सिलिगुडी डायरी
किताब गाली र सिक्किम
सिलगढी रहेको बेला सुबुक मोडमा भएको बाटो छेउको किताब दोकानमा नजर डुलाउन बानी परेको छ। यहाँ किताबहरू अमाजनमा भन्दा पनि सस्तोमा पाइन्छ। यहाँबाट निकै राम्रा राम्रा पुस्तकहरू किनेको छु। हुनत कोही बेला प्लेगियराइज गरेको किताब हुन्छ। सलमान रश्दीको मिडनाइट चिल्ड्रन यहीवाट किनेर पढेको थिएँ। तर पछि थाहा पाएँ मैले किनेको प्लेगिाइज्ड संस्करण रहेछ भनेर। हामीले प्लेगिराइज्ड संस्करण किन्नु भनेको लेखक र प्रकाशकलाई धोका दिनु हो।
मैले यो दोकानमा अमिताभ घोषको कोलकाता क्रोमोजोम पुस्तक झुन्ड्याइरहेको देखेँ। उसको उपन्यास हङ्ग्री टाइड पढेपछि मलाई घोषको सबै उपन्यास पढने रहर उम्रेर आएको हो। बिचमा उसको एक पर्यावरण बारे पुस्तक किनेँ। तर अन्य उपन्यास भने विस्तारै किनौँला भनेर टारी राखेको हुँ।
दोकानेलाई मैले भने मलाई अमिताभ घोषको कोलकाता क्रोमोजोम देऊ। उसले छैन त्यस्तो किताब भने ठाडो जवाब दियो। मलाई लाग्यो यो टिपिकल बंगाली स्वभाव हो भनेर। यसैले नरिसाइ किताब निकालेर उसलाई देखाएँ। उसले आफ्नो शिरमा प्याट्ट हिर्काएर माफी माग्यो मसित।
पछाडि पट्टि दाम हेरेर भन्यो २५० रुपियाँ। मलाई थाहा थियो अमाजन साइटमा यो किताब यही मूल्यमा पाइने छैन भनेर लाग्यो। २५० दिएँ र किताब लिएर मोडको बाटबाट अर्को किनार जान गाडी रोकिन पर्खिरहेको थिएँ। ट्राफिक निकै नै थियो। हठात मेरो अघि मैले चिनेको एक भलाद्मी मलाई देखेर छक्क परी हेरिरहेको देखेँ। हात मिलाउँदै मलाई सोधे कहिले गान्तोकबाट आएको ? आजै आएको कि हिजो आएको ?
मैले भनेँ म त यहाँ सिलगढी आएको तीन महीना बडी भयो।
यति के भनेको थिएँ मलाई झपार्दै भने किन लुकेर बसेको सिलगढी ? सिक्किम छोडेको हो ?
मैले बताए सिक्किम छोडेको होइन एक महीनापछि जाने हो।
मैले उसलाई हेरेँ ऊ रिसाएर मलाई हेरिरहेको रहेछ। आँखा पनि कति छिटो राता राता बनाइहालेको ! दुई गाला फुलाएर निकै चर्को स्वरमा भनिरहेको थियो। तपाईंको एक्सपिरियन्स खेरो फालेको ? भएको ज्ञान काम नलाउने? सिक्किमको माया लाग्दैन?
जिम्मेवारीबाट भाग्ने मान्छे राम्रो हुँदैन। म त तपाईंलाई ज्ञानी सम्झेको ! दस ठाउँ घुम्यौ ! (यतिबेला तपाईंबाट तिमी मा झरेको देखिँदै थियो ऊ) नौकरीमा हुँदा त हामीलाई धेरै भाषण छाड्यौ त !
मैले भने अहिले सिक्किममा धेरै पढेलेखेका भाइबहिनीहरू छन। उनीहरू म भन्दा धेरै ज्ञानी गुणी छन। समाजको नेतृत्व उनीहरूले जिम्मेवारीपूर्वक निर्वाह गर्न सक्नेछन। युवाहरू अघि आएको राम्रो। हाम्रो पालो सक्यो अब।
उसले हात हल्लाउँदै फेरि भन्यो यही त नराम्रो छ तिमारको बानी। बात गरेर सबैलाई भुलाउने, काम लाग्ने चाहिँ केही नगर्ने ! आफ्नो टाउको लुकायो जोगियो। तिमारु जान्नेछ र पो भनेको ! बुझेको छ र पो भनेको ! गर्न सक्छ र पो भनेको !
आफ्नो कुरा भनेपछि फिस्स हाँँसेर भने नरिसाउनोस है ! समाजको लागि केही गर्नोस। असामाजिक भएर नबस्ने मात्र भनेको हो।
यति भनिराखेर ऊ हिँडे।
म एकछिन अलमल्ल परेर उतिर गएतिर हेरिरहेँ। ऊ एयरभिउ मोडतिरको बाटो गइरहेको थियो।
हामीलाई बाल्यकालदेखि नै सिकाइएको हुन्छ समाजको निम्ति देशको निम्ति हामीले सेवा पुर्याउनु पर्छ भनेर। परिवार छ समाज र देश छ र नै हामी छौँ, हाम्रो अस्तित्व छ। देश छैन भने हामी पनि हुँदैनौँ। यसको अर्थ हुन्छ व्यक्ति केही पनि होइन उसको परिवार बिना, उसको समाज बिना र उसको देश बिना। परिवार समाज र देशको निम्ति हामी समर्पित हुनु पर्छ। हाम्रो सम्पूर्ण जीवन नै यही विचारबाट सञ्चालन भइरहेको हुन्छ।
मलाई यो मान्यता यो विचारधारा त्यतिबेला सन्देहको घेरामा राख्न जब मैले काफ्काको उपन्यास कथा बुझ्न थालेँ।
काफ्काको ट्रायल उपन्यास पहिलोपटक पढदा फेद न टुप्पा भयो। केही बुझिएन। सबै पढेर छिचोल्न सकिएन । मेटामोर्फोसिसको ज्यादै प्रशंसा भएको देखेर पढेँ। कथा त राम्रै लाग्यो तर मेरो बुझाइमा फन्तासी कथा लाग्यो। कोही मान्छे किरामा अचानक बदलिन्छ ? प्राकृतिक रुपमा घटना असम्भव। भने पछि पात्र किरा भएको जस्तो लागेको होला, उ मान्छे नै भए पनि। मैले यही अर्थ लगाएँ। किरालाई हामी हेला गर्छौं । खुट्टाले किल्चेर मार्छौ, किराको कुनै महत्त्व छैन त्यसको जीवनको अस्तित्वको कुनै मोल छैन। यस्तै मान्ने गर्छौं। पात्र ग्रिगोर सम्साले सायद त्यस्तै सम्झ्यो आफूलाई किरा भएर।
यद्यपि मेरो मनमा कुरा खट्क्यो मैले सायद बुझ्न सकिनँ यो कथा र उपन्यास ट्रायल पनि। हुनत हामी कथा वा उपन्यासमा घटना पढने गर्छौं। घटनाले हामीलाई किताबमा बाँधेर राख्छ। के कस्ता घटना घटेको रहेछ यसैमा चासो राखेका हुन्छौं। पात्रको चरित्र चित्रणतिर थोरै ध्यान दिन्छौं। अझ कृतिभित्रको विचारधारा सोच्दै सोचेको हुँदैनौँ। हुनत आज भन्दा १३ शताब्दी अघि नै ध्वनाचार्य आनन्दवर्धनले काव्य (साहित्य) मा प्रतीयमान अर्थ प्रमुख हुन्छ भनेर सिकाएको हो सुधीजन पाठकलाई। तर त्यसप्रकारको आदर्श पाठक सायद हामी सबै हुन सक्दैनौं।
जसोहोस मैले बुझेँ मैले काफ्का बुझ्न सकिनँ भनेर।
मार्क्सवादी समालोचक साहित्य सिद्धान्त व्याख्याता टेरी ईगल्टनले आफ्नो एक लेखमा मिलन कुन्देराको उपन्यास अनबियरेबल लाइटनेस अफ बिइङको खुबै सुन्दर चर्चा पढने अवसर मिल्यो। यसले मलाई मिलन कुन्देराको उक्त उपन्यास पढने मन भयो। दिल्ली मै थिएँ कनाट प्लेसमा भएको पुस्तक पसल बुक वर्म छिरेँ। ( सायद अब यो पुस्तक पसल बन्द भइसकेको छ।) पुस्तक किनेँ र चाणक्य पुरीमा स्थित सिक्किम हाउस फर्केर आएर बेलुकी पढन थालेँ। कति राम्रो लेख्न सकेको अदभूत नै लाग्यो। बुझ्न कठिन लागेन। हुनत यसको आलोचना पढेको हुनाले पनि बुझ्न सहज भएको थियो मलाई। त्यतिखेर मलाई चेकोस्लोभाकियाबारे केही जानकारी थिएन। उपन्यासले धेरै ज्ञान बडायो त्यो देशको। सोभियत सत्ताले कसरी चेकोस्लोभाकियाको जनताको आकांक्षाको कुठाराघात गर्यो यसले मार्मिक चित्रण गरेको रहेछ। एकतन्त्रीय शासन व्यवस्थामा व्यक्तिको कस्तो दुर्दशा हुन्छ यसले बताएको छ। (पछिल्लो वर्ष मैले ऐन एपलबमले लेखेकी पूर्वी युरोपमा सोभियत सत्ताको विस्तारको इतिहास पढेँ। युरोप दुई भागमा बाँडिएको थियो पुर्वी युरोप र पश्चिमी युरोप। पूर्वी युरोप ग्रीस बाहेक सबै साम्यवादी शासन अधीन थियो भने पश्चिमी युरोप पुँजीवादी शासन। जर्मनी दुई भागमा विभाजित पुर्व र पश्चिम जर्मनी। सोभियत संघको विघटन साथै यी सबै पूर्वी युरोपेली देशहरू मोस्कोको प्रभावबाट मुक्त भए।)
मिलन कुन्देराका उपन्यासहरू द जोक, बुक अफ लाफ्टर एन्ड फर्गेटिङ, द फेयरवेल पार्टी, इम्मोर्टलिटि पछिबाट क्रमसितै पढियो। उनले लेखेको आलोचना पुस्तक "आर्ट अफ नोभल" पढनु पर्ने रहेछ र नै पढियो। यही पुस्तकमा काफ्काको लेखन एउटा लेख रहेछ मिलन कुन्देराको। लेख पढेर चकित भएँ। बिजुलीको झटका झैँ भयो। काफ्काको लेखनबारे उनले लेखेको छ काफ्काले उनको रचनामा घटना र पात्र चरित्रणमा होइन वरण देश र समाजले व्यक्तिको अधिकारको हननको प्रश्न उठाएको हो। हामी परिवार समाज र देशप्रति समर्पित हुन्छौ किनकि यही संस्थाहरूले हामीलाई सुरक्षा दिन्छ। तर काफ्काले भने यसको विपरीत बताउँछ व्यक्तिको स्वतन्त्रता शान्ति र सुरक्षामा व्यवधान यही परिवार समाज देशले ल्याउँछ, उसको दुश्मन बनेको हुन्छ। काफ्काको पात्रको दुर्दशाको कारण पात्र आफै जिम्मेवारको नभएर उसको परिवार समाज र देश हो। ऊ आफ्नो देशबाट नै असुरक्षित छ।
काफ्काको दृष्टि "आज रमिता छ" उपन्यास पठनमा सटीक लाग्छ। "आज रमिता छ"को कथानक सहज मिलेको जस्तो लाग्दैन। सबै ठिक लाग्दैन। के कता नमिल्दो अपठेरो र पाठ सरल सहज अघि बडेको छैन। थुप्रै बाटो पछ्याएको छ। कुनै बाटो पनि एक निर्णायक बिन्दुमा पुर्याउँदैन। यसैले "आज रमिता छ" उपन्यास पढनलाई दार्जिलिङ्गी्य समाज पहिला पढनुपर्छ। उपन्यासबाट निस्केर समाज हेर्न जानुपर्छ। उपन्यासको काल्पनिक मुलुकबाट निस्केर यथार्थ संसारमा जानुपर्छ। वास्तविक समाजमा देख्छौँ समाज चटक्क सहज बुझिने छैन। यसैले इबराको उपन्यास बुझ्न पाठबाट बाहिर आएर यसलाई हेर्नुपर्छ। ठिक यही प्रकारले काफ्काको रचनामा भनिएको होइन लक्ष्य गरिएको कुरा बुझ्नुपर्ने रहेछ भनेर मैले बुझेँ। परिवार समाज र देशको वैकल्पिक अर्थ अर्थात व्यक्तिको विपक्षमा रहेको संस्था भनेर। समकालीन आलोचना सिद्धान्तमा भन्नू हो भने परिवार समाज र देशको अर्थको विनिर्माणीकरन गरेको हो काफ्काले। हुनुपनि व्यक्ति व्यक्ति मिलेर परिवार बनिन्छ। परिवारहरू मिलेर समाज बनिन्छ। समाज समाज मिलेर देश बनिन्छ। यसैले व्यक्ति देशको एकाइ हो। तर देशले व्यक्तिलाई एकाइ नमानेर तुच्छ मान्छ, देश छैन भने व्यक्ति छैन जस्तो। वास्तवमा व्यक्ति छैन भने देश छैन हुनु हो। देशको अस्तित्व ढिलो गरेर आएको हो। देश हुनु भन्दा अघि पनि व्यक्ति थिए।
हिजोआज एक देशदेखि अर्को देश जान पासपोर्ट भिजा चाहिन्छ। भिजाबिना कुनै अर्को देश प्रवेश गर्न पाइँदैन। तर भिजा पासपोर्ट प्रथम विश्व युद्ध पछि मात्र शुरु भएको हो। यसको अर्थ यस अघि कुनै पनि देश बिना पासपोर्ट भिजा जान पाइन्थ्यो बस्न पाइन्थ्यो। तर अहिले आएर हाम्रोनिम्ति पासपोर्ट र भिजा ज्यादै महत्त्वपूर्ण भएको मान्छौँ। यी दुई दस्तावेज बिना हाम्रो अस्तित्व खतरामा छ जस्तो मान्छौँ। हामी आफैले बुनेको जालमा फसेका छौँ। हामीले सम्झ्यौ परिवार समाज र देशको सुरक्षा हुनुपर्छ यसैले हामीले यसको पर्खाल दह्रो बनाएका छौँ। तर अहिले आएर यसैले हामीलाई कैद गरेको छ। हामी सबै परिवार समाज र देशको कैदी भएका छौँ। काफ्काले दिएको ज्ञान यही हो।
काफ्काको यो दृष्टिकोण दार्जिलिङको परिप्रेक्ष्यमा हेर्यौ भने प्रमाणित भएको पाउनेछौँ। दार्जिलिङवासी देशभक्त छन। भारत देशप्रति समर्पणको भावना बग्रेल्ती देखिन सकिन्छ। देशभक्ति गीत, देशभक्तिको भावनाले ओतप्रोत कविता कविता सङ्ग्रह निस्केको छ। स्वतन्त्रता दिवस धुुमधाम र बडो हर्षोल्लासको साथ मनाइन्छ। भारतीय फौजमा भर्ना भएर देशको सीमा रक्षा गर्न अग्रणी छन। हजारौं सहिद पनि भए। भारत स्वतन्त्र कालदेखि नै गोर्खाली सैनिकको युद्ध भूमिमा उसको भूमिका रहेको छ। १९६२को चीनसितको युद्ध, १९६५ मा पाकिस्तानसित युद्ध, १९७१मा बंगलादेश युद्ध, १९९० मा श्रीलंकामा शान्ति सेना, १९९८ मा कार्गिल युद्ध सबैमा गोर्खाली सैनिक रहेको थियो। अझ श्रीलंकामा शान्ति सेनासित महिला दस्ता पनि लगिएको थिएछ। मैले नागाल्यान्डमा एक गोर्खा महिला भेटेँ जो यही दस्ताको सदस्य रहेकी थिई।
दार्जिलिङको चिया विश्वप्रसिद्ध छ। यसबाट भारत सरकारले विदेशी मुद्रा हजारौं करोड कमाउँछ। दार्जिलिङले आफ्नो रगत र पसिना दुवै देशलाई दिएको छ।
भारतले गोर्खालीको खुकुरीको पनि प्रयोग गरेको उल्लेख हालै प्रकाशित "चिया गफ" पुस्तकमा युवा लेखक प्रवीण खालिङले चर्चा गरेका छन। "कञ्चनजङ्गाको सन्तान र कमरेड चेलाई खुकुरी" शीर्षक लेखमा खालिङले लेखेका छन "प्रधानमन्त्री नेहरूलाई चे ग्वेभाराले १ जुलाई १९५९ मा उनले तीन मूर्ति आवासमा पुगेर क्युबाली प्रसिद्ध सिगारको प्याकेट चडाएपछि कमरेड चेका वीरतालाई कदर गर्ने भारतमा अरु शायदै उपहार थियो। त्यसैले भारतका पहिलो प्रधानमन्त्रीले हिमालको सिर्जना, हिमालको सान र हिमालका सन्तानले आर्जेको वीरताको चिन्हारी खुकुरी रोजे। कमरेड चेलाई खुकुरी उपहार दिए।" यो प्रकरणले बुझाएको छ गोर्खालीहरू भारतमा वीरताको प्रतीक हो।
तर जब यही गोर्खालीहरू चेपारोमा पर्यो, हेलचेक्र्याइ हुन थाल्यो उसले सम्झ्यो उसको आफ्नो राज्य हुनुपर्छ जहाँ उसको आफ्नो संस्कृति परम्परा र रोजगारी सुनिश्चित हुनेछ उसको दुखाइ राज्य र देश दुवैले बुझ्न सकेन। दार्जिलिङ र भारतीय गोर्खा समाज देशबाट नै अवहेलना भएको छ। उसको देशप्रतिको बलिदान र सेवाको मूल्यांकन भएन। ऊ आफ्नै अविभावकबाट पीडित छ। उसलाई निश्चिन्त बाँच्न उसकै समाज बाधक बनेको छ उसको घाउमा मरमपट्टि गर्न आँखा तरेको छ। यहीनेर आएर काफ्काको वचन सत्य हुन्छ।
मलाई आज झपार्ने महोदयले सायद मलाई झकझकाउन खोजेको हो। उसको मप्रतिको स्नेह बहेको हो। खासै भन्नुपर्ने हो भने मैले उप्रति कृतज्ञता ज्ञापन गर्नुपर्ने हो।
यद्यपि मलाई याद छ सिक्किमेेली समाज आजभन्दा तीस वर्ष या बीस वर्ष अघिको समाज जस्तो छैन। धेरै परिवर्तन भएको छ। सिक्किमेेली समाज एक राजनीतिक रुपमा सचेत समाज थिएन। उसलाई आफ्नो जीवन धान्ने जसोतसो वृत्ति चाहिएको थियो। हाल सिक्किमको हरेक गाउँ समाज र व्यक्तिको राजनीतिकरन भएको छ। यहाँ राजनीति भन्नाले वर्चस्व बुझ्नुपर्छ। सिक्किममा राजनीतिलाई सत्तासित जोडेर हेर्ने प्रथा छ। यसलाई एक प्रतियोगिता सम्झे हुन्छ जसले जित्छ उसले उपहार पाउँछ सत्ताको। प्रत्येक व्यक्ति सत्ताको सुख र स्वाद चाख्न उद्विग्न रहन्छ। प्रत्येकलाई आत्मविश्वास छ ऊ नै सत्ताको निम्ति सुयोग्य पात्र हो। प्रत्येक अन्य कुपात्र हुन। यसैले सिक्किममा प्रलय आउने भविष्यवाणी गरिरहन्छन। अनि त्यो प्रलयबाट बचाउँन उसको मात्र क्षमता छ। एक डिस्टोपियन चित्र प्रत्येक दिन कोरिन्छ। आफैंलाई सुपात्र सम्झिनेले सिक्किमको सुनौलो घाम उसको कब्जामा रहेको विश्वास गर्छ।
सिक्किम विश्वविद्यालयमा हाल विद्यावारिधि गर्दै गरेकी रेणुका बस्नेतले वर्तमान सिक्किमेली समाजको एक विशेष वर्गको यसरी चित्रण गरेकी छ
"सधैॅ अरू गलत लाग्नु, अरूको गल्तीमात्र देख्नु अनि आफूमात्रै जान्दछु भन्ने लाग्नु र मजति जान्ने अरू छैन भन्ने विचार आउनु ‘Cerebral Narcissistic personality disorder’ हो।
समाज Narcissistic epidemic ले ग्रसित छ।🫰🏻
लाग्नु, अरूको गल्तीमात्र देख्नु अनि आफूमात्रै जान्दछु भन्ने लाग्नु र मजति जान्ने अरू छैन भन्ने विचार आउनु ‘Cerebral Narcissistic personality disorder’ हो।
समाज Narcissistic epidemic ले ग्रसित छ।🫰🏻"
मलाई लाग्यो रेणुकाले ठिकै भनेकी हुन। सिक्किममा वाक स्वतन्त्रता छ। पत्रकारहरू सत्तासित सशंकित हुन परेको छैन। यसलाई राष्ट्रिय मिडियासित तुलना गरेर हेर्नु हो भने ठिक विपरीत छ। भारतीय राष्ट्रिय मिडिया प्रश्न गर्न नसक्ने बबुरो अवस्थामा पुगेको छ। तर जनतामा प्रश्न मात्र छ समाधान भने छैन। सबै समाधान उनीहरूसित रहेको भ्रममा उनीहरू छन। यसैले रेणुकाले भनेकी आत्मरति सही लाग्दछ।
सिक्किमको राजनीतिकरन भए पनि आवश्यक राजनीतिक चेतना भने सर्वराह अथवा सबै जनतामा पुगेको भने छैन। सिक्किमेेली जनता पढन्ते होइन, अफवाह र सुनेको भरमा र निजी हित सर्वोपरि राख्ने विचारले ग्रसित भएको हुनाले सही सूचना सङ्ग्रह र ग्रहण गर्न सक्तैनन्। यसैले धेरै भ्रामक कुराहरूतिर अल्झिरहेका हुन्छन्। उदाहरणार्थ समान नागरिक संहिता (युसीसी)को मुद्दालाई लिन सकिन्छ। बिजेपी दलको एजेन्डामा रहेको मुख्य मुद्दामा युसीसी एक हो। केही समय अघि केन्द्रमा रहेको बिजेपी दलले भारतभरि लागू हुने गरी युसीसी कानुन ल्याउने चर्चा चुलिएपछि सिक्किममा यसको बहस चल्न थाल्यो। फेसबुकमा यसको समर्थनमा धेरै स्टेटस आए। यसको महत्त्व र विशेषगरी महिलालाई न्याय र सुरक्षाको निम्ति युसीसी अति आवश्यक भएको भने। सकारात्मक कुरा आए तर यसको नकारात्मक पक्ष भने कसैले उल्लेख गरेन। निकै समय यसको उल्लेख भइरह्यो। नभन्दै सिक्किमको लागि उपयुक्त छ छैन कसैले बहसमा ल्याएन।
एउटा कार्यक्रममा मुख्यमन्त्रीले घोषणा गरे सिक्किममा युसीसी लागू हुने छैन।
मैले सम्झेँ मुख्यमन्त्रीको यो घोषणाको विरोधमा खोइरो खन्छन होला ती युसीसीको अधिवक्ताहरूले। तर सुनसान रह्यो सपाट रहे फेसबुकको भित्ताहरू। कसैले केही लेखेनन। कुनै विपक्षी दलले यो मुद्दाप्रति ध्यान दिएन, मानौँ यो महत्त्वहीन हो। कुनै मुद्दा होइन। यो लागू हुनु र नहुनुले आम जीवनमा केही फरक पर्दैन - जस्तै भयो यसको प्रतिक्रिया नदेख्दा।
भर्खरै उत्तराखन्ड राज्य जहाँ बिजेपी सत्तामा छ युसीसी पारित गरेर देशमा युसीसी पारित गर्ने प्रथम राज्य बने त्यहाँ तर जनजाति समुदायलाई भने युसीसीबाट बाहिर राखे अर्थात उनीहरूलाई यो ऐन लागु हुने छैन। उत्तराखन्डको यो अडानले सिक्किमको अडान सही रहेको प्रमाणित भयो। मलाई लागेको थियो यसपछि सिक्किममा फेरि चर्चा हुनेछ; तर भएन।
केन्द्रमा जुन घटना हुन्छ यसको प्रभाव राज्यलाई पनि पर्छ। यसको चेतनाको तीव्रता सिक्किमेेली राजनीतिक रुपमा सचेत रहने चाहने समूहमा अनुस्थित रहेको यसले प्रमाणित गर्छ।
अर्को प्रकरण हो राज्यको ऋण। सिक्किम सरकारले निकै ठूलो ऋण उठाउने प्रस्तावको खबर आयो। हुनत राज्यले लिने ऋण केन्द्र सरकारको अनुमति अनुरुप हुन्छ। झन अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट ऋण लिँदा केन्द्र सरकारको जाँच र प्रत्यक्ष अनुमोदन बिना सम्भव नै हुँदैन। सिक्किमले ऋण लिन लागेको देखेर फेसबुकमा सरकारको नाकामी र सिक्किमे जनतालाई ऋणको बोझ लगाइरहेको आरोप आइरहेको देखेँ। सरकारले लिने गरेको ऋणलाई जनतालाई ऋण भार हो भन्ने तर्कमा नेपालको एक कथाकार समीर पाख्रिनले चाखलाग्दो लघु कथा लेखेको छ। उनको कथाको एक पात्रले सरकारले लिएको ऋण प्रत्येक जनताको हो भन्ने बुझेर उसको भागमा परेको दुई लाख ऋण पुर्ख्यौली जमिन बेचेर तिर्ने प्रयासमा लागेको हुन्छ। ठिक यही बुझाइ सिक्किमतिर पनि रहेको बुझिन्छ।
सिक्किमले लिन लागेको ऋणप्रति सचेत हुन चेतनशीलता देखाइएको बुझिनु पर्छ। तर सिक्किम देश नभएर एक राज्य मात्र हो यसैले देशले ऋणप्रति जानकार किन उतिकै आवश्यक हुन्छ। भारत सरकारको ऋण भार पछिल्लो साल सकल घरेलुु उत्पादनको ९०% प्रतिशत पुग्न लागेको देखेर आइएमएफले चेतावनी जारी गरेको थियो। ऋण अत्यधिक भए ऋणको जालमा फस्ने सम्भावना हुन्छ। देश ऋणमा चुर्लुम्म डुबे यसले राज्यको कोषमा प्रभाव पार्छ। विकासीय कामहरूमा अवरोध आउँछ। देशको यो स्थितिबारे भने सिक्किमेली चेतना जागेको देखिएन। यसले थप बुझाउँछ सिक्किमे जनताको राजनीतिक चेतना सिक्किमको सानो भौगोलिक र राजनीतिक सीमामा सीमित छ भनेर।
मसित एक रोचक घटना छ। सायद बीस वर्ष अघिको कुरा हो। म मेरो पारिवारिक घर रङ्गली बजार जान टेक्सी स्ट्यान्डमा गएर टेक्सि गाडीको अघिल्लो सिटमा बसेँ। ड्राइभर आएर मलाई भने बस्नोस ठिकै छ। एकैछनमा एक सुटेड बुडेट व्यक्ति आए। उक्त व्यक्तिले मलाई पुलुक्क हेरे मैले चिने। म कुनै समय प्राइमरी टिचर रहेको बेला मेरो विद्यार्थी रहेछ भनेर। म उसलाई हेरेर स्वागतमय हाँसे। तर उसले भने आँखा खुम्च्याएर निकै हेपाहा पाराले मलाई हेरे। सायद मलाई घिनलाग्दो देखे वा एउटा सानो मान्छे ठूलो ठाउँ ओगटेको । त्यतिबेला मैले सम्झेँ मलाई बिर्सेछ। हुनपनि ऊ अलि सानै थियो। अहिले सम्भवत कुनै सरकारी विभागमा ठूलै पद ओगटेर बसेको होलान्। (पछि थाहा पाए त्यतिबेला उनको पद उप निर्देशक थिएछ।) ड्राइभर आएर मलाई भने पछि जानोस यहाँ सर बस्नुहुन्छ। ड्राइभरले हकारे जस्तो गरे पछि म निस्केँ। यो गाडीलाई छोडेर कुनै अर्को गाडी रिजर्भ लिएर जाऊँ जस्तो पनि लाग्यो आफू अपमानित भएको देखेर। छेउछाउ कुनै त्यस्तो गाडी थिएन भएको एक दुईवटा जान मानेनन।
यसरी नै मैले पढाएका विद्यार्थी मलाई नचिन्ने भएको अन्य पनि देखेको हुनाले उसले मलाई नचिन्नू स्वाभाविक जस्तो लागेको थियो त्यतिबेला। तर अहिले झन्डै बीस पच्चीस वर्ष पछि दुई चारदिन अघि म बस्ने अपार्टमेन्टको छेउमा मलाई देखेर नमस्कार सर कहिले आउनु भयो सिलगढी भन्दा म तीन दङ्ग परेँ। एकछिन हक्कबक्क परेँ। मलाई अन्दाज काटे यो मान्छे पक्कै रिटायर भयो होला र मलाई चिन्न थालेछ। मैले सोधेँ तपाईं रिटायर कहिले हुनुभयो ? उसले अनकनिँदै भन्यो रिटायर भएँ। कहिले भए त्यो चाहिँ बताएन। मलाई सोध्ने उत्सुकता पनि रहेन।
यो घटनाबाट मैले बुझेँ उसले मलाई गाडीमा गरेको व्यवहार म प्राइमरी शिक्षक नै सम्झेर अनि उसको ओहदाको घमण्डले सानो व्यक्तिसित बोल्न उसको अहमले नदिएको रहेछ भनेर।
सिक्किमको रुप यो पनि हो।
उनीहरू कुनै पनि तर्काबाट धेरै टाढा रहेका हुन्छन्। माथि रेणुकाले भने झैँ यसप्रकारको नार्सिसिस्टिक प्रवृत्ति लिने यदाकदा बाटो बाटोमै भेटिन्छ।
मैले मलाई गालि गर्ने मित्रलाई यति लामो गनथन गरेर आफ्नो स्पष्टीकरण राख्न सम्भव थिएन मन पनि भएन।
सबैको कुनै स्थितिबारे आफ्नो आफ्नो विचार हुन्छ। जति धेरै मान्छे उति धेरै विचार उति धेरै बुझाइ। समयको साथ व्यक्ति र समाजमा परिवर्तन आउँछ। परिवर्तन सकारात्मक नै आउनेछ भन्ने हुँदैन, नकारात्मक पनि हुनसक्छ। समय परिवर्तन हुँदैमा इतिहास दोहिरिदैन भन्ने होइन, दोहिरिन सक्छ। कार्ल मार्क्सले भनेको छ
History repeats itself, first as tragedy, second as farce. ...
इतिहास ज्ञान वा शिक्षाको लागि पढनु पर्छ भन्छ। तर हामी त्यही मात्र बुझ्न र पहिल्यान चाहन्छौं जो हामीलाई मन पर्छ चाहे हामीलाई मन परेको कुरा उचित होस वा अनुचित फरक पर्दैन।
यसैले सिक्किमका सबै समूह प्रगतिशील विचारका छन भनेर मान्ने ठाउँ छैन। चाहे प्रौढ समाज वा युवा समूह पुरातनवादी विज्ञान विरोधी धर्मान्धता मुक्त रहेको देखिँदैन। राजनीति भनेको वर्चस्व हो र वर्चस्व निजी हितको प्रयोगमा आउन सके मात्र सान्दर्भिक रहेको भन्ने बुझाइबाट मुक्त छैन। यद्यपि सम्पूर्ण सिक्किमेेली समाज यही परिभाषामा समेटिन्छ भन्ने चाहिँ होइन। तर एउटा कुरा के देखिन्छ भने धेरै जसो सार्वजनिक कामहरू भने राजनीतिक उद्देश्यले नै प्रेरित हुनेगर्दछ। कसरी हुन्छ आफ्नो उपस्थिति देखाउन, समाजलाई आफूतिर जुनै हतकन्डा अपनाएर आकर्षित गराउन, आफ्नो र आफ्नो परिवारको भविष्य यस्तै कुरामा देख्न धर्म जस्तै मानेर पहिल्याउने निकै ठूलै हुद्दा जीवन्त छ।
जब हामी सबै कुरा धमिलो देखिरहेका हुन्छौं आफ्नै बाटो हराएको हुन्छ भने अन्यलाई कसरी बाटो देखाउने ?
समाज सेवा भनेपछि देश सेवा आउँछ। देश सेवाको अर्को अर्थ हो राष्ट्रवादी हुनु। मलाई राष्ट्रवाद भने पछि हिटलरको भाषण सम्झना हुन्छ।
देशको निम्ति मर्नु गौरवान्वित हुनु होइन भन्छ r
र यो नारा नै झुटो हो भन्छ युद्ध कवि विल्फ्रेड ओवेन
To children ardent for some desperate glory,
The old Lie: Dulce et decorum est
Pro patria mori. (it is sweet and fitting to die for one's country)
देशको भक्ति भनेर हामी राजा वा नेताको भक्ति गरिरहेका हुन्छौ देशको होइन।
"देशभक्ति त मर्दैन चुत्थो देश भए पनि
पतिभक्ति त मर्दैन पापी पति भए पनि " भनेर नाटककार बालकृष्ण समले भनेर गए। चुत्थो देशप्रति भक्ति देखाउनु हो भने क्रान्ति भन्ने शब्द नै निरर्थक हुन्छ। समाज कहिले परिवर्तन नहोस जस्तो छ त्यस्तै चलिरहोस भन्ने हुन्छ। पीडितको आवाज माथि आउनु भएन। अन्याय र अत्याचार सहेर बस्नुपर्ने हुन्छ। पापी पतिको सेवामा अनवरत रहनु परे नारी मुक्ति कहिले नहुने हो।
परिवर्तनको बीउ व्यक्तिले रोप्दछ समाजले कहिले रोपदैन। समाज त अहङकारी नै हुन्छ। समाजले नेतृत्व खोज्दछ व्यक्तिले त्यही एकल नेतृत्वको विरोध गर्दछ।
दुई महीना अघि सुधा भारद्वाजले लेखेकी संस्मरणात्मक पुस्तक From Phansi Yard पढेँ। सुधा भारद्वाज एक समाज सेविका रहिछ। गरिब, दलित जनजाति सत्ताबाट अवहेलित समूहको सेवाको निम्ति जीवन समर्थित गरेकी। तर सरकारले उसलाई माओवादी खुनी देशद्रोही भनेर जेल हाले। उनले एकैजना व्यक्तिको हत्या त के हात पनि उठाएकी छैन। यद्यपि सत्ताको निम्ति उनी अपराधी। तीन वर्ष फासीको सजाय पाउने कैदीको झ्यालखानामा बन्द रहिन। हाल बेलमा शर्त सहित छुटेकी छिन। शर्त अनुसार उनी मुम्बईबाट बाहिर जान पाउँदिन। देशले एक निरपराध व्यक्तिमाथि कस्तो शास्ति दिन सक्छ यसको ज्वलन्त उदाहरण। काफ्का यहाँ पनि सत्य हुन्छ। समाज सेवा सँधै फलदायी हुन्छ भन्ने भ्रम यसैले मेटाउँदछ। देश र समाज सेवाको अर्थ व्यक्ति र सत्ताको फरक हुन्छ भन्ने प्रमाण यसले दिन्छ।
Comments
Post a Comment