कवि जोसेफ ब्रोड्स्की
1953 मा स्टेलिनको मृत्यु पछि सोभियत रसियाको सत्ताको बागडोर ख्रुश्चेभले सम्हाले। देश केही खुकुलो भएको जनताले महसुस गर्न थालेको थियो। यद्यपि वाक स्वतन्त्रता, लेखनमा छुट र सत्ताको नीतिमाथि कुनै प्रकारको आलोचना गर्न बन्देज भने कायमै थियो। त्यो समय त्यहाँका सचेत बुद्धिजीवी र युवा समूहले सत्ता विरोधी अभियान आरम्भ गरेका थिए। यही सोभियत सत्ताप्रति असन्तुष्टि जनाउने समूहमा युवा कवि जोसेफ ब्रड्स्कीको नाम विशेष उल्लेख्य छ।
त्यसकालमा सत्ताले कुनै विरोधको स्वर सहन गर्दैन थियो। यही कारण ब्रोड्स्कीलाई हिरासतमा लिइयो। उनलाई आरोप लगाइएको थियो उनी एक नैतिक पतन भएको, कुनै काम गर्न नमान्ने, सोभियत सत्ता विरोधी कविता लेख्ने, समाजको निम्ति घातक र प्रतिक्रियावादी छन भनेर। यो घटना 1964 मा भएको थियो। उनले आफ्नो औपचारिक पढाइ पनि बिचमै छोडेका थिए। सानातिना अस्थायी रोजगार र सत्ता विरोधी कविता लेख्नमा नै उनले आफूलाई समर्पित गरेका थिए। त्यतिबेला ब्रोड्स्की 24 वर्षको मात्र थियो। उनले आफ्नो अपराध स्वीकार गर्नु मानेन यसैले न्यायाधीश अघि उभ्याइयो। उनले न्यायाधीशसित गरेको आफ्नो पैरवी यस्तो रहेछ
न्यायाधीश : तिमी के काम गर्छौं
ब्रोड्स्की : म कवि हुँ।
न्यायाधीश : तिमीलाई कसले कवि भनेर चिन्यो ? कुन आधार र कसको मान्यताबाट तिमी आफैलाई कवि भन्दैछौ ?
ब्रोड्स्की : कसैबाट होइन । कसको आदेशमा म मान्छे जातमा आएँ ?
न्यायाधीश : के तिमीले यसको निम्ति पढेका छौ?
ब्रोड्स्की : के को लागि ?
न्यायाधीश : कवि बन्नको लागि पढनु पर्छ। जहाँबाट शिक्षा लिइरहेका थियौ त्यहाँ आफ्नो शिक्षा जारी राखेर तिमी कविता बारे थप ज्ञान हासिल गर्न सक्छौ ।
ब्रोड्स्की : मेरो विचारमा कविता सिकिने विषय होइन।
न्यायाधीश : त्यसो हो भने के हो त ?
ब्रोड्स्की : मलाई लाग्छ कविता ईश्वरको वरदान हो।
न्यायाधीशले ब्रोड्स्कीलाई आफ्नो बचाउमा केही भन्नू छ भनेर भन्दा उनले ठाडो जवाफ दिएर भनेको थियो जे भन्न थियो भनिसक्यो भनेर।
यसपछि न्यायाधीशले पाँच सालको कठोर कारावासको सजाय सुनायो। सजाय दिँदा न्यायाधीशले ब्रोड्स्की कुनै कवि नभएको र एक असामाजिक व्यक्ति मात्र रहेको करार गरे। सजाय पछि उनलाई अन्य कैदीलाई झैँ श्रम शिविर जो यातना शिविर जस्तै हुन्थ्यो त्यही पठाइयो।
ब्रोड्स्कीको नाम एक चर्चित कविको रुपमा पाश्चात्य देशमा निकै फैलिएको थियो। त्यसकालका प्रख्यात रुसी कवि अन्ना अक्मातोभा उनको शुभचिन्तक थिइन। प्रसिद्ध कवि डव्ल्यु एच अडेन उनको कविता मन पराउँथे। यही अन्तर्राष्ट्रिय दवाउ, ब्रोड्स्की एक यहुदी भएको र सोभियत सत्ता विरोधी भएको कारण उनलाई 1972 मा देश निकाला गरियो। यसपछि उनी अमेरिकाको नागरिकता ग्रहण गरेर अमेरिका नागरिक हुन पुगे।
सोभियत रुसको न्यायाधीशले ब्रोड्स्की कुनै कवि नभएको दावी गरे पनि1987 मा उनले एक कविको रुपमा साहित्यको नोबेल पुरस्कार पाए। 1991 मा उनलाई अमेरिकाले उनलाई राष्ट्रकवि (पोयट लरेट) मनोनीत गरे।
उनको देहावसान 1996मा हृदयघातबाट भयो।
उनको शब्दभेद (Parts of Speech) कविता निकै चर्चित रहेछ। यही कविताको अनुवाद यहाँ राखिएको छ।
शब्दभेद
जब भविष्यबारे केही बोलिन्छ
मुसाहरूको झुन्ड
रुसी भाषाबाट निस्कन्छ
अनि स्मृतिबाट एक टुक्रा टोक्छ जो
साच्चैको पनीरमा बनाइएको प्वाल भन्दा दोबर हुन्छ।
यतिका वर्ष पछि अब केही वास्ता छैन
या एक कुनामा के उभिएको छ
बाक्लो पर्दाले छोपेको
अनि तिम्रो मनले आनन्दको उच्छवास गर्दैन
खालि यसको सरसराहट
जीवनको अनुभूति गर्ने दुस्साहस गर्दैन
जस्तो घोडाको अनुहारमा देखिन्छ
आफ्ना दाँतहरू देखाएर एकार्कासित मुस्कान छरेको
व्यक्तिको मा रहने भनेको अंश मात्र हो
उसले बोलेको भेद मात्र हो।
शब्दभेदमा रहेको ।
Comments
Post a Comment