बौद्ध धर्म भारतबाट विलोप भएको पहिलोपटक मैले जवाहरलाल नेहरूको डिस्कभरी अफ इन्डिया नामक पुस्तकमा पढेको थिएँ।
बौद्ध धर्मलाई भारतबाट निस्कासन गर्ने श्रेय कतिले शंकराचार्यलाई दिन्छन भने कतिले बख्तियार खिल्जीलाई दिन्छ जसले नालन्दा विश्वविद्यालय ध्वस्त पारेका थिए। के यही कारण थिए बौद्ध धर्मको विलुप्ति? यही प्रश्नको समाधान गर्न प्रयास गरेको छ चंद्रभूषणले आफ्नो पुस्तक "भारत से कैसे गया बुद्ध का धर्म" मा।
लेखक चंद्रभूषण पेशाले पत्राकार हुन। एक पत्रकारको हैसियतमा चीन सरकारको निमन्त्रणामा 2015मा तिब्बत भ्रमण जुट्यो। तिब्बतको समृद्ध बौद्ध सभ्यता देखेर चंद्रभूषण विचलित हुन पुग्छ। बौद्ध धर्म भारतमा जन्मेर भारतमा विकास भएर विश्वमा पुगेका हुन। तर त्यही भारतबाट बौद्ध धर्म कसरी नामेट हुनुपुग्यो, कुन कारणले यसो भयो, भारतीयहरूले किन यसो गरे जस्ता प्रश्नले उसलाई विझायो। उनलाई आभास भयो बौद्ध धर्म निष्कासन एक आत्मघाती काम थियो। भारतलाई एक समतावादी समाजमा परिवर्तन गर्ने पहिलो प्रयास बुद्धबाट नै भएको हो। तर समाजलाई समतामूलक बनाउने बुद्धलाई खेदाए। यसको कारणको जरा खोदल्ने प्रयासबाट ने यो पुस्तक जन्मेको हो।
2015 देखि चंद्रभूषणले आफ्नो पछिल्लो ८-९ वर्ष यही विषयमा अध्ययन भ्रमण र अनुसन्धानमा बिताएका थिए। आफ्नो यही अध्ययन, भ्रमण र अनुसन्धानबाट लेखक बौद्ध धर्मको विलुप्तिको कारण खोजको निष्कर्ष पुस्तकमा राखेका छन। लेखक चंद्रभूषणको निष्कर्षलाई बुँदागतरुपमा यहाँ राखिने प्रयास गरिन्छ। यी बुँदाहरू यही पुस्तकको सार भए पनि यसको व्याख्यास्वरुप केही थप टिप्पणी राखिनेछ। थप व्याख्या बन्धनीभित्र रहनेछ।
बौद्ध धर्म भारतमा विलोप क्रोनोलजीमा बुझे सहज हुनेछ।
१. ईशा दोस्रो शताब्दीमा मौर्य सम्राज्यको अन्तिम सम्राट बृहद्दथलाई उसकै ब्राह्मण सेनापति पुश्यमित्रले हत्या गरे र शासनको बागडोर उसको हातमा लिए। मौर्यहरू बौद्ध थिए र यसैले बौद्ध धर्मको संरक्षक थिए। पुश्यमित्र सुङ्ग सनातनी हिन्दू थिए र बौद्ध धर्मको विरोधी।
बौद्ध धर्मलाई पहिलो आघात यही थियो।
(इतिहासकार रोमिला थापरले भने यो बौद्ध मतको खण्डन गरेकी छ। उनको मत अनुसार पुश्यमित्रले बौद्ध धर्मको मठ मन्दिरको तोडफोड गरेनन। उनले महाकवि कालिदासले पुष्यमित्र शुङ्गको गुणगान गरेर लेखेका कृति "मालविकाग्निमित्रम्"
को आधारमा यसो भनेकी हुन। )
(बौद्ध स्रोत अनुसार भने पुश्यमित्र शुङ्गले धेरै बौद्ध मठ मन्दिर तोडफोड गरेको र असंख्य बौद्ध भिक्षुहरूको हत्या गरेको बताइन्छ।
हिन्दी कवि अनामिकाले पुश्यमित्र शुङ्गले बौद्ध भिक्षु हत्याकाण्डमा यस्तो कविता लेखेकी छ
"पीट रहा है पुष्यमित्र ढुगढगी-
"राजोष खुल जाएँगे उनके लिए
जो भिक्षुओं के सर काट लाएँगे।
एक कटा सर का पुरस्कार
दस सहस्र स्वर्ण मुद्राएँ।"
(अजन्ता की गुफाएँ)
बौद्धहरू बताउँछन् वाल्मीकिको रामायण राजा पुष्यमित्र शुङ्गको निर्देशमा लेखिएका हुन। उनीहरू भन्छन रामायणमा रामको चरित्र पुष्यमित्र शुङ्ग र रावणको चरित्र मौर्य सम्राट बृहद्दथ हो।
वाल्मीकि रामायणमा बुद्धको कठोर आलोचना गरिएको छ। बुद्धलाई रावणको पर्याय मानिएको छ। यसैले वाल्मीकि रामायणमा भएको बौद्ध आलोचना पढदा बौद्धहरूको विचार सत्यताको नजिक देखिन आउँछ।
महाकवि शुद्रकको प्रसिद्ध नाटक "मृच्छकटिक" ईशा पहिलो शताब्दीमा रचना गरिएको भनिन्छ। यसका सबै मुख्य पात्र पात्रा ब्राह्मण समुदायको भए पनि एक बौद्ध भिक्षु देखाइएको छ। बौद्ध भिक्षुलाई एक घृणित अवहेलित पात्रको रुपमा उभ्याइएको छ। कुनै शुभकार्यको लागि घरबाट निस्केर जाँदा बाटोमा बौद्ध भिक्षु देखे दिन नराम्रो हुने बताएको छ।
यसबाट बुझिन्छ ब्राह्मण समुदायको निम्ति बौद्ध धर्म अपाच्य थियो।
पुष्यमित्र ब्राह्मण भएको हुनाले उसले बौद्ध धर्म र बौद्ध भिक्षुमाथि कहर पुर्याएन भन्ने तर्कको बलियो आधार देखिन्न। )
२. आठौं शताब्दीमा कुशीनगरको बौद्ध मठ जलाइएको थियो। यहाँ भएको भिक्षुहरूलाई हत्या गरेर जलाएको प्रमाण उत्खनन गर्दा भेटाइएको हो। नभन्दै बौद्धहरूमाथि यस्तो हमला कसले गरे अझै जान्न सकिएको छैन। लेखक चंद्रभूषणले अनुसन्धानकर्ताको रिपोर्ट उल्लेख गर्दै यस्तो लेखेका छन "फिर बाहरी कक्ष और दोनो दरवाजों की जगह पर मुझे इंसानी हड्डियों और कई अन्य जली हुई चीजों के अवशेष भी मिले, जिनसे पता चलता था कि बुद्ध के धर्म की यहाँ आग और तलवार के बल पर मिटाया गया था।"
(उक्त कालमा तुर्की ईस्लामी हमला भएको थिएन।)
३. शंकराचार्यको उदय।
शंकराचार्यको जन्म केरलमा भएको थियो। उनको जन्म समयमा केही मतभेद छ। एक स्रोतले बताउँछ उनी ई 788 मा जन्मे र 820 मा मरण भए। "ब्रम्हसत्य जगन्मिथ्या" सिद्धान्तको लागि उनी प्रसिद्ध छन। भारतमा मठ व्यवस्थाको प्रारम्भ उनको देन हो। मठ र मन्दिर निर्माण भए पछि हिन्दूहरूमा धार्मिक पुनर्जागरण सम्भव भयो। शंकराचार्यको कालदेखि बौद्ध मठ मन्दिर हिन्दू मन्दिरमा परिवर्तन हुन थाल्यो।
शंकराचार्यको अघि हिन्दू धर्ममा यस्तो व्यवस्था रहेको देखिन्न। उनले बौद्ध परम्परामा रहेको संघको हिन्दूकरण गरेको भनिन्छ। उनको अति प्रसिद्ध पुस्तक "ब्रम्हसूत्र भाष्य" हो। ब्रम्हसूत्रभाष्य कृतिमा बौद्ध मतको खण्डन गरिएको एक अध्याय छ।
देशमा चारधाम स्थापित गर्ने श्रेय उनलाई दिइन्छ।
शकराचार्यको गुरु गोविन्दपाद अनि गोविन्दपादको गुरु गौडपाद। यो वेदान्ती परम्परा अनुसार हो। गौडपादको ग्रन्थ "माण्डूक्यकारिका" नै शकराचार्यको दार्शनिक प्रस्थान बिन्दु हो। " माण्डूक्यकारिका" को प्रस्तावनामा बुद्धलाई नमन गर्दै बौद्ध दार्शनिक द्वय वसुबन्धु र नागार्जुनप्रतिको ऋण स्वीकार गर्छ। यही कारण कसैले शंकराचार्यलाई प्रच्छन्न बौद्ध भन्छ।
शंकराचार्यले तत्कालीन बौद्ध गुरुहरूलाई बहसको चुनौती दिए र शास्त्रार्थमा बौद्धहरूलाई पराजित गराए।
ईस्वी 1575 मा जन्मेका तिब्बती धर्म गुरु लामा तारानाथले लेखेको बौद्ध इतिहासमा भने शंकराचार्य बौद्ध गुरुहरुबाट शास्त्रार्थमा पराजित भएको देखाएको छ।
( जवाहरलाल नेहरूले शंकराचार्यलाई भारतको महानतम दार्शनिकमा एक भनेर भनेको छ। हिन्दू धर्ममा मठ व्यवस्था गर्ने शंकराचार्य हुन भनेर बताएका छन।)
हिन्दूस्तानबाट बौद्ध धर्मको पलायनमा शंकराचार्यको अभियानलाई जिम्मेवार रहेको ठहर गर्ने एक तप्का रहेको छ।
४. बुद्धको मूल सन्देश रहेको हिनायाना/ थेरवाद हो। बौद्ध धर्मको यो मूल स्वरुपमा मूर्ति पुजा देवी देवता मन्दिर केही थिएन। तर जब हिनायानाबाट महायाना पन्थ सिर्जना भयो यहाँदेखि बुद्धको मुर्ति बनाएर पुजा गर्ने चलनमा आयो। महायानाबाट अझ वज्रयाना भयो यसमा तन्त्र मन्त्र सबै आयो। बौद्ध धर्मको यो रुप ब्राह्मण धर्म जस्तै हुनुपुग्यो, दुवैको अन्तर मेटिए झैँ भयो। वास्तवमा वैदिक धर्म र बुद्धको धर्ममा व्यापक अन्तर थियो। वैदिक धर्म इश्वर, आत्मा, परमात्मा सबै विश्वास गर्ने धर्म थियो। बुद्धको धर्ममा भने इश्वरीय आस्था थिएन। आत्माको अस्तित्व स्वीकारेको छैन। बुद्धले सबै कुरा परिवर्तनशील छ र चिरस्थायी चिरञ्जीवी कुनै छैन भन्ने विचार दिएका थिए। बुद्धको धर्म पारम्परिक धर्मको परिभाषामा अटाउने धर्म थिएन।
तर महायाना र वज्रयानामा पुगेर सबै विकृत हुन पुगे। वज्रयानादेखि सहजयाना पुग्दा यसको चरित्र विल्कुल नचिनिने भएर गएको थियो।
(पण्डित जवाहरलाल नेहरुले डिसकभरी अफ इन्डियामा बौद्ध धर्मको विकृतिबारे लेखेका छन।
महायाना विचारधारा द्रुतगतिमा फैलिएर गयो तर यसको गुण र विशिष्टतामा ह्रास आयो। मठहरू धनी भए र निजी स्वार्थहित बडेर गयो अनि अनुशासन भंग हुनुथाल्यो। जादुटोना, अन्धविश्वास पुजा विधिभित्र देखिन थाल्यो। बौद्ध धर्ममा आएको यही विकृतिले यसलाई भारतमा पतनको बाटोमा पुर्यायो। यद्यपि यही महायाना/वज्रयाना धारा तिब्बत, चीन र दक्षिण पूर्व एसिया मुलुकमा भने फैलिएर गयो। श्रीलंका र म्यानमारमा भने हिनायाना प्रचलित भयो।
५. बौद्ध धर्मको विलुप्तिको कारणहरू खोज्दा ईस्लाम धर्मको उदयसित पनि जोडिन्छ। एकसमय बौद्ध धर्म मध्यपूर्व एसियामा फैलिएको थियो। खोरासान अर्थात वर्तमान उत्तरी ईरान बौद्ध धर्मको महत्त्वपूर्ण केन्द्र बनेको थियो। त्यहाँ धेरै मठ मन्दिर थिए र बौद्ध धर्मावलम्बीको संख्या पर्याप्त थियो। जोरोस्ट्रियन धर्म र बौद्ध धर्म समानान्तर रुपमा प्रचलित थियो।
तुर्की ईस्लामीहरूले ईरानमा हमला गरेर यहाँको जनतालाई तितरबितर गराए। धेरै मारिए र धेरै पलायन भए। पलायन हुनेमा जोरिस्ट्राइन धर्मावलम्बी पारसीहरू भारतको गुजरातमा शरण लिन पुगे। सम्पूर्ण ईरान ईस्लामीकरन भयो। यहाँ भएको बौद्ध मठहरू भत्काइए। भिक्षुहरू मारिए र कतिपय भने धर्मान्तरन गरी मुस्लिम बने। यसपछि ईरानको छिमेकी देशहरू पनि उसरी नै ईस्लामी चपेटामा परे। हालको उजबेकिस्तानमा भएको प्राचीन शहर बुखारा प्रसिद्ध बौद्ध केन्द्र थियो। यो पनि ईस्लामी हमलामा परे। यहाँको सम्पूर्ण इलाकाको बौद्ध परम्परा आघात पर्यो।
यसको परिणाम के भयो भने यी स्थानबाट नालन्दामा बौद्ध अध्ययन गर्न जाने शिलशिला रोकियो। नालन्दामा अध्ययन गर्न जाने विद्यार्थीको सङ्ख्या घटेर गयो। एकप्रकार यस क्षेत्रसित रहेको नालन्दाको सम्बन्धको तार नै टुट्यो। आठौं शताब्दीदेखि नालन्दा विश्वविद्यालयको गरिमा साथै बौद्ध धर्ममाथि नै यसरी चोट लाग्न थाल्यो।
यसले बुझाउँछ तुर्की ईस्लामी हमलावरलाई बौद्ध धर्म र परम्परा अवगत थियो।
६. आठौं शताब्दीमा तीन राज्यबिच त्रिकोणीय युद्ध शुरु भयो। बंगालको पालवंश, दक्षिण भारतको राष्ट्रकूट वंश र राजस्थानको गुर्जर-प्रतिहार वंश त्रिपक्षीय युद्ध। यो समयमा बौद्ध धर्मलाई संरक्षण दिने राज्य थियो पालवंश।
युद्ध छोटो समयको लागि नभएर दुई सय वर्ष अधिक तन्किएर गयो। यही कारण पालवंशको राजाहरूले बौद्ध मठ एवम नालन्दा विश्वविद्यालयलाई पर्याप्त आर्थिक सहयोग गर्न सकेन। यसले गर्दा नालन्दा विश्वविद्यालयको अवस्था बिग्रन पुग्यो।
७. ईस्वी 1197 मा बख्तियार खिल्जीले नालन्दा, उदन्तपुरी र विक्रमशिलामा भएका अपार धन सम्पत्ति लुट्न भनी हमला गरे। तीनवटै बिहारहरू भत्काए तर केही धन सम्पत्ति हात लाग्न सकेन। नालन्दामा भएका पुस्तकहरू जलाए।
नालन्दाको दुर्गतिको वैकल्पिक इतिहास पनि चर्चामा रहेछ। यो वैकल्पिक इतिहासले बताउँछ वास्तवमा बख्तियार खिल्जी नालन्दा गएन र उसले तोडफोड गरेन। यो समयमा आइपुग्दा नालन्दा भग्न अवस्थामा पुगिसकेको थियो। यसमा भएका पुस्तकहरू ब्राह्मणहरूले धेरै अघि जलाइसकेका थिए।
जसोहोस नालन्दा काण्ड पछि बख्तियार खिल्जी आफ्नो ३० हजार सैनिक लिएर तिब्बत आक्रमण गर्न सिक्किमको बाटो भएर गए।
तिब्बतको छुम्बी घाँटीमा तिब्बती सेनासँग भिडन्त भयो। यो भिडन्तमा खिल्जीको भयानक दुर्गति भयो। ३० हजार सैनिक मध्ये १०० जना मात्र सैनिक लिएर पराजित भइ भागे। उनलाई यो भयङ्कर पराजयले अवसानमा पुर्यायो। यही अवसानको अवस्थामा एक आफ्नै सैनिकले १२०६मा उनको हत्या भयो।
नालन्दा बख्तियार खिल्जीको आक्रमण पछि बन्द भयो भन्ने होइन। यसपछि पनि नालन्दा विश्वविद्यालय चलनमा थियो। यद्यपि यसको स्वरुप भने कंकाल जस्तो मात्र रहेको थियो। खिल्जीको हमलाको चालिस वर्ष पछि १२३५-३६ मा तिब्बती भिक्षु धर्मस्वामी नालन्दामा ४ वर्ष बसेर आचार्य राहुल भद्रबाट शिक्षा लिए।
यसले प्रमाण दिन्छ शंकराचार्यको मृत्युको ४ सय वर्ष पछि पनि बौद्ध धर्म भारतमा बाँचेको थियो। बख्तियार खिल्जीको आक्रमणले समाप्त गर्न सकेको थिएन बुद्धको धर्मलाई।
(तिब्बती लामा धर्मस्वामीले बख्तियार खिल्जी आक्रमणको ४० वर्ष पछि नालन्दामा ४ वर्ष शिक्षा लिएको प्रकरणले बताउँछ नालन्दा त्यो समय रुग्ण अवस्थामा भए पनि अध्ययन अध्यापन कार्य चलिरहेको थियो। यतिबेला त्यहाँ ७० जना विद्यार्थी रहेको उल्लेख पाइन्छ। यही कारण बख्तियार खिल्जीले पुस्तकालय जलाएको कहानीमा सन्देह बन्दछ।
धर्मस्वामीको "नाम थर" शीर्षक पुस्तकमा उनले आफ्नो नालन्दा प्रवासबारे लेखेका छन। उनी यहाँ रहँदै फेरि तुर्की ईस्लामीको हमला हुने भयो। यही कारण यहाँबाट समय अघि नै तिब्बत फर्किनु परेको उल्लेख छ। )
८. काठमाडौंमा बज्रयानी नेवारी बौद्धहरूले गुप्त पूजा विधिमा प्रयोगमा ल्याउने चर्यागीति पहिलोपटक १९१६ मा सार्वजनिक भयो। पछिबाट राहुल सांकृत्यायानले तिब्बती स्रोतबाट खोजी गरेर "दोहा कोश" शीर्षकमा सार्वजनिक गरे।
यसको रचना बौद्ध दार्शनिक सरपह दशौँ शताब्दीतिर गरेका थिए।
बौद्ध दर्शनको इतिहासमा सबैभन्दा उज्ज्वल आकाश बुद्ध हो। बुद्धपछि नागार्जुनको नाम आउँछ जसले प्रज्ञापारमिता दर्शन विकास गरे। यही क्रममा तेस्रो दार्शनिकको रुपमा सरपह नाउँ आउँछ।
हिनायाना अर्थात थेरवाद र महायानामा स्पष्ट विभाजन कोरिएको छ। थेरवादमा रहेका व्यक्तिको अन्तिम लक्ष्य अर्हत हुनु हो। अर्हत हुने व्यक्तिले दान, शील, नैष्क्राम्य, प्रज्ञा, वीर्य, शान्ति, सत्य, अधिष्ठान, मैत्री अनि उपेक्षाका दश पारमिता हासिल गरेको हुन्छ। जो अर्हत हुँदछ ऊ जीवित मै मुक्त हुनसकेको हुनेछ। महायानीको लागि भने व्यक्तिको लागि अन्तिम लक्ष्य बुद्ध हुनु हो। यसको लागि उसले आफ्नो सम्पूर्ण र दशमा मात्र एक प्रज्ञा पारमितामा ध्यान लगाउनु पर्दछ।
वज्रयाना र महायानामा विशेष भिन्नता छैन। वज्रयानामा वज्रले जस्तै चट्टान भेद गर्न सके झैँ वज्रयानामा सबै कठिनाइलाई पार गरेर बुद्ध समक्ष पुग्न सफल बनाउँछ।
सरपह यही वज्रयाना शाखाको दार्शनिक पुरुष हुन।
सरपहले संस्कृत र अपभ्रंश भाषामा रचना गरेका कविताहरू पछिल्लो एक सय वर्षपछि मात्र सार्वजनिक हुन सकेको हो।
भारतमा उनको नाम कसैलाई थाहा नहुनु र कुनै कृति उपलब्ध नहुनु तर नेपाल र तिब्बतमा भने उपलब्ध हुनु जस्तो विषयले इशारा गर्छ बौद्ध धर्मको विलुप्तिमा कुनै विदेशी हात नभएर आन्तरिक विद्वेष नै हो। जुन व्यक्तिको कवितालाई( चर्यागीति) उत्तर भारतका धेरै भाषाहरू जस्तै असमी, बंगाली, मगही, भोजपुरी, ओडिया आदि भाषाहरूको प्रारम्भ बिन्दु मानिएको छ त्यही आफ्नो मूल थलोमा नरहनु प्रश्न उभ्याउँछ।
९. १००० ईको छेउछाउमा हुनथालेको महमद गजनीको हमलाबाट धेरै जस्तो बौद्ध मठहरू बौद्धहरूबाट खोसिए। यी खोसिएका मठहरू हिन्दूहरूले कब्जामा लिए र हिन्दू मन्दिर मठमा परिवर्तन गरिदिए।
बौद्ध धर्मको जरा उखेल्ने काम सबैभन्दा पहिला दक्षिण भारतबाट प्रारम्भ भयो। दक्षिण भारतमा यो काम मिमांसक कुमारिल भट्टले गरे। चुनौती दिन थालेपछि बौद्ध धर्म गुरुहरू आफ्नो मठ मन्दिर दावमा राखेर बहसमा बस्थे। बहसमा जीत हारको निर्णय राजाले गर्थे। राजाले जहिले वैदिक आचार्यको पक्षमा निर्णय सुनाउँथे। यस्तो बहस संस्कृत भाषामा हुन्थ्यो।
दोस्रो देखि छैटौं शताब्दीसम्ममा पाँच महाकाव्यहरू तमिल भाषामा लेखिएका पाइन्छन्। यी पाँचैवटा महाकाव्यहरू बौद्ध र जैन गुरुहरूले लेखेका हुन। वैदिक आचार्यले लेखेको एउटै पनि थिएन।
शेष भारतमा यस्तो देखावटी बहस पनि भएन जहाँ बौद्ध मठ देखियो कब्जा गरिहाल्यो।
१०. तेह्रौ शताब्दीदेखि बौद्ध धर्म भारतबाट लुप्त भएको देखिन्छ। यसपछि अचानक भारतीय स्मृतिबाट बुद्ध वा बौद्ध धर्म गायब रहेको पाइन्छ।
यही कालदेखि भारतमा भक्तिकाल आयो। भक्तिकालमा धेरै उच्च कोटिका कविहरू देखिए। कबीर, सुरदास, रैदास, जायसी, तुलसीदास, मीरा इत्यादि। गोरखनाथ पन्थ यही भक्तिकालको शुरुआतदेखि चलिआएको हो। हुनत यो पन्थ दशौ शताब्दीदेखि प्रारम्भ भएको मानिन्छ। धेरै काव्य रचना भए यही कालमा। तर कुनै कविले बुद्ध वा बौद्धधर्मको चर्चा गरेको, कुनै प्रतीक बिम्व प्रयोग गरेको देखिन्न। उनीहरूको रचनामा बुद्ध पूर्णरुपमा गायब छ। भारतीयहरूले बिर्से कुनै समय बुद्ध जस्तो विशाल पुरुष यहाँ थिए वा उनले स्थापित गरेको धर्म हजारौं वर्ष पूरा भारतभरि फैलिएको थियो भनेर।
भारतीयहरूले फेरि बुद्ध र उनको धर्मवारे त्यतिबेला मात्र जान्न पाए जब अङ्ग्रेज ब्रायन हजसनले उन्नाइसौं शताब्दीको तेस्रो चौथो दशकमा खोजी गरेर पता लगाए।
११. बौद्ध धर्म भारतबाट किन लोप भए यसको कुनै एक ठोस कारण तोकेर बताउन कठिन छ। हुनसक्छ यसको कारण यहाँ माथि दिएका सबै घटनाहरू एकसाथ जिम्मेवार छन। यो पनि हुनसक्छ यी कुनै पनि घटना जिम्मेवार छैन।
१२. बीशौ शताब्दीमा भने बौद्ध धर्मको पुनर्जागरण भएको छ भारतमा। करोड अधिक सङ्ख्यामा बौद्ध धर्मावलम्बीहरू छन।
बौद्ध धर्मको लोप र पुनर्जीवनमा एक भारतीय विद्वान मध्यप्रदेशको पूर्व गभर्नर कैलाश नाथ काट्जुले १९३९मा यस्तो विचार दिएका रहेछन
"जब से बौद्ध धर्म का इस देश से लोप हुआ, उसी दिन से यह महान देश विदेशियों के शोषण और गुलामी का शिकार बना। नौ सौ (900) वर्षों तक यह देश गुलाम रहा, जिसमें 700 वर्ष की मुसलमानों की गुलामी और 200 वर्ष अंग्रेजों की। जिस दिन से बौद्ध धम्म के पुनरोद्धार की बात प्रारंभ हुई, उसी दिन से भारत की स्वतंत्रता का आंदोलन भी प्रारंभ हुआ। इसका यही अर्थ है कि बौद्ध धम्म मंगलकारी और कल्याणकारी सद्धर्म है। इसका ध्येय स्वराज्य प्राप्त करना था। इसके अतिरिक्त जिस दिन से बौद्ध धम्म को इस भारत से खदेड़ा गया, उसी दिन से भारत की जनता विदेशी आक्रमणों का शिकार हो गई। इन 900 वर्षों का इतिहास मुस्लिम और अंग्रेजी शासकों का इतिहास है। मंगलकारी धर्म के स्थान पर अत्याचारी धर्म ने स्थान लिया। यही ब्राह्मणवाद की इस देश को महान देन है।"
आजकल भारतको प्रधानमन्त्री नरेन्द्र मोदी जब पनि विदेश भ्रमणमा जानुहुन्छ उहाँले आफ्नो सम्बोधनमा आफु बुद्धको भूमिबाट आएको भनी परिचय दिनुहुन्छ।
Comments
Post a Comment