सिक्किम डायरी -३
असामान्य सामान्य उच्च कोटिबाट 😃
१९८० को अन्ततिर दिल्लीबाट डेढ दुई महीने तालिम सकेर जन सम्पर्क विभागमा बहाली भएको एक लगत्तै सिक्किमको राजभवन सचिवालयमा मेरो स्थान्तरण भयो।
राज्यको पहिलो राज्यपाल बी बी लाल आफ्नो कार्यकाल पूरा गरेर गए पछि भारत सरकारले नयाँ राज्यपाल होमी जे एच तल्यारखान नियुक्त भएको थियो। उनै राज्यपालले सरकारलाई उनको लागि जनसम्पर्क अधिकारी आवश्यकता रहेको इच्छा जाहेर गरेपछि मलाई त्यहाँ पठाइएको हो।
होमी जे एच तल्यारखान अन्य पार्सी झैँ व्यापारी नभएर एक राजनीतिज्ञ थिए। उनी यस कुनै सरकारी प्रतिष्ठानका अध्यक्ष र त्यस अघि महाराष्ट्रको राज्यमन्त्री पनि भएका थिए। गोरो, शारीरिक गठन गठिलो र कद सुहाउँदिलो थियो। उनको श्रीमती थ्रीटी तल्यारखान मुम्बईको एक चर्चित समाजसेविका र सोसियलाइट थिई। भारतको प्रसिद्ध टाटा परिवारसित सम्बन्धित। उनीहरूको एक मात्र सन्तान पुत्र कुनै व्वासायिक केन्द्रमा कार्यरत।
कार्यलयमा राज्यपाल महोदयले मलाई बोलाएर आदेश दिए खबरकागतको शुचि बनाउन भनेर। मैले पनि जाने र सुने जति खबरकागतको सूची बनाएर चडाएँ। त्यहाँ भारतबाट प्रकाशित हुने मुख्यधाराका ठूलाठूला खबरकागत, खबर पत्रिका र केही अन्तर्राष्ट्रिय खबरकागतको सूची थियो। राज्यपालले सूची हेरेर त्यतिबेलाको काङ्ग्रेस पार्टीको विरोधमा लेख्ने खबरकागतहरू सूचीबाट हटाउनु भने। अन्तर्राष्ट्रिय खबरकागतमा इन्टरनेशनल हेरल्ड ट्रिब्युन मात्र राख्न लगाए। उनलेे त्यतिबेला मलाई भनेका थिए सरकारको मान्छे भएको कारण कुनै विरोधी खबरकागत पढनु हुँदैन, होशियार हुनुपर्छ।
मेरो निम्ति चकित हुने कुरा थियो । म सम्झन्थेँ हामीले पाए जति र भ्याए जति सबै पढनुपर्छ, हामीलाई मन पर्ने मात्र होइन मन नपर्ने पनि पढनु पर्छ। आफ्नै विरोधमा रहेको भएपनि पढनु पर्छ। पढेर ग्रहण गर्नु नगर्नु, स्वीकार अस्वीकार सबै स्वविवेकले निर्णय लिनुपर्ने हो। तर आदेशको पालन नगर्ने कुरा आएन। उनलेे छनौट गरेका खबरकागत मात्र सब्सक्राइब गरिने गरियो।
मेरो काम ती विभिन्न खबरकागत पढनु र मुख्य मुख्य खबर राज्यपालको नजरमा पुर्याउनु हुन्थ्यो। राज्यपाल कहाँ दिनहुँ अनेक विभिन्न व्यक्तित्वहरू आएका हुन्थे । कुनैकुनै बहस र कार्यक्रमबारे प्रेस विज्ञप्ति बनाउनु पर्ने र विभिन्न क्षेत्रीय र राष्ट्रिय पत्र पत्रिकामा वितरण गर्नु पर्थ्यो।
राज्यपाल कहाँ केन्द्र सरकारका ठूलाठूला अधिकारी र राजनैतिक नेता एवम मन्त्रीगण आउने गर्थ्यो। केन्द्रको मन्त्रीको सिक्किममा आएको बेला राजभवनमा शयन गराइन्थ्यो। त्यसकाल निकै मन्त्रीहरूसित भेट्ने अवसर जुट्यो मलाई।
तिनताक वेंकटरामन वित्त मन्त्री थिए र एकपटक उनको सेवा गर्नु पर्यो। उनी 1970 को दशकमा मोस्को गएका रहेछन। मलाई त्यतिबेला सोभियत रसिया र मोस्को भने पछि खुबै चासो लाग्थ्यो। यता हामीले पढेका लेखहरूमा संसारमा गरिबी एउटै नभएको पूर्ण समानता रहेको र सबै सुखी भएको पढिन्थ्यो। सर्वहाराहरूको शासन भएको समस्त मानवजातिलाई मुक्ति दिलाउने भने जस्तो। यही कुरा आशा राखेर उनीमाथि जिज्ञासा राखेको थिएँ। उनलेे आँखा चिम्म गरेर भने उनले मोस्कोमा लामो लामो क्यु देखे। ती मानिसहरू किन यसरी लामबद्ध भएर बसेका हुन भनी बुझ्दा खाद्यान्नको लागि त्यसरी बसेको थाहा पाए। उनले मलाई बताए रुसमा मानिसलाई गाह्राे छ, यहाँ भारतमा जस्तो आफुखुशी गर्न केही किन्न वा बोल्न पाउँदैन। (वेंकटरामन पछि गएर भारतको आठौं राष्ट्रपति पनि भए)।
राज्यपालको कार्यलयमा दुईजना निजी सचिव थिए, नारायनस्वामी र राधाकृष्णन। दुवै दक्षिण भारतीय र दक्ष स्टेनोग्राफर। सबै डिक्टेशन यही दुईले लिन्थे।
एकदिन मैले देखेँ नारायनस्वामी पेन्डुलम जस्तै कम्मर हल्लाइरहेको थियो। हामीले जिस्केर उसलाई भन्यौं तिम्रो कम्मरमा कसले स्प्रिङ बाँधिदियो। अनि सबै हाँस्यौँ। उसले भन्यो मालिकले जसो गर्छ उसको चेलाले त्यसै गर्नु पर्छ। हुनपनि राज्यपाल तल्यारखान उभिँदा कहिले स्थिर भएर उभिएको हुँदैनथियो, उसको कम्मर पेन्डुलम जस्तै हल्लाइरहेको हुन्थ्यो। भाषण गर्दा कुनै सभामा उठेर सम्बोधन गर्दा पनि उसको कम्मर हल्लिरहेको हुन्थ्यो। नारायनस्वामी पोलझोस गर्नु चुक्ली लगाउनु चम्चागिरी गर्नु पनि उस्ताद। उता राधाकृष्णन भने सोझो र आफ्नो कामसित मात्र मतलब राख्ने खालको थियो। तर कोहीबेला चम्चागिरी फाइदाजनक हुन्छ। राज्यपाल तल्यारखान सिक्किममा कार्यकाल समाप्ति पछि रोममा राजदुत भएर गए। रोम जाँदा उनले नारायस्वामीलाई पनि साथै लगेर गए।
नारायनस्वामी यसरी रोम दुतावासमा नियुक्ति पाएर जाँदा मलाई पनि थकथकी भयो पछि गएर। यदि मैले पनि त्यस्तै चम्चागिरी गर्न सकेको भए म रोम जाने मौका पाउने थिएँ भनेर। लैनसिहं बाङ्देलले लेखेका "रोमको फूल र पेरिसको काँढा" पढेको थिएँ । सम्झेर झन रोमाञ्चित भइरहेथ्यो। त्यतिबेला मेरो हालत दयनीय नै थियो। दार्जिलिङसम्म पनि दुईचार आफ्नो खर्चमा घुम्न जान कठिन। सिलगढी कता हो कता लाग्ने । हङकङ मार्केट पस्नु डर लाग्ने, भित्र गएर बाहिर निस्कन बाटो भुल्छ भन्ने लाग्ने। म दस बाह्र वर्षको हुँदा आपाले दशैँमा टिका लगाउँदै आशीर्वाद दिँदा तँ धेरै टाढा तल सिलगढीसम्म घुम्न पाओस भनेको अझै सम्झना छ। मलाई रोमको कल्पना गर्नु त सपना जस्तै थियो। यो जुनिमा पुगिने होइन अर्को जुनिमा हो को होइन लाग्थ्यो। जसो होस त्यतिखेर नारायणस्वामी भाग्यमानी लाग्यो र आफूलाई श्रपित नै ठानेँ। ( केही वर्ष अघि भने म रोम पुगेँ र दिनभर रोम शहरको विभिन्न रमनीय ऐतिहासिक र धार्मिक स्थल हेरियो।) तर नारायणस्वामीले दीर्घ आयु पाएन। रोममा दुई वर्ष बसेर फर्केर आए। चेन्नाई रेलवे स्टेसनमा रेल पर्खिने क्रममा त्यसरी नै पेन्डुलम जस्तै कम्मर हल्लाउँदै उभिएको बेला हठात हृदयघात भयो र उसको जीवनलीला समाप्त भयो।
राज्यपाल तल्यारखान अति व्यस्त र सक्रिय रहन्थे। केही न केही लेखिरहने, घुमिरहने र विकासीय कामको लागि अनेकन पहल गरिरहने। उनको कार्यकालमा सिक्किममा धेरै महत्त्वपूर्ण योजनाहरू कार्यान्वयन भए। अल इन्डिया रेडियो, केन्द्रीय ब्यांकहरूको शाखा, मिलिटेरी र सिभिल एडमिनिस्ट्रेसनको समन्वय, शिक्षा, स्वास्थ्य, कृषि विषय इत्यादि मुद्दा बारे केन्द्र सरकारसित दबाव बनाएर योजनाहरू सिक्किम भित्राए।
1980 शुरुआततिर सिक्किममा केन्द्रीय उपक्रमका ब्यांकहरू धेरै थिएन। गान्तोकमा एसबीआई थियो तर मोफसलतिर सबै ठाउँमा थिएन। ग्रामीण क्षेत्रमा कतै पनि थिएन। सेन्ट्रल ब्यांक अफ इन्डियाको पहिलो शाखा सिक्किममा खोल्नको लागि उनको विशेष पहल भयो। यो शाखा रङ्गली बजारमा खोलिने भयो त्यहाँ अरु कुनै ब्यांक थिएन। सबै उत्साहित भयो। मेरो पारिवारिक घर पनि त यही हो। म पनि खुशी भएको थिएँ । रङ्गली बजारको निम्ति यो अति राम्रो अवसर थियो।
ब्यांक शाखा शुभारम्भ गर्न सेन्ट्रल ब्यांकले राम्रो आयोजना गरेको थियो। मुम्बईबाट यो ब्यांक अध्यक्ष एवम एमडी नावल्कर आए। सिक्किम भारतमा विलय पश्चात् रङ्गली जस्तो सानो ठाउँमा राष्ट्रिय स्तरको यति ठूलो अधिकारी आएको पहिलोपटक थियो।
कोलकाता शाखाले सबै भूमिका निभाइरहेका थिए आयोजनाको निम्ति। रातो रिबन काट्नलाई तयार थियो। एउटा सेतो सुन्दर डिजाइन गरेर बनाइएको चाँदीको थालमा त्यस्तै सुन्दर चाँदीको कैँची थालमा फूल, अबिर र अक्षेता छरेर राखिएको थियो।
रिबन काट्ने समय राज्यपाल तल्यारखान, सेन्ट्रल बेंक अध्यक्ष नावलकर र स्थानीय विधायक अघि आए । तल्यारखान देब्रे थिए। उनले आफ्नो देब्रे हातमा त्यो सेतो चमक चमक चम्किरहेको चाँदीको कैँची लियो। चारैतिर हेरे र रिबन च्याट्ट काटे। रिबन काटेर कैँची थालमा हुनुपर्ने पर्ने हो तर थाल रित्तै थियो। सबै हडबड मानिसहरूको भीड को कता को कता याद पनि भएन। चिया चमेनातिर लगिए ।
त्यहाँ कैचीको खोजिहुन थाल्यो। कैँची कसले कहाँ राख्यो पता भएन। तर रिबन काटिँदा छेउमा हुनेलाई याद थियो कैँची राज्यपालले थालमा राखेको कसैले देखेन। राज्यपालको पछि पछि उसको सुरक्षा अधिकारी एक झोला बोकेर हर्दम साथ रहन्थ्यो। उसले झोला यताउता गरेको देखेको हो। तर बेलुकीसम्म धुइँपत्ताल गरेर खोज्दा पनि त्यो चाँदीको कैँची कहीँ पाइएन।
Comments
Post a Comment