Skip to main content

Rongli Flood 1968 Amended

रङ्गली बजारले झेल्नुपरेको सबैभन्दा भयानक घटना हो 4 अक्टोबर 1968 को भल पहिरो। एक साता अघिदेखि मुसलधारे पानी परिरहेको थियो। दिन रात एकैक्षण पनि रोकिएको थिएन पानी पर्ने क्रम। हुनत यसरी नै घनघोर वृष्टि हुने र सानोतिनो भल पहिरो यस क्षेत्रमा सामान्य नै थियो। प्रत्येक वर्ष कुनै  न कुनै क्षेत्र पहिरोले बिगार गरेको हुन्थ्यो।बजारको पुरानो वासिन्दाले बताउँथे रङ्गलीमा धेरै वर्ष अघि पनि ठूलो भल आएको थियो र त्यतिबेला बजारभित्र नै भल पसेको थियो। तर त्यही प्रकारको घटना फेरि दोहोरिएको थिएन। बीस पच्चीस वर्ष अघिसम्म खोला उति गहिरिएको थिएन। 1960 को दशकसम्ममा भने खोला धेरै गहिरिएर बगेको देखिन्थ्यो। बजारबाट खोला देखिँदैन थियो। बजारको सतहभन्दा खोला धेरै मुनि बगेको हुनाले खोला बडेर आए पनि बजारभित्र पस्न सक्ने वा बजार डुवानमा पर्ने सम्भावना देखिँदैन थियो। यसपालि घनघोर वृष्टि भइरहेको भए पनि जनजीवन सामान्य चलिरहेको थियो। गाडी आवत जावत गरिरहेकै थिए। कालेबुङ जाने गान्तोक जाने बाटो खुला थियो र दैनिक सेवा दिइरहेका थिए। बजार शान्त र आश्वस्त नै थियो।
रात परिसकेको थियो। अचानकको खोला बडेर गर्जनको आवाज आउन थाल्यो। हामी सबैले बुझ्यौँ खोला बडेर धेरै ठूलो भएको छ सायद कतै भलपहिरो गयो होला। सालानी वर्षामासमा खोला यसरी नै बडने कतै कतै भलपहिरो जाने घटना भइरहने हुनाले हामी आजको साँझ खोला बडेर ठूलो गर्जन भइरहेको त्यही रुपमा लिएका थियौँ। तर जब खोला बडेको आवाज झन झन तीव्रताको साथ धेरै ठूलो गर्जन सुनिन थालेपछि सबै केही डराए जस्तो देखिन थाले। हातमा तीन सेल चार सेलका लामा टर्च बालेर खोलातिर हेर्न थालियो। हामी जति खोलाको नजिक गयौं खोलाको गर्जन उति नै विकराल भएको सुन्न थाल्यौं। पुरै पहाड नै भत्केर आएको आवाज जस्तो भयावह गर्जन लाग्यो। खोला बडेर धेरै माथि आएको देखिन थाल्यो। बाटोबाट नदेखिने खोला देखिने भएको थियो। 
हामी बजारको सिरानतिर गयौं। बजार सिरानमा ग्रेफले केही वर्ष अघि मात्र बाटो बडोत्तरी निकै फराकिलो सडक बनाएको थियो। यो सडकबाट माथि लिङताम, फदामचेन देखि नाथाङ जेलेपला सिमानासम्म जाने थियो। बाटोको डिलमा बसेर हामीले टर्चको उज्यालोमा उर्लदो भेल हेरेका थियौँ। पानी बाटोसम्म आउँदैन थियो र सय फुटजति टाढा थिए तर यतिबेला भने पानी बाटो छेकेर आएको देखियो। पारीपट्टि खेत अलैंचीबारी थियो। खोला बडेको हुनाले सबै ढाकेको देखियो। एउटा पानी घट्ट परिचालनमा थियो र यतिबेला देखिन छाडिएको थियो। यस्तैमा हल्ला भयो तल्लो बजारमा पहिरो आयो भनेर। एकताको सुन्नासाथ हामी सबै त्यहाँबाट तल्लो बजार गुटुटु कुदेर गयौं। अध्यारो रात र कसै कसैकोमा मात्र टर्च लाइट थियो। हामीले जब त्यहाँ गएर हेर्यौँ त्यतिबेला बाटोभरि हिलोले भरेको देख्यौं। बाटोमाथिको घरहरू त थिए तर भल भने घरहरूको किनार किनारबाट आउँदै थिए। यो ठाउँ तल्लो बजार नभएर बजारबिचमा थियो। यहाँदेखि अझै तलतिर भएको क्षेत्रलाई मात्र तल्लो बजार भनिन्थ्यो। 
पहिरो झट्टै आउला जस्तो भएको कारण हामी सबै भागेर आफ्नो घरतिर आयौं। यहाँ एक दुई तले घर थियो र यसमा होटल चल्थ्यो। रङ्गलीमा कोही टाढाबाट आए वा रङ्गलीमा बास बस्नु परे यही होटलमा बस्थे। होटलको छेउछाउमा पनि घरहरू थिए।
घरको मालिक र परिवार माथिबाट पहिरो आउने डरको कारण उनीहरू खोला किनार भएको मन्दीर परिसरमा शरण लिएको जान्नमा आएको थियो। मन्दीर खोला कै किनारमा भएको र खोला अत्यन्तै भयानक बडेर आएको देखिए पछि मन्दीर खोलाले बगाउने रहेछ भन्ने भयो। त्यहाँ शरण लिएर बस्नु झन जोखिम हुने भयो। उनीहरूलाई कतिजनाले घर नै सुरक्षित छ मन्दीरमा भन्दा भने पछि त्यो परिवार घर फर्केर आए। यतिबेला बजारको धेरै मानिसहरू टर्चलाइट, पुल्ठो र लालटिन बोकेर बजारमा सुरक्षित ठाउँको तलासीमा लाग्न थाले। बजारबाट निस्केर पुल तरेर सावा खोला वा छुजाचेनतिर जाने कसैको साहस थिएन। उभो मकैबारी बुङलिङतिर जान पनि नसकिने देखियो। 
सबै भयाक्रान्त हुन थालेका थिए। महिलाहरू भगवान हामीलाई बचाइदेऊ भनेर पुकार्नु थाले। कोही रामको नाम जप्न थाले। कहाँ भाग्ने कुनै ठाउँ देखिएन। बजारमा अत्तालिँदै ओहोरदोहोर गरिरहेका थिए कोही। आजको रात कसरी बिताउने यही चिन्ताले सताइरहेको थियो। कतै भेल बजारभित्र पस्दैन? पसिहाले कसो गर्ने कता भाग्ने कुनै उपाय सोँच्न सकेको थिएन। 
यसैबिच एक भयानक ध्वनिले पुरै बजार थर्कमान भयो। भइँचालो आएको जस्तै सबै हल्लिएको जस्तो भयो। अचानक बत्ती झपाकझिपिक निभ्यो। माथिल्लो बजारबाट तल्लो बजार देखिन छाड्यो। एक निष्पट्ट अन्धकारले छोप्यो चारैतिर। के भयो कसो भयो केही बुझ्न सकिरहेको थिएन।
फेरि सबै टर्च लाइट अगुल्टो र लालटिन लिएर हेर्न गए। तल्लो बजार जाने बाटो पहिरोले बन्द भएको देखियो। तल्लो बजार जान नसक्ने थियो। कोही पहिरोको चपेटामा परे वा परेन र कसैलाई सहयोगको आवश्यकता छ वा छैन केही अन्दाज लगाउन सकिएन। हुनत त्यो अन्धकार रातमा हिलो, ठूलो चट्टान र जङ्गल सोहोरिएर आएको देखे पछि त्यहाँ कोही जाने साहस पनि गर्न सक्ने सम्भावना थिएन। सबै यतिबेला कसैलाई बचाउने भन्दा आफै कसरी बाँच्नेको चिन्ता अधिक थियो।
माथिल्लो बजारबाट फेरि हल्ला शुरु भयो खोला बडेर बजार छिर्नु आट्यो। त्यहाँ एउटा पारी चुनभट्टी जाने बाँसको फडके थियो। फडके बगाइसकेको थियो र त्यो फडके नाघेर बजारतिर खोला बगेर आउन लागेको हल्ला हुन थालेको थियो। हामी फेरि माथिल्लो बजार गयौं अनि जब त्यो फडके सम्म पुग्यौं हामी छाँगाबाट खसे जस्तै भयौं। केही समय अघि हामी जुन बाटोमा बरेम लागेर खोला हेरिरहेका थियौँ त्यो बाटो एउटै थिएन। बाटोको नामनिशान थिएन। सबै बगाएर लगेछ। मनमा ढुकढुकी जोरसित चल्यो। तल्लो बजारको हल्ला सुनेर नगएको भए हामी सबै खोलाको सिकार हुने थिएछौँ। हामी दस बाह्रजना थियौं त्यो हुलमा। अनि हामीले थाहा पायौं हामी अब चारैतिरबाट बन्द भएका छौँ, भाग्ने ठाउँ कहीँ छैन। माथिल्लो बाटो छैन र तल्लो बाटो पनि छैन। एकातिर उर्लदो भेल छ अर्कोतिर भिर छ र त्यहाँबाट पहिरो आइरहेको छ।
हामीसित कुनै विकल्प नरहेको हामीले बुझ्यौँ। पानी पर्नु केही कम भए पनि रोकिएको थिएन। भित्ताको पहाडबाट पहिरो आएर जोगिने ठाउँ थिएन। पहाड पुरै जङ्गल थियो तर यही जङ्गलमा भएको बडेमान रुखपात लडेर आए झन विनास गर्ने निश्चित नै थियो। रातभरिमा के हुने हो कसैलाई थाहा छैन। खोलाको आवाज उस्तै गड्याङ गुडुङ गर्दै ठूलो आवाज गरेर उर्लदो भेल उतिकै थियो। अझ बडेर गए बजार डुबानमा पर्ने र घरहरू बगाएर लैजान सम्भव थियो। कथङ्काल बजारमा यो उर्लदो भेल पसे कोही बाँच्न सक्ने छैन लागिरहेको थियो मलाई। 
हुनत मध्यरातको पछि पानी पर्न कम हुन थाल्यो र रोकियो पनि। पानी पर्न रोकिए पनि खोलाको गर्जन उत्तिकै थियो, उर्लदो भेल आफ्नै रफ्तारमा रहेको थियो। कता कता त्यो भयावह रातमा पहिरो चलेको रुख ढलेर ठूलो आवाज गरेको सुनिरहेका थियौं। त्यो रात हामी कोही सुतेका थिएनौं।
अर्को बिहान उज्यालो हुन साथ आकाशमा एक टुक्रा बादल पनि नदेखिएको र भयानक रातपछिको मौनता अनुभव गर्न सकिने थियो। रङ्गली बजार दुई पहाडको बिच एक घाँटीमा अवस्थित छ। घाम ढिलो लाग्छ। त्यो बिहान पनि घाम अबेर गरेरै छिर्यो बजारमा। उज्यालोको साथै हामीले रङ्गली बजारको जुन दृश्य देख्यौं हाम्रो डर आकासिएको थियो।
ठूलो बजार होइन, सानै हो। 1968 तिर बजारको कुल जनसंख्या 500 या यसकै छेउछाउ थियो। लगभग सय ढेढ सय घरहरू। घरहरू काठले बनिएको धेर, इक्रा पर्खाल लगाएको केही र एकदुई भने चित्राले बेरबार पारेको। पक्का सिमेन्टको बिल्डिङ एउटै थिएन। त्यो समयसम्म बिजुली जडान भएको थिएन। बेलुकी साझँ लालटिन, पेट्रोमेक्स, धिब्री घरमुलिको आर्थिक स्थिति मताविक कै चलन थियो।
बिहान मेरो नजर पहिलोपटक  हाम्रो घरको तीन घर मुनि एक अग्रवाल परिवारको दुई तले घरमा पर्यो। घरको माथि जङ्गल थियो। त्यो जङ्गलबाट सिमलको ठूलो रुख लडेर अग्रवालको दुई तले घर बिचमा छेडेर बाहिर निस्केको देखेँ। हेरेर छक्क परे, घर जस्ताको तस्तै थियो। माथिल्लो तला केही भएको थिएन। मुनिलो तला भने रुखले छेडेको थियो। घर परिवार माथिल्लो तलामा सुत्ने हुनाले उनीहरूलाई कुनै चोटपटक लागेको थिएन। पछाडि पट्टि केही धस्केर पहिरो आएको भए पनि घरलाई ठूलो आघात पुर्याएको भने देखिएन। 
यसको तलतिर सुदामा प्रसादको घर थियो। घर पछाडि निकै ठूलै पहिरो आएको देखियो। घर पछाडिको संरचना ध्वस्त भएको थियो।
बजार बिचको दृश्य भने भयानक देखियो। हिजो राति ठूलो गर्जनको साथ पहिरो चलेको यही थियो। बाटो छिर्न नसकिने भएको रहेछ। माथि पर्वतको ठूलो भाग बडा बडा रुखहरू, ढुंगा मुडा, माटो सबै सोहोरिएर आएर बजार बिच सबै ढाकेको थियो। सय डेढ सय फिटको दुरीमा रहेको पल्लो लाइनको घरहरू पनि क्षतिग्रस्त भएका थिए। हामी जसोतसो झार पात हाँगाहरू पन्साएर पार गरेर गयौं। पहिरोले ध्वस्त भएको घरको मुन्तिर थिचिएको कुनै मानिस जस्तो देखियो। मैले चिनिहाले। अधँबैसे उमेरको केही होचो कद भएको रङ्गलीको अस्थायी वासिन्दा थिए उनी। केही अस्वस्थ दिमाग भएको। उनको छोरा पनि थियो। बजारमा घर थिएन र स्थायी रोजगार पनि थिएन। सानोतिनो मजदुरी गरेर जीवन धान्ने परिवार थियो उनको। उनलाई घरले थिचेको देख्दा जिवीत छ जस्तो लाग्यो मलाई। भत्केको ठाउँ ओडार जस्तो भएको थियो। उनलाई सहायता गरेर बाहिर निकाल्न छेउमा जाने प्रयास गर्दा तरङ्ग भएर झस्केँ। छेउबाट हेर्दा देखेँ उनको दुवै आँखाहरू बाहिर निस्कन लागेका रहेछन र टुलटुल उज्यालो देखिएको रहेछ। उनी मृत थिए। हतार हतार डराउँदै त्यहाँबाट निस्के। 
यसको तलतिर हाटघर थियो। हाटघर केही देखिँदैन थियो सबै पुरिएको। यसमा मैले एक व्यक्तिलाई देखेँ। उसलाई भने चिनेको थिइनँ। उसको शिर र छात्तीको माथिल्लो भाग मात्र देखिन्थ्यो र अन्य सबै पहिरो चट्टान र हाटघरको फलामे खाँबोले थिचेर नदेखिने। उ जिउँदै थियो र हात पसार्दै केही भनिरहेको जस्तो आभास हुन्थ्यो। तर उसलाई त्यहाँबाट निकाल्न त्यतिबेला सम्भव थिएन। हुनपनि दिउँसो एकबजेतिर उसले प्राण त्याग्यो।
अझ तलतिर के के बिगार भएछ भनेर हेर्न जान तर्खर गर्दा मानिसहरू दगुरेको देखें। उनीहरूले खवर दिए रङ्गली बजारको माथिल्लो भित्ताको पहाड चर्केको छ र त्यो अटब्बे विशाल बन जङ्गल सोहोरिएर बजारमा आउनेवाला छ। अर्को हल्ला पनि चल्यो खोलापारिको भित्तामा पहिरो चलिरहेछ। पहिरो ठूलो आए खोला थुन्नेछ। थुनेको खोलाले बजारलाई डुबाउनेछ। यसो भए यहाँ कोही पनि जीवित रहन सक्ने छैन। बजारको अस्तित्व नै मेटिनेछ। जसो भए पनि जिउ जोगाउनु पर्छ भनेर बजारबाट झट्ट भागेर निस्कन भनिरहेका थिए। तर भागेर जाने ठाउँ पनि कहाँ थियो। उभोतिर जाने बाटो खोलाले सबै बगाए र माथि भिरतिर पहिरो चलिरहेको थियो। जताततै पानी उम्रेर साना साना नाला झोडा पनि ठूलाठूला तरेर जान मुश्किल पर्ने भएको थियो। छुजाचेन जाने बाटोमा ठूलो पहिरो लगातार चलिरहेको थियो। एउटै मात्र विकल्प पुल तरेर सावा खोला छेउमा रहेको आर्मी क्याम्प। रिनाक वा रोडाथाङ जाने बाटो सबै बन्द थियो। 
सबैको सरसल्लाह अनुसार त्यही भारतीय सेनाको क्याम्पमा जाने निर्णय लिइयो। त्यतातिर भने पहिरो चलेको थिएन। 
फलामको बलियो पुल थियो त्यहीबाट जानुपर्ने पारि। सामान्य दिनमा खोला र पुलको बिच पचास फिट भन्दा बडी अन्तराल हुन्थ्यो तर आज भने चार पाँच फिट मात्र अन्तराल थियो र घरिघरि पानीको छाल पुलमा लाग्थ्यो। पुलको एकछेउको देवाल आधा जस्तो पानीले खोतलेको रहेछ र हिडनलाई साँघुरो बाटो मात्र थियो। जोगिएर हिडनु पर्ने, जिप्टेर लडे सिधै भेलमा जाने। सबै जोगिएर हिडे। कुनै अप्रिय घटना भएन। पारि पुगेर हामीले रङ्गलीको भित्तामा रहेको पहाड र जङ्गल हेर्यौ। हल्ला फैलाएको जस्तो कुनै त्यस्तो दृश्य देखिएन।
बजारको पुछारमा सेनाको क्याम्प थियो र यहाँ उनीहरूको वाहन राखेको हुन्थ्यो। यही ठाउँमा पुलिस अस्पताल र पुलिस चौकी पनि थियो। यहाँ भने घाम लागिरहेको बेलामा पनि माथिबाट पहिरो झरिरहेको देख्यौं। हेर्दा हेर्दै पुलिस चौकी र अस्पताल माटोले पुरिन थाल्यो। पहिरो बगेर  क्याम्पतिर पनि जान थाल्यो। उनीहरूले बनाएको क्याम्प बगेर जान थाल्यो र क्षणभरमै बडेको खोलामा समाहित भयो। घरहरू नभत्की सलक्क कसैले जुरुक्क उठाएर लगे जस्तो सुलुलु बगेको दृश्य देख्दा चकित भइरहेको थिएँ। यसपछि त्यहाँ भएको दर्जन बडी शक्तिमान ट्रकहरू एक एक गर्दै भेलमा बगेर जान थाले। कसै कसैले निकाल्ने कोशिस गरे तर उनीहरू गाडीबाट निस्केर आफै पनि मुश्किलले ज्यान जोगाउन भाग्न थाले। एकाध घन्टाभित्र त्यहाँ भएको क्याम्प र गाडीहरू सबै बगाइसकेका थिए। तर बजारको माथि बाट पहिरो भने झरेको थिएन। धेरै माथि डाँडाको चुचुराको छेउतिर केही धस्किएको नांगो देखिन्थ्यो र त्यो दृश्य हेर्दा कुनै राक्षसले आफ्नो विशाल हातले नंग्राएको जस्तै जताततै कोरिएको देखिन्थ्यो।
सेनाको क्याम्पमा बजारबाट धेरै मानिस आइसकेका थिए। विशेषगरी उमेर पुगेका र महिला केटाकेटी बडी थियो। क्याम्पमा बस्ने खाने सबै प्रबन्ध मिलाइएको थियो। 
क्याम्पमा आफ्नो बस्ने ठाउँ बन्दोबस्त भए पछि हामी एकदुईजना फेरि बजार हेर्न र स्थिति बुझ्न आएका थियौँ। सधैं चहलपहल रहने मान्छेहरूको सल्याङबल्याङ देखिने यतिबेला मौनता छाएको थियो। कोही हिडडुल गरेको नदेखिने। केही व्यापारीहरू भने बसेका थिए। सायद चोरी डकैती लाग्छ भनेर। मिठाई दोकान, भाडा वर्तनको दोकान लुगा दोकान खुला तर त्यहाँ कोही थिएन। जसले जे खाए पनि हुने, दोकानको समान उठाएर हिडे कसैले नदेख्ने। कोही सधैं मदपान गरेर हिड्ने आज पनि बजारमा त्यसरी नै जाँडरक्सीको खोजीमा रहेको भेट्टाइएको थियो। 
हामीले होटलको मानिसबारे सोधपुछ गर्दा केही थाहा नलागेको बुझियो। उनीहरू जीवित छन वा छैनन् केही जान्न सकिएन। 
अर्को दिन बजारका वासिन्दाको खोजतलास हुँदा थाहा पाइयो होटलका कोही पनि भेटिएका थिएनन्। दशैँको छेक हुनाले आफन्त र पाहुन आएका देखेका थिए छरछिमेकले। होटलमा केही ग्राहकहरू पनि रहेको अनुमान गरिए। उनीहरू मध्ये कोही पनि क्याम्पमा गएको देखिएन। 
केही दिन पछि सरसफाइ गर्न सरकारी सेवकहरू आए। अम्बार लागेको जङ्गल, माटो र ढुंगा हटाउँदा एक एक गर्दै होटलमा रहने मानिसहरूको मृत शरीर फेला पर्न थाले। होटल सञ्चालक परिवार र उनीहरूको दशै मनाउन आएका आफन्त गरेर सोह्र जनाको शरीर भेट्टाइए। उनीहरूको एक छोरा दार्जिलिङमा अध्ययनरत थिए र दशैँमा आएको थिएन। यसैले परिवारमा उनी मात्र बाँचे अन्य सबै यही मृत्यु भएको थियो।
छेउछाउमा पहिरोको चपेटामा ज्यान गुमाउने अन्य छ जना भेट्टाइए। बाइसजना मृत्यु भएको थाहा पाइयो। रङ्गलीका मानिसहरूको चिनाजानामा परेका मानिसहरूको संख्या थियो। तर हरदिन कोही न कोही नयाँ मान्छे बजारमा आउने बास बस्ने भन्ने कतिजना थिए अनुमान गर्न सकिने कुरा थिएन। होटलमा त्यो रात कतिजना थिए यसको जानकारी होटल सञ्चालकलाई मात्र थाहा थियो। उनीहरू सबै बितिहाले पछि कति जना थिए को को थिए भन्न तथ्य अज्ञात रहने भयो। तर छरछिमेकमा रहनेहरूले देखे अनुसार त्यहाँ दुई चार नयाँ ग्राहकहरू थिए। उनीहरू कोही जीवित देखिएन। बाइसजना मृत्यु भएको भनिए तापनि सबैलाई आशंका थियो कमसेकम 27-28 जना पहिरोको सिकार भए भन्ने। 
सबै परिवार सदस्यको पनि शरीर माटोबाट निकाल्न सकेन र यसैले आवश्यक संस्कार हुन सकेन। (यदि यो परिवार मन्दीर परिसरभित्रै शरण लिइरहेको भए उनीहरू सबै जीवित रहने थिए। मन्दीर बडेको खोलाले बगाएर लान्छ भन्ने झुटो सावित भयो। मन्दीर सुरक्षित रहेको थियो।)
68 को भयानक पहिरो र भल बाडीले रङ्गलीको धेरै क्षति भयो। 
पारि चुनभट्टिमा घट्ट थियो। घट्ट चलाउन पावा खोलाबाट कुलो बनाएर पानी ल्याइएको थियो। त्यहाँ केही घरहरू थिए, एक गुरुङ परिवार बस्थ्यो। खेत, भित्तामा अलैंचीबारी थियो। भेलले सबै बगाएर सम्पूर्ण क्षेत्र बगरमा परिणत भएको थियो।
रङ्गलीबाट लिइताम जाने सडकमा खोला बगिरहेको थियो। सडकको नामोनिशान मेटिएको थिएन।
रङ्गली बजारको निम्न माध्यमिक पाठशालाको पछिल्तिर हात्तीबारको बृक्षहरू लहरै थिए। जमिन बलौटे र खोलाको किनारको छेउ भएको कारण सुरक्षाको निम्ति हात्तीबार रोपेको हुनसक्छ। यसले स्कुल मैदानमा खेल्ने बालकहरूको सुरक्षा पनि गरेको लाग्थ्यो। यसपालिको भेलले भने हात्तीबारको निकै बृक्षहरू बगाएर लगेको देखियो। खोला किनार तारा मन्डलको ठूलो झ्याङ थियो। खोला किनार बजारको पुछारदेखि सिरानसम्म र अलि मास्तिर डिल डिलमा पनि थियो। मार्च अप्रिल महीनामा यो पहिलाम्मे भएर फूल्थ्यो। पूरा पाखा पहेँलो उज्यालो देखिन्थ्यो। यसपालि तारामन्डल झाडी सबै बगाए र फेरि यो फूल त्यसरी फुलेन पनि। 
बजारदेखि तलतिर पुरानो पुलको मुनि ठूलो टारको खेत थियो। खेत निकै बगाएर बिगार गरेको थियो। यही टारे खेतको पुछारमा सानो जलविद्युत परियोजना बनिँदै थियो। हामी खुशी भएर यसलाई हेर्दै भन्ने गर्थ्यौ अब हाम्रो रङ्गली बजार पनि बिजुली आएर झिलिमिलि हुनेछ। लालटिन धिब्री अगुल्टो बालेर राति बजार हिडनु पर्ने छैन। तर यसपटकको भल बाडीले परियोजना पुरै पानीमा डुबेको देखियो र केही भाग बगाएर लगेको। परियोजनाको लागि बनाइएको कुलो एउटै थिएन।
रङ्गली वरिपरिका क्षेत्रहरू छुजाचेन, चाङ्गेलाखा, रिगु, मकैबारी, बुङलिइ, सिस्ने, लिङ्ताम, सुबानेडाँडा, प्रेमलाखा, लिङ्गताम आदि ठाउँका भीर पहरा र खोलानाला छेउछाउ रहेका कति घर बिगारे अथवा कतिले ज्यान गुमाउन परे यसको कुनै तथ्यांक संकलन भएको लागेन। त्यो समय यसरी तथ्यांक राख्ने व्यवस्था थिएन।
घटनाको लगभग पन्द्रह दिन पछि सिक्किमको छोग्याल पाल्देन थेन्डुप नामग्याल आएका थिए। उनको हातमा मुभी केमेरा थियो। त्यही मुभी केमेराले खेरेरे गर्दै आवाज निकाल्दै  तस्वीर खिँचेको हामीले देखेका हौँ। त्यतिबेला डिजिटलको जमाना आएको थिएन, एनालोग सिस्टम नै थियो। केमेरा रीलवाला थियो। चक्की गुमेर रील घुमेर फोटो खिँच्ने। प्रोजेक्टर लगाएर हेर्नु पर्ने हो फिल्म। 

Comments

Popular posts from this blog

अगमसिहं गिरी (युद्ध र योद्धा ) आलोचना

             युद्ध र योद्धा : एक पठन                          पेम्पा तामङ      अगमसिहं गिरी भारतीय नेपाली साहित्यमा सर्वाधिक चर्चामा रहेको कवि हो। उनलाई मूलतः स्वछन्दतावादी कवि र जातीय कवि भनेर आलोचकहरूले चिनाएका छन भने कही कही अस्तित्ववादी भनी परिचय दिएको छ। उनका प्रारम्भिक कविताहरू भावनात्मक र करुणामय थिए यसैले उनलाई दुखवादी पनि भनिएको  हो। गिरीका कविताहरू आम चलनको भाषामा लेखिएका र प्रतीक र बिम्वको जडान थोरै रहेका छन। सरल , सहज र बोधगम्य रहेको हुनाले आम पाठकबीच लोकप्रियता बडी रहेको थियो। जीवन , मृत्यु , दुख , बिरह उनका कविताको भावलहरी रहेको छ। कल्पनाको निर्बाध उडान र जीवन परान्मुख रहेको मानिन्छ। जीवनलाई यसरी हेर्ने दृष्टि छायावाद र स्वछन्दतावा भनेर चिनिन्छ। हुनत छायावाद र स्वछन्दतावाद यी बाहेक अन्य पनि हुन। स्वच्छन्दतावादको प्रवर्तक विलियम वर्डस्वर्थको लेखन सिद्धान्त कविताको भाषा आम मानिसको बोलीको शैलीमा हु...

Circle of Karma -Bhutanese novel review

Circle of Karma   Authored by Kunzang Choden, a native of a small village in Bumthang District in  north-central Bhutan, Circle of Karma is the first English novel to emerge from the land of the druk (Bhutan),   the mythical dragon. Published in 2005, the novel instantly courted fame far and wide, and has since been translated into several languages. The novel had been short listed for the prestigious Elle Prix des Lectrices too. Choden was born in the year of the druk , or the year of the dragon, corresponding to 1952 in the Gregorian calendar. Since Choden was born into a prosperous family, her parents sent her to a convent school in Kalimpong when she was nine years of age. Choden recounts the initial difficulty she encountered in the school because, as is prevalent in Bhutan, she did not have a surname attached to her first name. Moreover her father’s name was Kunzang Dorje and the Reverend Mother of her school refused to believe that the father an...

Remika Thapa's Farak Baato

 Two novels of  Puspa Rai                         Pempa Tamang   “Farak Baato”  or “Different Road”  is the title of the critical  book  written by Dr. Remika Thapa. As the title suggests Remika highlights the alternative  point of view proposed by Ms Puspa Rai in her two fictional works namely “Bholiko Pratikshya” or “Waiting for Tomorrow” and “Madhyantar” or “Interval”. Dr. Remika maintains that Bholiko Pratikshya is the first feminist novel in Indian Nepali Language and consequently Puspa Rai has become the first feminist novelist  in Indian Nepali writings.   The two novels can be called duology as the second novel follows the theme of earlier one. The main characters of the fictions are women in both the novels.  The first novel “Bholiko Pratikshya” is about women’s  independence in choice of her existence and her life. It is about the motherhood outsid...