कवि भीम यही
दृश्यलाई यसरी चित्रण गर्छन
ब्युरोक्रेसी
र कविता
"कागहरु सभामा
बसेका छन्
बनिदै गरको
अटव्य भवनका छडहरुमा
आफु
बसेको छड हल्लाउँदै
कुनै ठोस्
मुद्दाबिनै
आ-आफ्नै
मात्र नाम उच्चारण गर्दै
कागहरु सभामा
बसेका छन्|"
नौकरशाह आम जनताको सहुलियत र समस्या समाधान
गर्नलाई नियुक्ति भए पनि ऊ नै जनताको समस्याको कारण बन्न गएको विडम्बना
कवितामा उल्लेख छ। यसले व्यवस्थामा रहन गएको त्रुटि उजागर गरेको छ।
नौकरशाहको कार्यप्रणालीभित्र
पर्ने अर्को कार्य हो लेखा परिक्षण वा अडिटिङ। विधानसभामा विभागलाई उनीहरूको योजना
अनुरुप धनराशी पारित गरेर आवन्टन गरिएको हुन्छ। सम्पूर्ण राशी जनताबाट कर संकलन र राज्यको
अन्यान्य आयस्रोतबाट सञ्चित कोष हो। आवन्टित कोष विभागले उचित ढंगमा उपयोग गर्यो वा
गरेन यसको वार्षिक जाँच नै लेखा परिक्षण हो। लेखा परिक्षणको भूमिका महत्त्वपूर्ण
यसैकारण छ कि यसले भ्रष्टाचार भएको पता लगाउँछ र करदाताको रकमको सही निगरानी
हुन्छ। नौकरशाहलाई तैनाथ बनाउँदछ। पारदर्शिता विकास गर्दछ। यसैले सम्विधानमा प्रावधान
राखेर यो संस्था बनाइएको हुन्छ र यसप्रकार यो एक सम्वैधानिक संस्था हो। तर यो संस्थाले
पनि आफ्नो क्षमता र कार्यशैली सधैं पारदर्शी र विश्वशनीय राखेको छ भन्ने चाहिँ होइन।
यसको उदाहरण हो बहुचर्चित टुजी र कोइला आवन्टन घोटाला, जो इन्डियाको
पूर्व युपिए शासन कालमा घटेको थियो । महालेखापाल टुजी स्पेक्ट्रम र कोइलाखानाको बिक्रीमा घोटाला भएको आकलन गरेको
थियो। सरकारले जुन दरमा बेचे ती सम्भावित उच्चतम मूल्य भन्दा धेरै कम गरेर र खरिदकर्तालाई
लाभ पुर्याएको आरोप लगाइएको थियो। त्यतिबेला दावी गरिएको थियो महालेखापालले सरकारी
खजानाको लुटलाई बचायो, भ्रष्टाचार रोकियो भनेर। पछि न्यायलयले
बिक्री रद्द गरिदियो र महालेखापालको अनुमानित रकमको आधारमा फेरि बिक्रीको निम्ति सूचना
जारी गरियो। मूल्य अत्यन्तै अधिक राखिएको कारण खरिदकर्ताहरूले ठूलो रकम चुकाएर लिए।
तिनीहरूले रकम बेंक र अन्य वित्तीय संस्थानहरूबाट ऋण लिएर खरिद गरे। तर ती व्यापारीहरूलाई
पछिबाट ज्ञात भयो जुन रकम चुकाएर उनीहरूले किनेका थिए, त्यसको
मूल्य अतिशयोक्तिपूर्ण थिएछ भनेर। ब्यापारबाट उनीहरूले लागत उठाउन नसक्ने भयो। यसले
ती लगानी कर्ताको रकम डुबे। ऋण तिर्न सकेन। उनीहरूले ऋण तिर्न नसक्दा बेंकको पैसा पनि
डुब्यो। सरकारी बेंकको पैसा भनेको जनताको पैसा हो, करदाताको पूँजी
हो। आखिरंमा जसरी भए पनि जनताको पैसा डुब्यो,
व्यापारीलाई घाटा पनि भयो। सरकारको करसइ्ग्रहमा आघात पर्यो। सरकारको
करसङ्ग्रहमा आघात पर्नु भनेको देश विकास योजनामा चोट पुग्नु हो। बेरोजगारी बडनु हो।
यसरी महालेखापालको भ्रामक अनुमानले अन्त्यमा गएर रकम चुवाहट रोक्ने र भ्रष्टाचार अवरोध
गर्ने काम होइन देशलाई क्षति पुर्याउने काम हुनगयो। यसैले लेखा परिक्षकको भूमिका
अति महत्त्वपूर्ण हुँदा हुँदै पनि कहिलेकाहीँ यसले गलत दिशानिर्देश गरिदिँदा सबैलाई
मर्माहत बनाउँछ। यद्यपि यसो भए पनि अडिटिङ प्रत्येक सरकारी कार्यलयको वार्षिक
रुपमा अनिवार्य हुन्छ। अडिट दलले अनेक प्रश्न राख्छन् जसलाई उनीहरू पारा भन्छन् र आम
भाषामा अडिट पारा। प्रत्येक प्रश्नको उत्तर दिनु पर्ने हुन्छ चाहे त्यो वाहियात नै
किन नहोस। यसैले यो काम निकै दिक्दार नै हुन्छ। जति ठूलो विभाग र धनराशी उति धेर प्रश्नको राश।
हरेक सरकारी कार्यलय मुखेञ्जी हुनुपर्ने बाध्यता वा कर्तव्य निवारण र जिम्मेवारी
तर सहज नभएर असहज नै हुन्छ। यही वस्तुस्थितिको चित्रण रहेको छ यो कवितामा
"अडिटहरू
र अनियमित विचारहरू"
"लेखापरिक्षण त हुन्छ नै
कहिलेकाहिँ प्रदर्शनको लागि
र प्रायः वित्तको लागि:
हामी जवाफ दिन्छौं
युक्तिसङ्गत पार्न हरसम्भव प्रयाससँग
यहाँ र त्यहाँ निश्चित शुन्यहरूसहित
र निराधार अर्थहरू दिँदै शुन्यको
जो वास्तवमा शुन्यमात्र हो
र प्रत्येक अनुच्छेदको औचित्य स्थापित
गर्छौं
सबै व्याकरण र वाक्यांशसँग
सन्दर्भ र मुद्दाहरुले
कागजात र तथ्यसहित
नियत र कर्मका साथ
तैपनि उभिएकै छ
अडिट पाराहरु..|"
अडिटको प्रश्नहरू अन्तहिन जस्तै हुन्छ एकपछि अर्को
आउने। त्यतिमात्र नभएर कति प्रश्न अनर्गल जस्ता देखिन्छन्।यही दृश्य देखाइएको छ निम्न
पदमा
"अझः धेरै पाराहरु
पाराहरु पछि पुनः पाराहरु
व्याख्यानको नमेटिने तिर्खा
लेखा परिक्षकहरूका अपरिमित अपेक्षाहरू
जबकि लेखापरिक्षणका भुक्तभोगीहरुले
सबै मिहिनेत अनि सावधानीपूर्वक
प्रयास गरेवापत्
लगभग पूर्ण रूपमा सीमाभित्र हुँदाहुँदै
पनि
अझै जवाफ दिनैपर्छ
लेखा परिक्षकको जिज्ञासा
संख्याहरु धेरै अनि
तर्क कम्ति
प्रश्नहरु धेरै अनि
कारणहरू कम्ति
आवश्यकताहरु धेरै अनि
विचारहरु कम्ति...|"
सिक्किमेली साहित्यिक परिवेशमा प्रगतिवादी साहित्य
मौलिन सकेको थिएन। मार्क्सवादी राजनीति नआएको होइन, यसका समर्थनमा केही राजनैतिक दल थिए। वामधारा नै घोषणा गरेर जनता समूह समक्ष
नआए पनि यसको विरोधमा पनि थिएन। सिक्किमको पहिला राज शासन र विलय पछि प्रजातान्त्रिक
परम्परामा ढालिए पनि सामन्ती व्यवस्थाको अवशेष थियो। सामन्ती व्यवस्थामा रहने सामाजिक
भेदभाव र वर्गीय चेतनाले उत्पन्न विरोधको आवाजलाई सैद्धान्तिक आधार प्रगतिवादले दिन
सक्छ भन्ने बुझाइ आएको हो। तर यसले जरा समात्नु सकेन र जमिनमा उत्रनु सकेन। हुनत ७०
र ८० को दशकसम्म सिक्किममा खेतीपातीमा संलग्न जनसंख्या निकै माथि थियो। खेतीयोग्य
भूमि सम्पत्ति र सुरक्षाको मुख्य आधार मानिन्थ्यो। विलय पछि राज्यको निम्ति बनिएको
विधानमा भूमि सुधारको प्रावधान थियो तर यसलाई स्थगन गरिएको थियो। किसान मुद्दा तर मार्क्सवादी वर्ग धारणासित सहज तालमेल
नरहने विचार हो। मार्क्सले भनेको छ किसानमा वर्ग चेतना हुँदैन भनेर। माओले पनि किसान
मुद्दामा लेख्दै भनेको छ थोरै भए पनि निजी खेती भूमि स्वामित्वमा छ भने उसलाई
पुँजीपति नै कहलाइन्छ भनेर। सोभियत रसियामा स्टेलिनको कालमा झन किसानहरूलाई कुलाक भनिन्थ्यो।
कुलाक भनिए पछि क्रान्ति विरोधी भइहाल्यो। यसैले सिक्किममा प्रगतिवादी विचारले प्रश्रय
पाउन सकेन।
कविता लेखनमा भने प्रगतिवादी कविता लेखेर सिक्किमेली साहित्यमा
आफ्नो स्थान बनाउने कविहरूमा कवि पवन चामलिइ हुन। पछि गएर डुकनाथ नेपाल, विजय
कुमार सुब्बा, कुमार
नेपाली प्रभृति अघि आए। हाल नव पुस्ताका प्रतिभाहरू प्रगतिवादी साहित्यमा अग्रसर भएका
देखिन थालेको छ। यहाँ संकलनमा पर्न गएका
केही कविताहरू पनि समाजवादी धारणालाई लिएर आएका छन। तर भीमका कविताहरू ती अघिल्ला
र नवपुस्ता भन्दा फरक चिन्तना स्पष्ट देखिन सकिन्छन।
"लेनिनको जन्मोत्सव अनि समाजवादीमाथि एउटा कविता" र
"विश्वका मजदुर एक हौ" यही कित्तामा पर्ने कविताहरू हुन। हुनत अन्य
कविताहरू पनि गरिब र निमुखाहरूका पक्षमा राखिएका देखिन्छन्। "लेनिनको जन्मोत्सव
………" कविता प्रगतिवादी कविता त होइन तर यो लेनिन र लेनिन
सरह अन्य त्यस्ता क्रान्तिकारी व्यक्तिहरू जसले इतिहासमा आफ्नो छाप छोडेर जान सफल भए
उनीहरूको सम्मान स्वरूप लेखिएका हरफहरू हुन। मानव समाज विभेदकारी छ । सबै मान्छेमा एउटै रगत बहे पनि नश्ल, रङ्ग अनि जात विभाजन गरेर एकले अर्कोलाई थिचोमिचो गर्दछ। अवास्तविक तर्क र
विचार अघि सारेर मानिस मानिस बिच अशान्ति सृजना गर्छ। मानव समाजमा विद्धमान विभेदलाई
समाप्त गर्न समय समयमा प्रयास भएकै हो। यही समानताको विचारलाई समाजवाद भनिने हो। समाजका
प्रत्येक तप्काका सदस्यलाई एक समान मानिने र सबैको अधिकार एक समान रहने, न कोही ठूलो न कोही सानो। भारत देशको सम्विधानले पनि समाजबाद भनेर स्वीकार
गरेको छ। यही समाजवादको नारा लिएर राजनेता अघि आएका छन र जनताले विश्वास गरेर देशको
बागडोर उनीहरूलाई सुम्पेका छन। तर के देशमा साँच्चै समाजवाद आएको छ? समाजवादको नाममा
फेरि त्यही विभेदकारी दमन नीति अपनाइरहेको छैन ? यही हो कविताको मूल स्वर। उनको "लेनिनको जन्मोत्सव अनि समाजवादमाथि
एउटा कविता" मा प्रथमतः विगतका ती क्रान्तिकारी विभूतिहरूको सम्झना र उनीहरूको योगदान मूल्यांकन गरिएको छ।
"लेनिनको जन्म कैले हो थाह छैन
अप्रिल २२ भन्छन् भन्नेहरु
तर मेरो सन्दर्भ उसको जन्मदिन होइन!
मेरो शोध त संसारमा समाजवादको जन्म पो हो त!
लेनिनहरु, मार्क्सहरु, अन्गेल्सहरु सैयौं जन्मे
अनि कृतित्वका आधारमा तिनीहरु तिनिहरुमै जतिसम्म
हुनुपर्थ्यो भए
र आज आएर हामीलाई तिनीहरु लेनिनहरु, मार्क्सहरु,
अन्गेल्सहरु भए!
विश्वलाई अनुकरण गर्नलाई नाममात्र होइन कामहरु
छोडेर गए!
त्यसैले इतिहासमा तिनीहरु अमर भएर रहे!
इतिहास साक्षी छ
अरुकालागि गर्नेहरुको सुची छोटो छ!
मान्छेलाई एकत्र गर्नु, मान्छेका कारणहरुलाई
समिकृत गर्नु
मान्छेमाथि मान्छेले मान्छे हुनुको विरुद्ध गर्नु
नगर्नु गरेपछि
मान्छेविरुद्ध मान्छे उभ्याउन सक्नु र गर्नु
जोसुकैको आँटको कुरा होइन!"
समाजमा दुष्ट चरित्र र स्वार्थ भावना लिएर बाँच्ने
पनि हुन्छन्। उनीहरूको वास्तविकता नांगो पार्छन् कवि यसरी
"मलामीको कात्रो च्यातेर कमिज बनाउनेहरु,
अस्पतालको दवाई चोरेर बेच्नेहरु
छिमेकीको भान्सा स्याप्पै खाएर मुखको चिल्लो
पुस्दै खानाको खोजीमा लाग्नेहरु
अर्काकी स्वास्नीलाई आफ्नैसमान सम्झिनेहरु,
राजकोष रित्त्याउनेहरु
सडक, पूल, स्कूल, घर, भवन, मान्छेको मन, खर्लप्पै
खाएर पनि डकार्नसम्म नडकार्नेहरु
हाम्रो समाजका मान्छेहरु हुन् अनि यो बगाल हाम्रो
समाज हो!"
साधारण आम मान्छे कुनै बिचार वा सिद्धान्तको
आधारमा जीवन बिताइरहेको हुँदैन। उसलाई जिउनुको संघर्ष नै सर्वोपरि हुन्छ र आफ्नो
जीवन कसरी सहज बनाउने यसैको सकस बडी हुन्छ। यही विषय इंगित गरेको छ यो पंक्तिमा
"समाजवादीहरु कस्ता सिधान्तका हुन्छन् या
हुनुपर्ने त्यो हामीलाई थाह छैन
यति हो हाम्रामा सहस्र निगमहरूले पुंजी निवेश
गरेका छन्
राजस्व पनि बढेकै छ, तर कता जमा हुन्छ त्यो
स्पस्ट छैन
नोकरीहरु पनि खोलिएकै छ
यति हो हाम्रा नानीहरु ऐले टिका र भाइटीकामा
छुट्टी नपाएर रुँदै फोन गर्छन्!
आफ्नै नीतिमा भएका असमानताका विरुद्ध आफ्नै
सरकारले आफै आन्दोलन गरेर पनि
मस्टर रोलका हाम्रा सन्तानहरु हाम्रै माटोमा
रेगुलर कैले हुने
त्यो त हाम्रा समाजवादीहरुलाई नै थाह छैन!"
धुर्त राजनैतिक नेता स्वार्थ लाभ उठाउन
समाजवादको नारा लगाएर जनतालाई भ्रमित पार्दछ। तर समाजमा भने उनीहरूले भने जस्तो
समानता र योग्यताको उचित सम्मान गरिइएकै हुँदैन। निमुखा जनतालाई झुटो र पाखन्डी गरेर
भुलाएको हुन्छ।
कवि भन्छ
"योग्यता अनुआर सबैबाट, आवश्यकता अनुसार सबैलाई
भन्थे समाजवादी धुरंदरहरु
अधिकार काटेर सबैबाट, हुनेहरुकै पुगिसरी भएको छ!
हुने-खाने र हुँदा-खानेहरुमा निरन्तर युद्धरत छ
समाजवाद
प्रगति, यथार्थ र समानता सीमित छ कुनै
घोषणपत्रमै!"
कवि भीमले तर विषयवस्तु प्रमुख कविताहरू मात्र लेखेका
छैनन्, उनले काव्य चेतना, सिर्जनाको सकस, आत्मकथात्मक र सिक्किमेली
ग्रामीण परिवेश अनि त्यहाँ समयले ल्याएको परिवर्तनको हुन्डरी पनि बनेको छ कविताको आधारशिला।
यहाँ राखिएका ४० वटा कविताहरूले पाठकमा एक बिम्व सृजना हुन्छ, सिक्किम, यसको सत्ता, गाउँघर, शहर र यहाँको सुरम्यता
अनि समस्यासित जोगाजोग हुनसक्ने सम्भावना। नेपाली कवितामा सौन्दर्य देखाउन
प्रकृतिको मनोरम दृश्यलाई आधार बनाएको हुन्छ र स्वछन्दतावादी धारामा ढलान गरिएको
हुन्छ। समकालीन लेखनमा पनि धेरै सिर्जना यसै मार्कामा देखिन सकिन्छ। भीम र सिक्किमका
उनका पूर्वज, समकालीन र उत्तरकालीन कविहरूबाट
यहीनेर आएर अलग मार्गमा रहेको बुझिन्छ। उनको कवितामा त्यो रुमानीपनको तीव्र आग्रह
छैन। स्वछन्दतावादभित्र हेरिन सकिने एउटा मात्र कविता यहाँ रहेको छ जो एक प्रेम कविता
हो। कविता हो "सिन्कोनासँग मेरो संसर्ग" । कुनै ठाउँ भने जीवनको रहस्यलाई
एक नयाँ अर्थ दिइएको या रहस्योदघाटन गरिएको पाइन सकिन्छ। "एक्स्ट्रा क्यालेन्डर"
यस्तै कविता हो जसले जीवनलाई विसंगत रूप देखाइदिन्छ। सिक्किम सरकारले सालानी सरकारी
क्यालेन्डर छाप्छ। यसलाई अलमानाक भनिन्छ। सरकारले घोषित गरेको छुट्टीका दिनहरू रातो रङ्गमा
हुन्छ र अन्य निलो रङ्गमा हुन्छ। तर सेकेन्ड सेटरडे छुट्टी भए पनि रातो रङ्ग
हुँदैन। नौकरशाह र सरकारी कामकाजमा रहने हितधारकको निम्ति यो एक आवश्यक दस्तावेज
हो वर्षेनी लिइराख्नु पर्ने। सरकारी सेवामा रहने कर्मचारीवर्ग यसै क्याकेन्डरबाट उनीहरूको
जीवन सञ्चालित हुन्छ। सरकारी कर्मचारीले निशुल्क पाउँछ अलमानाक तर अन्यले भने मूल्य
चुकाउनु पर्छ। कविले यहाँ क्यालेन्डर र व्यक्तिको जीवनको सामञ्जस्यता देखाएर नयाँ
दृष्टि दिएका छन। सरकारको वित्तीय वर्ष मानक क्यालेन्डरभन्दा तीन महीना ढिलो सकिन्छ।
मार्च 31 लाई वित्तीय वर्षको अन्तिम मिति बताइन्छ। यही कुरालाई कविले पुरानो क्यालेन्डर वर्ष बितेर पनिकेही महीना अतिरिक्त
चलाएको भनेको हो। क्यालेन्डरले जीवनलाई प्रतिस्थापन गरेको देखाएको छ। क्यालेन्डरको
मानवीकरन र मानवलाई क्यालेन्डिकरन।
"क्यालेण्डरमा झुण्डिएर वर्ष बित्छ,
क्यालेण्डर
प्रयोजन अनुसार प्रकार प्रकारका हुन्छन्:
जनमानसले
आर्थिक आस्था जै’ले
धान्नु परेको हुनाले
भित्ताको
क्यालेण्डरका
केहि मै’ना
पुरानै
सालको योजनामा चलाउनु]पर्छ
अनि
नयाँ क्यालेण्डरको
फेदमा पुग्दा केहि मै’नाको
योजना
अर्को
सालका केहि मै’नासम्मलाई
पनि तान्नुपर्छ
त्यहि
वित्तीय क्यालेण्डर
प्रशासनमा चाहिँ
कि त
ठीक समयमा योजना नबनेर हो
कि त
खर्च गर्न नसक्दा
अर्को
सालका केहि मै’नालाई
पनि पुग्छ"
"क्यालेण्डर अनि मान्छे एकै एकै हुन्
क्यालेण्डर घरको
भित्तामा झुण्ड्याइन्छ
मान्छे
चाहिँ संसारको
भित्तामा झुण्ड्याइन्छ,
जसरी क्यालेण्डरका दिनहरु बित्त्दै
क्यालेण्डर
भित्ताबाट झर्छ
उसरी
नै मान्छे पनि सानै: सानै:
संसारको
भित्ताबाट बित्त्दै जान्छ|"
(एक्स्ट्रा क्यालेन्डर)
कवि भीम एक जिम्मेवार र सम्वेदनशील मात्र नभएर आफ्नो समाजको वरिपरि घटिरहेका घटनाप्रति
सचेत देखिन्छन्। घटना देख्नु र घटनाको कारणहरू गहिरिएर बुझ्नु फरक कुरा हो। व्यक्तिको
चेतनशीलता र प्रज्ञा यसले देखाउँदछ। यसैको राम्रो उदाहरण हो उनको कविता "घर, भूकम्प अनि
राजनीति"
कविता आत्मकथात्मक पनि हो किनकि कवि भीम पुस्तैनी घर १८ सितम्बर २०११मा सिक्किममा
आएको भुइचालोले क्षतिग्रस्त भएको थियो। पछिल्लो आधा शताब्दी भन्दा बडी
समयमा यही सर्वाधिक शक्तिशाली भुइँचालो थियो। ६८ जनाले ज्यान
गुमाए भने सरकारी र निजी भवनहरू दुई सय भन्दा धेर धराशायी भए। सरकारको प्राकृतिक आपदा कोषबाट राहत राशी बाडने काम भयो। यही आपदा सहयोग लिन क्षतिको आकलन गर्ने र क्षतिपूर्ति एवम राहतको निम्ति वित्तीय मूल्यांकन गरिन्छ। यसमा एक ठट्टा सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो। ठट्टा हिन्दीमा छ
प्रधानमन्त्री : नोक्सान कितना हुवा?
मुख्यमन्त्री : सर, एक लाख करोड
प्रधानमन्त्री : तो आप दश लाख करोड लिजिए।
मुख्यमन्त्री : सर, आप मजाक कर रहे हैँ
प्रधानमन्त्री : मजाक तो पहले आप ने शुरु कि।
प्रधानमन्त्री नोक्सानीको जायजा लिन सिक्किम आए र घुमे। एक हजार करोड सहायताको
अनुमति दिएर गए।
सरकारले पछि घरक्षतिको राहत राशी दियो। ज्यान गुमाउने व्यक्तिको परिवारलाई पनि
राहत राशी दिइयो। तर यो कविता भूकम्प र त्यसको
प्रभावबारे नभएर व्यक्ति र परिवारको निम्ति घरको महत्त्व र घरको परिभाषा निर्माणको
हो। घर भनेको ईटा, बालुवा, सिमेन्टमात्र नभएर त्यहाँ बस्ने
परिवार पनि हो। घर भनेको भावनात्मक सम्बन्ध हो।
"भवनहरु बनिनुपर्छ
अनि भवनहरुमा
बिहे भएपछि
सन्तान
जन्मिएपछि
कति दसैं र
तिहार सँगै मनाएपछि
कति
प्रियजनका लासलाई आँसुले धोएर विदा गरेपछि
त्यो भवन कतै
गएर घर बनिन्छ!
भवनहरु घर
हुनलाई भवनले
मान्छेका
आवश्यकता भन्दा माथि उठ्नु हुँदैन
लोभले होइन
श्रमले बनेका भवनहरु घर भनिन्छन्!"
उत्तरऔपनिवेश
सिद्धान्तका प्रवर्तक विश्व विख्यात बंगाली लेखिका गायत्री चक्रवर्ती स्पिभाकको लेख
छ "Can the
Subaltern Speak ?"। यही लेखलाई स्मरण गराउने
कविता छ
"के निमुखाहरु बोल्न
सक्छन्? के बोल्न सकेपछि ती निमुखा रहन्छन्?"
दार्शनिक
डेल्युजको सिद्धान्तको चर्चा गर्दै गायत्रीले बताएकी छ कुनै पनि सिद्धान्त कारबाही ( एक्सन) हो यसैले एक सिद्धान्तकार पीडितको (ओप्रेस्स्ड) प्रवक्ता (रिप्रेजेन्ट) हुन सक्दैन। "Because the person who speaks and
acts…..is always a multiplicity", no " theorizing intellectual …..(or)
party or…..union can represent those who act and struggle."
गायत्रीले फूको, डेल्युज कार्लमार्क्स डेरिडा आदिका सिद्धान्तहरूको आधारमा सावित गर्दछ निमुखा बोल्न सक्दैनन्
भनेर। कार्लमार्क्सले उनको चर्चित पुस्तक The Eighteenth Brumaire of Louis Bonaparte मा बताएको छ साना साना किसानहरूमा वर्गचेतना हुँदैन। साना किसानको निम्ति बोलिदिने प्रवक्ता चाहिन्छ।
सबअल्टर्न अध्ययन दलको विश्लेषण गरेर गायत्रीले
लेखेकी छ इतिहास लेखन सधैं उच्च र आभिजात्य वर्गबाट नै भएको छ। जनजाति र पिछडिएका
समुदायमा पनि उनीहरूको नेतृत्व गर्ने व्यक्ति आफ्नो समूहभन्दा उच्च वर्गकै हितमा रहने
देखिन्छ। यसैले निम्न पीडित समूह बहसमा आउन सकिन्न। गायत्रीले सम्पूर्ण नारी समूहलाई
पनि यही वर्गमा राखेकी छ लेखमा। नभन्दै यस लेखको केन्द्रमा भने भारतीय नारी र सतीप्रथा
हो जसको छलफल यहाँ छ।
गायत्री चक्रवर्तीले 1999 मा प्रकाशित किताब "A Critique of
Postcolonial Reason" मा यो लेख
संशोधन गरेर निकालेकी छ। यस संशोधित लेखमा भने निमुखा (सबअल्टर्न) पनि बोल्न सक्ने
हुने देखाएकी छ। गायत्रीको यही संशोधन गरिएको लेख र कवि भीमको कवितामा रहेको विषयवस्तु
मिल्न जान्छ।
कविताको पहिलो अनुच्छेद गायत्रीको पुरानो लेखको अडान सित मिल्छ । उनले एक अन्तर्वार्तामा
भनेकी छ " So "the subaltern cannot speak,"
means that even when the subaltern makes an effort to the death to speak, she
is not able to be heard, and speaking and hearing complete the speech
act." एक निमुखा मरेर पनि आफ्नो बोली सुनिदिने बनाउनु सक्दैन। उसलाई सुनिदिने र बुझिदिने कोही हुँदैन।
"निमुखाहरु नबोल्ने होइनन्
नबोलेका पनि
होइनन्
निमुखाहरुका
आवाजहरु सुनिने तरङ्गसम्म नपुग्नाले
नसुनिनाले
तरङ्ग नामिल्नेका आवाजहरु
जब तरङ्गको
प्रतिनिधित्व गर्छन्
तब निशब्द
निरीह स्वरहरु
भन्न पर्ने
कुराहरुबाट किनारीकृत हुन्छन्!"
यो दोस्रो
अनुच्छेद भने गायत्रीको संशोधन गरिएको लेखसित सहमत छ। गायत्रीले लेखेकी छ " I was so unnerved by this failure of
communication that, in the first version of this text, I wrote, in the accents
of passionate lament: the subaltern cannot speak ! It was an inadvisable remark."
आवाज भए पछि बोल्न सक्ने हो, यसैले बोल्न नसक्ने
संज्ञा सम्मानजनक रहदैन। प्रजातन्त्रमा मताधिकार
हरेकलाई हुन्छ। मताधिकार प्रयोग सशक्त आवाज हो। मताधिकार भए पछि कोही अधीनस्थ रहने अर्थ आएन। यसैले कवि भन्छ "निमुखा हुने त कुरै आएन।"
"कोहि कसैको अधिनस्थ कैल्यै छैन
अधिनस्थ हुनु
आवाज हुनेहरुको स्वभाव पनि होइन
आवाज गरी गरी
चिच्च्याई चिच्च्याई
आफु थिचिएको
कुरा गर्नसक्नु अनि कुरा गर्नु
थिचिनुबाट
उठिसकेको प्रमाण भएपछि
निमुखा हुने
त कुरै आएन!"
समकालीन
सिक्किमको आवरण निकै आधुनिक देखिन्छ। शहरीकरणको प्रभाव व्यापक छ। गाउँ र शहरको भिन्नता लगभग मेटिएको छ। कुनै ग्रामीण शहरमा आए ऊ कुनै गाउँबाट आएको रहेछ भनेर ठिम्याउन सम्भव हुँदैन। शिक्षाको व्यापकता पनि शहर र ग्रामीण क्षेत्रमा खासै फरक छैन। वास्तवमा भन्नू
हो भने सिक्किमको ग्रामीण सौन्दर्य, रौनक अहिले धेरै धमिलो
भएर गएको छ। यहाँ जस्तो परिवर्तन आएको छ, धेरै पुरानो होइन
पनि। बाटो, बिजुली, शिक्षा जस्ता पूर्वाधार
निर्माणको साथै शहर र बस्तीको दुरत्व घटेको हो। कवि भीमले यही परिवर्तनपूर्व सिक्किमको
मनोहर चित्रण गरेको छ "लेखेको एउटा
सेल्फी"मा।
धेरै होइन
गोटा बिसेक वर्षअघिको कुरा हो
हाम्रो गाउँमा कोई मर्यो भने
कम से कम तेसदिन चाहिं
हाम्रोमा पोहोर टीका लगाउनु आयो आएन
या हाम्रोमा न्वारानमा २०१ रुपियाँ ल्यायो ल्याएन
या फेरि जंगलमा दाउराको डोको नठेलिदे'को
अनि भुटुन पैंचो माग्दा छैन भनेको
सबै सबै बिर्सेर
हत्त पत्त बाँस काट्नु
मान्छे बोलाउनु
हल्ला गरिदिनु
गाईलाई घाँस हाल्दिनु
कुखुराको चल्लाहरु बटुलेर थुन्दिनु
अनि भर्खरै मरेको आमाको
स्कूलबाट आउंदै गरेकी छोरीलाईबाटैमा समातेर
'आबो घर पुगेर नरुनु ल नानी, आमा तेस्तो भोयो'
भनेर भक्कु रुवाएर, उसको मन हलुङ्गो पारेर
ढाडमा त्यो नानी अनि किताब चाहिं काँधमा भिरेर
गाउँका सबैजनाले काम बाँड्ने गर्थ्यो।"
"आबो घर पुगेर नरुनु ल नानी,
आमा तेस्तो भोयो" कुनै नेपाली जातिको बोली नभएर भोटे समुदायको
बोलीको उदाहरण हो यो। सिक्किमका धेरै गाउँहरूमा मिश्रित समुदाय पाइन्छन्। नेपाली, लेप्चा, भोटे तीन समुदायमा भाषा, संस्कार एकार्कामा भिन्न
हुन्छ। उनीहरू सबै नेपाली भाषा बुझे पनि बोल्दा आफ्नो मातृभाषाबाट प्रभावित लवजमा बोल्छन।
यही कारण अब-लाई आबो, भयो-लाई भोयो जस्ता लवजले भोटेभाषी
पात्र चित्रण रहेको बुझाउँछ। गाउँघरमा जातीय सौहार्दतालाई कविले "समाजवाद"
भनेर परिभाषित गरेको छ। समाजवादको सैद्धान्तिक अर्थ विस्तृत भए पनि कविले यसलाई जातीय
विभेद नरहेको र वर्गभेद पनि नरहेको ग्रामीण समाजको अर्थमा यहाँ प्रयोग गरेको भन्न मिल्छ।
नभन्दै वर्तमान सिक्किम यस्तो छ भन्नू केही मिल्दैन। घातक
जातिवादी नश्लवादी राजनीति र अर्थतन्त्रको बडदो चलखेलले सिक्किमेली समाजमा व्यापक व्यवधान
सिर्जना भएको छ। बडदो असहनशीलता, अविश्वास, घृणा, घोर अपशब्दको गुञ्जनले परिवेश
दुषित देखिन्छ। हार्दिकताको ठाउँ औपचारिकताले लिएको छ।
कवि भीमले सिक्किममा आएको यही विषादमय परिवर्तन चित्रण यसरी
गरेको छ
"गैरीघरे माइलीको जोवनजस्तै
थुप्रै दिन बितेर जानु थाल्यो।
छोरा-छोरी काख अनि हात दुवै जग्गाबाट छुट्यो
टारघरे माइला अब टावरघरे भयो
अनि लामो लामो थर भा'कोहरु छोटो छोटो घरमा सर्यो।
बिस्तारै नोकरीले घरको ठूलेहरुलाई
सहरको सानो क्वाटरमा बसाईं सार्यो।
गाउँ अब त कसैको बिहेमा मात्र जाइन्छ
साडी अनि सूट पनि घुम्नु पाओस् भनेर,
गाउँ अब त कोहि मर्दा मात्र जाइन्छ
आफुलाई चाइने मान्छे गनेर।"
अचेल मोबाइल फोनको व्यापकताको साथै सामाजिक सञ्जालको प्रयोग
सर्वत्र सामान्य भएकोछ। के शहर के गाउँ यसको प्रभाव जताततै छ। भाषामा पनि यसले
आफ्नो वशमा ल्याएको छ। यही देखाउन कविले यहाँ लेखेका छन
"कुरै कुरामा थुप्रै फेर बदल भयो
किसिम किसिमको मिसिन आयो
झन् फोन त गजबकै किपट भयो
अब मरेको होइन बरु
कतिबेला मर्छ अनि upload गर्नु
भनेर social
media-को चलन चल्यो ।
मुर्दाको video बनाउनु अनि सरकारको नीतिलाई दोष
दिनु
नहुनुको दुखाइ र सामाजिक संजाल
निर्दोको खिल्ली, दैनिन्दिनी र स्थितिवोधसँग एउटा
selfie !"
चीनको वुहान शहरको माछा-मासु बजारमा पहिलोपटक
कोरोना भाइरसको प्रकोप देखिए पछि केही महीनाभित्रै विश्वभर फैलिएर महामारीको रूप लियो।
सिक्किम पनि यसको प्रकोपबाट मुक्त रहन सकेन। सङ्क्रमित हुने संख्या लगभग चालिस
हजार पुग्यो भने 452 जनाले ज्यान गुमाइसकेको छ। सिक्किमको मृत्यु आकडा तर अन्य राज्य
र समग्र भारतको जस्तो हेराफेरि छैन। कोरोनाकालमा एक युवकले आत्महत्या गरेको कारण उसको
शवपरिक्षण गर्न अघि कोरोना जाँच गर्दा सङ्क्रमित देखियो, र उसको मृत्यु पनि कोरोना
मृत्यु मै गणना गरिएको समाचारमा आएको थियो। भारतमा भने मृत्युको आकडा सही नराखिएको
कारण सरकारी तन्त्रमा पाँच लाख बाईस हजार बताइन्छ। तर विभिन्न सर्वेक्षण र सांख्यिकीविद्का
गणना अनुसार भने भारतमा सैतालिस लाख मृत्यु देखाएको छ। विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा
यही आकडालाई राखिएको तर भारत सरकारको विरोधको कारण उक्त प्रतिवेदन प्रकाशित हुन नसकेको
एक अमेरिकी समाचार पत्रमा उल्लेख थियो। हुनपनि कोरोनाको दोस्रो लहर भारतमा भयावह
त्रासदी लिएर आएको थियो। सैकडौँ लास गङ्गा नदीमा बहेको दृश्यले हालत बयान गरिरहेको
थियो। यही दृश्यको चित्रण गरेर गुजरातकी एक कवि पारुल खक्कडले कविता लेखेकी थिई।
"
खत्म हुवा श्मशान तुम्हारे, खत्म काष्ठ की बोरी
थके हमारे कंधे सारे, आँखे रह गई कोरी
दर दर जाकर यमदूत खेले
मौत का नाँच बेढंगा
साहेब तुम्हारे राम राज्य मे शव वाहिनी गंगा"
कोरोनाको त्रास सबैलाई भयो। यसले सामाजिक एकता होइन तर सामाजिक
दुरी राम्रो भनेर भन्यो। एकार्कासित सौहार्दता र प्रेममिलन होइन तर जति भिन्नता
राख्यो उति राम्रो भन्यो। मान्छेलाई आफैभित्र कैद गरिदियो। समाजको पारम्परिक
मान्यता र व्यवहार यसले सिधै नकार्यो। पाश्चात्य मुलुकतिर निजी स्वतन्त्रतालाई व्यक्तिको
मौलिक अधिकारको रूपमा लिइन्छ। आफ्नो शरीरमा आफ्नो अधिकार हुनुपर्छ भन्छ। यही
कुरामा खोप लगाउने वा नलगाउने पनि व्यक्तिको मौलिक अधिकारभित्र को विषय हो भनेर विवाद
गर्ने पनि देखिन थालेको छ। विश्वविख्यात टेनिस खेलाडी जोकोविच खोपलाई मौलिक अधिकार
मान्नेमा पर्छन र उनले कोरोना खोप लगाउन अस्वीकार गरेका छन। तर भारतीय मूलका बहुसंख्यक
जनता राष्ट्रलाई व्यक्ति भन्दा माथि ठान्दछ र राष्ट्रहितमा व्यक्तिको हित पराभूत मान्दछ।
यसैले खोप लाउने नलगाउने विवाद नै रहेन बरू खोप लाउनु नपाउनु राज्य सुविधाबाट
वञ्चित हुनु ठहर गरियो। कोरोना सङ्क्रमणको त्रास सिक्किममा पनि भएकै कारण खोपको स्वागत
सबैबाट भयो। तर यो नयाँ भाइरसले ल्याएको प्रभाव हरेकले आफ्नो प्रकारले यसको अनुभव साझा
गर्ने प्रयास गरेका छन। कविहरूको निम्ति कविता स्फुरण स्वाभाविक र कर्तव्य निवारण पनि
हो। कवि भीमले यही कोरोनाबाट जन्मेको अनुभव र ज्ञान एवम तात्कालिकताको दसीको निम्ति
दुईवटा कविताहरू राखेका छन। ती हुन (१) संक्रमित समयको एउटा कविता र (२) कोरोना र प्रेम
"संक्रमित समयको…….." कवितामा कविले व्यक्तिलाई असामान्य जीवन र एकलोपनमा पुर्याइदिएको
प्रसङ्ग विचलनको प्रयोग गरेर आकर्षक शैलीमा यसरी बताएको छ
‘
"काँटी ठोकेको जस्तो एकै ठाउँ एक्लै
बस्नु
वरिपरि निर्दिष्ट प्रावधानहरु पोको
परेर
चाहिँदा खोल्दा अनि प्रयोगपछि फेरि
पोको पर्दै
जिन्दगी खोल्दै पोको पार्दै
समेटिरखेका छौं नाछारियोस् भनेर|
स्थूलमाथि सुक्ष्मको अदेख प्रहारले
बाजा नबजाइ अकालमै आएको यो कालले
निक्कै लग्यो, निक्कैलाई निरीह बनायो
अनि थुप्रैलाई गुफा पसायो"
प्रेम भनेको
मिलन हो। तर कोरोनाको कारण मिलन सम्भव छैन। प्रेमिल मिलन कोरोनाले स्थगित गराइदिन्छ, प्रेमको परिभाषा यहाँ आएर मिलन होइन विछोड हुन्छ। कवि भीम कोरोना
कालले प्रेमलाई विचल्ली बनाएको यहाँ चित्रण गरेका छन।
"..... अनि यसपालिचाहिँ
अबको दुई महिनापछि
कस्तो देखिन्छु होला म
कस्तो देखिन्छौ होला तिमी
हामी एक अर्कालाई कसरी हेर्नेछौं
हामी सबैलाई कस्तो सोचाइ र विचार आउँछ
भन्ने सोचाइमा ममात्र होइन
तिमी पनि सामिल भइछाड्यौ।"
मानव समाज विचित्रको हुन्छ।
विविध चरित्रका पात्रहरू हुन्छन्। असल,
खराब, रोगी, निरोगी, फुर्के, आफू बाहेक सबै नराम्रा देख्ने, आफू मात्र जान्ने अरू सबै मूर्ख। यद्यपि नेपाली लेखनमा यस्ता विविधता पूर्ण चित्रण रहेको
विरलै पाइन्छन्। यही हाम्रो लेखनमा कम देखिने सामाजिक विडम्बना राम्रो गरी आएको
कविता छ "ठूल्ठूला कुरा"
आम मान्छे अतितमुखी हुन्छ, उसलाई अतितको मोह
जीवनको अन्तिम क्षणसम्म पनि हुन्छ। बाल्यकाल व्यक्तिलाई सर्वोत्तम समय लाग्छ। हाम्रो
धार्मिक शिक्षा पनि अतितमुखी नै छ। सत्ययुग, त्रेता युग, द्वापर युग अनि कलियुग। वर्तमान
कलियुग। यही विश्वासमा व्यक्ति आफ्नो विगतलाई सफल र सुखमय मान्दछ वास्तविकता यसको विपरीत
नै भए पनि। आफूले गर्न सकेको कार्य भावी पीढीले गर्न नसक्ने, असक्षम लाग्छ। कतिपय पुरानो पीढीकाहरू दावी गर्छन उनीहरूले
जस्तो शुद्ध र स्वास्थ्य खानापिना आजको पीढीले पाउँदैन र स्वस्थ जीवन हुनसक्दैन। कम
आयु बाँच्छन, रोगी भएर बाँच्छन। नभन्दै
वर्तमान पीढीको जीवन प्रत्याशा पुरानो पीढी भन्दा अधिक छ। खाद्यान्नको वैश्वीकरणको
कारण भान्सामा विविधता बडी छ। दुई सय वर्षअघिसम्म भारतीय उपमहाद्विपका कुनै
वासिन्दाले फूलकोभी देखेकै थिएन। आलु, टमाटर जस्ता तरकारीमा
अनिवार्य सब्जी तीनसय वर्ष अघिसम्म थिएन। पुरानो पीढीको यही झुट र फरेबीमाथि प्रहार
यो कविता। समाजको जुनसुकै वर्गमा पनि यसप्रकारको झुटो दावी रहन्छ तर नौकरशाहीमा भने
यो बडी हुन्छ। यसो हुनु उसले सत्ताको आश्वाद लिएको हुन्छ र अहिले सत्तामा नरहँदा यसको
अतृप्त लालसा तीव्र भएर आएको हुन्छ र आक्रोशित बन्दछ। कुनै समय सत्ताको रापमा रहेका
यी भूतपूर्व नौकरशाहीको बिम्व यसरी निर्माण गरेका छन
"पुराना
अभियन्ताहरु बठ्याइं गर्छन्
यो
हाम्रो डिजाइन हो जुग जुग जाने ब’नाका
छौं
अनि
आफूचाहिँ आफ्नै निर्माण मुनि दबिने त्रासले
छेउ
छेउ सतर्क हिंड्छन्|
तिनीहरुले
एउटा फराकिलो बाटो बनाएका भए
हाम्रा
बच्चाहरु डील डील डरसरि
आज
हिंड्नु पर्ने थिएन|
त्यस्ताकका
खप्पिस नोकरशाहहरु डुक्रिनछन्
प्रशासन
त हामीले पो चलायौँ
पाद
बन्, सबजना थुर्थुर हल्लायों|
अनि
ऐले मान्छेका कुइनाले घोचिमाग्ने त्रासले
भित्ता
भित्ता तर्केर हिंड्छन्|
तिनीहरुले
अलिकति राम्ररी सिकाएर चलाएका भए
आजकाले
अलमल्लिनु पर्ने थिएन!"
जीवनको अनेकौं बसन्त पार गरिसकेर
आफ्नो उमेरको साझँमा पुग्ने गाउँलेहरूको वाहियात गफको उल्लेख कविले यथार्थ चित्रण
गरेका छन :
"अनि
रोचक कुरा त बुड़ाहरु पो गर्छन्:
हाम्रा
पालामा खुकुरी त एक छ्वापमा बाँस ढल्ने धारका,
हामीले
त डेढ शेर घिउ नाखारिकन खाएका,
जङ्गल
त एकमाना भात खाएर एक बिहानमै सबै फाँडेका,
साँढे
गोरुलाई सिङ्ग समातेर घुर्लुप्पै लड़ाएका,
चौदः
बतल तीनपाने र चार तुम्बा तानेर नलडी हिंडेका,
घुस्सी
हानेर चिलाउनको मुड़ा फुटाएका
इत्यादि
इत्यादि ....
उदेकलाग्दो
कुरा!"
एउटा पुस्ताले गरेको राम्रो या नराम्रो काम उही पुस्ताको निम्ति मात्र सीमित
नभएर भावी पीढीमा पनि जान्छ। यसैले हरेक पीढीको दायित्व रहन्छ कि उसले आफ्नो आउने
पीढीप्रति कस्तो अवदान हस्तान्तरण गर्ने हो भनेर। ब्रिटेनको पूर्वप्रधानमन्त्री
मार्गरेट थ्याचरको एक वक्तव्यको आशय यस्तो थियो यो संसारमा हामी मालिक नभएर किरायदार मात्र हौ र
हाम्रो भविष्य हाम्रो मालिक हो जसलाई हामीले सही सलामत हस्तान्तरण गर्न सक्नुपर्छ।
यहाँ अन्त्यमा कविले यही स्मरण गराएको छ "वंशले वंशलाई अनुकरण गर्छ"
यसैले पूर्खाले गरेको भूलले उसको सन्तानलाई पिराउँछ।
कवि भीम अघिबाटै
आफ्नो कविता संकलन "जिद्दी बालक" लिएर आएका हुन र यो नयाँ संकलन दोस्रो
हो। सिक्किममा साहित्यका अन्य विधा भन्दा कविता नै फस्टाएको छ र समकालीन समयमा
यसको आयतन धेरै फराकिलो पनि भएर गएको छ। यही कविहरूको माझ भीम एक फरक परिचय बनाउन र
आफ्नो कविताको आफ्नै भाषा निर्माण गर्न सफल देखिन्छ। भारतीय नेपाली कविताको परिप्रेक्ष्यमा
हेर्नु हो भने पनि भीमको परिचय पाउन सकिनेछ। भारतीय कविता मूलतः जातीय चेतना, सामाजिक बिडम्वना, राष्ट्रिय चेतना र आस्तित्विक नै रहेका छन। यही प्रवृत्ति सिक्किमेली कवितामा पनि
पाइन्छन्। यद्यपि समाजको एक विशिष्ट वर्गलाई लिएर गरिएको चिन्तन जस्ता विषयवस्तुमा
भने थोरैको कलम चलेका छन। सिक्किममा प्रशासनिक सेवामा रहेर सिर्जनात्मक लेखनमा आउने
र अध्येता धेरै त छैनन् तर जो जति थिए उनीहरू मध्ये अधिकांशले आफ्नो प्रशासनिक अनुभव
र त्यहाँ रहेका यथार्थ चित्रण गर्ने गरेको देखिँदैन। भीमको कविता यही आएर विशेष आकर्षणको बन्दछ। सिक्किमको
नौकरशाही, सत्तासीन समूह र नौकरशाही तन्त्रभित्र
का विविध मुद्दा कविताको विषयवस्तु बन्न पुगेको भीमका कविताहरूमा देख्न पाइएका छन।
यसैले यो संकलन समकालीन सिक्किमको काव्यात्मक प्रतिबिम्व भएको छ। सिक्किमका विभिन्न
परिवेश परिचय गराउने कविता अघि पनि लेखिएका र लेखिँदै गइरहेका भए पनि सत्ताको दृष्टिको
वास्तविकता काव्य चेतना बनेर आएको भने छैन। राजनैतिक दृष्टिकोणले भरिएका केही
कविता आए तापनि तिनीहरू नारा जस्ता थिए र विभेदकारी नै रहेका थिए। भीमले आफ्ना कविताहरूबाट
समाजका विभिन्न तहलाई समन्वय गराउने प्रचेष्टा गरेको बुझिन्छ। समाजवाद शब्द केही
कवितामा आए पनि समाजवादी कवितामा रहने वर्ग निक्खर राजनैतिक कविता हुनबाट बचाएको छ।
Comments
Post a Comment