मैले पहिलोपटक अङ्ग्रेजी भाषामा
पढेको उपन्यास पढेको डा जिभागो हो। कलिलो उमेरमा केही बुझिएन। तर नबुझे पनि मन परेको
थियो, यसमा रहेको प्रेम कथा। त्यसपछि पनि निकै पटक पढेँ। पुरानो किताब हरायो, वास्तवमा
त्यो पहिलो संस्करण थियो।
2016 मा म दुर्घटनामा
परेँ र एक दुई तीन महीना विस्तरामा बिताउन बाध्य भएँ। यसको स्मृति लेख्ने विचार गरेँ
। लेख्दै गर्दा एकदुई प्रसङ्गमा डा जिभागो उपन्यासको अंश उद्धरण गर्न मन लाग्यो। किन्डलमा
डाउनलोड गरेँ र पढियो पूरा उपन्यास। यसबेला पढदा मलाई पहिल्यै पढिसकेको जस्तो
नलागेर नयाँ पढेको अनुभूति भएको थियो। आफूले चाहेको अंश उद्धृत गरेँ। तर यसपटक भने
मलाई आभास भयो उपन्यास राम्ररी बुझिनँ भनेर। यहाँ उल्लेख गरेका धेरै ऐतिहासिक घटनाहरूको
जानकारी नभएको थाहा भयो।
यही साल फरवरी महीनामा रुसले
युक्रेनमा आक्रमण गरे पछि युक्रेनको इतिहास जान्ने तीव्र अभिलाषा जन्म्यो। एन एपलबमले
लेखेकी रेड फेमिन पुस्तक पढियो। यो किताबले रुस र युक्रेनको सम्बन्धको विस्तृत जानकारी
दिँदो रहेछ। त्यतिमात्र नभएर रुसको अक्टोबर क्रान्ति र क्रान्ति उत्तरकालमा युक्रेन
र रुसका घटनाहरूको व्योहोरा पनि सविस्तार राखिएको रहेछ। यही पढेर एपलबमको अर्को
पुस्तक गुलाग पढनु पर्ने बुझेँ। नभन्दै यो पछिल्लो पुस्तकले अमेरिकाको प्रसिद्ध
पुलिट्जर पुरस्कार जितेको रहेछ। यी दुवै इतिहास पुस्तक पढेपछि फेरि डा जिभागो
उपन्यास पढने आवश्यकता लाग्यो।
यसबाजि मलाई थाहा भयो मैले
डा जिभागो उपन्यास राम्ररी नबुझी पढेको रहेछु। मेरो स्मृतिमा उपन्यासबारे जस्तो
धारणा थियो त्यो भन्दा एकदम फरक र धेरै उच्च कोटिको लाग्यो। वास्तवमा जिभागो एक त्यस्तो
उपन्यास रहेछ जो जति पटक पड्यो उति नै नयाँ अर्थ र फरक अनुभूति गराउने बुझेँ। हुनत
त क्लास्सिक कृतिहरूको गुण यही नै हो जसले पाठकलाई सधैं नयाँ कुरा दिन्छ र हरेक
पीढीका पाठकका निम्ति पठनीय नै भइरहेको हुन्छ।
यसपटकको पठनमा मलाई थाहा
भयो यो उपन्यास सोभियत रुसमा प्रतिबन्ध किन भयो र लेखक बोरिस पास्टरन्याकलाई नोबल पुरस्कार
ग्रहण गर्न किन दिएन भनेर। मलाई लाग्यो यदि यो उपन्यास प्रकाशित भएको बेला स्टेलिन
जीवित थिए पास्टरन्याक या त कठोर सजायबाट दण्डित हुने थिए या मारिने नै थिए। ख्रुश्चेभ
स्टेलिन भन्दा केही नरम नै हो। हुनत 1980 देखि यता भने सोभियत रसियामा उपन्यास पाठक
माझ पुगेछ, प्रतिबन्ध हटेको कारण।
जिभागो उपन्यासले एक कथा मात्र
नदिएर बिसौँ शताब्दीको शुरु देखि यता 1950 सम्मको रसियाको इतिहास समेटेको छ। 1905 को
क्रान्ति,
प्रथम विश्व युद्ध, अक्टोबर क्रान्ति, गृह युद्ध, लेनिनको नयाँ
अर्थ नीति, स्टेलिनले ल्याएको
कलेक्टिभाइजेसन, दोस्रो विश्व युद्ध यहाँका
देखिन सकिन्छ।
पहिला मैले पढदा जिभागो र
उसको परिवार राजधानी मस्को छोडेर साइबेरियाको छेउको युरालमा जानू परेको मैले ठिकसित
बुझ्न सकेको थिइनँ। मस्कोमा अचानक अन्न पानी इँधनको समानको संकट कसरी हुन गयो? उपन्यासले
यसको कारण बताएको थिएन। हामीले हाम्रो यस भेक यसप्रकारको संकट कहिले नदेखेको र सरकारले
यसको बन्दोबस्त गर्ने अनिवार्यता बुझ्दछौँ। एपल बमको इतिहास पुस्तकले भने यो घोर अनिकालको
चर्चा विस्तारसित राखेको थियो। वास्तवमा प्रथम विश्व युद्ध, जनतामा बडदो आक्रोश र जनक्रान्तिले रुसको खेती
चौपट भएको थियो। अक्टोबर क्रान्तिपछि खाद्य संकटको समस्या झन उग्र भयो। सोभियत
शासन आए पछि सबै खुला बजार वा व्यापारमा प्रतिबन्ध लगाएको थियो। सबै किसानहरूलाई आदेश
दिएको थियो उनीहरूको कृषि उत्पादन घरेलु प्रयोजन बिउको राख्नु पर्ने रहल अन्न सबै
सत्तालाई तोकिएको रकममा बेच्नु पर्ने थियो। सत्ताले यी सबै अन्न सङ्ग्रह गरेर देशलाई
अनुमानित आवश्यकतादेखि रहल उता विदेशमा उचित मोलमा निकासी गर्थ्यो। सोभियत सत्ताले
यसबाट ठूलो विदेशी धन लाभ गर्थ्यो। लगातार भएको संघर्षले एकातिर राम्रो खेती हुन सकेको
थिएन भने भएको अन्न विदेशमा बेचिएको हुनाले देशमा खाद्य संकट आयो। जिभागोको परिवार
यसैकारण अनिकालको सिकार हुन पुगे। गाउँमा खाद्य संकट कम हुन सक्ने र आफै पनि अन्न उमार्न
सक्ने सम्भावना र यसरी बाँच्न सक्ने बुझेर उनीहरू युर्यातिनको वेरिकिनो गाउँमा
अस्थायी बसाइँ सरेर गएका थिए।
डा जिभागोलाई सर्वोत्कृष्ट
प्रेम कहानी भनिन्छ। हुनपनि यसमा जिभागो र लाराको प्रेम प्रसङ्ग अत्यन्तै हृदयस्पर्शी
चित्रण रहेको छ। अघि मैले बुझे अनुसार जिभागोको विवाह तोन्यासित वाध्यतावश भएको
कारण जिभागो तोन्यासित आकर्षित नभएको र प्रेम नगरेको लाग्थ्यो। तर यो पटक यसो लागेन।
जिभागो एक जिम्मेवार पति थिएछ। लारासित को प्रेम सम्बन्धबारे उसलाई अपराध बोध हुन्छ।
कुनै एक पुरुष बहुल प्रेमी हुनसक्छ। लारा पनि आफ्नो पतिसित उतिकै प्रेम गर्छिन जतिको
जिभागोसित। यसबाट डा जिभागो उपन्यासबाट एउटा अर्थ निस्कन्छ प्रेम सम्बन्ध र वैवाहिक
बन्धनको विशिष्टताको। विवाह एक दायित्व हो जसलाई निभाउनु पर्दछ। तर विवाह बन्धनमा एकसित
रहेको भए पनि प्रेम अर्को व्यक्तिसित रहन अस्वाभाविक होइन। यो मानव चरित्र हो।
मैले बुझ्न नसकेको अर्को
विषय थियो स्ट्रेलनिकोभ उर्फ पासाको बारे। अक्टोबर क्रान्ति पछि रसियामा गृह युद्ध
शुरु भयो। यही गृह युद्धकालमा स्ट्रेलनिकोभ लाल सेनाको युद्ध विशेषज्ञ भएर सघाउ
पुर्याइरहेको थियो। हुनत ऊ बोलसेभिक दलको सदस्य थिएन। गृह युद्ध समाप्ति पछि उसको खेदो
हुन्छ। उसलाई थाहा भयो उसलाई मृत्यु दण्ड दिनेछ भनेर। मलाई
बुझ्न कठिन परेको यही विषय थियो उसले क्रान्तिकारीहरूको पक्षमा युद्ध गरेको थियो
फेरि उसलाई किन सजायको भोगी बनाए ?
दोस्रो विश्व युद्धमा
स्टेलिनको भूमिका इतिहासमा महत्त्वपूर्ण रहेको देखाइन्छ। हिटलरको अन्तिम समय रुसी
सेनाको घेराउमा रह्यो। साठी लाख यहुदीहरूको हत्या गर्ने हिटलरलाई रुसी सैनिकले
हराए। कम्युनिस्ट सोभियत रसियाबाट रहल यहुदीहरूको मुक्ति भएको बताइन्छ। तर यहाँ डा
जिभागो उपन्यासमा देखाइएको छ रैथाने रुसी जनता यहुदीप्रति सम्वेदनशील थिएन। क्रान्तिकारी
रुसीहरू उतिकै नकारात्मक दृष्टिले यहुदीहरूलाई हेर्ने गरेको उपन्यासले बताउँछ। एपलबमको
इतिहास पुस्तकमा पनि रैथाने रुसीहरूमा यहुदी विरोध लेखिएको छ। यसैले सोभियत
रसियाका कम्युनिस्ट क्रान्तिकारीहरूमा नश्लवाद थिएन भन्न अतिशयोक्ति हुने रहेछ।
तोन्याको पिता एलेक्जान्डर
ग्रोमिको रुसी क्रान्ति समर्थक थियो। डा जिभागो भने क्रान्ति समर्थक थिएन। यी दुवै
उच्च समाजका थिए। जिभागोको पिता ठूलो कारोबारी थिए। तर व्यापारमा क्षति पुगे पछि आत्महत्या
गरेका थिए। ग्रोमिको भने विश्वविद्यालयको कृषि वैज्ञानिक थिए। ग्रोमिको क्रान्ति
समर्थक र कम्युनिस्ट विचारधारा पालन गरे पनि सोभियत सत्ताले उनलाई बुर्जुवा नै माने।
यही कारण उनलाई देशबाट निर्वासन गरियो। उता जिभागोको भाइ येभग्राफ भने सोभियत
सत्ताको उच्च ओहदामा थियो। येभग्राफ कम्युनिस्ट नेता भए पनि आफ्नो परिवारप्रतिको निष्ठा
अटुट देखाउँछ। दाज्यु जिभागोलाई असाध्य माया र श्रद्धा गर्दछ। उनको हरेक कठिनाइ समाधान
गरिदिने
प्रयास गर्दछ।
डा जिभागो सोभियत
क्रान्ति पक्षको उपन्यास होइन तर निकोलाय ओस्त्रोभ्स्कीको उपन्यास हाउ द स्टील वाज
टेम्पर्ड क्रान्ति समर्थित हो। परिवारको दरिलो सम्बन्ध र पारिवारिक निष्ठा यसमा
पनि देखाइएको छ।
यी दुई उपन्यासले बताउँछ
साम्यवादी शासन वा क्रान्तिकारीहरूमा परिवारको भावना विद्धमान हुन्छ। यसलाई
विरोधाभासको रुपमा लिन सकिन्छ। वर्गचेतना र परिवारवाद विपरीत धारणा हो।
सोभियत रसियाभित्र बसेर डा
जिभागो जस्तो उपन्यास कसरी लेख्ने साहस गरे या सोभियत सत्ताको सत्यता नांगो बनाउन
किन चाहे बोरिस पास्टरनेकले भन्ने प्रश्न मेरो मनमा आयो।
मानव इतिहासमा पहिलोपटक
समाजवादी सत्ता रुसमा आयो र मानव जातिको नयाँ इतिहास निर्माण गरे। पास्टरनाकलाई यो
थाहा नभएको विषय होइन। के उनी आफ्नो देश र देशको उपलब्धिप्रति गौरवान्वित थिएनन? त्यसो
होइन, पास्टरनाक आफ्नो देशलाई उत्तिकै प्रेम गर्थे जति
एक चेतनशील नागरिकले गर्दछ।
निजी सम्पत्ति र व्यक्तिवादी
चिन्तन मानव समाजमा विभाजन र दलनको कारक बन्दछ। सबै मानव समान हुन र पृथ्वीको स्रोत
संसाधनमाथि एकाधिकार हुनु हुँदैन। यही गौरवमय विचार
रहेको पाइन्छ मार्क्सवादमा। शोषणको जरा निर्मूल गरिए पछि मानव समाज शोषणरहित बाँच्न
पाउने भयो। प्रत्येक मान्छेको सबैभन्दा महत चाहना पनि यही हो।
डा जिभागो उपन्यास
मार्क्सवादको विचारधाराको विपरीत भन्न नमिल्ने
रहेछ तर यसलाई जसरी प्रयोगमा ल्याइयो त्यसको विरोध छ। मान्छेको चरित्र एक समान हुँदैन
र उसको जीवन पद्धतिमा पनि एकाम्यता रहन्न। व्यक्तिको इच्छा र आकांक्षा विरुद्ध
उसलाई अर्को बाटोमा लानु सहज हुँदैन। उपन्यासमा त्यो उखानको उल्लेख छ जसले भन्छ एउटा
घोडालाई खोलाको छेउमा लान सकिन्छ तर पानी पिलाउन सकिँदैन जबसम्म उसले चाहना
गर्दैन। हुनत यसो भन्दैमा उपन्यास पुञ्जीवाद वा सामन्तवाद समर्थनमा छ भन्न मिल्दैन।
जुन व्यक्तिको जस्तो प्रतिभा छ उसलाई त्यही काम गर्न दिनुपर्ने भन्ने हो। व्यक्तिको
स्वतन्त्रता हुनुपर्छ र उसको जीवनको निर्णय उसले लिनु पाउनुपर्छ भन्ने विचार हो। तर क्रान्तिपछि सोभियत रसियामा व्यक्तिको
स्वतन्त्रता हनन हुन पुग्यो। राज्यहित व्यक्तिहितभन्दा ठूलो भयो। राज्यले जे चाहन्छ
व्यक्तिले त्यही गर्नु पर्ने भयो।
निजी सम्पत्तिको समापन र सबै
प्राकृतिक संसाधन राज्य अधीन बनाइएको थियो। हुनत यसको उद्देश्य सबै नागरिकले समान रुपमा
उपभोग गर्न सक्ने हो तर यसो नभएर सत्ताको केन्द्रका नजीक हुनेहरूका अधिक र किनारामा
रहनेहरूका कम अधिकार हुन पुगेको थियो। उपन्यासमा बताइएको छ क्रान्ति पछि निम्न वर्ग
वा सर्वहारावर्गको वर्चस्व अवश्यै बडेको थियो र सर्वहाराको शासन जस्तो देखिने बनाइएको
थियो। यद्यपि वास्तविकता केही फरक थियो। जो प्रत्यक्ष क्रान्तिमा सहभागिता जनाउने थिएन
र बोलसेभिक दलको सदस्यता लिन सकेको थिएन उनीहरूको जीविका र जीवन दुवै जोखिममा
पुगेका थिए। अन्ना हारेन्डले लेखेकी थिइ स्टेलिनको शासनकालमा कैद गराउनको निम्ति
के अपराध गरेको छ होइन तर को हुन त्यसमा बडी निर्भर गर्थ्यो। आभिजात्य वर्ग, उच्च शिक्षा हासिल गरेका शिक्षक वा बुद्धिजीवी सहजै
शंकास्पद ठहरिन्थ्यो। डा जिभागो एक उच्च शिक्षा हासिल गरेको र उच्च वर्गको सदस्य
थियो। ऊ एक श्रमिक परिवारबाट थिएन। यसैले उनी क्रान्तिकारीहरूको क्षारो बन्न पुगे।
नभन्दै श्रमिक परिवार वा निम्न वर्गबाटै आएका कोही प्रतिभासम्पन्न व्यक्ति आफ्नो
प्रयासले बुद्धिजीवी बन्न पुगेको भए त्यस्ता व्यक्ति पनि क्रान्तिकारीहरूको छडके नजरमा
हुनेगर्थ्यो। लाराको पति पासा एक त्यस्तै पात्र हो।
उपन्यासमा बालबालिकाहरूको
अभिभावक या त मारिएका या कैद गरिएका हुनाले जताततै बरालिएका देखेर प्रशासनलाई ठूलो
समस्या भएको उल्लेख गरिएको छ। 1928 मा स्टेलिनले कलेक्टिभ फार्मिङको घोषणा गर्यो। यो
घोषणाले समस्त खेती भूमि सार्वजनिकिकरन भयो। कुनै पनि कृषि भूमि किसानको मालिकाना हक
समाप्त भयो। भूमि मात्र नभएर किसानले पालेका समस्त पशुधन पनि सरकारी हुने भयो। किसानले
आफ्नो घर छोडेर सामुहिक घरमा बस्नुपर्ने आदेश दिइयो। जुन खेती भूमि जति कृषक आवश्यक
हुन्थ्यो त्यति संख्यामा मात्र त्यहाँ सामुहिक खेतीमा सामेल हुने अनुमति दिइन्थ्यो
र रहल श्रमिक/किसानलाई विस्थापित
गरिन्थ्यो। उनीहरू या नयाँ बन्जर भूमि या जङ्गल फाडेर नयाँ आवादी बनाउन पर्थ्यो नभए
कुनै अर्को कम जनसंख्या भएको क्षेत्रमा पठाइन्थ्यो। वयस्कहरूलाई कुनै छुट थिएन तर बालबालिका
नै भने छुट थियो। यसले गर्दा धेरै बालबालिका आफ्नो अभिभावकबाट बिछोड भयो। गृहयुद्ध
पनि पाँच साल अधिक चलेको थियो। बिचमा महामारी, अनिकालले जीवन
कष्टकर बनायो। 1928 देखि 1940 सम्म नै लाखौंको संख्यामा बालबालिका घरबार विहीन भएर
जहीतही देखिने समस्या भएको थियो। दोस्रो विश्व युद्ध पछि मात्र गएर उनीहरूको पुनःस्थापन
कार्य सुचारू रुपमा सम्पन्न हुन सकेको थियो। यी कुराहरूको उपन्यासमा चर्चा नआए पनि
यहाँ बालबच्चाहरूको समस्या देखाइएको यही झल्काएको हो।
उपन्यासकार बोरिस पास्टरनाक
विज्ञानमा भइरहेको नयाँ अनुसन्धान र विचारहरूसित पूर्ण परिचित रहेको देखिन्छ। 1940
को दशकतिर जिनेटिक्स उति विकसित भएको थिएन। हुनत जिनेटिक्स 19सौ शताब्दीमा नै वैज्ञानिक
मेन्डलले विकास गरेका हुन। डिएनएको पुष्टिकरण 1950 को दशकमा मात्र भएको हो। बोरिस पास्टरनाकले
तर मान्छेको चेतना भौतिकजन्य नै हो भनेर यहाँ बताएको छ। शरीर भन्दा चेतना फरक होइन
भन्ने कुरा खुल्छ जो आजको 21सौ शताब्दीको विज्ञानले पुष्टि गर्दछ।
डा जिभागो रुसी
क्रान्तिको उपन्यास त होइन तर यो क्रान्तिले आम व्यक्तिको जीवनमा कस्तो प्रभाव
पर्यो भने यसले राम्ररी चित्रण गरेको छ।
डा जिभागो एक त्यस्तो
उपन्यास हो जसलाई पढेपछि पाठकमा यसको दीर्घकालीन प्रभाव पर्दछ।
Comments
Post a Comment