बहिरोपनको अनुभूति
मेरी आमाले कान सुन्नु हुँदैन थियो। म सानै छँदा मेरी आमाले कसैलाई भनेकी सुनेको थिएँ। एकपटक जरोले निकै सताउँदो तितो धेरै सेवन गरेकी थिई। त्यसैले कान बहिरो हुन पुग्यो। अनि मलाई लागेको थियो हामीले तितो खानु नहुने रहेछ। तितो खाए कान नसुन्ने हुने रहेछ।
यो समय आमाको उमेर चालिस पचासको हुनुपर्छ। आमालाई उहाँको जन्मतिथि थाहा थिएन। वास्तवमा आफ्नो जन्म ठाउँ पनि थिएन। आमा आपा को थिए उहाँ अनभिज्ञ रहनु भयो जीवनभर। 2008 को जनवरी महीनामा 93 वर्षको उमेरमा परलोक हुनुभयो।
आमाको कान कम सुनाइले हामीलाई दिग्दार हुन्थ्यो। कुनै पनि कुरा एकपटक होइन पटक पटक गरेर भन्नुपर्ने। यसो समय समयमा केही लामो दोहोरो बातचित गर्न कठिन। तर त्यतिबेला मलाई चेतना भएन पछि गएर यो समस्या आफैलाई पनि आइलाग्नेछ, कान सुन्न नसकिनुको पीडा आफैले पनि भोग्नु पर्नेछ।
हामी चार भाइमध्ये श्रवण समस्या पहिलोपटक कान्छा भाइमा देखिएको हो। तर उतिबेला उसलाई त्यतिकै ठूलो समस्या भने भएन, अहिले पनि भएको छैन। कम सुने तापनि सामान्य जीवन सहज नै छ।
मलाई मेरो श्रवण क्षमतामा ह्रास आएको पहिलोपटक लगभग पन्द्र सोह्र वर्ष अघि हो। सरकारी सेवा मै थिएँ। केही दुरीबाट मधुरो आवाजमा बोलेको बुझ्न गाह्रो परिरहेको थियो।
एकपटक एक मित्रसित उसको कार्यलयमा केही बातचित गरिरहेको थिएँ। जुन जुन कुरा उसलाई गोपनीय लाग्थ्यो ती शब्दहरू शुस्केराको स्वरमा बोलिरहेका थिए। म छेवैमा थिएँ तर बुझ्न सकिरहेको थिइनँ। त्यतिबेला मलाई चर्को आभास भयो म धेरै नसुन्ने भइसकेछु भनेर।
सामान्यतः मेरो अधिकतर समय किताब पढेर बिताउने हो। साथीहरू एवम छरछिमेक कहाँ गएर लामो लामो गफ गरेर समय कटनी गर्ने कहिले गरेकै थिएन। यसैले खासै फरक भएको लागिरहेको थिएन।
गान्तोक बजार जाँदा एक खेर त्यहाँको पुस्तक पसल जैनकोमा पुग्छु। यही दोकानमा 2014 को जुन जुलाई महीनामा डेभिज लजको किताब देखेँ। डेभिड लज विश्वप्रसिद्ध आलोचक। उसको सम्पादनमा निस्केको एउटा किताब धेरै अघि किनेको थिएँ। किताब धेरै उपयोगी र मलाई सधैं कामलाग्ने। अझ पनि छ मेरो संकलनमा। तर यो किताब एक उपन्यास रहेछ। मलाई थाहा थिएन यति उच्च कोटिको आलोचक एक उपन्यासकार पनि हुन भनेर।
किताब झिकेँ र पछिल्लो पाना पढन थालेँ। उपन्यासको शीर्षक रहेछ द डेफ सेन्टेन्स। मलाई थाहा भयो कथा बहिराहरूमाथि आधारित रहेछ। दुई बाबू छोरा दुवै बहिरा छन र उनीहरू दुईको कथामा संरचित रहेछ उपन्यास। मलाई आफै बहिरापनको समस्या आइरहेको बेला उपन्यास उपयोगी लाग्यो र किनेँ।
छोरा विश्वविद्यालयको सेवानिवृत्त भाषा शास्त्रको प्राध्यापक। पिता एक भूतपूर्व सैनिक। एक ब्यान्ड मास्टर। पिता एकलै एक घरमा बसेको हुन्छ। प्राध्यापक उसकी पत्नीसित फरक घरमा छ। प्राध्यापकको छोरा विश्वविद्यालयमा अध्ययनरत हुन्छ तर ऊ आफ्नो पिताको आश्रयमा छैन।
कहानी यही चार पात्रहरूमा रहेको छ। इंग्ल्यान्डको सामान्य जनजीवनको सजीव चित्रण पाउन सकिन्छ।
बृद्ध पिता र प्राध्यापक छोरा दुवै कान कम सुन्ने हुनाले दुवै बातचित गर्दा ठूलो आवाज निकालेर बोल्ने हुन्छ। यसले गर्दा अन्यलाई असुविधा भइरहेको हुन्छ तर ती दुईलाई आभास हुँदैन। प्राध्यापककी पत्नीले पछि उसलाई रिसाएर भनेकी हुन्छ कि बाबु छोराले पाहुनालाई कति असमञ्जसमा पारे।
उपन्यासमा बताइएको छ कान नसुन्ने रोगीहरूलाई स्वर ध्वनि सुन्न कठिन पर्छ व्यञ्जन ध्वनि भन्दा।
यो उपन्यास पढेको केही वर्षपछि मैले असमकी कथाकार समालोचक डा शान्ति थापालाई कुनै संयोग भेटेको थिएँ। बातचितको शिलशिलामा उहाँले मलाई कान सुन्न छाडेको र निकै समस्या हुन थालेको बताउनु भएको थियो। मैले उहाँलाई हस्यौली गर्दै बताएको थिएँ त्यसो हो भने अब उसो भोवेल साउन्ड सुन्न सक्नुहुन्न भनेर। तर उहाँले निकै आँखा फारेर भोवेल साउन्ड सुन्न कुनै समस्या नभएको बताउनु भएको थियो। डा शान्ति थापा केही वर्ष अघि दिवंगत हुनुभयो। उहाँलाई अभिन्दन गर्दै एक स्मृति ग्रन्थको आयोजन गरिरहेको असमेली साहित्यकार रुद्र बरालको फेसबुक मार्फत जानकारी भएको छ।
2016 को जुन महीनामा म दुर्घटनामा परेको थिएँ जसबाट मेरो दाहिने खुट्टा फ्र्याक्चर भयो। पछि मलाई घरकाहरूले भनेका थिए कान सुन्दैन यसैले गाडी आएको थाहा पाएन। र गाडीले खुट्टा भचाइदिए। हुन पनि पछिबाट गाडी आएको आवाज मैले सुनेको थिइनँ। सुनेको भए पछि फर्केर हेर्ने थिएँ नभए छलिने थिएँ। पछि फर्केर हेर्न नसक्नु र बाटो किनार लाग्न नसक्नु श्रवण शक्तिको मधुरता अवश्य जिम्मेवार हो।
2018 को जुलाई महीनामा भेटिकन सिटि र सिस्टाइन च्यापल घुम्ने अवसर मिल्यो। मलाई यो परिसर घुम्दा एउटा कुरामा साह्रै विषाद भएको थियो। च्यापलभित्र जाँदा हामीलाई इयर फोन दिएको थियो र च्यापलभित्रको विवरण त्यसैमा सुन्नु पर्ने। आवाज द्रुतगतिमा आइरहेको थियो, स्पष्टै थियो तर पनि मलाई बुझ्न वा कुराको भेउ पाउन मुश्किल भइरहेको थियो। आधा भन्दा धेर मैले बुझ्न सकिनँ। मनमा थकथकी भयो।
दुई तीनसाल अघिदेखि मलाई टेलिभिजनमा आएको समाचार राम्ररी बुझ्न कठिन भइरहेको थियो। कानमा आवाज त आइरहेको तर स्पष्ट केही नबुझ्ने लाग्न थालेको थियो। त्यसपछि मलाई आभास भयो अब मलाई चिकित्सा जाँच गराउनु आवश्यक छ भनेर।
सरकारी सेवाबाट अवकाश लिए पछि नोभेम्बर महीनादेखि सिलगढी आएर बस्न थालिएको छ। जाडो महीना शुरु भए पछि गान्तोकमा निकै चिसो हुनथाल्छ। हुनत गान्तोकको सबै ठाउँ चिसो छ भन्ने होइन। तल तादोङ, डाँडागाउँ, पाँच माइल, छ माइल क्षेत्र उति जाडो हुँदैन। गरम महीनामा यो ठाउँहरूमा निकै गरम हुन्छ। मेरो घर भने माथिल्लो सिच्चेमा पर्छ। केही सेपिलो र घाम लाग्न समय लाग्ने गर्छ। बिहान नौ बजे पछि घरलाई घामले झलमल्ल पार्छ। तर दिन नढल्किन्जेल घाम लागेको हुन्छ। यद्यपि हिउँदमा भने घरभित्र धेरै नै जाडो हुन्छ। यसै पनि मेरो जन्म र बाल्यकाल रङली बजारमा हो जो तीन हजार फिट भन्दा कम उँचाइमा छ। रइ्गली घाँटीमा पर्छ। गरम महीनामा अघोरै गरम हुन्छ। म स्कुल पढदा मैले स्कुलमा राखेको थर्ममिटरमा एकपटक दिनको तापमान 37 डिग्री सेलसियस पुगेको देखेको थिएँ। त्यो दिन धेरै गरम भएको थियो।
2021 को डिसम्बर महीनामा मैले डाक्टर जाँच गराएँ। मेरो श्रवण क्षमताको परिक्षण गर्यो। डाक्टरले भने मेरो दुवै कानको सुन्ने क्षमता ह्रास भएको छ। उमेर र नशाको कमजोरी भएको हुनाले यसो भएको हो। अब होयरिङ एड नलगाई मलाई धर छैन।
डाक्टरले मलाई सोधेका थिए कानमा कुनै आवाज आइरहेको छ कि छैन भनेर। मैले भने टिनिनि गर्ने आवाज त हरदम हुन्छ। वास्तवमा यो टिनिनि गर्ने मात्र होइन अन्य थरीको एकोहोरो आवाज पनि आइरहेको हुन्थ्यो।
कान कम सुनिए पनि दैनन्दिनिको निम्ति खासै ठूलो समस्या भएको मलाई लागेको थिएन। तर डाक्टरले भने हियरिङ एड लगाएको राम्रो हो। यसले राम्रो सुन्न मात्र सहायक नभएर अन्य सहजता पनि ल्याउनेछ।
हियरिङ एड धेरै प्रकारका थिए। डिजिटल, ननडिजिटल, रिचार्जिएबल। दाम पनि उहीँ अनुसारको फरक फरक। रिचार्ज गर्नु हुने र ब्याट्री लाउनु नपर्ने हियरिङ एडको दाम भने डेढ लाख बताए। त्यतिबेला उपलब्ध पनि थिएन। डाक्टरको उपलब्ध डिजिटल हियरिङ जो ब्याट्री लगाउनु पर्ने खालको थियो। दाम छब्बीस हजार एक मसिनको।
यसलाई कम्प्युटरमा फर्म्याट गर्नु पर्ने रहेछ। लगभग दुई घन्टा समय लगाएर फर्म्याट गरे र तयार भयो। कानमा लगाएर हेरेँ। धेरै सुन्न सकेको जस्तो लाग्यो। केही उच्चाट लाग्दो पनि भयो। प्राकृतिक जस्तो त नहुँदो रहेछ, थाहा पाएँ। तर पनि ल्याएँ।
गान्तोकमा कवि/पत्रकार प्रवीण खालिङको सक्रियतामा थालिएको "चियाकविता" कार्यक्रममा प्रारम्भिक कालदेखि नै उपस्थिति जनाएको हुँ। यसमा गान्तोक वरिपरि रहेका कविहरूले आफ्नो कविता गजल वाचन गर्छन। मैले कविता कहिले लेखिनँ भने पनि हुन्छ। नभन्दै विद्यार्थी रहँदा भने लेखेको हुँ। तर विद्यार्थी जीवनको समापन पछि कविता लेख्ने जुनुन पनि समाप्त भयो। त्यतिबेला मलाई कविताले उति आकर्षण पनि गर्दैन थियो। धेरै कविता मलाई बुझ्न पनि कठिन हुन्थ्यो। नबुझी कसरी पढने ? आनन्द कसरी लिने ?
पछि गएर निकै पढिन थालियो आफुले नलेखे पनि। गान्तोकमा हुने कार्यक्रमहरूमा कसै कसैले गरेको कविता वाचन मन पराउन थालेँ।
मसित निकै थान कविताको आलोचनाहरू थिए। एक एक गरेर पढन थालेँ। यिनीहरू पढदा मलाई लाग्यो कविता पढनु र कथा पढनु एउटै कुरा होइन। जसरी कथा, उपन्यास, निबन्ध पढिन्छ उसरी नै कविता पढे, कविता बुझ्न सकिने होइन। कथामा कुनै न कुनै घटना, पात्रको दशा, विचार हुन्छै हुन्छ। तर कविता यी सबै नभएर सम्वेदना मात्र पनि हुनसक्छ। मूर्तता नभएर अमूर्तता समेटिएको हुनसक्छ। खासमा यति बुझे पछि कविता पनि निकै चाख लिएर पढन थालेको हुँ। तर मेरो पढाइमा भने गद्य नै अधिक हुने हो।
यही कविता रसपान गर्ने रहर हुन थाले पछि चिया कवितामा नियमित जान थालेको हुँ।
यहाँ मलाई मेरो आफ्नो कमजोर श्रवण क्षमताले भने धोखा दिन थालेको लाग्न थाल्यो। कुनै कविले मधुरो आवाजमा वाचन गर्छ। कसैको वाचन शैली त्यस्तै हुन्छ। उनीहरूको कविता मैले बुझ्न सकिरहेको थिइनँ। सुन्दै नसुनेपछि बुझ्ने कुरा आएन। तर मेरो यो कमजोरी कसैलाई जाहेर गरिनँ। कविता नसुनी नबुझी ताली भने ठोकेँ। हाँसीदिएँ, बधाई पनि दिएँ।
महेश पौड्याल समकालीन समयको चर्चित समालोचक र अनुवादक हुन। उनको समालोचनात्मक लेखन मलाई धेरै मन पर्छ। प्रगाढ अध्ययन, उत्कृष्ट विश्लेषण र निर्भीक लेखन हुन्छ। उचित अनुचित सबै औल्याएका हुन्छन्। उनी गान्तोक आउँदै गरेको र चियाकविता समूहले उनको सम्मानार्थ कार्यक्रम राखेको सुने पछि मलाई रहर जाग्यो। साक्षात परिचय लिन र उनको वक्तव्यबाट लाभान्वित हुन उत्सुक भएँ। माउन्ट जोपुनो होटलमा थियो कार्यक्रम।
उनीसित भलाकुसारी भयो। फेसबुकमा मात्र चिनाजानी रहेको र साक्षात हुन पाउँदा खुशी लाग्यो।
कार्यक्रममा ध्वनि व्यवस्था राखिएको थिएन। मलाई केही अपठ्यारो लागेको थियो। कोठा त निकै ठूलो हो र एक कुनामा बसेर गरिएको वक्तव्य सबैले राम्ररी नसुन्न सक्छ।
महेश पौड्यालजीलाई निमन्त्रणा दिइयो उनको वक्तव्य राख्न। उनले सविस्तार राखेँ उनको विचार। दुर्भाग्यवश मैले एउटा शब्द पनि सुन्न सकिनँ। मेरो निम्ति त्यो कोठा सुनसान कोही नभएको जस्तो भएको थियो। त्यो दिन उनले के भने वक्तव्य कुन विषयमा थियो केही सुनिएन। घरिघरि मतिर इशारा गरेको देखेँ। मैले बुझेँ उनले मेरोनिम्ति केही शब्दहरू राख्दैछन भनेर। त्यहाँ ताली पनि बजाइयो। ताली बजे पनि के भनेका कारण बजियो त्यसको भेउ भने पाउन सकिनँ।
छेउमा रहेर केही बात गरिएको हो। एकदुई फिटको दुरीमा बातचित गर्न समस्या थिएन। तर दस बाह्र फिटको दुरीबाट भने मैले केही सुन्न नसक्ने रहेछु भन्ने थाहा पाएँ। हुनत त्यो दिन मैले हियरिङ एड नलगाई गएको थिएँ। यसको कारण पनि समस्या देखिएको हो लाग्यो।
अक्टोबर 22 को अन्ततिर सिक्किम विश्वविद्यालयले प्रवीण जुमेलीको नयाँ उपन्यास "सन्नेरेटा"माथि एक कार्यक्रम राखेको थियो। स्रोत वक्ताको रुपमा मलाई पनि निम्त्याएको थियो।
कार्यक्रमको पहिलो चरणमा हामी दर्शक दिर्घामा थियो। लाउड स्पिकरको ठूलो आवाजमा मलाई सबै छर्लङ्ग बुझ्न सहज भइरहेको थियो। राम्ररी सुन्न र बुझ्न सकेकोमा प्रसन्नता आइरहेको थियो।
कार्यक्रमको दोस्रो सत्रमा हामीलाई मञ्चमा बोलाइयो। लाउड स्पिकार दर्शकदीर्घापट्टि फर्किएको हुनाले ध्वनि प्रसारण मञ्चतिर कम हुने नै हो। जुन वक्ताले माइक्रोफोन नजिक राखेर केही ठूलो स्वरमा बोले उनको बुझिरहेको थिएँ। उपन्यासकार प्रवीण जुमेली कोमल स्वर निकालेर बोल्ने अनि माइक्रोफोन केही टाढा राखेर बोलिरहेका थिए। उनले बोलेको आवाज कानमा ठोकिरहेको थियो तर बुझ्न भने सकिरहेको थिइनँ। त्यो दिन उनले कुन विषय राखे र उपन्यासबारे के कुरा खुलासा गरे मैले केही स्पष्टताको साथ बुझ्न सकिनँ।
2021 को वर्ष धेरै कुरामा जीन शब्द आइरहेको निकै लेख पढेको थिएँ। तर जीन भनेको के हो कसलाई भनिन्छ राम्ररी बुझ्न सकेको थिइनँ। के यो डिएनए हो या कुनै सूक्ष्म अङ्ग हो ? जिनेटिक मेटरियल भनिन्छ जो सन्तानमा हस्तान्तरण हुन्छ। यो हस्तान्तरण हुने तत्वलाई जीन भनिन्छ। तर के हस्तान्तरण हुने तत्व मात्र जीन हो कि अरु पनि हस्तान्तरण नहुने पनि जीन हुन्छ? हस्तान्तरण नहुने भने पछि जीन कसरी भयो? यसलाई बुझ्न मैले गुगलमा धेरै पढेको हुँ, तर स्पष्ट हुन सकेको थिइनँ। जीनबारे केही ज्ञान हासिल गर्ने मेरो मनसुबा वास्तवमा नयाँ भन्ने होइन। 2004 मा जब मेरो शरीरमा मधुमेह जाँच गर्दा भेटियो उतिबेला डाक्टरले मलाई मेरो परिवारमा कोही मधुमेहले पीडित छ छैन वा कोही थिए भन्ने सोधेको थियो। आमा आपा, मामा कसैलाई थियो? मेरो आपा त म चौद्ह पन्द्रहको उमेर हुँदै परलोक हुनुभएको हो। उहाँ कुन विशेष रोगले ग्रस्त हुनुहुन्थ्यो हामीलाई थाहा थिएन। 1968 तिरसम्म सिक्किममा चिकित्सा व्यवस्था राम्रो थिएन। केही गम्भीर बिमार भए कालेबुङ या दार्जिलिङ लगिन्थ्यो। तर यसरी बाहिर गएर उपचार गराउने क्षमता सबैको हुँदैन थियो। त्यस्तो आर्थिक क्षमता कमजोर भएको हाम्रो परिवार पनि एक थियो। मेरी आमाको सहोदर आफन्त वा शाखा सन्तान कोही पनि थिएन। उहाँलाई आफ्नो आमा बाबू को थिए र कहाँ जन्मे यसको ज्ञान थिएन। यिनै कारणहरूले मैले डाक्टरलाई भनेको थिएँ हाम्रो परिवारमा मधुमेह देखिएको पहिलो म नै हुँ। तर पछि बुझेँ हामीलाई लागेको रोग हामीले हाम्रो आमा बाबुपनि पाएको हुनसक्छ जसलाई वंशानुक्रम रोग भनिन्छ। माता वा पिताको शरीरमा रहेको खराब जीन छोराछोरीमा हस्तान्तरण हुन्छ। त्यही खराब जीनको कारण सन्तानमा रोग लाग्छ। मधुमेह, रक्तचाप, क्यान्सर, दुबे इत्यादि रोगहरू जीनेटिक रोग हुनसक्छ। मेरी आमालाई कान राम्ररी सुन्न नसक्ने रोग थियो भने यो हामी छोराछोरीलाई पनि सरेको हुनसक्छ। हुनपनि मधुमेह, कान नसुन्ने रोग मलाई मात्र नभएर मेरा दाज्यु भाइ र बहिनीलाई पनि छ। जिनेटिक्स बुझ्न यसैले मेरो चासो निकै अघिदेखि नै हो। सायद 2000-01 तिर होला एउटा ठूलो वैज्ञानिक समाचार बनेर आएको थियो मनुष्यको जिनोम सिक्वेन्स वैज्ञानिकहरूले जाँच गर्न सफल भयो भनेर। हुनत यो समाचार राजनीतिक फाइदा जनित पनि हो रहेछ भन्ने अहिले थाहा पाइँदैछ। त्यही बेला पत्रपत्रिकामा रहेका लेखहरू पढेको हुँ। तर मैले खासै बुझ्न सकेको थिइनँ।
जिनेटिक्स बारे थुप्रै किताबहरू रहेछन्। नोबेल पुरस्कार पाउने वैज्ञानिकले पनि लेखेका रहेछन। यसमा डिएनए संरचना अनुसन्धान गर्ने नोबेल पुरस्कार विजेता वाटसनको किताब निकै प्रचलित देखियो। धेरैले सिफारिस गरेका रहेछ। रिचर्ड डाउिन्सको किताब पनि उतिनै प्रख्यात रहेछ। सिद्धार्थ मुखर्जीले क्यान्सर रोगबारे लेखेको एम्परर अफ अल मेलेडिज सुनेको थिएँ। किताबको शीर्षकले मलाई झुम्पा लाहिरीको पुलिट्जर पुरस्कारले सम्मानित कथा सङ्ग्रह इन्टरप्रिटर अफ मेलेडिजको सम्झना गराएको हो। त्यसैपनि झुम्पा लाहिरी र सिद्धार्थ मुखर्जी दुवै बंगाली हुन। सिद्धार्थले इन्टरप्रिटर अफ मेलेडिज पढेको थियो होला। बंगालीहरू अत्यन्तै अध्ययनशील हुन्छन् जुन गुण हाम्रोमा छैन। सिद्धार्थ मुखर्जीको किताब अमेरिकामा बेस्ट सेलर भएको र पुलिटजर पुरस्कार पनि जित्न सफल भएको हो। उनै लेखकले जिनेटिक्सबारे पनि किताब प्रकाशित गरेको रहेछ। मेरो फेसबुक मित्र सूचीमा रहेका वैज्ञानिक डा सुषमा नैथानीले लेखेका किताब "अन्न कहाँ से आता है" मा सिद्धार्थ मुखर्जीको किताब उल्लेख थियो। डा सुषमा नैथानी अमेरिकाको ओरेगन स्टेट विश्वविद्यालयमा एसोसोयट प्रोफेसर हुन। यही कारणले मैले सिद्धार्थ मुखर्जीले लेखेको जिनेटिक्सको किताब नै पहिला पढने र नबुझे मात्र थप अरू किताब मँगाएर पढने मन बनाएँ। किताबको नाम थियो द जीन इन्टिमेट हिस्ट्री। शीर्षकमा इन्टिमेट राखिएको आफ्नो परिवारको कथा समावेश गरिएको कारण रहेछ। लेखक डा मुखर्जीको परिवार यहाँ वंशानुक्रम रोगले पीडित रहेछ।
यो पुस्तक पढे पछि बुझेँ जीन भनेको कुनै शरीरको सूक्ष्म अङ्ग जस्तो नभएर एक ब्लु प्रिन्ट जस्तो रहेछ। एउटा घरको ब्लुप्रिन्टबाट थाहा पाइन्छ कुन कोठा कहाँ बनिनेछ। शरीरको गठनमा हुने विभिन्न अङ्गको निर्माणको सूचना जीनमा हुन्छ। जीनभित्र डिएनए, आरएनए, एन्जाइम र अन्य रसायन तत्व हुन्छन। एउटा डिएनएलाई पनि जीनेटिक नै भनिन्छ। जीनमा रहेका डिएनए सक्रिय र निष्क्रिय दुवै हुन्छन्। सक्रिय डिएनएले पौष्टिक तत्व उत्पादनको दायित्व रहन्छ। निष्क्रिय डिएनएको भूमिका भने अझ निश्चित हुन नसकेको छैन।
हाम्रो शरीरमा हुने धेरै प्रकारको रोग यही जीनको खराबीको कारणले हुन्छ।
हामीले लिएको भोजनबाट नित्य नयाँ सेल निर्माण हुन्छ। जति हामीलाई आवश्यक पर्छ त्यो भन्दा बडी नै उत्पादन हुन्छ सेल। ती अनावश्यक सेलको अन्त गर्ने सूचना जीनले दिन्छ। तर जब जीनमा खराबी आउँछ र सूचना दिन सक्दैन तब हाम्रो शरीरमा सेल तीव्र गतिमा बडेर जान्छ। यही अनावश्यक सेलको वृद्धि नै क्यान्सर रोग हो।
हाम्रो शरीरको विभिन्न अङ्ग दुई प्रकारले बिभाजन गर्न सकिन्छ। कति अङ्ग सन्तानमा जान्छ भने कति जाँदैन। सन्तानमा जाने अङ्ग जीनेटिक हो। रगत एक जीनेटिक अङ्ग हो। यसैले मातापिताको रगतको गुण सन्तानमा आउँछ।
यो किताब पढन अघि मलाई लाग्थ्यो वनस्पति र पशुजन्य भिन्न रसायनिक हुन भनेर अर्थात् बुनियादि स्तरमा फरक निर्माण हुन भनेर। तर त्यतिबेला म छाँगोबाट खसे जस्तै भयो जब जो कुरा थाहा पाएँ कि डिएनए वनस्पतिको होस वा कुनै पशु सबैको रसायनिक तत्व एकसमान रहेछ। चाहे हामी मानवको जीन होस वा मामुली झारको दुवै एउटै रसायनिक मिश्रण हुन्छ जसलाई ए जी सि टी भनी नामकरण गरिएको हुन्छ। यसको अर्थ के हुन्छ भने जीवलाई जीनको स्तरबाट हेर्यो भने मांसाहरी शाकाहारीको विभाजन नै भ्रामक हुन्छ। फरक के हुँदो रहेछ भने वनस्पतिको जीन घना रुपमा रहेको हुन्छ, एउटा जीनदेखि अर्को जीनको बिच रिक्त स्थान नभएको। पशु एवम मानव जीन भने जीन बिचको अन्तर निकै रहेको हुन्छ। लेखक मुखर्जीले राम्रो उदाहरण दिएको छ। काठ सबै एकै भए तापनि यसको उपयोग विभिन्न प्रकारले गर्न सकिन्छ र फरक वस्तु निर्माण गर्न सकिन्छ। पलङ, चौकी, टेबल, दराज सबै एउटै काठले उत्पादन गर्न सकिन्छ। सबैमा काठ छ तर प्रयोगको कारण भिन्नै देखिन्छ। जीन पनि त्यस्तै हो। त्यही जीनको विविध प्रयोगको कारण प्राणी जगतमा विविधता आएको छ। हुनत यी सबै प्राकृतिक रुपमै भएको हो।
जसोहोस हाम्रो मातापिताको जीन हाम्रोमा हस्तान्तरण भएको हुन्छ। जीनमा रहेका विकृति यसरी आएको हुन्छ। हाम्रो परिवारमा रहेको कम श्रवण क्षमता यही विकृत जीन उत्तरदायी रहेको हो जो हामीले हाम्रो जीवनसितै धरोहरमा पाएका हुन्छौं।
जिनेटिक रोगको उपचार हुनसक्छ वा सक्दैन भन्ने विषयमा मेरो अर्को चासो हुन गएको थियो। द जीन किताबमा यस बारे केही चर्चा आएको थियो।
2012 को जुन महीनामा अमेरिकी वैज्ञानिक जेनिफर डाउडना र ईमान्युएल शापेन्टियर द्वयले संयुक्त रुपमा नयाँ अनुसन्धानबारे लेख प्रकाशित गरे। लेखले सम्पूर्ण वैज्ञानिक जगतमा तहल्का मचायो। उनीहरूले एक नयाँ तकनिक विकास गरेका थिए जसलाई छोटकरीमा ख्रिस्पर क्यास नाइन भनिन्छ। यो नयाँ तकनिकबाट जीन प्रतिरोपन विश्वसनीय, सहज र सस्तो हुनसक्ने भयो।
जेनिफर डाउडनाले यो तकनिक विकास गर्न उनले गरेको अध्ययन र परिक्षण विवरण दिएर एक किताब लेखेकी छ "क्र्याक इन क्रिएसन" शीर्षकमा। यो अध्ययन र परिक्षण कुनै पनि जीवले रोग प्रतिरक्षा कसरी गर्दछ र यसको प्रक्रिया कसरी भएको हुन्छ भन्ने जानकारी हासिल गर्न बाट शुरु भएको हो। डाउडनाले बताएकी छ सृष्टिको प्रारम्भिक कालदेखि नै जीवको विकास साथै प्रतिरक्षात्मक क्षमता पनि जीवमा विकास भएको हो। तर जीवले कसरी यो क्षमता विकास गर्छ भन्ने प्रश्न अनुत्तरित थियो। डाउडना र शापेन्तियरले यही प्रश्नको हल निकालेका हुन।
कुनै जीवमा जब वाह्य आक्रमण हुन्छ त्यो आक्रमणकारीको प्रति जीनमा अङ्कित हुन्छ। यसलाई सरल रुपमा भन्दा हाम्रो शरीरमा भाइरसको आक्रमण हुँदा त्यो भाइरसको चित्रण जीनको स्मृतिमा बस्छ। जब अर्को पटक त्यही भाइरसले आक्रमण गर्छ यसलाई जीनमा भएको ट्रेसर आरएनएले पत्ता लगाउँछ। त्यो स्मृतिमा रहेको जस्तै भाइरस हो भने यसलाई एन्जाइमले ध्वस्त बनाउँछ। यी दुई वैज्ञानिकले एक नयाँ एन्जाइमको पत्ता लगाए जसलाई क्यास नाइन नाम दिइयो।
उनीहरूले प्रयोगशालामा प्लासमिड अर्थात कृतिम क्रोमोजोम तयार गरे। यो क्रोमोजोममा यो ट्रेसर आरएनए र एनजाइम जडान गरे। जीवमा यसको प्रवेश गराए। यसले डिएनए सम्पादन गर्न सक्ने सम्भावना भयो। यसको परिणाम के हुने हुन्छ भने मानवले प्राकृतिक रुपमा पाएको शरीर छेडछाड गर्न सक्ने हुन्छ। एउटा जन्तुमा अर्को जन्तुमा भएको अङ्ग विकास गर्ने क्षमता आउने भयो। हाम्रो कथामा बाइपंखी घोडाको उल्लेख छ। बाइपंखी घोडा प्राकृतिक रुपमा हुँदैन। तर यो नयाँ तकनिकद्वारा घोडाको शरीरमा पङ्खा विकास गर्न सकिन्छ भन्ने हो।
प्राकृतिक जीवमा यस्तो प्रयोग भयावह देखिए पनि तर यो मानव शरीरमा हुने वंशानुगत रोग उपचार गर्न सकिने सम्भावना देखिन थाल्यो। जीनको विकृतिले वंशानुक्रम भएको हुन्छ। खराब जीन/डिएनएको बदलीमा विशुद्ध रोगमुक्त जीन प्रतिरोपन गर्न सक्ने भयो। खराब जीन नष्ट गरिन्छ र यसको ठाउँमा सही जीन राखिन्छ। वंशानुगत रोगको उपचारको सम्भावना बडायो।
जिनेटिक रोगबाट मुक्तिको निम्ति यो विधि विकास भए पनि यसमा जोखिम पनि धेरै रहेछ। यसले व्यक्तिको प्राकृतिक जीन परिवर्तन गर्दछ कृतिम जीन लगाएर। यसको दुरगामी प्रभाव कस्तो होला भनेर कल्पना गर्न कठिन छ। नैतिकताको प्रश्न पनि छ। मानव भनेर अहिले जसको सम्मान गरिन्छ र मानवता भनेर जो मूल्य मान्यता छ यसरी जीन परिवर्तन गरिसके पछि उसको रुप के कस्ता हुनसक्छ अनुमानको भर मात्र छ। केही जिनेटिक रोगको उपचार हुन लागेको छ र सफलता पनि पाएको छ। मानव जीवन रोगमुक्तिको निम्ति ठूलो कदम पनि हो। तर सबै जिनेटिक रोगको उपचार भने अहिले सम्भव भएको छैन।
वैज्ञानिक भन्छन मानव शरीरमा 21 हजार बडी प्रकारका जीनहरू हुन्छन। ती सबै प्रकारका जीनहरूको भूमिकाको आकलन भने पूर्णरूपमा भएको छैन। शरीरको अनुष्ठानमा पनि एक वा एकभन्दा अधीक जीनको संयुक्त प्रभाव हुन्छ। सामुहिक जीनको भूमिका आकलन कठिन छ।
जसो होस हाम्रो शरीरमा हुने जिनेटिक रोगको पूर्ण उपचार हुनबाट अहिले वैज्ञानिकहरूले अझ केही बडी समय लिनेछ भन्ने कुरा बुझिन्छ।
त्योहारको लगत्तै पछि घरको बिजुलीमा आगो लागेको थाहा पाइयो। गएर हेर्दा इन्भर्टरको बेटरीमा आगो लाग्दै रहेछ। कसरी निभाउने चिन्तामा परेँ। पानी त हाल्नु हुँदैन तर बालुवा हाल्न सकिन्छ। फेरि सम्झेँ आफै निभ्छ होला। आगो कहाँसम्म जाने हो यसैलाई विचार गर्दै थिएँ। यसको छेउमा घरको मूल बिजुली तार जडान थियो। आगो कतै त्यता बडेर जान्छ कि भन्ने डर मात्र भइरहेको थियो। यदि त्यसो भए फायर ब्रिगेड बोलाउनु पर्ला भन्ने भयो।
अचानक भिषण आवाज आयो। इन्भर्टर राखेको सानो कोठाको दैलो भत्केर मलाई लाग्यो। बम पड्केको जस्तो ठूलो आवाज र दैलो उछिट्टिएर लागेकोले गर्दा म लडेर चित भएँ। एकैछिन होश पनि हराए जस्तो भयो। मेरो छेउमा मेरो घरकी गृह सहायिका थिई। कता कता टाढाबाट कसैले अंकल अंकल भनेको सुनेँ। अलि पछि त्यो आवाज निकै ठूलो भएर आयो।
पूर्ण होसहवास फर्के पछि मैले आफुलाई सिढीको छेउ लडेको भेटाएँ। अनुहारमा चराक चिरिक चिलिरहेको जस्तो लाग्यो। केही रिङ्गटा चलिरहेको जस्तो भयो। प्रथमतः मैले सम्झेँ कतै मेरो आँखा बेटरीको एसिड लागेर चोट परेन भन्ने। आँखा पोलिरहेको थियो। मैले सोधेँ पनि। तर फेरि सम्झेँ देख्न त ठिकै देखिरहेको छु। हतार हतार वासरुममा गएर पानीले अनुहार छेपेँ। केही शितल भयो।
अचानक मलाई फेरि मेरो स्वर गायब भएको जस्तो लाग्यो। आफैले बोलेको राम्रो सुनिरहेको थिइनँ।
घरमा होहल्ला निकै भइरहेको थियो।
केही अनौठो लागिरहेको थियो। श्रीमतीको स्वर सामान्य सधैं जस्तो सुनिरहेको थिइनँ, अर्कै कोहीले बोलेको जस्तो भयो। मलाई के भइरहेछ छक्क परिरहेको थिएँ।
आफ्नो आवाज निकालेर बोल्ने कोशिस गर्न लागेँ। फरक लागिरहेको थियो, स्वाभाविक लागेको थिएनँ।
अनायस मेरो दिमागमा अनेकौं कुरा चलेको आवाज आइरहेको जस्तो हुनथाल्यो। कोही बोलेको कुनै आवाज प्रसारित भएको छैन तर मभित्र भने धेरै आवाज भइरहेको लागिरहेको थियो। मनमा अत्यधिक डर र छटपटाहट भइरहेको।
सम्झेँ अनि आफैंलाई सम्झाए यो आवाज काल्पनिक हो मैले सुनेको जस्तो मात्र हो, खासमा मैले कल्पना गरेको मात्र हो। यथार्थमा केही आवाज कतैबाट आएको छैन। मैले यसरी सम्झनु मेरो मूर्खता हो। ध्वनि फेरि कुनै माध्यमबाट प्रसारित हुने तरंग मात्र हो, कुनै वस्तु होइन। यदि माध्यम छैन भने ध्वनि पनि हुँदैन। शून्यतामा ध्वनि हुँदैन। यसैले मैले सुनिरहेको आवाज झुटो हो, सत्य होइन।
हप्तौं दिनसम्म यही मानसिक उठापटक भइरह्यो। गान्तोकमा निकै जाडो बडेको थियो। हामी गान्तोकमा जाडो महीना शुरु भएपछि सिलगढी झर्न थालेको निकै धेरै वर्ष भइसकेको हो। यसबाजि भने मेरो कानको समस्या र जाडो दुवैले धेरै च्याप्यो। जीवन जिउनुको कष्टको अनुभूति भयो। मनमा छटपटाहट भइरहेकै थियो। मलाई लागिरहेथ्यो यदि यो छटपटाहट कायम रहे म डिप्रेसनको सिकार हुनेछु। डिप्रेसनमा गए मलाई समस्याले झन जोरले समात्नेछ। यसबाट छुटकारा कसरी पाउने मेरोनिम्ति ठूलै प्रश्न भएको थियो।
डिसम्बर 5 तारिख सिलगडी झरियो। यहाँको न्यानो परिवेशले मलाई निकै सञ्चो बनाएको आभास गरायो। कानमा लगातार आइरहेको विचित्र ध्वनि केही कम हुनलागेको थियो।
डिसम्बर महिनाको बिच ठूलो दाज्यु परलोक हुनुभयो गान्तोकमा। उहाँ धेरै लामो समयदेखि रोगग्रस्त हुनुहुन्थ्यो। उहाँको उमेर 78 वर्ष पुगेको हो। अविवाहित रहनु भयो उहाँ।
अन्त्येष्टि क्रिया समापनपछि म पुन सिलगढी झरेँ। उहाँको अन्त्येष्टि क्रियामा जाँदा त्यहाँ भेला भएकाहरूसित बातचित गर्न मलाई निकै अपठ्यारो पर्यो। हुनत हियरिङ एड कानमा लगाएको थिएँ तर स्पष्ट बुझ्न चर्को परिरहेको थियो। हुल हुल भएर थुप्रै त्यहाँ बातचित गरिरहेका देखिरहेको थिएँ र उनीहरूले बोलेका स्वर सुनिँदै थिए तर नबुझिने। गुनगुनाहट मात्र सुनिने।
कहिलेकाहीँ आफैंले बोलेको आवाज नबुझेको जस्तो हुने। एकदुई पटक आफ्नो बोलीको आवाज कुनै टिनको बाकसमा ढंगा हालेर हल्लाउने निस्कने जस्तो पनि सुनियो। कानमा लगातार शंख बजेको जस्तो हुने। यसले मलाई ज्यादै चिन्ताग्रस्त बनाएको हुन्थ्यो।
महिना दिन बिते पछि केही बिसेक भएको र मनबाट कालो अध्यारोपन बिस्तार बिस्तार हटेर गइरहेको महसुस हुनथाल्यो। कानमा विचित्र ध्वनि बज्न धेरै कम भइसकेको थियो। डिप्रेसनको मोडबाट खुला आकाशमा पुग्न सकेको जस्तो पनि भयो। सम्झेँ अब मलाई डर छैन। कान नसुन्ने त त्यतिकै हो, यो त मसित रहिरहने हो। मैले यही अभावमा जिउन सक्ने हुनुपर्छ।
इन्भर्टर बेटरी घटना भएको तीन महीना बित्यो। यतिबेला मलाई म आफू यो घटना अघि जुन अवस्था थिएँ त्यही स्थितिमा फर्कन सकेको लाग्न थालेको छ।
श्रवण क्षमता ह्रासले व्यक्तिलाई असामाजिक बनाउँछ। उसलाई कसैसित हिडडुल गर्न बातचित गर्न मित्रवर्गसित समय बिताउन निरुत्साहित पार्छ। यदि उसले आफ्नो मनोबल स्थिर बनाएन र एकान्तमा जान थाले अवसान निम्तो दिने हो। समस्या अझ गहिरिएर जाने हो। व्यक्तिले आफ्नो शारीरिक क्षमताको आकलन गरेर आफूलाई त्यही अनुरुप बनाए जीवन सहज हुने हो।
Comments
Post a Comment