Skip to main content

युक्रेनको इतिहास (दर्पणमा प्रकाशित )

 

युक्रेनको दर्दनाक इतिहास

पेम्पा तामाङ

 

     रुसले युक्रेनमाथि हमला गरे पछि मलाई कुतूहल भयो किन यसो गरे भनेर। युक्रेन एक स्वतन्त्र राष्ट्र हो र के यसरी कुनै शक्तिशाली राष्ट्रले बिनाकारण छिमेकी मुलुक आक्रमण गर्न सहज हो ? रुसको बारे सामान्य ज्ञान रहे पनि युक्रेन भने मेरोनिम्ति अपरचित मुलुक नै थियो। युद्धको कारण मलाई युक्रेनको बिगत बुझ्न उत्सुकता बड्यो। यसैबीच एन एपलबमको युक्रेनको इतिहास "Red Famine" पढियो। यही किताबलाई आधार बनाएर यो लेख तयार गरिएको छ।

     

युक्रेनको इतिहास

युक्रेनको अर्थ सीमानाको भूमि हो। प्राय: एक देशको अर्को देशसित छुट्याउने प्राकृतिक सीमाना जस्तै नदी, डाँढा, पर्वत, समुद्र हुन्छ तर युक्रेनलाई अन्य छिमेकी देशबाट अलग देखाउने प्राकृतिक सीमाना छैन। यसको नदी पनि बीचमा बहेर जान्छ। यद्यपि युक्रेनको खेतीयोग्य जमिन धेरै र अत्यन्त उर्वर रहेको कारण छिमेकी मुलुकहरूले जहिले आँखा गाडेको बुझिन्छ।

युक्रेनको प्राचीन इतिहासमा किभ रुस शहर नवौं शताब्दीतिर रहेको देखिन्छ। युक्रेनी र रुस दुवै जाति यसैलाई पुर्खाको रूपमा लिने गरेका छन। यही किभरुसको वासिन्दा कालान्तरमा रुसी र युक्रेनी भएका हुन। यसकालमा अहिलेको विशाल शहर मोस्को भने गाउँ जस्तो मात्र रहेको थियो। रुसीहरू यसकारण पनि युक्रेन रुसदेखि भिन्न हो भनेर भन्दैन।

    मध्यकालीन समयदेखि भने रुस र युक्रेनमा भिन्नता देखिन थाले। युक्रेनको भाषा, खानपिन, वेशभूषा, संस्कार रुसी भन्दा भिन्न हुनु थालेको हो। तर युक्रेन एक स्वतन्त्र मुलुक भने कहिले भएको थिएन र उपनिवेश रहेको थियो। विभिन्न कालमा विभिन्न छिमेकी देशहरूको उपनिवेश बनेर रहे। अठारौं शताब्दीदेखि युक्रेन रुसको अधीनमा हुन गयो। जारकालीन शासनमा रुसको उपनिवेश बन्यो। रुसले तर युक्रेनलाई युक्रेन नभनेर सानो रसिया या दक्षिण पश्चिम रसिया भन्थे। युक्रेनी भाषालाई भाषा नभनेर भाषिका (डायलेक्ट) भनेर भन्थे जार शासकले। युक्रेनी भाषामा पठन पाठन र कुनै वैधानिक प्रयोग गर्न प्रतिबन्ध गरिएको थियो। युक्रेनीहरूलाई एक अलग स्वतन्त्र जाति भनेर मान्यता दिएको थिएन।

  युरोपमा सत्रौ शताब्दीदेखि राष्ट्रवादी चेतना उद्भव भयो जसअनुसार एक जाति एक देश जस्तो विचार जन्म भयो। यही राष्ट्रवादी चेतना युक्रेनवासीमा पनि यही कालमा पलाएको हो। युक्रेनवासी आफ्नो स्वतन्त्र भूमि रहेको र अन्य देश झैँ उनीहरू पनि एक हो भन्ने चेतना रहेको थियो। १८४५ मा युक्रेनको कवि शेभचेन्कोले लेखेको देशभक्ति झल्काउने कविताले यही बुझाउँदछ

When I am dead, bury me

In my beloved Ukraine,

My tomb upon a grave mound high

Amid the spreading plain,

So that the fields, the boundles steppes,

The Dnieper's plunging shore

My eyes could see, my ears could hear,

The mighty river roar."

शेभचेन्कोको कविताले बताएको युक्रेनले आफ्नो अस्मिता चिनेको थियो। पहिचानको प्रश्न उठाउन लागेको थियो।

युक्रेन विद्रोह

     १९१७ मा रुसमा अक्टोबर क्रान्ति भयो जसलाई बोलसेभिक क्रान्ति पनि भनिन्छ। क्रान्तिले रुसलाई जार शासनबाट मुक्ति दिलायो। यो क्रान्ति बोलसेभिक दलको नेतृत्वमा भएको थियो। यही वर्ष इतिहासमा पहिलोपटक युक्रेनले स्वतन्त्रताको निम्ति क्रान्तिको घोषणा गर्यो। उनीहरूले "स्वतन्त्र रुसमा स्वतन्त्र युक्रेन" लेखेको बेनर बनाएर जुलुस निकाले। बुद्धिजीवीहरू मिलेर केन्द्रीय परिषद ( सेन्ट्रल राडा) बनाएका थिए। यो संस्था युक्रेन राष्ट्रवादीहरूको संस्था थियो। युक्रेनवासी यही संस्थाको मातहत आन्दोलन अघि बडाउन तत्पर भए।

केन्द्र परिषदको पहिलो घोषणापत्र अप्रिल १९१७मा जारी भयो। "Ukrainian people ! your future is in your own hands. In this hour of trial, of total disorder and of collapse , prove by your unanimity and statesmanship that you, a nation of grain producers, can proudly and with dignity take your place as the equal of any organized powerful nation."

परिषदको तेस्रो घोषणापत्रमा भनिएको थियो युक्रेन अब रुसी महासंघ (फेडेरेसन) अधीन युक्रेन गणतन्त्र हुनेछ अनि सम्विधान सभाको प्रस्ताव राखिनेछ भनेर।  लगत्तै जनवरी १९१८ मा परिषदले युक्रेन स्वतन्त्र राष्ट्र भएको घोषणा गर्यो। यसप्रकार युक्रेनको इतिहासमा पहिलोपटक यसले एक स्वतन्त्र राष्ट्र भएको पहिचान लियो। युक्रेनले स्वतन्त्रता घोषणा गरेको केही समयबाद लेनिनले लाल सेना पठाए आक्रमण गर्न। फरवरी १९१८ मा लाल सेनाले युक्रेन कब्जा गर्यो।

किसान मुद्दा र क्रान्ति

युक्रेन एक कृषिप्रधान देश थियो। बहुसंख्यक जनता कृषक नै थिए। प्रारम्भिक कालदेखि नै बोलसेभिक दल यहाँ बलियो हुन सकेको थिएन। सदस्य २२००० मात्र रहेको थियो।

मार्क्सले भनेको थियो कृषकहरू वर्ग होइन यसैले उनीहरूमा वर्ग चेतना हुँदैन। उनले भनेका थिए क्रान्तिमा किसानको भूमिका महत्त्वपूर्ण हुँदैन। तर लेनिनले मार्क्सको विचारमा संशोधन गरेर भने  पनि क्रान्तिकारी हुने क्षमता हुन्छ। यहीकारण उनले किसानको भूमि सुधार योजना समर्थन गरे। तर किसानहरूलाई प्रगतिशील कामदार वर्गले मार्गनिर्देशन गर्न पर्दछ।

साना किसानहरू जसको खेतीयोग्य भूमि हुन्छ उनीहरू सम्पत्तिको मालिक हुन्छ यसैले क्रान्तिकारी हुँदैनन्। उनीहरूलाई पुञ्जीवादी हुन्छन र समाजवादी हुन सक्दैन। यही जमातलाई कुलाक भनियो। युक्रेनको यही कुलाक समूह पछि गएर सबैभन्दा विकराल प्रताडनको शिकार हुन पुग्यो।

प्रथम विश्व युद्धको कारण रुसमा खाद्यान्नको संकट हुन थालेको थियो। जार शासनले किसानहरूबाट बन्दुकको डर देखाएर अन्न खोसेर लाने गरेको थियो। जार शासनको पछि आएको

 यही संकट अक्टोबर क्रान्ति पछि सत्तामा आएको बोलसेभिक दलले सामना गर्नु पर्यो। युक्रेनलाई अधीनमा लिए पछि अन्नको अभावको समस्या कम हुने लागेको थियो तर किसानको विरोधको कारण हुन सकिरहेको थिएन। बोलसेभिक दलले लाग्यो उक्रेनको राष्ट्रवादी चेतना र स्वतन्त्रता संग्रामको कारण भएको हो। यसैले युक्रेनी अलगाववादीहरूमाथि कारवाही गर्ने निर्णय लिए। उनीहरूले पहिला युक्रेनी भाषामा प्रकाशित हुने सबै खबरकागत प्रतिबन्ध गरिदिए। स्कुलमा युक्रेनी भाषा पढाउन दिइएन। युक्रेनी नाट्यशालाहरू बन्द गरिदिए। जसले पनि युक्रेनी भाषा बोले र  आफूलाई युक्रेनी भनी परिचय दिए उसलाई गोली हान्ने आदेश दिइयो। बोलसेभिक दलले भन्ने गरेको थियो हाम्रो दाजुभाइहरू भोकभोकै छन यी युक्रेनीहरूको कारणले।

रसियामा जार शासन कालदेखि नै सामुहिक खेतीको(कलेक्टिभ फार्मिगं) परम्परा थियो यसैले बोलसेभिक दलले शासनमा आए पछि यसलाई निरन्तरता र बडावा गर्न कठिन भएन। तर युक्रेनमा भने सामुहिक खेतीको परम्परा थिएन। जमिन्दार, साना किसान र अधियादार वा कुतिया नै हुने गर्थ्यो। यसैले किसानहरू सामुहिक खेतीको निम्ति तयार भएनन् र विरोध गरे। यसो हुँदा अनिवार्य अन्न सङ्ग्रहमा समस्या आए।

1919 मा युक्रेनमा बोलसेभिक शासनको विरोध भयो र अगस्त 1919 मा बोलेसेभिक क्यिभमा परास्त भयो। तर पछि फेरि बोलसेभिक दलले युक्रेनलाई कब्जा गरे र १९२२ देखि सोभियत रसियाको एक राज्य बन्यो। यही कालमा युक्रेनका राजनैतिक र अन्य सरोकारका विभिन्न मानिस भने १२००० भन्दा अधिक संख्यामा मारिए। अव्यवस्था र अनिश्चितताको कालमा जातीय हिंसा भडकेर  ५० हजार देखि २ लाख यहुदीहरू पनि मारिएको उल्लेख गरिन्छ।

 सोभियत रुसको कम्युनिस्ट शासनमा युक्रेनका किसानहरूलाई झन ठूलो समस्या आउन थाले। उनीहरूको उप्जनी ढिकुटीमा राख्न वा बेचबिखन गर्न नपाउने भयो। निजी खपत र बिउको जोगाडदेखि अन्य सबै सरकारले जब्त गरेर लाने गरेको थियो। किसानहरू खेतीपाती गर्नबाट उदासीन हुन लागे।

किसानहरूको विरोध युक्रेनमा मात्र नभएर रुसमा पनि भइरहेको थियो। अन्नको अभावको  हाहाकार पनि मच्चिनै रहेको थियो। खेतीपातीमा आइरहेको यही समस्यालाई ध्यानमा राखेर लेनिनले 1922 मा नयाँ अर्थ नीतिको घोषणा गरे। नयाँ अर्थनीतिमा किसानहरूलाई उनीहरूको खेती भूमि फिर्ता पाउने, सम्पत्ति राख्न पाउने, सानोतिनो ब्यपार गर्नु पाउने जस्ता प्रावधान राखिएका थिए। यस नीतिले आम किसानको जीवनमा सामान्यता ल्याएको थियो। यो एक प्रकारले पुञ्जीवादी व्यवस्था नै थियो। ठूलाठूला व्यापार, कलकारखाना भने राज्यको अधीनमा राखिएको थियो।

युक्रेनको निम्ति थप सुविधा के थपियो भने राज्यलाई सांस्कृतिक स्वतन्त्रता प्रदान गर्ने भयो। अब युक्रेनीहरूले फेरि आफ्नो भाषा, संस्कृति पालन गर्न पाउने भयो। युक्रेनी भाषामा पठनपाठन फेरि शुरु भयो। यसलाई युक्रेनीकरण भनिएको थियो। यसो गरेर युक्रेनलाई मुक्त गराउन भन्ने होइन तर युक्रेनको सोभियतकरन अझ दह्रो हुन्छ भन्ने थियो।

सामुहिक खेती (कलेक्टिभ फार्मिगं)

१९२४ मा लेनिनको मृत्यु पछि सत्ताको बागडोर स्टेलिनको हातमा गयो। स्टलिनले देख्यो नयाँ अर्थ नीति लागू गरेर पनि देशको हालतमा सुधार आएको थिएन। खाद्यान्नको समस्या समाधान भएको थिएन। १९२८ मा उनले सम्पूर्ण सोभियत संघमा सामुहिक खेती नीतिको घोषणा गरे।

सामुहिक आधिपत्यमा रहेका विभिन्न प्रकारका व्यवस्था स्थापन गरिए। रूप भिन्ना भिन्नै भए पनि तर सबै कृषकलाई निजी सम्पत्ति कसैले राख्न नपाइने बनाइयो । जमिन, घोडा, गाईवस्तु, खेतीपातीको हातहतियार सबै सामुहिकलाई सुम्पनु लगाइयो। कुनैकुनै कृषकलाई आफ्नो घरमा बस्ने अनुमति दिइयो तर अधिकतर कृषक ब्यारेकमा या सामुहिकको अधीनमा भएको घरमा बस्नु पर्ने बनाइयो। तिनीहरूको भोजन एकैसाथ एक ठाउँमा हुन्थ्यो। कुनै किसानको ट्र्याक्टर थियो भने सामुहिकमा बुझाउनु पर्थ्यो, निजी केही राख्न नपाउने भयो। कृषकको आयस्रोतमा रुपियाँ पैसा कमाउन नसकिने बनाइयो। उनीहरूले काम गरेको ज्याला पैसामा भुक्तान गरिने भएन। कामको पारिश्रमिक भोजन या अन्य त्यस्तै सानोतिनो आवश्यक समान मात्र पाउने भयो।

नीति घोषणा हुँदा यो योजना स्वैच्छिक हुनेछ र कसैलाई करकाप गरिने छैन भनिएको थियो। तर कार्यान्वयन स्वैच्छिक नभएर दमनको साथ भयो। किसानहरूले विरोध जनाए। बोलसेभिक दलभित्र बाट पनि निकोलाय बुकानिनले यसको विरोध गर्यो।  परिणामस्वरुप उनी पार्टीबाट निस्कासन मात्र भएन पछि गएर ज्यानै गुमाउनु पर्यो।

सामुहिक खेतीको नीतिको विरोधमा स्टेलिनकी पत्नी नादेज्दा सार्गिभना एलिल्युएभा पनि रहेकी थिई। उनको विचारमा लेनिनको नयाँ अर्थ नीति उचित थियो। यसले किसानहरूलाई उनीहरूको हक र अधिकार सुरक्षित राखेको थियो। सामुहिकीले उनीहरू आफ्नो अधिकारबाट वञ्चित भएको र प्रताडित भएको नाद्यालाई लाग्यो। यो कुरा पति स्टेलिनलाई भनिन। तर सुनवाइ भएन। यसैबाट तनावमा आएर १९३२ मा आत्महत्या गरी।

 

देशभरि नै कृषकहरूले सामुहिक योजनाको बडी विरोध गरे। उनीहरूलाई डर भयो अब उनीहरूको सबै चल अचल सम्पत्ति सामुहिकको भेट चडिनेछ, उनीहरूकोमा केही रहने छैन। यसरी सरकारलाई सबै सित्थैमा दिनु भन्दा आफै भोग गरेको राम्रो सम्झे। गाई, गोरु, भेडा, खसी, कुखुरा, घोडा, सुंगुर अब आफ्नो होइन सामुहिकको हुनेछ र त्यसो हुन दिनु भन्दा मारेको राम्रो सम्झन थाले । सबै मार्न थाले। मारेर खान सक्ने जति मासु खाए, बेँच्न सके जति बेँचे र बिक्री हुन नसकेर उब्रेको मासु नुन लगाएर लुकाएर राखे। ग्रामीणहरूको यस अभियानले देशमा पशुधनको ह्रास तीव्र गतिमा भयो। १९२९ देखि १९३३ सम्ममा २६ मिलियन सुँगुर घटेर १२ मिलियन मात्र रह्यो। १४६ मिलियन बाख्रा र भेडा घटेर ५० मिलियनमा झर्‍यो। हुनत गाउँलेले यसो गरेको आफ्नो सम्पत्तिको क्षति देखेर र भविष्य खतरामा परेको सम्झेर गरेको हो तर सत्ताले भने राजनीति नै देखे उनीहरूको यो कदमलाई। यो एक षड्यन्त्र हो र क्रान्ति विरोधी चाल भनेर भनियो । जुनै पनि कृषक चाहिँ गरिब नै होस तर सामुहिकको विरोधी भए पछि कुलाक भनिन थाल्यो। यतिबेला कुलाक हुनु भनेको देशद्रोही, क्रान्ति विरोधी अथवा समाजवादको विरोधी भनेर आरोपित हुनु हुन्थ्यो। कुलाक भनिएपछि उसको सबै सम्पत्ति खोसिन्थ्यो। ऊ एक नागरिकता विहीन भए पछि उसको घर, पशुधन, घरमा भएको सबै सम्पत्ति पुलिसले कानुनी रुपमा खोसेर लान सक्ने अधिकार रहन्थ्यो।

 विकुलाकीकरन र सामुहिक कृषि विफलता

कुलाकहरू क्रान्ति विरोधी र देशद्रोही भनेर ठहर त गरियो तर कसलाई कुलाक भनेर आरोपित गरिने यसको परिभाषामा कठिनाइ आइरहेको थियो। युक्रेनमा पोल्यान्ड मूल र जर्मनहरू अघिबाटै थिए। पहिला सबै जर्मनहरूलाई कुलाक भनेर वर्गीकरण गरिए। यहुदीहरूलाई जार शासनकालमा भूमि अधिकारबाट वञ्चित गरिएका थिए। यसैकारण खेतीपातीमा थिएन। यसरी यहुदी जाति कुलाक वर्गीकरण भएन। तर मूल युक्रेनीहरू भने दुईवटा सुंगुर मात्र भएको गरिब किसान पनि कुलाक हुन पुगे।

गाउँबाट कुलाकहरू श्रम शिविरमा निर्वासित गराइन थालिए। सबैभन्दा ज्यादा कुलाक युक्रेनमा छानिनु पर्ने निर्देश भयो। यहाँबाट शुरूवात मै १५००० कुलाक पकडेर श्रम शिविर पठाइयो। युक्रेनमाथि दिइएको दबाव सत्तारूढ बोलसेभिक दलले राजनैतिक जोखिम देखेर गरेको थियो। मोस्कोको सत्ताको निम्ति युक्रेनलाई नियन्त्रणमा राख्नु अनिवार्य रहेको थियो। यहाँ भइरहेको विद्रोह सफल भए अन्य क्षेत्रमा पनि पर्न जाने र सामुहिक खेतीको नीति कार्यान्वयनमा सम्पूर्ण सोभियत संघमा प्रभाव पर्ने थियो।

बोलसेभिक दलको राजनैतिक कार्यकर्ता तथा सम्पूर्ण सरकारी संयन्त्रको प्रयासमा पनि सामुहिक खेती किसानहरुले स्वीकार गरिरहेको थिएन। जताततै यसको कार्यान्वयनमा अवरोध सृजना गरिरहरको थियो। योजना लागु गर्न गएको कार्यकर्ताहरूमाथि आक्रमण पनि हुन थाल्यो। केही कार्यकर्ता किसानको हातबाट मारिए। उत्पात मचियो जगह जग्गा जग्गामा। पुलिसको कार्यवाहीबाट उपद्रवी किसानहरू मारिन थालिए। अन्य राज्य भन्दा पनि युक्रेनमा यो समस्या धेर भयो। कतिपय किसानहरू सामुहिक गर्नु भन्दा देश छोडेर जान तत्पर भए। सिमाना गाउँमा बस्ने किसानहरूले देखे अर्को देशको किसानहरूको जीवन सामान्य चलिरहेको र उनीहरूले जस्तो कुनै समस्या झेल्नुपरेको देखेन। यसबाट उनीहरूमा विद्रोहको भावना झन तीव्र भएर गयो। छिमेकी राष्ट्र पोल्यान्डमा भागेर जान थाले। प्रसासनले यो देखेर कठोर कदम चलाउँदै देश छोडेर जानेलाई गोली हान्न थाल्यो।

सामुहिक खेती भए पछि फसल लगाउने जिम्मेवारी कुनै एक किसान परिवारमा नभएर सामुहिकमा हुँदा कसैले चासो लिएन। धेरै किसानहरू आफ्नो जग्गाजमिन बाँझो राखेर शहरतिर रोजगारको निम्ति प्रस्थान भए। एकातिर आफूले कष्ट गरेर फलाएको फसल आफ्नो नहुने र आफूले स्याहारसुसार गरेर पालेको पशुधन पनि सामुहिकको हुने भए पछि खेती गर्ने र गाईवस्तु फैलाउने कुनै प्रयोजन नरहेको उनीहरूले देखे। किसानहरूको यो कार्यले पूरा रुसमा कृषि उप्जनीमा प्रभाव पर्यो र विशेषगरी युक्रेनमा झन बडी उप्जनीमा ह्रास आयो। १९३२ मा यसरी कृषि उत्पादन विफल रह्यो।

विफलताको दायित्व

रुसले निर्यात गर्ने वस्तुहरूमा अन्न प्रमुख थियो र यो निर्यात पश्चिमी देशहरूमा गरिन्थ्यो। कुन क्षेत्रले कति अन्न बुझाउनु पर्ने त्यसको कोटा निर्धारन मोस्कोबाट गरिन्थ्यो। यद्यपि यस समय अन्न उप्जनी राम्रो हुन नसकेको कारण निर्धारित कोटा पुर्याउन सम्बन्धित निकायलाई कठिन परिरहेथ्यो। १९३२-३३मा कृषि उत्पादनमा धेरै ह्रास आएको सबैलाई याद थियो। मौसम खराब भएर  होइन तर सामुहिक खेती नीतिको विफलताको कारण यस्तो परिणाम आएको बुझे पनि नीतिलाई जिम्मेवार ठहराउन कसैले सकेन। कसै न कसैलाई जिम्मेवार ठहराउनु पर्ने थियो। बलीको बोका कसैलाई बनाउनु थियो। दोषारोपण लगाउनु उनीहरूले पहिलो स्तरमा किसानलाई नै सम्झे। किसानहरू क्रान्ति विरोधी, षड्यन्त्रकारी कुलाक रहेको कारण यसो भएको हो। यसको परिणाम उनीहरूले भोग्नु पर्नेछ।

अर्को स्तरमा बोलसेभिक दलले कृषि विभागमा कार्यरत अधिकारी र कर्मचारीलाई दोषारोपण गरे उनीहरूको विफलताले कृषि असफल भएको हो भनेर। १९३३-३४ तिर कृषि विभागका धेरै अधिकारीहरूले यसको निम्ति आफ्नो ज्यान गुमाउनु पर्यो।

फसलको विफलताको कारण रुसले तोकेको अन्नको कोटा निर्यात गर्न कठिन हुने भयो। यसले जमिनी कार्यकर्तामा दबाव सृजना भयो। युक्रेनको किसानले सामुहिक खेती स्वीकार नगरेको र खेत बाँझो छोडेको कारण समस्या विकराल भएर गयो। बोलसेभिक सरकारले युक्रेनका किसानहरूको कदमलाई क्रान्ति विरोधी र षडयन्त्र भनी बताए।

 अनिकाल/भोकमरी

सम्पूर्ण रुस लगायत युक्रेनमा खाद्यान्न संकट हुन लागेको थियो र यसको खाद्यान्न आपूर्तिको निम्ति सरकारले कुनै ठोस कदम चालेको थिएन। बोलसेभिक दलको कार्यकर्ता र पुलिसहरू गाउँ गाउँमा गस्ती लगाइरहेका थिए। गस्ती दलले किसानहरूको घरमा जमा गरेर राखेका अन्न खोसेर लाने काम गर्न थालेको थियो। जसले विरोध गर्थ्यो उसलाई कुटपिट गर्थ्यो र कतिलाई नांगो झार पारेर घरबाट बाहिर निकालिदिन्थ्यो। रातविरात केही मभनी घरको तलाशी लिने गरिएको थियो। किसानहरूलाई जब थाहा भयो यसरी तलाशी लिइदैछ भन्ने उनीहरूले सबै लुकाएर राख्न थालेका थिए । तर गस्ती दलले लुकाउने ठाउँ सबै भत्काएर पनि भएको अन्न सबै लुटेर लान्थ्यो। घरभित्र एकैदाना पनि अन्न वा केही खाद्य पदार्थ भए खोसेर लगिदिने।

भोक र पुलिसको डरले युगौँ देखि मिलेर बसेका छिमेकी एकार्कामा दुश्मन हुन पुगे। यसो हुनुको मुख्य कारण थियो कुनै एक घरले छिमेकी घरमा लुकाएर राखेको अन्न पता लगाएर बताएको खण्डमा उक्त घरबाट पाइएको राशनको केही अंश इनाम स्वरुप उसले पाउँथ्यो।

खानेकुरा केही नपाएर भोक मेटाउन मरेको घोडाको मासु र सुप बनाएर खान थालेको देखिन थाल्यो। हताश भएर शहर बजारमा गएर रोटीको भीख माँग्नेको भीड हुन थाले।

व्यक्तिले खानु नपाएर लामो समयसम्म  भोकभोकै बस्नु परे उसको शरीरमा हुने प्रतिक्रिया लेखिका एपलबमले यसरी बताएकी छ:

The starvation of a human body, once it begins, always follows the same course. In the first phase, the body consumes its source of glucose. Feelings of extreme hunger set in, alongwith constant thoughts of food. In the second phase, which can last for several weeks, the body begins to consume its own fats, and the organism weakens drastically. In the third phase, the body devours its own proteins, cannibalising tissues and muscles. Eventually the skin becomes thin, the eyes become distended, the legs and belly swollen as extreme imbalances lead the body to retain wate. Small amounts effort lead to exhaustion. Along the way, different kinds of diseases can hasten death."

१९३२ को शीतकालतिर युक्रेनको ग्रामीण क्षेत्रमा यसप्रकारको लक्षण भएको ग्रामीणहरू धेरै देखिन थालेका थिए। उनीहरूलाई आफू अनि आफ्नो छोराछोरीको चिन्ताले सताउन थालेको थियो। भएको अन्न सबै खोसेर लगिदिइहाले। खरिद गर्नलाई पैसा पनि छैन। भागेर अर्को देश जान पनि सक्दैन। आफ्नो छोराछोरी भोकले तडपिरहेको दृश्य कति मातापितालाई असहनीय भयो। उनीहरूले सम्झे भोकले तडपेर मृत्यु वरन गरेको हृदयविदारक दृश्य देख्नु भन्दा बरू मारिदिए पीडा कम होला। जजसले यसरी आफ्नो सानासाना छोराछोरीको हत्या गरे पछि गएर पश्चाताप पनि गरे।

ग्रामीणहरू भोकले मर्न थालिसकेका थिए। कतिपयको मृत शरीर घरभित्रै थिए भने  कतिपयका बाटोमा, शहरको चौकमा, बारीमा वा सुनसान स्थानतिर। लाश उठाउने कोही पनि थिएन।

जति जति समय अघि बडदै गयो यसले विकराल रुप देखाउँदै गयो। लाखौं मानिसहरू भोकको भयकंर सिकार भइरहेको थियो। आफ्नो सन्तानलाई कसरी बचाउँने भन्दा पहिला आफू कसरी बाँच्नेको प्रश्न अघि आयो। यसैले जन्म भयानक परिणतिको घटना। उनीहरू नरभक्षी हुन थाले।

युक्रेनमा आएको अनिकाल र भोकमरी प्राकृतिक नभएर सुनियोजित रुपले गरिएको थियो। यो एक नरसंहार थियो। यसलाई युक्रेनीहरू होलोदोमोर भन्दछ। युक्रेनी भाषामा होलोद भनेको भोक हो र मोर भनेको विनाश। यसप्रकार होलोदोमोर भनेको भोकै मार्न हुन्छ।

यो भोकमरीको अवस्थालाई मई १९३३ मा सरकारले खाद्यान्न वितरण गर्न पुनः शुरु गरेर समाप्त गर्यो। यद्यपि यसको परिणामले धेरै परिवारलाई १९३४ सम्म प्रभाव पारेको उल्लेख गरिन्छ।

भोकले कतिजना मरे भन्ने कुनै आकडा संकलन वा तथ्यांक राखेको थिएन। यसैले सटीक जानकारी कसैलाई भएन। तर पछि गएर सांख्यिकीविद् (स्टेटिस्टिसियन) हरूले गणना गरेर संख्या निकाल्दा ४० लाख भन्दा केही कमले ज्यान गुमाएको पता लगाए। यसको प्रभावले ६ लाख बच्चा सामान्य अवस्थामा थपिएको हुनुपर्थ्यो। यो हुन सकेन। यसप्रकारले होलोदोमोरको कारण युक्रेनमा ४५ लाख जनहानि भएको भनिन्छ।

वियुक्रेनीकरन

युक्रेनमा आइपरेको यो उथलपुथल १९३३ मा समाप्त नभएर १९३४ मा अर्को ठूलो आघात झेल्नु पर्यो।

मोस्कोको नजर अब युक्रेनीहरूको जनचेतनामा पर्यो। बोलसेभिक दलले सम्झ्यो युक्रेनमा सामुहिक खेती विफल हुनु वा स्वीकार नगरिनु यिनीहरूको जातीय चेतना वा राष्ट्रवादी भावनाले हो। यसैले युक्रेनीहरूमा जातीय भावनाको चेतना नै निर्मूल पार्नु पर्ने अठोट गरियो। भाषा, साहित्य, इतिहास, संस्कृति जातीय चेतना जगाउने प्रबल बिम्वहरू हुन। यसैबाट भयानक निर्णय लिइयो। युक्रेनी भाषाका कवि, लेखक, युक्रेनी इतिहासकार, युक्रेनी भाषाको कोषकार, भाषाविद, संस्कृतिविद् सबैलाई छानी छानी गोली हानी मारे। युक्रेनको सम्पूर्ण बुद्धिजीवीवर्गलाई हठात निर्मूल पारिदिए। अर्को कदममा बोलसेभिक दलले आफ्नै दलभित्रको युक्रेनी सदस्यहरूलाई सिकार बनाए। ती युक्रेनी बोलसेभिकहरू जसले बोलसेभिक क्रान्तिको निम्ति आफ्नो सर्वस्व त्यागेर सेवा पुर्याएका थिए उनीहरू युक्रेनी मूल हुनको कारण आफ्नो प्राण गुमाउनु पर्यो।

होलोदोमोर र पछिबाट भएको युक्रेनी बुद्धिजीवीवर्गको संहारको कारण युक्रेनी जातीय चेतना र युक्रेनको स्वतन्त्रताको मुद्दा सोभियत राजनीति र आम जीवनको चर्चाबाट समाप्त भएर गयो।

 

मिखाइल शोलोखोभ र स्टलिन

१९३२ मा जब किसानहरू भोकमरीले हाहाकार भइरहेको थियो उपन्यासकार मिखाइल शोलोखोभले स्टेलिनलाई किसानहरूको समस्या समाधान हेतु चिट्ठी लेखे। स्टेलिनले जवाबमा लेखे किसानहरूले लाल सेनालाई अन्न दिन मानिरहेका छैनन्। यो किसानहरू हेर्दा निर्दोष मामुली देखिन्छन तर यिनीहरूले  सोभियत शक्ति माथि चुपचाप रक्तहीन युद्ध चालेको छ। लेखकलाई यिनीहरू निरपराध लाग्छ होला तर यो भ्रम हो।

स्टेलिनले पछि भने ती किसानहरू जो भोकमरीले ग्रस्त छन तिनीहरू निर्दोष छैनन्। यिनीहरू देषद्रोही हुन, षडयन्त्रकारी हुन, यिनीहरू सर्वहारा क्रान्ति विफल पार्न प्रयासरत थिए। यिनीहरू सोभियत शक्तिको विरोधमा थिए।

बोलसेभिक दलको ठहर अनुसार लाखौं किसानको मृत्यु स्टेलिनको नीतिको विफलता थिएन बरू यसले नीति पूर्ण सफलता थियो। कुलाकहरूको पराजय भयो। विजय हासिल भयो र दुश्मनको हार भयो।

युक्रेन र नाजी जर्मनी

दोस्रो विश्व युद्ध हुँदा जब नाजी जर्मनीले युक्रेन आक्रमण गर्यो, युक्रेनीहरू सोभियत शासनबाट मुक्ति पाउने भए भनेर पहिला त खुशी भए। जर्मन सेनालाई फूल चडाएर स्वागत गरे। सामुहिकबाट किसानहरूले आफ्नो जमिन फिर्ता लिए।  तर पछिबाट थाहा भयो जर्मनी सेना झन आतंककारी रहेछ भन्ने। युक्रेनीलाई नीच ठान्थे जर्मनीहरूले। युगौँ छिमेकी भएर मिलेर बसेका यहुदीमाथि कहर उठाए। भेटे जति यहुदीहरू मारिए। युक्रेनीहरू नाजी शासनमा अझ प्रताडित हुन पुगे।

गणतन्त्र युक्रेन

सोभियत संघ विघटन भए पछि १९९१ मा युक्रेन स्वतन्त्र हुने जनमत दिए र एक स्वतन्त्र राष्ट्र बन्न पुगे।

सोभियत रुसले होलोदोमोर भएको कहिले स्वीकार गरेन। उनीहरूको कुनै सरकारी दस्तावेजमा यस घटनाको विवरण राखेनन। युक्रेनमा किसानहरूको मृत्यु भए तर कुपोषण र अन्य बिमारीले भएका हुन तर भोकमरी गराइएको होइन नै भने। २०१५ मा रुसको सरकारी पत्र स्पुत्निकमा एक लेख मै छापियो "होलोदोमोर होक्स" अर्थात भोकै मारेको घटना अफवाह मात्र हो भनेर। यसरी रुसले अझै पनि यो नरसंहार भएकै थिएन भनेर दाबी गर्ने गरेको छ।

२००६ मा एक इतिहासकार भोलोदिमिर कालिनिचेन्कोले युक्रेनको एक क्षेत्र  खार्किभमा भएको भोकमरीको बारे लेखेको इतिहासको विरोध गरेर रुस समर्थक कम्युनिस्ट दलका सदस्यहरूले उनको कार्यलयमा गएर ढोकामा लात हिर्काए गाली गरे र धम्क्याए।

रुसको राष्ट्रपति मेदभेदेभले अजेरबैजानलाई संयुक्त राष्ट्रसंघमा होलोदोमोरलाई जिनोसाइड बनाइने मतदान नदिन दबाव दिएका थिए।

२०१३ मा युक्रेनले रुसी भाषालाई पनि राष्ट्र भाषाको मान्यता दिँदा जनविरोध  भयो। हुनत यसको अर्थ थियो उक्रेनीको साथ रुसी भाषा पनि प्रयोग गर्न पाइन्छ भन्ने मात्र थियो। यसले बताउँछ युक्रेनीहरू आफ्नो भाषा र आफ्नो देश युक्रेनप्रति कति सम्वेदनशील छ भनेर।

२०१४ मा रुसले आफ्नो विशेष सैन्य दस्ताद्वारा युक्रेनको पूर्वी क्षेत्र र क्रिमियामा आक्रमण गर्यो। यो आक्रमणको कारण बताउँदै रुसी समाचारमा भनियो युक्रेनको सत्तामा रहेको फासीवादी र नाजीवादीहरूबाट मुक्तिको निम्ति युद्ध गरिएको हो। यतिबेला रुसले आफ्नो संसारभर फैलिएको संचार माध्यमद्वारा धेरै दुष्प्रचार गरे युक्रेनलाई बदनाम गराउन। २०१९ मा रुसले क्रिमियालाई युक्रेनदेखि छिनेर आफ्नो कब्जामा लियो।  यो वर्षको २४ फरवरीमा रुसले फेरि युक्रेनमा आक्रमण गर्यो। यसपालि पनि रुसले हमलाको कारण युक्रेनको सत्ताबाट नाजीहरूको विनाश नै भन्यो।

रसियाले युक्रेनको इतिहास भाषा संस्कृति सबै मेटाउने प्रयास गर्यो। तर सकेन। युक्रेनी भाषा युक्रेन जातीयता जीवित छ। रुसले आफ्नो विशाल सेना र अत्याधुनिक हातहतियारले आक्रमण गरिरहेछ। रुसले सम्झेको थियो दुई तीनदिन भित्र युक्रेनको  सेना धराशायी हुनेछ तर देशभक्त युक्रेनीको अदम्य साहस र दृडताले महिना बितेर जाँदा पनि युद्धको नतिजा रुसको पक्षमा निर्णायक हुन सकेको छैन।

 रुस र युक्रेन बिचको द्वन्द्वलाई लिएर  रुसले युक्रेनमा हमला गर्नु परेको कारण एवम पक्ष विपक्षका विचार मनन गर्न  सक्छौं

१.      रुसको कार्यलाई समर्थन जनाउने पक्षको धारणा अनुसार युद्धको निम्ति रुस नभएर युक्रेन नै जिम्मेवार हो भन्ने विचार राखेको पाइन्छ। युक्रेनमा अहिले जो भइरहेछ यो युक्रेनको आफ्नै कुकर्मको फल हो भन्छन्। यो विचारमा भारतीयहरू रहेका छन। रुस भारतको पारम्परिक मित्र राष्ट्र रहेको हुनाले भारतले रुसको युक्रेन हमलाको विरोध जनाएको छैन र तटस्थ नीति अपनाएको छ। तर  युक्रेन भारतको विरोधमा पटक पटक अन्तर्राष्ट्रिय मञ्चमा देखिएको कारण भारतीय राष्ट्रवादी जनता भन्छन् रुसको पक्ष लिनु पर्छ भनेर। उनीहरू युक्रेनको राष्ट्रपति जेलेन्स्कीलाई तथानाम अपशब्द प्रहार गर्न पनि चुक्दैनन।

२.      भारत र नेपालका वामपन्थीहरू युद्धको समर्थनमा खुला रुपमा नरहे पनि युक्रेनको शासन नाजीको हातमा छ र युक्रेनको नाजी विनाश गर्नु पर्ने मत राखेर रुसको आक्रमणलाई जायज ठान्छन्।

सोभियत संघको विघटन पछि रुसमा पनि पुञ्जीवादी अर्थतन्त्र नै रहेको छ तर वामपन्थीहरू त्यही पुरानो स्मृतिमा अल्झेर रुसमोहमा ग्रस्त छन। यही अतितमोहको भ्रममा पुतिनको दुस्साहसको समर्थन गर्न अघि आउँछन्।

३.      राष्ट्रपति पुतिनले युद्धको घोषणा गर्दै भनेको छ युक्रेनलाई नाजीबाट मुक्त गराउन, यसको सैन्य शक्ति विनाश गर्न विशेष सैन्य कार्वाही गरेको। उसले यो पनि भन्यो युक्रेनको आफ्नो इतिहास छैन, यसैले स्वतन्त्र राष्ट्र हुने हक अधिकार छैन।

४.      शीतयुद्ध कालमा नाटो र वार्सअ पेक्ट थियो। नाटो सैन्य गठबन्धन अमेरिका र पश्चिमी युरोपका देशहरू थिए भने वार्सअ पेक्टमा सोभियत संघ र उसको ध्रुवमा रहेका पूर्वीय युरोप। सोभियत संघको विघटन भए पछि वार्सअ रहेन तर नाटोको अस्तित्व बनिरह्यो। समयको साथ यसको सदस्यमा वृद्धि भएर गयो। रुसले अहिले नाटो गठबन्धनको उसको सुरक्षाको निम्ति जोखिम मान्दछ। युक्रेन युरोपिय संघ र नाटोमा सामेल हुने महत्वाकांक्षा राख्दछ। युक्रेनको यो कदम रुसको हितमा नभएको र यसकारण उसले आक्रमण गरेर युक्रेनलाई नाटोको सदस्य हुनबाट रोक्ने प्रयास हो भन्छन एक समूह। यसैकारण उनीहरू रुसको युद्ध आत्मरक्षाको युद्ध मान्दछ। तर बुझ्नु पर्ने कुरा के हो भने युरोपिय संघ र नाटोले सदस्यता दिन हिच्किचाइरहेको थियो। युक्रेन यी दुवै गठबन्धनका सदस्य थिएन र भएको पनि छैन।

५.      रुपर्ट रसेलले लेखेको किताब प्राइस वार मा  बताएको छ युक्रेनको पूर्वी क्षेत्र र कालो सागरमा ग्यासको ठूलो भन्डार पाइएको छ। यसको जानकारी २०१२मा भएको हो। रुसले यस ग्यास भन्डारबारे सम्झौता गर्न चाहेको थियो तर सम्मति हुन सकेन। युक्रेनमा यसको पछि पूर्वीय प्रान्तबाट अलगाववादी अभियान रुसको सहकार्यमा शुरु भयो। पूर्वीय प्रान्तमा युक्रेनी भाषीभन्दा रुसीभाषी जनसंख्या अधिक छ र उनीहरू पारम्परिक रुस समर्थक हुन्छन।

हाल युरोप रुसको ग्यास र तेलमा निर्भर छ। युरोपीय देशहरूको ४०% ग्यासको आपूर्ति रुसबाट हुने गरेको छ।  यसले रुसलाई आर्थिक फाइदा मात्र होइन तर आफ्नो वर्चस्व कायम गर्न ठूलो भूमिका खेलेको छ।  यदि यो ग्यास युक्रेनमा पाए उसले यसको उपयोग गर्न सक्नेछ। यो ग्यास भन्डार यति धेरै भएको अनुमान गरिएको छ कि यसले युक्रेनको आफ्नो आवश्यकता पूरा गरेर युरोपलाई निर्यात गर्न सक्नेछ।  यसो भए युरोपलाई ग्यास आयातको निम्ति रुसमा भर पर्नु पर्दैन। यसले रुसलाई आर्थिक हानि मात्र होइन तर उसको शाखमा पनि आघात पुर्‍याउने छ। पूर्वी युक्रेनलाई आफ्नो हिस्सा या आफ्नो प्रभाव क्षेत्र बनाइराख्न सके रुसको युरोपमाथिको दबदबा कायम रहनेछ। पुतिनले युक्रेनको पूर्वी क्षेत्र दोनबास र लुहान्स्कलाई स्वतन्त्र गणतन्त्रको मान्यता दिएकोमा घोषणाको उद्देश यसले स्पष्ट बनाउँछ।  पुतिनको  युक्रेन हमला कुन कारणले गरेको रहेछ यस दृष्टिले हेरे उसको नियत राम्ररी बुझिन सकिन्छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Comments

Popular posts from this blog

अगमसिहं गिरी (युद्ध र योद्धा ) आलोचना

             युद्ध र योद्धा : एक पठन                          पेम्पा तामङ      अगमसिहं गिरी भारतीय नेपाली साहित्यमा सर्वाधिक चर्चामा रहेको कवि हो। उनलाई मूलतः स्वछन्दतावादी कवि र जातीय कवि भनेर आलोचकहरूले चिनाएका छन भने कही कही अस्तित्ववादी भनी परिचय दिएको छ। उनका प्रारम्भिक कविताहरू भावनात्मक र करुणामय थिए यसैले उनलाई दुखवादी पनि भनिएको  हो। गिरीका कविताहरू आम चलनको भाषामा लेखिएका र प्रतीक र बिम्वको जडान थोरै रहेका छन। सरल , सहज र बोधगम्य रहेको हुनाले आम पाठकबीच लोकप्रियता बडी रहेको थियो। जीवन , मृत्यु , दुख , बिरह उनका कविताको भावलहरी रहेको छ। कल्पनाको निर्बाध उडान र जीवन परान्मुख रहेको मानिन्छ। जीवनलाई यसरी हेर्ने दृष्टि छायावाद र स्वछन्दतावा भनेर चिनिन्छ। हुनत छायावाद र स्वछन्दतावाद यी बाहेक अन्य पनि हुन। स्वच्छन्दतावादको प्रवर्तक विलियम वर्डस्वर्थको लेखन सिद्धान्त कविताको भाषा आम मानिसको बोलीको शैलीमा हु...

Circle of Karma -Bhutanese novel review

Circle of Karma   Authored by Kunzang Choden, a native of a small village in Bumthang District in  north-central Bhutan, Circle of Karma is the first English novel to emerge from the land of the druk (Bhutan),   the mythical dragon. Published in 2005, the novel instantly courted fame far and wide, and has since been translated into several languages. The novel had been short listed for the prestigious Elle Prix des Lectrices too. Choden was born in the year of the druk , or the year of the dragon, corresponding to 1952 in the Gregorian calendar. Since Choden was born into a prosperous family, her parents sent her to a convent school in Kalimpong when she was nine years of age. Choden recounts the initial difficulty she encountered in the school because, as is prevalent in Bhutan, she did not have a surname attached to her first name. Moreover her father’s name was Kunzang Dorje and the Reverend Mother of her school refused to believe that the father an...

Remika Thapa's Farak Baato

 Two novels of  Puspa Rai                         Pempa Tamang   “Farak Baato”  or “Different Road”  is the title of the critical  book  written by Dr. Remika Thapa. As the title suggests Remika highlights the alternative  point of view proposed by Ms Puspa Rai in her two fictional works namely “Bholiko Pratikshya” or “Waiting for Tomorrow” and “Madhyantar” or “Interval”. Dr. Remika maintains that Bholiko Pratikshya is the first feminist novel in Indian Nepali Language and consequently Puspa Rai has become the first feminist novelist  in Indian Nepali writings.   The two novels can be called duology as the second novel follows the theme of earlier one. The main characters of the fictions are women in both the novels.  The first novel “Bholiko Pratikshya” is about women’s  independence in choice of her existence and her life. It is about the motherhood outsid...