Skip to main content

दीपा राई

अन्तिम जाम : कविता कोलाज


कविता मानव सभ्यताको अभिन्न चिन्ह भएको स्वीकार्न सकिन्छ। भाषाको उद्भव कविताबाट भएको अनुमान लगाइन्छ। पी बी शेलीले उनको प्रसिद्ध निबन्ध ए डिफेन्स अफ पोयट्रीमा लेखेका छन भाषाको शैशवकाल काव्यमय रहेको हुन्छ। यही विचारलाई अघि लाएर इन्द्रबहादुर राईको विचार अनुसार  भाषाको मूल प्रकृति कविता हो, सामान्य बोलीको भाषा वास्तवमा विचलन हो।(हामी जन्मात कवि हौँ, व्यावहारिकताले अकवि बनेका।)(काव्यिक भाषाको अस्तिता)। यसको अर्थ हुन्छ प्रत्येक बोली नै कविता हो। कविताबाट सामान्य भाषा जन्मियो भन्ने यसले बताएको छ।  तर ग्रीसेली कवि होमरले भने कवितालाई दैविक प्रेरणा भनेका थिए। होमरको विचारले सबै कवि हुन सक्दैन र ती व्यक्ति मात्र कवि हुनसक्छ जसलाई दैविक प्रेरणा प्राप्त छ। 
पूर्वीय संस्कृतमा पनि कविताको जन्मबारे चाखलाग्दो प्रसङ्ग छ। आचार्य राजशेखरको काव्यमिमांसामा उल्लेख छ। एक पटक देवी सरस्वतीले हिमालयमा तपस्या गरी र उनको तपस्याबाट प्रसन्न भएर ब्रम्हले काव्यपुरुषको सृष्टि गरिदिए। सरस्वती देवी आनन्द विभोर भएर काव्यपुरुषलाई काखमा लिइन। उनै काव्यपुरुषबाट जगतमा कविता स्फुटन भए। यसरी पूर्वीय धारणाबाट पनि कविता दैविक प्रेरणाबाट सृष्टि भएको भन्ने विचार अघि आउँछ।
कविताको जन्म लिएर मार्क्सवादी धारणा आएको छ। आदिम कविता श्रमको देन हो। कठिन शारीरिक श्रमको पीडाको बोध शमन गर्नको लागि सामुहिक रुपमा लयात्मक गीत गाउथ्यो। गीतको भाका एकल नभएर सामुहिक नै हुन्थ्यो। वास्तवमा उनीहरूको सामान्य बातचीत यही आधारमा रहन्थ्यो। पछि गएर जब समाज विकास भयो त्यसपछि मात्र कविता समाजबाट व्यक्तिमा सीमित भएर रहे। कविताको जन्म दैविक प्रेरणा नभएर मानवीय श्रमबाट भएको हो। मार्क्सवादी चिन्तक ख्रिस्टोफर कडवेलले उनको प्रसिद्ध पुस्तक "भ्रम अनि यथार्थ" मा लेखेका छन कविता उदात्त भाषामा लेखिएको कथन हो। उदात्त भाषा कसरी निर्माण हुन्छ यसको परिचय कडवेलले दिएको छ। उनको भनाइ अनुसार  छन्द, लय, अनुप्रास, सम शब्दांश पंक्ति, अलङ्कार आदिको प्रयोगले कविताको भाषा चमत्कारिक बनाएको हुन्छ। यसैले  उनले कविता चमत्कारिक (charm, magical)  हुन्छ भनेको छ। उनको समकालीन अर्का मार्क्सवादी चिन्तक इ जे थोमसनले भने कवितामा सम्मोहन हुन्छ भनेको छ। यही सम्मोहनको कारणले पाठक कविताप्रति आकर्षित बन्दछ। 

यही सम्मोहनलाई बीज शब्द मानेर कवि दिपा राईको केही अघि प्रकाशित भएको कविता संकलन "अन्तिम जाम" पाठ गर्न जमर्को गरिन्छ।
नेपाली कविताले धेरै फडको मारिसकेको छ र कविले कविता लेखन भूमिका त्यही लिएको देखिँदैन जो अघिल्लो पुस्तामा देखिन्थ्यो। कविताको रूप फेरिएको छ। अघि कवि आफूलाई समाजको जिम्मेवार सदस्य स्वघोषणा गरेर सामाजिक जागरुकता, नागरिक हित र नैतिकताको पाठ पढाउन तत्पर रहन्थ्यो। कविता लेख्नु समाजहितको निम्ति हुनुपर्छ भन्ने धारणा प्रबल थियो। उनीहरूलाई आत्मविश्वास थियो कविताद्वारा व्यक्ति एवम समाजको उत्तरोत्तर गर्न सकिनेछ। कविले समाज र आफूमा विभाजन रहेको मान्दथ्यो र आफ्नो जस्तै चेतना समाजमा नरहेको ठहर गरथ्यो। तर हिजोआजका कविमा चेतनामा परिवर्तन आएको देखिन्छ र आफू त्यही समाजको उपज भएको बुझ्छ। समाजले जस्तो बुझ्दछ उसले त्यही बुझ्दछ। यही चेतना लिएर आफ्नो कविताहरू राखेकी छिन कवि दिपा राईले यहाँ। यसैले यी कविताहरूका पाठकले उनीहरू यसमा आफूलाई जीवन्त पाउन सक्छन्। 
"अन्तिम जाम" कविता सङ्ग्रह विविध विषयवस्तु लिएको कविता संकलन हो। कवि दिपा एक कुशल चित्रकार पनि हुन र लामो समयदेखि चित्रकार समूहको नेतृत्व एवम क्षेत्रीय राष्ट्रिय स्तरमा चित्रकारिताको कार्यशाला प्रदर्शनीमा सहभागिता जनाउँदै आएकी कारण चित्रकलाको विविध  पक्षसित पारंगत छिन। कवितामा चित्रकलाको शब्दावली भरपुर आएको छ। आफ्नो यही ज्ञान र अनुभवको प्रयोग यस संकलनमा भएको छ। नेपालको प्रसिद्ध आख्यानकार कुमार नगरकोटी आफूलाई कथाकार उपन्यासकार नभनेर फिक्सन डिजाइनर भन्न रुचाउँछ। कुमार नगरकोटीको उपन्यास जस्तै दिपाको यो सङ्ग्रह एक डिजाइनमा आएको छ र परम्परागत कविता सङ्ग्रह जस्तो छैन। संकलन सात भागमा विभाजन गरिएको छ र प्रत्येक भाग फरक विषय रहिआएको छ। "पिरती क्याफे", "चिया कोलाज", "धुवाँको गीत", "खोक्रो", "माटोको घर", "-यान्डम ग्यालरी" र "समययात्रा" शीर्षकमा रहेका छन। "चिया कोलाज" मा सबैभन्दा धेर १२ कविता रहेका छन भने सबैभन्दा कम "समययात्रा" मा ५ कविता मात्र छन। जम्मा ५८ कविताको संकलन हो। 
शीर्षकले बताएको "पिरती क्याफे" प्रेम कविता गुच्छा हो। यसभित्रका सबै कविता रुमानी छन। बर्खा ऋतु आगमन साथै झरी झर्न थाल्छ। तर झरी घनघोर नभएर "कन्जुसी गरी" झरिरहेछ। यसैले पात्र विषाद मान्छ। "झरीको गीत" मा झरीले गर्दा पात्रालाई आफ्नो प्रेमीसित को मिलनको अवरोध भएको आभास हुन्छ। उसलाई लाग्छ ठूलो बर्षा भए झरी छिटै थामिने थियो र मिलन सम्भव हुने थियो। तर त्यसो हुन सकेको छैन। मद्धिम गतिको झरीको चित्रण जीवन्त छ
"खिर्की बाहिर 
पानी थोपाले
मसिना मसिना 
पाइतालाले
हिर्काइबस्छ
ऐनामा
प्याट
प्याट
प्याट"
श्रखंलाको  "ओ याद" र "बचाइको अलिकति शताब्दी" मा प्रेमिका प्रेमीसित को सुन्दर प्रेमिल पलको सम्झना गर्दछ र स्मृतिविभोर बन्दछ। तर उसलाई यी सब विगत भइसकेका र अब विषादमय सम्झना मात्र हो भन्ने लाग्छ। ऊ विक्षिप्त बन्दछ, आघात भएको लाग्छ अनि क्रोधित बन्दछे उसलाई सम्झेर। आक्रोश पोखेर भन्छिन्
"नूनै नूनले भरिएको जीवन जो छ
जा अब
नुनिलो रगतकै धारले काटिदिन्छु।
मुटुमै गाडिएको 
त्यसको प्रेमको जरालाई।"
पूर्वप्रेमीप्रति घृणा र क्रोधले उसको स्पर्श असहनीय बन्दछ
"त्यो छुवाइलाई
महसुस गर्न नपरोस् भनेर 
मेरो शरीरका सारा अङ्ग 
कुँजे बनाइदिन्छु।" 
यही कवितामा आएर बताइन्छ  सम्बोधनमा रहेको प्रेमी पति हो भनेर। प्रेमिका  मिलन सम्भव नरहेको बताउँछ। 
"अन्तराल" कवितामा आएर फेरि ऊ आशावादी बन्दछे, समयले सबै चोट मेटाइदिने हो यसैले पुनर्मिलनको सपना देख्छिन
"कुनै बेला 
कहीँ न कहीँ 
हामी हुनेछौं सँगै 
एक साथ।"
श्रंखलाको सुन्दरतम कविता हो "काउन्ट डाउन।" यो अन्तिम कवितामा आएर उसलाई आभास हुन्छ उसको प्रेमिल सपना अब धराशायी हुँदैछ, उसको सपना ध्वस्त हुँदैछ्
"खोइ तेरो सपना, खोइ?
………
केही छर्ल्याम्म फुटेको छ
कहीँ टाढामा
छेउमा गई हेर्छु 
आफ्नै सपनाका हजारौं टुक्राहरू पो
यताउता लडिरहेका।"
कविताको अन्तिम पंक्तितिर काउन्ट डाउन शुरु भएको देखाएको छ जसले बुझाउछ अब उसको प्रेम शून्यतातिर गइरहेको छ जहाँ पुगेर प्रेमको अन्त हुनेछ। 
"पिरती क्याफे" एक असफल प्रेमको अभिव्यञ्जना हो।
दार्जिलिङ र चियाबारी पर्यायवाची जस्तै लाग्छ। चियाबारी बिना दार्जिलिङको जीवन अधुरो हुन्छ। चियाबारीले गर्दा दार्जिलिङ दार्जिलिङ भयो भन्दा अतिशयोक्ति हुँदैन। दार्जिलिङको चिया विश्व प्रसिद्ध छ। यहाँको चियाले उद्योगपति, राज्य सरकार र केन्द्र सरकार तीनै संस्थालाई धेरै लाभ पुर्याएको छ। तर यही चिया उत्पादन गर्ने चिया श्रमिकको जीवन भने दर्दनाक छ। चिया कमान चलाउने मालिक, राज्य सरकार र केन्द्र सरकार तीनै वृत्तबाट चिया श्रमिकको दोहन भएको छ। 
 कवि दीपा राईको जन्म र बाल्यकाल यही दार्जिलिङको चियाकमानको परिसरमा भएको हुनाले उनी चियाकमानको श्रमिकको जीवनसित पूर्ण परिचित छिन र छ भावनात्मक सम्बन्ध पनि। उनले देखेकी छ महसुस गरेकी छ दिनरात रुझीभिजी खटेर पनि श्रमिकको जीवनमा खुशी आउन सकेको छैन। "चिया कोलाज" श्रंखलामा कविले यही चियाबगान र यसको जीवनको मार्मिक चित्रण गरेकी छन। सबैभन्दा बडी संख्यामा कविता यही अन्तर्गत सृजित छन।  यस समूहको कविताको शीर्षकमा प्रयुक्त शब्दावली सामान्यत: विरल प्रयोग हुने छन। चिया र चियाबगानबारे धेरै कविहरूले कविता लेखेका छन विभिन्न दृष्टिकोण लिएर। यहाँ कवि दीपाले ती तमाम चिया कविताको भीड एक अलग पहिचान निर्माण गर्न सक्नु उनको काव्य क्षमताको दसी हो। संस्कृत काव्य सिद्धान्तमा काव्य  सूत्र छ "नव नव उल्लेखशालिनि नव नव उन्मेषशालिनि।" कुनै पनि लेखनमा नवीनता हुनुपर्छ। आफ्नै वाग्धारा सिर्जना गरेर सम्प्रेषण गर्न सकेको हुनुपर्छ। चिया कमान र चिया कमानका श्रमिकको जीवन चित्रण गर्न कविले चिया कमानभित्रबाट विरल चल्ने शब्द ल्याएकीछ। "तिरपाल", "गमबुट", "घूम", "टोकरी", टौवा" जस्ता आम कवितामा नदेखिने शीर्षकमा कविताहरू आएका छन। यी कम प्रचलनमा रहने शब्दहरू जब केन्द्रमा आएर मुख्य भूमिका निभाउन लगाइन्छ सीमान्तीकृत भावना र विचार आफ्नो न्यायिक स्थान नजिक आउन सकेको प्रतीत हुन्छ। जब चिया बगानको आरम्भ भयो एक मिथक प्रचलित थियो गरिब शोषित अवहेलित समूहबिच कि चियाको बोटमा पैसा फल्दछ र दुखै दुखले भरेको उनीहरूको जीवन भरपेट खान पाउने राम्रो लाउन र घाम वर्षा छेल्न सक्ने सुन्दर आवासजस्तोमा बस्न पाउने एक सुखमय सपना देख्न थाले। यहाँ कविले यसैलाई "हरियो सपना" भनेकी छ। तर यो सपना सपना मात्र थियो विपना कहिले हुन सकेन। हरेक चिया श्रमिकको सपना "तुहिएको थियो"। उनीहरू भरपेट खान सक्दैन 
"आधा पेट खाएर
भल्टाङ भुल्टुङ सुतेका नानीहरूलाई
तिरपाल – आमाले 
सुनाउँदैछ राति
डम्म अघाएको 
भोकै भोकको कथा।"
कविले कोरेको यो बिम्वले देखाउँछ जीवन कस्तो विकराल छ। गरिबी चरम छ अनि दुख र कष्टको प्रहार छ। 
चिया कमानको यथार्थता र यसका श्रमजीवी कामदारहरूको दर्दनाक त्रासदीमय जीवनले यसको सौन्दर्य कति झुटो र भ्रामक रहेको छ यहाँ यो चित्रणले सिद्ध गर्दछ। कवि दीपाको यो विरुमानीकृत अभिव्यक्तिलाई हेर्दा महाकवि देवकोटाको गरिबको चित्रण गरिबको उपहास जस्तो लाग्छ 
"गरीब भन्छौ? सुखको म झैँ धनी मिल्दैन संसार भरी कतै पनि
विलासको लालस दास छैन म, मिठो छ मेरो रसिलो परिश्रम।"
(गरीब)
एक चिया बगानको मजदुरलाई  उसको श्रम रसिलो र मीठो छ भन्नू उसको उपहास नै हुन्छ जब ऊ अनि आफ्नो बालभच्चालाई आधापेट राख्नू परिरहेको छ।
कवि दीपा राईले गरिबीको चित्रण उदांगो रूपमा गरिएको र यसको रुमानीकरण कारण श्रंखलाको कविताहरू स्वच्छन्दतावादको विरोधी छ। यथार्थवादमा सीमित नरहेर बिम्वात्मक चित्रण बडी रहेकोले अतियथार्थवादको नजिकमा देखिन्छ। 
"धुवाँको गीत" मा रहेको कविताहरू आख्यानत्मक छन। आफ्नो बाल्यकाल र आमाको स्मृतिपरक छ। यद्यपि यी कविताहरू संस्मरणात्मक भन्न मिल्दैन, सिर्जनात्मक नै हुन। अहिलेको धुँवा रहित चुल्हाको आगमन अघिको चूल्हामा दाउराको चलनको समयको बिम्व हो यो। आफ्नी आमा घरमा परिवारको निम्ति खानपिनको व्यवस्था मिलाउन पर्दाको जद्दोजहदको चित्रण हो। पहाडी ग्रामीण क्षेत्रमा यस्तो दृश्य सामान्य रूपमा देखिन्छ। "धुँवाको गीत" भित्रका "पर्यायवाची" र "अनुवाद" निकै उज्यालो कथन लिएर आएका कविताहरू हुन। प्रथम कवितामा कवि आमा र धुँवालाई पर्यायवाची मानेका छन। यसले एक नयाँ अर्थ दिन्छ। धुँवा आगो होइन, आगो बिना भान्सा तयार हन सक्दैन। धुँवा आगोको तयारी मात्र हो। धुँवालाई आगोमा परिणत गर्न श्रम खर्च गर्नु पर्छ। त्यसपछि मात्र आगो बल्दछ र भात पाक्दछ। धुँवामा उर्जा नथपे त्यो आगो हुन सक्दैन। आमा र धुँवा पर्यायवाची शब्द हो भने आमा त्यही उर्जा हुन पुग्दछ जसले परिवारको जीवन चल्दछ। एउटा कठोर शब्द तर सत्यता भरेको। "अनुवाद" शब्दले कुनै एक स्थितिलाई अर्को स्थितिमा परिवर्तन हुने बोध हुन्छ। अनुवाद नभए बोधगम्य हुँदैन। अनुवाद वास्तवमा एक सेतु  हो जसबाट हामी अनभिज्ञताबाट अभिज्ञतामा प्रवेश गर्न सक्षम बन्दछौँ। 
"मेरी आमाले उबेला
सासले मुसार्थिन धुँवालाई
अनि आगोमा अनुवाद हुन्थ्यो 
धुँवा।
त्यो अनुवादको ऊर्जामा 
ढुकढुकी रहन्थ्यो
जिन्दगीको मुटु।"
कविले अनुवाद जिन्दगीको ढुकढुकीसित जोडिदिएकी छिन। अनुवादको एक नयाँ आयाम यसरी यहाँ निर्माण भएको देखिन आउँछ।
गाउँबाट अब कवि शहर पस्छिन र शहरमा धुँवाको उपस्थितिको प्रश्न गर्छिन्। गाउँहरू शहरीकरण भएका छन र गाउँ जस्तो छैन। यसैले अब गाउँ र शहरमा त्यो धुँवा देख्दिनँ। उनलाई धुँवाको अनुपस्थिति विषादमय लाग्छ। अघिको अगेना फायरप्लेसमा परिवर्तन भएको छ। अगेना छैन फायरप्लेस छ। 

"धुँवाको गीत" कविताले ग्रामीण संस्कृति सभ्यता विनाश भएर शहरी सभ्यताले विस्थापन गर्न  लागेको देखाएको छ। अर्कोतिर धुँवा र ग्रामीणलाई आमाको पर्यायवाची मानेर हामीले हाम्रो मौलिकता ह्रास हुन लागेको स्मरण गराएको छ।
"खोक्रो" कविता गुच्छामा विचारप्रधान कविताहरू छन। खोक्रो भनेको रित्तो भित्री केही नभएको त्याज्य वस्तु वा विचार बुझिन्छ। यही परम्परागत विचारको प्रतिविचार रहेको छ यी कविताहरूमा। 
"खोक्रो" शब्दको महिमा गाइएको विचारले सिमान्तिकृत मुद्दालाई केन्द्रीकृत गरिदिएको छ। विनिर्माणी सिद्धान्तले बताउँछ जसलाई केन्द्र र परिधि भने अलग गरेर हेर्छौँ यो तर्क त्यतिबेला धराशायी हुन्छ जब परिधि शून्य केन्द्रलाई हेरिन्छ। परिधि छैन भने केन्द्र पनि हुन सक्दैन। कुनै संरचनाको अवधारणामा पारम्परिक विचार यही कारण तार्किक लाग्दैन। दीपा राईको "खोक्रो" कविता श्रंखलामा यही खोक्रो अर्थहीन नभएर बरु अर्थपूर्ण रहेको तर्क अघि सारिएको छ।
"सत्ताको सिँडी" मा सत्ता र सत्तामा पुर्याउने माध्यमलाई खोक्रोपनसित अनौठो तुलना राखिएको छ। जो सत्तामा छ ऊ शक्तिशाली हुन्छ यसैले खोक्रो भएन। तर जो सत्तामा छैन ऊ शक्तिहीन हुन्छ र खोक्रो जस्तै भइहाल्छ। सत्तामा पुग्न तर त्यही सत्तामा नहुनेहरूको सहारा चाहिन्छ हुन्छ। आम जनता सत्तामा भएको हुँदैन, शासक मात्र हुन्छ। 
"हिजो पनि खोक्रोको काँध टेकी
बुइ चडेको थियो 
सत्ता 
आज पनि खोक्रो कै काँधमा छ
सत्ताको पाउ।" 
यहाँ "काँध", भनेको आम जनता हो। "खोक्रोकै काँध" जनताको काँध हो। जनता खोक्रो हो। 
जनता आवाजहीन हुँदैन। उसले विद्रोह गर्न सक्छ, बुलन्द आवाज हुँकार गर्न सक्छ। "र नै बज्छ" खोक्रो। 
"बज्नेहरू
सनई, तुरही, सारङ्गी, घण्टी, जत्ति
सबै सबै नै खोक्रो छन।"
खोक्रो हुनु यसैले केही नहुनु होइन जस्तो यसको अर्थ लगाइन्छ। 
मान्छे वास्तवमा सघनता र खोक्रोको मेल हो। खोक्रोपन उसको अस्तित्वको आधार हो। कविले चोटिलो पंक्ति कोरेका छन एक ठाउँ 
"खोक्रो छ
तिमीले लगाउने लुगासम्म
लुगा खोक्रो नभइदिनु हो भने
तिमी नाङ्गिन्छौ।"
यसको  अन्तिम कविता "खोक्रो कोख" श्रंखलाको डिनुमा (denoumemt) अथवा काव्य निर्वहन नै बनेको छ। खोक्रो धारणाको निचोड वा पराकाष्ठा (climax) यो कविताले राखेको छ। मानिस वा सबै जीवको जन्म भ्रूणबाट नै हुने हो। भ्रूण बस्नलाई तर एक रिक्त वा खोक्रो स्थल चाहिन्छ। यसो हो भने प्राणी खोक्रो बिना प्राणी हुन सक्दैन। यसलाई काव्यात्मक रुपमा यसरी राखिएको छ
भ्रूण बनिनलाई पनि 
कोख त 
पहिले
खोक्रो नै हुनुपर्छ।"
"माटोको रङ" गोर्खाल्यान्ड र देशको सहिद हुनेहरूको निम्ति सनर्पित कविताहरू रहेका छन। गोर्खाल्यान्ड क्रान्तिमा एक शब्द खुबै प्रचलित भयो त्यो शब्द हो माटो। यसको श्रेय स्वर्गीय सुबास घिसिङलाई जान्छ। माटो शब्द गोर्खाल्यान्डसित जोडियो र माटोको माँग भनेको गोर्खाल्यान्डको माँग भयो। माटो एक प्रतीक वा बिम्वको रुपमा यसैले साहित्यकारहरूले आफ्नो लेखनमा प्रयोग गरेका छन। यहाँ कवि दीपा राईले यही अनुसरण गरेकी हो। 
माटो वा भूमिलाई मातृभूमि वा जन्मभूमि भनेर सम्बोधन गरिने परम्परा प्राचीन कालदेखि रहेको हो। काव्यको रूपमा भारतीय साहित्यमा वाल्मीकिको रामायणमा पहिलोपटक देखिएको हो 
"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।"
 जन्म लिएको भूमि स्वर्गभन्दा सुन्दर हुन्छ। भूमि भने पछि माटो भयो। यसको अर्थ अनुसार भूमि वा माटो छ र नै हाम्रो अस्तित्व छ। यसो हो भने माटो नभए पछि हाम्रो अस्तित्व पनि भएन। अर्थ विस्तार गरी बुझे माटो हाम्रो अधीन छैन भने हामी पराधीन भन्ने हुन्छ। घिसिङको नारा "माटो" मा यही सन्देश थियो। 
मातृभूमिको अर्थ पन्डित जवाहरलाल नेहरूले भने भिन्न दिएका थिए। उनले भारतीय भूमि नभएर भारतीय जनता भारत माता हो भनेर भनेका थिए। (Discovery of India)(page -48)। हुन पनि जनता भने पछि भारतभूमिमा आवास गर्ने सबै जनता आउँदछ। विभिन्न जात जाति सबै एकसमान बुझिन्छ। भूमिभन्दा आवाद रहेको मानिस महत्त्वपूर्ण भयो। विभिन्नतामा एकताको सिद्धान्त यो विचारसित मेल खान्छ। माटो सबै ठाउँको माटोनै हो, एकै गुण हुन्छ। तर मान्छे विभिन्न क्षेत्रमा भिन्नै देखिन्छ: कोही गोरो, कोही कालो, कोही चुच्चो नाक भएको त कोही थेप्चे नाक भएको। भाषा, पहिरन, खानपिन पनि फरक हुन्छ। यसैले विविधता भनेर सम्बोधन गरिएको माटोको लागि नभनेर मानिसलाई भनिएको हो।
 व्यक्तिले जन्म लिने माताको कोखबाट हो, माटो वा भूमिबाट जन्म लिने होइन। यसैले जन्म दिने आमा श्रेष्ठ हुन। तर यदि भूमि सर्वोच्च रहे यसमा रहने वासिन्दा दोस्रो स्तरमा रहने भयो। यसले जनतामा जमिन वा भूमिको उपभोगको प्रतिस्पर्धाको भावना बडाउने हो। समकालीन समयमा भारतमा सत्तासीन दल मानिसभन्दा भूमिको प्राथमिकता दिने प्रवृत्तिको छ। यो धारणाले सँधै प्रतिपक्षी जन्माउँछ किनकि बिना प्रतिपक्षी प्रतिस्पर्धा  पनि हुँदैन। दार्जिलिङमा पनि माटोको आन्दोलनले भ्रातृसंघर्ष जन्मायो। प्रसङ्गवश यसमा प्रणय शंकरको "फ्रात्रीसाइड" कविता  दृष्टान्त  रहेको छ।
दार्जिलिङप्रति सम्वेदनशील रहने प्रत्येक कवि/लेखकको निम्ति गोर्खाल्यान्ड मुद्दा सर्वाधिक सम्वेदनशील बनेको पछिल्लो चार दशकदेखि यता। दीपाले यही सम्वेदनशीलता देखाएकी छिन यस श्रंखलामा। नभन्दै माटोलाई गोर्खाल्यान्डको बिम्व मानेर लेख्ने अन्य पनि छन। छुदेन काविमोको उपन्यास "फातसुङ" लेप्चा भाषामा माटो भनिएको हो। हालै सञ्जय विष्टको उपन्यासको शीर्षक "माटोको घर" छ। यी दुवै उपन्यासहरू गोर्खाल्यान्ड आन्दोलनमा आधारित हुन। प्रणय शंकरको कविता "हाइड्रोपोनिक्स"मा "हामी त उहिलेदेखि नै बिना माटो -वनस्पति जीवन जिइरहेका छौँ यहाँ" माटो गोर्खाल्यान्डलाई सम्बोधन गरिएको हो।
हरेक दार्जिलिङवासीको सपना हो गोर्खाल्यान्ड र विश्वस्त छन एकदिन अवश्य हुनेछ भनेर। यही आत्नविश्वासको कारण नै संघर्ष जारी छ। दीपाको कविता "उत्सवको घडी" ले यही आत्मविश्वास चित्रण गरेको छ। जब गोर्खाल्यान्ड बनिनेछ त्यस समय 
"ओँठहरू आफै मुस्कुराउनेछ
अनि त्यो धुन फुक्का हुनेछ 
र 
हजारौंको ओँठमा नाच्नेछ
एउटा उन्मुक्तिको नाँच
माटोको आदिम नाँच"
2017 मा पश्चिम बंगाल मुख्य मन्त्री ममता बनर्जीको भाषा नीतिको कारण दार्जिलिङमा आन्दोलन भयो। आन्दोलनको समयमा निकैजना सहिद भए। आन्दोलन जारी रहेर 104 दिन सम्पूर्ण गोर्खाल्यान्ड क्षेत्र बन्द गरिएको थियो। सबै अचल भएको कारण ग्रामीण भेकका धेरै जनगणलाई अनेक प्रकारको समस्या आइपुग्यो। उनै पीडितहरूलाई राहत पुर्याउन विभिन्न स्वयसेवी संस्था र जागरुक नागरिकहरूले कदम उठाए। कवि दीपा यही राहत सामग्री पुर्याउने सहयोगी दलमा सामेल थिइन। उनको यही अनुभुति र जे जस्तो त्यसकालमा देखे यसलाई काव्यत्मक रुप दिएकी छ "एउटा बन्द गाउँको डाइरीमा"।
दार्जिलिङ क्षेत्रमा पहिला विभिन्न जातीय संस्थाहरू थिएन। पछिल्लो एक दशकदेखि देखिन थालेको हो। कवि दीपा यी जातीय संस्थाप्रति असन्तुष्ट देखिन्छे। यसैको विरोधमा लेखिएको छ "माटो"  कविता 
"त्यो माटोमा
रगतको दाग लागेको थियो 
त्यसमा लेखिएको थिएन
जात पात र धर्म ।
दाग
लगाउने चाहिँ
मान्छेका जात थिए।"
भारत देशको निम्ति धेरै गोर्खाली सैनिकहरूले प्राणको आहुति दिएका छन, सहिद भएका छन। तर त्यही गोर्खाली सैनिकहरूले देशबाट माँगेको बास भने पाउन सकेको छैन। देशले गोर्खालीहरूको देशभक्तिको सम्मान गरेको छैन। "शहीदको नाममा" कविता यही विषयवस्तु अँगालेको छ।
"सक्छौ भने बरु शहीदलाई एकमुठ्ठी
उसकै नाममा मट्टी त देऊ"
यहाँ "मट्टी" भनेको हो।
कवि दीपा चित्रकार दीपालाई प्रस्तुत गरेकी छ "र्यान्डम ग्यालरी" कविता गुच्छामा। शीर्षकले बताए जस्तै अघिल्ला कविताहरूमा झै एक सारका कविताहरू छैनन् , विभिन्न विषयवस्तुमा रहेका छन। यस गुच्छामा तीन कविताहरू मिथकीय विषयवस्तुबाट प्रेरित रहेका छन। 
तीन कवितामा "म आदिवासी सीता" र "म यशोधरा" स्त्री स्वर लिएको छ। "म आदिवासी सीता" रामायणकी सीताको नारीवादी पठन हो। एक नारीको दृष्टिकोणले सीताको भावना चित्रण गरिएको छ। 
लंका युद्ध विजयबाट फर्केर राम अयोध्यामा शासन गर्न थालेपछि अयोध्याका जनताबिच सीताको पवित्रतामा प्रश्न उठन थाल्छ। यही कारण रामले सीतालाई अयोध्याबाट बाहिर बनमा निर्वासित गर्दछ। कवि दीपाले यही दृश्यमा सीताको मनोभाव यसरी देखाएकी छ
"धोबी त निमित्त मात्र थियो 
के दुई शरीर एक आत्मा 
होइनौ र हामी ?
प्रिये
मलाई नसोध
परित्यक्त जीवन 
कसरी धानिरहेकी छु।"
कवितामा सीताको साथै रेणुका, अहिल्या, शूर्पणखा, उर्मिलाका नाम उल्लेख गरिएको छ। सीताको पीडा रेणुका ( परसुरामले आफ्नो पिताको आदेशमा आफ्नी माता रेणुकाको बध गरेको थियो), अहिल्या ( ईन्द्रदेवले झुक्याएर बलात्कार गरिएकोमा पति ऋषि गौतमद्वारा श्रपित), शूर्पणखा, उर्मिला (लक्ष्मणकी पत्नी)का पीडा समान बताइए पछि यहाँ सीता एक नारीको प्रतिकको रुपमा आएको छ, रामकी पत्नी मात्र नभएर। सबै नारी पुरुषद्वारा वा पितृसत्तात्मक विधानमा पीडित हुन्छन भन्ने अवधारणा नारीवादी हो। 
भानुभक्त र घाँसीको प्रसङ्ग नेपाली साहित्यमा एक मिथक बनिएको छ। प्रत्येक वर्ष जब भानुभक्तको जनजयन्ती आयोजन गरिन्छ घाँसीको स्मरण गरिन्छ। घाँसीबिना भानुभक्तको कल्पना पनि गरिन्न। यही घाँसीलाई स्मरण गरेर लेखिएको मार्मिक कविता हो "घाँसीको सम्झनामा"।
जब हिउँद लाग्छ पहाडी उच्च क्षेत्रमा शितलहर चल्न थाल्छ, तब धेरै जाडो हुन थाल्छ। कमजोर शरीरलाई जाडोको प्रहार सहन गाह्रो हुन्छ। यस्तै एक चिसो हिउँदको विहानीको बिम्व सृजना गरेको छ "अरोमान्टिक बिहानको ल्यान्डस्केप" कवितामा। 
पुस्तकको संकलनमा परेको अन्तिम कविता गुच्छा "समययात्रा" शीर्षकमा छ। समय, यसको परिवर्तनशीलता, समयको व्यक्तिमा प्रभाव र आउने समयको निम्ति व्यक्तिको उल्लासमय प्रतीक्षा जस्ता विषयवस्तु रहेका छन कविताहरूमा। कविताको निकै लामो यात्रा गरेर यहाँ आएर विश्राम गरी पछिल्तिर फर्केर हेरे झै छ। उदासीनता पनि छ बितेको समय र छुटेका स्मृतिको। "पुरानो हुँदै जाँदा" बाल्यकालमा समयबोधको सम्झना चित्रण गरिएको छ। बाल्यकालमा स्वबोध विकसित भएको हुँदैन यसैले बितिरहेको समयलाई आफूसित नजोडेर भिन्न मानेको हुन्छ। रमाइलो गरेका दिन बारम्बार आइरहोस लाग्छ, समय स्थिर रहोस् लाग्छ। तर उमेरले खुडकिलो बडे पछि व्यक्तिलाई स्वबोध हुन्छ,  चिन्ता बडन थाल्छ। समयभन्दा आफ्नो चेतना बडी हुन्छ। यसैले कविले बताएकी छ
"आज
फेरि पनि एउटा साल
पुरानो हुन लागेको छ
अनि 
नयाँ नयाँ भन्दै 
हामी पनि 
पुरानिनो क्रममा छौँ 
आजकल
पुरानो सालको माया लाग्दैन उति
जति लाग्छ
आफ्नै माया"
कवि दीपा विगतमा विस्मृत रहनु भन्दा भविष्यको उज्यालोमा रमाउने देखिन्छ। हुन पनि सजाउनु पर्ने सम्हाल्नु पर्ने भविष्य हो। विगत त फर्केर आउने होइन त्यहाँ फर्केर जान सक्ने पनि होइन। हाम्रो समाज विभेदकारी र भेदभाव दमन मुक्त बन्न सकेको छैन। कविले रात मेटिँदै दिनको उज्यालोको आगमन रमनीय देखाएकी छ। यो नयाँ आउन लागेको दिन त्यो दिन ल्याइदिने घाम जस्तै सबैलाई एकसमान व्यवहार व्यवस्थाको कामना राखेकी छ
"घामको लागि 
कुनै ऋतु छैन 
न त छ कुनै 
दिन
तारीख 
महिना 
साल
न त 
धर्म 
जात-पात
आगमन होस सबैकोमा यस्तै 
एउटा प्रेमले भरिएको नयाँ साल।"
कलात्मक दृष्टिकोणले यस संकलनमा सर्वाधिक सुन्दर कविता "अन्तिम जाम" हो जो संकलनको पनि अन्तिम कविता हो। जाम  अङ्ग्रेजी शब्द हो, जाम सेसनको छोटो रुप। जाम सेसन भनेको आकस्मिक सांगीतिक कार्यक्रम, पूर्वयोजना बिना आयोजन गरिएको उत्सव वा रमाइलो गीत सङ्गितमय भेटघाट। यहाँ नववर्षको स्वागत र जाँदै गरेको वर्षलाई बिदाइ गरेको उत्सवको समयमा गरिने  कार्यक्रमलाई  अन्तिम जाम भनिएको छ एवम यस्तै एक आयोजनको चित्रण गरिएको कविता रहेको छ । वेदना, चोट, संघर्ष, प्रेम, क्रान्ति वा प्रकृतिबारे कविता लेख्नु जतिको सहज छ उत्सव, उल्लास, प्रसन्नताबारे लेख्न उतिकै कठिन हुन्छ। स्रष्टाको सिर्जनात्मक क्षमता, उसको भाषा पकड, उपयुक्त बिम्व चयन भरपर्दो भएन भने यसको सम्प्रेषणशीलतामा मात्र नभएर काव्य सौन्दर्य पनि आघात पर्न जान्छ। कवि दीपाले आफ्नो रङ्ग प्रयोग वा चित्रकलाको ज्ञान यहाँ सहायक बनेको छ। सार्त्रले चित्रकला र लेखनकलाको भिन्नता बताएर भनेको छ चित्रकलामा देखिने वस्तु नै लक्ष्य हो। लेखनकलामा भने लेखन पढेर त्यसपछि बुझ्नु पर्ने अनुभूति लिनुपर्ने हुन्छ। यसैले यसमा व्याख्या (इन्टरप्रिटेसन) को भूमिका ठूलो भएर आउँछ। यही कारण शब्दद्वारा चित्रमा जस्तो देखाउन निकै गाह्रो हुन्छ। यही गाह्रो कार्य सम्पन्न गरेकी छ। 
"दिसम्बरको अन्तिम घडी 
चिसिएको रातको
काखमा बसेर
म्युजिक सिस्टमले
 गाउँदैछ
एक दो तीन चार पाँच …
कुटुमा कुटु….सुपारी दाना…"

फेरि दृश्य छ केही जोडी ओँठहरू हासिरहेका, केही जोडी कम्मरहरू नाँचिरहेका अनि गिलासहरू रित्तिइरहेका। 
"चियर्स
चियर्स
चियर्स
अन्तिम
अन्तिम
अन्तिम"
शब्दहरूको दोहोर्याइले उत्साहपूर्ण समयको तान र उल्लासलाई देखाउन सक्षम बनेको छ। 
बस्
यो एउटा 
अन्तिम जाम
पुरानो सालको नाम…

चियर्स"
जोन क्रो र्यानसमले भनेको छ कविता कुनै जैविक जीव जस्तो नभएर ख्रिष्मसको रुख झैँ हुन्छ। कुनै जैविक वस्तु आफैमा पूर्ण हुन्छ तर कविता पूर्ण जस्तो देखिने कृतिम रुपले बनाएको हुन्छ र यसमा विभिन्न जडान गरिएको हुन्छ। यही जडानले यसको सौन्दर्य निर्माण गरेको हुन्छ। "अन्तिम जाम" कवितामा यो भनाइको आधारमा हेरिन सकिन्छ। कुनै उत्सवी समारोहमा एकल तत्व नभएर विविधता हुन्छ जो एकार्कासित तालमेल नरहेको पनि हुनसक्छ यद्यपि समारोहमा श्रंगारिक नै लाग्छ। प्रस्तुत कवितामा उल्लेखित गीत, मदपान, हाँसो, नाँच, चिसो सबै एकार्काका सम्पूरक नभए पनि अनौठो नभएर सौन्दर्य बडाएको छ। कविताले पाठकमा एपिफानी दिन सक्छ।
समकालीन भारतीय नेपाली कविता जटिल बिम्व अपरिचित प्रतिक एवम गहन दर्शनबाट प्रेरणा लिएका हुँदैनन्। प्रस्तुत कविता सङ्ग्रह यही प्रवृत्तिभित्र रहेको छ। एक विशेष छुट्टै पहिचान भने  कविताले कुनै सन्देश वा विचार दिन खोजेको छैन। टि एस ईलियट, यिट्स जस्ता कविहरूले भनेका थिए उनीहरू कविता काल्पनिक पाठकको स्मरण गरेर कविता लेखेका हुन्थे। यहाँ केही कवितालाई अपवाद स्वरुप छोडेर अधिकतर कविता कुनै विशेष वर्ग समूह वा व्यक्तिलाई सम्बोधन गरिएको देखिँदैन। यस सङ्ग्रहको मुख्य आकर्षण पनि यही हो।










Comments

Popular posts from this blog

अगमसिहं गिरी (युद्ध र योद्धा ) आलोचना

             युद्ध र योद्धा : एक पठन                          पेम्पा तामङ      अगमसिहं गिरी भारतीय नेपाली साहित्यमा सर्वाधिक चर्चामा रहेको कवि हो। उनलाई मूलतः स्वछन्दतावादी कवि र जातीय कवि भनेर आलोचकहरूले चिनाएका छन भने कही कही अस्तित्ववादी भनी परिचय दिएको छ। उनका प्रारम्भिक कविताहरू भावनात्मक र करुणामय थिए यसैले उनलाई दुखवादी पनि भनिएको  हो। गिरीका कविताहरू आम चलनको भाषामा लेखिएका र प्रतीक र बिम्वको जडान थोरै रहेका छन। सरल , सहज र बोधगम्य रहेको हुनाले आम पाठकबीच लोकप्रियता बडी रहेको थियो। जीवन , मृत्यु , दुख , बिरह उनका कविताको भावलहरी रहेको छ। कल्पनाको निर्बाध उडान र जीवन परान्मुख रहेको मानिन्छ। जीवनलाई यसरी हेर्ने दृष्टि छायावाद र स्वछन्दतावा भनेर चिनिन्छ। हुनत छायावाद र स्वछन्दतावाद यी बाहेक अन्य पनि हुन। स्वच्छन्दतावादको प्रवर्तक विलियम वर्डस्वर्थको लेखन सिद्धान्त कविताको भाषा आम मानिसको बोलीको शैलीमा हु...

Circle of Karma -Bhutanese novel review

Circle of Karma   Authored by Kunzang Choden, a native of a small village in Bumthang District in  north-central Bhutan, Circle of Karma is the first English novel to emerge from the land of the druk (Bhutan),   the mythical dragon. Published in 2005, the novel instantly courted fame far and wide, and has since been translated into several languages. The novel had been short listed for the prestigious Elle Prix des Lectrices too. Choden was born in the year of the druk , or the year of the dragon, corresponding to 1952 in the Gregorian calendar. Since Choden was born into a prosperous family, her parents sent her to a convent school in Kalimpong when she was nine years of age. Choden recounts the initial difficulty she encountered in the school because, as is prevalent in Bhutan, she did not have a surname attached to her first name. Moreover her father’s name was Kunzang Dorje and the Reverend Mother of her school refused to believe that the father an...

Remika Thapa's Farak Baato

 Two novels of  Puspa Rai                         Pempa Tamang   “Farak Baato”  or “Different Road”  is the title of the critical  book  written by Dr. Remika Thapa. As the title suggests Remika highlights the alternative  point of view proposed by Ms Puspa Rai in her two fictional works namely “Bholiko Pratikshya” or “Waiting for Tomorrow” and “Madhyantar” or “Interval”. Dr. Remika maintains that Bholiko Pratikshya is the first feminist novel in Indian Nepali Language and consequently Puspa Rai has become the first feminist novelist  in Indian Nepali writings.   The two novels can be called duology as the second novel follows the theme of earlier one. The main characters of the fictions are women in both the novels.  The first novel “Bholiko Pratikshya” is about women’s  independence in choice of her existence and her life. It is about the motherhood outsid...