म र मेरो साथी
हामी दुई लगौटिया साथी थियौँ। सायद त्यतिबेला म दोस्रो श्रेणीमा पढथे हुँला मेरो ऊसित परिचय गासिँदा। उमेरले म ठूलो यस्तै एकदुई सालले। दुई क्लास पढदा म दस वर्षको थिएँ ऊ आठ सालको मात्र हो भन्थ्यो। तर डाल भने उसको ठूलो थियो म भन्दा अग्लो र मोटो पनि। म भन्दा धेरै बलियो। खोलामा माछा मार्न जान्थ्यौँ। दुवाली थुन्थ्यौँ। म ढुङ्गा उचाल्न सक्तिन थिएँ उसले निकै ठूलो ढुङ्गा पनि उठाउने पल्टाउने। साना साना माछा बुदुना समात्थ्यौँ। गढेँला पनि समात्थ्यौ तर त्यसलाई छोडिदिन्थ्यौ। गड्यौला खानु हुँदैन विष हुन्छ भन्थेँ। यो कुरा चाहिँ मैले सुनेको ठूलाठूला दाज्युहरूकोबाट र उसलाई पनि सिकाएको।
हामी दुई कोही बेला छेउछाउको जङ्गलमा जान्थ्यौँ। त्यहाँ ऐँसेलु घारी थियो। ऐँसेलु पहेलै भएर फलेको हुन्थ्यो। अमन भइन्जेल खाइन्थ्यो। अलि मास्तिर सिमलको अग्लो रुखहरू थिए। सिमलको रातो फूल भुइभरी झरेको हुन्थ्यो। हामी फूलहरू टिपेर खान्थ्यौँ।
एकपटक कदमको रुखमा चढेर कदमको फल भक्कु खाएका थियौँ। बेलुका मलाई छाद्नु छेर्नुले हुनसम्म साह्रो पार्यो, लगाएको लुगा सबै फोहोर गरिपठाएछु। आमाकोवाट दुई चार थप्पड र गालीको साथ चिसो पानीमा खलखल नुहाउनु पर्यो।
खोलाको किनारको बालुवामा हामी धेरै समय खेलिबस्थ्यौँ। कोही बेला कुस्ती खेलिन्थ्यो दुईजना। कुस्तीमा उसले जित्ने। थाकेर एकैछिनमा स्वाँ स्वा सास फेर्ने। दिउँसो घामले जिउ तताए खोलामा पस्थ्यौँ छिपछिपे पानीसम्म। गहिरो भए ठाउँ जान डराउँथ्यौँ। डर मलाई बेसी लाग्ने, ऊ त्यति नडराउने। बर्खायाममा जब आकाश गुड्युङ गुडुङ गरी घनघोर वर्ष हुन्थ्यो अनि खोला बडेर धमिलो भएर आउँथ्यो हामी फाल तोडेर खोला किनार खोल्चाखोल्ची र खेततिर जान्थ्यौ। खोला बडेर हिलाम्मे भएको हुनाले बुदुना माछा खोलाबाट सङ्लो पानी खोज्दै खेत र साना साना खोल्चातिर चडेको हुन्छ। ठूलो मान्छे साथै हामी भुराभुरी बुदुना समात्न हिलो सरी भएर पानीमा पस्थ्यौँ।
खेलिसकेर आफ्नो आफ्नो घरमा आउँथ्यौँ। म अलि लजालु शंकालु भएको हुनाले उसको घर जाँदिन थिएँ तर ऊ भने मेरो घरमा आइरहन्थ्यो। घरमा आमाले भुटेको मकै, कोही बेला कोदोको रोटी र कहिलेकाहीँ भने तरुलको खाजा दिनुहुन्थ्यो हामी दुईलाई। भुटेको मकै, मुलाको साग र मही खुबै मीठो लाग्थ्यो। उसले भने मही मात्र खान्थे। भुटेको मकै मन नपराउने। उसको घरमा आमाले दिँदैन अरे। तर हरियो मकै पोलेर दिए चाहिँ खाने गर्थ्यो।
क्लास फाइभ पुग्दा स्कुलमा हल्ला भयो। टेस्ट हुन्छ अरे भनेर। सरहरूले हामीलाई पढेर आउनु भनेका थिए। के को टेस्ट हो मलाई निधो भएको थिएन। मैले मेरो साथीलाई सोधेँ। उसले भन्यो यसमा पास भयो भने राम्रो स्कुल पढनु पाउँछ। मैले भनेँ अनि हाम्रो स्कुल पनि राम्रै छ। आठसम्म पढाउने स्कुलमा पाँच जना गुरुबाउ छ। त्यही हो हिसाबको पढाइ प्रायः हुँदैन। उसले भन्यो राम्रो स्कुल भनेको राम्रो पढाइ हुने ठूलो स्कुल भनेको हो।
टेस्ट भयो म फेल भएँ साथी अव्वल दर्जामा पास भएछ। त्यो टेस्ट सकेपछि उसलाई फेरि सरहरूले अर्को ठाउँमा टेस्ट गर्नु लग्यो।
त्यसपछि उसले हाम्रो स्कुल पढन छाड्यो। ऊ गयो। ऊ कुन स्कुल पढनु गयो कुन ठाउँमा गयो थाहा हुन सकेन मलाई। मसित सँधै जस्तो हिडडुल गर्ने खेल्न साथ दिने गएकोमा मलाई भने केही खल्लो हुन गयो। ऊबाहेक अरुसित मेरो खासै हिमचिम थिएन।
दुई वर्षपछि उसलाई जाडो महीनाको बिदा समयमा देखेँ। घर आएको निकै दिन भएको रहेछ तर मलाई थाहा भएन। अचानक एकदिन देख्दा एकछिन त छक्क परेँ। छक्क पर्नुको कारण थियो उसको रुपरङ्ग पहिला जस्तो थिँदै थिएन। निको गोरो, केस छोटो छरितो काटेको, सफा सुग्घर। हिडाइँ पनि पहिला जस्तो थिएन। ऊ हात हल्लाएर खुट्टा पर पर पारेर हिडथ्यो। अहिले ऊ सम्हालिएर कदम मिलाएर हिडेको लाग्यो। पहिला जस्तो पटटट नबोल्ने अलि अबोला लाग्यो। अङ्ग्रेजी बडी बोल्ने नेपाली कम बोल्ने। नेपाली बोल्दा पनि अङ्ग्रेजी मिसाएर बोल्ने। उति खेर मलाई अङ्ग्रेजी आउँदैन थियो। बुझ्न गाह्रो हुन्थ्यो।
उसको नाम धनमान गुरुङ थियो। मैले बोलाउँदा धने भनेर बोलाउँथे। मेरो नाम मन बहादुर मगर थियो। उसले मलाई मने भन्थ्यो। तर यसपालि जब मैले "मने" भनेर बोलाउँदा ऊ रिसाएको जस्तो गरेको थियो। उसले झर्केर मलाई भन्यो "मलाई डिएम भनेर पुकार्नु।"
हाम्रो बातचित बडी हुन सकेन। मलाई हामी दुई टाढिएको लाग्यो।
खासमा ऊसित बातचित गर्न लाज लाग्यो। आफूलाई केही नजान्ने जङ्गली लाग्यो। उसको दाँजोमा मेरो लुगा फोहोरी सस्तो थाङ्ने देखियो। धेरै बातचित गरिएन। ऊ दुई महीना पनि घरमा नबसी गयो। त्यही एकपटक भेटे पछि त्यो वर्ष भेटिएन।
आठौं श्रेणी पछि मैले अर्को स्कुलमा भर्ना लिनु पर्यो। मैले पढदै गरेको स्कुलमा आठौं कक्षासम्म मात्र पढाइन्थ्यो। अर्को स्कुल घरबाट भ्याउन सम्भव थिएन। घरको आर्थिक अवस्था ज्यादै कमजोर भएको कारण नवौं श्रेणीमा भर्ना हुन जान पाइने हो कि होइन सन्देह भयो। स्कुल टाढो हुनाले मैले कि त होस्टल, कसैको घरमा खुराकी कि आफ्नो कुनै बन्दोबस्त गर्नु समस्या आएको थियो।
घरमा धेरै बहस पछि मेरो पढाइ जारी राखिदिने भयो। तर जति पैसा मलाई छुट्याइँदैथियो त्यो रकमले होस्टल बस्न अपुग हुने भयो। बल्लतल्ल एउटा घरमा खुराकीको बन्दोबस्त हुनु सक्यो। महीनाको रकम ठिकै थियो। तर मैले देखेँ घरबाट आउने रकम खुराकी तिर्न मात्र पुग्नेछ। स्कुल फिस, खाताकिताब तथा कुनै फाल्तु खर्च आए नपुग्ने। म तनावमा पुगेँ। मेरो पढाइ यति मै सकिने हो ? मैले पढन नपाउने?
म खुराकी बसेको घरमुली मेरो निम्ति उद्धारकर्ता नै सावित भयो। म भन्दा अघि खुराकी बस्ने विद्यार्थीले यस्तै समस्याको तगारो ऊमाथि राखेपछि उसले सुझाव दिएको रहेछ। उसले नै मलाई सोधे "प्राइमरी स्कुलका नानीहरू ट्युसन पढाउनु होस। म ती विद्यार्थीहरूको अभिभावक चिन्दछु। उनीहरूलाई भनिदिनेछु।"
बेलुकी पाँच बजेपछि मैले ट्युसन पढाउने तालिका राखेँ। तीन घर गएर पढाउनु पर्ने भयो। एक घरमा एक घन्टा पढाउँदा तीन घन्टा लाग्ने भयो। समय मिलाएर हेर्दा राति आठबजेपछि मात्र आफ्नो ठाउँ आइपुग्ने रहेछ। मेरो आफ्नो अध्ययन कति बेला गर्ने मलाई चिन्ताले डुबायो। यद्यपि अर्को विकल्प थिएन। नवौं श्रेणी पुग्दा म सोह्र वर्षको लट्ठा जवान जस्तो भइसकेको थिएँ। सायद म आफ्नो उमेर भन्दा बूढो देख्ते हुँला यसैले मलाई विद्यार्थी नसम्झेर कुनै कामदार सम्झिन्थे। बाटो घाटो हिडदा कसैले सोधिहाल्थे कहाँ काम गर्छ भनेर। कहाँ पढछ कति पढदैछ जस्तो प्रश्न विरलै त के कसैले भनेको थाहा छैन। हुनत आफ्नो घरमा घाँस दाउरा बारीको काम जस्ता कठिन शारीरिक श्रमको कारणले होला मेरो शारीरिक गठन उस्तै प्रकारको थियो। गालामा मासु नदेखेर हड्डी र छाला मात्र देखिने। त्यहाँ ताजगी र कोमलता होइन कठोरता र रुष्टता बडी रहेको छर्लङ्ग देखिन्थ्यो। आँखा केही चिम्सो। हाँस्दा अनुहार मुजा परेर रेखाले भरिएको हुन्थ्यो।
स्कुलमा सरले मलाई रिसाएको बेला छिप्पेको बुडो भन्ने गर्थ्यो। गाली गर्दा " म भन्दा बुडो छस तैले के पढछस " भन्थ्यो।
मेरो व्यस्तताले मलाई आफ्नो पाठ्यक्रम राम्ररी पढन समय मिलिरहेको थिएन। होमवर्क गर्न छुट्थ्यो। यही कारण सर गुरुमाका म आँखाको तारा भएको थिएँ। मेरो होमवर्कमा रातो दागको भरमार हुन्थ्यो। मैले गाली खानुपरेको यही कुराहरूले थिए। त्यसो त म पढाइमा अव्वल कहिले थिइनँ। फर्स्ट सेकेन्ड कहिले हुन सकिनँ। जसो तसो तानतुन पारेर पास हुन्थे। मेरो साथी धनमान र ममा यही मुख्य भिन्नता थियो। धनमान फर्स्ट या सेकेन्ड हुन्थ्यो। सर गुरुमाको प्यारो हुन्थ्यो। उसको यही प्रतिभाले नै उत्कृष्ट स्कुलमा सरकारी सुविधा सहित पढन पायो।
यो स्कुल भर्ना हुन अघि धनमानलाई भेटेको थिएँ। जनवरी महीनामा विन्टर वेकेशनमा यतै थियो। मलाई के आश्चर्य लाग्यो भने ऊ स्कुल युनिफर्ममा थियो। निलो ब्लेजर कोट, सेतो कमिज, ब्राउन कलरको स्वेटर, ब्राउन कलर कै ट्राउजर, टाई। उसलाई खुबै सुहाएको र स्मार्ट देखिरहेको थियो।
पहिला भन्दा मेरो कद बडेको थियो र ऊ भन्दा शेक होँचो मात्र थिएँ। तर मेरो हाडे शरीर। उसको खदिलो मज्जाले मिलेको शारीरिक गठन। पौष्टिक आहार पूर्ण सेवन गर्न पाएको। गाला रातो पिरो।
यसपालि भने हामी अलि गफिएका थियौँ। उसले मलाई एउटा किताब पनि उपहार दिएको थियो। शर्लक होम्सको कथा भएको किताब थियो।
यसपालि उसले मलाई उसको स्कुलको बारेमा निकै बतायो। स्कुल कस्तो छ, क्लासरुम कस्तो छ, प्लेग्राउन्ड कस्तो छ सबै सबै। मलाई स्कुलमा स्वीमीङ पुल छ भन्दा उदेक लाग्यो। बास्केटबल खेल्ने ठाउँ, भलिबल खेल्ने, टेबल टेनिस, ब्याडमिन्टन खेल्ने ठाउँ सबै छ रे।
होस्टल सफा भएको र टाइममा ब्रेकफास्ट, लन्च र डिनर दिन्छ रे। स्कुलको बसगाडी छ रे र त्यसमा कोही कोही बेला घुमाउनु लान्छ रे। मलाई त सपना जस्तो लागिरहेको थियो सुनेर। सम्झेँ ऊ धेरै भाग्यमानी त्यस्तो स्कुल पढनु पाइरहेको छ। मेरो त भाग्यमा छैन, अभागीको भागमा सँधै दुख। नभन्दै एउटा नयाँ कुरा के थाहा पाएँ भने ऊ पाँचौं श्रेणी हुँदा गएको थियो तर त्यो स्कुलमा तेस्रो श्रेणीमा भर्ना हुनु परेको रहेछ। त्यहाँको आन्तरिक जाँचपछि उसलाई त्यसो गरेको रहेछ। तर उसले मलाई भने यताबाट जाने सबैको क्लास त्यसरी नै झार्छ रे। यसमा भने मभित्र भित्रै खुशी भएको थिएँ। कमसेकम म भन्दा सानो क्लासमा रहेछ।
म नवौं श्रेणी भने ऊ सातौं श्रेणीमा।
हुनत कहाँ मेरो अवस्था कहाँ उसको। म एक सस्तो ठाउँमा खुराकीमा बसेको त्यही पनि पैसा कम भएको कारण ट्युसन गरेर आफ्नो खर्चको जोहो गर्नुपर्ने। पढने समय छैन, मीठो मसिनो खाना छैन। कहाँ ऊ भने आलिसान होस्टलमा मीठा मीठा भोजन, सबै कुराको आराम।
म एघारौं श्रेणीमा हुँदा सिक्किममा ठूलो घटना घट्यो। मैले सुनेँ सिक्किमको राजा मासिने भयो रे। सिक्किम देशबाट प्रदेश बन्ने भयो रे। हाम्रो स्कुलमा एक दक्षिण भारतीय शिक्षकले एकदिन हाम्रो क्लास भित्रै भन्यो। तिमीहरूले दश वर्ष पछि बुझ्ने छौँ तिमीहरूले के गुमायौ भनेर।"
त्यतिबेला एकातिर वेस्टबाट जनता आउँदैछ भनेर हल्ला हुन्थ्यो अनि सबै त्रस्त भएर यताउता भागेका हुन्थे। कोहीबेला नर्थबाट पातइ लिएर जनतालाई खेद्नु आउँदैछ भनेर अर्को हल्ला फैलिन्थ्यो। सबै डराएर घरभित्र पस्थे।
विभिन्न गाउँ बजार शहरहरूमा अफिस पुलिसथाना कब्जा गरिएको कुरा आउँथ्यो। पुलिसका अधिकारी तथा ठूला सरकारी अधिकारीहरू जनताले समातेर राखेका छन भनेर खबर आइरहन्थ्यो। राजतन्त्रको विरोधमा जनता उर्लेर आएको सबैले देखे।
सरहरूले भन्ने गर्थै राजाले एक मान्छे एक भोट दिन चाहेको भए यस्तो हुने थिएन। जनताको चित्त बुझ्ने थियो। जनक्रान्ति हुने थिएन।
जताततै सीआरपीले राइफल भिरेर गस्ती लगाइरहेको देखेको हुँ। जुलुसमा उनीहरूले लठ्ठीले हिर्काउँथ्यो। त्यो लटठी तर हामीले चलाउने जस्तो लट्ठी थिएन। लट्ठीले हिर्काउँदा बिजुलीको करेन्ट लागेको जस्तो हुन्थ्यो भनेर लटठी खानेहरूले बताएको सुनेँ। धेरै घाइते भए।
गान्तोक बजारमा भएको घटना सरहरूले सुनाउनु भएको अनुसार त्यहाँका राजावादी धनाठ्य व्यक्तिहरूले जनताले घरबाट घिसारेर सडकमा ल्याए। उनीहरूलाई गाईवस्तु झै गरेर दाम्लोले बिच सडकमा घिसारे। अनुहारभरि कालो मोसो दले। राल सिङ्गान थुक उनीहरूमाथि बर्साए।
म बाह्र क्लासमा पढदै गर्दा मैले थाहा पाए हाम्रा केही दाईहरू जो भारतको विभित्र शहरहरूको शिक्षा केन्द्रमा कोही इन्जिनियरिङ त कोही चिकित्सा अध्ययनरत थिए उनीहरू भारत विरोधी आन्दोलनमा भाग लिए भनेर उनीहरूको सरकारी अनुमति रद्द गरिएका थिए। यही कारण जसको घरको आर्थिक स्तर कमजोर थिए उनीहरू आफ्नो अध्ययन बिचैमा स्थगित गरी फर्केनु परेका थिए। मैले त्यतिबेला मेरो साथी धनमानबारे सोचेको थिए। उसको के भयो होला ? उसले पढन जारी राख्न पाए कि पाएन। यदि उसले पढाइ जारी राख्न पाएन भने उसलाई गाह्रो हुन्छ। पछि गएर थाहा पाएँ उनीहरू सिक्किमबाट धेरै टाढा रहेको कारण यी घटनाबाट अछुत रहेका थिए।
उच्चतर माध्यमिक परिक्षामा म पास भएँ। तर ४० प्रतिशत मात्र ल्याउन सकेँ। कसो फेल भइएनछ त्यसैमा ढुक्क भएँ।
यहाँदेखि उता पढन सक्ने कलेज जान सक्ने आर्थिक क्षमता थिएन। घरको अवस्था झन खस्केर गएको थियो। पुगनपुग एक ऐकर जमिनमा भएको उप्जनीले हाम्रो परिवारलाई पहिला पनि छाक पुर्याउन हम्मेहम्मे पर्थ्यो। भन्नै हो भने यसको कमाइले तीन महीना थाम्नु मुश्किल पर्थ्यो। आमा बाबू दुवै निकै पाका भए पहिला जस्तो श्रम गर्नु सक्दैन।
यही कारण जतिसक्दो छिटो काममा लागेर कमाइ गर्नुपर्ने र घरलाई भरथेग पर्ने थियो।
मैले थुप्रै विभागमा आवेदन गरेको थिएँ। तीनचार अन्तर्वार्ता बसियो। शिक्षक पदमा मेरो नाम निस्केको थियो। त्यही बेला शिक्षा विभागमा क्लार्कमा मेरो नियुक्ति पत्र निस्क्यो। खुशीको ठिकाना रहेन। यतिबेला जस्तो आनन्द र उल्लास मलाई भएको थियो त्यस्तो यो भन्दा अघि कहिल्यै भएको थिएन। अब मेरो आफ्नो परिचय बनियो। म गरिबी र गुमनामीबाट समृद्धि र उज्यालो पक्षमा पुगेँ जस्तो लाग्यो। मेरो दिन फर्केको छ। आफैंलाई धेरै भाग्यमानी लागिरहेको थियो।
नियुक्ति लिएर जब म अफिसमा एउटा टेबल र चौकीमा बस्न लागेँ एक शक्तिशाली जग्गा ओगटेको भान भयो। मैले सम्झेँ म शिक्षा विभागको एक एल डी सी भए पनि सिक्किम भरीको शिक्षक शिक्षिकामाथि शासन गर्ने ठाउँ हो लागेको थियो। त्यतिबेला मैले मेरा शिक्षक शिक्षिका स्मरण गरेर अब म उनीहरू भन्दा ठूलो पदमा बसेको सम्झेँ।
हुनपनि त्यतिञ्जेल आफ्नो खर्चको निम्ति आमाबाबुमाथि निर्भर थिएँ। अब स्थिति उल्टा भएको छ। म उनीहरूलाई खर्च दिन सक्ने भएकोछु।
सिक्किम भारतमा विलय भइसके पछि सिक्किममा रातारात अनेक परिवर्तन आउन थाले। शिक्षा विभागको कार्यलयमा जहिले भीड हुने गरेको थियो। सिक्किम विलय पूर्व सिक्किममा थोरै स्कुलहरू थिए। ग्रामीण क्षेत्रका धेरै स्कुलहरू सरकारी नभएर कमिटी स्कुल हुन्थ्यो। कमिटी स्कुल भनेको गाउँलेहरूले मिलेर उनीहरू कै आर्थिक सहयोगमा सञ्चालन हुने स्कुल हो। यस्ता स्कुलको अवस्था सन्तोषजनक हुने होइन। सरकारले एउटा नीति बनायो प्रत्येक दुई किलोमिटरमा एउटा सरकारी स्कुल बनाइने। यही नीतिले ती धेरै कमिटीले स्कुल सरकारी स्कुल हुनु गयो। जहाँ यस्ता कमिटी स्कुल थिएन त्यहाँ नयाँ बनिए। यसले गर्दा धेरै नयाँ स्कुल बनिए, हजारौं शिक्षक शिक्षिकाको नियुक्ति भयो। यसले गाउँ बजार शहरमा रहेका समस्त शिक्षित बेरोजगारहरूले रोजगार पाए। यही कारण शिक्षा विभागमा यस्ता नवनियुक्त शिक्षक शिशिक्षिकाको भीड हुन्थ्यो। म आफू यही कामले व्यस्त रहनुपर्थ्यो दिन बितेको पत्तो हुँदैन थियो।
सिक्किममा धेरै रोजगार खुलेको हुनाले छिमेकी राज्य पश्चिम बंगालको दार्जिलिङ जिल्लाबाट रोजगार खोज्न आउने बाक्लो भीड नै हुन्थ्यो। पश्चिम बंगालमा गाडीको नम्बर डब्ल्यु जी वाई हुन्छ। यसैले हामी उनीहरूलाई दार्जिलिङेलाई डब्ल्यु जी वाई भनेर भन्थ्यौँ।
सिक्किमका युवा समूह दार्जिलिङका युवतीहरूसित बडी प्रभावित हुने गर्थ्यो किनकि उनीहरू सिक्किमे युवतीको तुलनामा बडी फेसनबल लाग्थ्यो। मलाई पनि त्यस्तै लाग्थ्यो। हामी भन्ने गर्थ्यौ दार्जिलिङकाहरू स्मार्ट हुन्छन। विशेषगरी डब्ल्यु जी वाई युवतीहरू आज सिक्किम आयो भोलि नियुक्ति पाएकी हुन्छ भन्दै हामी हाँस्दै गफ लगाउँथ्यौँ।
हाम्रो कार्यलयमा एक बाबुनी थिए उमेरले यस्तै पचासको छेउछाउ। निकै मोटी थिई। ठूलो जिउडाल। उनी अफिस सुपरिटेन्डेन्ट भएकी हुनाले हाम्रो कार्यलयको हर्ताकर्ता। हाम्रो काम अरन खटन गर्ने।
अफिस भित्र काम गर्नेमा हामी चार पाँचजना पच्चीस नकाटेका अल्लारे युवकहरू थियौँ। सबै अविवाहित। हामीलाई ताकेर एकदिन भनी
"यो डब्ल्यु जी वाई केटीहरू कस्तो पुतली जस्तो राम्री राम्रीहरू छन। म केटी मान्छे भए पनि उनारलाई देख्दा मन चुमचुम हुन्छ। तिमारलाई हुँदैन ? ए केटा हो जाल हान माछा फसा। मौकामा चौका हान। पछि गालामा चाउरी परेपछि तिमारलाई कुनै केटीले फुटेको आँखाले पनि हेर्ने होइन। हन तिमारु छक्का त होइन होला नि !"
उनको यो वचन सुनेर हामी सबै गललल हाँसेका थियौँ।
पछि गएर ती धेरैजना सिक्किम मै बिहे गरेर यतै बसेका मैले सुनेको थिएँ
शिक्षा विभागमा काम गर्न थालेको चार-पाँच वर्ष बितेपछि अचानक मेरो मित्र धनमान मेरो कार्यलयमा देखेँ। ऊ मलाई यस कार्यलयमा देखेर अलमल्ल परेको बुझेँ। छेवैमा राखेर सविस्तार बुझाए पछि मैले बातचितको शिलशिला अगाडि बडाउँन चिया मगाएँ।
उसले मलाई बतायो उसले दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा एम ए अध्ययन गर्न भर्ना लिएको छ। छात्रवृत्ति आवेदन गर्नको लागि विभागमा आएको बतायो। मैले उसलाई सहयोग गर्ने वचन दिएँ। विभागमा रहेको हुनाले मेरो सबैसित सम्पर्क छ। उसको आवेदनलाई स्वीकृति दिलाउन त्यति गाह्रो हुने छैन। हामी दुई दुई तीन घन्टा समय गफ गरेर बिताए पछि उसले हात मिलाउँदै बिदा लियो। बिदा लिन अघि उसले मलाई दिल्ली आउने ऊसित उसको होस्टलमा पाहुना भएर बस्ने निम्तो दियो।
फरवरी महीनामा मैले दिल्ली जाने सोचेँ। हप्तादिन बस्नेछु र फर्किआउनेछु। चिट्ठी लेखुँ कि सम्झेँ तर ठिक ठेगाना थाहा भएन। धनमान निश्चय विश्वविद्यालयमै हुनेछ लाग्यो। पुगेपछि भेटिनेछ। नभन्दै एउटा मनमा डर के भयो भने त्यतिञ्जेल दिल्ली त के सिलगढी पनि पुगेको थिइनँ। भनौं भने रम्फु पार गरेर गएकै थिइनँ। यतिको उमेरसम्म सिक्किम मै बितेको हो।
यता सिक्किममा काम गरिरहेका दार्जिलिङका साथीहरूलाई सोधपुछ गरेँ। एकजना दिल्ली कलकत्तादेखि बम्बई पनि घुमेका रहेछन। उसले रेलको बारे बतायो। उसैले भनेको हो एकजेपी स्टेसनबाट तीन सुकिया मेलमा चड्नु पर्छ करिब ४२ घन्टामा दिल्ली पुर्याइदिन्छ।
मनभरी डरको पोका बोकेर म सिलगढी झरेँ ट्याक्सी गाडीमा चडेर। ड्राइभरलाई मैले मेरो यात्राबारे बताइदिएँ। उसले सहजै भन्यो सिलगढीबाट एनजेपी जाने रिक्सा औटो जति पाउँछ। उसले भन्यो स्ट्यान्डमा नै पाइहाल्छ।
भने जस्तै स्ट्यान्डबाट एउटा औटो लिएर गएँ म। छिटै पुगियो।
त्यहाँको भीड देखेर अत्तालिएँ। यहाँ टिकट काट्नु पर्छ भन्थ्यो कहाँ काट्नु कसलाई सोध्नु पत्तै भएन। जसो त होला भनेर टिकट बिना स्टेसनभित्र पसेँ। हुल थियो उनीहरूसितै म हिडेँ।
सायद एकदुई घन्टा प्लेटफर्ममा बसेपछि तीनसुकिया मेल आइपुग्यो। एउटा कुलो लगाएर चडेँ। कुलीलाई पैसा दिए पछि एक खाली सिटमा बसेँ। म टिकट काट्ने कोही आउँछ होला भनी पर्खिरहेको थिएँ।
रेल हिडन थालेपछि केही क्षणमा टिकट कलेक्टर आए। उसले मलाई टिकट मागे। मैले भने मसित टिकट छैन र मलाई कति दाम लाग्छ तिरेर टिकट दिनोस। उसले हठात रिसाएर भन्यो मलाई बिना टिकट कसरी रेलमा चड्यौ? अर्को स्टेसनमा उत्रिनु यात्रा गर्न पाइँदैन बिना टिकट।
हामी दुईको बहसले त्यहाँ हल्ला भयो। एक भलाद्मी आएर मलाई सोधे तिमी कहाँको हो र कता गएको? मैले बताएँ म सिक्किमबाट आएको हुँ र दिल्ली जान यो रेल चडेको हुँ। उसले फेरि सोध्यो टिकट काटेको थिएनौं ? मैले भने पहिलै टिकट काटेर मात्र चडनु पर्छ भन्ने थाहा थिएन। ऊ एकछिन हास्यो। टिकट कलेक्टरतिर फर्केर हिन्दीमा भन्यो उसले हिन्दी भाषा बुझ्दैन सिक्किमको हो। उसलाई एउटा सिट रिजर्भेसन मिलाइदेऊ। उसले पैसा तिर्छ। टिकट कलेक्टर निकै आनाकानी गर्दै गनगन गर्दै थियो। तर नाक खुम्च्याउँदै भए पनि एउटा रसिद निकालेर दिल्लीको टिकट काटेर दियो। फाइन लगाएर केही बडी शुल्क लिएको थियो। तर मलाई ढुक्क भयो।
मलाई सहायता गर्ने व्यक्तिले टिकट हेरेर भन्यो कन्फर्म्ड टिकट रहेछ। ठिक छ।
त्यो व्यक्ति आफ्नो परिवारसहित रेल यात्रा गरिरहेको रहेछ। गुवाहाटीबाट दिल्ली तिरको यात्रा। उनीहरूको घर दिल्ली मै छ रे। ऊ सिक्किम आएको रहेछ र टुटेफुटेको नेपाली बोली बोल्न सक्ने।
यात्रामा उनीहरूले मलाई उनीहरूले ल्याएका खाना पनि दिए मैले रुचाएर खाएँ स्वादिलो लागेको थियो।
दिल्ली पुगे पछि उनीहरूले मलाई बताए बाहिर स्टेसनमा धेरै औटो पाइन्छ। ठेगाना बताएर औटोमा जाँदा हुन्छ।
अधवैसे उमेर भएको व्यक्तिको अटोमा चडेँ र जवाहरलाल नेहरु विश्वविद्यालय पुर्याऊ भने।
विश्वविद्यालय परिसरमा पुगेपछि मैले भने होस्टलमा पुर्याइदेऊ। उसले सोध्यो कुन होस्टल भनेर। म उसको मूर्खताबाट अवाक भएर भनेँ होस्टलमा पुर्याइदेऊ भनेको बुझेनौ ? उसले फेरि भन्यो यहाँ दर्जनौं होस्टल छ कुन होस्टलमा पुर्याउनु ? त्यतिबेला मैले बुझेँ ऊ मूर्ख होइन म पो मूर्ख रहेछु भनेर। हुन पनि म कलेजै नपढेको मान्छेलाई कलेजको बारे के थाहा हुन्थ्यो। झन यो त विश्वविद्यालय, कता हो कता ? म आत्तिएँ। कसरी खोज्नु कसरी पता लगाउनु धनमानबारे ?
उसले एउटा होस्टल देखाए पछि म उत्रेँ भाडा तिरेर त्यही होस्टलतिर लागेँ।
त्यहाँ धेरै केटाहरू थिए सायद सबै विद्यार्थी । सबै अपरिचित मात्र नभएर मैले आजसम्म देखिरहेका अनुहार भन्दा फरक। मलाई विचित्र लागिरहेको थियो। त्यो भीडमा मेरो साथी नदेख्दा म अरकच्च परेँ। उनीहरू मध्ये एकलाई मैले सोधेँ मेरो साथीबारे। कसैले पनि चिन्छ भनेर भनेन। मलाई लाग्यो त्यही पढने विद्यार्थीलाई कसरी नचिनेको ? हामी त स्कुलमा पढदा आफ्नो सहपाठी लगायत सानो क्लासमा पढनेलाई पनि चिन्थ्यौँ।
मलाई फसाद पर्यो अब के गर्ने कता जाने?
एकजनाले मलाई सोधे कहाँबाट आएको हो र कता जाने हो। मैले बताएपछि उसले हाँस्दै भन्यो धेरै टाढाबाट आएको रहेछ भोक लागेको होला टाइम पनि भएको छ लौ खाना खाऊँ। भोक त लागिरहेको थियो मलाई। राति आठ बजेर उतै गइसकेको थियो।
खाना खाँदै गर्दा उसले भन्यो आज हामीसित बस भोलि हामी तिम्रो साथी पता लगाइदिन्छौ। यहाँ थुप्रै होस्टलहरू छन भिन्दा भिन्दै नाम भएको। कुनमा बस्दोरहेछ पता लगाउनुपर्छ।
म एकप्रकारले ढुक्क भएँ।
सम्झिरहेको थिएँ आजसम्म म अपरिचितको माझ कहिले रात बिताएको थिएन। अपिरिचितहरू यसरी एउटै कोठामा सुत्नु मेरो निम्ति यसैले नयाँ अनुभव हुनेछ।
खाना खाइसकेको थिएँ र त्यही अपरिचित मित्रसित उसको कोठामा जान तयार गर्दै थिएँ हठात मैले धनमानको आवाज सुनेँ। फर्केर हेर्दा हात फैलाएर मतिर आउँदै गरेको देखेँ।
होस्टलमा म एक हप्ता बसेँ। उसले मलाई विश्वविद्यालय, यसको परिवेश र यहाँको जीवनबारे जानकारी गरायो। म अवाक भएर उसको कुरा सुनिरहेको थिएँ। मेरोनिम्ति यो त कल्पना पनि गर्न नसकिने संसार रहेको मैले बुझेँ। धनमान मभन्दा धेरै भाग्यमानी रहेको मलाई लाग्यो। उसको छेउमा म धेरै अभागी दुखी भावीको लेखन नै खोटो जस्तो भयो।
एकदिन मलाई विश्वविद्यालयको एक सभामा लग्यो। उसले बताएको थियो यहाँका विद्यार्थीहरू उच्च कोटिको बुद्धिजीवीहरू हुन्छन। तिनीहरूले गर्ने बहस ज्यादै ज्ञानवर्धक र रोचक हुन्छ। तर जब मैले सुने मलाई भने बोर भयो, एउटै कुरा बुझिरहेको थिइनँ। के भनेको किन भनेको के को लागि भनेको मैले केही मेसो भेटाउन सकिनँ। मेरो लागि औँसी न पूर्णे जस्तै भयो।
सायद चौथो दिनतिर होला उसले भन्यो एमपी साहबलाई भेट्न जाऊँ होइन भने। साथीले मलाई सोध्यो एलमी साहब चिन्छ कि चिन्दैन भनेर। मैले व्यक्तिगत रुपमा चिनेको थिइनँ यसैले चिनेको छैन भनिँदे। साथी धनमान चाहिँ एमपी साहबकोमा समय समय जान्थ्यो रहेछ।
पार्लियामेन्ट सेसन चलिरहेको थियो। एमपी साहेबले हामीलाई लोकसभाको पास दिलाइदिने भयो। धनमान र म लोकसभाभित्र पसेका थियौँ। मलाई खासै चासो लागेन।
एक हप्ता बसेर मेरो फर्किने समय आएको थियो। धनमानले टिकट मिलाइदियो पैसा मैले तिरेको भए पनि।
बिहान नौ बजेको समय थियो मैले रेल चड्नु पर्ने आठ बजे पुग्यौं। धनमान मलाई बिदा दिन स्टेसनमा आएको थियो।
स्टेसनमा हामीले एमपी साहेबलाई देख्यौँ। उनले हामी दुईलाई बोलाए। हामी आज्ञाकारी भएर गयौँ। उनले सोधे तिमारु दुई सिक्किम गाको ? भनेर। धनमानले बतायो ऊ गएको होइन साथीलाई पुर्याउन आएको स्टेसनसम्म।
एमपी साहबले मतिर हेरेर भने ए राम्रो भएछ। यो मेरो समान तिमीलाई जिम्मा दिएँ। म उता एनजेपी स्टेसनमा पुगेपछि तिम्रोबाट लिन्छु।
समान त के नै १९ पेकेट किताबको थाक रहेछ। प्रत्येक पेकेट दस पन्द्रह किलो।
समान जिम्मा लिएपछि म एकछिन पुर्पुरोमा हात राखेर थचक्क बसेँ। अब के गर्ने कसो गर्ने? म बसेको ठाउँमा ठाउँ छैन। साथीले सहानुभूति दिँदै भन्यो के गर्नु बुडोले काम दिइहाल्यो ठूलो मान्छे नाइनास्ति गर्न सकिँदैन। सरी है मने, मैले तिमीलाई एमपी साहबसित चिनाउँदा यस्तो आपद आइपर्यो। अब जसोहोस भित्र हाल्ने म कोशिस गर्छु। रेल हिडेपछि ढुक्क हुन्छ।
मेरो सिटमा अटाउने ठाउँ थिएन। एउटै बर्थ खाली थिएन। सबै रिजर्भ। हामी दुई मिलेर सबै दैलोको छेउमा थाक पारेर मिलायौँ।
बगीमा चडन आउने प्रत्येक पेसेन्जर रिसाइरहेको थियो दैलो छिर्ने गाह्रो भयो भनेर गाली गरिरहेको थियो।
रेल हिडन थालेपछि म ढुक्क भएँ। आफ्नो सिटमा आएर बस्न थालेँ।
मुज्फ्फरपुरमा रेल आधा घन्टा रोकिनेछ भनेको मैले सुनेँ। बर्थ रित्तो बनाएर सबै निस्के। म पनि चिया खाजा खानुपर्यो भनेर निस्केँ।
रेल छुट्ने समयमा हतारहतार म आफ्नो बगीतिर आएँ। त्यतिबेला मैले देखेँ मैले ल्याइरहेको सबै पेकेट प्लेटफर्ममा छरपस्ट पारेर फ्याँकिएको रहेछ। छेवैमा एक तीन तारा फुली लगाएको पुलिस अफिसर कमरमा हात लगाएर उभिरहेको। मलाई देख्ने साथ एकजनाले बतायो यो समान मेरो हो भनेर। त्यो पुलिस अफिसरले तु भन्दै झपार्नु थाल्यो मलाई। तु चल थाने मेँ पनि भन्न थाल्यो।
मैले उसलाई भनेँ यो मेरो समान होइन एमपी साहबको हो। उहाँ फर्स्ट क्लासमा हुनुहुन्छ। उहाँलाई गएर भन्नुहोस्। उसले उल्टा मलाई भन्यो मैँ क्योँ जाऊँ? तु जा।
तु चल थाने मेँ।
बाझा बाझ हुँदै रेलले सिटी फुक्यो र हिडन थाल्यो।
एउट पेकेट उठाएर रेल चडेँ। मलाई रिस उठिरहेको थियो। बिना काममा झमेलामा पर्नु परेकोमा दिक्क लागिरहेको थियो। अब एउटा पेकेट मात्र मसित जाने भयो बाकीँ अठार पेकेट यतै रहने भयो। उता एनजेपी पुगेपछि एमपी साहेबलाई बताउनेछु भनेर आफ्नो मनलाई सम्झाएँ।
बगीभित्र हेर्दा म तरङ्ग भएँ झस्किएँ। त्यहाँ एकदुई बाहेक सबै रित्तो रित्ता देखेँ। कहाँ गए यिनीहरू? कि यिनीहरू यही सम्म मात्र आएका थिए? कि म गलत कम्पार्टमेन्टमा चडेँ ? गलत कम्पार्टमेन्टमा चडे भन्ने सम्झने बित्तिकै डरले मेरो शरीरभरि रौँ ठाडो भए जस्तो चिसो भएर आयो। अतालिएर मेरो ब्याग खोज्न थालेँ। ब्याग त त्यही रहेछ। मन शान्त भयो ब्याग देखेर। गलत कम्पार्टमेन्ट त होइन रहेछ भनेर आश्वस्त भएँ।
पाँच छ मिनेटवाद एकजना मेरो सहयात्री देखेँ। उसले मलाई देखेर भन्यो हम सब मिलकर आप का सामान अन्दर कर दिया हैँ। हुनुपनि हेर्दा हेर्दै पन्द्रह बीस मिबट भित्र सबै अठार पेकेट पहिला कै ठाउँमा मिलाएर राखिएको पाएँ।
मलाई बुझ्न गाह्रो भइरहेको थियो यो कसरी भयो भनेर। खुशी पनि लागिरहेको थियो।
यो यात्राले मलाई नयाँ चेतना दियो।
म एक आफूलाई सिक्किमे बाहेक अरू सम्झदिनँ थिएँ। मेरो अस्तित्व नै सिक्किमे हुनुमा रहेको बुझ्थेँ।
हाम्रो गाउँ ठाउँमा बिहारी मारवाडी व्यापारी थिएँ। मारवाडीलाई हामी कैँया भन्थ्यौ। हामी उनीहरूलाई मधिसे भनेर हेपाहा नजरले हेर्थ्यौ। हामीलाई ठग्ने, हामीलाई लुटने, हाम्रै पैसाबाट उनीहरू धनी हुने तर उल्टा उनीहरू ठूलो कुरा गर्नेबाट हामी ज्यादै रिसाउँथ्यौँ। यसैकारण बेला बेला कुटपिट गरिन्थ्यो। मलाई मधिसे देख्ने बित्तिकै घृणा आउँथ्यो। धोती गाँठे भनेर गाली गर्थ्यौँ। उनीहरूलाई हाम्रो ठाउँबाट लखेट्नु पर्ने मन आउँथ्यो।
तर यसपालिको घटनाले मलाई बतायो हामीले मधिसे धोती गाँठे भनेर गिल्ला गर्नेहरू हाम्रो आफन्त हाम्रो छिमेकी जस्तै रहेछ। हामीलाई साह्रो गाह्रो पर्दा हारगुहारीको निम्ति अघि बडदोरहेछ। मैले बुझेँ मैले पालेको वैमनस्यता बेमाने रहेछ। म र उनीहरूमा के फरक छ ? म सरकारी नौकरी गर्छु मेरो रोजीरोटीको निम्ति। उनीहरू व्यापार गर्छन उनीहरूको रोजीरोटीको निम्ति। अर्को थप कुरा के पनि लाग्यो भने अब हामी सानो सिक्किममा सीमित नभएर ठूलो परिवारको सदस्य हुनुपुगेको भनेर बुझ्नु पर्ने महसुस भयो।
दिल्ली म मेरो साथीलाई भेट्न भनेर गएको थिएँ तर धेरै पाठ सिकेर आउन पाएँ।
शिक्षा विभागमा चार वर्ष बिताए पछि पाँचौं वर्षमा बडोत्तरीको साथ ट्रान्सफर भएर डिओपी डिपार्टमेन्टमा पुगेँ। युडिसी भएर नयाँ विभागमा जाँदा खुशी नै भए पनि केही संशय भय नभएको होइन। वास्तवमा म उति आत्मविश्वासी छुइनँ। कुनै काम ठिक गरेँ वा गरिनँ आत्मविश्वासको साथ भन्न सक्दिनँ। मेरो साथी धनमान र ममा यही ठूलो भिन्नता छ ऊ आत्मविश्वासी छ जस्तै काम पनि गर्न सक्ने क्षमता छ भन्छ। म भने कुनै नयाँ काम गर्न डराउँछु। आफैमा भरोसा हुँदैन। गलती गरिहाल्नेछु भन्ने हुन्छ। तर सरकारवाट आदेश आए पछि मसित विकल्प छैन र मैले नयाँ विभाग जानै पर्छ।
नभन्दै दुई चार दिनभित्र नै अभ्यस्त भए जस्तो भयो। नयाँ ठाउँ नयाँ काम जस्तो हुन छाड्यो। सहजता आयो। शिक्षा विभागमा जस्तो काम भने थिएन। यहाँ दिनभर शिक्षकहरूको आगमन हुँदैन थियो। बाहिर वा अन्य विभागका आउँथे तर उति धेर भने होइन। यद्यपि कामको बोझ भने उतिकै थियो।
यही डिओपीमा हुँदा एकदिन मैले सुजातालाई देखेँ। उसलाई स्टनोग्राफरको पदमा नियुक्तिको लागि सिफारिस गरिएको थियो। कागजी प्रक्रिया यही विभागबाट सम्पन्न हुने हुनाले ऊ यहाँ आएकी थिई।
उसलाई पहिलोपटक देख्दा मलाई यस्तो लाग्यो ऊ अरू सामान्य युवती भन्दा फरक छिन। मलाई यस्तो लाग्नुको कारण उसको फेसन चेतना पनि हो। अनुहारमा कुनै कृतिम श्रंगार जडान गरिएको थिएन। ओठमा लिपस्टिक त सामान्य हो तर उसको उसको ओँठ प्राकृतिक रङ्गमै थियो। केश भने छोडेकी थिई। साधारण साडी लगाएकी। हिलवाला सेन्डल थिएन। हेर्दा केही उदास जस्तो देखिए पनि सुहाउँदो आकर्षण भने थियो। मैले याद गरेँ ऊ त्यति हाँस्दिन रहिछ। बोल्दा नियन्त्रण गरेर प्रत्येक शब्द बडो होशियारपूर्वक उच्चारण गरेकी जस्तो लाग्यो। लजालु मृदुभाषी कम बोल्ने।
दोस्रो दिन आउँदा उसको फाइल मेरो टेबलमा आएको थियो। मैले सबै दस्तावेज तयार गरेपछि उसको नियुक्ति पत्र निस्कने भयो।
दिउँसो एक बजेको थियो मैले उसलाई भने क्यान्टिनमा चिया खान जाऊ हैन। केही क्षण अलमलिए झैँ मलाई हेरिरही हल्का मुस्कान देखियो। आँखा झलक्क भएको जस्तो पनि लाग्यो।
निकैबेर मलाई एकोहोरो हेरे पछि भनी "हवस्"
क्यान्टिनमा मैले चियाको साथ केही खाने कुरा पनि मगाएँ। उसले केही भनिनँ। चुपचाप खाइरहेकी थिई। खासै बातचित पनि भएन।
जाने बेलामा मैले भनेँ भोलि हामी भेट्न सक्छौ?
भनिसकेर म आफै झसङ्ग भएँ के कारणले भेट्छु भनेको मैले मलाई आफैंलाई थाहा छैन। शरम लागेर आयो। लाजले पसिना छुटेको जस्तो भयो। उसले तर भेटछु भेटदिनँ केही भनिनँ। एक तमासको शान्ति छायो मनमा। सायद उसले सुनिनँ होला र त जवाफ दिइनँ। त्यो भए ठिकै छ। मुख किन छिटो बाउँनु परेको मलाई। धन्न फसाद परिएन।
अर्को दिन ऊ आउँछ कि भनेर मनमनै पर्खेँ तर ऊ आइन। केही विषाद भयो तर उसले मैले भनेको कुरा मनमा लिइनछ भनेर चित्त बुझाएँ।
तेस्रो दिन पनि आइनँ। फेरि म सामान्य आफ्नो दैनिकी लयमा आएँ। उसको स्मृति झिनो मात्र बसेको लाग्यो। अफिस हरेक दिन कोही न कोही आउँछन सबैलाई सम्झने होइन। त्यस्तै हुने लाग्यो ऊसितको अन्तर्क्रिया।
हप्ता बितेको दिनपछि बिहान ११ बजेतिर अफिसमा आएकी देखेँ। मैले सम्झे कुनै अफिसको कामले आएकी हुनसक्छ। खासै चासो लिइनँ।
तर ऊ सोझै म भएतिर आएकी देखेर मन झसङ्ग भयो। क्रोधित जस्तो लाग्यो। मलाई आक्रमण गर्न आएकी हो ? म अत्तालिएको जस्तो भएछु। कता जाने ?
छेउमा आएर नमस्कार गरी र मुसुक्क मुस्काई। उसको भाव देखेर मनमा शितल छायो। शान्त बन्यो चित्त। अघि को त्रास सुखद पलमा परिणत भयो।
सुस्तरी मृदु ध्वनिमा बताइ " म अस्ति नै आउन चाहन्थे। तर ड्युटी जोइन गरे पछि एकछिन फुर्सद भएन। आज सर टुरमा जानुभयो। यसैले फुर्सद भयो।"
मैले उसको कामबारे सोधेँ उसको सर कस्तो हुनुहुन्छ अफिसको परिवेश कस्तो छ जवाफमा उसले एउटै शब्द "ठिकै" भनेर बताइ। फेरि मौन।
मलाई के भन्ने के नभन्ने केही सुझिरहेको थिएन। किन भेटौँ भनेर मैले भने यसको यतिबेला मसित उत्तर थिएन।
एकबजेतिर हामी फेरि क्यान्टन गयौं। चिया खाजा खायौं। मैले देखेँ उसले सोधेको उत्तर मात्र दिने गरेकी रहिछ त्यो पनि थोरै शब्दमा। मनमा त्रास बोकेकी जस्तो पनि लाग्यो। तर कुन कुराको डर त्यो चाहिँ अज्ञात।
एकदिन छुट्टीको बेला म बजारमा थिएँ। मैले सरकारी क्वार्टर पाएको थिएँ। छुट्टीको दिन क्वार्टरभित्र दिनभर एकलै दिन बिताउन चर्को लाग्छ मलाई। सास थुनेको जस्तो एकलोपनले सताउन थाल्छ। छट्पटी पनि हुन्छ। यही विपदबाट मुक्तिको निम्ति बजार निस्कन्छु। साझँतिर मात्र फर्कन्छु आफ्नो क्वार्टरमा।
सुजातालाई देखेँ बजारमा कतै जाँदै गरेकी। उसले मलाई देखेकी थिइनँ वा देखेर पनि नदेखे जस्तो गरेकी तर एक लयमा हिडिरहेकी थिई। निस्तेज अनुहार। मैले छेवैमा गएर नमस्कार गरेँ। फिस्स हाँसेर नमस्कार फर्काई। गफिन थालेका थियौँ बाटो मै। मैले छेवैको चिया पसलमा जाने प्रस्ताव राखेँ।
चिया लिइसके पछि मनमा के आयो कुन्नि मैले हठात भने" मेरो क्वार्टरमा जाऊँ हैन ? "
उसले घडी हेरी। यताउता हेरी। नसुनेको जस्तो गरी र फेरि मतिर फर्केर भनी "हवस"
क्वार्टरमा आएर उसले चारैतिर हेरी। कोठामा अरू कोही छ कि भने सशंकित भएर हेरेकी लाग्यो। कुतूहल देखिन। अनुहारमा संशय बनेको थियो। आँखा फारेर हेरिरहेकी मैले उसलाई देखेँ। फेरि निकै लामो स्वास फेरि र दलानमा थचक्क बसी।
मैले केही जिस्काएर भनेँ "डराउनु भयो? तपाईंलाई असमञ्जस भए हामी यहाँबाट जाऊँ।"
उसले फेरि झर्के जस्तो गरी र भनी "होइन।"
ऊ चुपचाप औलाको नङहरू हेर्दै झुकेर बसिरहेकी थिई। मलाई उसलाई हेर्दा हेर्दै मलाई ऊप्रति अगाध माया उर्लेर आयो। उसलाई प्रेम गर्न मन लाग्यो। किन उसलाई मेरो जीवन साथी नबनाउने? किन बिहे नगर्ने ?
मैले भने "सुजाताजी, म तपाईंलाई मन पराउँछु। तपाईंसित बिहे गर्न चाहन्छु।"
भनिसकेर म अत्तालिएँ। नसोची कसरी जताभावि बोलेको ? म होशमा छुइनँ जस्तो पनि लाग्यो। अब के हुने हो ?
अहिलेसम्म मैले कुनै युवतीलाई यसरी आफ्नो घरमा ल्याएको र यसरी एकान्तमा बातचित गरेको थिइनँ।
म डराउँदै उसलाई हेरिपठाएँ। आफ्नो शिर ढल्काएर मन्द मुस्कान मतिर छरिरहेकी देखेँ। उसको उदास मुहार निकै उज्यालो र आँखाहरूले धेरै अव्यक्त कथा बोलेको जस्तो देखेँ। कुनै आवाज ननिकाली स्वीकृति सूचक संकेत दिई।
यही घटनाको एक महीनापछि हामी विवाह बन्धनमा बाँधियौँ।
नभन्दै विवाह बन्धनमा बाँधिन अघि मलाई केही कुराले चिन्तित बनाएको थियो। यो चिन्ताको विषय थियो उसको शिक्षाको स्तर। मैले बाह्र क्लास मात्र पढेको उसले भने बी ए पास गरेकी सेक्रेटेरियल कोर्स पनि गरेकी। मलाई हीनताबोधले सताएको हो। आफूभन्दा उच्च शिक्षा हासिल गर्नेलाई कसरी पत्नी मान्ने? म के अपमानित भएर बस्नुपर्ने हो ? तर यतिबेला मेरो पुरुष अहमले जित्यो। हाम्रो समाजमा स्त्री भन्दा पुरुष नै बडी भूमिकामा रहन्छ। परिवारभित्र पुरुष कै हक अधिकार धेर हुन्छ। स्वतन्त्रता पुरुषलाई हुन्छ। सूजाता जस्तो सुशील युवतीले अवश्यै बुझेकी होला। उसले म कम पढेको भनेर मलाई अपमान पक्कै गर्ने छैन। यसरी चित्त बुझाएको थिएँ।
हामी दुई विहे भएपछि मैले उसलाई धेरै खुशी भएको देखेँ। उसको उदासी मुहार सँधै हँसिलो स्फूर्त र उल्लासमय रहने देखेँ। उसको यो परिवर्तन मलाई पनि चकित बनाइरहेको थियो किनकि मलाई विहे जीवनको एक स्वाभाविक प्रक्रिया र यसबाट बडी उत्साहित हुने जस्तो कुनै लाग्दैन थियो। हामी दुईमा यो पहिलो भिन्नता मैले बुझेँ।
मलाई एउटा कुरा भने कुतुहल रहेको हो। उसले यति सहजै मसित विहे गर्न राजी हुनेछ भन्ने लागेको थिएन। म स्वयं पनि यति छिटो विेहे गर्नेछु भन्ने आफैंलाई लागेको थिएन। उसको मन जान्ने चाहना रह्यो। उसले खुलेर बताउने हो वा टार्ने हो वा त्यस्तै झुटो वहाना बनाइदिने हो मलाई कुनै अठोट थिएन।
जिस्केको जस्तो गरेर एकदिन सोधेँ उसलाई।
तर एकदमै सहजताको साथ एवम स्वाभाविक रुपमा मलाई भनी
"केटीहरूले कुनै राम्रो केटाबाट प्रोपोज भयो भने रेजिस्ट गर्न सक्दैन। मैले पनि गर्न सकिनँ।"
यति भनेर मुसुक्क मुस्काइन अनि फेरि भन्न थालिन्
"हाम्रो दिमाग हुन्छ र हामी यो गर्नु हुन्छ यो हुँदैन भनेर समाजको नियम व्यवस्था अनुसार आफ्नो व्यवहार परिचालन गर्छौं। तर हामी हाम्रो दिमागले मात्र होइन हाम्रो बायोलोजीले पनि परिचालन गर्छ। जब हामी जवान हुँदै जान्छौं हाम्रो होर्मोनले हामीमा शासन गर्छ। यही होर्मोनको कारणले तपाईेले नचाहदा नचाहदैँ पनि मलाई विहे गर्छु भन्नु भयो। होइन ? तपाईंको दिमागले होइन तपाईंको बायोलोजी बोलेको थियो। मेरो बायोलोजीले मलाई स्वीकृति दिन वाध्य गरायो। किन भन्नोस त ?
मेरी आमा होम मेकर हो, घरमै बस्छिन्। मेरो बाबू कमाई गरेर परिवारको पालन गर्नु हुन्छ। मैले देखेकी छु मेरी आमा सँधै पैसाको अभावमा परेकी हुन्छ। बाबु भने टाइम टाइममा मात्नु हुन्छ र घरमा आएर आमालाई कुटपिट गर्नुहुन्छ। आमा सहेर वस्नु कर लाग्छ। उसको अर्को जाने ठाउँ छैन।
मैले सानैदेखि यो देखेकी हुँ। मैले सम्झेँ म आफ्नै खुट्टामा उभिने कोशिश गर्नुपर्ने रहेछ। अर्काको भर पर्नु नहुने रहेछ भन्ने बुझेँ। म सम्झिने गर्थें म विहे नगरी बस्नेछु। आमालाई सुख दिनेछु।
हेर्नुस त मलाई ? मेरो विवशता ?
तपाईंलाई पहिलोपटक देख्दा नै तपाईंसित आकर्षित हुन पुगेँ। किन किन म आफ्नो डेस्टिनेसनमा पुगेँ लाग्यो।
हाम्रो समाजमा हामी वुमनहरूको ग्रुमिङ नै परनिर्भर रहने अ काइन्ड अफ अलवेज टु वी डिपेन्डेन्ड अन समवन एल्स विवाह गर्नै चाहे जस्तो सुकै होस एक लोग्नेमान्छेको भरमा बस्नुपर्ने बनाइएको हुन्छ। हामीभित्र डर भरिदिन्छ। असुरक्षाको भावना जगाइदिन्छ। बेसहारा हो जस्तो बुझाइदिन्छ। यही धारणा लिएर हुर्केका हुन्छौं दिस इज रङ्ग। मैले आफैंलाई प्रोमिज गरेकी थिएँ। आइ वील वी इन्डिपेनपडेन्ट। आइ वी अर्न अन माई ओन। मे वी आइ विल नेवर मेरी।
तर यो मेरो बुद्धि दिमागले सोचेको कुरा हो नि। बुद्धि दिमाग भन्ने त आर्टिफिसियल हो, परम्परा मात्र हो, नेचरल होइन। नेचराल त बायोलोजी हो जसले हाम्रो शरीर सञ्चालन गर्छ।
हेर्नुस् त हामी बुडाबुडी हुन र एकदिन मर्नु पर्ने मन पराउदैनौँ नि बुद्धि अनुसार। तर बुद्धिले हामीलाई बुडाबुडी हुनबाट रोक्न सक्छ? सक्दैन। हाम्रो मृत्यु रोक्न सक्छ ? सक्दैन।
मेरो बायोलोजीको अघि मेरो हार भयो नि। र मैले तपाईंसित विहे गरेँ।"
म अवाक बनेँ उसको कुरा सुनेर। धेरै त बुझिनँ उसले के भन्न चाहेकी भनेर। त्यसै पनि म कुनै कुरालाई यति गहिरिएर कहिले सोच्दिनँ। जु कुरा गर्नु छ मन भए गरिहाल्छु। दाहिने बाहिने हेर्ने उति दस्तुर गरेको छुइनँ। यद्यपि मेरो मनमा ऊप्रति सम्मान बडेर गयो। लाग्यो धेरै ज्ञानी रहिछ। धेरै बुझेकी रहिछ।
मलाई अरु कुरा सोध्ने आँट पनि भएन त्यसपछि।
ऊ यति धेर बोलेकी पहिलोपटक हो मसँग। कम बोल्थी चाहिँदो बोल्थी। भनेको उत्तर दिन्थी। तर आवश्यक मात्र।
हेर्दा हेर्दै हामी विहे भएको पाँच वर्ष बित्यो। एक छोरा र एक छोरीको मातापिता भयौं।
दुई सन्तान भए पछि उसले परिवार नियोजन साधन अपनाउन मलाई सोधेकी थिई।
ट्युबेकटोमी ओपरेसन गर्दा कुनैकुनै महिलाको ज्यान गएको सुनेको थिएँ। ज्यानै नगए पनि यसले महिलाको शरीरमा रोग उत्पन्न गर्छ जस्तो मलाई लागेको हो। मैले सम्झेँ उसले मेरो निम्ति यो जोखिम लिन खोजिरहेकी छ। म उसको रोगको कारण कुनै हालतमा हुन चाहन्न थे। मैले उसलाई अनुमति दिन मानिनँ। उसले धेरै जिद्दी गरी तर एक सुन्न मानिनँ। मैले भने परिवार नियोजनको लागि म भासेक्टोमी गर्नेछु। यसमा कुनै जोखिम छैन। मैले कर गरेपछि उसले मानी। मैले उसलाई भनेको थिएँ यसले मलाई फाइदा हुन्छ दुईवटा इन्क्रिमेन्ट पाउनेछु। उसले यसमा जवाफ दिएकी थिई त्यो त उसले पनि पाउने थिई। हुनत नियम अनुसार दुईजनामा एकजना जसले पनि दावी गर्दा हुने हो। मैले नै गरेको थिएँ दावी।
धनमान एम फिल गरिसकेर सिक्किम आएको थियो। उसले पिएचडी गर्छु भन्दैथियो। यदि मन पर्ने नोकरी पायो भने काम गर्छु यतै सिक्किममा पनि भन्दै थियो । तर अचानक हरयो। दिल्ली जान्छु भनेर गएको थियो फर्केर आएन। मैले मेरो घरमा बेलुकी बोलाएको थिए। म सुजातालाई चिनाउन चाहन्थे। सुजाताले उत्सुकताको साथ पकवान तयार गरेकी थिई। तर ऊ कतै अल्झियो आउन सकेन।
निकै वर्षपछि मैले सुनेँ ऊ अमेरिका पुगेको छ। एउटी श्वेत अमेरिकी महिलालाई विहे गरेको छ।
बिचमा खबर पाएँ ऊ एकपटक अमेरिकाको न्यु जर्सीमा थियो। त्यसपछि अटलान्टामा सरे। अटलान्टामा के भयो कुन्नि फेरि न्यु जर्सी आएको छ भन्ने थाहा लाग्यो।
सुजाता पन्द्रह वर्ष एउटै विभागमा रहे पछि शहरी विकास विभागमा स्थान्तरण भई। उसको अघिल्लो विभागको सचिव यही विभागमा स्थान्तरन भएछ। उनै सचिवले शहरी विकास विभागमा ल्याएको रहेछ। तर हामीलाई यसले ठूलो लाभ पुर्यायो। सुजाताले एउटा घर साइट आफ्नो नाममा पार्न सकी।
सर्भिसमा लागेको बीस वर्षपछि हामीले यही सरकारबाट प्रदत्त साइटमा घर बनायौँ। घरमा बनाउँदा जति खर्च लाग्थ्यो त्यति त हामीसित वचत थिएन। मैले एलआइसीबाट होम लोन आवेदन गरेँ। चाहिएको रकम पाइयो। शुरु मै पाँच तला उठाउन चर्को पर्छ भनेर तीन तला बनायौँ। पछि तला थप्ने प्रावधान राखेका थियौँ।
तीन तला घर सकेर हामी बस्न थालेको बेला मेरो बस्तीको जमिनबाट बाटो बनिने कुरा सुन्नमा आयो।
खबर सुनेर गएको थिएँ। पञ्चायतलाई भेट्दा उसले बतायो हाम्रो जमिनको आधा भाग नै बाटोले मिचेर जाने जानकारी आयो। जमिन मात्र होइन हाम्रो पुरानो घर पुरानो गाईको गोठ र त्यहाँ भएका रुखपात सबै नापीमा आएको बतायो पञ्चायतले।
गान्तोक घर फर्केर आएपछि मैले सुजातालाई सुनाएँ। उसले भनी मलाई दिनोस जमिनको कागज म रिभेन्यु अफिसर चिन्छु। म उसलाई भेटेर सोधपुछ गर्नेछु।
केही दिनपछि सुजाताले मलाई बताई आधा ऐकर बडी जमिन, त्यहाँ भएको स्ट्रक्चर रुखहरू सबै नापी भएको रहेछ। जमिन, स्ट्रक्चर र रुखपात सबैको कम्पिनसेसन पाउनेछ।
हाम्रो बस्तीको घरमा जाने गाडीको बाटो थिएन। जाँदा एक डेढ किलोमिटर हिडेर जानू पर्थ्यो। सम्झेँ बाटो बनिए राम्रो हो घरसम्म गाडी पुग्नेछ।
वर्षदिन अलि बडी लाग्यो तर बाटो बनियो। हाम्रो पुरानो घर भत्कियो। घर मात्र होइन त्यहाँ भएको अन्न बाली, रुखपात सबै नाश भएको थियो। उराठलाग्दो देखिन थालेको थियो। कम्पिनसेसन भने राम्रो पायो। पाएको रकमलाई सुजाताले ऋण तिर्ने सुझाव दिई। हामीले त्यसै गर्यौँ। गान्तोक घरमा दुई स्लाब थप्नु सम्भव भयो।
हाम्रो निजी गाडी थिएन। सुजाताले नै गाडीमा खर्च गर्न मनाही गरेकी थिई। यसपालि भने उसले भनी गाडी किनौँ भनेर। हामीले अलि सस्तो मारुती अल्टो किन्यौँ। किनेको अर्को दिन मैले सुजातालाई राखेर गान्तोक वरिपरि एक चक्कर लगाएर माथि टासी भिउ पोइन्ट सम्म घुमेर आएका थियौँ। आफ्नो गाडीमा चडने पहिलो अनुभूति। गणेश टोक मन्दिरमा उसले पुजा पनि गरेकी थिई।
सुजाता स्टेनोग्राफरको ग्रेड व्यवस्थामा निकै माथि पुगेर सिक्किममा उपसचिव तहको तनखा पाउन लागेकी थिई। म भने अन्डर सेक्रेटरीको ओहदामा अल्झेर बसिरहेको थिएँ। मेरो पदोन्नति हुन सकेको थिएन। 22 वर्षको सेवा पछि म अन्डर सेक्रेटरी भएको थिएँ। हाम्रो व्यवस्था अनुसार यसलाई छिटै भएको भन्नू पर्छ किनकि म निम्नतम स्तरबाट आएको हुँ। युडिसीबाट एच ए हुँदा विभागीय परिक्षामा बस्नु परेको थियो जसमा म उत्तीर्ण भएको हुनाले एक खुडकिलो छिटो चडियो। यही कारण म अन्डर सेक्रेटरी 22 वर्षमा पुग्न सकेँ। नभए यता 30 वर्षको सेवा पुर्याएर पनि ओएस मै रहने देखिन्छ।
अन्डर सेक्रेटरीमा ८ वर्ष भइसकेको थिएँ। मेरो पदोन्नति नभएको कारण अफिसमा हाँसोको पात्र बन्न थालेको थिएँ। अफिसमा मलाई एमबी बाबु भन्ने गर्थ्यो। एकदिन एकजनाले जिस्काएर हो या गिल्ला गरेर या होच्याएर भनी त हाले " एमबी बाबू तपाई जिन्दगी भर अन्डरपेन्ट मै बस्ने ? हाफ पेन्ट कहिले नलगाउने?"
सुनेर अफिसकाहरू सबै गलल हाँसेका थिए।
मलाई पनि छटपटाहट भइरहेको थियो एउटै ओहदमा यति लामो समयसम्म रहेकोमा। आफ्नै कार्यक्षमता दुर्बल छ कि योग्यताको कमी छ कि ? जस्ता प्रश्नले नपिरोलेको होइन। हीनताबोध फेरि पुनर्जीवन लिएर आएको जस्तो भयो मेरो मनमा।
दशौ वर्ष सकेर एघारौं वर्ष पुग्दा बल्ल मेरो पदोन्नति भयो उपसचिव पदमा। निराशा फेरि आशामा परिणत भएर आएको थियो।
सुजाताले भनेकी थिई " अब तपाईं डेपुटी सेक्रेटरी हुनु भयो। क्लास वन अफिसर हुनुभयो। अफिस जाँदा टाई सुट लगाएर जानोस। यो क्याजुएल ड्रेस होइन।"
डिपुटी सेक्रेटरी पदमा पुग्दा मेरो उमेर धेरै माथि चडिसकेको र रिटायरमेन्टको सँघारमा पुगेको मलाई आभास भयो।
मैले सम्झेँ रिटायर पछि उता बस्तीको घरमा बस्ने विचार गर्न लागेको थिएँ। दुई तीन साल अघि मात्र हो हामीले त्यहाँ नयाँ सानो घर बनाएका थियौँ। बस्तीमा हो सानै बनाऊ भनेर सल्लाह भएपछि दुई तलाको बिल्डिङ बनाएका हौँ। बाटोदेखि करिब सय फिट ठाउँ छोडेर घरको जग राखिएको थियो। तर गाडी घर आगन सम्म जान सक्ने सुविधा थियो।
छोरा र छोरी दुबै मेधावी निस्के। दुवैले एकदमै राम्रो प्रकारले आआफ्नो शिक्षा पूर्ण गरे। छोरी एमबीबीएस एमडी गरी डाक्टर बनी। विहे एक डाक्टरसँग गरिन।
छोराले एम ए गरे। राज्य लोकसेवा परिक्षा उत्तीर्ण गरी सोझै अन्डर सेक्रेटरी बने। बुहारी ल्याए एमए पढेकी पोस्ट ग्रेजुएट टिचर।
बुहारी तर सुजाताको विपरीत रहिछ।
ठूलो ठूलो आवाजले बोल्ने। पहिला ऊ बाइकर ग्याङ्गको सदस्या रहिछ। गान्तोकदेखि लद्दाखसम्म बाइकिङ गरेर आएकी। सेल्फ कन्फिडेन्स चाहिएको भन्दा बडी। कुनै कुरा भुइँमा झर्न नपाइ जवाफ दिइहाल्ने। मुखाली। अति व्यस्त रहने, फुर्सद कहिले छैन। महीनामा दुईपटक ब्युटिपार्लर जाने र प्रत्येक पटक तीन चार घन्टा त्यही समय लगाएर केशको डिजाइन चेन्ज गर्ने मेक अप गर्ने। कुनै नयाँ म्युजिकल प्रोग्राम मिस गर्नु हुँदैन जस्तै गर्ने। पार्टी जाने र अबेर सत गरेर घर फर्कने।
चौबीसै घन्टा मोबाइल जहिले कि त बोलिरहेकी कि सुनिरहेकी। खाना बनाउँदा होस कि खाना खाँदा मोबाइलमा बोलेकी छ बोलेकी छ। ड्युटीमा जाँदा पनि ग्रेनाइटको सिडीमा स्यान्डलको ट्याक ट्याक ट्याक आवाज सितै मोबाइलमा कसैलाई केही भनिरहेकी सुन्छु। म हैरान नै हुन्छु बुहारीको यो स्वभाव देखेर। सायद सिगरेट खान्छिन होला कोही बेला कोठाबाट सिगरेको धुवाँको गन्ध ह्वास्स आउँछ। तर अहिलेसम्म हामीले देख्ने गरी भने खाएकी देखेको छुइनँ।
मैले सुजातालाई एकपटक बुहारीवारे भन्दा उसले मलाई सम्झाइ "समय परिवर्तन भएको छ। हिजोआज सबै यस्तै हुन्छ। समयमा आफै बुझ्नेछ जिम्मेवारी थाहा पाएपछि छोडनेछ। तपाई चिन्ता नलिनुहोस। ऊ बिग्रल भ्रष्ट केटी होइन। मोडर्निटी देखाएकी मात्र हो।"
एकदिन सासू बुहारी कोठामा निकै गफ गरेपछि सुजाता हाम्रो कोठामा मन्द मुस्कान सहित आएकी देखेँ। ऊ सामान्यतः ऐनाको अघि धेर समय बिताउँदिन। तर त्यो दिन ऐना अघि उभेर आफ्नो लामो बाक्लो कालो केश सुमसुमाइ र हेरिरही। मैले सोधेँ के भयो ?
उसले मुस्कराउँदै भनी " बुहारीले पनि के के भन्छ भन्छ !! हा हा हा !!! बुहारीले भनी
यु आर सो ब्युटिफुल इवन एट दिस एज। टल, स्लिम, फेयर, लग्ज्युबरेन्ट हेयर, डो लाइक आइज वाव वाव !! ड्याड मस्ट हेव फलन म्याडली इन लव विथ यु। आइम स्योर यु वुड हेव ग्राब्ड अल द ट्रफीज इन ब्युटि पेजियन्ट।
व्हाट इज द सिक्रेट, मम??
बाइ द वे। तपाईंको हल्का रिंकल्स अनुहारमा आएको छ। देब्रे कानको पछाडि घिच्रमा ब्लेक मार्क रहेछ। सायद बर्थ मार्क होला। बट डोन्ट वरी। तपाईं मसित ब्युटी पार्लर जानुपर्नेछ म लान्छु। रिंकल्सको र डार्क प्याच दुवैको ट्रिटमेन्ट हुनेछ। तपाईं जहिले साडीमा र्याप भएको हुनुहुन्छ। नो डाउट इट लुक्स एलिगेन्ट इन साडी। बट इफ यु वियर मोडर्न डिजाइनर कुर्ता पाइजाम देन यु वुड लुक लाइक अ सुपर मोडल रादर यु विल आउटस्मार्ट देम ।"
त्यो दिन सुजाता दिनभरि नै खुशी देखिएकी थिई।
सुजाताले जति सम्झाए पनि मेरो चित्त भने ठ्यसम्मै बुझेको थिएन। यही कारणले मैले आफ्नै करमा बस्तीमा सानो घर बनाएको थिएँ। रिटायर भएपछि त्यही बस्ने मैले मन बनाइसकेको थिएँ। मलाई पूर्ण विश्वास थियो सुजाताले मलाई साथ दिनेछ।
मेरो रिटायरमेन्टको ६ महीना अघि मेरो साथी धनमान सिक्किम आएछ। ऊ मलाई भेट्न मेरो कार्यलयमा आएको थियो। मैले उसलाई मेरो घरमा लिएर आएँ र यतै एकदुई दिन बस्न आग्रह गरेँ। ऊ मानेन। धेरै काम छ भन्यो। मैले कर गर्दा त्यो साँझ हाम्रो घर बस्ने भयो।
मैले आफ्नो वृतान्त बताए पछि उसलाई सोधेँ उसको अहिलेसम्मको जीवन र यति लामो समयसम्म कहाँ थिए। परिवार कस्तो छ कहाँ छ।
उसले मलाई बतायो ऊ एकपटक लन्डन गएको थियो। त्यही लन्डनमा उसले उसको भावी पत्नीलाई भेटे। दुवैमा प्रेम बस्यो। उसलाई अमेरिका बोलाइन। ऊ अमेरिका गएर केही दिनमा उनीहरूको विहे भयो। उसले उतै राम्रो काम पायो। राम्रो तनखा।
समयमा उसको ग्रीन कार्ड र नागरिकता पनि बनियो। अहिले ऊ अमेरिकी नागरिक भएको छ।
दुई सन्तान भए। दुवै छोरी। हाल एकजना लन्डनमा एक इन्भेस्टमेन्ट ब्यांकमा काम गर्दैछिन। अर्को छोरी सिलिकन भेलीमा सफ्टवेयर इन्जिनियर छे।
उसले बतायो ऊ अब रिलोकेट गर्न चाहन्छ। प्रिफरेबली सिक्किम मै।
मैले सोधे यति राम्रो ठाउँ अमेरिका छोडेर किन सिक्किम फर्केर आउने।
उसले भन्यो यदि ऊ ह्वाइट अमेरिकन भएको भए ठिकै थियो। उसकी पत्नी व्हाइट अमेरिकन हुन। सी इज भेरी प्राउड टु वी अ व्हाइट एन्ड अमेरिकन। उसले भन्छे अमेरका इज द बेस्ट प्लेस टु बी अन अर्थ।
तर ऊ व्हाइट होइन। प्रश्न यही उठ्छ। अमेरिका यति धेरै विकसित भए पनि नश्लवाद छ। सपिङ मल रेस्टुरेन्ट पेट्रोल पम्प कुनै ठाउँ हानी नन व्हाइट दुर्घटनामा पर्न सक्छौं। मानी लिउ म एक भीड भएको रेस्टुरेन्टमा आफ्नो अर्डर पर्खेर बसिरहेछु। त्यहाँ कुनै घोर नश्लवादी रिसाहा व्हाइौ आएर उसले बस्ने ठाउँ नपाए उसको आक्रमणको पहिलो सिकार एक नन व्हाइटले उसलाई ठाउँ दिनु पर्छ। नदिए उसले रिभोल्भर निकालेर दनादन गोली ठोक्न कति पनि बेर लाउँदैन। यस्तो धेरै घटना भएको छ। हामी नन व्हाइट त्रासमा बाँच्नु पर्छ। हाम्रो यताको समाज जस्तो हार्दिकता छैन। कुनै साथी त के आफन्तलाई भेट्न जान एपोइन्मेन्ट लिनु पर्छ। र मात्र भेटघाट हुन्छ। यता हेर त जतिसुकै बेला होस आफ्नो छरछिमेक आफन्त सबै भेट्न सकिनेछ। उता सबै समय अनुसार चल्छ यता समय हामी अनुसार चल्छ भनौँ न। (फिस्स हाँसेको यसो भनेर) पैसा त कमाउँछ धेरै कमाउँछ सुख सुविधा सबै छ। तर यो डर रहेको हुन्छ।
धनमानको कुरा सुनेर म खङरङ्ग भएँ। के अमेरिकन ड्रीम भनेको यही हो ? कसरी जिउनु त्यस्तो देशमा ? भौतिक सुखसुविधा मात्र पर्याप्त होइन मान्छेलाई मनको शान्ति पनि त चाहिन्छ।
उसले फेरि भनेको थियो एउटा स्कुल खोल्ने योजना छ यता सिक्किममा कतै। एक रेदिडेन्सियल सेकन्डरी स्कुल।
मैले भने यसमा त धेरै खर्च आउँछ। सिक्किममा जग्गा जमिन अहिले धेरै महङ्गो भएको छ। ऐकर कै करोडौं भन्छ।
उसले भन्यो उसको दश बीस करोड इन्भेस्ट गर्ने प्लान छ। मैले भने त्यति त पर्याप्त होला।
उसले बतायो एउटा पार्टनरसिप नभए कम्पनी नभए ट्रस्ट खोल्न आवश्यक छ। उसले एकदुई जनासित सम्पर्क गरेको रहेछ। उनीहरूसित बातचितको शिलशिला अघि बडाउनु थिएछ। यसैले उसको समय नभएको मलाई भनेको रहेछ।
अर्को दिन ऊ सखारै मेरो घरबाट गएको थियो। तर ऊ यतै कतै छ वा अमेरिका फर्किसके महीना दिनसम्म पनि निधो हुन सकेको थिएन।
६ महीना बितेपछि मेरो रिटायरमेन्ट भइसकेको थियो। रिटायरमेन्ट अफिसकाहरूले मलाई फेयरवेल पार्टी राखेको थियो। त्यहाँ एकजनाले अचानक मलाई धनमानबारे खबर दियो। ऊ अमेरिका बिचैमा फर्किसकेको भनेर। उता उसकी पत्नीबाट बोलाहट भएछ।
अमेरिकी पत्नीले अनुमति दिन मानिन यता सिक्किममा रिलोकेट गर्न। उसकी पत्नीले इन्डियालाई तोकेर त्यस्तो एक गडफोरसेकन कन्ट्रीमा लाइफ बिताउन राजी छैन भनी रे।
रिटायर भएर पाउने रकमको निम्ति ६ महीना जस्तो दौडधुप गर्नु पर्यो। विभिन्न ब्यांकबाट अनापत्ति पत्र, भिजिलेन्सबाट कुनै भ्रष्टाचारको मामिला नरहेको प्रमाण र आफूले अन्तिम समय काम गरेको विभागबाट स्वीकृति जस्ता दस्तावेज बनाउन समय लाग्यो। सबै भएपछि पेनसन र प्रोभिडेन्ड फन्डको रकम चुक्ता पाएँ।
पछिल्लो दुई साल यता हो सुजातालाई अर्थरिटिजले दुख दिन थालेको थियो। विशेषगरी जाडो महीना र पानी पर्ने मौसममा। गान्तोकमा भनाइ नै छ स्प्रिङ, समर अटम र विन्टर सिजन होइन विन्टर समर सिजन मात्र हुन्छ। विन्टर सिजनमा जाडो हुन्छ र समर सिजनमा पानी परिबस्छ। मलाई लाग्छ गान्तोकको जलवायु मान्छे आवाद गर्न लायकको ठाउँ होइन यो शहर बनिने अनुकूल भूमि होइन। तर बस्यो शहर। सिक्किमको सबैभन्दा ठूलो शहर नै यही हो। अझ बडेको बडेकै छ।
मलाई उकुसमुकुस लाग्छ। यही कारणले रिटायर भए पछि गान्तोक नबस्ने विचारले नै आफू बस्न लायकको घर बनाएको थिएँ।
रिटायर भए पछि घरमै दिनभरि बस्नुपर्ने हो। मलाई लाग्यो छोरा बुहारी दुवै हामी यसरी घरमा केही नगरी बसेको देख्दा अनौठो मान्दो हो। उनीहरूको निजी जीवन जिउन हामी बाधा बन्न पुगेको हुनसक्छ। सबैले आआफ्नो जीवन जिउन पाउनु पर्छ। हाम्रो अफिसमा कुनैकुनैको घर झगडा लिएर चर्चा हुँदा मैले एउटा शब्द बारम्बार सुनेको थिएँ। फेमिलियरिटि ब्रिङ्स कन्टेम्न। दुई व्यक्ति एकैसाथ लामो समय बस्दा एकार्कामा घृणा उत्पन्न हुनसक्छ। छोरा बुहारी र हामी बिच यही भावना उत्पन्न हुनसक्छ। बुहारीको मुखालेपनले मलाई शसंकित बनाउँछ सधैं। कुनै दिन के कुरामा चित्त नपर्ला अनि ऊबाट अपशब्दको प्रहार हुनसक्छ। यदि यसो भए बरबादै हुनेछ। छोराबुहारीबाट हेपिएर झपाइ खाँदै बस्नु भन्दा यस्तो हुनु अघि आफै जोगिएको राम्रो।
म रिटायर भए पनि सुजाताको सेवा काल अझ तीन वर्ष थियो। सेवामा तीन वर्ष भनेको लामो अवधि हो। धेरै लाभ हुनसक्छ। यद्यपि मैले उसलाई स्वेच्छिक अवकाश लिने सुझाव दिएँ। ऊ हिच्किचाउँदै थिई यति छिटो अवकाश लिन। उसले भनी यति धेर आर्थिक नोक्सानी हुन्छ। यत्रो तलब माया मार्नु?
मैले ऊ रोगी हुन थालेको सम्झना गराएँ। दुई सालअघि अचानक उसको हात खुट्टा घुँडाको जोड्नी दुखेर प्राण परेकी थिई। विहान उठदा औँला चलाउन नसक्ने भइन। धेरै बेर तातोपानीमा सेकेर मात्र हात चलाउन सकेकी थिई। डाक्टरलाई देखाउँदा थाहा पायो उसलाई अर्थराइटिस भएको रहेछ। विशेष हिउँदमा र वर्षायाममा पानी पर्न थाल्दा उसलाई यसले सताउन थालेको थियो। उसको शरीरमा अब पहिले जस्तो सहनशक्ति रहेन। यही कारण मैले उसलाई भनेँ अवकाश लिएर घरमा बस भनेर।
उसलाई सम्झाउन अझ भने यो घर परिवार तपाईंले यति संयम र प्रेमले कायम गर्नु भएको हो। गान्तोक जस्तो ठाउँमा सरकारी साइट त यो जुनी त के अर्को जुनीमा पनि पाउने थिइनँ होला। तर तपाईले कसरी हासिल गर्नु भयो म छक्क पर्छु।
छोराछोरीको पढाइ पुरै तपाईंले सम्हाल्नु भयो। कति दुख कष्ट झेल्नु भयो मलाई थाहा छ। तर सबै हाँसीखुशी सम्पन्न गर्नु भयो।
मैले तपाईंलाई त्यस्तो खासै सुख सुविधा आरामको जीवन दिन सकेको छुइनँ। मलाई यसमा क्षोभ छ। आफैमा आक्रोश छ। पछुतो छ।
तपाईंलाई सँधैभरी यसरी नै परिश्रम गरिरहेको हेर्ने अब म सहन गर्न सक्दिनँ। तपाईंले विश्राम गर्नुपर्छ। तपाईंले पनि एक मुट्ठी सास सन्तोषले आरामसित फेर्न पाउनुपर्छ।
उसलाई यो पनि भनेँ। हाम्रो जिम्मेवारी सबै पुरा भइसकेको छ। छोराछोरी दुवै हुर्के आफ्नो मेलो टिपिसकेका छन। उनीहरू आत्मनिर्भर भइसकेका छन। हाम्रो सहाराको आवश्यकता रहेन।
अब के को लागि खटेर कमाउनु? आफ्नो जीवनीको निम्ति पेन्सन छँदैछ। पेन्सनमा पाइने रकम नै पर्याप्त छ। कुनै आकस्मिक स्थिति आइपरे ब्यांकमा केही वचत राखिएको छ। छोरा या छोरीको अघि हात फैलाउनु पर्ने छैन।
उता बस्तीमा न्यानो छ, जाडो महीनामा पनि घाम मज्जाले लाग्छ। गान्तोकको जस्तो हात ठिहिर्याउने चिसो पानी हुँदैन। हावापानी पनि राम्रो छ। साग सब्जी आफ्नै बारीमा उमार्न सकिनेछ। रिटायर भएर हामी दुई बस्ती मै बसौला। गान्तोक घर छोरा बुहारीलाई जिम्मा लाउँदा भयो। आखिर हामी पछि उनीहरूले नै सम्हालेर राख्नुपर्ने हो।
सुजाताले मेरो विचारमा सहमति जनाइ र ठिकै हो भनी। एक महीना पश्चात् उसले स्वैच्छिक अवकाशको निम्ति आवेदन चडाइ। समय मै स्वीकार भयो। हामी दुईको बातचितको ६ महीनाभित्र उसको रिटायरमेन्ट सुविधा सबै सम्पन्न भयो।
मेरो त रिटायर प्रक्रिया पहिल्यै सकिएको हो अब उसको पनि सकियो।
त्यो दिन गान्तोकमा पानी धेरै परिरहेको थियो। बाहिर निकै चिसो थियो। बुहारी आज छिटै घर आइछ। सामान्यतः उसको घर आउने समय ६ बजे हो। विन्टरमा रात छिटो पर्दा भने ५ बजे आइपुग्छिन। छोरा त ५ बजेभित्र घर आइपुग्छ। कोही बेला मिटिङ भए भने निकै ढिलो आउँछ। नातिनातिनी दुवै स्कुल छुट्टी भएर घरमा खेलिरहेका थिए। खेलिरहेका के भनौँ मोबाइल फोनमा भुलिरहेका थिए। यसैले केटाकेटी हुँदा घरमा हुने चहलपहल होहल्ला हुँदैन। एक प्रकारले रित्तो घर जस्तो लाग्छ मलाई मेरो यो घर।
साँझ साडे ६ बजेतिर मैले दुवै छोरा बुहारीलाई बोलाए हाम्रो कोठामा। सुजाता अघिबाटै बसेकी थिइन।
दुवै जना चौकीमा बसेपछि मैले भूमिका बनाउँदै भनेँ "तिमीहरू दुवैजना सक्षम छौँ आफ्नो जीवन धान्न। कसैको सहाराको जरुरी छैन। घरमा आवश्यक सुविधा सबै छ।
अब हामी बुडाबुडी भयौं। हाम्रो जीवनको भरोसा हुँदैन।
यसो दुई चारदिन शान्तिसित बस्न चाहन्छौं।
हामी दुईजना बस्तीको घरमा गएर बस्ने फैसला गरेका छौँ। तिमीहरू यहाँ बस्नु। आखिर यो घर तिमीहरू कै हो। तिमीहरूको लागि बनाइदिएको हो।
सुख शान्तिसित मिलेर बस्नू।"
एकछिन त्यहाँ मौनता छायो। छोराले कुनै प्रतिक्रिया देखाएको थिएन तर मैले देखेँ बुहारीको अनुहार बिग्रेर आयो। आँखाहरू ठूलाठूला पारिन जुरुक्क उठिन र निकै उच्च आवाजमा भनी
" यो के भन्नुभएको ड्याड ? सोचेर सम्झेर भन्नुभएको? यसको के मतलब भयो ? हामी छोराबुहारीको बदनाम हुँदैन? तपाईंको छोरा त के म बुहारीनाथि दोष आउँदैन ? उ रिटायर भएपछि बुहारीले खेदिछ सासुससुरालाई भन्दैन? अँहँ म मान्दिनँ। मैले के भूल गरेँ र तपाईं मलाई यस्तो सजाय दिनु हुँदैछ?"
यति भनेर रुन थालिन।
हामी सबै हतप्रभ भयौँ। यस्तो मैले केही सोचेको थिइनँ। सायद सुजाताले पनि सोचेकी थिइन होला। मैले हामी दुई बुडा बुडीको हितलाई भनेको हुँ। बुहारीलाई आरोप लगाएर घर छोडेर जाने सोँच बनाएको होइन।
यहसबाट कुरा अघि बडाउने ठाउँ नै भएन। हाम्रो योजना धराशायी भयो। तर मलाई एक नयाँ ज्ञान पनि भयो मैले मेरी बुहारीलाई बुझ्न सकेको छुइनँ रहेछु। मेरो ऊप्रतिको धारणा गलत रहेछ भन्ने थाहा भयो। म कति मूर्ख अबुझ ढिट बोधो दिमाग भएको रहेछ लाग्यो। मैले उसलाई जति माया गर्थे त्यो भन्दा धेरै बेसी उसले हामीलाई गर्दोरहिछ जुन चेतना भयो मलाई मेरो मनमा चट्याङ बज्रे झै लाग्यो।
अर्को बिहान म ओछ्यान मै थिएँ। नाति केटो आयो। मसित छेउमा बसेर भन्यो "ग्रान्डपा आइ थट यु आर लिभिङ अस देट इज व्हाट मम टोल्ड मी। बट नाउ यु वोन्ट गो, नो ? यु आर स्टेइङ विथ अस ?"
मैले उसलाई हेरेर भनेँ "आइ वील अलवेज वि विथ यु।"
उसको कुरा सुनेर मेरो आँखाबाट वरर आँसु झर्न थाल्यो।
नातिले फेरि सोध्यो "व्हाइ आर यु क्राइङ ?"
मैले उसको केश सुमसुमाउँदै भने "इट इज टियर्स अफ हेप्पिनेस, बेटा।"
Comments
Post a Comment