सिक्किम डायरी - ५
असामान्य सामान्य इगो
साल २००९ को अक्टोबरको दोस्रो
पक्षतिर गान्तोकको काजी रोडबाट ओह्रालो झर्दै गर्दा फोन आयो। मैले हेलो भनेँ। उताबाट
कुनै महिलाले एम आइ स्पिकिङ टु मिस्टर तामाङ भनी। मैले यस भनिनसक्दा उताबाट "दिस
इज झिमोनी हेयर, फ्रम नागाल्यान्ड" भनेर प्रतिउत्तर आयो।
झिमोनी 2009 मा नर्थ ईस्टर्न
जोनल कल्चरल सेन्टरकी निर्देशक थिई। 1996 ब्याचको आइ ए एस अफिसर। नागाल्यान्डकी नागा
महिला। हेर्दामा केही होचो कद भए पनि गोरी र राम्री थिई। आइ ए एस अधिकारी त्यसै पनि
आत्मविश्वासी र स्वाभिमानी हुन्छन्। सँधै स्मार्ट पहिरनमा। केन्द्र सरकारको संस्कृति मन्त्रालय र यसका विभिन्न
उपक्रमहरूका विविध कार्यक्रमहरूमा हाम्रो भेट भइबस्थ्यो। राम्रो चिनाजानी भएको थियो।
विभागको कामको शिलशिलामा हाम्रो बातचित हुन्थ्यो।
फोनमा उसले मलाई एक लोक नाँच
आउँदो गणतन्त्र दिवसको लागि तयार गर्न सक्छ कि सक्दैन भनेर सोधिन। मैले भने म कार्यलयमा
छलफल गरेर बताउनेछु। तर उसले भनी पन्द्रह मिनटभित्रमा यस ओर नो मा भन्नू पर्नेछ। उसले
दिल्ली हेडअफिसमा एक घन्टा भित्रमा जवाफ दिनुपर्नेछ। छलफल र सोधपुछ गर्ने समय छैन।
म अरकच्च परेँ। म बिच बाटोमा छु। ट्राफिक जाम छ। पन्द्रह मिनट समय मात्र समय। झट्ट
निर्णय लिनु पर्ने भयो। उसले मलाई बताइ दिल्ली मन्त्रालयले पूर्वोत्तर क्षेत्रबाट एक
विशेष लोक नृत्य गणतन्त्र दिवसको निम्ति आयोजन गर्ने निर्देश दिएको छ। यो नृत्य यसपालि
सिक्किमबाट गरियोस् भन्ने चाहना बताइन् । सिक्किमबाट राखिनुपर्ने नृत्य पनि चयन गरिएको
रहेछ तामाङ सेलो भनी। यदि सिक्किमले असर्थता जनाए अन्य राज्यलाई भनिनेछ भनेर पनि जनाइयो।
सिक्किम संस्कृति विभागले
समय समयमा विविध लोक नृत्यहरू विभिन्न स्थानहरूमा प्रदर्शन गर्छन्। उसले यी मध्ये तामाङ
सेलो विषेश मन पराएकी रहिछ।
पूर्व प्रधानमन्त्री राजीव
गान्धीको सक्रियतामा गठन भएको क्षेत्रीय सांस्कृतिक केन्द्र पनि हुन। सम्पूर्ण भारतलाई
सात सांस्कृतिक क्षेत्रमा विभाजित गरिएको छ।
उत्तर पूर्वोत्तर क्षेत्रको केन्द्रलाई उत्तर पुर्वोत्तर सांस्कृतिक केन्द्र भनिन्छ।
यसमा आठ पूर्वोत्तर राज्यहरू सदस्य छन। यसको मुख्यालय डिमापुर, नागाल्यान्डमा छ। पूर्वोत्तर
क्षेत्रमा पश्चिम बंगाल, उडिस्सा बिहार सिक्किम असम छन। यसको मुख्यालय कोलकातामा छ।
सिक्किम उत्तरपूर्वी र पूर्वोत्तर दुवैका सदस्य
छन। भारतको लोक नाँच, लोक गीत, चित्रकला, नाट्यकला एवम शास्त्रीय
परम्परा सबैको अनुसन्धान संरक्षण, सम्वर्धन
र प्रसारण यसको मुख्य भूमिका हो। यी संस्थाहरू सरकारी विभाग नभएर स्वायत्त संस्थाको
रुपमा सञ्चालन गरिन्छ। केन्द्र सरकारले यसको निम्ति कर्पस फन्ड बनाएको छ। सदस्य राज्य
सरकारले तय हिस्सा दिनुपर्ने हुन्छ ।
निर्देशक झिमुनीले भनेकी थिई
नृत्य समूहमा कम्तीमा ३०० नृत्याङ्गना हुनुपर्छ। राजमार्गमा प्रदर्शनीको निम्ति भएको
कारण थोरै संख्यामा नृ्त्याङ्गना रहे त्यहाँ देखिने हुने छैन।
मलाई सदस्य संख्याले चिन्तामा
डुबायो किनकि यत्रो सदस्यको खर्च धेरै बडी हुन्छ। उनीहरूको कस्ट्युम, मेक अप, खानापिना,
बास व्यवस्था, यात्राको हिसाब धेरै माथि हुन्छ। यसैले लगानी कसले गर्ने भन्ने बारे
सोधेँ। उसले तत्काल भनी सम्पूर्ण खर्च केन्द्रले गर्नेछ र राज्यलाई कुनै भार दिइने
छैन।
नियम अनुसार यस्तो प्रस्ताव
फाइल चलाएर मन्त्री र मुख्य मन्त्रीको समेत अनुमति लिनुपर्ने हुन्छ। यहाँ भने समय थिएन।
मैले स्वीकृति दिनु भनेको केही तलमाथि भए जवाफदेही म नै हुने थिएँ। मलाई खतरा लाग्यो।
यद्यपि सम्झेँ यस्तो अवसर विरलै आउँछ। सिक्किमको लागि फाइदाजनक हो। यसले देशमा सम्मान
बडाउनेछ। सबैकुरा विचार गरेर हुन्छ भनिदिए झिमोनीलाई।
कार्यलयमा आए पछि विभागको
सम्बन्धित निकायको कर्मचारीहरूलाई सूचना दिएँ आवश्यकता अनुसार तयारी गर्ने कामको निम्ति
जुट्नको लागि। सबै उत्साहित देखिए। प्रसन्न देखिए उनीहरू। सिक्किमले गणतन्त्र दिवसमा
सहभागिता जनाउने अवसर त धेरै पटक अघि पाएकै थिए। सिक्किमको संस्कृति झल्काउने झाँकी
बनाएर गणतन्त्र दिवसको दिन दिल्लीको राजपथमा लगेकै हुन प्रदर्शनी गर्न। नभन्दै सिक्किमेली
लोक नाँचको बृहत् झाँकी भने देखाउने मौका पाएको थिएन। पहिला देखाएका झाँकीहरू आफ्नै
बजेटबाट खर्च गरेर लगिएका हुन। यसपालि एक विशेष कुरा के भयो भने यतिको विशाल दलको सहभागिता
पहिलोपटक हो।
हप्ता दिन पछि मैले विचार
गरेँ यति ठूलो समूहलाई एक लयमा नाँच्न लगाउन निकै कठिन हुन्छ। लय मिलेन भने यसको रौनक
रहन्न। बदनामी होला। डान्स कोरियोग्राफर रहे यसलाई सही ढंगमा प्रस्तुत गर्न सकिएला।
त्यतिबेला मेरा सहयोगीहरूले भने कुनै चिन्ता छैन विभागमा रहेका नृत्य निरक्षकहरू अनुभवी
छन, कोरियोग्राफी गर्न जान्दछन। तीनचार जना आ-आफ्नाा क्षेत्रमा विशेषज्ञ छन। सबै ठिक
भइहाल्छ।
यही समय सिक्किममा सत्तारूढ
दल सिक्किम प्रजातान्त्रिक मोर्चाद्वारा नृत्य प्रतियोगिता आयोजन गरेको थियो। पछिल्लो
केही महीना देखि नै यो नायुमा टेलिभिजनमा देखाइरहेको थियो। निर्णायक मण्डलीमा नेपालको
नृत्य निर्देशक कमल राई थिए। उनले गरेका नृत्य निर्देशन पुरस्कृत पनि भएको सुनियो।
मलाई लाग्यो उनी एक पारंगत नृत्य निर्देशन हुन। उनलाई व्यक्तिगत रुपमा कहिले नभेटेको
र चिनजान हुने कुरा आएन। तर पनि एकपटक उनलाई हाम्रो यो डान्स ग्रुपको कोरियोग्राफी
गरिदिने अनुरोध गर्ने मनसाय जाग्यो। यसको निम्ति यथोचित पारिश्रमिकको व्यवस्था मिलाउनु
पर्ने विचार गरेँ। गणतन्त्र दिवसको भव्य आयोजनमा
प्रत्येक सहभागी समूहको परिचय दिइन्छ। कुनै नृत्य छ भने त्यो सहभागी दलले प्रतिनिधित्व
गरेको राज्य वा संस्था र नाँच विशेषको उल्लेख उदघोषकले गर्दछ। यस आयोजनाको प्रत्यक्ष
प्रसारण हुन्छ र यसलाई सय करोड भन्दा अधिक दर्शकले हेर्दछन। भारतीय दुतावास संसारभरका
विभिन्न देशहरूमा छन। दुरदर्शनको यस प्रसारण ती सबै दुतावासमा हेरिन्छन। यसरी यो कार्यक्रम
एकप्रकार विश्वव्यापी रहेको हुन्छ। एकजना नेपाली कोरियोग्राफरको नाम करोडौं
दर्शकले सुन्नेछन। कमल राई नृत्य निर्देशकको नाम यसरी व्यापक हुनेछ सम्झेको थिएँ। हुनत
कमल राई नेपालको नागरिक हो । तर कला कुनै देश र जातिमा सीमित हुँदैन। कला समस्त मानवजातिको
निम्ति हुन्छ। कमल राईलाई पनि मैले त्यही दृष्टिकोणले हेरेर उनको सहयोग लिने विचार
गरेको थिएँ। कुनै कलाकारको सफलता भनेको उसको कला अधिक भन्दा अधिक पारखीहरू
माझ पुग्न सक्नु हो। हिजआज फेसबुकमा केही पोस्ट गरे पछि त्यसमा आएको लाइक्स, कमेन्ट र सेयरको अपेक्षा गर्दछ। मेरो एक मित्रले
भनेको याद आउँछ उसले एक फोटो हाल्यो अनुहार उज्यालो पारेर भन्यो ल हेर्नुस् है अब सय डेड सय लाइक्स बिटिटिटि आउँछ।
कसैले केही पोस्ट गरेर लाइक्स र कमेन्ट आएन भने निराश हुने झोँकिने पनि देखिन्छ। आफ्नो
पोस्टमा लाइक्स कमेन्ट नआएको खन्डमा सबैलाई धिक्कारेर गालि गरेर अर्को पोस्ट हालेको
पाइन्छ। व्यक्ति आफू लोकप्रिय रहेको हेर्ने चाहन्छ।
मैले सम्झेको थिएँ कमल राईको
निम्ति यो एक सुनौलो अवसर हो उसको सुनाम करोडौं मानिसले श्रवण गर्नेछ। जीवनमा
यस्तो क्षण सबैको निम्ति आउँदैन।
उनको फोन नम्बर हात लागे पछि
मैले फोन गरेँ। तीन चार दिन यस्तै दस पन्द्रह पटक फोन गरेँ, तर उनले उठाएनन। अपरिचित नम्बरबाट फोन आउँदा फोन
काट्ने वा नउठाइने गरिनु असामान्य होइन। मैले सम्झेँ यस्तै भयो होला।
उनीसित परिचित र नाँच प्रतियोगितामा
निर्णायक मन्डलीमा रहेका सह सदस्यलाई फोन गर्न लगाएँ। कमल राई त्यतिबेला
सिक्किमबाट बाहिर गएको खबर आयो। मेरो प्रस्तावबारे प्रश्नमा उनले समय नभएको र असमर्थता
जनाएको सूचना दिए।
दस बाह्र दिनपछि उनी फेरि
गान्तोक आएको र प्रतियोगितामा उपस्थिति दिने खबर पाएँ। म उनलाई भेट्न उनी भएको
ठाउँ गएँ मेरा केही सहयोगीको साथ। उनी त्यहाँ भएको थाहा पाइयो। एक परिचित आयोजकको समिति
सदस्यलाई खबर गरेर कमल राईलाई भेट्ने आग्रह गरेँ। उनले सोझै फेरि भेट्नलाई पनि समय
नभएको खबर पठाए, उनको फुर्सद पनि छैन भनियो।
एकमनले सम्झेँ संस्कृति
मन्त्रीलाई अनुरोध गरेर कमल राईलाई यो कार्य गर्न बाध्य बनाऊँ।
कलाकारहरूमा अहम हुन्छ, र आफ्नो कलाको मूल्यप्रति सम्वेदनशील हुने गर्छ।
मलाई लाग्यो उनले पनि सम्झिरहेका छन उनको कला र प्रतिभा त्यति सस्तो र सतही छैन
कुनै एक सामान्य सरकारी कर्मचारीको बहकाइमा आउने। उनको सम्मान राखिदिनु पर्छ र कुनै
शक्तिको दुरुपयोग गर्नु हुँदैन। मनमा विषाद राखेर पनि अब उसको उनलाई पुन अनुरोध नगर्ने
भएँ।
३०० नर्तक पुर्याउन धेरै
गाह्रो थियो र १५० मा सीमित राख्यौं। सिक्किमको
विभिन्न क्षेत्रमा रहेका तामाङ नर्तक नर्तकी र अन्य जो यो नाँचमा पारंगत थिए उनीहरूलाई
पनि सामेल गरेर पूर्ण गरियो।
एक महीना पछि गुवाहाटीमा समूहलाई
बोलाइयो। त्यहाँ उनीहरूको नाट्यकला प्रदर्शनीय छ छैन जाँचको निम्ति बोलाइएको थियो।
निरक्षकहरूको सन्तुष्टि पछि गणतन्त्र दिवस सहभागिता जनाउन सिफारिस गरिए।
गणतन्त्र दिवसको अवसरमा
राजपथमा सिक्किमका साँस्कृतिक बिम्व देखाउने झाँकीहरू अघि पनि प्रस्तुत गरिएको हो तर
कुनै नृत्य भने प्रस्तुत गरिएको थिएन। झाँकीसित नृत्य टोली हुन्थ्यो तर त्यो थोरै सदस्य
संख्या भएको हुन्थ्यो। सय डेड सयको नृत्य टोली सहभागिता जनाउने अवसर यसअघि पाएको थिएन। यसैकारण सिक्किमको सन्दर्भमा
अभूतपूर्व रहेको हो।
गणतन्त्र दिवसमा प्रदर्शन
गरिएको तामाङ सेलो धेरैले मन पराए र पछिबाट विभिन्न संघ संस्थाले उनीहरूको निम्ति
प्रस्तुत गरिदिन माँग आएको थियो। हुनपनि यति ठूलो टोलीले एकसाथ कुनै नेपाली
संस्कृतिभित्र पर्ने नाँच गणतन्त्र दिवसमा प्रदर्शनी गरेको पहिलोपटक थियो। नाँच धेरै
आकर्षक भएको थियो। तर यति ठूलो टोली लिएर जताततै लैजान व्यावहारिक समस्या थियो।
सिक्किमको टोली राजपथमा नाँच
देखाउँदै अघि बडदा उदघोषकले यसबारे बताए। यस्ता समूह नाँचको निम्ति नृत्य निर्देशक
वा कोरियोग्राफर हुन्छ र उसको नाम पनि गर्वसाथ लिइन्छ। हामीलाई यहाँ असन्तुष्टि
यसैमा भयो कि हाम्रो टोलीको कुनै कोरियोग्राफारको नाम उदघोषणा हुन सकेन। नाँचको विशेषता
र सांस्कृतिक परिचय लेखेर दिएको हुन्छ। उदघोषकले त्यसैलाई पढने हो। हाम्रो
सिक्किमबाट गएको नृत्य टोलीको निर्देशन एक सानो समूहले गरेका थिए र उनीहरू
विभागभित्रका धेर र बाहिरी एकदुई जानकारहरू सामेल थिए। यसैले कुनै विशेष
कोरियोग्राफर थिएन। यदि कमल राईले स्वीकृति दिएको भए उनको नाम दिइने थियो र उदघोषकले
उल्लेख गर्ने थियो। तर यसो हुन सकेन। गणतन्त्र दिवसमा प्रस्तुत गरिएको त्यो नाँच सफल
रहे तापनि मलाई भने हाम्रो कुनै कोरियोग्राफरको नाम सामेल गर्नु नसक्नु अवसादको विषय
बन्यो। कमल राईलाई थाहा पनि छैन वा भएन। उनलाई याद नभए पछि कुनै फरक परेन। तर मलाई
भने 26 जनवरीको त्यो बृहत् आयोजनामा कोरियोग्राफर कमल राईको नाम उल्लेख गराउन
नसक्नु विषादमय नै लागेको छ।
Comments
Post a Comment