राइजोमेटिक रोमान्स
एक हुनेवाला कविको वयान। हुनेवाला कवि हुनुको कारण अझैसम्म उसले "हुनत म कवि होइन तर एउटा कविता प्रस्तुत गरिरहेछु स्वीकार्नु होला" भनेर आफ्नो कविता पठन गर्छ। अगमसिंह गिरी, दानियल खालिङ जस्ता ठूला नाम लिएर गरिएको कार्यक्रममा नजाने प्रश्न आएन। यद्यपि वाट्सएपमा भए पनि उसलाई निम्ति दिइएको थियो। निमन्त्रणा पत्रलाई उसले सेभ गरेर राख्यो। दुई तीनपटक पढेँ। प्रत्येक पल्ट उसलाई खुशी दिएको थियो। यहाँ तल राख्न लागेको उसको अनुभूति र पंक्तिकारको थप टिप्पणी हो।
नेपाली साहित्य संस्थान सिलगढीको तत्वावधानमा गिरी जयन्ती यसपटक पनि एकदिन अघि मनाइयो। सायद संस्थानलाई गिरीप्रतिको भक्तिभाव अन्य भन्दा कम छैन भन्ने सन्देश पनि होला। हुनत मैले वा अन्य कसैले यसबारे संस्थानको अडान सोधेको बुझ्न चाहेको थाहा भएन। हामीलाई गम्भीरता भन्दा मनोरञ्जन चाहिएको हुन्छ। वास्तवमा हामी मनोरञ्जनलाई हामी खुशी हुनुको सन्तुष्ट रहनुको र सम्पन्न नै भन्ने भ्रामक कुरा अघि राख्न खुबै रुचाएर नै हो। हामी वीर र रौसे एकैसाथ हुन सक्छौं। नभन्दै कवि अगमसिंह त धेरै रोए काव्य नै आँसु लेखे। हामीले उनको आँसु पुछ्न सक्यौं वा सकेनौं थाहा छैन मलाई। हामी बिच कसैले उनको आँसु पुछिदिने भूमिका निभाउन सक्यौं वा सकेनौं त्यो पनि थाहा छैन मलाई। एउटा विचारको जरा अनेकौं हुनसक्छ र कुन मूल हो र कुन हाँगा हो छुट्याउन गाह्रो पर्छ। मलाई यतिबेला यही कुराले सताइरहेको थियो। कुनै विशिष्ट प्रतिभाको जन्मदिन हामीले धुमधामसित मनाएर प्रतिभाको सम्मान जतिसक्दो गर्ने प्रयास त गरेकै हुन्छौं। हिजोको कार्यक्रममा कवि मनप्रसाद सुब्बाले भनेको नार्सिसिस्टिक भावना नै त होइन यस्ता आयोजन? प्रश्न आउने हो कि भने जस्तो भयो मलाई। उनले साहित्य सृजनामा राइजोम र अर्बोरियल सिद्धान्तको पनि कुरा बताए। हामीलाई चाहिने कुराहरू। एक विशिष्ट कविद्वारा आफ्नो विशिष्ट बुझाइको वक्तव्य मनोहारी र ज्ञानवर्धक नै हुने हो। नवपुस्तालाई अध्ययन गर्ने एउटा नयाँ गोरेटो देखाइएको हो भन्न सकिन्छ।
ऊ आफूलाई युवा समूहको प्रतिनिधि नै सम्झेको हुनाले उसको निम्ति पनि मार्गनिर्देशन हो भन्ने लाग्यो। मनमा खिलेर राख्नुपर्ने विचारहरू।
हुनत यस्तो निर्णायक चुडान्त कुरा राख्नु उचित होइन जस्तो लाग्छ। यो जमाना लेखकको जमाना होइन, पाठकको श्रोताको हो। बलिवुडको फिल्म चल्नु नचल्नु दर्शकमाथि निर्भर रहन्छ। दर्शकले रुचाएन भने जतिसुकै राम्रो बनाउन किन निर्माताले प्रयास गरेको होस फिल्म फ्लप हुने हो। निर्माताको पैसा डुब्ने हो। हिरो हिरोईनको इज्जत पनि रसातल हुने हो। दर्शक भनेको पाठक हो। साम्यवादी सत्तामा सर्वहारा सर्वोच्चमा हुन्छ भन्छ। सर्वाहाराको सत्ता हुन्छ भन्छ। हुनत कार्लमार्क्स एंगल्स लेनिन कोही पनि सर्वहारा वर्गको चाहिँ थिएन। यसैले यताकता अलि गडबड छ जस्तो पनि लाग्छ। नभन्दै केही समय अघि नामवरसिंहको एक लेखमा भने बताएको रहेछ। सर्वाहारा हुँदैमा सर्वहाराको चेतना हुन्छ भन्ने हुँदैन अरे। सर्वहारा खासमा चेतना हो भन्छ। यसैले आफू सर्वहारा नभए पनि सर्वहाराको चेतना विकसित छ भने सर्वहाराको नेतृत्व गर्न सक्छ। यो दृष्टिलाई पल्टाएर साहित्यमा हेर्नु हो भने लेखकमा पाठकको चेतना हुनसक्छ। पाठकमा पाठक हुनुको चेतना नहुन सक्छ। यस्तो बेला पाठकको प्रतिनिधि लेखकले गरिदिनु पर्यो हैन त ? कि कसो भन्नुहुन्छ?
अब फेरि हाम्रो पात्रलाई चिनौँ जसको अनुभूति यहाँमाथि बताइएको हो। उसको उमेर लोभलाग्दो छ। ३० र ३५ को बिचमा। त्यस्तै देखिन्छ तर तोकेर भन्न गाह्रो छ। उसलाई एक आकर्षक युवक भन्न कुनै हिचकिचाहट गर्नु पर्दैन। अङ्ग्रेजी मै भन्नू मन पर्यो ऊ हेन्डसम छ। ५ फिट दस इन्च जतिको हाइट। स्लिम छ। केस टम्म कालो छोटो छोटो काटेको तर सुहाउँदो।
आजको कार्यक्रममा एक सुन्दर युवतीको उपस्थितिले माहौल रोमाञ्चक बनाएको थियो। सायद हाम्रो पात्र खुशीले गदगद भयो होला। आजको कार्यक्रममा आएर उसले एक स्मरणीय पल सम्हालेर राख्न आनन्दाभुति दिने लाग्यो। मुसुक्क मुस्कायो पनि। कवि मनप्रसादजीको ज्ञानप्रद वार्ता सुनिरहनु कि एक सुन्दर युवतीको मोहनी रुपको सौन्दर्य पान गरिरहौँ उसलाई दोधारमा पारिरहेको थियो। नजान्दो पाराले उसले चिहाएको थियो। उसले देखेको थियो युवती वार्ता सुन्नमा तल्लीन थिई। आँखा जुधाउन सकिएन। मन निराश भयो। उसले आफूले लगाएको लुगा हेर्यो। चेक सर्ट, ग्रे पेन्ट, हातको नाडीमा आइफोनको घडी, आइफोन प्रो 15 को मोबाइल फोन हातमा राखेको। (सायद सबैले हेरोस भनेर होला)। ऊतिर खासै कसैको ध्यान गएको नदेख्दा दुखी पनि हुन लागेको हो। त्यो सुन्दर युवतीले झन पटक्कै नहेरिदिँदा रिस उठेर कार्यक्रम बिचमै छोडेर जाने मन नगरेको होइन। तर माथि मञ्चबाट वक्ताको मीठो वार्ताले भने उसलाई उठेर जान रोकेको लाग्यो।
राइजोमबारे उसले सुनेर एउटा किताब किनेको थियो। निकै मोटो रहेछ। किताब पनि। किताबको नाम पनि अचम्भैको ए थाउजन्ड प्लेट्यु रहेछ। किताब किनेर पछुतो नलागेको होइन। उसलाई मोटो किताब पढन मन पर्दैन। कहिले पढिसक्नु? समय कहाँ छ त्यस्तो? बोरिङ लाग्दै भए पनि केही पृष्ठ भने पढ्यो। लेखक पनि दुईजना रहेछ दिल्युज र गुवाट्टारी। दुवै फ्रान्सको। संसारको सबै नयाँ चिन्तन धारा पनि यिनीहरूले नै विकास गर्नु पर्ने कस्तो स्वार्थी छन हौ यिनीहरू। हामी चाहिँ खाली उनीहरूको मात्र पढनु ? हामी यस्तो नयाँ चिन्तन धारा ननिकाल्नू ? उसको मनमा प्रश्न उठेको हो।
किताब उसलाई राइजोमबारे हो भनिएको थियो तर होइन रहेछ। पहिलो अध्याय मात्र रहेछ। त्यो पनि बुझिए त के मरिजाऊँ। पढिसकेर यसो केलाइ हेर्दा दिमाग त शून्य ! के पढ्यो के पढेन के बुझ्यो के बुझेन फेद न टुप्पा भएको अझै याद छ उसलाई। यही कारणले हो आज उसलाई मनप्रसादजीको राइजोमबारे वक्तव्य ध्यान लगाएर सुन्नु मन परेको। हुनपनि कति सरलताको साथ बुझाउनु भएको थियो। उसलाई मनमा घाम लागेको जस्तो हुँदै थियो। यद्यपि घरिघरि फेरि त्यही सुन्दरीलाई सम्झनु पुग्थ्यो उसको मन। यसैले आखिरमा वार्ता राम्रो बुझ्न नसकेको जस्तो पनि भयो।
यस पंक्तिकार पात्रको मानसिकता देखेर छक्क पर्दछ। उसलाई कसरी बुझ्ने? उसले कविता लेख्दोरहेछ। सायद राम्रो कविता लेख्छ होला। सचेत देखिन्छ किनकि दिल्युज गुवाट्टारी जस्ता कठिन र अत्याधुनिक दार्शनिकको किताब पढने साहस पनि गर्दोरहेछ। हुनत उसले किताब छिचोलेर पढे वा पढेनन स्पष्ट छैन। साहित्य अनुराग रहेको बुझिन्छ तर ऊ भ्रान्त पनि भइहाल्दो रहेछ। साहित्य र रोमान्समा कसलाई प्राथमिकता दिनुपर्ने ऊ कन्फ्युज देखिन्छ। रोमान्सलाई दिने समय र साहित्यलाई समयको फाटवारी गर्न सकेको छैन। दुईवटा नावमा खुट्टा हालेको झै छ। हुनत ऊ युवा छ उसलाई कुनै सुन्दर वस्तु मन पर्न स्वाभाविक हो।यतिबेला फ्रायडको प्लेजर प्रिन्सिपलबारे सोँच्न सकिन्छ। मान्छेको स्वभाव हो उसले मनोरञ्जन जुनै समय पनि खोज्छ। तर सबै मनोरञ्जन उसले भने जस्तो उपभोग गर्न सक्दैन र नै मनमा कुन्ठा उप्जिन्छ। कसैलाई यही कुन्ठाले सिकिस्त पार्छ। वास्तवमा मान्छे अति आध्यात्मिक हुनु वा धार्मिक हुनु, कुनै कुरामा बडी गम्भीर भएर लागिपर्नु उसको कुन्ठाको निकासी हो।
यति भने पछि फेरि पात्रलाई बुझ्न जान सक्छौ। बिचैमा बिचल्ली बनाएर छोडेको पात्रको समीप जाऊँ।
उसले एउटा कविता सङ्ग्रह प्रकाशित गरेको थियो। कस्तो उत्साह भरेको थियो आफ्नो पहिलो पुस्तक प्रकाशनमा आउँदा। त्यतिबेला ऊ यति प्रसन्न रहन्थ्यो मानौ ऊ भन्दा प्रसन्न अन्य कोही हुन सक्दैन। सबैसित हाँसी खुशी बोल्ने, शरीरमा उस्तै फूर्ति, जता हेर्यो तेतै रमाइलो। एउटा सुन्दर तारे होटलमा पुस्तक विमोचन कार्यक्रम राखिएको थियो। क्षेत्रका विशिष्ट कवि, समालोचक, पत्रकार, नेतागण, संघ संस्थाका प्रमुखहरू सबै ठूलाबडाको उपस्थिति रहेको थियो। गलाभरी खादा र मालाको भार, शुभकामना बधाईको लछेप्रो।
उसले सम्झेको थियो उसले छापेको एक हजार कपि रातारात बिक्री हुनेछ, हारालुछ हुनेछ। दोस्रो संस्करण तेस्रो संस्करण छापाखाना लगातार चल्नेछ। तर त्यस्तो भएन। उसले छापेको हजार कपिको दुई सय प्रति बिक्न धेरै समय लागेको हो। घरमा राश थुपार्नु भन्दा उपहार दिनु उचित लाग्यो। तर उपहार दिने पुस्तकमा उसले लेखेको हुन्थ्यो गहन टिप्पणीको आग्रह भनेर। नभन्दै कसैले पनि लेखेनन उसको कृतिको समीक्षा। यसैले उसले आफ्नो फेसबुक स्टेटसमा लेखेको थियो कवि त भएँ तर पाठकविहीन कवि भएँ। यसको केही समयपछि हो उसले आफू कवि हुन नसकेको घोषणा गरेको हो। कवि गोष्ठीमा ऊ पुग्छ र आफ्नो कविता पाठ गर्छ तर कविता सुनाउन अघि भन्न बिर्सदैन ऊ कवि त होइन तर धर्म सम्झेर कविता कोरेर सुनाइरहेछ। आशा छ श्रोताले यसलाई स्वीकार्नु हुन्छ होला। अलिकति पनि तपाईंलाई मनोरञ्जन दिन सके म भाग्यशाली रहेको बुझ्नेछु।
यही पछि हो उसले निकै अध्ययन गर्न थालेको। किताब त किन्नुपर्ने रहेछ, सकेसम्म पढनु पर्ने रहेछ। पढनु को विकल्प छैन रहेछ भनेर बुझ्न थालेको। हुनत बुझ्न त बुझ्यो तर अध्ययनमा निरन्तरता भने दिन सकेन। किताब थाक लाग्यो घरमा। कति किताब त प्लास्टिक पनि नखोलिछ बुकसेल्भ्समा।
देवकोटा संघमा कार्यक्रम सकिए पछि ऊ केही मित्रहरूसित बातचितमा मग्न रह्यो। एकजना फेसबुकमा मात्र चिनाजान भएको त्यही भेटियो। हात मिलाए र गफ चुट्नु थाले। निकै हाँसो पनि भयो फोहोरी गफ गरेर।
साझँपख एक हुल होटलतिर जाने भयो एक हुल। हुल त के भनौं चारजना थियो। सन्जोक पनि कस्तो एक कवि, एक गायक, एक अभिनेता र एक चित्रकार परेछ। सबै चालिस नकाटेको। दुई विवाहित दुई अविवाहित। सबै मदिरा सेवनको अनुरागी। एकजना भने सिगरेट खुब तानेको देखियो। आँखा केही झुलेको राता राता जस्तो देखिने। धमिलो होला। सायद मदपान मात्र नगरेर नशालु पदार्थ लिँदो हो। प्रख्यात बिट कवि एलेन्ज गिन्ज पनि नशालु पदार्थको अभ्यस्त थिए सायद। इन्डिया आएर साधुहरूसित गाँजा धितमरुञ्जेल तानेको भन्ने कतै पढेको थियो पात्रले। सिर्जना नशा हो भने जस्तो।
होटलमा पुगेर एक क्याबिन ओगट्न पुगे तिनीहरू। उसले
व्हिस्की मगायो। दुईजनाले ब्रान्डी लिने रे। एकजनाले वाइन भन्यो। रेड वाइन मन पराउँदो रहेछ। चिकन चिल्ली, प्रअन, फ्रेन्च फ्राई। सबै ननभेज रहेछ। उसलाई लोबस्टर खाने इच्छा भएको हो तर छैन रहेछ। खल्लो नलागेको होइन।
व्हिस्कीको साथमा आइस मगाएको थियो। दुई तीन टुक्रा आइस लगायो र उज्यालो अनुहार बनाएर चुस्की लियो।
पिउन थालेपछि गफको शिलशिला अघि बड्यो। बातचितको कुनै आधार थिएन लक्ष्य थिएन। छलफल गर्नु थिएन कुनै निर्णयमा आउनु थिएन। एक निरुद्देश्य बातचित। सेक्स, तिनीहरूको सेक्सुयल लाइफ, दैनन्दिनी देखि लिएर गीत, सङ्गीत, कला, नाटक चारैदिशा
छरिएको तर कुनै निष्कर्षमा पुग्न नसकेको। तिनीहरू फेरि राजनीतिमा जान लाग्यो गोर्खाल्यान्ड जिटिए बिजेपी मोदी सबै भ्याउन लाग्यो। बिचबिचमा सिक्किम र विलय मुद्दा पनि आयो। ती मध्ये एकले भन्यो सिक्किमे साथीलाई बिच्काउनु छ भने सजिलो छ विलय भन्नू पर्छ बाम हुन्छ। अनि तिनीहरू सबै गलल हाँसे। एकजना त आँशुसरी पनि भयो हाँसेर।
व्हिस्कीले रमझम हुन लागेको थियो होला ऊ केही आवेशमा आएर बोल्यो। गोर्खाल्यान्ड मुद्दा माटोको मुद्दा हो। यो माटो हाम्रो हो। माटो सम्झँदा उसलाई आफ्नो काका, मामा, बडाहरूले 86 को आन्दोलनको घटना सुनाएको सम्झ्यो। कसरी तिनीहरूले माटो भनेर कराएर माटो ख्वाम्म खाए। माटोको कसम खाए पनि। तर अहिले आएर हामी हाम्रो माटो बेच्न थालेका छौँ। उसले भन्यो। उसले पनि आफ्नो ठूलो सम्म परेको टार तल बंगालीलाई पचास लाखमा बेचेको हो। त्यो बंगालीले रिसोर्ट बनाउने अरे उसको जमिनमा। त्यही पैसाले आइफोन, गाडी किनेको हो। माटोको कुरा गर्छौं तर माटो चाहिँ बेच्छौ। फेरि दिक्क मानेर उसले भन्यो आइ हेट पोलिटिक्स।
राजनीतिको कुराले चारैजना क्षुब्ध हुन लागेको थियो। ऊ भावुक भयो। भावुक हुँदा उसलाई कसैले दोहोरो सोधेको वा बोलेको मन पर्दैन। ऊ मोनोलोग मोडमा जान्छ। सम्वाद सपाप्त हुन्छ। होटल क्यालिफोर्निया गीतमा भने झैँ बोल्न थालेपछि कान थुनेर बस्न सक्छ तर उसलाई कसैले रोकेको मन पर्दैन
"We are programmed to receive
You can check out any time you like
But you can never leave !" उसले बोल्दै गर्दा कोही उठेर गए उसलाई रिस उठछ।
उसको लामो मोनोलोग यस्तो थियो
"हामी गोर्खाहरू एकदमै इमोसनल छौँ। कतिबेला रिस उठने कतिबेला रमाउने पत्तै हुँदैन। हामी माझ धेरै जसो अझै पनि अर्ध सामन्ती र रुमानी छौँ। हामीलाई सत्य युगको नोस्टाल्जिया हुन्छ। अतीततिर फर्कन चाहन्छौं। सुगौली सन्धि पूर्वको समयलाई हाम्रो गौरव पूर्ण समय ठान्छौँ।
हाम्रो कविता कथा नाटक उपन्यास हेरौं। सबै अतीतमुखी छ। युरोपमा रोमान्टिक युग बीस वर्ष पनि रहन सकेन। तर दुई सय वर्ष वितिसक्दा हामी अझै रोमान्टिक कविता, रोमान्टिक गीत, रोमान्टिक कथा उपन्यास मै रमाइरहेका छौँ। यथार्थ पनि मन पराउँदैनौँ।
भर्खरै जार फिल्म देखाएको थियो। त्यसमा अश्लील डायलग छ भनेर फिल्म नै ब्यान गर्नु पर्छ जस्तो गरे। झन एकजनाले फेसबुकमा गर्वसाथ स्टेटस लेखे। परिवार सहित हेर्न जाऊँ भनेको त फिल्म नहेरेकै राम्रो भएछ। राम राम हरे हरे शिव शिव कुन आँखाले त्यस्तो सिनेमा हेर्नू ? छोरी बुहारको अघि कसरी हेर्नु ?"
लेखनाथ भाइले राम्रो उपन्यास लेखे। फुलाङ्गे। शीर्षक पनि कति राम्रो। उसले गाउँ ठाउँको मान्छेले जस्तो भाषा बोल्छ त्यस्तै लेखे। यसरी लेखेन भने गाउँको वास्तविकता कसरी देखाउने? यसको पनि विरोध भएछ। अश्लील भाषा भयो भनेर। भाइ लेखनाथले स्पष्टीकरण दिनु परेको पढेँ मैले।
यसले के बुझाउँछ भने साहित्यमा रहेको प्रकृतिवादी लेखन हामी पचाउन सक्दैनौं। हाम्रो ठाउँमा एमिली जोला जन्मिन सक्सदै नसक्ने रहेछ। नाना र जर्मिनल जस्तो उपन्यास लेखिन नसकिने रहेछ।
हाम्रो समालोचक समाज चिन्तक पाठक सबै एकस्वरमा भन्छ हाम्रो दुख सुख देखाएर कथा कविता उपन्यास लेख्नुपर्छ भन्छ। साहित्य समाजको दर्पण हो भन्छ। समाजको ऐना हुनुपर्छ भन्छ। अब यो त यथार्थवादी लेखन भयो नि। उता भर्जिनिया उल्फले भनेकी रहिछ मान्छेको वा समाजको यथार्थको अनगिन्ती पाटा हुन्छ। लेख्दा त एउटै पाटा मात्र लेख्न सकिने त्यो अनगिन्ती पाटा कसरी लेखिसक्नु ? यसैले उसले भनेकी छ यथार्थ लेखनको चिन्ता छोड। यो भयो एन्टिरियलिज्म। प्रतियथार्थवादी लेखन। के हामीले प्रतियथार्थवादी लेखिरहेका छौ? त्यस्तो गीत वा चित्र कोरिरहेका छौँ? मलाई थाहा छैन।
फेरि अर्को विचारधारा आएको रहेछ उत्तरसंरचनावाद भनेर। तिनीहरू भन्छन यथार्थ भनेर बुझेको त हामीले भाषाको यथार्थ मात्र हो। वास्तविक यथार्थ बुझ्न भाषाको बाटो भएर जानुपर्छ। पुल हो भाषा जसबाट हामी यथार्थमा पुग्छौं। तर यो पुल हामीले सम्झेको जस्तो पुल भने होइन। पुलबाट कहाँ पुगिन्छ हामीलाई थाहै हुँदैन। यो पुलले सबैलाई एउटै दिशामा लाँदैन, फरक फरक ठाउँमा पुर्याइदिन्छ। यहाँ हामीलाई धोका हुन्छ। भाषा हामीलाई तगारो बन्दछ। दरिदाले यसैकारण भाषाको भुलभुलैयाबाट मुक्ति खोज्नु पर्छ। भाषा पनि एक झ्यालखाना हो र हामी यसभित्र कैदी भएर बसेका हुन्छौं । उसले यो पनि भनेको छ पाठको बाहिर केही पनि हुँदैन। पहिला त के भनेको बुझ्न सकिएन। खासमा उसले भनेको चाहिँ कुनै कथा वा कविता पढेर यसले यो ठाउँको त्यो ठाउँको त्यो सत्य बोलेको रहेछ भनेर बुझ्नु भूल हुँदोरहेछ। लेखक कविले त्यहाँ त उसको भाषिक कला पो देखाएको हुँदोरहेछ। सत्य त आफ्नै ठाउँमा चुपचाप बसिरहेको हुँदो रहेछ जो अर्कै छ। हामी यसरी झुक्किदो रहेछौं। तर निराश पनि भइयो। भाषाले झुटो बोल्दोरहेछ, झुटो लेख्दोरहेछ।
भाषा चोर हो भनेर वेदमा लेखेको उसले कतै पढेको थियो।
यसले उसलाई सम्झायो शंकराचार्यको जगन्मिथ्या परब्रम्ह सत्य। जगत भाषा जस्तै रहेछ असत्य। परब्रम्ह सत्य हो तर त्यहाँ कोही जिवित पुग्न सकेको लाग्दैन। कोही पुगेर त्यसको यात्रा संस्मरण पढन पाइएको छैन। नर्क र स्वर्गको भ्रमण गरेको वयान ईटलीको कवि दान्तेले लेखेको छ उसको महाकाव्य डिभाइन कमेडीमा। तर यो पुरै कल्पना हो। दान्ते देश निकाला भएको थियो। देशबाट निकाला भएपछि अर्काको सहारामा रहनु पर्यो। यही निर्वासित जीवनमा उसले महाकाव्य लेख्यो। यसबाट अर्थ लगाउन सकिन्छ उसको देश निर्वासन हुने स्थिति नर्कको हो। समयान्तरमा उसलाई आफ्नो देश फर्किन सक्ने झिनो आशा भयो। यही आशा स्वर्गमा परिणत भयो। यद्यपि उसको मृत्यु निर्वासित जीवन मै भयो। आफ्नो देश फ्लोरेन्स फर्केर आउन सकेन।
पछि फ्लोरेन्स टकसानीको जनताले आफ्नो महान सुपुत्रको सम्मान गर्दै उसको सङ्गमर्मरको प्रतिमा फ्लोरेन्स शहरको केन्द्रमा स्थापित गरे अरे। तर उसको अनुहार क्षुब्ध रिसाएको अभिव्यक्ति दिएको भएको छ अरे। कलाकारले कति गर्दा पनि हँसिलो अनुहार भएको बनाउनै सकेन रहेछ।
आफ्नो अत्यन्त प्रतिभाशाली युगान्तकारी सुपुत्रप्रति फ्लोरेन्सले गरेको अत्याचारको फल फ्लोरेन्सले सय वर्ष नपुग्दै भोग्नु पर्यो। फ्लोरेन्सलाई सराप लाग्यो। कालो हैजा फैलेर फ्लोरेन्स नै शमशानमा परिणत हुन पुग्यो। भनिन्छ शहरको तीन चौथाइ जनता हैजाको भोग चड्यो। शहर पुनः आवाद हुन चार सय वर्ष लाग्यो भन्छ। फ्लोरेन्समा भएको महाविनाशको कथा बोकासियोले आफ्नो पुस्तक देकामेरनमा लेखेको छ।
फेरि एउटा सिद्धान्तकार रहेछ लुसियन गोल्डम्यान नाम गरेको। फ्रान्सको रहेछ। उसले भनेको रहेछ लेखक कवि खासमा स्रष्टा होइन, सर्जक होइन कृतिको जन्मदाता होइन। ऊ त सुँडेनी जस्तो मात्र हो। कृति जन्माउन सहजकर्ता मात्र हो। थुक्क पनि भनेँ। कहाँ हामी आफूलाई स्रष्टा मान्ने। झन हाम्रो धर्म ग्रन्थतिर त सृष्टिकर्ता ब्रम्हसित तुलना गरिएको छ कविलाई। ब्रम्हले शून्यबाट सारा चराचर सृष्टि गरेको छ। कविले पनि शून्यबाट नै सुन्दर कविता सृजना गर्दछ। यसैले ऊ स्रष्टा हो। गोल्डम्यानले कवि कथाकार उपन्यासकारलाई मात्र आया भनेर ठिक गर्यो वा गरेन थाहा छैन। हुनत उसको तर्क बुझ्दा ऊ गलत छ भनेर भन्नू पनि ठिक लाग्दैन रहेछ।
यही पढेपछि खासमा उसलाई आफूलाई कवि भनेर आफ्नो परिचय दिन नचाहेको ठिकै गरेछ राम्रै गरेछु भएको हो। विरक्त भएको हो।
हिजोआज पर्या साहित्य भनेर धुमधाम चर्चामा छ। हाम्रो इलाकामा राजा पुनियानी पर्या कवितामा धेरै चर्चित छ। तङसिङ पर्या कविता सङ्ग्रहले तहल्का मचाएकै हो। पुरस्कृत पनि भयो। उसको वाचन कलाको कायल छु।
यही पर्या कविता बुझ्न उसले एक लेख पढ्यो। पर्यावरणीय साहित्यको निम्ति सबै पदावली प्रकृतिबाट लिएको रहेछ। खुबै मन पर्यो। यसमा एउटा नयाँ कुरा पाएँ। यसमा पनि कविलाई स्रष्टा सर्जक भनेको छैन रहेछ। कवि त घाम हो अरे। तर पृथ्वी उज्यालो पार्ने घामको अर्थमा होइन तर उर्जा दिने एक उत्प्रेरकको रुपमा। जसो होस सुँडेनी नाम पाउनु भन्दा घाम उपमा सुहाउँदो लाग्यो। मेरो ढाडमा घाम लागेको जस्तो भयो।
पात्रको मोनोलोगले आफैलाई थकाए जस्तो भयो। व्हिस्कीको असर होला उसको जिब्रो लटपटिएको जस्तो हुन थालेको थियो। शिर ठाडो हुन सकेको थिएन। हठात उसको अघिसम्मको तेजिलो अनुहारमा मलीनता छाउन थाल्यो। रुन थालेको जस्तो देखियो। आँसु चाहिँ बहाएको थिएन। फेरि हाँसेको जस्तो गर्यो आज म क्या फ्लप भैदेको हा हा हा। एपल घडी एपल वाच देखाउछु डायमन्ड रिङ देखाउँछु। त्यो ब्युटिले छड्के आँखाले पनि नहेरिदेको। क्या फ्लप हा हा हा।
अनि साँच्चै घुक घुक गर्दै रुन थाल्छ। रुँदा रुदै ऊ टेबलमा घोप्टियो। उसको साथीहरूले देख्यो ऊ निदाएछ। घुर्नु थालेछ। तल निद्रामा उसको अनुहार फेरि उज्यालो मन्द मुस्कान देखियो। लाग्थ्यो ऊ खुशी छ।
उसले एक सुन्दर सपना देखिरहेको थियो। अघि उसँग बोल्न नमानेकी सुन्दर युवती उसितै थियो। सपनामा उसले देख्यो दक्षिणी केरलाको पुभार ब्याकवाटरमा ऊ र युवती एउटा सानो मोटर बोटमा थियो। ब्याक वाटरको साँघुरो क्यानलमा शान्त बहिरहेको थियो उनीहरूको नाव। नाविक एक लुङ्गी लगाएको अधवैसे कालो धमर्धुस मान्छे थियो। तर उ आफ्नो एक लगनीमा नाव क्यानलमा जोगाएर अघि बडाइरहेको। चारैतिर सुनसान, बिच बिचमा कमलको गुलाफी फूल, पानीभित्रबाट उम्रेर आएको रुख पात। कुनैकुनै ठाउँ आकाश नै देख्न नसकिने गरि ढाकेको। उसलाई लागिरहेको थियो यात्रा कहिले नटुंगियोस।
यो पंक्तिकारलाई बेलुका छिटो सुत्ने बानी छ। आज धेरै ढिलो भइसक्यो। पाठक महोदय तपाईंहरू पनि आआफ्नो गन्तव्यमा जानुहोस। कथाको संसार भनेको मायाको संसार अर्थात मिथ्यापूर्ण संसार हो। कल्पनाबाट विपनामा जति छिटो आयो उति ठिक हो। बाँच्न त हामी विपना मै हो, सपनामा होइन। यसैले हाम्रो पात्रलाई उसको मीठो सपनामा रहन दिएर हामी बिदा हुनुपर्छ।
कथा सुनिदिनु भएकोमा तपाईंहरूलाई सुनको माला।
नमस्कार सबैलाई।
Comments
Post a Comment