राजेन मोक्तानका कथाहरू
पेम्पा तामाङ
सालबारीमा हरेक महीनाको अन्तिम
शनिवार आयोजन गरिने शब्द समय कार्यक्रममा बेलाबखत उपस्थिति दिने गर्दा यहाँ भेला
हुने सर्जक र सज्जनवर्गसित परिचय साट्ने सुनौलो अवसर मिल्दछ। राजेन मोक्तानज्युलाई
चिन्ने यही कार्यक्रमले सुयोग मिलाएको हो मलाई पनि। सँधै प्रसन्न मुद्रामा देखिनु हुने
एवम ताजगी र तन्दुरुस्तीको प्रतिमान मान्न सकिने उहाँसित जति समय बिताउन सके पनि रमाइलो
रहने मलाई अनुभूति भएको हो। पछिबाट उहाँको बारे थप जानकारी पाउँदा उहाँ एक पूर्व उपाधीक्षक
तहको पुलिस अधिकारी रहनु भएको थियो। अवकाश
पछि सालबारीमा रहनु भएको र यहाँको एक सक्रीय समाजसेवीको रुपमा परिचित हुनुहुँदोरहेछ।
कार्यक्रमको मञ्चमा गएर उहाँको मुखारविन्दबाट कुनै विचार श्रवण गर्ने संयोग त रहेन
तर भेटघाटमा मीठा मीठा बातचित भने भए। सँधै केमेरा लिएर कार्यक्रमको बन्दोबस्तमा व्यस्त
देखिनु भएको हुनाले मलाई लाग्थ्यो उहाँ पेशेवर फोटोग्राफर हुनुहुन्छ होला भनेर। तर
त्यसो होइन रहेछ।
यसैबीच मैले उहाँको चमटा फारसमा
पाइने चराहरूमाथि लेख्नुभएको जानकारी मूलक लेख कवि मनप्रसाद सुब्बाको सम्पादनमा
निस्कने "कालान्तर" पत्रिकामा पढ्ने सुअवसर पाएँ। विभिन्न चराहरूको परिचय
मात्र नभएर तिनीहरूको चरित्र उदघाटन गरेर लेखिएको अत्यन्तै रमनीय लेख थियो। मन मनै
सम्झेँ उहाँ हाम्रो सलिम अलि हुनुहुँदो रहेछ। तर हामीले नचिनिराखेको।
पोहोर साल उहाँ आफ्नो
केही मित्रहरूसित पश्चिम नेपालको प्रसिद्ध पर्यटन स्थल भुजुङ गाउँमा घुम्न जानू भएको
रहेछ। यात्रा स्मरण अति नै चाखलाग्दो
पाराले "हिमालय दर्पण" मा धारावाहिक रुपमा तीन अंकमा छापिएको थियो। उहाँको
लेखन कला अद्भुत लागेको हो। कति राम्रो लेख्नसक्नु भएको भनेर सम्झेँ। भुजुङ गाउँको
मैले नेपालको लोकप्रिय युट्युब च्यानल "पुर्वी ब्लुज"मा हेरेको थिएँ। तर
मलाई लाग्यो जुन सुन्दर छवि राजेनज्युको लेखबाट प्रसारित भएको थियो युट्युबको भन्दा
प्रभावकारी लागेको हो।
नेपाली साहित्यमा नियात्रा
साहित्य भनेर अहिले धेरै विकास भएको छ। सैकडौँ पुस्तकहरू निस्केका छन। केही पढेको
छु। नेपालबाट देश विदेश घुम्न गएर लेखिएका ती केही नियात्रा भने देखिएको चित्रण
भन्दा लेखकको मानसिक अनुभूति बडी सम्प्रेषित गरिएको लाग्छ। यसले गर्दा ती लेखनबाट प्रभावित
भएर पाठकले भ्रमण गन्तव्य बनाउँदा उसलाई फरक अनुभूति हुन सक्छ। हालसालै चर्चित पर्यासाहित्यमा
पर्यापर्यटनको पनि विषय आउँछ। यसैमा टक्सिक
टुरिज्म भनेर उल्लेख गरेको देखिन्छ। यसले कुनै
पर्यटन स्थल अविकसित वा आफूले अपेक्षा गरेको भन्दा कमसल पर्यटन गन्तव्य भन्ने बुझाउँछ।
टक्सिक टुरिज्मले पर्यटन स्थलको चुनौती र अवसर
दुवै परख गर्छ। पर्यटन स्थलमा कुन कुराको अभाव छ र यसको उत्तरोत्तर विकास कसरी
गर्नु पर्ने सुझाव राख्छ। मलाई राजेनजीको यो नियात्रा लेखनमा यी सबै जनाउनु भएको
लाग्यो। नेपाली नियात्रामा पहिलोपटक मेरो पठनाभुतिमा टक्सिक टुरिज्म लेखन भएको
लाग्यो।
राजेनजीको एउटा कथा सङ्ग्रह
प्रकाशित रहेको जानकारीमा आए तापनि पढने सुयोग रहेको थिएन। उहाँले एउटा उपन्यास
लेखिसक्नु भएको र प्रकाशनको तयारीमा रहेको खबर सुन्नमा आएको हो। यसैबीच मई महीनाको
अन्तिम सातामा उहाँ मेरो फेसबुक मेसेन्जरमा आउनु भयो र फोन नम्बर माग्नु भयो। मैले
उहाँलाई फोन नम्बर दिए पछि उहाँले मसित केही काम भएको सुनाउनु भयो। गान्तोकमा कि सिलगढीमा
भनेर जिरह गर्नु भएको थियो। कुरा बुझ्दा थाहा पाएँ उहाँले केही नयाँ कथाहरू लेखिसक्नु
भएको रहेछ। ती कथाहरूको संकलनको प्रकाशनमा तर्खर हुनुहुँदो रहेछ। मलाई आग्रह गर्नु
भयो "दुई शब्द" लेखिदिनु भनेर। मैले सहज स्वीकार गरेँ। यो त मेरोनिम्ति
सम्मानको कुरा हो भनेर सम्झेँ। वाट्सएपमा उहाँले पठाइदिनु भयो – नौवटा कथाहरूको एक थान।
संसारमा प्रत्येक प्राणी
कथा लिएर आएको हुन्छ। तर सबैको कथा लेखिँदैन। अबोला प्राणीलाई उसको कथा रहेको
चेतना पनि हुँदैन। हामी मान्छेको प्रजातिलाई भने कथाको चेतना हुन्छ। वास्तवमा हामी
सबै कथा नै हौँ र कथाको भन्डार नै लिएर बसेका हुन्छौं। यद्यपि ती धेरै कथाहरू
विस्मृतिमा बिलाएर जान्छ। हामीसित थोरै मात्र कथा जीवित भएर बाँच्न सक्दछ। यसैले ती
जीवित रहन सकेका कथाहरू हाम्रो धरोहर नै बनेर बसेको हुन्छ। कसैले लेखिदिएको कुनै
अन्यको कथा हाम्रो आफ्नो कथा जस्तो भएर हामीसित बस्दछ। वास्तवमा हामी ती कथाहरूमा पनि
बाँच्दछौँ। हामी हाम्रो जीवन खोज्दछौँ।
राजेन मोक्तानका यी नौ कथाहरू
पनि जीवनको तलाश नै हुन। उहाँको दिव्य चक्क्षुबाट देख्नु भएको जीवनको दृष्टि कथा रसिकको
जीवनको सहजीकरण र मननको निम्ति हाम्रो बिस्कुनमा फैलाइदिनु भएको छ। कथाहरूको खोजको
निम्ति उहाँ टाढा टाढा जानू भएको छैन। हाम्रै घुरेन र आँगन भरी हाम्रै सानो संसारको
घेरामा रहेका विविध दृश्य जो हाम्रो निम्ति ओझेलमा परेका थिए, दिनको उज्यालोमा हामी माझ हामीले देख्ने गरी राखिदिनु
भएको छ।
राजेन मोक्तानको कथा पढिसके
पछि मलाई आभास भयो उहाँ जीवनप्रति निकै गम्भीर दृष्टिकोण राख्नुहुन्छ। सामान्य
जीवनमा उहाँ हल्का गफमा रमाउने अर्कालाई हँसाउने निकै पारदर्शी जस्तो देखिनु भए पनि
आफ्नो लेखनमा भने गहिरो चिन्तन र एक दार्शनिक झै लाग्दो रहेछ। हिजोआज लेखिरहेका आम
कथा कविताले हामीलाई बोध गराएको हुन्छ सर्जकले पाठकलाई मनोरञ्जन दिलाउन निकै
प्रयास गरेको छ भन्ने। यसले गर्दा सिर्जनाको गम्भीरतामा चोट परेको पनि देखिन्छ नै।
सजिलो हुन सहज बनाउन पाठकले बुझ्ने भाषा र विचार सम्प्रेषण गर्ने होडमा रचनाको रचना
धर्म नै विचलित हुन पुगेको हुन्छ। यही कुरामा राजेनजी बडो सतर्क रहनु भएको र आफ्नो
कथा भन्नलाई इमानदार हुनु भएको लाग्छ। कुनै ठूलो दर्शनको बोझिल दृष्टिकोण होइन तर बडो
सरलताको साथ अत्यन्तै गम्भीर विचार राखिदिनु उहाँको विशेषता लाग्यो। दृश्यमानमा उहाँको
कथा "उन्मुक्त उडान"।
रोमान्टिक धारा नेपाली
साहित्यको प्रमुख धारा नै हो। युरोपमा उन्नाइसौं शताब्दीको तेस्रो दशकतिर नै शिथिल
भएर गएको हो। तर नेपाली साहित्यमा भने बीशौँ शताब्दीमा सर्वाधिक प्रचलित धारा नै यही
हो। यसलाई उँचाइमा पुर्याउने श्रेय महाकवि लक्ष्मीप्रसाद देवकोटालाई जान्छ। भारतीय
नेपाली साहित्य र दार्जिलिङ क्षेत्रमा भने यसको सबैभन्दा ठूलो प्रयोगकर्ता रुपनारायण
सिंह हुन। आयामेली साहित्यिक अभियान यही रोमान्टिक धारालाई निरस्त गर्न जन्मेको
हो। तर भारतीय नेपाली साहित्यमा अझ पनि यसको
प्रभावबाट सिर्जना गरिएको रचना देख्न पाउँछौं। भावनात्मक प्रमुख कविता, कथा, निबन्ध अझै पनि लेखिरहेकै
छन।
युरोपमा रोमान्टिक धारा ज्ञानोदय
युग (इनलाइटनमेन्ट एज) को विरोधमा जन्मेको वैचारिक अभियान हो। ज्ञानोदयले मान्छेलाई
प्रकृतिमा उच्चता प्रदान गर्यो। दार्शनिक डेकार्टको प्रख्यात भनाइ छ " म सोँच्छु
यसैले मेरो अस्तित्व छ।" यो भनाइमा मान्छेको चेतना सर्वोपरि भएको प्रमाणित
गर्दछ। तर यो चेतनाले उसलाई प्रकृतिबाट अलग गराउने भयो। अब प्रकृतिबाट टाडिने भयो।
रोमान्टिक धाराले मान्छेलाई
प्रकृतिबाट अलग गराउने विचारको विरोध गर्दै फेरि प्रकृतितिर फर्कने आग्रह गरे। प्रकृति
र मान्छेको मिलन हुनुपर्छ भन्यो। प्रकृति र मान्छे एकरुप हुनुपर्छ। यसकारण
प्रकृतिको सबै रुपमा आनन्द लिनु आवश्यक बुझियो। प्रकृति मै आनन्द छ, सुख छ, उन्मुक्ति छ। रोमान्टिक
कविहरू यसैले आकाशमा उडिरहेको चरालाई उन्मुक्तिको प्रतीक माने उल्लासमय गीत गाउँछन।
आफू पनि चरा जस्तै उडन सक्ने कल्पना गर्छन।
कथाकार राजेन कथा "उन्मुक्त
उडान"मा बताउनु हुन्छ, होइन चराहरूको उडान
उन्मुक्त होइन, यो त उनीहरूको वाध्यता हो, जिउनुको संघर्ष हो।
"उडनु पक्षीहरूका वाध्यता रहेछ। जिउने संघर्षको माध्यम
रहेछ उडान।"
कथाकार यसरी रोमान्टिक
धाराको विचारलाई विनिर्माणीकरन गर्नुहुन्छ। चराको उडनु कुनै रमाइलो रोमाञ्चक नभएर जीवन
र मृत्युको प्रश्न हो। यदि उनीहरू उडन सकेन भने उनीहरूको जीवन लीला समाप्त हुन्छ। आफ्नो
बालबच्चा पनि बचाउन नसक्ने हुन्छ। उनीहरूको सुरक्षा र जीवन उडने क्षमतामा निहित छ।
रुमानी विचारको अव्यवहारिकता देखाउने सबल कथा बनेको छ "उन्मुक्त उडान।"
कथाकार राजेन मोक्तान जीवन
र जगतप्रति सचेत एवम गम्भीर देखिनुहुन्छ। तरलता छैन। अभिव्यक्तिको स्तर विषयको गम्भीरतालाई
न्याय दिन सक्ने रहेको छ। कथा कथिएको नै हुन्छ, बनावटी या कृतिम।
भएकै घटना त होइन, यो त इतिहास हुन्छ। कथा इतिहास
होइन। कथा तर अनुकरण हो जीवन र जगतको। दर्पण नै नभनौँ किनकि दर्पणमा देखेको वास्तविक
ठोस जीवन्त वस्तुको प्रतिबिम्ब हो। कथा भने लेखकको मनमा बसेको प्रभाव मात्र हो, उसले बुझेको भर। एकप्रकारले उसको मनको दर्पण हो।
उसले त्यही र त्यति मात्र देखाउँछ जति उसले देखाउन चाहन्छ। यसो गर्दा धेरै त छद्म रहन
सक्छ। पाठकबाट ओझेल रहन्छ। चन्द्रमाको एकैपाटा मात्र देख्न सकिएको जस्तो। राजेनजीमा
यो खुबी देखिन्छ कुन कुरा पाठक माझ राख्ने र कुन कुरा नराख्ने। छनौट कठिन हुन्छ। सही
छनौट हुन नसके कथा बिथोलिन्छ। एउटा कठिन विषयलाई रोचक पठनीय एवम पाठकलाई पाठमा कसरी
केन्द्रित गर्ने ? यही कौशलता देखिएको राम्रो तर एक गम्भीर कथा हो "पगला"।
यो कथामा लेखकले पराख्यानको
तकनिक ल्याउनु भएको छ। पराख्यानको तकनिक भनेको कथा र कथा लेखनको प्रक्रिया एकैसाथ आउनु
हो। हुनत पराख्यानको तकनिक प्राचीन कालदेखि नै चलिआएको हो। तर उत्तराधुनिक कालमा भने
यसले फरक रुप लिएर आएको छ। पूर्वीय परम्परामा त कथा र इतिहासको विभाजन रेखा धमिलो
हुने गर्थ्यो। महाभारत र रामायणलाई यसैले महाकाव्य र इतिहास एकैसाथ हेरिने परम्परा
बसेको छ। काव्य पनि हो इतिहास पनि हो। तर उत्तराधुनिक लेखनमा भने कथामा इतिहासको उपस्थितिको
महत्त्व हुँदैन। इतिहास भनेर पढिँदैन, कथा नै भनेर
सम्झनु पर्छ। यसैले पराख्यानलाई यो नयाँ अर्थमा यहाँ परिभाषित गरिएको छ। "पागल"
कथा लेखकले कथाकारको परिचय दिनु भएर आरम्भ गर्नु भएको छ। यसैले आत्मकथात्मक रहेको भ्रम हुन्छ।
यहाँ कथाकार पनि कथाको एक पात्र नै हो। लिफाभित्र चिट्ठी जस्तै कथाभित्र कथा भएको
बुझिनु पर्ने हुन्छ। यहाँ कथाकारले उसको पात्र पागल भेटेको हो। तर हामीलाई थाहा छ यो
पागल कथाकारको कल्पना मात्र हो, वास्तविक होइन। उत्तराधुनिक
लेखनमा यसलाई यथार्थलाई कल्पनाले दुषित पार्नु ( कन्टेनिमेसन अफ रियलिटि बाइ फिक्सन)
भनिन्छ। यसो भए पछि सबै कल्पनामा परिणत हुन्छ र कथा मात्र बन्न पुग्छ। यही कारण
कथाकार वास्तविक हो जस्तो लागे पनि काल्पनिक पात्रको उपस्थितिले उसलाई पनि काल्पनिक
नै बनाइदिन्छ।
कथामा एक पगलाको चित्रण
रहेको छ। पगला कसैलाई बिझाउदैन। ऊ मौन रहन्छ। कथाकारलाई उसको अवस्थाले द्रवित बनाउँछ
यसैले केही किनेर उसको पेट भरोस भन्ने उद्देश्यले समय समय पैसा दिन्छ। यो कथा पगलाको
कथा मात्र नभएर कथाकारको पनि कथा हो। यसमा दुईवटा कथा समाना्न्तर बगेको छ। एक सज्जन
विवेकशील जिम्मेवार पात्र र अर्को कुनै जिम्मेवारी नभएको विवेकहीन निश्चिन्त पात्र।
सज्जन व्यक्तिलाई अनेक समस्याले आक्रान्त बनाएको छ, चिन्ताग्रस्त छ। तर
पगलालाई कुनै चिन्ता छैन। ऊ सबै समस्याबाट मुक्त देखिन्छ। त्यसो त पगलाले कुनै
अनुभवको स्वतन्त्र आभास हुँदैन। फुकोले बताएको छ पगलाले उसले अनुभव बताउनु सक्दैन।
(madness is
an undifferentiated experience : Michael Foucault: Madness and Civilization: p-vi)
उसको लागि हिजोको दिन र आजको
दिनमा केही अन्तर हुँदैन। तर एक विवेकशील मानिसको निम्ति हरेक पलको अनुभव हुन्छ। उसले
विगत र भविष्य दुवै सम्झन्छ। आफ्नो यही स्मृतिको कारणले नै चेतनशील विवेकशील सज्जन
चिन्तामुक्त रहन सक्दैन।
कथामा एक दृश्य हृदयस्पर्शी
छ।
"ओहो ! यसले त रात यसरी
काट्दोरहेछ – जहाँ पायो त्यहीँ। शरद ऋतुमा
एउटा रुखबाट सुकेर झरेका पातहरूको कमी छैन। पातहरूकै तोसक, कम्बल, प्लास्टिकको बोरामा
भरिएका रद्दी कागज र सुकेका पातहरूको सिह्रानी। शिरमाथि खुल्ला आकाश, मुनि प्रकृतिको काख। कति मजा यसलाई।"
बिहान भए पछि उठेर
"पगलाले बिछ्यौना छाड्यो।
भुइँमा बिछ्याइएको
पातहरूलाई सोह्रेर सानो ढिप बनायो अनि बोराको सिह्रानीलाई ढिपभित्र घुसार्यो। के गरेको
त्यसले ? हुनसक्छ भरै रातका निम्ति सिह्रानी लुकाइरहेछ ? हेर्दा हेर्दै रातभरिका निम्ति
तोसक, कम्बल र सिह्रानीको काम दिने वस्तुहरू सानो
ढिपमा परिवर्तित हुनुपुग्यो।
पगलाले पाइजामाको खल्तीबाट
माचिस झिक्यो, सल्कायो र जल्दो सिन्कालाई
यत्नसाथ पातहरूको ढिपमा झोसिदियो। पगलाले बिछ्यौना हुरुरु बल्न थाल्यो। रातो पहेंलो
निलो आगोका लप्काहरू उठन थाले। चिसो बिहानीमा आगोको न्यानोपनको आनन्द उपभोग गर्न थाल्यो
त्यसले।"
एक पगलाको मानसिकताको परिचय
यो भन्दा राम्रो सायदै हुनसक्छ।
कथाले राम्ररी बुझाएको छ एक
पगलालाई कुनै पनि भौतिक वस्तुप्रति आशक्ति हुँदैन। उसले वस्तुको उपयोग त्यति निम्ति
मात्र काम लगाएको हुन्छ जुन क्षणमा त्यसको आवश्यकता भएको हुन्छ। उक्त वस्तु हिजोको
दिनमा के स्थितिमा थियो र भोलि यसको के आवश्यकता हुनसक्छ यसको कुनै अर्थ हुँदैन। लोभ लालच मुक्त हुन्छ जो एक सन्यासीको पनि चरित्र
हो। फुको लेख्छन पागलपनले मान्छेलाई आकर्षित गर्छ। (Madness and Civilization : p-22) यहाँ कथामा "म" पात्रलाई पगलाले आकर्षित
गरेको छ। फूको अझ भन्छन् पगलाले अपरिचित ज्ञानको मार्ग पनि देखाउँदछ। (madness has something
to do with the strange path of knowledge) (p-22). कथामा पगलाले ऊ सुतेको
सामान बिहान उठेर सबै आगो लगाएको देख्दा "म" पात्र अचम्भित भएको हुन्छ।
कथाकार राजेन आफ्नो कथामा
जीवनको विविधता र विडम्बना राख्ने प्रयास गर्नु भएको छ। कथाहरू एकल विचार नलिएर विविध
विषयमा राखिएका छन। जीवनको अनेक रङ्ग प्रस्तुत गर्न सफल रहेको छ। मानव समाज एकरसले
भरेको हुँदैन, इन्द्रेणी जस्तै बहुरङ्ग नै
हुन्छ। भने जस्तो तारतम्य मिलेको हुँदैन, केही मिलेको र केही
नमिलेको नै हुन्छ। "फाटेको जुत्ता" कथाको विषयवस्तु जीवनको यही तालमेल
नमिलेको रुप हो।
जुत्ता फाटेर पात्र मोचीको
जान्छ। जुत्ता हेरेर बताइदिन्छ जुत्ता धेरै खप्ने अवस्थामा छैन, छिटै यसको उपयोगिता समाप्त हुनेछ। यसैले अस्थायी
मरम्मती गर्नु भनेर उसले सुझाव दिन्छ।
पात्रको पिता अस्वस्थ
हुनाको कारण अस्पताल पुर्याउँछ। डाक्टरले छिटै निको हुने आस्वासन दिन्छ। उसको निकै
ठूलो रकम उपचारमा
खर्च हुन्छ। तर पिता अस्पताल
मै देहावसान हुन्छ।
एक गरिब कम पढेलेखेका मोची
र विद्वान उच्च तालिम हासिल गरेको डाक्टरको द्विचर रुप यहाँ देखाइएको छ। जुत्ता फाट्नु र शरीर अस्वस्थ हुनु दुवै उपचार अपेक्षित
हुन्छ। डाक्टर विद्वान हुनुको कारणले शरीरको उपचार आस्वस्त रहन्छ। तर त्यसो हुन सक्दैन, परिणाम विपरीत हुन्छ। मोचीले बरु सही भन्छ जुत्ता
भरपर्दो छैन।
केही मेल केही अमेल यही
देखिन्छ।
विचारप्रधान कथाबाट घटनाप्रधान
कथामा जानुभएको छ राजेनजी आफ्नो कथा "जार"मा। छ दशकभन्दा पछिको कालमा लैजानु
भएको छ। दार्जिलिङ र नेपालको तराई क्षेत्रको चित्रण रहेको छ। कथाको जार भए पनि यहाँ
सामान्य अर्थमा प्रयोग गरिने जार होइन। यहाँ बाघलाई जार भनिएको छ। बाघलाई जारको संज्ञा
दिनुको कारण बाघले एक पात्रको स्वास्नी मारिदिएको हुन्छ। पुरानो नियम अनुसार जार काट्न
वैध थियो। पात्रले बाघ मार्नुलाई जार काट्नुको अर्थ दिइएको हो।
जार शीर्षकमा इन्द्रबहादुर
राईको प्रख्यात कथा छ "जार – भएकै एउटा कथा"।
राजेनको कथा जार राईको कथाको पुनर्लेखन भएको छ। "जार -भएकै एउटा कथा" मा बाघ मारेको हुन्छ भने यहाँ "जार"
कथामा पनि बाघ नै मारिन्छ। यद्यपि भिन्नता के रहेको छ भने "जार"मा पात्र
फौजी लाहुरेकी दुलही बाघद्वारा मारिएकी हुन्छ र उसले बदलामा बाघलाई मारेको हुन्छ। तर
राईको कथामा भने जारबाट काटिन जोगिनलाई भागिहिडदा अचानक बाघ भेटेको हुन्छ र उसले
बाघ मार्छ। दोस्रो भिन्नता इन्द्रबहादुर राईको कथाको भौगोलिक क्षेत्र पूर्वी नेपाल
हो भने "जार" कथाले दार्जिलिङ र नेपालको तराई खन्ड दुवै परिवेश समेटेको छ। राईले आफ्नो कथामा परिवेशलाई
भन्दा पात्र पात्राको मनोदशाको चित्रण केन्द्रमा राख्नुभएको छ भने "जार"
कथामा घटना र परिवेश केन्द्रमा रहेको छ।
जार प्रथा नेपाली समाजमा
थियो तर यो प्रथा छेत्री बाहुन समुदायमा लागू थिएन। कुनै ब्राह्मण जारलाई काट्न कानुनी
अपराध बनाएको थियो। ब्राह्मण बाहेक अन्य जातमा भने जार काट्न पाइने ऐन थियो। विक्रम
संवत् १९१० को मुलुकी ऐनको प्रावधान यस्तो थियो
"तागाधारि मतवालि गैह्र जार
हान्या जातहरूमा कसैको आफ्ना हाड गोत्रका भाइले १. उपाध्या ब्राह्मण
र २. लिंगका जैसि बाहुन. आफुले जन्मायाका छोरि दियाका, जुवाञिले जारि गर्या भन्या पतिलाई जार काट्न हुँदैन।"
"उपाध्या ब्राह्मण र दोस्रो
लिग सम्मका सद्द जैसिले उपाध्या लगायेत् कसैको जारि गर्यो भन्या साधुले (साधु = जार, नाठो) तेसलाई जार नकाट्नु।"
यसले बताएको छ तागाधारी समूहका
सदस्य कसैले जारी गरेर लगे भने उसलाई काट्न पाइने छैन। जार काट्ने प्रथा सम्पूर्ण
नेपाली समूहमा नभएर विशेष जाति समूहमा प्रचलित गराइएको यस ऐतिहासिक ऐनले देखाउँछ। यहाँ
बुझिनु पर्ने मुद्दा के हो भने छेत्री
बाहुन कसैले जुनै जातबाट जारी गरेर बिहे गरे उसलाई जारले काट्न वा मार्न पाउँदैन। जार
काटे कानुनी अपराध मानिनेछ। छेत्री बाहुनलाई पनि सजाय तोकिएको छ तर उसको सर्वस्य हरन
मात्र गर्न पाउँछ, काट्न पाइँदैन। तर एक मतवाली जातको मान्छेले जुनै जातबाट जारी गरेर
बिहे गरे उसलाई जारले काट्न पाउँछ।
दार्जिलिङ क्षेत्रका गोर्खा
समुदाय दीर्घकालदेखि पश्चिम बंगाल राज्य पुलिस सेवामा आफ्नो योगदान दिइरहेको छ। पुरानो
पीढी अवकाशको जीवन बिताइरहेका छन भने कति बितेर गए। वर्तमान समयमा पनि पुलिस
सेवामा कार्यरत छन। यद्यपि यसको दस्तावेजिकरन भने गरिएको देखिँदैन। यसो नगर्दा इतिहासको अध्याय गायब रहने सम्भावना रहन्छ। उनीहरूको कथा लेखिनु पर्ने हो। हरेक
कथा महत्त्वपूर्ण हुन्छ र जाति विकासको निम्ति यसको ज्ञान अनिवार्य छ। राजेन मोक्तानजीले
यही कार्य सम्पन्न गर्नु भएर आफ्नो भूमिका निभाउँनु भएको छ "सान" कथाको सिर्जना
गरेर। नभन्दै यो कथा गोर्खा जाति र उसको सान खुकुरीको महिमा गान पनि हो।
चारजना मित्रहरूको कथा हो।
अब सबै अवकाशप्राप्त जीवनमा आइपुगेका छन । ती चारजना मध्ये एक को मृत्यु हुन्छ। यही
मृत्युले पात्रलाई उदासीन बनाउँछ र विगत सम्झन्छ।
विगतप्रति आकर्षित हुनु, विरताको महिमा, एकाभावको तृष्णा रोमान्टिक
धाराको लक्षण हुन। यही तत्व यस कथामा प्रमुखताको साथ आएको हुनाले "सान" कथा
एक स्वछन्दतावादी कथा हुन पुगेको छ।
"पूर्वनिर्धारित"
कथामा कथाकार नियतिवादलाई उकास्नु भएको छ। नियतिवाद सिद्धान्त अनुसार सबै घटनाहरू पूर्व
प्रसङ्गको परिणाम हो, अनि मान्छेले गर्ने गरेको
कुनै कार्य उसको अनुवांशिकि अनि परिवेशबाट निर्धारित हुन्छ। (the doctrine that all
events are inevitable result of antecedent conditions, and that human being in
acts of apparent choices, is the mechanical expression of his hereditary and his
past environment.) (Will Durant ; The Story of Philosophy)
नेपाली उखान भावीले लेखेको
हुन्छ तथा लेखेको मात्र पाइन्छ देखेको पाइन्दैन भन्ने विचारले पनि यही दर्शन
बोकेको हुन्छ। हुनपनि पूर्वीय दर्शनको मुख्यधारा यही नियतिवादमा आधारित छ। नियतिवादले
भाग्यवाद जन्माएको हो भनेर नेपालको विद्वान लेखक डोर बहादुर विष्टले आफ्नो
बहुचर्चित पुस्तक "भाग्यवाद अनि विकास" मा आलोचना गर्नु भएको छ।
कथा मोबाइल हराएको प्रकरणबाट
जन्मिएको छ। मोबाइल हराउनु पूर्वनिर्धारित थियो अथवा भाग्य नै त्यस्तो थियो। मोबाइल
हराउनु र यो हराउनुको कारण नियतिलाई दोष्याउनु अस्वाभाविक अवश्यै लाग्नेछ तर यहाँ "म"
पात्रले त्यही सम्झेको हुन्छ।
नियतिवादलाई सबैभन्दा ठूलो
चोट क्वान्टम मेकानिक्सको सिद्धान्तले पुर्याएको हो। वैज्ञानिक स्क्रोडिन्जरले गणीतीय
प्रमेयबाट देखाए वस्तुको वस्तुस्थिति कहिले पनि निर्दिष्ट हुँदैन। कुन बेला
कहाँनेर हुनेछ अनुमान गर्न असम्भव हुन्छ।
यो विचारबाट दिक्क भएर वैज्ञानिक
आइन्सटाइनले भने भगवानले डाइस खेल्दैन। तर पछि यही क्वान्टम सिद्धान्त अघि बडिरहेछ।
यसले दिएको ज्ञानले वैज्ञानिकहरू भन्न थालेको छ यो ब्रम्हाण्डको निर्माणको कुनै
उद्देश्य छैन। सबै आकस्मिक भएको हो। कुनै पूर्व योजना थिएन। नियतिवादको आधार
निराधार छ। यहाँ कथामा मोबाइल हराउनु संयोग वा आकस्मिकता मात्र थियो। हराउनै पर्छ भन्ने
थिएन। तरपनि पात्रलाई त्यसो लाग्छ किनकि उसको मनोवैज्ञानिक निर्माण त्यसरी भएको छ।
त्यही विश्वासको परिवेशले उसको निर्माण भएको छ। व्यक्ति परिवेशको कैदमा हुन्छ।
कथामा पात्रले मोबाइल हराउँदा
उसलाई लाग्छ यो उसको नियतिले भएको हो। पात्रको मनोदशा डोर बहादुर विष्टले चित्रण गरेकोले
स्पष्ट पार्छ
"Many poor Nepalis have a habit of cursing themselves using the edge
of their flattened hand, as if it were a knife, to hit their forehead, to
express their frustration over failures, miseries and sufferings. They continue
to believe that one can have only what is written on the forehead".(Fatalism
and Development).
कथामा त्यतिबेला मोड आउँछ
जब उसले सोच्न थाल्छ ऊ यो मनोदशामा रहन ठिक होइन र सामान्य स्तरमा आउनुपर्छ। हुनत ऊ
स्वभावले पियक्कड छैन। तर उसलाई थाहा छ कतिपय व्यक्तिले मानसिक पीडाको दबावबाट मुक्त
हुन मदपान गर्दछ। यसको मनोवैज्ञानिक ज्ञान उसलाई छ। यही मनोवैज्ञानिक उपचार उसले
पनि अपनाएको छ मदपान किनेर घरमा राख्ने र त्यसको दृश्यले मात्र पनि आफू नशामा चूर भएको
अनुभूति लिनू। आफ्नो दुर्भाग्यलाई भुलेर आफ्नो भाग्य पुनर्निर्माण गर्ने यही नुस्खा
उसलाई उत्तम लाग्छ। नियतिलाई बदलिनु सक्दैन तर यसलाई कसरी सहज बनाउने यसैको प्रयासमा
कदम चाल्ने हो।
व्यक्तिले आफ्नो
बेहोसियारीपन कसरी उसको दोष होइन भन्ने सावित गर्न प्रयास गर्छ यही देखाउने कथा भएको
छ "पूर्वनिर्धारित"।
यस संकलनमा आएको कथाहरूमा
"दृष्टिकोण" एक विशिष्ट कथा हुन गएको छ। यसमा दुई प्रमुख पात्रहरू छन। ती
दुई भिन्न परिवेश र विचारधाराबाट आएका छन। दुवैको लक्ष्य एउटै छ मृगको शिकार। सिकार
गर्ने गन्तव्य पनि एउटै छ। तर एकको हातमा बन्दुक छ भने अर्कोको हातमा केमेरा छ। एकार्कालाई
चिन्दैनन र उनीहरूको लक्ष्य एउटै हो भनेर एकार्कालाई थाहा छैन।
दुईवटा कथा समानान्तर
बगेको यो कथाले दुई भिन्न विचार बोकेका पात्रहरू अघि ल्याएका छन। यसमा गरिएको
प्रस्तुति मान्छे र प्रकृतिको अन्तरक्रियामा रहेको छ। बन जइ्गल, मृग र हरिणको शावक एकातिर छन भने अर्कोतिर त्यो
बन जइ्गलमा रमाउने र हरिणलाई शिकार एवम आफ्नो स्वार्थपूर्तिको साधन मान्ने विपरीत प्रवृत्तिको
दुई पात्रहरू।
धने एक राजनीतिक कार्यकर्ता
र सानोतिनो ठेकादार हो। उसलाई आफ्नो नेतालाई प्रसन्न गराएर लाभ उठाउनु छ। हरिणको सिकार
गरेर यसको मीठो तरकारी नेतालाई सेवन गराउन सके नेताबाट उसले फाइदा उठाउन सक्नेछ मान्दछ।
उता राकेश एक अवकाशको जीवन बिताइरहेको एक प्रकृतिप्रेमी फोटोग्राफर। उसलाई वन्य पशुपक्षीसित
प्रेम छ। तिनीहरूको सुन्दर तस्बिर आफ्नो केमेरामा कैद गर्दा उसलाई प्रसन्नता
दिन्छ।
वास्तवमा "दृष्टिकोण"
कथा दुईवटा कथाहरू हुन एउटा कथा जस्तो देखिने। दुवै कथाको आरम्भ भिन्न परिवेशमा
हुन्छ। दुई पात्रहरूको चरित्र पनि विपरीत धुरीको छ। समानता केही छैन। धने आश्रित छ।
अल्पशिक्षित र कमाइको निम्ति राजनीतिक चाकरीमा लिप्त रहेको। उता नरेश सेवानिवृत्त पेनसनभोगी, एक स्वतन्त्र, निश्चिन्त। उसकोमा
कलात्मक चेत छ र प्रकृतिको सौन्दर्यमा रमाउन सक्छ।
दुई कथाको मिलन अन्तिम क्षणमा
मात्र हुन्छ, दुई नदी दोभानमा आएर एक भए
जस्तै। कथाकारले आफ्नो कलाको कौशलता कथाको चरमोत्कर्षमा देखाउनु भएको छ। फोटोग्राफर
नरेशले बन्दुक पढकेको आवाज सुन्छ। आवाज त्यही ठाउँबाट आएको थियो जुन ठाउँमा उसले हरिण
र शावक देखेको थियो र तिनीहरूको तस्बिर उतारेको थियो।
हरिण र सावकको अवस्थाको जानकारी
पाठकले आफै बुझ्नु पर्ने हुन्छ। अर्थ स्थगन (suspend) गरिएको छ। धने मदपान गरेर बसेको थियो र उसको निशाना सही हुन्छ भन्ने प्रमाण
छैन। बन्दुक पढकेको आवाज आए पनि हरिण या सावकलाई लागे भन्न सकिन्न। यहाँ सन्देह
गर्ने अवकाश छ। कथा लेखन तकनिकमा यो एक युक्ति हो जसले पाठकलाई कथामा अल्झाइराख्न सक्षम
बनाउँछ।
"गंगाजल" कथालाई
श्रवण कुमारको मिथकीय कथाको व्यतिरेकात्मक भन्न मिल्नेछ। वाल्मीकि रामायणमा रहेको
उपकथा श्रवण कुमार मातापिताको भक्तिको निम्ति प्रसिद्ध छ। तर आजको समय यसको विपरीत
छ र छोराछोरीले आमा बाबुप्रतिको कर्तव्यबाट पलायन बन्दछ। "पगला" "दृष्टिकोण"
कथाहरूमा प्रयोग गरिएको युक्ति यो कथामा दोहोरिन गएको छ। यसमा दुई अलग दृश्यांकन राखिएको
छ। नाटकमा पटाक्षेप भएर अर्को दृश्य आए झै यसमा त्यही तकनिक ल्याइएको छ।
यो कथाको दोस्रो पटाक्षेपमा मृत पात्रलाई अघि ल्याइएको
छ। मृत पात्रलाई लिएर आख्यान प्रस्तुति गरिने शैली चलनमा आउन लागेको छ। यसको सफल प्रयोग
तेह्रौँ शताब्दीको ईटलीको महान लेखक अलिघियरी दान्तेको नाम विश्वसाहित्यमा प्रथम
लहरमा आउँछ। उहाँको काव्य डिभाइन कमेडीमा यही जीवित र मृत पात्रहरूको आख्यान छ। केही
साल अघि सिक्किमको उपन्यासकार प्रवीण जुमेलीले पनि उनको उपन्यास "सन्नेरेटा"
मा यसरी नै मृत पात्र ल्याउनु भएको छ। 2022को बुकर पुरस्कार जितेको शेहान करुणातिलकाको
उपन्यास "द सेभेन मुन्स अफ माली अल्माइदा" मृत पात्रहरूले भरेको सशक्त रचना
हो।
"गंगाजल" कथाको
पूर्णता मृत पात्रको प्रकरणबाट प्राप्त भएको छ।
कथा आजको समयको वास्तविकताको
चित्रण गरेको छ। हाम्रो वरिपरिको परिवेशमा यस प्रकारका घटना घटिरहेको हुन्छ। समकालीन
समयमा वृद्धाश्रमको स्थापनाको वृद्धि यही प्रौढहरूको समस्या सृजना हुन थालेपछि भएको
हो। नभन्दै यो समस्या हाम्रोमा मात्र नभएर वैश्विक हो। संयुक्त परिवारको विघटन, शहरी सभ्यताको विकास, मानव जीवन र उसको समाजमा आएको परिवर्तन यसको जिम्मेवार
भन्न सकिन्छ। परिवारमा रहेका अशक्त सदस्यको दायित्व परिवार एवम समाज कसैले लिने परम्पराबाट
पछि हटदै गएको कारण पनि यो समस्याको वृद्धि भएको हो। समाजमा देखिएको यही विकृति
कथाकारले लेखनमा सशक्तताको साथ राख्नु लेखकीय सफलता मान्न सकिन्छ।
प्रत्येक दार्जिलिङवासीको
निम्ति गोर्खाल्यान्ड मुद्दा सबैभन्दा गम्भीर हो। यसबारे सम्पूर्ण जनता चिन्तित
छन। यही गोर्खाल्यान्ड प्राप्तिको निम्ति आफ्नो जीवन त्याग गर्न गौरवान्वित महसुस गर्दछ।
यस्तो अहम विषयलाई केन्द्र गरी कलात्मक अभिव्यक्तिमा सजाउन हरेकको प्रयास रहेको छ।
कलामा यसलाई बचाउँन यसकारण पनि पर्दछ किनकि यसको छाप समाजमा स्थायी रुपमा बस्दछ र पीढी
दर पीढी यो मुद्दालाई ज्वलन्त राख्न सफल बन्दछ। राजेनजी एक अत्यन्त सचेत एवम जिम्मेवार
नागरिक भएको कारण आफ्नो कर्तव्यबोध सबल बनाउने नै हो। यही चेतनाको मूर्तरुप हो उहाँको
कथा "चक्रव्यूह"
कथाको शुरुआतमा आन्दोलन
समाप्त भएर सम्झौता सही गरेर हिल काउन्सिल
बनेको उत्सव मनाएको दृश्य छ। आन्दोलनपछिको उपलब्धिलाई सर्जकहरूले आफ्नो आफ्नो
दृष्टिकोणले संज्ञा दिएको छ। लेखनाथ छेत्रीले उहाँको उपन्यासमा फुलाइ्गे अर्थात फल
दिन नसक्ने आन्दोलन भनेर नाम दिनु भएको छ। नुनको चिया उपन्यासमा विमल लामाले डिजिएचसी
अर्काले जवर्जस्ती थोपेको र स्वीकार्न कर लगाएको देखाउनु भएको छ। इन्द्रबहादुर
राईको कथा "विश्व तिम्रा चरण" मा भने जुत्ताको लेस जतिको मात्र मूल्य
भएको प्रतिकात्मक भनाइ दिनु भएको छ। यहाँ राजेनजीले भने बाघ होइन तर डमरूको संज्ञा
दिनु भएको छ डिजिएचसीलाई। यही डमरू भए पनि पाउन सकेकोमा आन्दोलनकर्ता खुशी भएका छन
र उनीहरूको आन्दोलन सफल बुझेका छन। नभन्दै
डमरूको प्रतीक निरीह बच्चा जसले आक्रमण गर्न सक्दैन र कमजोर रहेको अर्थमा हो।
यस संकलनमा आउन लागेका नौ
कथाहरूमा "चक्रव्यूह" शिल्पको आधारमा सर्वोत्तम छ। कथाको बुनोट र बनोट कलात्मक
छ। गोर्खाल्यान्ड आन्दोलनलाई कथावस्तु बनाएर लेखिएका निकै कथाहरू आएका छन। तर अधिकांश
परिधिमा रहेका र कुनै एक पक्षलाई लिएर लेखिएको
छ। गोर्खाल्यान्ड मुद्दा र संघर्षको केन्द्रमा गएर उपन्यास मात्र आएको छ कथा छैन। पात्रको
भूमिका आन्दोलनमा सीमित रहेको हुन्छ। पात्रको सामान्य परिचय प्रक्षिप्त हुन्छ। पात्रको
आन्दोलन पूर्व र आन्दोलन पछिको जीवन परिलक्षित गरिएको देखिँदैन। यही आएर फरक भएको
छ "चक्रव्यूह" कथा। रामेको पिता पूर्खा पूर्व सैनिक देखाइएको छ। ऊ पनि चीन
भारत युद्ध र बंगलादेशको युद्धमा लडाकु रहेको छ। ऊ सक्रीय सेवाबाट अवकाश भएको छ र आफ्नो
परिवारसित जीवन यापन गरिरहेको देखाइएको छ।
रामेको बाजे प्रथम विश्व युद्ध
लडेको र बाबु दोस्रो विश्व युद्ध लडेको थियो। रामे भने 1962 मा नेफामा युद्धमा परेको
र 1971मा बंगलादेश युद्धमा पनि सहभागी भएको। तर अहिले ऊ गोर्खाल्यान्डको लागि लडिरहेछ, आफ्नै भूमिको निम्ति युद्ध गरिरहेछ।
"तिम्रो माटाको आकांक्षा बोलेको
युद्ध
तिम्रै धरतीको प्रत्याशा ब्युँझेको
युद्ध
तिम्रै रगतको बलिदान
मागिरहेको युद्ध
तिम्रै गौरवको तिम्रै स्वाधीन
युद्ध"
(युद्ध र योद्धा: अगमसिंह गिरी)
रामेलाई यही भावनाले प्रेरित
गरिरहेको थियो युद्ध गर्नलाई।
कथाको शीर्षक चक्रव्यूह र
कथा अत्यन्त सान्दर्भिक छ। चक्रव्यूहको उल्लेख महाभारतमा छ। अभिमन्यु यही
चक्रव्यूहमा परेर यसबाट बाहिर निस्कन नसक्दा बीरगति प्राप्त हुन्छ। प्रस्तुत कथामा
पनि त्यसरी नै योद्धा रामे चक्रव्यूहमा परेर सहिद बन्दछ।
रामे यो चक्रव्यूहमा फस्ने
पनि थिएन होला तर उसलाई आफ्नै कसैले उसको गोपनीयता खुलाइदिएको हुन्छ। शत्रु बाहिर होइन
भित्रै छ। गोर्खाल्यान्डको शत्रु गोर्खाल्यान्डवासी नै छ। गोर्खाल्यान्ड
प्राप्तिमा अडचन गोर्खाली नै छन। रामेले देशको निम्ति लडदा मृत्युको मुखेञ्जी पुगेको
अनुभव थियो, मृत्यु उसकै अघि धेरै पटक
देखेकै हो। तर ऊ बाँच्न सफल भएको थियो। जब आफ्नै निम्ति युद्ध गर्नु पर्ने समय आयो, समय उसको साथ रहेन।
गोर्खाल्यान्ड संघर्ष
पटकपटक भइरहेछ तर लक्ष्य हासिल गर्न सकेको छैन। प्रत्येक आन्दोलन यही चक्रव्यूहमा फँस्छ
र विफलता अघि लाग्छ। प्रस्तुत कथाले अहिलेसम्मको आन्दोलनको यथार्थ चित्रण गर्न सफलता
प्राप्त गर्न सकेको छ।
कथाको परम्परा मानवजातिको
प्रारम्भिक इतिहासदेखि नै थियो र कथा बिनाको मानव नै हुँदैन भनेर भन्छ रोल्याँ बार्थ
(it
begins with the very history of mankind and there nowhere is nor has been a
people without narratives) (Introduction to the Structural Analysis of
Narratives) कथा बिना कुनै व्यक्ति नै
हुन्छ। एक सृजनशील व्यक्तिले यसैले कथाहरू देख्न सक्षम बन्दछ र नै आफूले देखेका
भोगेका र बुझेका कथाहरू अभिव्यक्त गर्दछ। सार्वजनिक गरिएको कथा एउटा नयाँ जीवन लिएर
सभ्यतामा आउँछ। कथा आए पछि यसले श्रोता वा पाठकको स्नेह खोज्दछ।
राजेन मोक्तान हामी माझ त्यस्तै
एक चेतनशील सम्वेदनशील सर्जक हुनु भएको कारण कथा निर्माण र सभ्यताको खोजको महाअभियानमा
लागिपर्नु भएको बुझ्नु पर्ने हुन्छ। यहाँ रहेका कथाहरू हाम्रा हुन भने हाम्रा मात्रै
हुन भनेर भन्न सही हुँदैन। यी भविष्यमा आउने पीढीका लागि पनि हो। हामीले बाँचेको
भन्दा फरक भूगोल र संस्कृतिको लागि पनि हो। कथा भनेको व्यक्ति व्यक्तिको सिंगो
अस्तित्वलाई जोडेर सामाजिक अनुभूतिमा परिवर्तन गरिदिने माध्यम हो।
Comments
Post a Comment