अवकाश अनि अवसान
विहान चार साढे चारबजे नियमित नै ओच्छ्यान छोडछ उसले। आज पनि बिहान चार बजेर उठेर हातमुख धोएर दुई गीलास पानी पिए पछि हिडेको हो। छ वा सात किलोमिटरको दुरी तय गर्छ। यति हिडनलाई उसले एक घन्टादेखि डेढ घन्टाको समय लिन्छ। तर आज एक घन्टा मात्र लाग्यो यसैले छिटै फर्केर घर आइपुग्यो। बाटोमा कोही भेटेन वा कोही भेटे पनि कुनै बातचित हुन सकेन। आज उसलाई नमस्कार गर्ने अभिवादन गर्ने कोही भेटेन। यसले उसलाई अशान्त बनायो। आज कोही किन आएन बिहानीको सयर गर्न ? के कुनै कारण थियो ? थियो भने के थियो ? उसलाई किन थाहा भएन ? घरकाहरुले किन सम्झाएन ? कि ज्यादै छिटो हिडेर त्यसो भएको हो ? सायद अरूहरू पछि परे होलान्! तर यो कसरी हुनसक्छ ? ऊ फर्किदा भेट्नु पर्ने ?
घरमा आइपुग्दा कोही नउठेका देख्दा झनक्क रिस उठ्यो। मुख बनायो मुख खोलेर जोरले हकार्नु मन गरेको थियो। तर चुप लागेर थकाइ मार्ने मन भयो। यतिबेला उसलाई थाहा भयो आज उसलाई बिहानीको हिडाइले निकै थकाएको थियो। पसिनाले निथ्रुक्क भिजेको महसुस भयो। रिसको झोकँमा बिर्सिएछ पसिना पनि। भित्री गन्जी धोएर चटक्क मिलाएर श्रीमतीले राखेकी दराजबाट निकाले। लुगा निकाल्दा टिसर्ट पनि निस्के। विभिन्न रङ्गका टिसर्टहरू भुइँमा छरिए। एउटा निलो रङ्गको टिसर्ट छान्यो। गन्जी चाहिँ उसलाई सेतो नै मन पर्छ रङ्गीन होइन। बाहुलावाला गन्जी भने कहिले लगाएन। बाथरुममा गएर पसिनाले भिजेको लुगा राख्दै गर्दा ढोका ढकढकाएको सुन्यो " हन के गर्दैछ यो मान्छे ?"
उसकी श्रीमतीको आवाज हो कि झपाइ। आदत नै छ उसकी स्वास्नी बिहान उठेर एकदुई पटक झड्किनु, केही अपशब्द ऊमाथि बोल्नु। उसलाई पनि बानी भएको छ बिहान गाली खाएन भने के छुटे भने जस्तो हुन्छ। उमेरले डाँडा काटे। रिटायर भएकै पाँच छ सात वर्ष नाघ्यो। उसकी पत्नी ऊभन्दा ६ वर्ष सानी। सँगै बसेको चार दशक नाघ्यो। नभन्दै पछिल्लो केही वर्ष यता भने उसकी स्वास्नी केही मत्थर भएकी उसले याद गरेको हो। आज सायद बाथरुम जान हतार भयो होला यसैले चिडिएकी होला लाग्यो उसलाई। तर मनको खिन्नता भने यसले अझ थपिदियो।
रिटायर भए देखि यता केही समय पछि हो उसलाई जीवन बोझिल लाग्न थालेको। जीवन उद्देश्यहीन कर्तव्यविहीन गन्तव्यविहीन लाग्न थालेको।
सँधै झैँ ऊ किचनमा गयो र चिया बसाउन ताप्केमा कलबाट पानी हाल्यो। मरिच, अदुवा र त्यसपछि चियापत्ती हालेर उम्लने प्रक्रिया पर्खिनु लाग्यो। चिया उम्लेपछि उसले दुई मगमा तयार गर्यो श्रीमती र आफ्नो लागि।
मन त्यसै औडाहा लागेर निरस भएको लाग्यो। नभन्दै आज मात्र यसो भएको होइन। पछिल्लो ६ – ७ महीना यता यस्तो हुन थालेको हो। मनमा एक प्रकारको हतास छटपटाहट भइरहने।
चिया पिउन थालेपछि झन उसलाई गाह्रो भए जस्तो भयो। श्रीमती चुपचाप चिया पिइसकेर आफ्नो काममा लागिन्। ऊ माथि टेरेसमा उक्लेर त्यहाँ भएको फूलको बोट बिरुवा हेर्न थाले। पानी लगाए। सुकेको पात पत्कर टिपेर सफा गरे। केही बेर टाढा टाढा हेरिबसे। उसको घरको टेरेसबाट हिमालको श्रंखला निकै रमाइलो देखिन्छ। यहाँ घर बनाउन जमिन किन्दा उसले यही कुरा ध्यान दिएको थियो। हुनत ऊ त्यस्तो प्रकृतिप्रेमी बनजङ्गल सुरक्षा जस्तो गर्न उत्सुक भने कहिले थिएन। बाहियात लाग्छ यी कुराहरू। हाम्रो कोशिस हामीले आफूलाई सुरक्षित राख्ने हुनुपर्छ। उसको जिम्मेवारी भनेको उसको घरपरिवार हो। समाजको चिन्ता समाजले गर्छ उसरी नै देशको चिन्ता देशले गर्छ। देश चलाउने सरकार छ। ऊ सरकार होइन यसैले उसको सरोकार होइन। उसले आजसम्म यही सोचेँर आएको हो। उसलाई लाग्दैन उसले कुनै भूल गरेको छ।
सायद छ महीना अघिदेखि होइन ऊ रिटायर भएको दिनदेखि नै हुनुपर्छ उसको मन अशान्त हुन थालेको।
धेरैले भन्थे रिटायरमेन्ट प्लान गर्नु पर्छ। रिटायर पछि आफ्नो दैनन्दिनी कसरी चलाउने जिन्दगीको गाडी कसरी अघि बडाउने योजना रहेको हुनुपर्छ। तर उसले त्यसरी सोचेन। यसको आवश्यकता लागेन। उसलाई रिटायर भएर घरमा बेकार बस्नुपर्छ जस्तो पटक्कै लागेको थिएन। उसको कार्यलय ऊ नभइ नहुने ऊ नरहे कार्यलय नरहने जस्तो बुझ्थे। उसलाई लाग्थ्यो सरकार उसलाई यथावत राख्न वाध्य हुनेछ। उसलाई रिटायर गराएर जोखिममा पुर्याउने काम गर्ने छैन। ऊ रिटायर हुँदा ऊ भन्दा सरकारलाई बडी नोक्सानी हुने लाग्थ्यो।
सैकडौको सङ्ख्यामा रहेको अफिसको कर्मचारी उसको अधीन थियो। पाँचजना कर्मचारी उसको निजी सेवामा तैनाथ हुन्थे।
उसको निजी कार्यलय निकै ठूलो कमरामा थियो। विशाल टलक्क टल्केको टेबल, टेबलमा कम्प्युटर, दुई चारवटा टेलिफोन लाइन, घुम्ने आरामदायी चौकी। उसलाई राज्य जस्तै लाग्थ्यो, यहाँको राजा ऊ।
रिटायरमेन्टको आदेश आउँदा ऊ आत्तिएको थियो। उसले सम्झ्यो यो कुनै गलत सूचनाको कारण यस्तो आदेश जारी भएको हो। उसले हठात फोन लगाए सम्बन्धित विभागमा। उताबाट खबर आयो रिटायरको आदेश पुष्टि भएर आएको हो। उनले अझ भने रहल आदेश झट्टै निस्कनेछ यसैले रिटायर बेनिफिट पाउनको आवश्यक अनापत्ति पत्रहरू तयार गर्नुपर्नेछ उसले । छाँगोबाट खसे जस्तो भएको थियो त्यतिबेला। एउटा शून्यता निराकरपना मनमा भएको थियो। मन मानिरहेको थिएन।
घरमा आएर उसलाई नबोली बस्न मन परेको हो। सायद श्रीमतीले थाहा पाइसकेकी थिई। छोरा या छोरीले बताए होलान्। उसलाई आफै बताउन आवश्यक लागेको पनि थिएन।
उसले सम्झेको थियो श्रीमती आज रिसाएर उसलाई हपार्ने होला भनी। तर ऊ हासिरहेकी थिई। हास्दा हास्दै केही कुटिल अनुहार बनाएर भनी " अब तेरो कुत्ता पुछाइ। ठूलो अफिसर हुँ भनेर खुब घुर्की लाउथिस होइन? अब तेरो कुकुर जति पनि गन्ती हुँदैन।" यति भनेर अट्टहास लगाएकी आज ७ वर्ष पछि पनि सम्झन्छ। हाँसोको फोहोरा उसको कानमा अझै ठोक्किरहेको लाग्छ। उसलाई अपमानित भएको तीव्र बोध भएको थियो। भनौं भने त्यो अपमानजनक शब्दले अझै दुखाइ रहेकै छ।
उसलाई स्मरण छ रिटायर भएको एकदुई दिनपछि ऊ सँधै जान कार्यलय जान सुट टाई लगाएर घरबाट निस्केको थियो। सदा झै ड्राइभरले कल बेल बजाएर गाडीको चाबी लिन आउँछ भन्ने लागेको थियो। तर कल बेल बजेन, ड्राइभर पनि आएन। झनक्क झोकँ चलेको थियो। गाडी आफै हाँकेर जाने र अफिसमा ड्राइभरलाई एक्सप्लानेसन कल गर्ने ठान्यो। बाहिर उसको सरकारी गाडी थिएन। मनमा चिसो पस्यो। कसले चोरेर लग्यो उसको गाडी ? पुलिसलाई फोन गर्नु ? फेरि सम्झ्यो गाडी कसरी हुन्छ गाडी त उसले रिटायर भए पछि सरेन्डर गरेको हो। उसले आफ्नो निजी गाडी निकालेर अफिस जाने निर्णय लियो। मनमा खिन्नता त्यतिबेला छायो जब उसलाई आफै गाडीको धुलो झार्ने काम गर्नु पर्यो। पछिल्लो तीस पैतिस वर्षसम्म यसरी गाडीको धुलो झार्नु परेको थिएन। यस्ता कामहरू उसको ड्राइभरले गरिहाल्थ्यो। गाडी सफा गर्दै गर्दा आफ्नो इज्जत खसेको जस्तो भयो। मनभित्रबाट लाज शरम बाहिर आएर उसलाई गिज्याइरहेको लाग्यो। शरीरभरि काँडा उम्रेको जस्तो पनि भयो। हुन चाहिँ उसको ह्युन्दाइको क्रेटा गाडी थियो सेतो रङ्गको। उति मैला देखिएको थिएन।
गाडी स्टार्ट गरेर अफिस हिड्यो। ट्राफिकको भीडभाड, घरीघरी रोक्नु पर्ने, फेरि विस्तारै अघि बडनु पर्ने। उसलाई आज अफिस ढिलो पुगिन्छ जस्तो लाग्यो। अफिसमा जनताको भीड लागेको होला पेन्डिङ फाइलको चाङ्ग लागेको होला।
धन्य अफिस समयभन्दा अघि नै पुगेको थियो ऊ। दश बजेको थिएन। पिउनले भर्खर अफिस खोलेर उसको टेबल सफा गर्दै रहेछ।
पिउनले ऊतिर हेरेर भन्यो " ए सर आइपुग्नु भएछ।"
उसको भनाइले उसलाई झस्कायो। केही आक्रोशको रेखा अनुहारमा फैलाए। गएर घुम्ने चौकीमा बस्यो। उसले टेबलमा राखिएका फाइलहरू पल्टाउन थालेको बेला ढोकामा उसले देख्यो एक टाइसुट लगाएको निकै जवान व्यक्ति। त्यो व्यक्तिले भन्यो " गुड मर्निङ, सर! ए बस्नोस न सर! म यतै बसेर काम गर्बेछु।" यतिबेला ऊ झस्क्यो यो टेबल चौकी अब उसको होइन, ऊ गलत ठाउँमा बसिरहेको छ, अर्काको ठाउँ ओगटिरहेको छ। हतारहतार ऊ उठ्यो र त्यो व्यक्तिको निम्ति चौकी छोडिदियो। केही क्षण भलाकुसारी पछि ऊ बिदा मागेर निस्क्यो।
अर्को दिन यसरी नै बिहान नौ बजेतिर तयार भएको थियो। उसलाई हतार भएको जस्तो कुनै काम बित्न लागेको जस्तो भइरहेको थियो। फेरि सम्झ्यो यतिबेला कार्यलय खुलेको हुँदैन। कोही हुँदैन। उसले आफ्नो अफिसको डुप्लिकेट चाबी आफैसित राखेको थियो। कोही बेला काम बडी भएको समय छिटो गएर आफ्नो अफिस आफै खोलेर काम गर्न थाल्थ्यो। यस्तै कारणले डुप्लिकेट चाबी राख्ने गर्थ्यो। त्त्यो दिन उसले त्यही तरकिब गर्ने सोच्यो। हिड्यो चाँडै। कार्यलय सुनसान थियो। दुई सफाइकर्मचारीहरू भने बडाड कुढार गर्दै थिए। चाबीले कोठाको ढोका खोलेर पसे र पहिलो झै चौकीमा बसेर एकपटक लामो सास फेर्यो। थाकेको जस्तो लागिरहेको थियो। अफिसमा सायद अन्य कर्मचारीहरू आउन शुरु भएको थियो केही सल्याङबल्याङ आवाज हुन थाल्यो। ऊ हठात उठ्यो र बाहिर निस्क्यो। साँझ चार बजेतिर मात्र घर फर्केको थियो।
दुई दिनपछि फेरि ऊ त्यसरी नै डुप्लिकेट चाबी लिएर गयो। उसलाई धिकमरुञ्जेल अफिसको चौकीमा बसेर सन्तोष गर्नु मन लागेको थियो।
कोठाको की होलमा उसले आफ्नो चाबी घुसार्यो। चाबी पस्न सकिरहेको थिएन। निकै पटक चाबी घुसारे तर ढोका खोलिएन। उसले केही बुझ्न सकेन कसरी यस्तो भयो।
पिउन आए पछि उसले पिउनलाई हपार्दै दैलो खराब बनाएको आरोप लगायो। उसले मुस्कराउँदै भन्यो "नयाँ सरले ढोकाको ताला बदली गर्नुभयो।" एकछन अरकच्च परेर पिउनलाई हेरे र केही नबुझे झैँ गरेर अफिसबाट बाहिर निस्के।
यति चाँडै घर फर्किने मन थिएन। सोँच्न थाल्यो कति कृतघ्न छन यो युवा पुस्ताहरू। शिष्टाचार जान्दैन। हामीले हाम्रो सबै वरिष्ठहरूलाई कस्तो सम्मान गर्थ्यौँ। अझै पनि हामी हाम्रो वरिष्ठहरूलाई उति कै सम्मान गर्छौं। कतिजना त निकै पाको भएका छन। कोही आँखा कम देख्ने कोही कान नसुन्ने भने कोही फडकालेर बोल्न नसक्ने स्मृति कमजोर भएकाहरू छन। कति त बितिसके। आजका अधिकारीहरू यस्ता छैनन्।
बाटोमा हिडदै गर्दा उसले अठोट गर्यो अब यो अफिसलाई फर्केर कहिले नहेर्ने। एक अनौठो ठाउँ मान्ने। कसैले बोलाइ हाले पनि नजाने मन बनाएको थियो।
यद्यपि अर्को दिनको उज्यालो खस्नाको साथै उसलाई अफिस पुग्नै पर्ने लाग्यो। उसको खुट्टाले उसलाई दोहोर्याएर त्यही पुर्यायो। ऊ गएको होइन लगिएको हो सम्झ्यो उसले। उसलाई कसैले घचेटेर लाँदैछ अफिसमा।
दस पन्द्रह दिन यसरी अफिस धायो जस्तो लाग्छ। तर त्यो दिन ठूलै घटना घट्यो नघटनु पर्ने घटना घट्यो। उसले सात मनमा पनि चिताएको थिएन ऊसित यस्तो व्यवहार हुन्छ भनेर यति बेइज्जती हुन्छ भएन। उसले के गलती गरेको थियो? उसलाई लाग्दैन उसले केही भूल गरेको थियो। त्यसो त उसलाई लाग्छ जीवनमा उसले कहिले कुनै भूल गरेको छैन। कुनै कुरा ऊबाट हुन सकेन अथवा उसले गरेन भने उसले त्यसको दोष फलानाले गर्दा ढिस्कनाले गर्दा भएको भनेर आफू चोखो हुने हो। ऊबाट कुनै अपराध भए त्यसको दोष अन्य कसैको थाप्लोमा सहजै लगाउँथ्यो।
अफिसमा गएर अफिसको कर्मचारीहरूसित दिनभर बातचित गर्दा के बिग्रने हो ? कसको के जाने हो ? तर उसले यो कुरा बुझ्न सकेन अफिसमा भएको होमगार्ड र पिउनलाई लगाएर उसलाई किन बाहिर निकाले ? उसलाई अग्घोर अपमानित भएको लाग्यो। उसलाई यति धेरै अपमानित गर्न कसले अधिकार दियो। त्यो दिन उसलाई डिप्रेसन भएको जस्तो भयो। छटपटाहट भयो। के गरौ कसो गरौ केही सुझ्न सकेको थिएन। घर छिटै आएर हत्तु हैरान भएको हात खुट्टा ललाक लुलुक केही चल्न नसक्ने जस्तो लागेको हो। रुन मन लागेको हो भएको भए डाँको छोडेर रुने थिए। कसैसित बोल्ने मन भएन।अचानक उसलाई आफू एक बन्द कोठामा एकलै छ जस्तो भयो। कोठा अन्धकारमय र केही नदेखिने। कोठाको ढोका र झ्यालहरू पनि बन्द। कतै केही देखिँदैन। सास फेर्न नसकेको। लाग्यो जीवनको अन्तिम क्षणमा पुगेको छ। बाँच्नु पनि किन केको लागि ?
घरमा रहँदा उसको समय कटनी भनेको टेलिभिजनमा विविध च्यानलमा आएका कार्यक्रमहरू हो। न्युज हेर्ने उति रहर लाग्दैन। के हेर्नु न्युज रातै दिन झगडा हत्या लुटपाट आगलागी भल पैह्रो बाड यस्तै हुन्छन। कोही बेला ठूलै घटना भएको बेला भने निकै चासो दिएर हेर्ने गर्थे न्युज।
उसले कुनै समाचार पत्र पढने बानी गरेको थिएन। समाचार पढन खासै उसको रुचिभित्र पर्दैन। किताब पढन उसले कहिले रुचि लिएन। उसलाई लाग्थ्यो किताब पढनु समय बरबाद गर्नु हो। किताब भन्ने फुर्सदको समयमा पढने हो। उसले कहिले त्यस्तो फुर्सदको समय पाएको जस्तो लाग्दैन किताब पढेर मनोरञ्जन गर्न। अफिसको पत्राचार पढनु मार्गनिर्देशनको पुस्तिका पढनु चर्को लाग्थ्यो। हुनत अफिसमा कनिष्ठ अधिकारीहरूले सबै पढेर त्यसको सारांश राखेका फाइलमा नोटिङको रुपमा आइहाल्थ्यो। त्यति भए भइगयो। किन पढिबस्नु ?
पोहोर परार साल होला एउटा बिहेको आयोजनमा ऊ गएको थियो। त्यतिबेला त्यहाँ ऊ जस्तै अवकाशप्राप्त अधिकारीहरू बाक्लो सङ्ख्यामा देखे। धेरै चिनाजाना। आफ्नो कार्यकालमा विभिन्न समय कुनै कुनै विभागमा एकसाथ रहेकाहरू। ती मध्ये एकजना पढन्ते थियो। हामी उसलाई बुकवर्म भन्थ्यौँ। किताबको किरा समाजको पनि कुरा भनेर उसको ब्याकबाइटिङ निकै गर्थ्यौँ। उसलाई उक्त व्यक्तिसित कुनै सम्बन्ध राख्न चासो भएन। निकटता भएको उसलाई थाहा छैन। बिहेमा भने ऊसँग परिएको थियो खाना खानेबेला। उसले सोधेको थियो रिटायर्ड लाइफ कस्तो छ भनेर। आफ्नो वास्तविकता बताउन ठिक लागेन र ढाटिदिएको थिएँ। फुर्सद हुँदैन। बिजिनेस कनसर्न छ। घुमीघुमाइ छ। परिवार ठूलो भएको कारण व्यस्त रहिन्छ भेटघाट औपचारिकता मै। हुन चाहिँ उसको कुनै बिजिनेस कनसर्न थिएन। घुम्न डुल्नमा पनि उसको रुचि थिएन। कोही बेला परिवारको करले टार्न नसकेर मात्र उनीहरूको साथ जानेगरेको थियो।
मित्रले भन्यो उसको त पढन र लेख्नले फुर्सद हुँदैन। गलल हाँस्दै भन्यो अ राइटर नेवर रिटायर। ही इज अलवेज ओन द जब, एवर बिजी।
उसले जवरजस्ती हाँसेर उसको स्वीकृति देखाएको थियो। ऊ अलि आरिसे स्वभावको हुनाले मित्रलाई चिड्याउने र आफ्नो ज्ञान कम नभएको देखाउन उसले भन्यो क्युरियोसिटि किल्स द क्याट। भनिन्छ किताबी ज्ञान खोक्रो हुन्छ। व्यवहारिक हुनुपर्छ मान्छे। सामाजिक हुनुपर्छ। किताब पढनु भनेको एकलो भएर बस्नु हो, साथीभाइ नचाइनु हो। होइन र ? कि कसो ? यति भनीसकेर ऊ गजक्क परेको थियो।
त्यो मित्र एकोहोरो भएर उसलाई हेर्यो अनि खिसिक्क मुस्कराएर घडी हेर्दै ऊ अर्को ठाउँ जानुपर्ने भनी बिदा लिएर गयो।
पोहोर सालदेखि हो उसलाई आफ्नो विगतको धेरै सम्झना गर्न मन लागेको। बाल्यकाल आफू जन्मेको ठाउँ र त्यतिबेलाका धेरै साथीसङ्गीहरू। उनीहरूसित भएको उसको मित्रता बिताएको समय। ऊ धेरै रोमाञ्चित हुन्थ्यो त्यसरी विगत सम्झिँदा विशेषगरी उसले बिताएको बाल्यकाल। आमाबाबा दाज्युभाइ दिदीबहिनी एउटा हराभरा परिवार। उसलाई एकलोपनको भावना कहिले आएन। एकप्रकारले सुखमय जीवन थियो। भोक सहनु परेन। आमाबाबुले राम्रै स्कुलमा पढाए। ऊ लेखाइपढाइमा राम्रो थियो। कहिले फेल भएन। सरर पढेर सके। पडिसकेपछि सरकारी काम पाइहाले। एउटा व्यवस्थित जीवनको बुनियाद रहेको थियो। दुख झेल्नु परेन।
तर कहाँ नेर कुन कुरामा फेर पर्यो थाहा छैन मनमा भने अवसादले बास लियो।
सायद त्यतिबेला ऊ २३ वर्षको उमेरमा हुनुपर्छ। उसले पहिलोपटक उसलाई देखेको। पहिलो झलक मै ऊ आकर्षित भएको। केही बातचित भए पछि उसले प्रोपोज गरेको हो। प्रेम गर्दछु बिहे गर्न चाहन्छु भनेर। तर उसले सिधै नकार्दिएकी थिई। नकारात्मक प्रतिक्रिया पाएपछि घरमा आएर आफैंलाई ऐनामा घन्टौ हेरेको थियो। ऊ आफैंलाई एक सुन्दर आकर्षक युवक मान्थ्यो। हुनुपनि पाँच फुट आठ इन्च कद भएको जीउ डाल चटक्क मिलेको गोरो सफा चिटिक्क परेको लुगा लगाउने। ऊ आफ्नो प्रस्तुतिमा सजग रहन्थ्यो। ऊ गरिब हुतिहारा छैन। आफ्नो खुट्टामा उभिएको छ। परिवार पालनपोषण गर्न सक्नेछ।
उसको बाट स्वीकृति नभए पनि उसले भने बिर्सन सकेन। उसको आँखामा चौबीस घन्टा अल्झिरही। उसले लाजै नमानी स्टकिङ पनि गर्यो। उसको मनमा विश्वास थियो उसको हृदय परिवर्तन गराउन सक्नेछ भन्ने।
वर्षदिन उसको पछि लाग्न थालेपछि भने उसले उसको प्रेम प्रस्ताव स्वीकार गरी। बिहे छिटै भयो। धुमधामले बिहे भयो।
बिहे भएको पाँच वर्षभित्र एक छोरा र एक छोरी भए पछि उसले देख्यो उसकी श्रीमती उसले सम्झेको जस्तो थिइन। प्राय झडकेर बोल्ने बातैपिछे उसलाई अपमानित गर्ने, रिसाएर बसिरहने देख्न थाल्यो उसले।
अफिसबाट कोही बेला देरी गरेर आए भने श्रीमती राता राता आँखा पारेर कराउँदै भन्थी " एइ साला रण्डा ! कुन रण्डीसित भुलेर यति ढिलो आइस ? तेरो घर आउने टाइम यही हो ? "
त्यो दिन याद छ श्रीमतीले उसको टेबलमा राखेको मोबाइल झटारो हानेर छराम छुरुम पारिदिएकी थिई। टिभीमा कसो लागेन। नभए टिभी पनि सायद फुट्ने थियो।
उसले बुझ्न सकेको थिएन उसकी श्रीमती यति हिंसात्मक कसरी भएकी ? कुन कारणले भएकी ? उसलाई लाग्थ्यो उसले त्यस्तो कुनै भूल गरेको छैन फेरि किन दोषी बन्दछ ऊ ?
साझँ तर जब ऊ छोरा र छोरीलाई आफ्नो छेउ पाउँथ्यो उसले सबै बिर्सिहाल्थ्यो। ऊ आफ्नो छोराछोरीलाई साह्रै माया गर्ने। आफ्नो छोराछोरीमा आफ्नो भविष्य देख्थे। आफैंलाई ढुक्क मान्थे। अनि फेरि आफ्नी स्वास्नीप्रति कृतज्ञ हुन्थे यति सुन्दर सुन्दर छोराछोरी उसको भाग्यमा पारिदिएकोमा। त्यतिबेला आफैलाई धन्य पनि मान्थे। ऊ उसै उसै खुशी हुन्थ्यो। अनि त्यो ताण्डवको स्मृति मेटाएर धुमिल बनाउँथ्यो।
छोरा छोरी हुर्के बडे। छोराले बिहे गरे पछि आफ्नो संसार बनायो। एक सुन्दर घर बनाए र उसको सानो परिवार त्यही बसाल्यो। छोरी बिहे भएर गई। घरमा उनीहरू दुई रहेका थिए।
वास्तवमा उसले आफ्नो अवकाशको जीवनबारे कल्पना पनि गरेको थिएन। उसलाई रिटायर भएर घरमा बस्नुपर्ने हुनेछ जस्तो पटक्क लाग्दैन थियो। काम काम अनि काम उसले त्यति नै सम्झेको थियो। आफ्नो लगनीको काम बाहेक अन्य संसार सोचेकै थिएन। जीवनप्रति अत्यधिक मोह राख्ने व्यक्ति हुनाले जतिसक्दो जीवनको नजिक हुनचाहन्थ्यो। निराशा हताशा रोगव्याधि मृत्यु उसको दिमाग मै नआउने। यस्तो कुरा मनमा ल्याउनु हुँदैन भन्ने विषयमा विश्वास गर्ने ऊ। हुनपनि ऊ थला परेर अस्पताल कहिले पुग्नु परेको थिएन। शरीर स्वस्थ रहेपछि बिमारी र यसबाट जन्मिने चिन्ता पनि भएन उसलाई। यद्यपि आफ्नो मन जलिरहेको भने उसको बाहिरी मनले बुझ्न सकेन। उसलाई लाग्थ्यो जीवनबारे चिन्ता गर्नु अनावश्यक हो। मान्छे जसरी भए पनि जिउन सक्नु हो। जीवन छ भने सबै थोक छ छैन भने केही पनि छैन। यसमा चिन्तन गर्नुपर्ने दार्शनिक जस्तो घोरिनुपर्ने कुनै कारण छैन। आफूले चिताएको चाहेको पुगोस। त्यति भए भयो। तर सबै कुरा पुगेर पनि अपुग रहन गएको कुरा भने उसलाई बुझ्न धेरै समय लागेको हो। उसले यही बुझ्न नसकेको थुप्रै कुराहरूमा अवकाश पछि के गर्ने आफ्नो दैनन्दिनी कस्तो हुने हो विचार गर्न नसक्नु एक थियो। हुनत उसले यसलाई त्यसरी बुझेको थिएन। विगत जसरी रहेको थियो आगत त्यसरी नै रहनेछ। समयको परिवर्तन पछि त्यही अनुसार जीवन वृत्ति सञ्चालन जस्ता कुरामा उसलाई खासै विश्वास थिएन। उसको निम्ति जीवन एक सरल रेखा जस्तो हो जो शुरुदेखि अन्तसम्म एकरुप हुन्छ। अनुहारमा देखिन लागेको रेखाहरू, केशका छिटाहरूमा सेतोपन, कतै हिडडुल गर्दा अनुभव भएको शारीरिक शिथिलताको आभासले भने अत्याएको हो। कसरी हुन्छ आफ्नो जवानीको लयमा फर्कनु, लुगा लगाउँदा बुड्यौली नदेखाइनु, बातचित गर्दा तन्देरी लवजमा गर्नु उसले गर्नु परेको नयाँ अभ्यासका विषय थिए। कता कता भने उसलाई लाग्न थालेको थियो समय उसको हातबाट चिप्लिएर जाँदैछ। उसले सम्झे जस्तो भइरहेको थिएन। खाना खाँदा तन्देरी हुँदा जस्तो रुचाएर खान नसकेको र मात्रा घटेको थियो। भोक उति नलाग्ने र भोकाएर पनि धेर खान नसक्ने। निद्रा कम लाग्ने। अनिँदो बसेर जिउ विसञ्चो रहे जस्तो अनुभव। यी सब विषयहरूले उसलाई चिन्तामा पुर्यायो जसले उसको तनाव अझ वृद्धि गर्यो।
बाहिर जस्तो देखिन्थ्यो भित्र ऊ त्यस्तो थिएन तर यो कुरा उसलाई पनि थाहा हुँदैन थियो। आफू जस्तो थियो उसलाई त्यस्तै छ भन्ने नलागेर ऊ जस्तो हुन चाहन्छ त्यही अनुसार आफ्नो प्रस्तुति दिन्थ्यो। यही कारण ऊ खासमा उसको मित्रमण्डली त के आफ्नै आफन्तभित्र पनि उति सहज व्यक्ति थिएन। शिष्टाचार मात्र ऊसित निभाइदिन्थे सहोदरपना होइन। यद्यपि उसलाई अरुको नजरमा यस्तो छ भनेर कहिले आभास भएन।
अवकाशप्राप्त भए पछि यही कारणले उसको एकलोपन बडेको थियो। तर उसले सोच्थ्यो मान्छे स्वाभाविक रुपले स्वार्थी हुन्छ। ऊ अब शक्तिशाली छैन सरकारको सत्ता उसित छैन यसैले उसको मित्रहरू पर भएका हुन। तिनीहरूको दृष्टि यसरी फेरिएका हुन। उसको कुनै दोष छैन। ऊ निष्कलङ्क छ। उसलाई लाग्छ उसकोमा स्वार्थीपना छैन। ऊ सम्झन्थ्यो अन्यले उसलाई निमन्त्रणा दिनुपर्नेछ उसले अन्यलाई निम्तो दिने होइन।
रिटायर भएपछि उसको फोनको घन्टी बज्न लगभग सकिएको थियो। फोन नबज्दा उसलाई लागेको थियो फोन बिग्रेछ भन्ने। तर जाँच गर्दा थाहा लाग्यो फोन ठिकै छ भन्ने। यसरी फोनको घन्टी नबजेको तीनदिन पछि उसले फोनलाई झटारो हानेको थियो। रिस नमेटिएर फुटेको मोबाइललाई खुट्टाले अझ कुल्चेको थियो। फुटेको मोबाइल अफिसबाट दिइएको थियो उसले किनेको होइन।
घटना बितेको सात वर्ष भयो तर आज पनि याद आउँछ। लाग्छ उसले ठिकै गरेको थियो। रिस अझ मरेको थिएन।
आज बिहान बाटोमा उसले कोही नभेट्दा उसलाई गुडमर्निङ सर भनेर कसैले सम्बोधन नगर्दा कोही मुसुक्क हाँसिदिने पनि नदेख्दा मनको अत्यास बडेर गएको थियो।
टिभी हेर्न टिभी अन गर्यो। आँखा त्यतातिर गएन। मन बरालिरह्यो। टिभीको आवाजले दिक्क बनाएको जस्तो लाग्यो। अफ गरिदियो। कोठामा मौनता छायो। मौनता उसलाई भयावह लाग्छ। घरबाहिर निस्केर आकाशतिर हेरिपठायो। बिहान त छ्याङ्ग उज्यालो थियो। तर अहिले फेरि बादलले घाम छेलेको देख्यो। सायद पानी फर्छ होला। पानी पर्ने मौसम छ। हप्ता दिन अघि घनघोर वृष्टि भएको थियो। टिस्टा नदी बडेर छेउछाउ निकै जोखिम बनाएको उसले सुनेको हो। टिस्टा नदी सम्झँदा उसले टिस्टाको नजर नपरेको वर्षदिन हुन लागेछ। नदीसित त्यस्तो मोह त त्यस्तो केही छैन। तर ऊ सानो छँदा टिस्टामा पौडन गएको झलझली भयो। झन्डै बगाएको थियो। साथीहरूले तानेर निकालेको सम्झ्यो। त्यतिबेला बगाएको भए ऊ के हुने थियो? निकै वर्ष अघिसम्म यो घटना सम्झँदा तरंगित हुन्थ्यो मनमा चिसो पस्थ्यो। आङ सिरिङ्ग हुन्थ्यो। तर हिजोआज हुँदैन मनमा त्यही डर हुँदैन। रोमाञ्च पनि हुँदैन। आज पनि त्यस्तो केही भएन। उसले सम्झ्यो टिस्टा एक मुक्ति हो, मोक्ष हो। जीवनदाता हो। जीवन दिने जीवनलाई मोक्ष दिने।
सधैं झैँ बिहान दश बजे तयार भयो। अफिस जान छोडेको त वर्षौ भयो तर रुटिन जो बसेको थियो त्यसलाई तोडन उसलाई गाह्रो लागेको हो। यसैले हिजोआज अफिस होइन अफिस जानेहरूको ताँतलाई हेर्ने जाने हो। बजार डुल्छ। ऊ जस्तै रिटायर्डहरू बजारमा कोही घाम तापिरहेका हुन्छन त कोही चिनाजान भेटाए गफ जुटाउन। पेन्सनको रकम, डिए कति पाउने मेडिकल भत्ता कति पाउने। सरकारबाट रिटायर्डको लागि कुनै नयाँ योजना। राजनीतिका चुटकिला खबरहरू। कोही रिटायर्ड बिमार भएर अस्पतालमा भर्ना भएको खबर। दिवंगत हुनेको समाचार। बिचबिचमा रुमानी कुराहरू। राम्री सुन्दरी युवतीहरूको चर्चा। फोहोरी गफहरू पनि। हाँसोको फोहोरा।
दिन ढल्कँदै गएपछि फेरि आफ्नो घरतिरको गन्तव्य। ऊ कोही बेला सामेल हुन्थ्यो तर पछि उनीहरूको छोराछोरीको बडी बडाइ धन सम्पत्ति कता कता घुम्न गएको बडी ठूलो कुरा हुन थालेदेखि दिक्क लागेको हो। पछिल्लो एक साल भयो होला ऊ सामेल हुन छोडेको।
आज पनि देख्यो उसले तर तरेर हिडे बजारमा। एक ठाउँ गएर एकलै बसिरहे। मान्छेहरूको चहलपहल निकै नै थियो टुरिस्ट सिजन भएर होला। ठिम्याउन सकिने भन्दा ठिम्याउन नसकिने अनुहारहरू बडी देखे।
अपरान्ह एक बज्यो उसलाई आज घर फर्केर जान मन भएन। कहाँ जाऊ कता जाऊ भइरहे जस्तो भयो।
छेउको एटिम काउन्टरमा गयो। दस हजार निकाल्यो।
सिलगढी जानेछु भनेर एउटा ट्याक्सीमा चड्यो।
सिलगढी दार्जिलिङ कालेबुङ काकरभित्ता जाने गाडीहरू उपलब्ध रहेछन। केही क्षण घोरिएर सिलगढीको टिकट काट्यो। गाडी साढे दुईमा छुट्छ भन्दै थियो तर गाडी हिडदा तीन बजिसकेको देख्यो घडीमा उसले।
घरमा श्रीमतीलाई खवर गरौ कि लाग्यो। फेरि सम्झ्यो उनीहरू घरमा अलग अलग कोठामा सुत्ने गरेको धेरै वर्ष भइसकेको हो। दुईजना बीच खासै बातचित हुँदैन। ऊ हुँदा नहुँदा श्रीमतीलाई कुनै परवाह हुन्छ जस्तो लागेन। भोलि नभए पर्सी त फर्किहाल्ने हो। सोधिहाले त्यही बेला बताउँला भनी मन बुझायो। मोबाइल फोन गोजीभित्र हाल्यो।
पाँच बजेतिर टिस्टा पुगेको थियो गाडी। त्यहाँ एक पेसेन्जरले केही खरिद गर्छु भनी गाडी रोकेको थियो। उसको कुनै काम थिएन तर ऊ पनि गाडीबाट उत्रियो।
टिस्टा नदी बडेर उफान भएको रहेछ। उज्यालो कम हुन थालेको थियो तर पनि बडेको टिस्टाको धमिलो पानी बडो वेगले बहेको देख्न सक्ने थियो।
टिस्टा नदी अझ राम्ररी हेर्न ऊ पुलतिर आयो र त्यहाँबाट हेर्न थाल्यो।
गाडीले हर्न बजाएर उसलाई बोलाएको थाहा पाएपछि ऊ गाडीतिर आयो। ड्राइभरलाई भन्यो ऊ यही बस्ने सिलगढी नजाने भनेर भनेपछि गाडी अघि बड्यो।
ऊ बिस्तार हिडदै टिस्टा बजार जाने बाटोतिर लाग्यो। उसले देख्यो टिस्टा नदी बाटो कै छेउमा छ। अलि बड्यो भने बाटो छोप्नेछ र यो बाटोबाट आवतजावत गर्न सक्ने छैन। उसले टिस्टालाई निर्निमेश हेरिरह्यो।
साँझ ढल्किसकेको थियो र बाटो ठिम्याएर पाइला सार्न जोगिनु पर्ने। टिस्टामा माथिबाट आएको बिजुलीको झल्याकझुलुक देखिँदै थियो। अब सायद केही क्षणमा सबै अन्धकारमा डुब्नेछ। केही देखिने छैन।
उसलाई यो ठाउँ छोडेर जान मन लागेन। त्यही टिस्टा नदीको किनारमा बसिरहुँ लाग्यो।
चिसो चिसो भयो। उसले खासै तातो लुगा लगाएको थिएन। टिस्टाबाट चिसो हावाको सिरौटोले उसलाई काँडा उम्रने बनायो। एकपटक आफ्नो जीवनलाई सम्झ्यो। दुई हात जोडेर कसैलाई प्रणाम गरे जस्तो कसैलाई बिदा मागे जस्तो गर्यो। वास्तवमा उसको मन शून्य थियो त्यतिबेला। कुनै सोँच विचार आएको थिएन।त्यही दुई हात जोडेको मुद्रामा उसले टिस्टा नदीमा हाम फाल्यो।
Comments
Post a Comment