डा जस योञ्जन प्यासीको दृष्टिमा लक्ष्मी निबन्ध सङ्ग्रह
पेम्पा तामाङ
डा जस योञ्जन प्यासी नेपाली साहित्य जगतमा
एक प्रतिष्ठित नाम हो। बहुमुखी प्रतिभा सम्पन्न लेखक प्यासीले आज पर्यन्त तेह्र कृतिहरू
पाठक समक्ष उभ्याइसक्नु भएको छ भने प्रकाशन गृहबाट पाठकमा आउन तीनचार कृतिहरू तयार
देखिन्छन्। उहाँले गीत, नाटक,
कथा, निबन्ध, समालोचना, उपन्यास
जस्ता विभिन्न विधाहरूमा आफ्नो विद्वत दृष्टि राख्नु भएको छ र सिर्जनशीलताको एक उत्तम
परम्परा बसाउनु भएको छ। उहाँ लेखनमा मात्र नरहेर एक कुशल वक्ता र उदघोषक पनि हुनु भएको
समयले पहिचान गरिसकेको छ।
डा प्यासीले आफ्नो प्राज्ञदृष्टि नेपाली
साहित्यका अनेकन कृति र कृतिकारहरूका योगदानमा राख्नुभएको माथि उल्लेख गरिसकिएको छ।
यसैक्रममा महाकवि देवकोटाको अत्यन्तै प्रसिद्ध निबन्ध सङ्ग्रह "लक्ष्मी
निबन्ध सङ्ग्रह" मा संकलित आठ निबन्धहरूमा विशिष्ट विमर्श लेख्नुभएको छ। लेख उहाँको
2015 मा प्रकाशित सङ्ग्रह "परिचर्चा :
समालोचनात्मक लेख सङ्ग्रह" संकलित
छ। यही लेखमाथि यहाँ छोटो चर्चा राखिनेछ।
नेपाली साहित्यमा अत्यन्तै सशक्त
कृतिहरूका गणनामा लिनु पर्ने एक कृति हो महाकवि लक्ष्मीप्रसाद देवकोटाको "लक्ष्मी
निबन्ध सङ्ग्रह"। स्वछन्दतावादी धारामा लेखिएको निबन्धहरूमा यसलाई
उछिन्न सक्ने वा छेउछाउमा उभिन सकिने अर्को लेखिएको छैन। देवकोटाको मूल परिचय महाकविको रुपमा भएको कारण एवम
"लक्ष्मी निबन्ध सङ्ग्रह" को काव्यात्मकता र गरिमालाई नजरमा राखेर यस सङ्ग्रहलाई
महाकाव्यको उपमा उिन कृतिको उच्च सम्मान
मानिनुपर्छ। साहित्यका विधाहरूमध्ये महाकाव्य सर्वप्रतिष्ठित रहन गएको यसले सन्देश
दिएको छ। कुनै पनि लेखनको उच्चता वा गरिमाको मापन महाकाव्यको भव्यतामा हेरिने
दृष्टिकोण बुझिएको छ। महाकवि देवकोटाको निबन्ध सङ्ग्रहलाई यसैले यसको श्रेष्ठताको निम्ति
महाकाव्य विशेषणले आभुषित गरिन उचित लाग्छ। हुनत प्रत्येक विधाको आफ्नै विशेषता र प्रतिष्ठा
हुन्छ। यसैले एक विधाको आरोपन अर्को विधामा गर्न यसको प्रतिष्ठामा आँच आएको जस्तै
हुन्छ। तर समकालीन साहित्यमा विधा भञ्जन सामान्य छ र यसको खासै मर्यादा रहेको
मान्न सकिन्न। यसको औचित्य उहाँले यसरी बताउनु भएको छ " गद्यमा लेखिएका विषय र
विस्तृति, भाव कल्पनाको गहनता,
वैचारिक गाम्भीर्य र कवितात्मक प्रस्तुतिका
आधारमा "लक्ष्मी निबन्ध सङ्ग्रह"लाई गद्य महाकाव्य भन्दामा कुनै फेर पर्दैन।"
"श्री गणेशाय नम:" निबन्धलाई "औपचारिकतामूलक" बताउनु भएको छ। औपचारिक शब्दको अर्थ उहाँले अलि पछि गएर यसरी खुलासा गर्नु भएको छ। "हिन्दू शास्त्रानुसार कुनै पनि काम थाल्दा गणेशको नाम स्मरण गरिन्छ। फलस्वरूप देवकोटा ब्राह्मण कूलमा अनि हिन्दू संस्कारमा हुर्केका हुनाले नेपाली साहित्यमा आत्मपरक एवं निजात्मक निबन्ध लेखन जस्तो नयाँ विधा प्रारम्भ गर्दा सायद त्यही मनोविज्ञानको प्रभावमा गणेशलाई स्मरण गर्दै नमस्कार गरेका छन।" हिन्दू संस्कारमा गणेशलाई कुनै कार्य आरम्भ गर्दा विघ्न वाधा आइनपरोस भनी बन्दना गरिन्छ। यही परम्परा काव्य/महाकाव्य लेखनमा पनि अनुसरण गरेको पाइन्छ। यही परम्परा ईस्लाम धर्मावलम्बीका कविहरूमा पनि देखिन्छ। मोहम्मद जायसीको ईस्लामी कवि भए पनि उनको "पदमावत" महाकाव्यमा ईष्ट देवप्रति स्तुति यसरी राखेका छन "सुमिरौँ आदि एक करातारू। जेही जिउ दीन्ह कीन्ह संसारू। कीन्हेसि प्रथम जोति परकासू। कीन्हेसि तेही पिरीत कैलासू।।" प्राचीन पूर्वीय लेखनमा ईश बन्दना/मङ्गलाचरन गरेर लेखिएको पाइन्छ। महाकवि देवकोटाले यसकारण यही प्राचीन परम्परालाई निरन्तरता दिनु भएको देखिन्छ। पूर्वीय लेखनको यो विशिष्ट पहिचान हो। यद्यपि निबन्ध भने पूर्वीय परम्पराको नभएर पाश्चात्य परम्पराको हो। यसकारण "लक्ष्मी निबन्ध सङ्ग्रह" पूर्वीय र पाश्चात्य साहित्यको संगम स्थल हो। सङ्ग्रहको पहिलो निबन्ध यही हो। प्यासीले यो निबन्धलाई सम्पूर्ण सङ्ग्रहको ताल्चा भन्नुभएको छ अर्थात यस निबन्ध पाठपछि मात्र अन्य निबन्धको पाठ सम्भव छ। यसको अर्थ के हुन्छ भने गणेशाय नम: केन्द्रमा रहेको छ र यसले मार्गदर्शन गराउनेछ अन्यको निम्ति। पाठकलाई चेतना गराएको
....... रहल ले.vv
.. विवेचनाको निम्ति
च.यन गर्नु भएको अर्को निबन्ध हो "पहाडी जीवन"। यो एक गोसाइथान र झिल्टुङ
पहाडी क्षेत्रको यात्रा संस्मरण भए पनि समीक्षकले निजात्मक निबन्ध नै ठहर गर्नु भएको
छ। निबन्ध "यात्राको मीठो विवरण" "संस्मरणको चाखिलो स्वाद"
"चिन्तन र भाव प्रकाशन" "मनोचित र महत्त्वपूर्ण" रहेको बताउनु
भएको छ। एक कोरा मनोरञ्जनात्मक मात्र नरहेर
गाउँको विकास नै देशको विकास हो भन्ने संदेश दिएको भाव यो निबन्धमा भएको मूल्यांकन
गर्नु भएको छ। साहित्य समाज र देशको निम्ति भएको अडान यसले बुझाएको छ। प्यासीजीले यसको
पुष्टि गर्नलाई नेपालमा राजा महेन्द्रले कार्यान्वयनमा ल्याएको बहु चर्चित "गाउँ
फर्क अभियान" उल्लेख गर्नु भएको छ। उहाँले बताउनु भएको छ "गाउँ फर्क अभियान" को प्रेरणाको स्रोत
महाकवि देवकोटाको यही निबन्ध हो। निबन्धको शैलीबारे उहाँले यहाँ बताउनु भएको छ निबन्ध
शैली दुई प्रकारका छन : निगमनात्मक र व्यास शैली। निगनात्मक शैलीमा तर्क, विचार
र भाव हुन्छ भने व्यास शैलीमा वर्णन र विवरण हुन्छ। लेखकको अनुसार देवकोटाको निबन्ध
यी दुवै शैली प्रयुक्त छन। हुनत लेखको अन्तमा उहाँले लेख्नुभएको छ : "अत: पहाडी जीवन देवकोटाका कलमबाट सर्जित एक सशक्त एवं
नमूना स्वरूप नामुद आत्मपरक वा निजात्मक निबन्ध हो।" यसले बुझाउँछ प्रस्तुत
निबन्ध मूलत निगनात्मक शैलीको हो भनेर।
"नेपाली साहित्यको इतिहासमा सर्वश्रेष्ठ पुरुष" तेस्रो
निबन्ध हो समीक्षाको निम्ति लिइएको। महाकवि देवकोटाको आदिकवि भानुभक्तबारे लेखिएको
निबन्ध हो। समीक्षक प्यासीजी यसलाई भानुभक्तको कविताको समालोचना नभएर निबन्ध नै हो
भनेर मूल्यांकन गर्नुहुन्छ।
निबन्धको विशेषता केलाएर उहाँ
भन्नुहुन्छ यो सुक्तात्मक छ। सुक्तात्मक्ताको अर्थ उहाँले "ज्ञान गरिमायुक्त भनाइ"
बताउनु भएको छ।
तेस्रो बुँदामा उहाँले उपरोक्त
निबन्धलाई कृतिपरक बताउनु भएको छ। निबन्धको शीर्षकले भानुभक्तको जीवनीको अर्थ दिए तापनि
यसमा आदिकविको निजी जीवनको परिचय छैन। तर उहाँको कवित्वको चर्चा मात्र छ। यसैकारण यसलाई
कृतिपरक भनिएको हो। लेख्नुहुन्छ "यस निबन्धमा भानुभक्तका जन्मतिथि र जीवन
यात्राका विभिन्न घटनाप्रसङ्गहरूको कालक्रमिक कैरन प्रस्तुत नगरेर निबन्धकारले कवि
भानुभक्त आचार्यका काव्यगत वैशिष्ट्यलाई मूल्यांकन गर्ने कोशिश गरेका छन।"
समीक्षामा लेखकले देवकोटा भानुभक्तका
अन्धप्रशंसक नरहेको बताउनु भएको छ तर यसको आधारमा गरिएको आलोचना भने राख्नुभएको
छैन।
नेपाली साहित्यमा भानुभक्तको
प्रशंसक मात्र नभएर आलोचक पनि छन। यही कुरालाई देखाएर देवकोटाले लेख्नुभएको छ
"हामी भानुभक्त पढेर शिक्षा शुरू गर्छौं र उनलाई हेलाँ गरेर समाप्त गर्दछौं।"
यसको व्याख्या गर्दै प्यासीजी भन्नुहुन्छ " तर जब हामी उच्च शिक्षाको स्तरमा पुग्दछौँ
र धेरै बुझ्न थाल्दछौ तब भानुभक्तको कवित्व र कवितालाई नगन्य ठान्दछौँ।" उहाँको
विचारमा यसो हुनुको कारण भानुभक्तका कविताका उच्चतालाई बुझ्ने प्रयास नगरिनु जिम्मेवार
छ। महाकवि देवकोटाको यो निबन्ध बालकृष्ण समको भानुभक्तको कविताप्रतिको दृष्टिकोणको
प्रतिउत्तर भनेर हेरिन सकिन्छ किनकि समले एक ठाउँ भानुभक्तको कवितालाई कविता नभनेर
श्लोक मात्र भनेर भनिनु पर्ने भन्नू भएको थियो । बालकृष्ण समको नेपाल सानो छ भन्ने
टिप्पणीलाई खन्डन गर्दै नेपालको महिमा गाउँदै "के नेपाल सानो छ?" निबन्ध
देवकोटाले लेख्नुभएको पाइन्छ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको
परिचय मूलतः स्वछन्दतावादी कविको रुपमा भए
पनि उहाँले लेखनमा तिखो व्यंग्य र विरोधको स्वर पनि रहेको छ। व्यंग्य लेखनमा प्रहसन
पनि हुन्छ। रसिकको मनोरञ्जन र मुस्कान ल्याइदिन यसको उद्देश्य रहन्छ। समाजमा रहेको
विडम्बना आडम्बर विरोधाभास उजागर गर्ने भूमिका यसैबाट सम्पन्न हुन्छ। यसैले व्यंग्य
लेखन बडी यथार्थपरक हुन्छ सामान्य स्वछन्दतावादी लेखन भन्दा। कविता र निबन्ध दुवै विधामा व्यंग्य चेत भएको
लेखन देखिन सकिन्छ। "हाइ हाइ अङ्ग्रेजी " एक त्यसप्रकारको बेजोड
व्यंगात्मक निबन्ध हो। समीक्षक जस योञ्जन प्यासीले यही व्यंग्यको निम्ति लेखको विवेचना
यहाँ राख्नु भएको छ।
निबन्धमा निबन्धकार प्रत्यक्ष
रहनुपर्छ र विषय गौण हुनुपर्छ भनेर भन्नुभएको छ। लेख्नुभएको छ, "आत्मपरक
निबन्धको यही प्रमुख विशेषता तथा गुण हो।" देवकोटाको यो निबन्धमा यी विशेषता
र गुण विद्यमान रहेको मान्नु भएको छ।
प्यासीजीले देवकोटाको "हाइ
हाइ अङ्ग्रेजी" निबन्ध रामकृष्ण शर्माको "अङ्ग्रेजी साहित्यको प्रभाव"को
जवाब भन्नुभएको छ। रामकृष्ण शर्माले देवकोटाका कविताहरू अङ्ग्रेजी कविताहरूबाट प्रभावित
छन भनेर आरोप लगाएका थिए। महाकवि देवकोटाले तर अङ्ग्रेजी भाषा र नेपाली समाजको सम्बन्धबारे
चातुर्यताका साथ व्यंग्यात्मक शैलीमा बताउनु भएको छ यस निबन्धमा। हुनत कुनै पनि लेखन
निष्प्रभावी र नितान्त मौलिक कहिले हुन सक्दैन र कुनै न कुनै परम्पराको अनुसरण
गरेको हुन्छ। महाकवि देवकोटाले चमत्कारिक शैलीमा यसलाई बुझाउनु भएको छ। प्यासीजीले
यसलाई अझ स्पष्ट पार्दै लेख्नुभएको छ " अङ्ग्रेजी भाषा यस्तो भाषा हो जसले हाम्रो
जीवनका कुनै न कुनै पक्षमा, कुनै न कुनै परिस्थितिमा धेर-थोर प्रभाव
पारेकै हुन्छ अनि यस्तो अङ्ग्रेजीको हर प्रभावलाई हटाउन वा नकार्न सकिन्न। यतिसम्म
कि रामकृष्ण शर्मा स्वयंले पनि आफ्नो र परिवारको जीवन धान्न अदालतमा अङ्ग्रेजी मै वकालत
बहस गर्नुपर्थ्यो।" " समालोचक शर्मा पनि अङ्ग्रेजीको प्रभावदेखि जीवनमा
अछुत थिएनन्।"
रामकृष्ण शर्माको "अङ्ग्रेजी
साहित्यको प्रभाव" लेखको प्रतिरोधी लेख महाकवि देवकोटाले ( शारदाको नववरषाङ्क
र अङ्ग्रेजी साहित्यको प्रभाव) लेख्नुभएको छ । " म त्यस्तो मानिस छैन जो पाश्चात्य
मा नाक फर्काइहालोस। म त्यस्तो, जो त्यसको पुच्छर पक्रिहालोस।" यसले देवकोटाको अडान स्पष्ट पारेको छ। पूर्व र पश्चिमको
विवादमा उहाँको मतले बुझाउँदछ उहाँ दुवैप्रति सम्मान र समभाव राख्नुहुन्छ।
समालोचनाको भेद बताउँदै
लेख्नुहुन्छ "समालोचना दुई किसिमका हुन्छन् । एक constructive (संयोजन) र destructive
(स्फोटक) विनाशक। कुनै जोर्छन, कुनै
फोर्छन। कसी सत्यको; तराजु विवेकको; बुझ्ने र सझ्ने सामर्थ्य ; अनुभोग गर्ने शक्ति
र भनाइको उत्तरदायित्व नभइ, समालोचक हुनु हास्यास्पद मात्र हो।" समालोचनाको मर्म
बुझाउनु भएर रामकृष्ण शर्माको लेखनलाई प्रहार गर्नु हुन्छ " तर वहाँले अङ्ग्रेजी
साहित्यको प्रभाव खोज्ने धुनमा अलि ज्यादा तानिएर आफ्नो तराजु कँपाउनु भएछ। ज्यादा
अङ्ग्रेजी पढनुको प्रभाव 'स्वयम् वैद्य' पढे जस्तो हुन्छ; जुन रोगको लक्षण विचार गर्यो
आफैमा भए जस्तो। " माथि प्यासीजीले रामकृष्ण शर्मा स्वयम् अङ्ग्रेजीबाट प्रभावमुक्त
हुन नसकेको टिप्पणी र "जुन रोगको लक्षण विचार गर्यो आफैमा भए जस्तो" भनाइ
समान रहेको छ। प्यासीजीको बुझाइ यसरी तडकारो रुपमा यहाँ आएको देखिन्छ।
महाकवि देवकोटाको समयमा
विश्वमा अत्यन्त गरिब मुलुकको गन्तीमा नेपाल पनि थियो। यति मात्र नभएर नेपाल
कृषिप्रधान देश थियो। कृषि प्रधान देशमा अधिकांश जनसमूह खेतीपातीमा संलग्न रहेको
हुन्छ। खेतीपातीसित जोडिएको समाजमा खेती समय अति महत्त्वपूर्ण भएको हुन्छ। असाढ महीना
धान खेतीको महत्त्वपूर्ण समय हो। यसैले नेपाली समाजको लागि यो महीना तथा यसको विशेष
दिन एक पर्वको रुपमा लिइन्छ। महाकवि देवकोटाको निबन्ध "आषाढको पन्ध्र" यसरी
नेपाली परम्परा र संस्कृति लाई बोकेको एक सशक्त निबन्ध हो। यद्यपि यही कृषिजन्य ग्रामीण
जीवन र यसबाट निसृत संस्कृतिक परम्पराको रुमानीकरण पनि हो यो निबन्ध।
प्यासीजीले यहाँ बताउनु भएको
छ देवकोटाको पहिलो प्रकाशित निबन्ध यही हो। यही निबन्धबाट देवकोटा एक कवि मात्र नभएर
निबन्धकारको रुपमा पनि स्थापित हुनु पुग्नुभयो।
समीक्षक प्यासीजीले "आषाढको
पन्ध्र" लाई विवरणात्मक एवम यथार्थवादी भनेर अंकित गर्नु भएको छ। यसबाट थाहा
पाइन्छ निबन्धले वास्तविक जनजीवनको चित्रण गरेको छ भनेर। सामान्य स्वछन्दतावादी लेखनमा
रहने कल्पनाको अनियन्त्रित उडानभन्दा यथार्थको धरातल समातेको छ।
"कला र जीवन" निबन्धकार देवकोटाको विचारप्रधान निबन्ध
हो। यो निबन्ध भन्दा पनि प्रबन्ध बडी रहेको छ। "लक्ष्मी निबन्ध सङ्ग्रह"
को केन्द्रमा यही लेखन मान्न सकिनेछ। महाकवि देवकोटाले उहाँको कला (साहित्य) प्रतिको
दृष्टिकोण र जीवनसित यसको सम्बन्ध यहाँ विमर्श राख्नु भएको छ। प्यासीजीले आफ्नो लेखको
छैटौं श्रंखलामा यही निबन्ध चर्चाको निम्ति चयन गर्नु भएको छ।
"कला र जीवन" देवकोटाको सर्वोत्तम निबन्ध भन्न सकिन्छ।
सम्भवतः नेपाली साहित्यमा लेखिएका निबन्धहरूमा यही नै मानक निबन्ध हो। आफ्नो
ब्रम्हाण्ड जतिकै विशाल अध्ययन र गहन दर्शनले भरिएको लेखनले अनेकौं पक्षलाई स्पर्श
गर्नुभएका छन। कला र जीवनको मूलभूत भिन्नता र एकात्मकतालाई यति गहिरिएर हेरिएको नेपाली भाषामा अरू कुनै समानान्तर लेखन देखिँदैन।
"कला र जीवन" निबन्धमा
देवकोटाले केही प्रमुख प्रस्तावना राख्नु भएको छ:
1.
कला कलाको निम्ति
2.
कला जीवनको निम्ति
3.
यथार्थवादको विरोध
4.
जीवन र कलाको भिन्नता
5.
कला पशु र मनुष्यको अन्तर देखाउँछ
देवकोटा
कला कलाको निम्ति सिद्धान्तप्रति असहमत हुनुहुन्छ। उहाँ भन्नुहुन्छ " कला र जीवनको
सम्बन्ध छैन भन्नेसँग मेरो वैमनस्य रहन्छ।" यसो भन्दैमा देवकोटा जीवनवादी कला
जीवनको उपदेशात्मकताको पक्षमा भने नरहेको देखिनु भएको छ। यसको अर्थ के हुन्छ भने कलाको
स्वायत्तता अस्वीकार्य रहे पनि कलाको स्वतन्त्र मर्यादा छ भन्ने हुन्छ। कलावादी सिद्धान्त
पुरानो नभएर अठारौं शताब्दीमा मात्र देखिएको हो। सामन्ती समाजबाट जब प्रारम्भिक
पुञ्जीवादी समाजमा प्रवेश गर्दा बुर्जुवाको हातमा जब राजनैतिक र आर्थिक सत्ता आए तब
देखि कलाको स्वायत्तताको विचार विकास भएर आयो। ( Not until the eighteenth century, with the rise of bourgeois
society and the seizure of political power by a bourgeoisie that had gained economic
strength, does a systematic aesthetics as a philosophical discipline and a new
concept of autonomous art come into being.)(Peter Burger) (Theory of the Avant
Garde) (P-42). दार्शनिक ईमान्युल कान्टको दर्शनको
अनुसार कला मानव समाजमा स्वतन्त्र रूपमा बसेको स्थित हुन्छ। कलावादी सिद्धान्तको
दर्शन यही विचारबाट अघि बडेको हो। यो विचारको चरमोत्कर्ष लेखक अस्कर वाइल्डमा देखिन्छ
। देवकोटाले कलावादी अस्कर वाइल्डलाई कटाक्ष गरेर "कला कलाकै निमित्त हो"
भन्ने पक्षीहरू जस्ता छन भनेर लेख्नुभएको छ। उहाँले बताउनु भएको छ कला कलाको निम्ति
एक दृष्टिकोण मात्र हो र पूर्ण सत्य होइन। कलाको स्वायत्तता खोज्नेहरू पनि जीवन खोजिरहेको
हुन्छ भनेर कलावादी विचारको खन्डन गर्नु भएको देखिन्छ देवकोटाले।
देवकोटा
"साहित्य समाजको दर्पण" सिद्धान्तको समर्थनमा रहनु भए पनि कलालाई फोटोग्राफी
मात्र बनाइने पक्षमा भने देखिनु हुन्न। यसैले
उहाँ यथार्थवादी कलाको आलोचना गर्नु हुन्छ। उहाँ भन्नुहुन्छ " यथार्थवादीहरू साना
कक्षाका कलाकार हुन"। देवकोटाको यथार्थवादप्रतिको विचार ज्याँ पल सार्त्रको लेखनमा
प्रतिध्वनि देखिन्छ। सार्त्रले यथार्थवादी लेखनलाई निराशाको अनुसरण भन्नुभएको छ। (Realism was nothing else but this great gloomy
chase.) (What is Literature)(p- 101).
देवकोटाको
यथार्थवादको प्रतिकार हिन्दीको प्रख्यात कवि-आलोचक सच्चिदानन्द वात्स्यायन 'अज्ञेय'को मतसित एकाकार
देखिन्छ। अज्ञेयले लेख्नुभएको छ "यथार्थलाई पकडिनुको निम्ति यथार्थवादी
दृष्टिको परित्याग अनि कवि दृष्टिको पुन:
अङ्गीकार नै आधुनिक साहित्य तथा आधुनिक कलाको क्षेत्रमा महत्त्वपूर्ण घुम्ती
हो।"
"यो खाली कहानी र उपन्यासमा मात्र आएको होइन, यस्तो
होइन : स्वयं काव्यको क्षेत्रमा पनि काव्य दृष्टिको आग्रह एक नयाँ रूपमा
आएको छ जसमा यथार्थवादिताको असमर्थता अनि अपर्याप्तताको पहिचान एक महत्त्वपूर्ण
घटक हो।" (यथार्थ और यथार्थवाद) (समकालीन हिन्दी आलोचना)(साहित्य अकादेमी)।
जीवन र कलाको भिन्नता
देखाउँदै भन्नुभएको छ " जीवन हरविन्दुमा सुन्दर देखिन्न, कला
देखिन्छ।" जीवनभन्दा कला सुन्दर रहेको मान्नुहुन्छ। जीवनको बारेमा देवकोटाको यो
भनाइ विश्वको श्रेष्ठ विचारको समानान्तर देखिन्छ। भन्नुभएको छ : तर
जीवन एउटा अस्पष्ट शब्द हो। 1990 मा प्रकाशित टेरी ईगल्टनको किताब The Ideology of the Aesthetic मा दार्शनिक ईमानुयल कान्टबारे लेखेको लेखमा लेखिएको
छ " The real world is
irrational, beyond the mastery of the subject, a sheer invisible trace of
resistance to the categories of the understanding". यहाँ
भनिएको वास्तविक संसार बुझ्न नसकिनु र देवकोटाले भन्नुभएको "जीवन अस्पष्ट
शब्द" को अर्थ एकै हुन्छ।
कलावाद
र जीवनवादको विवाद निकै पुरानो हो। विश्वकवि गुरू रवीन्द्रनाथ टैगोरको विचारमा
प्राचीन पूर्वीय साहित्य कलावादी थिए। ती साहित्य दरवार र उच्च सामन्तीहरूका मनोरञ्जनका
रचिएका हुनाले मनोञ्जन नै प्राधान्य रहेको र यथार्थ जीवनसित निरपेक्ष रहेको
बुझिन्छ। कवि आलोचक रामकृष्ण शर्माले भने कला जीवनको निम्ति हुनुपर्छ भन्ने वकालती
गरेर लेख लेख्नुभएको थियो।
बीसौं
शताब्दीको दोस्रो दशकदेखि प्रदुर्भाव भएको अतियथार्थवाद कलावादी सिद्धान्तको
विरोधमा थियो भनेर दार्शनिक थियोडोर एडोर्नोले भन्नुभएको छ। ( Surrealism began as a protest against the
fetishization of art as an isolated realm)( Aesthetic Theory: p- 317) दादावाद,
भविष्यवाद, अतियथार्थवाद, रुपवाद
समग्र रुपमा अवा गार्दे (Avant
Garde) सिद्धान्त भनिन्छ र यी सम्पूर्ण कला
अभियान जीवनवादी रहेको थियो। युरोपीय अवाँ गार्दे अभियानलाई बुर्जुवा समाजमा कलाको
अवस्थितिको प्रतिरोध भनी परिभाषित गर्न सकिन्छ।(The European avant garde movements can be defined as an attack on
the status of art in bourgeois society.) (Peter Burger) (Theory of the Avant
Garde)
हुनत
बर्जरले यसो पनि लेख्नु भएको छ जीवनवादी लेखन भनेको कलालाई जीवन अधीन बनाउनु हो। लेखन
व्यक्तिको नरहेर समाजको सामुहिक अधिकार हुनु हो। यस्तो स्थितिमा लेखकीय प्रतिभा भन्ने
रहँदैन र एक सामुहिक लेखन भन्दछ। यसो भनेको लेखनको बजारवाद हो, उपभोक्तामा
निर्भरित। पुस्तकको महत्त्व लेखकीय प्रतिभा होइन बजार र उपभोक्ताको निर्णयमा
निर्भरता रहने हुन्छ।
देवकोटाले
कला र जीवनको एकार्कासितको निर्भरतालाई परिभाषित गर्नुभएको छ यसरी " कला र जीवनमा
अहार्य सम्बन्ध छ र बोक्रे सतहको जीवनसँग सम्बन्ध थोरै देखाए पनि कलामा उच्चतर जीवनको
चित्रण पाइन्छ।" यसले बुझाउँछ देवकोटा कलामा उच्च जीवन रहेको भन्नेमा
विश्वस्त हुनुहुन्थ्यो जो उच्च जीवनको चित्रण हुनुपर्छ भन्ने विचार हो। यही
विचारले देवकोटलाई यथार्थवादबाट टाढा र स्वछन्दतावादको नजिक पुर्याउँदछ। लेखको अन्तिम
पंक्तिको अनुसार देवकोटा "कलामा उत्तम जीवन" रहनु पर्ने अभिलाषा राख्नु भएको
छ जसले पात्रमा र लेखनमा सभ्यता झल्कनु पर्ने बुझाउँछ।
समीक्षक
प्यासीजीले कलावादी र जीवनवादी विचारले नेपाली साहित्य पनि प्रभाव परेको उल्लेख
गर्नु भएको छ र "यसै क्रममा देवकोटा झैँ अध्ययनशील चिन्तनशील साहित्यस्रष्टाबाट
नेपाली साहित्यलाई कला र जीवन जस्तो विषयमा लेखिएको एक सशक्त निबन्ध प्राप्त भएको
हो।" उहाँले देवकोटा यस निबन्धबाट जीवनवादी दृष्टिकोणको समर्थनमा रहनु भएको स्पष्ट
गर्नु भएको छ।
कलालाई
जीवनबाट अलग गर्न सऽकिँदैन र जीवनबाट नै कलाको सृजना हुने हो। गीतको दृष्टान्त
दिएर लेख्नुभएको छ "आफ्नो गीतमा जीवनलाई नछोईकन गाउनै सक्तैन। कारण गीत गाउनलाई
कल्पना गर्छ भने त्यो मानव कल्पना नै हो।" "कल्पनाद्वारा नै जातीय जीवनको
प्रतिबिम्बि दिनसकिन्छ।" कलाको सृजना उत्तम विचार, उत्तम
आदर, उत्तम आदर्शको वाहक बन्दछ। कलाले नै मानव सभ्यता निर्माण गर्दछ, उसलाई
सभ्य बनाउँदछ।
प्यासीजीले
यस निबन्धलाई विचार प्रधान निबन्धको दर्जा दिनु भएको छ। विचार प्रधान निबन्धको लक्षणबारे
उहाँले लेख्नुभएको छ " विचारात्मक निबन्धमा विषयलाई दरिलो र भरिलो पार्न अरूका
विचार-टिप्पणी र उद्धरणहरूसमेत राखी ती माथि आफ्नो मन्तव्य एवं बोध र अनुभूतिहरू
प्रकट गरिनुपर्छ। पाठकलाई निबन्धको विषय र विचारसँग सहमत गराउन निबन्धकारले वैचारिक
सन्तुलन र तटस्थतामा विशेष ध्यान दिनैपर्छ।" यस दृष्टिकोणबाट हेरे उपर्युक्त निबन्धले
सबै निर्वहन गर्न सकेको पुष्टि गर्नु भएको छ।
महाकवि
देवकोटा पूर्वीय छन्दको अदभूत प्रयोक्ता हुनुहुन्थ्यो। उहाँका महाकाव्यहरूमा रहेको
छन्द निर्वहन यसको प्रमाण हो। उहाँ आशुकवि हुनु भएको कारण कुनै पनि समय काव्यधारा सहज
प्रकट भएको बुझिन्छ। "छन्द र लय" निबन्ध आफ्नो यही कविताको प्रारम्भिक
यात्रा प्रेरणाबारे बताउनु भएको छ। पिताको स्मरण गरेर सम्मान जनाउनु हुन्छ। शास्त्रीय
छन्दको अक्षरस पालन भन्दा सहजतासित छन्द प्रयोग उहाँको मान्यता रहेको देखिन्छ। हुनत
यसले छन्दको विरोध भन्ने बुझाउँदैन। छन्दको बन्धनले कवितामा अवरोध सृजना नहोस भन्ने
मात्र हो। कविता लोक छन्दमा पनि प्रभावशाली लेखिन सकिने उहाँको मान्यता रहेको थियो।
अमेरिकी आलोचक डेविड रुबीनले अङ्ग्रेजीमा लेख्नु भएको किताब Nepali Visions, Nepali Dreams: The Poetry of
Laxmi Prasad Devkota" मा जनाउनु भएको छ देवकोटा नै नेपाली साहित्यमा त्यस्ता
प्रमुख सर्जक हुनुहुनथ्यो जसले लोकलयलाई सर्वाधिक प्रचलनमा ल्याउनु भयो। महाकवि देवकोटाको
यस निबन्धमा वार्णिक छन्द र मात्रिक छन्दको भिन्नता लिएर गरिएको विचारले पुष्टि
गर्दछ। लोक लय सबै मात्रिक छन्द हुन्छन। "मात्रिक छन्दहरू फुका र रमाइला हुन्छन्
, ज्यादा लच्किला,
लस्सादार र कल्पनालाई खेलबहाड गर्न प्रशस्त
ठाउँ दिने।""मात्रिक छन्दचाहिँ सङ्गीतसँग सम्बन्ध राख्तछ र विभिन्नता धेरै
धेरै देखाउँदछ।" देवकोटाले लय र छन्द प्रकृतिमा रहेको भन्नुभएको छ। "विश्वमा
छन्द नभए म कवि हुन सक्ने थिइनँ।" मानवले त्यही प्रकृतिबाट अनुकरण गर्ने हो। मार्क्सवादी
सौन्दर्य शास्त्रीहरू भने छन्द र लय प्राकृतिक नमानेर मानवीय उपज मानेको देखिन्छ। उनीहरू
भन्छन लय उत्पादन श्रमसित सम्बन्ध राख्तछ। (लेकिन अधिक ठोस प्रमाण द्वारा लय और श्रम
के बीच का सम्बन्ध स्पष्ट हो जाता है। हम लोग अभी पश्चिमी युरोप मेँ श्रम गीतों के
कारण लोकप्रिय है। मेरा अभिप्राय बुनाई गीत,
कटनी गीत, नाव
खेने का गीत आदि की लोकप्रियता से हैँ। इन गीतों का कार्य उत्पादन श्रम को एक लयात्मक, सम्मोहक
चरित्र प्रदान करते हुए उसे तीव्र करना है।) (जार्ज थामसन: मार्क्सवाद
और कविता)(अनुवाद : रामनिहाल गुंजन)। यस सिद्धान्त अनुसार लोक लय सबै ग्रामीण
श्रम परिवेशबाट उद्भव भएको भनिन्छ। नेपाली लोक परम्परा पनि ग्रामीण परिवेशमा
श्रमसित जोडिएका विभिन्न लय र गीत रहका छन।
"छन्द
र लय" निबन्ध प्यासीजीको मूल्यांकनमा निजात्मक रहेको उपयुक्त हो। " यो निबन्ध
विषय प्रधान हुँदा हुँदा पनि अत्यन्तै वैयक्तिक भएको छ। वास्तवमा विषय निबन्धमा निबन्धकारको
व्यक्तित्व गौण हुन्छ । तर छन्द र लय निबन्धमा व्यक्तित्व अझ उभारिएर आएको छ।"
" व्यक्तित्व अझ उभारिएर आएको" को उदाहरण ठाउँ ठाउँमा देखिन सकिन्छ। निबन्धको
यस लहरले देवकोटाको विचार होइन व्यक्तित्व बुझाउँछ "मेरो सिद्धान्तमा सुन्दर
भनेको सत्यको मोहनी हो। मानव आत्मालाई सत्यतर्फ आव्हान गर्ने र सत्यको ओर्लनुमा त्यही
लयदार किरणप्रतापको रङ्गिलो मोहनी पाइन्छ जो सूर्यको प्रभाती प्रदानमा देखिन्छ। अनि
मानव चैतन्य त्यसको टक हेरेर आनन्द पाउँछ र त्यसको लयको सूक्ष्म चेत पाएर छन्दको ज्ञान
पाउँदो रहेछ, जस्तो चराहरू नवोदय उदगार गर्न त्यसै जान्दछन्।"
शास्त्रीय छन्द मानवीय खोज हो र अध्ययन र अभ्यासले जानिने हो। देवकोटाको यस विचारले
उहाँको व्यक्तित्व नै झल्काउँछ छन्दको ज्ञान होइन।
एक सम्यक समीक्षकको भूमिकामा
रहनु भएर निबन्धमा देखिएका त्रुटि औल्याउँनु भएको छ। "स्वगत कथनात्मक शैलीमा
लेखिएको यो निबन्ध छन्द र लयमा कतिपय शब्द एवं वाक्यहरूबाट अभिप्रेत अर्थ स्पष्ट
नहुनु र व्याकरणिक अशुद्धिले शैली दोष पनि देखा पर्छन।"
"कल्पना" निबन्धको
विमर्श गर्दै "देवकोटा नेपाली साहित्य संसारमा कल्पनाका कुबेर हुन डा जस योञ्जन
प्यासीले भन्नुभएको उपयुक्त लाग्छ। स्वछन्दतावादमा कल्पना एक महत्त्वपूर्ण धारा हो।
स्वछन्दतावादको प्रमुख सिद्धान्तकार सेमुएल कलेरिजले कल्पना सिद्धान्तको प्रतिपादन
गर्नु भएको हो। उहाँले कल्पना दुई प्रकारको छुट्याउनु भएको भन्नुभएको छ। प्राथमिक (primary) र द्वितीयक (secondary)
भनेर। प्राथमिक कल्पना भनेको हामीले
देखेको अनुसार जस्ताको तस्तै बुझ्नुलाई भन्छ। द्वितीयक कल्पना भनेको देखेको वस्तुलाई
हाम्रो निजी बुझाइ वा व्याख्या हो। महाकवि देवकोटाले पनि कल्पना दुई थरीका बताउनु भएको
छ : आँखाले देखेको र मनले देखेको। उहाँले यस निबन्धमा यही मनको आँखालाई
कल्पना भन्नुभएको छ।
तर यो मनको आँखाले देख्ने
कल्पनाको भेद रहेको देखाइएको छ। समीक्षक महोदयले यसरी बताउनु भएको छ "यस निबन्धमा देवकोटाले कल्पनाका प्रकार पनि बताएका
छन् – सच्चा कविहरूका कल्पना,
पागलको कल्पना, गँजडीहरूको
कल्पना र सामान्य व्यक्तिहरूका कल्पना।"
देवकोटाको यो निबन्ध पनि अन्य
निबन्धहरू झैँ पोथी गुण सम्पन्न निबन्ध भनी निर्क्योल गरिन सटीक लाग्छ। समीक्षक प्यासीले
यसलाई "औपचारिकतामूलक विचारात्मक" पनि भन्नुभएको छ। यसमा कविता सृजनाको मुहान
र कल्पना सिद्धान्तबारे विमर्श रहेको कारण विचारत्मक भनिएको बुझिन्छ र यस अडानलाई पुष्टि
पनि गर्न सकिन्छ।
समालोचक प्यासीले लेखमा आफ्नो
विद्वतापूर्ण दृष्टि राखेर सम्यक आलोचना गर्नु भएको छ। भाषा सरल र सौम्य रहेको छ। जहाँनेर
उहाँलाई सुधारको अपेक्षा थियो त्यसको उल्लेख गर्नु भएको छ। देवकोटाको लेखनलाई पूर्ण
सम्मान र ती निबन्धहरूका विवेचना न्यायपूर्वक राखिएका छन। समीक्षक यसप्रकार यहाँ
सृजनात्मक भएर देखिनु भएको कारण यस समालोचनालाई सृजनात्मक समालोचना भन्न मिल्नेछ।
Comments
Post a Comment