रेत समाधि: छोटो टिप्पणी
मलाई यो छोटो लेखको निम्ति केही टिप्पणीबाट शुरु गर्न मन लाग्यो। रेत समाधि किन्न अघि मैले अमाजनमा रहेको टिप्पणी पढेँ। एकजनाले लेखेको थियो यस्तो उपन्यासले बुकर पुरस्कार पाए फेरि कुनै बुकर पुरस्कार जित्ने कुनै उपन्यास नपढने भनेर। पुरस्कार पाइसके पछि अर्को एकजनाले फेसबुकमा लेखे "दुई आनाको उपन्यास एक आनाको पुरस्कार।" अर्कोले लेखे यो उपन्यास लेखिकाले आफ्नै लागि लेखेकी होलिन। आफै लेख्यो आफै पढ्यो, यसलाई कसैले पढने होइन।
मलाई पनि उपन्यास पढन आरम्भ गर्दा त्यस्तै वितृष्णा नजागेको होइन। छोटा छोटा वाक्य गठन तर अधुरो लाग्ने र मानक लिखित भन्दा मौखिक भाषाको प्रयोग जस्तो। जटिल वाक्य संरचना। यद्यपि धैर्य धारण गरेर विस्तार पढदा यसको अदभूत आकर्षणले हामीलाई आफूतिर तानेको लाग्दोरहेछ। 376 पृष्ठ भएको उति लामो त होइन तर छ सात सय पृष्ठ पढे झै यसले समय लिँदो रहेछ।
हामी नेपाली उपन्यास पढन अभ्यस्त रहने पाठकलाई रेत समाधि चुनौतीपूर्ण हुनेछ। हाम्रो उपन्यास अधिकतर कथानक प्रमुख नै हुन्छ। घटनाक्रमको छोटो वा लामो शिलशिला रहेको र पाठकमा कुतुहलता जमाइराख्न सक्ने किस्सा नै चाख मानेर पढदछौँ। यही विषयमा रेत समाधिले निराश बनाउँछ र पाठकलाई किताब नपढने वा पढेर पनि मन नपराउने बनाउँछ। यो उपन्यास चरित्रप्रधान वा घटनाप्रधान होइन। चरित्र र घटना सहायक भएर आएको छ र दोयम स्तरमै छ, प्राथमिक होइन। यसमा प्रयोगमा ल्याइएको भाषा र उपन्यासको संरचना प्रमुख भएर आएको छ। यसैले यसको पाठ पात्र र उसको जीवनको घटना भन्दा पात्र निर्माण र विवृत्तिमा ल्याइएको बिम्व र प्रतीक बडी महत्त्व राख्दछ। लामो उपन्यास पढदा बिच बिचमा केही पंक्ति वा पाराग्राफ नै छोडेका हुन्छौं तर यसले उपन्यासको सार बुझ्नमा खासै फरक पर्दैन। यो उपन्यासमा भने यसको कथानक र सम्वाद वा उतकर्ष निष्कर्ष नभएर यहाँ प्रयक्त भाषा पढनु पर्ने रहेको देखिन्छ। यही कारण यसको कुनै शब्द, पद वा अनुच्छेद नपढी छोडे भाषिक बुनोटको सिरा फुस्केको जस्तो हुनेछ। यस कृतिको क्लिष्टता बुझेर यसलाई कसरी पढने भन्ने विषयमा आलोचक जेक स्टेभेन्सले जेम्स जोयसको उपन्यास युलिसस-माथि दिएको परामर्श यसमा सान्दर्भिक देखिन्छ। उनले लेखेको छ
stop trying to focus on the narrative and start just enjoying the vignettes. Read a little bit at a time and think about it and then move on, but don’t beat yourself up if you don’t understand it.
गीताञ्जली श्रीको उपन्यास पनि हामीले त्यसरी नै आख्यानलाई होइन तर लेखनलाई हेर्नु पर्दछ। सबै बुझिनु पर्छ भन्ने होइन।
लेखिकाले उपन्यासकार जेम्स जोयस चर्चामा ल्याएकी छैन तर युलिसस उपन्यासमा झै तकनिक प्रयोग गरेकी देखिन्छ। एउटा परिच्छेदमा आठ सय बडी शब्दमा कुनै प्रकारको विराम चिन्ह नराखी एक वाक्य राखिएको छ। युलिसस उपन्यासको अठारौं अध्याय जो अन्तिम पनि हो चौतिस पृष्ठ लामो एउटै वाक्यमा रहेको छ।
रेत समाधिको विशेषता यसको काव्यमयता हो। गद्य रचना भए पनि अलङ्कार बिम्व प्रतीक भरपूर छ। गद्य र पद्यको विभाजन रेखा धमिलिएको छ। गीताञ्जली श्रीले बोर्हेसको उल्लेख गरेकी छ र यहाँ बोर्हेसीय शैलीको छाप छ। बोर्हेसको कतिपय कथा, कविता र निबन्ध एकैसाथ कथा कविता र निबन्ध बनेको देखिन्छ। यो उपन्यासले यस्तै रुप लिएको छ।
पाश्चात्य साहित्य सिद्धान्तमा व्यावहारिक सत्य र सृजनात्मक सत्य भनेर साहित्य र गैर साहित्यको विभाजन देखाइन्छ। सृजनात्मक सत्य वा फिक्सनल रियलिटि यथार्थ जस्तो देखिए पनि यथार्थ हुँदैन, कल्पना मात्र हुन्छ। यसैले वास्तविक जीवनको कहानी र उपन्यास वा साहित्यमा देखिएको कहानी फरक हेरिनु पर्दछ। यही विषयलाई गीताञ्जलीले सुन्दर व्याख्या गरेकी छ – "कभी साहित्य को साहित्य की तरह पढें तो पता चले कि किस्से कहानियाँ और गाथाएँ दुनियाँ में अपने को घोल के नहीं चलते, उससे अपने को अलग करके चलते हैँ। उन्हें दुनियाँ से न संक्रामिक न समकालिक न एकमेल न तालमेल न निर्विघ्न साथ बनाता हैं।" यसले छर्लङ्ग बनाउँछ रेत समाधि उपन्यासलाई कसरी बुझिनु पर्छ भनेर।
लोकप्रिय आख्यानकार कुमार नगरकोटीले आफूलाई कथाकार, उपन्यासकार नभनेर फिक्सन डिजाइनर भन्न रुचाउँछ। लेखनमा डिजाइनिइ भनेको स्वतस्फूर्त लेखन नभएर एक योजना अनुसार लेखिनु भन्ने अर्थ आउँछ। त्यसो त सय वर्ष अघि नै आलोचक पर्सी लूबकले आर्ट अफ फिक्सन नभनेर क्राफ्ट अफ फिक्सन भनेको थियो । उसको विचारमा उपन्यास लेखन पनि शिल्प नै हो। शिल्पकार जति अव्वल उति नै उपन्यास उत्कृष्ट।
वास्तवमा टि एस ईलियटका लभ सङ्ग्स अफ अल्फ्रेड जे प्रुफोक, उसर भूमि, इन्द्रबहादुर राईको "कठपुतलीको मन", वैरागी काइँलाका कविता "हाट भर्ने मानिस", " म गङ्गा निलो बग्छु" "प्लाञ्चेटको टेबल" "अस्तित्वको दावीमा साबातको वैला उत्सव" डिजाइन गरेका हुन, कुनै पनि स्वतस्फूर्त होइनन्। यहाँ फिक्सन डिजाइनको प्रसङ्गमा रेत समाधि उपन्यास डिजाइनको पराकाष्ठा भनेर दावी गरिए अतिशयोक्ति हुने छैन।
उपन्यास तीन भागमा विभाजित छ १. पीठ २. धू
प ३. हद-सरहद । कथाको मुख्य पात्रा अस्सी वर्ष पुगेकी विधवा महिला छ। सम्पूर्ण कथावस्तु उसैको वरिपरि घेरिएको छ। आफ्नो पतिको मरण पछि उसलाई जीवनप्रति खासै उत्साह नरहेको देखिन्छ र ऊ उठेर चहल पहल गर्दिन, सुतिरहन्छे। परिवारमा छोराछोरी, बुहारी नाति सबै छन। ठूलो छोरा सरकारी कार्यलयमा उच्च ओहदामा छ। सबै सुखसुविधा सम्पन्न। यद्यपि परिवारभित्र खिचातानी र भनाभैरी भने भइरहन्छ। एकले अर्कोलाई दोष्याउँछ सबै धन्दा एकैजनाले निभाउनु पर्ने तर जस कसैले नदिने। छोराबुहारी बुढी आमाको पैसाप्रति लोभ गर्छन। पैसा चेपेर राख्नु ठिक होइन, यसैले चेक साइन गरेर पैसा निकासी गर्ने चाल गरिबस्छ।
वृद्धासित हाँसखेल गर्ने भने उसको नाति सिद् मात्र थियो। गिटार बजाएर गीत सुनाउने गरिदिन्छ। उसले ग्रानी भनेर सम्बोधन गर्छ।
एकदिन वृद्धा उसको बिछ्यौनामा देखिँदैन। यताउता खोजी हुन्छ, तर भेटिन्न। ऊ हराउछे। तर तेह्र घन्टावाद पता लाग्छ प्रहरीबाट। घर ल्याए पछि ऊ अलग बसेकी छोरीसित जान्छे।
आमा र छोरीको एकार्काप्रतिको माया अत्यन्तै सजीव चित्रण गरेकी छ लेखिकाले। थोरै लेखनमा देख्न पाइन्छ यस्तो सशक्त लेखन। छोरी चाहन्छे आमालाई सर्वस्व खुशी दिऊँ। जस्तो चाहन्छ सबै उसको ईच्छा अनुरुप गर्न दिऊँ।
यही दोस्रो भागमा एक तेस्रो लिंगी पात्र प्रवेश गराइएको छ। उसको नाम रोजी। खासमा ऊ बहुरुपैया छ। उसको टेलरिङ्ग दोकान छ र दोकानमा पुरुषको वस्त्र लगाएर बस्छ। यतिबेला उसको नाम रजा हुन्छ। अरु बेला भने महिलाको वस्त्र लगाउछ र महिलाको भेषमा ऊ रोजी हुन्छे। वृद्धासित रोजीको परिचय थियो र ऊ आइबस्छे।
रोजीले वृद्धालाई बाजी भन्छिन्। यही रोजीले उसलाई पाकिस्तान जाने बारे बताएको हो। पाकिस्तान जानलाई पासपोर्ट बनाउनु पर्ने कुरा गरेको ह। तर रोजी पाकिस्तान जान पाउँदिन। उसको हत्या हुन्छ। वृद्धा फेरि हताश हुन्छिन। उसको अघिको चहलपहल रोकिएर सुतिबस्न थाल्छिन। अचानक ऊ पाकिस्तान जान आग्रह गर्छिन्। ठूलो छोराले पासपोर्ट बनाए पछि पाकिस्तानको कुनै चिनाजानाको सहयोगबाट वागा सीमाना पार गरेर प्रवेश गर्छन आमा छोरी। आमाछोरी बिना भिजा आएको पाकिस्तानी सूत्रलाई ज्ञात भएपछि सुरक्षातन्त्र सतर्क बन्दछ र दुवैको खोजी गर्न थाक्छ।
यहाँ आएर कहानीले मोड लिन्छ र पाकिस्तान आउने जिद गर्नुको रहस्य खुलिन्छ। भारत पाकिस्तान विभाजन पूर्व कालमा ऊ पाकिस्तान क्षेत्रमा जन्मिएकी रहिछ। यही उसको पहिलो प्रेम र विवाह पनि भएको थियो। आफ्नो यही प्रथम र विवाहको स्मृति पुनर्जीवित गर्न पाकिस्तान आएकी थिई। ऊ हिन्दू भएकी कारण ज्यान जोगाउन रेगिस्तानको बडो कठिन यात्रा गरेर भारत आएकी थिई। उसको पतिको नाम अली अकबर थियो।
उनै अली अकबरलाई खोज्दै पाकिस्तानको खैबरमा पुग्दा आमाछोरी प्रहरी हिरासतमा पुग्छन। उसको उमेर र कुनै गलत काममा लागेका कुनै प्रमाण नभए पछि भारत प्रत्यावर्तन गर्न प्रहरीले योग मिलाउँछ। तर ऊ भारत फर्केर जान मान्दिनँ। ऊ भन्छे ऊ यही जन्मेकी हो र यो उसको भूमि पनि हो। एक रात हाजितबाट भाग्ने प्रयासमा ऊ प्रहरीको गोलीबाट मारिन्छे।
मुख्य पात्राको दृष्टिबाट लेखिएको उपन्यास हो। सामान्यत: यसप्रकारको लेखन प्रथम पुरुषमा हुने गर्दछ। तर यहाँ त्यसो गरिएको छैन। प्रथम पुरुष प्रयोग नगरी यसरी लेख्न सक्नु लेखनको दक्षता हो। यसरी लेख्नु धेरै तकनिकी कठिनाइ आँउदछ जो गीताञ्जली श्री जस्ता अत्यन्त प्रतिभाशाली सर्जकको निम्ति भने सहज पानीको बहाव मात्र भएको लाग्छ।
उपन्यासमा गीताञ्जलीले आफ्नो अगाध अध्ययन र उच्च विचारको परिचय दिएकी छिन। ऊ आफ्नो गरिमामय भारतीय संस्कृतिप्रति जतिको सम्वेदनशील छ आफ्ना अग्रज सर्जकहरूप्रति पनि उतिकै गौरवान्वित भएकी यहाँ चर्चामा आएका विविध सर्जकहरूका उल्लेखबाट बुझिन सकिन्छ। पूर्व सर्जकहरूको प्रसङ्गबाट लेखिका कुनै पनि लेखनको नैरन्तर्यता र सिर्जनधर्मितामा रहने प्रेरणाको सम्मान गरेकी पाइन्छ।
समकालीन भारतमा देखिएको अन्ध राष्ट्रवाद, धार्मिक उन्माद र चरम साम्प्रदायिकता सत्ताको प्रत्यक्ष परोक्ष सहभागिताले कुनै पनि सचेत नागरिकलाई भविष्य आशंकित बनाउँदछ। यसले निराशा र तनावग्रस्त स्थितिमा जानलाई उन्मुख गराउँदछ। देशको यही स्थितिप्रति एक खवरदारी गरेर आएको छ यो उपन्यास। धर्मान्धता, साम्प्रदायिकता र घृणाको विरोधमा रहेको छ। रेत समाधि-ले उचालेको यही विचारले प्रभावित भएँ। पढिसकेर स्मृतिमा दोहोर्याउँदा एक चरम आनन्दको अनुभूति दिलायो।
Comments
Post a Comment