क्वार्टरलाइफ
पेम्पा तामाङ
फेसबुकमा देविका रेगेको अन्तर्वार्ता पढेपछि उनले लेखेको उपन्यास पढने रहर भयो। अन्तर्वार्तामा उनले उपन्यास लेखन टेकनिकबारे भनेकी कुराले मलाई बडी आकर्षित गरेको थियो। अन्तर्वार्तामा मोदीकालबारे छनकमा केही भनिएको थियो।
अमाजनले एक हप्तामा किताब ल्याइदियो। हातमा पढन आतुर कुनै सामग्री सोचे जस्तो थिएन यसैले यसमा झोमिन पुगेँ।
शुरु शुरुमा केही अल्छिलाग्दो लाग्यो तर झुल्दै भए पनि सुस्तरी पढन थालेँ। केही नबुझेको जस्तो, लेखन अति द्रुत गतिमा रहेको जस्तो साथ लागेर जान हम्मेहम्मे पर्ने जस्तो पनि भयो। तर विस्तार विस्तार यसमा रम्न थालियो।
चार सय पृष्ठ बडी आकारको उपन्यास चारदिन भित्र सकेँ।
पढिसकेर पुनर्स्मरण गर्दा लाग्यो केही बुझेँ केही बुझिनँ। कथावस्तु जुन बिन्दुबाट प्रारम्भ हुन्छ र जहाँ गएर थामिन्छ एक रेखा बनिएको लागेन। समानान्तर धाराहरू बगेको जस्तो भयो। अर्को के पनि लाग्यो भने लेखन एक फर्म्याटमा अथवा फर्मुला अनुसार छ भन्ने जस्तो बलिवुड मसालादार सिनेमा हुने गर्दछ। एउटा उपन्यास चाखलाग्दो पाठकप्रिय बनाउनलाई कस्तो इन्ग्रिडियन मिसाउनु पर्ने सबै हिसाब लगाएर राखेको जस्तो। सेक्स, मर्डर, क्रान्ति, बिजिनेस, संस्कृति, धर्म, राजनीति, प्रेम, अदभुत शैली, भाषाको चमत्कार सबै हिसाब गरेर राखिएको।
यही कारण मलाई दोहोर्याएर पढनु पर्यो। एउटै समयभित्र दोहोर्याएर पढेको यो पहिलो उपन्यास हो। दोहोर्याएर पढेपछि भने छर्लङ्ग भयो। नबुझिएको पर्दा हटेर गयो। यो उपन्यासमा मिलेको नमिलेको जस्तो देखिने वास्तवमा एक टेक्निक हो रहेछ। हाम्रो आइबी सरले "आज रमिता छ" उपन्यासमा पनि यही केही मिलेको केही नमिलेको जस्तो टेकनिक प्रयोग गर्नु भएको थियो।
उपन्यासको कुरा उठाउनु अघि यसको नकारात्मक प्रसङ्ग ल्याउनु मन पर्यो।
पात्र पात्रा धेरै छैनन्, सीमित छन। पुरुष पात्रहरू नरेन, रोहित, केदार, ज्ञान, ओमकार प्रमुख छन भने स्त्री पात्रा मानसी, ईफ्रा, अमान्दा छन।
सबै पात्र पात्रा सर्जकको पूर्ण नियन्त्रणमा रहेको र स्वतन्त्रता नरहेको जस्तो लाग्यो। हुनत लेखिकाले पात्रहरू उनको नियन्त्रणमा नरहेको भनेकी छन तर पढदा त्यस्तो लाग्दैन। यसैले तिनीहरू गतिशील नभएर स्थिर छन। कथावस्तु विशेष योजना अन्तर्गत राख्ने उद्देश्य रहेको बुझिन्छ तर सम्पूर्ण उपन्यास पढदा त्यो उद्देश्य धमिलिएको देखिन्छ अथवा स्पष्ट छैन।
उपन्यासको उपसंहार स्वरुप लेखिकाले उनको बनारस यात्राको वर्णन गरेकी छ। उनी आफ्नो दिवंगत पिताको अस्तु विसर्जन गर्न बनारसको गंगा घाट आएकी थिई। आफ्नो पिता कस्तो विचारधाराबाट प्रभावित थिए भन्ने जानकारी पनि उनले दिएकी छ यसमा।
उपन्यास पढिसकेर मलाई यसबारे कसैले निरुपण लेखेको छ वा छैन भन्ने कुरा जान्ने जिज्ञासा बडेर आयो। गुगलमा रहेछ। त्यहाँबाट थाहा पाएँ यो उपन्यासले रामनाथ गोयन्का साहित्य पुरस्कार पाइसकेको रहेछ भनेर। अर्को कुरा के पनि जान्नमा आयो भने उनको यो डेब्यु उपन्यास अर्थात पहिलो कृति हो भनेर। उनी एक 32 वर्षीय युवा महिला सर्जक रहेकी र अमेरिकाबाट क्रिएटिभ राइटिङमा उच्च धिक्षा हासिल गरेकी रहिछन।
मलाई यस उपन्यासको मुख्य आकर्षण यसको कथावस्तु र कथावस्तुको बुनोट लाग्यो।
कथावस्तु 2014 को चुनाव र यसैको परिवेशमा रहेको छ। यसैकारण उपन्यासलाई एक राजनीतिक उपन्यास भन्न मिल्नेछ। 2014 को चुनावबारे लेखिएको भए पनि यसको सिर्जनात्मकतालाई केन्द्र गर्दै आवश्यक नाम परिवर्तन गरेको छ। यसैले कङ्ग्रेस पार्टीको नाम कन्क्लेभ पार्टी, भारतीय जनता पार्टीको नाम भारत पार्टी, आरएसएसको नाम ब्रदरहुड, शिवसेनाको नाम बन पार्टी देखाइएको छ। शिवसेनाको उल्लेख यहाँ गर्नुको कारण उपन्यास महाराष्ट्र राज्यको राजनीतिमा धेर रहेको कारणले हो।
पात्र नरेन र रोहित दुवै सहोदर दाज्यभाइ हुन। महाराष्ट्रको ब्राह्मण कुलमा जन्म लिएका र ब्राह्मणमा पनि चितपावन ब्राह्मण। भारतको प्रख्यात स्वतन्त्र सेनानी बाल गंगाधर तिलक, गोपालकृष्ण गोखले, वीर सावरकर गान्धीको हत्यारा गोडसे सबै चितपावन ब्राह्मण नै हुन। नरेन र रोहितको पिता भने चितपावन ब्राह्मण भए पनि जातीय दम्भ नरहेको देखाइएको छ। पिताको विचारधारा लेखिका देविकाले आफ्नो पिताको चरित्र बनाएको झैँ देखिन्छ। उनले लेखेकी छ उनको पिताले घरमा गीता मात्र नराखेर कुरान, बाइबल, जेन बौद्ध र अस्तित्ववादका ग्रन्थहरू पढनलाई राखेका हुन्थे। यसबाट बुझिन्छ उनको पिता धार्मिक कट्टरतामा विश्वास नगर्ने एक उदार व्यक्ति थिए भन्ने।
नरेन र रोहित दुवै धार्मिक रुपमा उग्र छैनन्। नरेन आजको भारतको कर्पोरेट दुनियाँको प्रतिनिधि पात्र हो। अमेरिकमा आठ बसेपछि उसले ग्रीन कार्ड पाउँछ र उच्च तनखा पाउने ठाउँमा काम पनि पाउँछ। यद्यपि उसले देख्छ अश्वेत र एसियाली मूलका निम्ति अमेरिका सम्मानजनक भूमि छैन। अपमानित भएर बस्नुपर्छ। उसले यो पनि देख्छ अब भविष्य पश्चिमा देशको होइन पूर्वीय देशको हो। पश्चिमी दुनियाँ डुब्दो घाम हो हो भने पूर्व उदाउँदो सूर्य हो। उसले आफ्नो परिवार र देशलाई सम्झन्छ। उसको आफ्नो प्रतिभा देश सेवामा लगाए उचित हो भन्ने लाग्छ। यसैले ऊ भारत फर्किन्छ अमेरिकालाई त्यागेर।
रोहित मुम्बईको सिनेमा संसार र सिर्जनशील समाजको प्रतिनिधि हो।
केदार नरेन र रोहितका काकाको छोरा हो। तर ऊ नरेन र रोहित झै धनाठ्य पिताको छोरा होइन। आर्थिक स्थिति कमजोर छ केदारको। एक संघर्षरत पत्रकारको प्रतिनिधित्व गर्दछ केदारले। ऊ कोर्पोरेट संसारको विरोध गर्दछ। पर्यावरणप्रेमी र किनारिकृत समूहको पक्षधर छ।
ओमकार एक गरिब दलित जातिको सिनेमा निर्माणमा उत्सुक रहने पात्र हो। ऊ कट्टर हिन्दूवादी छ। आरएसएसको सक्रिय सदस्य र मोदी भक्त। तर उसको चरित्र विरोधाभासपूर्ण बनाइएको देखिन्छ किनकि ऊ ब्राह्मणवादको विरोध गर्छ हिन्दूत्वको समर्थक भए पनि।
ज्ञान एक प्रतिभाशाली पटकथा लेखक हो। ऊ उत्तरभारतीय पात्रको प्रतिनिधि। ज्ञान हिन्दू हो तर उसको प्रेमिका मुस्लिम महिला ईफ्रा छ। ज्ञान हिन्दुत्व विरोधी छ। साम्प्रदायिकतामा विश्वास गर्दैन।
अमान्दा एक २७ वर्षीय अमेरिकी महिला हो। उसको नरेनसित मित्रता छ। नरेनको सहायताबाट उसले इन्डियामा एक गैरसरकारी संस्थामा काम गर्न इन्डियामा आउने मौका पाउछिन। नरेनलाई लाग्छ अमेरिकीहरू इन्डियामा गरिबी हेर्न मात्र आउँछन्। लेखिका देविकाले तर पात्रा अमान्दालाई अमेरिकालाई अपमानित गर्न उभ्याएकी जस्तो देखिन्छ। इन्डियामा उसको बसाइ राम्रो हुँदैन र गणेश महोत्सवको अवसरमा उमाथि गम्भीर आघात हुन्छ, मरनासन्न हुन्छिन्। उसलाई उसको पिता अमेरिकाबाट आएर फर्काएर लान्छन।
ईफ्रा वर्तमान समयमा भारतीय मुसलमान समुदायले झेल्नु परिरहेको त्रासदीको पात्रा हुन। चारैतिर साम्प्रदायिकता बडेको दिनोदिन मुसलमानहरूमाथि जघन्य अपराध, हत्या, बलात्कार, लुटपाट बडी रहेको समाचार ऊ त्रसित हुन्छिन्। उसलाई लाग्छ एकदिन भारतको मुसलमानको अवस्था त्यस्तै हुनेछ जस्तो हिटलरको कालमा यहुदीलाई जर्मनीमा भएको थियो। भारत उसको देश हो तर अब यहाँ बाँच्न सकिन्न। यसैले उसले अवसर पाउने बित्तिकै देश त्यागेर विदेश लाग्छिन।
नरेन र रोहितको पिताले कोंकन क्षेत्रमा आफ्नो जमिन भूगर्भ खनिज कम्पनीलाई बेचेको हुन्छ। त्यहाँ खानी खन्दा धेरै गाउँवासीको उठिबास भएको हुन्छ। वाचा गरेको जस्तो पुनर्वास हुँदैन, रोजगार पनि उचित रुपमा पाएको हुँदैन। यही कान्डको खोजी र समाचार लेखनको निम्ति केदार त्यहाँ जाँदा खनन माफियाको हातबाट हत्या हुन्छ। उसले मोदीले भोट जित्दा भनेको थियो इन्डियाको जनताले फासीवादलाई जितायो भनेर।
नरेन र रोहित राजनीतिक रुपमा उदारवाद नै थिए उनीहरूको पिता जस्तै। तर मोदीको आगमन पछि उनीहरू यही दलको समर्थक हुन पुगेको देखाएको छ। देशको उन्नति र समृद्धिको निम्ति एक दह्रो नेता र निर्णायक प्रयोक्ता आवश्यक छ र उनीहरूलाई लाग्छ मोदीमा यो गुण छ।
उपन्यासले एक धर्म निरपेक्ष देश कसरी साम्प्रदायिक हुन पुग्यो यसको राम्रो चित्रण गरेको लाग्यो।
देविका रेगेले उपन्यासमा बताउने प्रयास गरेकी छ भारतको चरित्र साम्प्रदायिक होइन तर अहिले देखिएको राजनीतिक रङ्ग मात्र हो। मुस्लिम समुदायले देखेको उनीहरूको भारतमा यहुदी जस्तो नरसंहार हुन सक्ने सम्भावना कम छ। विकास समृद्धि व्यापक आए समाजमा रहेको विडम्बना साम्य भएर जाने कल्पना गर्न सकिन्छ। लेखिकाले बताएकी हिन्दू धर्म समाज विभाजन गर्ने धर्म हो तर पनि यो पाँच हजार साल पुरानो हो। देविका रेगेले युरोपलाई भने तीन हजार साल पुरानो भनेकी रहिछ र हिन्दू सभ्यता युरोपको भन्दा पुरानो बताएकी देखिन्छ। यो सत्य होइन किनकि मेसोपोटोमिया सभ्यतालाई प्राचीनतम सभ्यता मानिन्छ। माथि उपन्यासको कथावस्तुको रेखामा परिवर्तन आउने कुरा यसैले भनिएको हो। शुरुमा हिन्दूत्व विरोधी र धर्म निरपेक्षता देखिए पनि कथावस्तुको विकासक्रममा यसलाई आरएसएस र भारतीय जनता पार्टीको विचारधाराप्रति विरोधको नुुनीकरन र समयको आवश्यकता जस्तो देखाइएको छ।
मोदीकाललाई चित्रण गरेको उपन्यास मेरो नजरमा परेको यही पहिलो हो। धेरै अनुसन्धान र अध्ययन गरेर लेखिएको बुझिन्छ। यसले धेरै जानकारी पनि उपलब्ध गराउँछ।
नयाँ भारतको परिचय पाउन यो उपन्यास सहायक बन्नेछ।
पात्र पात्रा पच्चीस वर्षको आसपास हुनको कारण उपन्यासको शीर्षक quarterlife राखिएको हो।
Comments
Post a Comment