प्रवीण जुमेली अनि सन्नेरेटा
पेम्पा तामाङ
भाषाको सरलतम परिभाषा मनको
भाव बुझाउने माध्यम भनिन्छ। भाषामा लेखिने हो कथा कविता उपन्यास र समालोचना। यसरी
बुझ्दा भाषा पहिलो संरचना भयो र यसैको माथिल्लो संरचना भयो साहित्य लेखन। भाषा संरचना
भयो भने साहित्य लेखन अधिरचना। तर कथा कविता वा उपन्यास लेख्दा सर्जकलाई अधिरचनाको
चेतना भएको थोरैमा मात्र देखिन्छ। सर्जकले कथा कविता वा उपन्यासबाट कुनै
वस्तुस्थितिको चित्रण वा कहानी बताउने ध्यान बडी गरिरहेको हुन्छ। सन्नेरेटा उपन्यास र अन्य नेपाली
कथा कविता र उपन्यासबिच रहेको अन्तर यहाँ आएर छुटिन्छ। उपन्यासकार जुमेलीले सन्नेरेटामा
उपन्यासलाई कुनै कहानी बताउन भन्दा उपन्यासको रुपको भेद चिनाउने एक माध्यम बनाएको
छ। यस कृतिमा कथा भन्दा लेखनकला बडी स्थान ओगटेको स्पष्ट बुझिन्छ। उपन्यासको भेद वा
यसको सम्भावनामा सचेत कलाको भावप्रति चिन्तन हो। साहित्यको अन्य विधा झैँ उपन्यास
विधा होइन भन्छ मिखाइल बक्तीन। कविता नाटक महाकाव्य मृत विधा जस्तो हो भने उपन्यास
भर्खरै उदाएको र फक्रिँदै गरेको हो। यसको भविष्य कस्तो हुनेछ अझ निश्चित नभएको
बताउँछन्। सन्नेरेटा उपन्यासको नवीनताले यही बताएको छ। जुलिया ख्रिस्तेभाले बताएकी
छ प्रारम्भिक चरणका उपन्यासहरू जस्तै चार्ल्स डिकन्स, स्विफ्ट, रबाइलासका उपन्यासहरू
अनुकरणात्मक र पठनीय छन। तर वीशौँ शताब्दी आएर उपन्यासको रुप फेरियो। यस शताब्दीका
उपन्यास पनि अनुकरणात्मक नै रहे पनि नबुझिने खालको भयो जस्तो जेम्स जोयसको युलिसस, भाषिक एकालाप हुनु पुग्यो जस्तो प्राउस्ट या काफ्काका
उपन्यासहरू छन। एकाइसौँ शताब्दीमा प्रवीण जुमेलीको सन्नेरेटा यही परम्परालाई अघि बडेको
देखिन सकिन्छ। सन्नेरेटामा एकालाप र अबोध्यता दुवै विद्धमान छ।
केन्द्र भञ्जन
सन्नेरेटा उपन्यासमा कुनै
एक मुख्य विचार वा कथा छैन अथवा कुनै एक प्रधान पाठ छैन। सबै उपपाठ छन। यसले उपन्यास लेखनको केन्द्रीयतालाई यसरी
भत्काएको छ।
केन्द्र भञ्जनको अवधारणा
ल्याउने श्रेय जाक देरिदालाई दिइन्छ। उनको "मानव विज्ञानको निदेशमा संरचना चिन्ह
अनि क्रिडा" (स्ट्रक्चर, साइन एन्ड प्ले इन
द डिस्कोर्स अफ द ह्युमन साइन्स) मा केन्द्र भञ्जन विषय गहन विश्लेषण गरिएको विचार
छ। यसमा उनले भनेको छ कुनै पनि विचार वा संरचनाको केन्द्र हुन्छ र यस केन्द्रलाई आधार
दिने सहायक संरचना हुन्छ भन्ने विचार रहेको छ। केन्द्र बिना कुनै संरचनाको कल्पना
पनि गर्न सकिन्न भन्ने धारणा बनेको छ। उनी भन्छ यस केन्द्रको विचारले यसको उपस्थापना
वा अन्तर्क्रियाको सम्भावना समाप्त गर्दछ। केन्द्रको कुनै पनि अंग वा उपसंरचना हेरफेर
गर्न बन्द हुन्छ। यसैले केन्द्रको अवधारणाले संरचनाको केन्द्रत्व बाहिर देखिने हुन्छ।
केन्द्र पूर्णताको केन्द्रमा हुनुपर्ने हो तर यसलाई बाहिर देखिन्छ। (it has always been thought that the center,
which is by definition unique, constituted that very thing within a structure
which while governing the structure, escapes structurality…………The center is at the
center of totality, and yet, since the center does not belong to the totality (is
not part of the totality) the totality has its center elsewhere.) देरिदाले यहाँ दृष्टि दिन्छ केन्द्र र परिधिको भिन्नताको जुन अवधारणा छ त्यो भ्रामक छ। यस विचार अनुसार
सबै परिधि मात्र हुन्छ केन्द्र हुँदैन। पाठको केन्द्रीयता र परिधीयता यसैले प्रश्नचिह्नको
घेरामा बस्दछ। सन्नेरेटा उपन्यासमा कुनै एक मुख्य कारक मुद्दा वा कथानक नरहेर विविध
विषय प्रवाह भएर रहेको लेखन भएको हुनाले यसले पनि केन्द्रको अवधारणालाई अङ्गिकार नगरेको
भन्न मिल्दछ।
उपपाठहरू मात्र रहेको कारण
पाठकलाई उपन्यास कसको कथा वा कुन विषयमा लेखिएको हो भने निर्क्यौल गर्न कठिन पर्छ।
यसले उपन्यासको दुर्बोध्यता बडाएको छ र सरल सहज पाठमा मात्र अभ्यस्त पाठकलाई आकर्षित
गराउन सक्दैन।
च्यानल सर्फिङ
हिजोआज टेलिभिजनमा विभिन्न
कार्यक्रमहरू एकैसाथ प्रसारण भएको हुन्छ। दर्शकलाई मन परे अनुसार कार्यक्रम हेर्ने
सुविधा हुन्छ। रिमोट हातमा लियो अनि च्यानल चेन्ज गर्यो। एकपछि अर्को कार्यक्रम
हेर्यो। अर्को च्यानलमा भिन्न कार्यक्रम हुन्छ। सन्नेरेटा उपन्यासमा एक परिच्छेद
सकेर अर्को परिच्छेद आउँदा अघिको कथाको निरन्तरता नभएर फरक कथा आउँदछ, पाठकले नयाँ कथा पढनु पर्ने हुन्छ। यसले च्यानल
सर्फ गरेको अनुभूति दिन्छ। उत्तराधुनिक लेखन प्रविधि भित्र आउने तकनिक हो यो।
अन्तर्पाठ्यता
सन्नेरेटा उपन्यासको
प्रमुख आकर्षण यसको अन्तर्पाठ्यता हो। लेखनमा अन्तर्पाठ्यताको सिद्धान्त विकास
गर्नेमा बक्तीन, रोल्याँ बार्थ र जुलिया ख्रिस्तेभा
प्रमुख छन।
पहिला मिखाइल बक्तीनले सम्वादवादको
(dialogism)
सिद्धान्त ल्याए। उनले
1940 मा लेखेको लेखमा बताएको छ कसरी सृजनात्मक लेखनमा आफ्ना पूर्वजहरूको प्रभावमा रचनालाई
साकार गराएको हुन्छ भनेर। अघिल्ला पूर्व लेखकहरूका लेखनको अनुकरणात्मक/व्यंग्यात्मक चित्रण नै हुन्छ पछिल्ला लेखनहरू। यसरी एउटा
उपन्यासमा बहुभाषिकता उपस्थित रहेको बताउँछ बक्तीन। उसको एकल लेखन भनेको एकल नभएर मिश्रित
नै हुन्छ।
जुलिया ख्रिस्तेभाले भनेकी
छ कुनै पनि पाठ्मा धेरै बोलीहरू अन्य पाठबाट लिइएको हुन्छ र त्यसको मिसावटले नयाँ
र पुरानो पाठको अप्रतिमतालाई साम्य गराउँदछ। ( a permutation of texts, an intertextuality; in the
space of a given text, several utterances, taken from other texts, intersect
and neutralise one another.)
रोल्याँ बार्थले बताएको छ
कुनै पनि पाठ पूर्व पाठको नयाँ अंश हो। पुरानो पाठको संकेत, फर्मुला, लय विधान, सामाजिक भाषाको टुक्रालाई सारेर नयाँ पाठमा पुनर्वितरण
गरिएको हुन्छ। ( Any text is a new tissue of past citations, Bits of code, formulae,
rhythmic models, fragments of social languages etc pass into the text and are
redistributed within it.)
यसले बुझाउँछ कुनै पनि सर्जकले नितान्त नौलो वा निक्लाम मौलिक
भनिने सिर्जना गर्न सम्भव छैन र प्रत्येक लेखन पूर्व लेखनकै परिवेशभित्र रहेको
हुन्छ। यसैले कुनै पनि सिर्जनात्मक लेखनमा अनेकौं पाठका केही न केही भागको भागिदारी
रहेको हुन्छ। यसैलाई अन्तर्पाठ्यता भनिएको हो।
सन्नेरेटा उपन्यासले
परोक्ष होइन प्रत्यक्ष देखाएको छ यो उपन्यासमा अनेकौं पाठका सहभागीता रहेको छ भनेर।
यही कारण यसको विशेषता यही बनेर आएको छ भनिएको हो।
बौद्ध धर्मको धम्मपद, हर्मन हेसको प्रसिद्ध उपन्यास सिद्धार्थ, ईलियटको उसर भूमि, दान्तेको डिभाइन कमेडी, कुमार नगरकोटीको उपन्यास मिस्टिका, नागार्जुनको मूल माध्यमिका कारिका, नित्सेको जाराथुस्त्र, गालिब, गायत्री
चक्रवर्ती स्पिभाकको के सबअल्टर्नले बोल्न सक्छ ? निबन्ध, महास्वेता देवी ( सन्नेरेटामा भने महादेवी वर्मा), सेमुयल बेकेटको गोदोको पर्खाइ इत्यादि पाठ भएर आएको
छ। यसले कुनै पनि पाठको मौलिकता र अद्वितीयताको दावीलाई चुनौती दिन्छ। सबै पाठ अन्तर्पाठ्य
रहेको विचारलाई स्थापित गर्दछ।
विभिन्न पुस्तकको अंश कथामा
स्वाभाविक रुपमा समेटिएर तादात्यमता राख्न सक्नु सन्नेरेटा उपन्यासको विशेष
उपलब्धि हो। पाठकलाई एक भन्दा बडी पाठ चिनाउने र कसरी भिन्न समय र भिन्न परिवेशमा
लेखिएका कृतिहरू एक विशाल संरचनाको अंग मात्र हो भन्ने महत्त्वपूर्ण विचार यसले दिन
सकेको छ। ज्ञानका विभिन्न अनुशासनहरूको पारम्पारिक विभाजन खुकुलो बन्धनमा रहन गएको
र एक क्षेत्रबाट अर्को क्षेत्र सहज प्रविष्टि सम्भव रहेको यसले बुझाएको छ। अन्तर्पाठ्यताको
अध्ययनले यही बताउने हो।
पराख्यान (मेटाफिक्सन)
"कार्निवोरस, भादास र चारदहरू कुनाको
एक टेबलअघि रन्डेवुमा छन। उनीहरू प्र को कथापाठबाट उफ्रिनिस्केका हुन। प्र ले एउटा
कथामा यिनीहरूलाई "मेरो अलिखित उपन्यासका पात्रहरू" भनी उल्लेख गरेको छ अरे
भन्छ। हो त्यहीबाट उफ्रिनिस्केका हुन यिनीहरू। मान्नुहुन्छ ------पात्रहरू त्यसरी उफ्रिन्छन भन्ने कुरा? नमाने
पनि उपाय छैन। उनीहरू आइसकेका छन।"
यहाँ कार्निवोरस, भादास, चारद तीन पात्र देखाइएका
छन र यी तीन पात्रहरू पनि कुनै सजीव पात्र नभइ प्र को उपन्यासका पात्र भनिएका छन। यहाँ
दुई स्तर देखिन सकिन्छ – पात्र र लेखक। पात्र
लेखकको उपज हुन्छ। लेखकको कल्पना हो पात्र भनेको।
यसले बुझाएको छ यहाँ
लेखिन लागेको घटना काल्पनिक हो र कुनै यथार्थ जीवनबाट प्रेरणा लिएर रचिन लागेको
होइन। यस्तो लेखनलाई आत्मसचेत लेखन भनिन्छ। लेखन र लेखाइको चेतना एकैसाथ आउने आख्यानलाई
पराख्यान (मेटाफिक्सन) भनी परिभाषित गरिएको छ। पेट्रिसिया वा-को अनुसार पराख्यान भनेको त्यस्तो सृजनात्मक कला हो जसले कलाको
कल्पना र यथार्थको सम्बन्ध प्रश्नचिह्नभित्र राख्दछ। (metafiction is a term
given to fictional writing which self consciously and systematically draws
attention to its status as an artefact in order to pose questions about the
relationship between fiction and reality." (Metafiction: Theory and
Practice of Self conscious fiction)(2003).
पराख्यान किन आवश्यक र कसरी
यसको आविर्भाव भयो यो प्रश्न पनि रहन्छ। नेपाली साहित्य लेखनमा यसको विमर्श हुँदैन
यसैले यहाँ सान्दर्भिक मानिन्छ।
पारम्परिक उपन्यास लेखनमा
यथार्थको चित्रण हुन्छ र व्यक्ति र समाज जस्तो देखिन्छ त्यसैको अनुकरण गरिएको
हुन्छ। तर के लेखनबाट समाजको वास्तविक चित्रण गर्न सम्भव छ? कथा कविता वा उपन्यासमा
देखाइएका सत्य नै वास्तविकता हो ? हामीलाई यसले अल्मल्याउँछ। साहित्य लेखन त भाषिक
लेखन हो र अभिव्यक्तिलाई भाषाले प्रभाव पारेको हुन्छ। वास्तविकता जस्ताको त्यस्तै
लेखनमा आउनु भनेको भाषा अत्यन्तै पारदर्शी र प्रभावहिन रहनु भनेको हुन्छ।
सस्युरले भन्छ भाषा दुई
स्तरमा चलायमान हुन्छ जसलाई उनले लाङ्ग्यु र प्यारोल भनेको छ। लाइ्ग्यु भनेको कुनै
सामान्य भाषा र यसको नियम हो। प्यारोल व्यक्तिले बोल्ने भाषा। लाङ्ग्यु छ र वक्ताले
बोलेको बुझिन्छ। तर वक्ताले भाषाको प्रयोग गर्दा उसको निजत्व हालेको हुन्छ। भाषाको
नियमभित्र रहे पनि उसले ल्याएको भिन्नता बसेको हुन्छ।
मिखाइल बक्तीनले भन्छ भाषा
सधैं सम्वादमय हुन्छ। वक्ताले बोलेको बोलीमा उसले सुनेका बुझेका विविध भाषिकाको अवशेष
रहन्छ।
जेनेटले बताएको छ भाषिक
चित्रणमा वास्तविक घटना देखाउन सकिँदैन। भाषाले भाषाको अनुकरण मात्र गरेको हुन्छ। भाषाको
माध्यमबाट देखिएको चित्रण भाषाको मात्र हो। (no text of narrative fiction can show or imitate
the action it conveys, since all such texts are made of language, and language
signifies without imitating.)(Genette)
यहाँ आएर यथार्थवादी लेखनप्रति
प्रश्न चिन्ह लाग्दछ। उनीहरूको दावी हुन्छ उनीहरूले देखाएको यथार्थ चित्रण हो र यसले
वास्तविक चित्रणको प्रस्तुति दिन्छ। माथि सस्युर र बक्तीनले बताएको छ भाषा वास्तवमा
वक्ता वा लेखकमा चोखो रहन सक्दैन। उसको निजत्व र उसले वहन गरेको प्रभाव आक्रान्त रहेको
हुन्छ। यसैले उनीहरूको यथार्थ चित्रण भाषा तगारो बनेको हुन्छ। भाषाको कारण
उनीहरूको यथार्थ कल्पना नै बनिएको हुन्छ।
यथार्थवादी सृजनात्मक लेखनमा
देखा परेको यही समस्याको विकल्प पराख्यान अघि सारिएको हो। पराख्यान लेखनले यथार्थ
होइन तर लेखनमा जीवन र जगतबाट नै कथावस्तु टिपे पनि यसको काल्पनिकता सिद्ध गर्ने प्रयास
गर्दछ। लेखक र पात्र एकैसाथ अघि ल्याइएर यसको काल्पनिकता देखाइएको छ। वास्तविक संसार
र लेखनको संसारको पृथकीकरण हो यो।
मान्छे यथार्थमा मात्र होइन
कल्पनामा पनि बाँच्दछ। काल्पनिक कुराबाट डराउँछ, काल्पनिक कुरामा
मोहित हुन्छ, काल्पनिक कुरामा अपार भरोसा
राख्छ। पराख्यान मान्छेको यही कल्पनाप्रतिको आशक्ति चित्रण गर्न श्रेष्ठ तकनिक हो।
सन्नेरेटा उपन्यासमा लेखक
प्र को परिचय छ। यहाँ रहेका पात्रहरू डिजि, पोम्लास, देस्रीबुङ, पत्रकार, भादास, भर्स क्रिएटर, चारसोङ, नाखिलबुङ, कर्मचारी, अवकाशप्राप्त
मानव आदि सबै प्र को सिर्जना हुन। तर पात्रहरू स्वतन्त्र भएर चलखेल गर्न चाहन्छन, लेखकको बन्धनबाट मुक्त हुन चाहेको हुन्छ। पोम्लास
भने एक मृत पात्र हो, उसको शरीर छैन। शरीर नभएको
कारण विभिन्न माध्यमभित्र प्रवेश गर्दछ। यस्तै एक प्रयासमा ऊ लेखक प्र को शरीरभित्र
पस्न सफल हुन्छ। यसको कारण लेखक प्र को मृत्यु पनि हुन्छ।
"फेरि त के भयो भने नि -----एउटा "फट्याक्क" को आवाज आयो। लाइक अ
बिग ब्याङ्ग।
र कार्निवोरसले देख्यो – अचानक प्र को टाउको ब्लास्ट भएको छ र उसको गिदी
वरपर सपतिर छताछुल्लै उछिटिएर गएको छ।
योबेला मात्र प्र को शरीर
ढ्वाक गर्दै एकातिर ढल्यो।"
उपन्यासको यस प्रकरणलाई अम्बर्टो
ईको को उपन्यास Foucault's Pendulum को दृश्यसित हेर्न
सकिन्छ। ईकोको उपन्यासमा एउटा विशेष योजनाको चर्चा हुन्छ। हुनत त्यस्तो कुनै योजना
बनाइएको थिएन र योजना थिदै थिएन। तर उपसंस्कृतिका पात्रहरूलाई विश्वास हुन्छ योजना
बनाइएको छ तर उनीहरूबाट लुकाएको छ। पात्रहरू यथार्थ दुनियाँमा आउँछन योजनाकारको हत्या गर्दछ। नभन्दै यहाँ यथार्थ
दुनियाँ भनिएको पनि काल्पनिक नै हो। त्यो योजनाको नाम हो फुकोज पेन्डुलम।
यसरी आफ्नै काल्पनिक
सिर्जनाले पनि वास्तविक संसारमा प्रभाव पार्न सक्ने भनिएको हो।
माथि पोम्लासको कारण लेखक
प्र को मृत्यु यही सिद्धान्तको समर्थन मानिनु सकिन्छ।
प्रवीणले प्र को मृत्यु
देखाउनु एक प्रकारले रोल्याँ बार्थको प्रसिद्ध लेख लेखकको मृत्युको अनुसरन पनि हो।
यद्यपि प्र को मृत्यु पछि
पनि लेखन समाप्त हुँदैन। लेखकको अनुपस्थितिमा लेखन समाप्त हुन्छ भन्ने धारणा धराशायी
गरिएको छ। यसले लेखक/सर्जक पनि एक अवधारणा
मात्र हो भन्ने बुझाउँछ।
पारम्परिक अवधारणा अनुसार
लेखक सर्वोच्च सर्वसत्तावान हुन्छ। ऊ सर्जक भएको र सिर्जन क्षमता भएको कारण उसकोमा
दिव्य शक्ति हुन्छ। तर यहाँ लेखक मारिनु उसको क्षणभंगुरता र एक सामान्य मरणशील निम्न प्राणी भएको प्रमाणित हुन्छ। दार्शनिक
बेन्जामिनले भनेको छ बीशौँ शताब्दीमा आएर कलाले आफ्नो दिव्य ज्योति (औरा) गुमाएको
छ। पूर्व कालमा कलालाई भक्ति भावना र श्रद्धाको रुपमा हेरिन्थ्यो। ती कलाहरूको अद्वितीयता
र विश्वसनीयता पाठकमा अभेद्य रहन्थ्यो। तर अहिलेका लेखनलाई यसरी हेरिन्न।
मिसेल फुकोको प्रसिद्ध
लेख छ "लेखक के हो ?" (What is an Author) शीर्षकमा। उनले यसमा लेखेका छन लेखन बलिदानसित जोडिएको हुन्छ, जीवन कै बलिदान पनि। लेखक उपस्थिति स्वैच्छिक
रुपमा किताबबाट मेटाइने हो। कृतिले पहिला लेखकलाई अमरत्व प्रदान गर्थ्यो तर अब यसैले
लेखकको हत्या गर्ने अधिकार राख्छ। (Writing has become linked to sacrifice, even to
the sacrifice of life; it is now a voluntary effacement which does not need to
be represented in books, since it is brought about in the writer's very
existence. The work, which once had the
duty of providing immortality, now possesses the right to kill, to be its author's
murderer,…) (Michel Foucault)
सन्नेरेटा-मा प्र -को मृत्यु फुकोको
भनाइसित सामञ्जस्यता राखेको भन्न मिल्छ किनकि यहाँ प्र -लाई यसमा रहेका अन्य पात्रहरू उसको सिर्जना भनिएको छ र यसरी
उपन्यासको लेखक ऊ भएको हुन्छ।
अजैविक सन्नेरेटा
सामान्य उपन्यासले कुनै
एक घटनालाई लिएर लेखिएको हुन्छ। घटना उपघटना पात्र पात्रा त्यही मुख्य घटना वा मुख्य
पात्रको सहायकको रुपमा रहेको हुन्छ। त्यही अनुरुप कुनै एक विचार वा अवधारणा
प्रस्तावित गरिएर बिट मारिन्छ। लेखनको सर्वजनीनता र एकताको तारतम्य मिलेको देखिन्छ।
कथाको मेरुदण्ड एउटै रहेर हाँगाहरूले विस्तार दिएको हुन्छ। यस्तो उपन्यासलाई जैविक
उपन्यास भनिएको छ।
आधुनिक काल र मान्छेको जीवनमा
आएको अभूतपूर्व परिवर्तन पछि भने जीवनको व्याख्या उहीँ सरल प्रकारले गर्न सकिने भएन।
अनेकौं विचार, विविध अनुभूति र धेरै
कृतिमताले प्रभावित जीवन अनेकौं धारा र प्रवाहमा बहेको हुन्छ। कुन मुख्य धारा हो कुन
हाँगा बिगा हो खुट्याउन सकिन्न। यही कारण आधुनिक उपन्यासहरू बिम्वात्मक रहेको
हुन्छ, अनकरणात्मक नभएर। घटना र चरित्र चित्रणको तालमेल
मिलाइएको हुँदैन। समष्टि र व्यष्टिको मिलाप देखिँदैन। एकैचोटि अनेकौं विचार र अनेकौं
कथाहरू आइरहेका हुन्छन। एकार्कासित जोडिएको
वा सम्बन्धित पनि रहेको हुँदैन। पाठकलाई एउटा पाठमा अनेकौं पाठ पढनु पर्ने वाध्यता
बनेको हुन्छ।
कला भनेको त्यो काम हो जसमा
व्यष्टि र समष्टिको एकान्विति हुन्छ। (Generally speaking the work of art is to be
defined as the unity of the universal and the particular).(Peter Burger)( Theory
of the Avant Garde). यसले के बताएको छ
भने कुनै उपन्यासको घटना पात्र र विचारमा तालमेल रहे त्यस्तो उपन्यासलाई जैविक कला वा लेखन
भनिन्छ। यसको विपरीत कुनै उपन्यासमा घटना श्रंखला मिलाएर नलेखिएको र एक कोलाज जस्तो
बनाइएको छ भने त्यस्तो लेखनलाई नन ओर्गेनिक वा अजैविक भनिन्छ। अजैविक लेखन अन्योक्तिमूलक
हुन्छ। टुक्रा टुक्रा मिलाएर रचना गरिएको हुन्छ। जैविक लेखनमा सम्पूर्णता देखाउने प्रयास
गरिन्छ र यसलाई अर्थपूर्ण बनाउँछ। अजैविक लेखनमा अर्थहिन टुक्राहरू जोडेर यसलाई
नयाँ अर्थ प्रदान गरिने गरिएको हुन्छ। जैविक लेखनमा सिर्जनालाई सिर्जना (कल्पना) मात्र
हो भन्ने विचारलाई लुकाएर वास्तविक हो जस्तो गरी देखाउँछ। तर अजैविक लेखनमा भने लेखन स्पष्ट
रुपमा काल्पनिक हो भनेर छर्लङ्ग पारिएको हुन्छ। (The organic work of art seeks to make
unrecognizable the fact that it has been made. The opposite holds true for the
avant gardiste work. It proclaims itself an artificial construct, an artifact.)
(Peter Burger).
सन्नेरेटा उपन्यासमा घटना
पात्र र विचारको एकरुपता छैन। प्रत्येक नयाँ अध्यायमा नयाँ प्रकरण आउँछ जो अघिल्लो
प्रकरणको निरन्तरता हुँदैन। यसको संरचना फरक फरक टुक्रा जोडेर निर्माण गरिएको छ। कोलाज
जस्तै बनेको छ।
उपन्यासले शुरु मै बताएको
छ यो एक काल्पनिक सिर्जना हो र एक कला मात्र हो भनेर। यसले कुनै सत्य घटनाको
चित्रणको दावी गर्दैन।
उपन्यासमा अन्य लेखकका कृतिहरूका
उद्धरण, सिंगो कविता तथा पद भित्र्याइएका छन। उत्तराधुनिक
लेखन पद्धतिभित्र पर्ने यस तकनिकलाई पेस्टिच भनिन्छ। यसप्रकारको प्रविष्टि सुनियोजित गरिएको हुन्छ र स्वतस्फूर्त
हुँदैन। यसले पाठमा रोकावट वा मोड सिर्जना गर्छ। यसको उद्देश्य यही नै हो। हुनत यस्तो
प्रविष्टिले पाठको अर्थ विस्तारन र सहजीकरण पनि गर्दछ। तर अनुकरणात्मक लेखनबाट दृश्यात्मक
लेखनतिर यसले मोड घुमाइदिन्छ। अजैविक लेखनमा यसले भूमिका खेलेको हुन्छ।
यसैकारण सन्नेरेटा एक अवा
गार्दे वा अजैविक उपन्यास भएको छ।
सन्नेरेटामा कथा
सन्नेरेटा एक अमूर्त रुप दिइएको
कथा हो। तर अमूर्त लेखनमा पनि घटना वा विचार नभए पनि विवृत्त्ति रहेकै हुनुपर्ने हुन्छ।
यसो हुन नसके त्यस्तो पाठ अबोध्य हुन जान्छ।
यसैकारण प्रवीणले यसमा लेखनलाई आधार दिन विश्रखंलित भए पनि घटना पात्रहरू र तिनीहरूको
जीवन वृत्त राखेको छ। घटना र पात्र भएपछि कालक्रम पनि रहने हो। कारणवादको प्रभाव यसमा
प्रयुक्त हुन्छ।
सन्नेरेटाले समातेको कथा सिक्किमको
राजनीति हो। तर यो राजनीति स्थानिक नमानिएर सार्वभौमिक पनि मानिलिन सकिन्छ किनकि लोकतान्त्रिक
पद्धतिको राजनीतिको चरित्र धेरथोर तुलनात्मक नै रहन्छ। यहाँ देखाइएको राजनीतिक
घटनाक्रमको केन्द्र भने सिक्किमको जुम बस्तीको हो। १९९४ मा सिक्किमको राजनीतिले कोल्टो
फेरेर नयाँ राजनीतिक दल सत्तामा आयो। यो नयाँ दल सत्तामा आउन अघि जुन संघर्ष गर्यो
यसमा सहभागी समूहमा सिक्किमका भुइँ मान्छेहरू र केही विशेष जातगोष्ठी अत्यन्तै
सक्रिय थिए। उनीहरूले आफ्नो मुक्ति र भविष्य यही दलभित्र देखे। उनीहरूको सपना यसैमा
अल्झिएको थियो। यो राजनीतिक भुवँरीले सिक्किमको आवादीको एक तिहाइ जनसमूहलाई प्रभाव
पारेको हो।
सन्नेरेटा-ले उठाएको बिम्व भने यो भुवँरी नभएर यसको पराकम्पन हो। तुलनात्मक
रुपमा चर्चित उपन्यासहरू फातसुङ र फुलाङ्गेलाई हेर्ने सक्छौं। यी दुवै उपन्यासहरू गोर्खाल्यान्ड
आन्दोलनको केन्द्रमा आधारित छ। आन्दोलनको समयको भोगाइ र आन्दोलनको चित्रण देखाउँछ।
सन्नेरेटा-ले भने राजनीतिको घटनाक्रम
नदेखाएर सत्ता पछि देखिएको यसको विकृति र खोक्रोपन उजागर गर्छ। दार्जिलिङकी युवा लेखिका
सन्ध्या आचार्यले "पराकम्पन" शीर्षकमा कथा सङ्ग्रह लेखेकी छ। उनको कथाहरूमा
भने गोर्खाल्यान्ड आन्दोलन उत्तर दार्जिलिङको परिवर्तित परिवेश र आन्दोलनको प्रभाव
देखिन सकिन्छ। यही पराकम्पन सन्नेरेटा-मा परिलक्षित छ सिक्किमेली
राजनीतिको।
उपन्यासकार प्रवीण जुमेली
स्वयं त्यो राजनीतिक घटनाक्रमको साक्षी र सहभागी रहेको कारण यहाँ चित्रण गरिएको
दृश्य जीवन्त छ। कथा लेखनको तकनिक बारे सिद्धान्तकारहरू बताउँछन् कथा दुई प्रकारले
लेखिन्छन: एउटा डाइजेटिक र अर्को माइमेटिक । यसलाई टेलिङ
र शोविङ अर्थात भनिने र देखाइने पनि बताइन्छ। माइमेटिक लेखनमा पाठकले घटनाको दृश्य
प्रत्यक्ष देखिरहे जस्तो अनुभूति हुन्छ जस्तो सिनेमा वा नाटक हेर्दा हुन्छ। डाइजेटिक
लेखनमा भने कसैले भनिरहेको सुनाइरहेको जस्तो हुन्छ, पाठकले परोक्ष
अनुभूति मात्र गर्न सक्छ। गाउँमा एक राजनीतिक सभा आयोजन गर्न गाउँलेहरूले मञ्च बनाउन
लागेको चित्रण माइमेटिक रहेको छ।
पात्रहरूका चयन अपारम्परिक
छ, र उनीहरूको नाम पनि अनौठो छ। देस्रीबुङ, भादास, चोरसाङ, चारद, कधोज, कार्निवोरस, पोम्लास, सोमछा, लामकल्प, साम्फुनाम्मे, सेक्रिसिङ, फाप्सु जस्ता नामहरू छन। यी मध्ये देस्रीबुङ, प्र, पोम्लास, कार्निवोरस उपस्थितिको मानदण्डले गुरु पात्र भन्न
सकिन्छ भने भादास, चारद, सेक्रिसिङ लघु पात्र हुन। सेक्रिसिङ नाम सिक्किमको
राजनीतिमा निकै चर्चित थियो। लेखकले उहीबाट टिपेको हो। सेक्रिसिङ वा सेक्री भनेर चर्चामा
रहेको वास्तविक व्यक्ति आफ्नो दलको समर्थनमा हमेशा तयार रहने र ज्यानको परवाह नगरी
अघि बडने प्रकारको थियो। उनैको चरित्र यहाँ चित्रण गरिएको छ। सबैभन्दा धेर लामो समय
रहने पात्रमा प्र, पोम्लास र देस्रीबुङ देखिएका
छन। उपन्यासको अन्त्य देस्रीबुङको मृत्यु दृश्यबाट भएको छ।
सन्नेरेटा-को समय सीमा १९९४ देखि ३०१७ सम्म रहेको छ। २०१७ को जुन महीनामा
दार्जिलिङमा आन्दोलन भयो। देस्रीबुइ यही आन्दोलनको समयमा गोली लागेर मरण हुन्छ।
कथामा चोरसाङ, देस्रीबुङ, देस्रीबुङको पिता, टेक्स्टोग्राफर प्र, मोकोक्ति द स्काभेन्जर पात्रहरूको मृत्यु
हुन्छ। पोम्लास भने मृत पात्र हो, उसको शरीर छैन। पोम्लास
लेखक प्र को शरीरमा प्रवेश गर्छ र फेरि पुनर्जीवित हुने कोशिस गर्छ। प्र – को मरण पोम्लासको कारण भएको हुन्छ।
सन्नेरेटा एक ट्रेजेडी उपन्यास
हो।
यसको अन्तर्वस्तु राजनीति
रहेको छ। राजनीतिले समाज र व्यक्तिलाई कसरी पकडमा राख्दछ तथा यसको सकारात्मक
नकारात्मक प्रभाव के कस्ता हुन जान्छन यसको नालिबेली दुरस्त राखिएको छ। राजनीतिलाई
सञ्चालन गर्ने र यसबाट सञ्चालित हुने दुई वर्गको भाग्य कसरी घटित हुन्छ, यसैको करुणात्मक कहानी पनि हो यो उपन्यास। नेता
अब "रेड बिकन" (मन्त्री भएको छ) र उसको
आगमन गाउँले स्वागत धुमधामले गर्नु पर्दछ। तर उसलाई जिताउन सहयोग गर्दा प्राणको
आहुति दिने चोरसाङको घर भने खन्डहर हुन पुगेको हुन्छ।
आफ्नो सुनौलो भविष्य दावमा पारेर र शिक्षा
अध्ययन अधुरो राखेर राजनीतिमा होमिएर दल र नेतालाई सहयोग गर्ने पात्रा देस्रीबुङ, सत्ता प्राप्ति पछि भने बेवास्ता भएकी छ। उसको बिबाह
हुन सक्दैन। बृद्ध पिताको सेवा सुशुश्रा र
आफ्नो जीवन धान्न होमस्टे चलाउनु परेको छ। उसले गरेकी योगदानको कुनै मूल्य हुँदैन।
चतुर राजनैतिक नेताले आम जनतालाई
कसरी भ्रममा राख्दछ र उसको चलाखीले भरेको शब्दजालले निर्दोषलाई कसरी भुल्याउँछ यसको
सुन्दर चित्रण छ। नेताले भाषणमा भन्छ उसको लक्ष्य हो जनताको सपनालाई विपनामा परिणत
गराइदिनु। यसैले उसले सँधै त्यो सपना देख्दछ। तर जब एक किशोरले उसको पनि सपना भएको
बताउँछ, नेता रिसले चुर हुन्छ र त्यो प्रश्नकर्तालाई जेल
हाल्छ। यसप्रकरणबाट यही बुझिन्छ नेताले जनतालाई सपना देख्न चाहँदैन। सपना देख्ने जनता
नेताको निम्ति जोखिमपूर्ण हुन्छ। यसले देखाउँछ सत्ता जनतालाई एक नागरिकको हक दिन तयार
हुँदैन। जनता कठपुतली जस्तो उसको इशारामा मात्र चल्ने भएको हेर्न चाहन्छ। राजनीतिक
संघर्षकालमा नेताले धेरै निर्दोष जनतालाई उज्ज्वल भविष्यको सपना देखाएर तिनीहरूको त्याग
र बलिदानको सिढीमा चडेर ऊ सत्तामा पुग्छ। तर
सत्तामा पुगेपछि ती जनतालाई उसले उसको कमारा कमारी जस्ता मात्र मान्दछ।
उपन्यासको शीर्षक
उपन्यासको शीर्षक सन्नेरेटा
एक अर्थहीन शब्द हो। लेखकले यसको अर्थ खुलाउने कुनै बाटो छोडेको छैन। यसैले सन्नेरेटाको
अर्थ अबोध्य नै रहन्छ। यद्यपि केही अनुमान भने गर्न सकिन्छ। उपन्यासको एक अध्यायको
उपशीर्षक सन्नाटाको मुन्धुम रहेको छ। सन्नाटा शब्द विभिन्न अध्यायमा बारम्बार आएको
छ। पूरा उपन्यास पढिहेर्दा जीवनको आँधी झेलेर मृत्युमा पुग्दाको सन्नाटा मौनता निश्चलताको
अनुभूतिको भावना जागृत हुन्छ। सबै चुपचाप आवाजविहीन रहेको सुनसान लाग्दछ। सन्नाटाले
उपन्यासको कहानीलाई परिभाषित गर्दछ। रेटा शब्द रेटोरिक शब्दको संक्षेपाक्षर अर्थ लगाउनु
सकिन्छ। यसरी एउटा नयाँ शब्द निर्माण हुन्छ : सन्नाटा +रेटोरिक = सन्नेरेटा। रेटोरिकको अर्थ आख्यान पनि हुन्छ। सन्नेरेटा
= सन्नाटाको आख्यान।
Comments
Post a Comment