Skip to main content

छविलाल उपाध्याय

   
छविलाल उपाध्यायको "स्रष्टा सृष्टि तथा दृष्टि" माथि एक नजर



 छविलाल उपाध्याय असम क्षेत्रको प्रतिष्ठित साहित्यकार हुन। हालसम्म उनको 31 वटा कृतिहरू प्रकाशित छन। उनले एक कवि, निबन्धकार, समालोचक र कुशल अनुवादकको रुपमा आफ्नो विशिष्ट पहिचान बनाइसकेका छन। सम्मान हुने क्रममा दुई पटक साहित्य अकादमी पुरस्कार पाएका छन, पहिलोपटक अनुवादमा र दोस्रो पटक उनीबाट विरचित महाकाव्य "उषा अनिरुद्ध" को निम्ति। एक व्यक्तिको रुपमा उनी असममा सर्वसम्मानित छन र साहित्यमा दीर्घ एवम लगनशील सेवा पुर्याए बापत असम सरकारबाट वृत्ति उपलब्ध गराइएको छ। उनलाई असम, सिक्किम, कालेबुङ, बनारस, नेपाल आदि स्थानहरूबाट विविध पुरस्कार एवम सम्मानले विभुषित गराइएका छन।
श्री छविलाल उपाध्यायज्युले यस पंक्तिकारलाई स्नेहवश आफ्ना हालै प्रकाशित तीन कृतिहरू उपहारस्वरूप उपलब्ध गराइदिएका थिए। स्रष्टा सृष्टि तथा दृष्टि (समालोचना), अनुभवका तीसौँ पाइला (संस्मरण) र मेरो जन्मभूमि (कविता सङ्ग्रह)। हुनत विगतमा पनि उनले सम्झना गरिदिएको हो र यो पहिलोपटक भने होइन। यद्यपि आफ्ना कृतिहरूमाथि प्रतिक्रिया राखिदिने स्पष्ट आग्रह भने यसबाजि पहिलोपटक हो। कुनै स्रष्टा जति धेर चर्चामा रहन्छ स्रष्टाको सान्दर्भिकता अतिरिक्त वृद्धि भएर जानेछ र जति नै अधिक चर्चा रहे पनि लेखनको प्रतिलेखन पुनर्लेखन हुने अवकाश हुन्छ र हुनु पनि पर्छ। जुन लेखनमा अतिरिक्त लेखन हुन सक्दैन त्यस्तो लेखनको सान्दर्भिकता त्यही समाप्त हुन्छ। विनिर्माणी अवधारणाले हामीलाई सम्झाउँछ जुन लेखनले जति धेर लेखन जन्माउँछ त्यो लेखन त्यतिकै सफल हुन्छ।
यी तीन कृतिहरूमा मलाई "स्रष्टा सृष्टि तथा दृष्टि" ले बडी आकर्षण गर्यो। यो समालोचनात्मक कृति भएको कारण पनि हो। पाश्चात्य आलोचना पद्धतिले बताउँछ साहित्य सृजनासित सम्बन्धित हुन्छ भने समालोचना ज्ञानसित सम्बन्धित हुन्छ। राम्रो समालोचनाले हामीलाई असल ज्ञान दिन्छ। वास्तवमा थोरै पढेर धेरै पुस्तक र विचारको ज्ञान लिन समालोचना बडो सहायक बन्दछ। समालोचकले आफ्नो विशद अध्ययन र गहन विचारले लेख राखेको हुन्छ। यसले सुधी पाठकलाई एक सानो ब्रम्हान्डनै विचरण गराइदिन्छ। साहित्य पढन र बुझ्नलाई असल सृजनात्मक कृतिको पाठ जति आवश्यक छ उतिकै आवश्यक उम्दा समालोचनात्मक कृति पाठ गर्न आवश्यक छ। कुनै पनि सृजनात्मक लेखन रहस्यमय हुन्छ र कूट हुन्छ। कूट उत्घाटन सहज हुँदैन। समालोचनाको धर्म यसैमा हुन्छ उसले सृजनाको रहस्य पाठकमा सहजताको साथ पुर्याइदिन्छ। एउटा भुलभलैयाबाट मुक्त गराइदिन्छ। यसलाई रूपकीय रुपमा यसो भन्न सकिन्छ कुनै पनि सृजनात्मक पाठ एक विहड जङ्गल हो र त्यसबाट मुख्य मार्गमा जाने बाट समालोचनाले देखाउने छ। नभन्दै समालोचनामाथि बनेको यस्तो धारणा समकालीन समयमा खासै चल्तीमा छैन। बीसौं शताब्दीको प्रारम्भदेखि या भनौं स्लोकोभ्स्कीको रुपवाद घोषणा गरिएको लेख "कला एक तकनिक" देखि समालोचनाले सृजनाबाट स्वतन्त्रता हासिल गर्यो। हाल सृजना र समालोचना स्वतन्त्र रुपमा अध्ययन गरिन्छ। पूर्वीय अवधारणामा भन्नू हो भिन्न भिन्नै रसपान गरिन्छ। यही नेर आएर यहाँ छविलाल उपाध्यायजीको समालोचनात्मक लेखन  सान्दर्भिक देखाउन सक्षम रहेको प्रमाणित बुझिन्छ।
उन्नाइसौं शताब्दीमा समालोचनालाई साहित्यको सहायक (गेरी माइकल) मानिन्थ्यो। यसको अर्थ हुन्छ सृजना पछि मात्र समालोचना हुन्छ र सृजना छैन भने समालोचना पनि हुँदैन। विश्व साहित्यमा धेरै परिवर्तन आए पनि नेपाली साहित्य परिवेशमा यो विचारले पूर्णत मुक्ति पाएको छैन। चाहे नेपालमा लेखिएको होस वा भारतको नेपाली साहित्यमा होस समालोचना अझै पनि सृजनाको दोयम स्तरमा बाँचेको देखिन सकिन्छ। यही कारण समालोचनालाई सृजनाको मूल्यांकनको रुपमा हेरिने परम्परा जिवित छ। समालोचना विश्लेषण बडी हो र मूल्यांकन कम हो भन्ने चेतना फस्टाउन सकेको छैन। चाहे सर्जक होस वा समालोचक यही चिन्तनको वृत्तमा सीमित रहेको छ। समकालीन समयमा प्रभाववादी समालोचनाको व्यापकता देखिन्छ र वस्तुगत चिन्तनभन्दा नितान्त वैयक्तिक झल्काउने हुन्छ। सृजनाको सारलाई केन्द्रमा राखेर हेरिने आलोचनाको लोकप्रियता अधिक रहेको छ। छविलालज्यूको आलोचना पद्धति यही प्रभावपरकता र सार केन्द्रित नभएर तुलनात्मक एवम विश्लेषणात्मक रहेको देखिन्छ। नेपाली साहित्य आलोचना परम्परामा नयाँ प्रयोग नभए पनि यसप्रकारको पद्धतिको न्युनताले यी लेखहरूको महत्ता कायम भएको बुझिनुपर्छ। छविलालज्यू मूलत एक कवि हुन र उनका कविताहरू पनि पूर्वीय परम्परा कै छन। तर उनको समालोचना भने अर्वाचीन  देखिन्छ र कृतिको गुणदोष मात्र नहेरिएर तुलनात्मक विश्लेषण पनि गरिएको देखिन्छ जुन पूर्वीय परम्परागत होइन। पूर्वीय अवधारणामा समालोचना र साहित्य सिद्धान्त छ। तर पूर्वीय साहित्य शास्त्रीले कुनै कृतिगत विमर्श/विवेचना गरेको प्रामाणिक लेख पाइँदैन। यद्यपि पूर्वीय शास्त्रीय साहित्य पद्धतिको आधारमा समालोचना हुन सक्ने हो। नभन्दै नाट्यशास्त्र जस्ता साहित्य शास्त्रले भनेको साहित्यिक कृतिको आधार चतुर्धर्म अथवा धर्म अर्थ काम मोक्षको पालन र रस सिद्धान्त एवम छन्द अनुसरण अक्षरस भित्र विश्लेषणको अपेक्षा गरिँदा सौन्दर्य तत्व वा मनोरञ्जनात्मकता तथा साहित्यिकताको वर्चस्व नदेखिनु सकिने हुन्छ। मार्क्सवादी साहित्यले भने जस्तै साहित्य समाज निरपेक्ष वा नितान्त वैयक्तिक नभएर क्रान्तिको सहायक/द्वितीयक झैँ धर्मको पक्षधर मात्र रहने बुझिन्छ, स्वतन्त्र अस्तित्व हुँदैन। छविलाल उपाध्यायज्यू स्वयं पूर्वीय विचारधाराको सर्जक भए पनि समालोचनामा भने नितान्त आधुनिक विचार राखेका  स्पष्ट छ। समालोचनाबारे उनले राखेका  धारणाले बताउँछ समालोचना कृतिको गुणदोष विवेचना हो भनेर। "समालोचना भनेको नीर-क्षीर विवेचना गरिएको हुनुपर्दछ। अर्थात् कृति भित्र पसेर त्यसका गुण-दोषको दधको दूध पानीको पानी छुट्याएर (पर्गेलेर) विवेचना गर्न सक्नुपर्दछ र मात्र कृतिको उचित मूल्यांकन हुन्छ भन्ने ठान्दछु।" (स्रष्टा सृष्टि तथा दृष्टि)। पारम्परिक मा्न्यतामा समालोचनालाई यही भूमिकामा हेरिने हो। माथि पूर्वीय समालोचना सिद्धान्तमा कृति विवेचना रहेको देखिँदैन भन्ने विचारलाई छविलालज्यूको भनाइको आधारमा हेरे बुझिनेछ। संस्कृत साहित्यको इतिहासले बताउँछ श्रुति र स्मृति ग्रन्थ बाहेक सबै पुराण एवम रामायण महाभारत साहित्य हुन। तर रामायण महाभारत एवम कुनै पनि पुराणलाई गुणदोषको विवेचना गरी विवेचना गरिएको पाइँदैन। यी सबै ग्रन्थहरू धार्मिक ग्रन्थको मान्यता दिइएको कारण समालोचनात्मक विवेचना गरिन सकिने सम्भावना पनि राखिएन। छविलालज्यू पुरानो मान्यतालाई अस्वीकार गरेर सबै साहित्यिक कृतिको गुणदोष विवेचना राखिनुपर्ने अडानको कारण आधुनिक देखिएका  छन। उनले भानुभक्तको "रामायण" लाई आलोच्य विषय बनाएका  पनि यसै दृष्टिकोणले हेरिनु सकिनेछ। भानुभक्तको शब्द चयन स्वाभाविक नभएको देखाउँदै आलोचना गरेका छन:
"कतिपय ठाउँमा भानुभक्तले सजिला शब्द वाक्यलाई आपठ्यारो पाराले लेखेको पाइन्छ 
"बिदा बक्स्या जाओस् खुशीसित म जान्याछु वनमा
म चाँडै फिर्न्याछु विरह मरवस् कत्ति मनमा।।"
छविलालज्यूले बताउनु भएको छ माथि "बक्स्या" को बदलि "बक्सी" लेख्दा हुनेथियो। 
      छविलालज्यूको भानुभक्तमाथिको यो लेखको विशेषता तुलसीदास कृत रामचरित मानस, माधव कन्दलीको असमीया रामायण र भानुभक्तको रामायण बिचको तुलनात्मक अध्ययन हो। रामचरितमानस र भानुभक्तीय रामायण दुवै सातकाण्ड रहेको छ 
तर पार्थक्य भने तुलसीदासले लङ्काकान्ड लेखे जसलाई भानुभक्तले युद्धकान्ड भने। बालकान्डलाई माधव कन्दलीले आदिकान्ड लेखेको छ भनेर जानकारी दिएका छन। हुनत रामचरितमानस र भानुभक्तीय रामायणमा रहेको भिन्नता बालकान्डमा पनि छ। तुलसीदासले भगवान रामको बाल्यकालको चित्रण गरेको छ जो भानुभक्त रामायणमा छैन। दोस्रो भिन्नता हो तुलसीदासको राम शाकाहारी छ भने भानुभक्त र माधव कन्दलीको राम मांसाहारी छ। तुलसीदासको रामचरितमानसमा उत्तरकान्ड पनि छ जो भानुभक्तीय रामायणमा छैन।
छविलालज्यूले माधव कन्दलीको रामायणलाई प्रान्तीय भाषामा पहिलो अनुवाद भनेका  छन। माधव कन्दली भन्दा अघि पनि अन्य भाषामा रामायण देखिन्छन्। भाषामा देखिएका रामायणमा तमिल भाषामा कम्बनको रामायण र अर्को प्राकृत भाषामा विमलसुरीको जैन रामायण प्रसिद्ध छन। तमिल भाषाको रामायण बाह्रौं शताब्दीको हो भने विमलसुरीको जैन रामायण चौथो शताब्दी तोकिएको छ। हुनत जैन रामायण केही फरक छ। यो रामायणमा रावण बध रामले होइन लक्ष्मणले गरेको देखाएको छ।
"आमा" महाकाव्यभित्र रूमलिँदा" आलोचना एक गम्भीर एवम तथ्यपूर्ण विश्लेषण रहेको शक्तिशाली लेख हो। आलोचक छविलाल उपाध्यायले उनको पूर्वीय शास्त्रमा भएको अध्ययन खुलेर देखाएका  छन। महाकाव्य अध्ययन र काव्यरूप बुझ्नको निम्ति यो लेख  विशेष बन्न गएको छ। कवि शब्दको धातु बुझाएर लेखेका छन  कृवर्ण धातुबाट "इ" जोडिएर कवि शब्दको निर्माण भएको हो। कवि भनेको वर्णन गर्ने हो। उनले संस्कृतको श्लोक उद्धृत गरेर बताएका छन
 कवि कसैले जन्माउन सक्दैन र ऊ स्वयम्भू अर्थात आफै जन्मिने हुन्छ।
कुनै कृतिको चर्चा गर्दा कृतिकारको परिचय आवश्यक पर्दछ जसले पाठकलाई सहज बनाउँछ। यही भएर लेखमा कृतिकार तुलसी 'कश्यप'को सामान्य परिचय राखिएको छ। तुलसी 'कश्यप' सिक्किमको एक प्रमुख प्रतिभा हो जसले पहिलोपटक नेपाली भाषाको साहित्य अकादमी पुरस्कार पाउन सके। यो उनको दोस्रो महाकाव्य "आमा" को निम्ति दिइएको थियो।
कश्यपको पहिलो महाकाव्यको विषयवस्तु सिक्किमको परिचयात्मक वर्णन रहेको थियो र महाकाव्यमा रहनु पर्ने लक्षण थिएन। यही कारण समालोचक डा गोपाल प्रसाद दाहालले "जन्मभूमि" महाकाव्य नरहेको अडान गरि लेख लेखेका थिए। यो महाकाव्यको निरुपणात्मक लेख भने डा इश्वर बरालले लेखेका थिए र उनले नै यस कृतिलाई महाकाव्य भनी अलङ्करन गरेका थिए। यसैको पछि चुनौती स्वरूप तुलसी कश्यपले "आमा" महाकाव्य लेखेका हुन। यो महाकाव्य एक प्रकारले आत्मकथात्मक रहेको छ। यसमा बुनिएको कथा वस्तु पात्र पात्रा र घटनाक्रम महाकविको पारिवारिक परिवेशमा मेल खान्छ। 
छविलालज्यूले "आमा" महाकाव्यमा रहेका भाषिक दुर्बलता र काव्यिक परिष्कारमा वाञ्छनीय सुधार नदेखिएको कारण भूमिकाकार ईश्वरबराललाई  लापरबाहीको आरोप लगाएका 
उचित ठहर हुन्छ। भूमिकाकारले कुनै कृतिको भूमिका लेख्न अघि कृतिमाथि हेरविचार गरेको हुनुपर्छ र सोही अनुरुप टिप्पणी देखिनु पर्दछ। तर बरालको भूमिकामा ती सब छैनन्। मोहन दुखुनको महाकाव्य "मन्दाकिनी" प्रति बरालले गरेका अवहेलनाको आलोचना पनि न्यायसंगत छ। हुनत बराल त्यसै पनि निष्पक्ष कहीँ देखिएको छैन र वास्तवमा बराल आलोचनात्मक प्रज्ञा लिएको प्रतिभा होइन। उनले वैरागी काइँलाको प्रसिद्ध कविता "मातेको मान्छे…." लाई नबुझी बंगाली कवि शक्ति चट्टोपाध्यायको कविताबाट चोरेको भनेर एक निम्न स्तरीय तुच्छ आरोप लगाएको हो। हुन चाहिँ बंगाली कविता र वैरागी काइँलाको कवितामा केही मेल खाँदैन। काइँलाले  त्यो कविता पढन त परै जावोस सुनेका पनि थिएनन्।
छविलाल उपाध्याय नारी अधिकार र सम्मानप्रति सचेत रहेका  आफ्ना विभिन्न लेख र कविताबाट देखाइसकेका छन । साहित्य र समाजमा नारी विमर्श आउन थालेको पुरानो विषय नभएर नयाँ विचार हो। पुरुष र नारीलाई समान दृष्टिकोण राख्ने अवधारणाको टेक विशौँ शताब्दीको देन भन्न मिल्नेछ। पुराना धार्मिक ग्रन्थादिमा नारीलाई उच्च दिइएका उदाहरण कमै देखिन्छ। तर छविलालज्यू धार्मिक गौरव र परम्परालाई सम्मान गर्ने देखिए पनि उनी समय अनुसार सुधारको पक्षमा रहेका  छर्लङ्ग छ। यही महिला सम्मानको चेतनाको कारण उनी यस विषय सम्वेदनशील देखिएका छन र नारीविरोधी विचारको विरोधमा आएका छन। "आमा" महाकाव्यको यो श्लोकमा रहेको विचारको आलोचना गरेका छन 
"गर्दै ध्यान गएर पाउ पतिका धोएर पानी पिई
छर्दै त्यो शिरमा कृतार्थ उ हुने कर्तव्य पूरा भई
खान्छिन जे जति बाँच्छ खाद्य पतिले खाएर त्यो थालमा
प्यारा नेत्र पुलुक्क दर्शन गरि ढोगी दुवै पाउमा।"
छविलाल यसको तुलना तुलसीदासको कुख्यात नारीविरोधी कथनसित गर्छन  र यसको कठोर आलोचना गरेका  छन। तुलसी कश्यप हिन्दू सनातनी धर्म परम्पराप्रति गहिरो आस्था लिएका  र कुनै पनि पाश्चात्य रितीरिवाज एवम सभ्यतामा वितृष्णा राख्थे। यो श्लोकमा पोखिएका विचार महाभारतमा शिव र पार्वतीको वार्तालाप अनुरुप नै छ। भगवान शिवले पार्वतीलाई स्त्रीको कर्तव्य बुझाउँदै भनेको हुन्छ  एक स्त्री बिहान चाडैं उठनुपर्छ। सर्वप्रथम ईश्वर वन्दना गरेर घरको साफसफाइ गर्नु पर्छ। घरको धुप धुपौरो र चुल्हा चौकाको तयारी गरे पछि घरेलु काम सम्पन्न गर्नु पर्छ। बेलुकीको भोजन अघि पहिला भगवानलाई चडाएर, पाहुनालाई रिझाएर अनि नौकर चाकरलाई सन्तुष्ट बनाइसके पछि मात्र अन्तमा आफ्नो भोजन गर्नुपर्ने हुन्छ। (Anand Coomarswamy) (Status of Indian Women) (The Dance of Shiva) यही लेखमा  मनुस्मृतिबाट नि उद्धृत गरेको छ:
पति कुनै राम्रो गुण भएको नहोस्, परस्त्री लम्पट नै होस तर एक पत्नीको निम्ति पति पुजनीय नै हुन्छ र भगवानलाई जस्तै पूजा गर्नुपर्छ।(ऐजन)
महाकवि तुलसी कश्यप हिन्दू शास्त्रको पक्षधर थिए। यसैले उनको चित्रण यही अनुरुप भएको छ। 
समिक्षक छविलालको विचार भने समय अनुरुप पुराना असान्दर्भिक संस्कारको परिष्कार हुनुपर्ने भन्ने स्पष्ट बुझिन्छ। उनीबाट धेरै नवसर्जकहरूले यो चेतना अनुसरण गर्नुपर्ने देखिएको छ। यहाँ यसलाई रेखांकन यसकारण गरिएको हो किनकि विभिन्न क्षेत्रका सर्जकहरूका लेखनमा यथास्थितिवाद र परम्परावाद अझ देखिन्छ अनि उनीहरू सचेत रहन सकेका देखिँदैनन्। 
"महाकवि कालिदास तथा महाकवि देवकोटा" यो संकलनमा रहेको विशेष महत्त्वको लेख भन्न सकिन्छ। महाकवि कालिदास र महाकवि देवकोटाका कृतिहरूका उल्लेखबाट प्रारम्भ गरिएको लेखको मूल उद्देश्य कालिदासको नाटक शाकुन्तल र देवकोटाको महाकाव्य शाकुन्तलको तुलनात्मक विश्लेषण रहेकोछ। शाकुन्तल नाटक र महाकाव्य शाकुन्तल दुवैका कथाको उदगम महाभारत हो। यसप्रकार यी दुई कृतिलाई उपजीव्य भन्न मिल्नेछ।
महाभारत, अभिज्ञानशाकुन्तलदेखि शाकुन्तल महाकाव्यमा आइपुग्दा पात्र पात्राहरूको विस्तारण दिएका छन छविलालले। महाभारतमा शकुन्तला उपकथामा दुश्यन्त, कण्व र शकुन्तला मात्र थिए। अभिज्ञानशाकुन्तलमा आएर अनसूया, गौतमी र प्रियम्वदा थपिए र महाकवि देवकोटाको शाकुन्तलमा चारु, किसान र उसकी पत्नी नयाँ पात्र पात्रा भित्रिए। 
छविलालले लेखेका छन "महाकवि कालिदास विरचित "अभिज्ञानशाकुन्तलम्" को कथाको स्रोत यद्यपि महाभारतकै भए तापनि त्यसमा आफ्नो युग र पूर्ववर्ती कविहरूको प्रभाव परेको देखिँदैन बरू त नवीन उदभावनामा पूर्ण रूपले सबल तथा सक्षम सबल भएका छन।" उता देवकोटा भने कालिदासको प्रभाव भेटिएको दावी गरेका छन। छविलालजीको यो अडान स्पष्ट नभएको देखिन्छ। कालिदास र देवकोटाले महाभारतको कथावस्तुलाई लिएर पुनर्लेखन गरेका हुन। कालिदास महाभारतको गहन अध्ययन गरेको कारण नै अभिज्ञानशाकुन्तल विरचित भएको हो यसैले महाभारतको सर्जक व्यासबाट प्रभावित थिएन भन्न सटीक हुँदैन। उसैगरी देवकोटाले आफ्नो पूर्ववर्ती सर्जकको कृतिबाट प्रभावित भएर लेखेका हुन। जसरी अभिज्ञानशाकुन्तललाई मौलिक लेखन मान्नु पर्ने हुन्छ देवकोटाको शाकुन्तल महाकाव्यलाई पनि मौलिक मानिनु पर्ने हुन्छ। 
महाकवि कालिदासको शुद्ध संस्कृत भाषाको प्रयोगको मुग्ध कण्ठले प्रशंसा गरेका छन छविलालजीले र देवकोटाले यदो गर्न नसकेको दोष देखाएका छन। यद्यपि महाकवि कालिदासले पनि संस्कृत भाषामा मात्र नलेखेर प्राकृत भाषामा पनि लेखेका थिए। कालिदासको समय ईशा चौथो शताब्दी तोकिएको छ। त्यस कालमा भारतका सर्जकहरू बहुभाषिक हुन थालेका देखिन्छन्। कालिदासभन्दा जेठो भरतमुनिले पनि नाट्यशास्त्र लेख्दा संस्कृत र प्राकृत दुवै चलाएको पाइन्छ। आचार्य भामहले काव्य तीनप्रकार हुन्छन् भनेर भनेका थिए; संस्कृत, प्राकृत र अपभ्रंश। काव्यादर्शले वाङमय संस्कृत, प्राकृत, अपभ्रशं र मिश्र हुन्छन बताएको छ। नाट्यशास्त्रमा झन नाटकमा वाचन संस्कृत, विन्नष्ट, देशीगीत, शौरसेनी, मागधी, दक्षिणात्या पनि हुनसक्ने बताएको छ। (संस्कृत साहित्य इतिहास : पी भी काने)।
कालिदासको नाटक अभिज्ञानशाकुन्तल विश्व साहित्यको धरोहर हो भने महाकवि देवकोटाको महाकाव्य "शाकुन्तल" नेपाली साहित्यको पहिलो महाकाव्य मात्र नभएर अत्यन्तै महत्त्वपूर्ण कृति पनि हो। समिक्षक छविलालजीले यही चेतना लिएर यी दुई महान कृतिहरूको तुलनात्मक अध्ययन गरेका एक स्तुत्य कदम मान्न सकिन्छ।
महाकवि देवकोटाको शाकुन्तल महाकाव्यको सौष्टवलाई लिएर एक पूर्ण लेख "शाकुन्तल महाकाव्यको काव्य सौष्टव" संकलित छ। 
यस समीक्षा संकलनमा परेको अन्य लेखहरू पनि छन जो पुष्पलाल उपाध्याय, लीलबहादुर छेत्रीमाथि लेखिएका छन भने एउटा लेख असमेली भेकबाट भएका अनुवाद कार्यमा आधारित छ। अन्तिम लेख भने एक गीत संकलनमाथि छ। 
नेपाली समाजमा पठन संस्कार दह्रो छैन। सबै कृति पठनातुर पाठकको पहुँचमा हुँदैन। जो लेखिँदैछन समाजको ठुलो तप्का अनभिज्ञ रहेको हुन्छ। कुन कृति कस्तो लेखिएको छ यसको सूचना सर्वराह भएको हुँदैन। समालोचना पठन यही आएर एक सेतुको काम गर्दछ। कम समयमा धेरै कृतिबारे सामान्य ज्ञान हासिल गर्न सहयोग पुर्याउँछ। यस संकलनमा आएका छविलाल उपाध्यायका लेखहरूले धेरै पुस्तकको ज्ञान मात्र होइन तर तिनीहरूलाई कसरी पढनु पर्ने र कसरी बुझ्नु पर्ने जस्तो अहम कुरामा पनि सहयोग पुर्याउन सक्षम छ।




















Comments

Popular posts from this blog

अगमसिहं गिरी (युद्ध र योद्धा ) आलोचना

             युद्ध र योद्धा : एक पठन                          पेम्पा तामङ      अगमसिहं गिरी भारतीय नेपाली साहित्यमा सर्वाधिक चर्चामा रहेको कवि हो। उनलाई मूलतः स्वछन्दतावादी कवि र जातीय कवि भनेर आलोचकहरूले चिनाएका छन भने कही कही अस्तित्ववादी भनी परिचय दिएको छ। उनका प्रारम्भिक कविताहरू भावनात्मक र करुणामय थिए यसैले उनलाई दुखवादी पनि भनिएको  हो। गिरीका कविताहरू आम चलनको भाषामा लेखिएका र प्रतीक र बिम्वको जडान थोरै रहेका छन। सरल , सहज र बोधगम्य रहेको हुनाले आम पाठकबीच लोकप्रियता बडी रहेको थियो। जीवन , मृत्यु , दुख , बिरह उनका कविताको भावलहरी रहेको छ। कल्पनाको निर्बाध उडान र जीवन परान्मुख रहेको मानिन्छ। जीवनलाई यसरी हेर्ने दृष्टि छायावाद र स्वछन्दतावा भनेर चिनिन्छ। हुनत छायावाद र स्वछन्दतावाद यी बाहेक अन्य पनि हुन। स्वच्छन्दतावादको प्रवर्तक विलियम वर्डस्वर्थको लेखन सिद्धान्त कविताको भाषा आम मानिसको बोलीको शैलीमा हु...

Circle of Karma -Bhutanese novel review

Circle of Karma   Authored by Kunzang Choden, a native of a small village in Bumthang District in  north-central Bhutan, Circle of Karma is the first English novel to emerge from the land of the druk (Bhutan),   the mythical dragon. Published in 2005, the novel instantly courted fame far and wide, and has since been translated into several languages. The novel had been short listed for the prestigious Elle Prix des Lectrices too. Choden was born in the year of the druk , or the year of the dragon, corresponding to 1952 in the Gregorian calendar. Since Choden was born into a prosperous family, her parents sent her to a convent school in Kalimpong when she was nine years of age. Choden recounts the initial difficulty she encountered in the school because, as is prevalent in Bhutan, she did not have a surname attached to her first name. Moreover her father’s name was Kunzang Dorje and the Reverend Mother of her school refused to believe that the father an...

Poetry of Puja Upadhyay

             दुई शब्द भूमिकाको                           पेम्पा तामङ      नेपाली साहित्यमा सर्वाधिक लोकप्रिय विधा कविता हो र सर्वाधिक रचना यसैमा देखिन्छ। कविता एक यस्तो विधा पनि हो  जसले कवि अनि रसिक दुवैलाई आकर्षित गराउँछ। कविलाई अनिवर्चनीय आनन्द बोध गराउँदछ कविता सृजनामा। यसैले पनि कवि शब्द सुधाको धारा बहाउन चञ्चल रहन्छ। हुनत कविता व्यक्ति र समाजमा जोडिने एक सेतु पनि हो। नेपाली कविताको पहिलो कविता मानिने सुवानन्ददासको लेखनलाई हेर्नु हो भने कविता एउटा त्यस्तो सशक्त माध्यम हो जसको सहाराले एक निरीह व्यक्ति सर्वशक्तिमानसित  संवादमा रहनुसक्दछ।   कुनै पनि कविताले व्यक्तिलाई एकदेखि अनेकमा पुर्याउने क्षमता राखेको हुन्छ। कविता एक परम्परा निर्वाह हो। कुनै पनि कवि अनेकौं पुस्ताको प्रतिविम्ब हुन्छ , चाहे त्यो रूपमा होस , विचार वा दर्शनमा होस या फेरि फगत भाषिक परम्परामा। तर कुनै कविताले परिचय त्य...