नागबेली उपन्यास विचरण
ओकिउयुमा ग्वाइन (1920-93) भारतीय नेपाली साहित्यको निकै महत्त्वपूर्ण साहित्यकार भए पनि कम चर्चामा रहेका छन। उनको उपन्यास "सुनाखरी" ले 1980 को साहित्य अकादमी पुरस्कार जितेको थियो। ग्वाइनको जन्म हङकङमा भएको थियो भने मृत्यु दार्जिलिङमा भएको थियो। पिता जापानी थिए र माता तिब्बती थिई। उनले नेपाली भाषा दार्जिलिङमा आएर सिकेका हुन आफ्नी नेपाली भाषी श्रीमतीबाट। भाषा वेत्ताको प्रश्नमा ग्वाइन संस्कृत, बंगाली, अङ्ग्रेजी, हिन्दी, चिनियाँ पनि जानकार रहेको बुझिन्छ। छब्बीस वर्षको उमेरमा मात्र नेपाली भाषा बोल्न र लेख्न जानेको तर उनले पहिलोपटक उमर खैयामको रुबाइँया अनुवाद गरेका थिए जो पारसमणि प्रधानको आग्रहमा गरिएको थियो र उनैले प्रकाशित पनि गरिदिएका थिए। ग्वाइनका कृतिहरू यी हुन
१) नागबेली - उपन्यास – इ १९७०
२) सुनाखरी - उपन्यास –इ १९७८
३) चित्रलेखा - कविता संग्रह - इ. १९५८
४) भावसम्भवा - कविता संग्रह - वि. सं. २०१८
५) अनामिका - कविता संग्रह
६) सुवर्ण पल्लव – कविता सङ्ग्रह वि स २०५०
सम्पादित, अनूदित र फुटकर कृति -
१) उमर खैययाम - काव्य - अनुवाद - इ. १९५१
२) जुलियस सीजर - नाटक - अनुवाद
३) गीताञ्जली - अनुवाद
४) बूढो र समुद्र - अनुवाद
५) मेरा देशवासी - गीत - अनुवाद
६) तटमा तरङ्गको गीत – अनुवाद
७) ईश्वरको अपेक्षामा (सेमुयल बेकेटको नाटक "वेटिङ फर गोदो"को अनुवाद)
८) पल ग्यालिकोको "हिम हंसिनी"
९) फा हियानको भारत यात्रा मूल चिनीयाँबाट अनुवाद
१०) शेक्सपियरको नाटक जुलियस सिजर
अङ्ग्रेजी भाषामा
१. द ड्रामा
२. द लिट्टल लाइफ
प्राप्त जानकारी अनुसार यी कृतिहरू रहे पनि सबै प्रकाशित छैनन्।
ओकिउयुमा ग्वाइन १९७० सम्ममा प्रसिद्धि प्राप्त गरिसकेका स्रष्टा थिए। तर जब यो साल उनको पहिलो उपन्यास "नागबेली" प्रकाशित भयो यसले भने जस्तो पाठक पाउन सकेन र चर्चाको विषय बन्न सकेन। यहाँ यही उपन्यासलाई लिएर बहसमा ल्याउने प्रयास गरिनेछ।
यो उपन्यास पढेपछि पढनु पर्ने हो वा होइन भन्ने मेरो मनमा प्रश्न उठ्यो। नेपाली साहित्यमा लेखिएका क्लिष्ट उपन्यासहरूमा यसको नाम अघिल्लो पंक्तिमा आउँनेछ। हुनत क्लिष्टता स्तरीयताको मानदण्ड हुन सक्दैन। यसैले नागबेली क्लिष्ट छ यसैले यो स्तरीय छ भन्ने तर्क भ्रामक हुन्छ। पछिल्लो साल प्रवीण जुमेलीको उपन्यास "सन्नेरेटा" यही क्लिष्टताको कारण निकै चर्चामा आयो। सामाजिक सञ्जालमा अनेक प्रतिक्रिया देखिए। तर यही चर्चा कै कारण "सन्नेरेटा"ले पाठक पाउन सक्यो र यसको पहुँच सन्तोषजनक देखिएको हो। नागबेली १९७० मा प्रकाशित भएको हो। त्यो काल एक भिन्न परिवेश रहेको हुनाले आम र विशिष्ट पाठकहरूमा यसले कस्तो स्वागत पाउन सके यतिबेला हेरविचार गर्न गाह्रो छ। यद्यपि एक विशेष ऐतिहासिक घटनाको भुवँरीबाट नेपाली साहित्य आफ्नो मोड बदलिएको छाँट देखिन थालेको समयमा यसको उदभव भएको हुनाले यसलाई त्यही पृष्ठभूमिमा हेरे केही उज्यालो हुनेछ। १९६०को दशकमा तेस्रो आयामको घोषणा भएको हो। तेस्रो आयामले प्रचलित सतही भावनात्मक साहित्यको विकल्पमा एक गम्भीर र चेतनशील विचार साहित्यमा अघि बडाएको थियो। साहित्यका सुधी पाठकलाई सर्जकले आफू जस्तै गम्भीर भएर सोँच्ने र हल्का मनोरञ्जनबाट गहन चिन्तनतिर डोर्याउने प्रयास गरेको थियो। यही आयामेली साहित्य अभियानले तयार पारेको भूमिमा "नागबेली" कदम राखेको देखिन्छ। यसैले यस्तो क्लिष्ट लेखनबाट नेपाली पाठक अपरिचित थिए भन्ने होइन। तेस्रो आयामको पदार्पन साथै गम्भीर पाठकको पनि उद्भव भइसकेको अनुमान गर्न सकिन्छ। ग्वाइनले यो कुरा अवश्य बुझेका थिए यही कारण उनले चुनौती उठाए यस्तो अत्यन्त गम्भीर चिन्तन दर्शनले भरिएको सिर्जना पस्कनको लागि।
कुनै पनि क्रियाको प्रतिक्रिया स्वाभाविक हो। आयामेली साहित्यले ल्याएको क्लिष्टता रुमानी साहित्यमा रस भिजेका आम नेपाली पाठकलाई भने सहज भएन। नबुझिने साहित्य भएको कारण पाठकबाट टाढा हुने भए। पाठक नरहे साहित्य नरहने बुझिन थालियो। यसैले तरल पाठकप्रिय कथा कविताको बाड नै लागेर आउन थाल्यो। यही भेलको प्रभावले ग्वाइन जस्ता गूड गम्भीर र चिन्तनमय साहित्य लेख्ने पाठकबाट ओझेल हुन पुग्यो। डा जस योञ्जन "प्यासी"ले लेखेका वाक्यले "नागबेली"ले लोकप्रियता पाउन नसकेको पुष्टि गर्दछ। "प्यासी"ले लेखेका छन "त्यो उपन्यास 'नागबेली' साँच्चै लथालिङ्ग भएर फैलिएको थियो, अथवा यसो भनूँ त्यस उपन्यासको कथावस्तुले धेरै किसिमका जरा हालेकाले त्यसलाई कसैले पनि बुझेनन् अनि मान्यता पनि दिएनन्।" (ग्वाइनको सुनाखरी समीक्षात्मक काँडाघारीभित्र)। उनी सहज बुझिने छैनन यसैले पठनीय छैनन। उनको कृतिहरूको पुनर्मुद्रण, संकलन, स्मृति ग्रन्थ, उनको लेखनमाथि संगोष्ठी चर्चा परिचर्चा हुन सकेन।
नेपाली साहित्य लेखनको मुख्यधारामा वैदिक पौराणिक अध्यात्मवाद प्रेरित सर्वाधिक रहेका छन। वैदिक पौराणिक अध्यात्मवादभित्र सांस्कृतिक रुपमा नपर्ने सर्जक वा भिन्न सांस्कृतिक परम्पराबाट आएका सर्जक पनि साहित्य लेखनमा मुख्यधाराबाट मुक्त भएर लेख्न सकेको देख्न सकिँदैन। केही कृतिहरू होलान् अपवाद स्वरूप तर नेपाली साहित्य सिर्जनाको मुख्य स्रोत आजसम्म समग्रमा यही रहिआएको किटान गर्न सकिन्छ। बिपि कोइरालाको "हिटलर र यहुदी" र "मोदिआइन" भने अपवादमा राख्नु पर्दछ। आफ्नो पूर्खाको धर्म र दर्शनप्रति आलोचनात्मक चेत राखेर लेखिएको नेपाली साहित्यमा यी दुई कृति मात्र देखिन्छन। हुनपनि मेथ्यु आर्नोल्डले भने झै साहित्य जीवनको आलोचना हो। पूर्वीय साहित्यमा साहित्यलाई समाजको दर्पण भनेर भनिएको छ भने अरस्तुले जीवनको अनुकरण भन्छ। " नागबेली" उपन्यास पढदा यसको महत्त्व त्यतिबेला भएको लाग्छ जब हामी बुझ्न थाल्छौँ उपन्यासले एक नयाँ परिभाषाको निर्माण गर्न सकेको छ भनेर। यो उपन्यास समाजको दर्पण वा जीवनको अनुकरण नभएर मानव समाजले निर्माण गरेको वैचारिकताको आलोचना हो। मानव सभ्यताको आलोचना हो। मानवीय मूल्य मान्यताप्रति प्रश्न उठाइएको छ। यसैले कुनै विशेष जीवनको अनुकरण वा आलोचना नभएर समग्र मानव चेतनाको विवेचना गरिएको बुझिन्छ।
उपन्यासमा पात्र पात्राको नाम छैन यसैले ती संज्ञाहीन छन। विपना वा सचेत संसार नभएर सपनाको संसारको चित्रण छ। सपनाको संसार भए पछि यथार्थ चित्रण नभएर एक काल्पनिक नै हुन्छ। सपना वास्तविक होइन। सशरीर हुँदैन। सम्वाद रहेको छ जसले दुई पात्रको उपस्थिति बुझाउँछ। तर ती दुई पात्र नभएर एकैजनालाई दुईजना देखाइएको हो, मन र व्यक्ति। व्यक्तिलाई जैव सत्ता भनिएको छ। जैव सत्ता अर्थात जो वस्तु हो उसको स्वतन्त्र अस्तित्व हुन्छ। मनलाई सत्ताहीन भनिएको छ किनकि उसको स्वतन्त्र अस्तित्व हुँदैन। यसैले मनलाई प्रक्रिया मात्र हो भनिएको छ। मनले सम्बोधन गर्दा बुडो भनेर भन्छ।
उपन्यासको प्रथम भाग सपनाको दृश्य हो तर यहाँ सपना पूर्णत काल्पनिक हुन दिइएको छैन। पात्रको जीवन दर्शन र मूल्य यहाँ खुलेर आएको छ। हुनपनि दार्धनिक शोपनहावरले भनेको छ विपना र सपना एउटै पुस्तकको भिन्न पृष्ठहरू मात्र हुन। परम्परा अनुसार वास्तविक जीवनको पृष्ठ मेलैसित पढने गर्छौं, तर सपनाका पृष्ठहरू भने अल्छि गर्दै पल्टाउने हुन्छ। (that real life and the dream world are pages of the same book, and that custom calls real life the orderly reading, and dreams what ee leaf through lazy negligence)(cited in Joyce's Ulysses: Borges)
सपनाको बारे सिगमन्ड फ्रायडको प्रख्यात ग्रन्थ छ द इन्टरप्रिटेसन अफ ड्रीम्स शीर्षकमा। यसमा उनले बताएको छ सपना निर्माण हुने विषयको स्रोत अनुभव नै हो। (That all the material comprising the content of the dreams in some way originates in experience, that is reproduced in the dream, or recalled – that at least may be taken as an indisputable truth."
उपन्यासमा रहेको सपनाको दृश्य यसैले पात्रको सचेतन अवस्थाको विचारको पुनर्निर्माण गरेको हुनाले यसलाई यथार्थ रुपमै लिन सकिन्छ।
उपन्यासको दोस्रो भागमा पात्रको परिचय छ। पात्र एक धनाठ्य परिवारमा जन्म लिएका हुन। उसको पिता एक सफल व्यवसायी छ। पूर्खादेखि नै पर्याप्त धन सम्पत्ति आर्जन गरिल्याएको उसको पिताले अझ वृद्धि गराएको हुन्छ।
बालखको जन्मको दृश्य गौतम बुद्धको जन्म कथा यहाँ दोहोर्याएको छ। ऊ आमाको गर्भमा प्रवेश गर्दा आमाले हात्ती गर्भमा प्रवेश गरेको सपना देखेकी हुन्छ। अश्वघोषको बुद्ध चरित्रमा यो दृश्य वर्णन गरिएको छ
"Assuming the form of huge elephant white like Himalaya, armed with six tusks, with his face perfumed with flowing ichor, he entered the womb of the queen of king Suddhodana, to destroy the evils of the world." (Trans. : E. B. Cowell)
यहाँ उपन्यासमा पनि बालखकी आमाले आफ्नो गर्भमा हात्ती प्रवेश गरेको सपनामा देखेकी हुन्छ। बालख जन्मन्छ तर उनी सिद्धार्थ होइन भनेर बताइएको छ।
गौतम बुद्धकी माता महामायाको मृत्यु बुद्ध जन्मेको दश दिनमा भएको हुन्छ। सिद्धार्थ यसैले मातृहीन बाल्यकाल बिताएको हुन्छ। यहाँ पात्रको आमा पनि परलोक भएकी हुन्छ र बालख मातृहीन बाल्यकाल बिताउन बाध्य हुन्छ।
उपन्यासकार ग्वाइनले बुद्धको जन्मको मिथक प्रयोग गरेको हो। यसको पाठ पूर्ण पठन गर्दा थाहा लाग्छ उपन्यासको पात्र मिथकीय नै बनाइएको छ, जीवन्त छैन। पात्र एक अलौकिक क्षमता लिएको व्यक्ति छ। सामान्य व्यक्तिमा अलौकिक क्षमता हुँदैन। ऊ सांसारिक नै हुन्छ एवम मानवीय गुण अवगुण भएकै हुने हो। ग्वाइनले आफ्नो पात्रलाई सामान्य आम मान्छे हुन दिएको छैन। ऊ असाधारण छ। गौतम बुद्धको असाधारणता यहाँ पात्रमा आरोपित गरिएको देखिन्छ। यसैले पात्र अत्यन्त मेधावी र प्रकाण्ड विद्वान रहेको देखाइएको छ। यसबाट प्रमाणित हुन्छ "नागबेली" परम्परागत दर्पण सिद्धान्तभित्र पर्ने सिर्जना होइन। यसले समाजको चित्रण गर्दैन। विचारको प्रक्षेपण हो। दर्शन हो। नभन्दै कुनै एक विशेष धाराको दर्शन भन्दा बहुलता वरण गरेको बुझिन्छ। शून्यवाद प्रमुखतासित आएको छ। वैदिक पौराणिक अध्यात्मवाद, बौद्ध शु्न्यवाद र विज्ञानवाद समानान्तर बहेर आएको छ। अस्तित्ववादी चिन्तन पनि रहेको छ।
उपन्यासको पहिलो भागमा लेखिएको छ
"मोक्ष, निर्वाण, जीवनको मुक्ति, ज्ञान र अभिज्ञताको जुनचाहिँ उत्कर्षित व्युत्पत्ति जीवनले खेदो गर्दै आयो आजीवन, अहिले त्यसैमा आइपुग्दा, उसले देख्न पायो त्यसको निरर्थकता"
मोक्ष, निर्वाण, मुक्ति जीवन पश्चात् पाउने हो, जीवन रहँदै होइन। मनुष्यले यही मोक्ष, निर्वाण वा मुक्तिको निम्ति सुकर्म गर्दछ र यही प्राप्तिको निम्ति सधैं चेष्टा गर्नुपर्ने धर्माधिकारीहरू उपदेश दिन्छन। तर यहाँ बताइएको छ मोक्ष, निर्वाण, मुक्ति सबै निरर्थक हो। यो एक अस्तित्ववादी चिन्तन हो। अस्तित्ववादी चिन्तनले बताउँछ व्यक्तिलाई उसको मूल्य ऊ हुनुले बुझाउछ र उसको वास्तविकता यही संसारमा गरिएको कार्यबाट फलित हुन्छ। ( It postulates the value of the individual as the source and reason for being for all significations and all colours, yet it admits that the individual has reality only through his engagement in the world." (What is Existentialism : Simone de Beauvoir)
मोक्ष, निर्वाण, मुक्ति जो क्रमशः हिन्दू, बौद्ध र ईसाइ बुझाउँछ सबै निरर्थक भने पछि ईश्वरीय सत्ताप्रति अनास्था रहेको हुन्छ। यो विचार पनि अस्तित्ववादसित मेल खान्छ। सुकर्म र कुकर्म छुट्याउने इश्वरीय सत्तासहित व्यक्तिको स्वतन्त्र विवेकलाई प्रभावित पार्ने पूर्व बनिबनाउ मान्यता अस्तित्ववादले खारेज गर्दछ। (Alongwith the idea of a God guaranteeing Good and Evil, existentialism rejects of readymade values whose affirmation precedes human judgement.) (Simone de Beauvoir).
व्यक्तिले स्वविवेक प्रयोग गर्न सक्ने भनेको जिवित अवस्थामा मात्र हो, उसको मृत्यु पछि उसले आफ्नो विवेक चलाउन सक्दैन। मोक्ष, निर्वाण, मुक्ति सबै निरर्थक हुनु भनेको मृत्यु परान्तको अस्तित्व निरर्थक भन्नु हो। यसो भए उसको सर्वाधिक महत्त्वको समय भन्ने उसको जिवित अवस्था कै हो। जीवन पछिको जीवन अर्थहीन छ।
उपन्यासमा बालखको शिक्षाको उल्लेख छ।
"अभिभावकहरूले बुझे उसको सांसारिकताको विचारमा यथायोग्यताको अपरिमाण, कत्तिको अविवेचनीय रहे- उसको भाव-प्रवणताको अभिव्यक्तिमा सांसारिक हेतु-सिद्धताको दुर्घोर अभाव । यसर्थ, पृथिवीको नाना स्थानबाट समुद्र पारिबाट तिनले बोलाएर ल्याए, दर्शन-विज्ञान रसायन पदार्थ विज्ञान, मनस्तत्व शास्त्र, ज्योतिष शास्त्र, नक्षत्र विज्ञान अध्यात्म विज्ञान, इत्यादि पृथिवी-ज थरी थरीका वेत्ताहरू, – उसको अपार्थिव सूक्ष्म-ज्ञान निहित वस्तु-चेतनाको संसारीकरणका निम्ति ।"
पात्र अत्यन्त मेधावी भएको हुनाले आफ्ना गुरुजनबाट समय अगावै पूर्ण ज्ञान हासिल गर्दछ।
गुरु ज्ञान लाभ गरेपछि उनले समस्त गुरुजनलाई उसले बुझेको व्याख्या दिन्छ। त्यसपछि सबै गुरुजनलाई लिएर विश्व भ्रमणमा निस्कन्छ।
भ्रमण समाप्ति पछि गुरुजन विदा लिन्छन् अनि ऊ आफ्नो गृहस्थानमा रहन्छन्।
पात्र १०८ वर्षसम्म बाँचेको देखाइएको छ।
एक बिहान उसकी श्रीमतीले उसलाई उठाउँदा ऊ उठदैन। ऊ मरिसकेको थाहा पाउछे।
श्रीमती उसलाई खासै सम्मान गरेकी देखिँदैन। उसको मृत्यु संस्कार समानजनक गर्न मान्दिनँ। यसरी पात्रको एक गुमनाम सारहीन मरण भएको देखिन्छ।
ग्वाइनले पात्रको यस्तो मृत्यु राख्न उपन्यासको मुख्य विचारधारासित तादात्म्यता राखेका हुन। मान्छेको मान मर्यादा, ज्ञान, धन सम्पत्ति वैभव उसको जीवन कालभरि मात्र उसको निम्ति मूल्यवान रहन्छ। ग्वाइनले "जैव-सत्ता" शब्द प्रयोग गरेको छ। जबसम्म व्यक्ति शरीर छ तबसम्म उसको सत्ता हुन्छ र जब ऊ सशरीर रहँदैन तब उसको सत्ता पनि रहँदैन।
उपन्यासले यसरी शून्यवाद अँगालेको छ।
माथि नै भनिएको थियो यसमा लेखकले वेदान्त दर्शन, मनोविज्ञान, विज्ञान साथसाथै ल्याएका छन भनेर। यही विषय लिएर लेखक ग्वाइन अन्य नेपाली सर्जकभन्दा अलग भएका छन। विज्ञान, वेदान्त दर्शन, मनोविज्ञान, मार्क्सवाद, पुञ्जीवाद, शून्यवाद, बौद्धवाद जस्ता महाख्यानका छत्रछायामा रहेर लेखिएका सिर्जनात्मक लेखन आएका छन। यी महाख्यानलाई उछिनेर अघि गएर लेखेका कृति विरलै छन। वास्तवमा सिर्जनात्मक लेखन यी महाख्यानको उपयोगिता सीमितता विचार गर्न सक्ने पनि हुन। ग्वाइनले "नागबेली" उपन्यासमा त्यही काम गरेका छन। वेदान्तको मोक्ष, बौद्ध धर्मको निर्वाण र ईसाइको मुक्ति निरर्थक हुनु यी सबै महाख्यानको सीमितता देखाइनु हो।
वेदान्त दर्शनमा माया सिद्धान्त अत्यन्त महत्त्वपूर्ण छ। "माया" शब्द र यसको अर्थको व्यापक व्याख्या शंकराचार्यको अद्वैतवादमा पाइन्छ। उनले मायाको पर्यायवाची शब्दको रुपमा अविद्धा, अव्यक्त, अक्षर, प्रकृति, मूलप्रकृति प्रयोग गरेका छन। (N. C. Panda : Tha vibrating Universe)( page-47). ईश्वरको बीजशक्ति माया हो। ईश्वर र मायाको भिन्नता छ ईश्वर सर्वव्यापी र सदाकालको लागि हो भने माया अस्थायी हो। माया चेतना होइन परब्रम्ह मात्र चेतना हो। माया ईश्वरको शक्ति हो। तर माया प्रकृतिसित जोडेर हेरिन्छ। शंकराचार्यको निम्ति ब्रम्ह मात्र सत्य हो र संसार भ्रम मात्र हो अर्थात माया मात्र हो। यसैले प्रकृति पनि माया हो। तर माया सत्य होइन भ्रम हो।
वेदान्त दर्शनको यही माया सिद्धान्तलाई वैज्ञानिक विज्ञानको भाषामा अर्थ्याउन खोजेका छन ग्वाइनले यहाँ। उनी लेख्छन
"संसारमाथि वर्हिमुखी चेतना - बिकिरणको परिव्याप्तिबाट फर्केको अन्तर्मुखी चेतना किरण संकोचनमा सांसारिक-संस्कार को अशुद्ध-उपलब्धिले त्यो चेतना-किरण-विकृति भएकोमा “मानसिक- अद्भुत' अर्थात् 'माया' को उत्पति हुन्छ ।"
वेदान्तले माया ईश्वरको शक्ति अर्थात युक्ति हो भनेको हो तर ग्वाइनले यसलाई विकिरणको परिव्यसप्तिबाट फर्केको अन्तर्मुखी चेतना भनेको छ। यो चेतना पनि अशुद्ध छ। माया असत्य हुनाले यहाँ पनि अशुद्ध बनाइएको छ। ग्वाइनले यसरी आध्यात्मिक मायाको अर्थलाई सांसारिक अर्थमा झारिदिएको छ। माया ग्वाइनको लेखनमा यसको मायावी चरित्र समाप्त भएको छ।
लेखकले महाख्यान वेदान्त दर्शनको पुनर्व्याख्या यहाँ जुन प्रकारले गरेको छ त्यो नेपाली साहित्यको इतिहासमा अभुतपूर्व नै हो। इन्द्रबहादुर राईको लीला सिद्धान्तमा माया सिद्धान्त समावेश छ र लीला सिद्धान्त पनि निरीश्वरवाद नै हो। तर जुन अर्थमा ग्वाइनले माया सिद्धान्तको प्रयोग गरे त्यस्तो नभएर लीला सिद्धान्त पराभौतिक (?) नै भएको छ। (व्यक्तिको नियन्त्रणबाट बाहिर भएको र स्वतन्त्र हुनु नसकेको अर्थमा पराभौतिक भनिएको हो।)
शंकराचार्यले भन्छ
"ब्रह्म सत्यं जगन्मिथ्या जीवो ब्रह्मैव नापरः।"
ब्रम्ह सत्य हो जगत मिथ्या हो। जीव नै ब्रम्ह हो र यसको अतिरिक्त केही छैन।
प्रकृतिलाई माया भनिएको छ। माया छल वा भ्रम नभएर बुझिन नसकिने प्रक्रिया हो अर्थात मायाको व्याख्या गर्न सकिँदैन।
ग्वाइनले मायाको पुनर्व्याख्या गरेर यसको अर्थ चेतनाको विकृति भनेको छ। यसैले माया ज्ञानको विकार पनि हो।
"अतएव माया हो चेतना अशुद्धिको छाया; अर्थात् चेतना - उन्नयन प्रक्रियाको अन्तर्मुखी प्रक्रियामाथि मात्रै, अर्को शब्दमा ज्ञानमाथि चेतना- किरण विकृतिको छाया, अथवा ज्ञान-विकृति |"
उनी अझ यो विचारलाई विस्तार गरेर भन्छन ज्ञानको विकृति भएको कारणले अहेतुकी अर्थात बिना प्रयोजन आविर्भाव हुन्छ। अर्थहीन कार्य सम्पादन हुन्छ।
"ज्ञान-विकृति भएकोमै अहेतुकीको आविर्भाव आरम्भ हुन्छ । यही ज्ञान- विकृतिको अहेतुक - उद्भावन "मानसिक अद्भुत " को सृष्टि हुन् देव-देवीहरू, भूत-पिशाच, इत्यादि अलौकिक आकारहरू र सबैको चरममा ईश्वर सृष्टिको मूर्खता ।"
देवी देवता भूत प्रेत पिशाच जस्ता अलौकिक उत्पादन ईश्वरको मूर्खतापूर्ण उपज भनेर भनेको छ।
यहाँ उनले ईश्वरको अलौकिक सिर्जना मात्र मूर्खतापूर्ण भनेका छन, भौतिक सिर्जनालाई होइन। उनले ईश्वरको स्मरण गरेका छन र जसको अर्थ हुन्छ ईश्वरी आस्था रहेको छ भनेर। ग्वाइनको यो भनाइ वास्तवमा ज्ञान मिमांसासित सम्बन्धित छ। उनले भन्न चाहेको हो।देवी देवता भूत प्रेत कपोलकल्पना मात्र हो र वास्तविक होइन। यी अलौकिक ज्ञान निर्माण सर्जक/चिन्तकको मूर्खता हो। यसलाई ग्वाइनको ती ज्ञान मिमांसकहरूप्रति व्यंग्य प्रहार भन्न मिल्नेछ।
शंकराचार्यको जगनमिथ्या ब्रम्ह सत्य सिद्धान्त ग्वाइनको आएर पुनर्व्याख्या हुन्छ। सम्पूर्ण ब्रम्हाण्ड ब्रम्हको माया मात्र हो, सत्य होइन। ग्वाइनले भने ब्रम्हाण्डलाई होइन तर अलौकिक सिर्जना जस्तै देवी देवता, भूत पिशाच मात्र मूर्खता हुन अर्थात असत्य हुन भनी बताए। यसो भए पछि जगनमिथ्या भएन ब्रम्ह मिथ्या हुन्छ। सार्त्रले डेकार्टको म छु यसैले मेरो अस्तित्व छलाई उल्टाएर मेरो अस्तित्व छ यसैले म छु भने जस्तै ग्वाइनले शंकराचार्यको सूत्र उल्टाएको छ।
पुराणमा लेखिएको ८४ लाख जुनीबारे ग्वाइनले उपन्यासमा प्रसङ्ग ल्याएका छन। ( उनले ८४ हजार मात्र भनेको छ।) यसलाई चार्ल्स डार्विनको विकासवाद सिद्धान्तमा जोडेका छन। डार्विनको विकासवाद सिद्धान्तले भन्छ कुनै पनि प्रजाति समयमा परिवर्तन भएर जान्छ। सबै प्रजाति एउटै प्रजातिबाट विकसित भएर आएको हो। (The main conclusion arrived at in this work, namely, that man is descended from some lowly organised form)(Charles Darwin: The Descent of Man)
जैविक प्राणीको उद्भव र विकासबारे वैज्ञानिक कार्ल सगानले अत्यन्तै सुन्दर पाराले यसरी बताएको छ मनुष्य लगायत पृथिवीका समस्त अन्य जीवको आनुवांशिकी सूचना एउटै भाषामा लेखिएको हुन्छ। यही साझा गरिएको आनुवांशिकी सूचनाको एक समान भाषा रहनुको कारण नै सबै जीव एउटै पूर
The genetic instructions of all the other taxa on Earth are written in the same language , with the same code book . Indeed this shared genetic language is one line of evidence that all the organisms on Earth are descended from a single ancestor, a single instance of the origin of life some four billion years ago." (The Dragons of Eden).
प्राणीको विकासको कुरा ग्वाइनले पुराणमा रहेको ८४ लाख जुनी परिवर्तन मिथकको रुपमा राखेका छन। उनले जीवको पनि संरचना आणविक स्तरमा गएर त्यहाँबाट फेरि पुनर्संरचना भएर आउने भनेका छन।
"क्षण-स्थायी यो जैव-सत्ताले, अल्प-जीवन सकेपछि उसको देहाधार भूतको चेतनाबाट निर्यासित चेतना-प्रयोगित परमाणु संग्रहीत गरी आफ्नो चेतना सवलीकरण गरेर पत्र रह्यो अर्को देहाधारको लागि, तब फेरि त्यो देहाधारमा पसी अर्थात् जन्म लिई, पूव्वोक्त प्रणालीले नै फेरि फक्यों व्योम-दीर्घायातनमा, पुनः अर्को जीवन जन्मको लागि प्रयोगित परमाणु संग्रहवाद । यसरीनै प्रथम प्रयोगित परमाणु विरचित जैव-चेतता अतिक्षुद्र आनुवीक्षनीक जीवको जीवन देखि जन्म- जन्मान्तरमा, जीवनदेखि जीवनान्तरमा चेतना सवल अर्थात् चेतना उन्नयन गर्दै अवशेषसा आई हुन्छ उपनीत मन-ज्ञान युक्त व्यक्तित्वमय नर - जीवन - जन्ममा । जैव-सत्ताको प्रथम प्रयोगित परमाणुको जन्म-संकलनदेखि नर-जीवन-जन्मसम्म चौरासी हजार जन्म पर्यटनको जुन गणना रहेछ त्यो पनि गणित-पदार्थ र रसायन शास्त्रानुसार सठीक हुनमा सन्देह छैन, किनभने, एक अणुको विखण्डन र विभाजनको लागि चौरासी हजार बार साधारण क्रमविकाशको आवर्त्तनमा पर्यटन गर्ननै पर्दछ; अतएव मन-ज्ञान संयुक्त नर-जीवनको सवलित र सम्पूर्ण जैव-सत्ताको,—जैव-चेतनाको उन्नयनको सार्थक अर्थ हुन्छ, यो जैव-जीवनको मर भन्दा उच्चतर अर्थात् परिमार्जित, अर्थात् यो नर-जैव-चेतनामा अझ जैव- चेतमामय प्रयोगित परमाणुको संयोजनद्वारा सबल पारी अझ केही उच्चतर जीवनको जीवन अथवा जैव-चेतना प्राप्ति हुन सक्छ "
जैव सत्ता क्षणिक छ अर्थात मानव जीवन अल्पकालीन हुन्छ। मान्छेको मृत्यु पछि उसको शरीर पुनः परमाणुमा परिणत हुन्छ। "प्रयोगित" उप कण हो। अणुको उपकण प्रोटोनलाई प्रयोगित नाम दिएको छ र इलेक्ट्रोनलाई वियोगित। यही सूक्ष्मतम कणदेखि मानव जीवनसम्मको यात्रा ८४ हजार (लाख) जुनी भएर हुने बिम्व देखाएको छ।
नागबेली उपन्यासबाट ओकिउयुमा ग्वाइनले नेपाली उपन्यास लेखनमा एक नयाँ धाराको सुत्रपात गरेका हुन। घटना वा चरित्रलाई आधार नबनाएर विचार ज्ञान र कलात्मक चातुर्य केन्द्रमा राखेर उपन्यास निर्माण गर्नु यसको विशेषता हो।
सघन लेखन, भाव प्रवीणता, चमत्कारी शब्द प्रयोग, बिम्वात्मक भाषा अनि काव्यात्मकताको कसीमा नागबेली एक अनुपम कलाकृति बनेको छ।
Comments
Post a Comment