1,भर्खरै तपाइको एउटा लामो कथा पढे ' म र मेरो साथी ' । 'कुनै कुरा पढ्दा पाठक लाई लेखक को ब्यक्तिगत जिबन जान्न मन लाग्यो भने त्यो सफल कृति हो ' भन्ने मान्यता मेरो छ ।
कस्तो थियो तपाइको बाल्यकाल ?
उत्तर : मेरो जन्म सिक्किमको पूर्वतिर पर्ने एक सानो बजार रङ्गली भन्ने स्थानमा भएको हो। यहाँबाट चीन (तिब्बत) सीमाना पैदल हिडेर १०- १२ घन्टामा पुग्न सकिन्छ। ७०-८० वर्षअघि तिब्बत व्यापार चल्दा कालेबुइबाट ढुवानी यही बाटोबाट हुन्थ्यो। यहाँबाट जाने गन्तव्य तिब्बतको याटुङ भन्ने ठाउँमा टुंगिन्थ्यो जसलाई हाल चीनले याडुङ काउन्टी भनेर नामकरण गरेको छ। दक्षिणतिर भुटान पर्दछ। रङ्लीबाट भुटानको सीमाना पाँच छ घन्टामा हिडेर पुग्न सकिन्छ। पश्चिम तिर कालेबुङ यहाँबाट ६० किलोमिटर टाढामा पर्छ। रङ्गली बजार दुई विशाल पहाड बीच घाँटीमा स्थित छ। एक छेउमा खोला छ जसलाई रङ्गेली खोला भनिन्छ।
मेरो परिवार एक नि्म्न वर्गीय परिवार थियो। आर्थिक अवस्था कमजोर थियो तर पनि हाम्रो शिक्षामा खासै असर परेन। स्कुल घरको छेवैमा थियो। बजारको घर र स्कुल सुविधा भएको कारण पढाइमा व्यवधान आएन।
त्यस समयमा धनी भनेर चिनिने थोरै मात्र परिवार हुन्थे। ६०-७० प्रतिशत परिवारले आर्थिक स्थिति एक समान थियो।
यो बजारलाई १८ ब्लकको बजार भनिन्थ्यो र छेउछाउका लगभग ३०-४० गाउँहरूका प्रमुख बजार यही थियो। आइतबारे हाट यही लाग्थ्यो।
गाउँ बस्तीतिर सम्पन्न परिवार भन्ने ५-१० प्रतिशत परिवार मात्र हुन्थे। यद्यपि ९० प्रतिशत गाउँलेहरूको सानातिना खेतीयोग्य जमिन हुने गर्थ्यो। कसैको धेरै र कसैको थोरै भए पनि धेरै जसो जिविकाको निम्ति कृषि र पशुपालनमा निर्भर रहन्थे। हाम्रो परिवारको भने गाउँमा खेती जमिन थिएन। बजारमा घर भएको हुनाले सानोतिनो व्यवसायमा हाम्रो परिवार निर्भर थियो।
प्राथमिक स्तरसम्म मेरो शिक्षा यही ठाउँमा भएको हो। यो स्कुल सिक्किमको एक महाराजकुमारी पेमा छोडेनको नाममा छ। यसैले यसलाई महाराज कुमारी पेमा छोडेन जुनियर हाइस्कुल भनिन्थ्यो। यो स्कुलमा आठौं श्रेणीसम्म पढाउने व्यवस्था थियो। हाल बडोत्तरी गरेर माध्यमिक विद्यालय भएको हुनाले दशौँ श्रेणीसम्म पढाइन्छ।
त्यो समय सिक्किममा गरिबी र शिक्षण संस्थाको अभाव हुनाले निरक्षरता व्यापक थियो।
अहिले बुझिल्याउँदा त्यतिबेलाको व्यवस्था नै सिक्किमको गरिबी र निरक्षरताको प्रमुख कारक तत्व रहेछन।
मेरो बाल्यकालको जीवन परिवार, शिक्षा र घरमा सानोतिनो काममा सघाउपगाउ बाहेक सार्वजनिक रुपमा आयोजन गरिने विभिन्न पर्वहरूले परिचालन गर्ने गर्थ्यो। हुनत यी पर्वहरूले मजस्तै गाउँघरका अन्य बालबालिकाको जीवन उतिकै परिचालित गर्ने कुरा यहाँ जोडनु पर्ने हुन्छ। पर्व र उत्सवहरूमा जनवरी महीनामा हुने माघे सइ्क्रान्ति विशेष रहेको हुन्थ्यो।
माघे सङ्क्रान्तिमा मकर नुहाउन ब्रम्ह मुहुर्तमा चोखो धारामा कसैको अनुहार नहेरी कसैसित नबोली जानुपर्ने बताइन्थ्यो। यस्तो समय भाग्यमा रहे स्वयं महादेव भगवानको दर्शन हुन सक्ने हामीलाई हुन्थ्यो। रङ्गलीमा यतिबेला जाडो गएको हुँदैन र निकै चिसो हुने गर्थ्यो। ठिहिर्याउँदै भए पनि चिसो पानीले नुहाइन्थ्यो।
मकर नुहाएर आएपछि घरमा आएर विभिन्न प्रकारको तरुल खाने हो। तरुल खान अघि काँचो बन तरुलको एक टुक्राले टीका लगाउने र एक टुक्रा खाने त्यसपछि अन्य तरुल खाने। उसिनेको तरुलहरूमा बनतरुल, घरतरुल, सिमल तरुल, पुष्टकर, सकरखन्ड इस्कूसको तरुल र सेलरोटी अनि फापरको फुलौरो हुन्थ्यो।
त्यस समयमा सिक्किममा माघे मेला दुई ठाउँको प्रसिद्ध थियो। सबैभन्दा ठूलो जोरथाङ मेला त्यसपछि रोडाथाङ मेला। रोडाथाङ मेला रङगली बजारबाट करिब दस किलोमिटरको दुरीमा थियो र हाम्रो मेला भनेको यही नै थियो। जोरथाङ मेला जान सम्भव थिएन।
हामीसित गाडी भाडा तिरेर जान सक्ने क्षमता थिएन। दस-बीस जनाको हूल बाँधेर हिडेर जाने गरिन्थ्यो।
मेलामा रोटेपिङ, घुर्नी, एयरगनले बलुन फुटाउनु र अन्यान्य विविध खेल हाम्रो प्राथमिकता रहेको हुन्थ्यो। धेरै बेर ओहोरदोहोर गरेर भोक लागेपछि सस्तो खाजा खाने त्यसपछि उसरी नै पैदल घरतिर फर्कने गरिन्थ्यो।
माघे सङ्क्रान्ति पछि आउने सरस्वती पूजा तर रङ्गलीमा ठूलो रुपमा कुनै आयोजन भएको स्मृति छैन। शिवरात्री भने हाम्रोनिम्ति निकै उत्साहजनक पर्व हुने गर्थ्यो। हामीले बुझेको शिवरात्री रात परेपछि धेरै दाउरा बालेर आगोको धुनी लगाएर चारैतिरबाट आगो ताप्नु हो। हाम्रो बुझाइ के पनि हुन्थ्यो भने शिवरात्रीको दिन कुनै उपद्रो गर्नु पर्ने सानोतिनो चोरी गर्नु पर्ने र आफूले गरेको कारनामा आफ्ना मित्रवर्गमा साझा गर्ने। चोरी भनेको उहीँ कसैको घुरेनमा फलाएको काक्रा, दुई चार फल्याक दाउरा वा कसैको बारीमा गएर भर्खर फुल्न लागेको मकै हुन्थ्यो। यसरी ल्याएका जिनिस हामी सबै मिली उपभोग गर्नु निकै ठूलो उपलब्धि लाग्थ्यो।
शिवरात्री पछि आउने पर्व थियो चैते दशैँ। चैते दशैँ रङ्गली बजार वा यसको वरिपरिको गाउँ घरमा कुनै विशेष आयोजना गरेर मनाउने परम्परा थिएन। तर यही रङ्गली बजारको १०-१२ किलोमिटर टाडो मूलखर्क भन्ने हिमाली गाउँमा भने पर्व आयोजन गरिने परम्परा रहेको थियो। यो स्थल पश्चिम बङ्गाल र सिक्किमको सीमानामा पर्छ। यहाँ एउटा तलाउ थियो र एक जगह निकै फैलिएको फाँट थियो जहाँ फुटबल र अन्य खेलकुद गरिन्थ्यो। यहाँ जानलाई तीन चार घन्टा समय लगाएर नाक ठोक्किने उकालो जानुपर्ने हुनाले १२-२३ वर्ष उँभो र शरीर स्वस्थ रहने मात्र जाने गर्थ्यो। बाटो धेरै अपठ्यारो र हिउँले छोपेको हुने। यहाँ दुई पटक गएको स्मरण छ।
हामीले धेरै पर्खिने समय भनेको दशैँ तिहार र त्यसपछि वर्षेनी आयोजन हुने रामलीला थियो जो एक महीना बडी चल्ने गर्थ्यो।
रामलीला बिहार या उत्तर प्रदेशतिरका मानिसहरू आएर कार्यक्रम चलाउँथ्यो।
साझँ परेपछि रामलीला मञ्चन शुरु हुन्थ्यो। हामी केटाकेटी ठूला मान्छे सबै आफ्नो बस्ने डस्ना मुडा पिरा इत्यादि लिएर आएका हुन्थ्यौ। हामी भुराभुरी भने चिसो भुइँमा पलैटी मारेर बस्ने गर्थ्यौँ। नाट्य मञ्चन राति दस एघारबजेसम्म हुने गर्थ्यो। हुनत सबै पुरै समय बसेर हेर्न सक्दैन थिए।
बीच बीचमा विदुषकले घोषणा गर्ने गर्थ्यो। यसमा कुनै दर्शकले दृश्यबाट प्रभावित भएर पैसा चडाएको हुन्थ्यो। यसरी पैसा दिनेको जोरसोरले मञ्चमा आएर विदुसकले प्रचार गर्थ्यो।
दाताको नाम फलाकेर आभार प्रकट गरेपछि उसले भन्ने गर्थ्यो
"एक बार बोलो सियाराम चन्द्र की ……"
उसले आफ्नो वाक्य पूरा गरिनसक्दै हामी तल दर्शक दीर्घाबाट भएभरको स्वर निकालेर भन्ने गर्थ्यौ
" जय"
रामलीला मञ्चन महीना भर कार्यक्रम रावणबध पछि समाप्त हुने गर्थ्यो। वर्षको अन्तिम महीनामा हुने ठूलो आयोजन यही नै हुने गर्थ्यौ जसलाई हामी सबै जोस र उत्साहको साथ उपस्थिति दिने गर्थ्यौँ।
मेरो बाल्यकाल यसरी नै व्यतीत भएको हो।
भर्खरै लेखेर फेसबुकमा साझा गरेको कथा केही मेरो निजी अनुभव र बडी कल्पनामा आधारित हो। यसमा मैले देखेका १०-२० विभिन्न पात्र पात्रा र घटनाहरूको संयोजन गरेको छु। साहित्य लेखनलाई म "फिक्सनलाइजेसन अफ रियलिटी" नै मान्ने गरेको कारण भएका घटनाहरूलाई काल्पनिक जस्तो देखाउने प्रयास गर्ने गरेको छु। यो कथामा पनि यही तकनिक अपनाएको छु।
2, कथामा छोटै रुपमा भए पनि सिक्किम बिलय सँग गासिएको प्रसङ आएको रहेछ । नेपाल तिर अहिले पनि लेन्डुप दोर्जे लाई नकारात्मक रुपमा हेर्ने गरिन्छ तर सिक्किम तिर उनको कदम लाई सहजता पुर्बक लिइदो रहेछ । मत आफ्ना आफ्ना हुने नै भए । स्वतन्त्र सिक्किम मा जन्मिएको तपाइले बिलय पछि को समृद्ध भनेर बाहिर बुझिएको सिक्किम मा हुर्कने र जागिरे जीवन बिताउनुभएको छ । के फरक पाउनु भो दुइटा सिक्किम मा ?
उत्तर : (क) इतिहासलाई सबैले आफ्नो दृष्टिकोण र बुझाइ अनुसार नै व्याख्या गर्दछ। नेपालमा काजी लेन्डुप दोर्जीप्रतिको बुझाइ नेपालको राजनीतिक परिवेशबाट प्रभावित छ।
वास्तवमा काजी लेन्डुप दोर्जी सिक्किममा राजसंस्थाको लाभार्थी हो। यसैले उनी किन राजसंस्थाको विरुद्धमा उभिए भन्ने प्रश्न पेचिदा हुन्छ।
राजशासनकालमा सिक्किममा जमिनदारी व्यवस्था थियो। भोटिया लेप्चा समुदायबाट जो जमिन्दार थिए उनीहरूलाई काजी भनिन्थ्यो। नेपाली समुदायबाट जमिन्दार भए पछि गएर। तर उनीहरूलाई काजी नभनेर ठिकादार भनिए। काजीमा पनि भोटे काजी बडी शक्तिशाली हुन्थे किनकि राजा भोटिया समुदायको थियो। सिक्किमको इतिहासले बताउँछ सिक्किमका लेप्चा समुदायले राजा विरुद्ध विद्रोह गरेका थिए। यस्ता विद्रोहमा लेप्चाहरू मारिएका इतिहासमा उल्लेख छ। मारिने लेप्चाहरूमा च्याखुङको लेप्चाको पनि उल्लेख पाइन्छ। काजी लेन्डुप दोर्जी च्याखुङको काजी हो।
काजी लेन्डुप दोर्जी लेप्चा समुदायबाट थिए। उनी कुनै समय चिवर धारण गरेको एक बौद्ध भिक्षु पनि थिए। कारणवश उनी बौद्ध भिक्षुबाट सामान्य हुन पुगे। सामान्यमा झरे पनि काजी थिए एक जमिनदार थिए।
उनले आफ्नो लेप्चा जातिको इतिहासलाई कसरी हेर्थे बुझ्नलाई हामीसित कुनै सन्दर्भ छैन। उनले आफ्नो जिवनी लेखेनन र लेखाएनन पनि। उनले लेखेका कुनै दस्तावेज हामीसित छैन। तर यति कुरा आम सिक्किमेली जनताको बुझाइमा थियो कि उनी एक प्रजातन्त्रको हिमायती गर्ने राजनीतिज्ञ हो र उनी राजाको विरोधमा छन किनकि राजा प्रजातन्त्रको पक्षमा थिएन।
राजालाई सबै सिक्किमेली जनतालाई समान हक र अधिकार दिनुपर्ने मागको आन्दोलनमा काजी लेन्डुप दोर्जी खाङसार्पाको भूमिका विशेष रहेको थियो। राजाको नीतिमाथि विरोध आन्दोलन काजी लेन्डुपको नेतृत्वमा गरिएको हो।
राजशासनकालमा सिक्किमको चुनाव व्यवस्था समतामूलक थिएन। यो व्यवस्था अप्रजातान्त्रिक थियो। यही अप्रजातान्त्रिक प्रणाली सरकारी तन्त्रमा पनि व्याप्त थियो। सबै नागरिकप्रति समान व्यवस्था नहुँदा कुनै समुदायलाई नोक्सान र कसैलाई फाइदा पुर्याउने भयो। देशमा सबै नागरिकको एक समान अधिकार हुनु पर्छ प्रजातन्त्र कायम हुनुपर्छ भन्ने जनभावनाले तीव्रता सिक्किमेली समाजमा फैलिन थालेको थियो। यद्यपि राजा र उनका भारादार भने यथास्थिति बनाइ राख्ने पक्षमा अडिग थिए। बहुसंख्यक जनताको जनभावनालाई सम्मान दिने भोटे लेप्चा समुदायवाट काजी लेन्डुप दोर्जी प्रमुख राजनेता थिए।
सिक्किम भारतमा विलयको प्रश्नलाई बुझ्न सिक्किमको १९५० यताको इतिहास जान्न आवश्यक छ। भारत स्वतन्त्रता आन्दोलनले सिक्किम स्वतन्त्र देश भए पनि यसको प्रभावबाट अछुत रहन सकेन । गान्धी नेहरु जस्ता ठूला नेताहरूबाट राजनीतिक रुपमा सचेत केही सिक्किमेली जनता प्रभावित भए। ती नेताहरूलाई आदर्श मान्न थाले। हुनत सिक्किम यतिबेला भारत अधीन थिएन। सिक्किम भारत झैँ अङ्ग्रेजको उपनिवेश पनि थिएन। यद्यपि राजनीतिक रुपमा एक सार्वभौम सत्ता थियो भन्न चाहिँ मिल्दैन।
भारत स्वतन्त्र हुँदा देशमा ५६७ रियासतहरू थिए। ती सबैलाई एक देश भारतभित्र समावेश गरिएको हो। सिक्किमको एक पक्ष यही कालमा सिक्किमलाई भारतमा गाभ्ने माग लिएर आएको थियो। १९४९ मा टासी छिरिङको नेतृत्वमा मन्त्री मण्डल गठन भएको थियो जसलाई २९ दिनपछि राजाले बर्खास्त गरेका थिए। यही २९ दिने मन्त्री मण्डलको एक सदस्य चन्द्रदास राईले दिल्ली गएर प्रधानमन्त्री जवाहरलाल नेहरुसित भेट गरेर सिक्किमलाई भारतमा विलय गर्ने प्रस्ताव अघि बडाएको थियो। जवाहरलाल नेहरूले यस प्रस्तावलाई स्वीकार गरेन। चन्द्रदास राईले आफ्नो लेखहरूबाट उनको अडान स्पष्ट पारेका थिए। उनको मान्यता थियो सिक्किम सार्वभौम सत्ता भएको देश होइन। उनी सिक्किमलाई एक देश मान्न तयार नभएको बुझाइ उनले जीवन थिङको विलयविरोधी कविताको तीव्र आलोचना गरेर बताएको हो।
(चन्द्रदास राई सिक्किमको नेपाली समुदायबाट स्नातकोत्तर गर्ने पहिलो व्यक्ति हुन। उनले १९५५ मा बनारस हिन्दू विश्वविद्यालयबाट राजनीति शास्त्रमा एम ए गरेका थिए। पछि गएर सिक्किमको सरकारी सेवामा आए। सचिब भए। आइएस भए। सिक्किममा उनलाई युगपुरुष भनिन्थ्यो। केही वर्ष अघि उनी परलोकगमन भए।)
१९५० मा सिक्किमको राजाले भारतसित एक सन्धिमा हस्ताक्षर गर्यो। यही सन्धिले सिक्किमलाई भारतको संरक्षणमा रहेको देश बनाएको थियो। सन्धि अनुसार सिक्किमको रक्षा, वित्त र संचार व्यवस्था भारत अधीन भयो। सिक्किमको प्रमुख प्रशासक भारत सरकारले नियुक्त गर्थ्यो जसलाई देवान भनिन्थ्यो। राजदुतको स्थानमा राजनीतिक कार्यलय र यो एक राजनीतिक अधिकारी (पोलिटिकल अफिसर) मातहत हुन्थ्यो जो एक भारतीय विदेश सेवाका अधिकारी हुने गर्थ्यो। भारतको पञ्चवर्षीय योजना अनुरुप सिक्किमलाई भारतबाट विकासीय योजनाको निम्ति धनराशि आवटन हुन्थ्यो।
१९६२ मा चीनले भारतमा आक्रमण गर्यो जसपछि सिक्किमको सीमा क्षेत्र भारतीय सेनाको छावनीमा परिवर्तन भएको थियो। उत्तर र पूर्व सिक्किमको धेरै ठाउँ भारतीय सेनाको छावनी बनियो जो आजसम्म कायम छ।
भारतले बुझ्यो भारतको सुरक्षाको निम्ति सिक्किम एक सम्वेदनशील क्षेत्र हो रहेछ भनेर। यदि सिक्किम चीनको कब्जामा गए भारतको राष्ट्रिय सुरक्षामा खतरा हुने देख्यो।
यो पहिलो ठूलो घटना हो जसले सिक्किमको आन्तरिक स्वतन्त्रतामा चुनौती ल्यायो।
सिक्किमको राजा पाल्देन थेण्डुपले अमेरिकी होप कुकलाई बिहे गरे। होप कुकले १९६५ मा एक लेख लेखेर दार्जिलिङ सिक्किमको क्षेत्र हो भन्ने दावी गरिन। यो लेखलाई भारतीय सत्तालाई सशंकित बनायो। लेखलाई एक अकादमीय लेख मात्र मानेर भारत सरकारले झट्ट प्रतिक्रिया भने देखाएन। तर सिक्किमको विलयको इतिहास लेख्नेहरूले यो लेखलाई विलय मुद्दामा एक सङ्केत ठहर गरेको छ।
भारतमा इन्दिरा गान्धीको शासन आयो। इन्दिरा गान्धी उनको पिता जवाहरलाल नेहरु जस्तो उदारवादी र उपनिवेशको विरुद्ध उभेर आवाज दिने नेता थिइन। इन्दिरा गान्धी नेहरु जस्तो प्रजातन्त्रको आदर्श पालन गर्ने नेता पनि थिइन।
१९७३-७४ मा सिक्किममा राजनीतिक घटनाक्रम द्रुतगतिमा अघि बड्यो।
काजी लेन्डुप दोर्जी एक प्यादा बन्न पुग्यो शक्तिशाली विशाल भारत देशको सत्ताको।
सिक्किमको विलय विरोध सिक्किमबाट भएको हो। तर विलयपछि सिक्किममा जुन द्रुतगतिमा विकासीय कामहरू भए र जसरी आमजनजीवनमा व्यापक परिवर्तन आउन थाले विलय र साथै काजी लेन्डुप दोर्जीको भूमिकाको मूल्यांकन सिक्किमे समुदायले फरक ढंगमा गर्न थाले।
यसको सुन्दर उदाहरण शोभाकान्ति थेगिमका कविताहरूमा झल्केका छन। सिक्किम विलय कालमा शोभा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत थिइन्। सिक्किम विलयको तीव्र विरोध गरेर आन्दोलनमा भाग लिइन। नेपालको भारतीय दुतावास अघि विरोध प्रदर्शन गरिन। पक्राउ पुर्जी जारी भयो। उनी भूमिगत भइन।
पछि गएर उनले कविता लेखिन आफू भारतीय नागरिक हुन पाएकोमा गर्व महसुस गरेकी, भारतको स्वतन्त्र दिवस हर्षोल्लासको साथ मनाउन आव्हान गरेकि र भारत स्वतन्त्रता सेनानीप्रति श्रद्धा अर्पण गरेकी। उनी सिक्किमलाई भारतमा विलय गराउने दल कङ्ग्रेस दलमा सामेल भइन र यही दलको उम्मेदवार भएर चुनाव लडिन।
(शोभाकान्ति थेगिम अत्यन्त प्रतिभाशाली थिई। त्रिभुवन विश्वविद्यालयमा नेपाली साहित्यमा स्नातकोत्तर परिक्षामा सर्वोच्च अंक हासिल गरेर स्वर्ण पदक जित्ने गौरव पाउने उनी नेपालको पहिलो अनागरिक विद्यार्थी थिइन् पछि गएर बनारस हिन्दू विश्वविद्यालयवाट विद्यावारिधि गरिन।)
वास्तवमा सिक्किम विलयको एकल नायक भनेर काजी लेन्डुप दोर्जीलाई उपमा दिनु इतिहासका धेरै घटकहरू नजरअन्दाज गर्नु हुन्छ।
(ख) राज शासनकालको सिक्किम एक गरिब मुलुक थियो। धेरै जसो ठाउँमा बिजुली सुविधा थिएन। म जन्मेको बजार रङ्गेली सिक्किमको स्तरमा ठूलै बजार हो तर विजुली थिएन। कालो पत्रे सडक बनिएको भारत सरकारले चिनी हमला पछि सैनिकहरूको यातायात सुविधाको लागि बनाए पछि मात्र हो। यही कारण जुन ठाउँमा सैनिक चलाचल थिएन त्यहाँ कालोपत्रे सडक सुविधा थिएन।
निजी गाडी थोरै थिए। मेरै ठाउँ रङ्गली बजारमा तीन चारवटा जीप गाडी मात्र थियो। यी ट्याक्सी गाडी कालेबुङ र गान्तोक जानलाई हुन्थ्यो।
गाउँ बस्तीमा गरिबी धेरै थियो। च्यादर लगाएको घरलाई च्यादर घरे भनेर सम्मानको साथ सम्बोधन गरिन्थ्यो। अधिकांश घर खरले छाएको परेङको खपटाको चित्राले बारेको छाएको हुन्थ्यो।
पिउने पानीको सुविधा आफैंले जोगाड गर्नु पर्थ्यो। हाम्रो घरमा पानी बाँसको खपटाबाट ल्याएको थियो। नल व्यवस्था थिएन। बस्तीमा झन हुने कुरा आएन।
अस्पताल भनेको जिल्ला मुख्यालयतिर मात्र थिए। गाउँ घर र साना बजारहरूमा स्वास्थ्यकर्मी हुन्थे र प्राथमिक उपचार व्यवस्था मात्र हुन्थे। प्रशिक्षित डाक्टर थिएन।
पाठशालाको अवस्था दयनीय नै थिए। गाउँहरूका पाठशाला गाउँलेहरूकै प्रयासमा खोलिएका हुन्थे र शिक्षकको तनखा गाउँले मिलेर दिने गर्थे सरकारी पाठशाला थोरै थिए। जिल्ला मुख्यालयतिर मात्र ठूलो माध्यमिक स्तरको विद्यालय थिए। सिक्किममा कलेज थिएन।
सिक्किममा बेरोजगारी र गरिबी कै कारण यहाँबाट पलायन भएको घटनाहरू छन। पुरानो समयमा जब दार्जिलिङमा चियाबगान खोलियो रोजगारको निम्ति सिक्किमबाट पलायन भएर गए। आफ्नो जग्गाजमिन सबै बेचेर पनि गएका छन। निकै परिवारहरू कोही नेपाल त कोही मणिपुर आसामतिर गएका प्रमाण भेटिन्छन।
सिक्किमबाट यसरी पलायन हुनु यहाँ अवसरको अभावको कारणले नै हो।
राजशासन कालमा सिक्किमको साक्षरता प्रतिशत ज्यादै कम थियो। यहाँ पढेलेखेका ज्यादै थोरै भएको कारण शिक्षकहरू पश्चिम बंगाल, बिहार, केरेला, दार्जिलिङ क्षेत्रबाट आएका धेरै थिए।
सिक्किममा त्यतिबेला ब्यांकिङ सुविधा थिएन भने पनि हुन्छ। गान्तोकमा बाहेक अन्य बजारमा ब्यांक थिएन। सिक्किम सरकारले पहिलोपटक 1968 मा सिक्किम राज्य ब्याकं खोले। तर यसको शाखा व्यांकहरू थिएन। एउटा निजी व्यांक थियो जसबाट सरकारी कर्मचारी आफ्नो तनखाको रकम पाउथे। तर यो व्यांक भनेको अहिलेको जस्तो होइन। यसले खुद्रा व्यापार पनि गर्थ्यो। तनखा थाप्नेहरूले यही व्यांकको खुदरा दोकानबाट राशिन पानी लिने हुनाले तनखाको हिसाब राशिन मै सामेल हुनेगर्थ्यो।
यसको अर्थ यो होइन कि सिक्किममा धनी कोही थिएन र आफ्नो बालबच्चालाई उचित शिक्षा दिन सक्दैन थिए। सिक्किममा त्यतिबेला पनि धनाठ्यहरू थिए जसको हजार ऐकर खेतीयोग्य भूमि थिए। चारसय पाँच सय मुरी धान फलाउने, तीन सय चार मन अलैंची फलाएर राख्ने। आफ्नो छोराछोरी कलकत्ता दिल्ली कलेज र दार्जिलिङको महङ्गो कमभेन्ट स्कुल पढाउनेहरू थिए तर सीमित।
त्यसबेलाको सिक्किमको गाउँ बस्ती साना बजार र ठूला शहर गान्तोकमा धेरै अन्तर देखिन्थ्यो। गाउँलेको लुगाफाटा बोलीबचन अलग्गै छुट्याउन सकिन्थ्यो।
सिक्किम भारतमा विलय भएर भारतको बाइसौ राज्यभएपछि द्रुतगतिमा विकासीय कार्यहरू हुन थाले। आर्थिक गतिविधिमा तेज आयो। यहाँको गाउँ बजार शहरमा चलाचल बडेर गयो। पाठशालाहरू बनिए, पशु चिकित्सा केन्द्रहरू स्थापित भए, कृषि विकास केन्द्रहरू राखिए। खानेपानी व्यवस्था हुन थाल्यो। बिजुली जडान शुरु भयो। जग्गा जमिनको सर्वेक्षण नापजोख गरियो। जनचेतना बडेर गयो। भारतीय राष्ट्रिय ब्यांकको शाखाहरू सिक्किमको चारै जिल्ला र महकुमा स्तरमा समेत खोलिए। यी व्यांकहरूले वचत मात्र सिकाएन बरु धेरै गाउँलेहरूलाई ऋणको चंगुलबाट मुक्त गराए। गरिब गाउँहरूलाई धेरै सहयोग पुर्यायो।
१९७५ देखि २००५ सम्म आइपुग्दा सिक्किमको साक्षरता वृद्धि भएर ८० प्रतिशत नाघेको थियो। यस समय आएर शिक्षितहरूको सङ्ख्यामा धेरै बडोत्तरी भएको हुनाले सिक्किमको शिक्षितहरूमा बेरोजगारी देखिन थालियो।
सरकारले औद्योगिक नीतिगत परिवर्तन गरे र भारतका ठूलो औद्योगिक घरानाहरूलाई यहाँ कारखाना लगाउन प्रोत्साहित गरे। लाख करोडको लगानी भयो। भारत सरकारले अविकसित राज्यहरूको आर्थिक विकासको निम्ति नीतिगत परिवर्तन गरेर यी राज्यहरूमा लगानी गर्नेहरूलाई करमा विशेष छुट दिएका थिए। यो छुटमा उनीहरूको उत्पादित माल ढुवानीमा रियायत र कारखानाको विजुली खपतमा थियो। यसैको लाभ उठाउन भारतको ठूला दवाई कारखानाका उद्योगपतिहरूले कारखाना लगाए।
अर्को ठूलो लगानी विजुली उत्पादनमा भएको हो। ३४ जल विद्धुत योजनाको निम्ति सम्झौता हस्ताक्षर भएको थियो। तर पछि गएर केही परियोजना रद्द गरियो।
दवाई कारखाना र जलविद्युत परियोजनाको निम्ति धेरै जमिन अधिग्रहण गरियो। जग्गा जमिन अधिग्रहण हुनेहरूले क्षतिपूर्ति राशि पर्याप्त पाए। कुनै जमिन धनीले ३०-४० करोड सम्म क्षतिपूर्ति पाए। जुन खेती जमिन सालमा दुई तीन लाख मात्र आम्दानी दिन्थे त्यही जमिनले करोडौंको लाभ पुर्याए। यसले सिक्किमका जग्गा जमिन मालिकलाई अचानक पैसाको छेलोखेलो बनायो। धेरैले यो अचानक आएको धनको लगानी सही ठाउँमा गरे। कसैले होटल र रिसोर्ट बनाए। कसैले आफ्नो रकम ब्यांकमा राखेर राम्रो ब्याज अर्जन गरे। ठूलाठूला महल बनिए। गाडीहरू किनिए।
दवाई कारखाना र विद्धुत परियोजना स्थानीय बेरोजगारहरूको निम्ति रोजगारको अवसर भएर आयो। यसमा हुने निर्माण कार्यहरूमा धेरै स्थानीयहरूले सहभागिता जनाउन सके जसबाट उनीहरूले उचित लाभ लिन सके।
सिक्किमको दुर दराजको क्षेत्रमा पक्का सडकको निर्माण भइसकेको थियो। सडक व्यवस्था दुरस्त भएको कारण पर्यटनको विकास गर्न सहज बन्यो। सिक्किमको जनसंख्या सात लाख छ तर १५ देखि १६ लाख पर्यटक सिक्किम भ्रमणमा आउने गरेको छ। पर्यटन व्यवस्था फस्टाएको हुनाले यसले विविध प्रकारको व्यवसाय सिर्जना गर्यो।
सरकारी र निजी क्षेत्रमा भएका यही कार्यहरूले सिक्किमेली जनताको आय बडेर गयो। हालै जारी गरेको आकडा अनुसार सिक्किमको पर क्यापिटा इन्कम सात लाख बडी छ जो भारतीय राज्यहरूको तुलनामा उच्चतम मापदण्डमा देखिन्छ।
आजको दिनमा सिक्किमको गाउँ बस्ती र शहरको भिन्नता मेटिएको छ। शहरमा पाइने सुविधा जस्तै बिजुली जल व्यवस्था सडक सबै गाउँवस्तीमा पाइन्छ। सिक्किमको ग्रामीण मानिस र शहरी मानिसमा रहेको भिन्नता पनि खासै देखिन्न। को शहरको को गाउँको भनेर औल्याउन सक्ने हुँदैन। शहरमा जस्तो घरहरू छन गाउँ बस्तीमा त्यही स्तरको घरहरू बनिएका छन।
मेरो जन्मस्थल रङ्गलीमा पहिले मुश्किलले एउटा दुईवटा गाडी चलेको देखिन्थ्यो हाल त्यहाँ दिनहुँ सैकडौँ गाडीको चलाचल देखिन्छ। दर्जन भर होटल बनिएको छ। हालै एक पाँच तारे स्तरको सबै आधुनिक सुविधा सम्पन्न होटल निर्माण भएको छ।
१९८० सम्म सिक्किममा एउटै महाविद्धालय थिएन। अहिले एक केन्द्रीय विश्वविद्यालय र एक राज्य विश्वविद्यालय छ। पाँच निजी विश्वविद्यालय छन। एउटा मेडिकल कलेज छ। तीस भन्दा बडी कलेजहरू छन।
यी सब भए पनि सिक्किममा शतप्रतिशत गरिबी मेटिएको शतप्रतिशत वासिन्दा पक्का घरमा छन भन्ने अलि भएको भने छैन। थोरै प्रतिशतमा भए पनि गरिबी छ र घरबारविहीन किरायाको घरमा गुजारा गर्ने परिवार छन।
3, हामिले नेपाली भाषा लाई भण्डारी परिवार ले आधी हुरि सङ जुद्दै अगाडि बढाउनु भएको कुरो अलि टाढा बाट दर्सक को रुपमा हेरेउ मात्र, तपाइको परिवार त प्रतक्ष्य दर्सी नै थियो होला ? कस्तो थियो भाषिक सङ्हर्ष का दिन हरु ?
उत्तर : नरबहादुर भन्डारी तेस्रोपटक विपुल मत पाएर १९८९मा सिक्किममा सरकार बनाउन पुगे। यही आफ्नो तेस्रो पटक सरकार गठन भएको आधारमा उनले शिथिल भएको नेपाली भाषा आन्दोलनलाई बल पुर्याउने अठोट गरे।
१९८९ मा म नेपाली साहित्य परिषदको महासचिव थिएँ। त्यतिबेला परिषदको भवन थिएन। भवन निर्माणको लागि जग्गा आवटन भएको थियो तर कोष नभएको कारण निर्माण कार्य हुन सकेको थिएन। यही विषयमा मुख्य मन्त्री नरबहादुर भन्डारीले छलफलको निम्ति परिषद भवन निर्माण समिति र साहित्य परिषदको प्रतिनिधिलाई बोलाए। यसमा भवन निर्माण समितिको तर्फबाट ग्राम विकास विभागको सचिव पी के प्रधान, परिषदको अध्यक्ष सानु लामा, परिषदको उपसभापति राधाकृष्ण शर्मा र म परिषदको महासचिवको हैसियतले उपस्थिति दिएका थियौँ। भवन निर्माणको लागत १५ लाख आउने भएको थियो र उक्त रकम संस्कृति विभागले आवटन गर्नुपर्ने आदेश भयो। त्यतिबेला म संस्कृति विभागमा उप सचिवको जिम्मेवारी सम्हालेको थिएँ। यही कारण मुख्य मन्त्री नरबहादुर भन्डारीले सम्पूर्ण प्रक्रिया पूरा गरेर कोष उपलब्ध गराइदिनु पर्ने आदेश दिएको कार्यवन्यन मैले शुरु गर्नु पर्यो।
केही दिनभित्र मैले प्रक्रिया पूरा गरेर अग्रिम भुक्तान भनेर ७ लाख परिषद निर्माण समितिको खातामा हस्तान्तरण गरेँ। रहल रकम पछिबाट दिइने सुझाव भयो।
यो कार्य सिद्धिने लगत्तै नर बहादुर भन्डारीले गान्तोकमा राष्ट्रीय स्तरमा नेपाली साहित्य सम्मेलन आयोजन गर्नु पर्ने हुकुम दिए। यो १९९० को फरवरी महीनाको घटना हो। यसको लागि हामी तीन जना सानु लामा, राधाकृष्ण शर्मा र म लागिपर्यौँ। आवश्यक कार्यहरू सम्पन्न भएपछि यो सम्मेलन जुन १९९० मा हुने तय गरियो।
नेपाली भाषा मान्यता सङ्घर्ष दार्जिलिङ्गको नेतृत्वमा हुन्थ्यो। तर जब दार्जिलिङ्गमा गोर्खाल्यान्ड आन्दोलन आरम्भ भयो भाषा आन्दोलनको मुद्दा ओझेलमा पर्यो। सुवास घिसिङ नेपाली भाषा होइन गोर्खा भाषा हुनुपर्छ भन्थे। दार्जिलिङ्गमा नेपाली भाषाको समर्थकहरू राजनीतिक शिकार हुन पुगे। अखिल भारतीय नेपाली भाषा सङ्घर्ष समिति निष्क्रिय भयो। यसको मुख्यालय दार्जिलिङ्गमा रहन सम्भव नरहेको हुनाले देहरादुनमा सारियो। भाषा आन्दोलनको नेतृत्व बिथोलिए पछि भाषाको माँग पनि सेलायो। नेपाली भाषा प्रेमीहरू निराश हताश थिए। नेपाली भाषा भारतको सम्विधानमा अन्तर्भुक्त गर्न सके भारतमा उनीहरूको अस्मिता सुरक्षित रहने कुरामा उनीहरू विश्वास गर्थे।
नर बहादुर भन्डारी नेपाली भाषा मान्यता आन्दोलनमा अघि सक्रिय नदेखिए पनि उनी एक आफू साहित्य र नेपाली भाषा प्रेमी रहेको कविता लेख र समालोचना लेखेर प्रमाणित गरेका थिए। त्यतिमात्र होइन उनी सिक्किमको बागडोर सम्हालेको वर्ष दिन पछि नै सिक्किममा ठूलो साहित्यिक आयोजना गरेका थिए। आदिकवि भानुभक्तको पहिलो पूर्णाङ्ग प्रतिंमा स्थापित गरेका थिए। यसैले नरबहादुर भन्डारीको नेपाली भाषा साहित्यप्रतिको प्रतिबद्धता रहेको स्वयंसिद्ध हुन्छ। आफ्नो यही भाषा प्रेम र कर्तव्यबोध भएर नै उनले भाषाप्रति योगदान दिन राजनीतिक जोखिम भए पनि अघि बडे। राजनीतिक जोखिम यसकारण थियो नेपाली भाषा आन्दोलनमा प्रत्यक्ष होमिनु दार्जिलिङ्गको घिसिङ समूहसित सिङ्ग जुधाउनु जस्तै हुने थियो। अर्कोतिर सिक्किमको राजनीतिमा नेपाली भाषाको प्रश्न सिक्किमको तीन मुख्य समुदाय भोटे लाप्चे नेपालीमा नेपाली समुदायसित मात्र जोडिएको हुनाले यसमा सकस थियो। तर पनि आफ्नो राजनीतिक भविष्यभन्दा उनले भाषाको मोहलाई प्राथमिकता दिए।
जुन १९९० मा भने जस्तै विराट सर्वभारतीय नेपाली भाषा सम्मेलन सफलतापूर्वक सम्पन्न भयो। भारतभरि छरिएका नेपाली भाषा सम्बन्धि सङ्घ संस्थाका सदस्य सदस्याहरू आए। अनेपाली विद्वान र राजनीतिज्ञहरू जो नेपाली भाषाको समर्थक थिए उनीहरूको पनि उपस्थिति रहे।
यो सभामा नेपाली भाषा प्रेमी प्रतिनिधिहरूले नेपाली भाषा मान्यता सङ्घर्ष अघि बडाउने प्रस्ताव राखे। अखिल भारतीय नेपाली भाषा सङ्घर्ष समिति निष्क्रिय रहेको हुनाले एक नयाँ छाता संस्था बनाउने सुझाव भयो। यो नयाँ संस्थाको नामकरण "भारतीय नेपाली राष्ट्रिय परिषद" (भानेराप) राखियो। यसको अध्यक्षताको भूमिका मुख्य मन्त्री नरबहादुर भन्डारीलाई सुम्पियो। यही संस्थाको मातहतमा भारतमा नेपाली भाषा मान्यताको सङ्घर्ष अघि बडाउने निर्णय सर्वसम्मतिले लिइयो।
यो सभामा विशेषगरी पश्चिम बंगालको सत्ताधारी सिपिएम दलको सांसदहरू उत्साहजनक उपस्थिति रहेको थियो। पश्चिम बंगालको सत्ताधारी सिपिएम दल त्यही दल हो जो गोर्खाल्यान्ड मुद्दाको घोर विरोधी थिए र दार्जिलिङ्गमा यही दलीय विभाजन कै कारण त्यहाँ हत्या र हिंसाको नाङ्गो खेल भयो। सिपिएम दलले जान्दथ्यो गोर्खाल्यान्ड नेता सुवास घिसिङ नेपाली भाषा मान्यताको समर्थन गर्दैन र नेपाली भाषाको नाम गरेर भएको आन्दोलन कै विरोधमा छ भनेर। यसरी सिपिएम दलको नेपाली भाषा मान्यता आन्दोलनको खुला समर्थन उनीहरूको घिसिङको राजनीतिको विरोधको हिस्सा मान्न सकिने हो। तर यसले नेपाली भाषा मान्यता आन्दोलनलाई भने सहयोग पुर्याएको सर्वमान्य विषय हो।
भाषा मान्यता भनेको भारतीय सम्विधानको आठौं अनुसूचीमा यसको अन्तर्भुक्तिको प्रश्न थियो। यसको निम्ति सम्विधानमा संशोधन प्रस्ताव ल्याउनुपर्छ। यो संशोधन पारित गर्न सदनमा पर्याप्त सांसदहरूले अनुमोदन गर्नु पर्दछ। यसैले धेरै भन्दा धेरै सांसद र राजनीतिक दलहरूलाई नेपाली भाषा सम्विधानभित्र राख्ने औचित्य बुझाउनु र उनीहरूको सहमति लिन सबै राजनीतिक दलको समर्थन लिन आवश्यक थियो। यही कुरालाई टुंगो लगाउन नरबहादुर भन्डारी कटिबद्ध भए। उनले आफ्नो एक सम्बोधनमा भनेको मलाई स्मरण छ "साम दाम दण्ड भेद प्रयोग गरेर भए पनि नेपाली भाषालाई मान्यता दिलाउने छौँ" भनेको।
दुई वर्ष अनेकौं भेटघाट, मानमनितो र सभा, सेमिनार पछि आखिरमा १९९२को अगस्त महीनामा संसदमा प्रस्ताव आउने सहमति बन्यो। यसमा सांसद दिल कुमारी भन्डारीको विशेष भूमिका रहेको थियो। उनको प्रयासले नै संसदमा नेपाली भाषा मान्यता सम्विधान संशोधन मसौदा प्रविष्टि पाउन सक्यो। २० अगस्त १९९२ मा दुवै सदनले यो मसौदा पारित गर्यो। ३१ अगस्त १९९२मा राष्ट्रपतिले सम्मति दिए र १ सितम्बर १९९२ को दिन आधिकारिक विज्ञप्ति प्रकाशित भयो नेपाली भाषा सम्विधानमा अन्तर्भुक्ति भयो भनेर।
सिक्किमको परम्परा अनुसार म मुख्य मन्त्री नरबहादुर भन्डारीको सरकारी आवास गृह मिन्टग्याङमा भाषा मान्यतापछि खादा लिएर उनलाई अभिवादन गर्न गएको थिएँ। त्यतिबेला उनले मलाई दुई वर्ष लामो सङ्घर्षको सम्झना गर्दै भने " तामाङज्यु तपाईंलाई पनि बधाई छ। हामी रात विरात नभनी गरेको काममा हामी सफल भयौं।"
१९९१ मा भारतको सत्तामा फेरि काङ्ग्रेस दल आएको थियो। प्रधानमन्त्री पि वि नरसिंहराव भएका थिए। उनी ८ भाषा जान्ने एक पोख्त विद्वान पुरुष थिए। उनमा कट्टरता थिएन।
त्यतिबेलाको राष्ट्रिय राजनीति पनि अनुकूल बनियो। यही काङ्ग्रेस दल अघि नेपाली भाषाप्रति नकारात्मक दृष्टिकोण राख्थे। भारतीय राजनीति वास्तवमा अल्पसंख्यक र किनारामा रहेका कुनै पनि समुदाय संस्कृति वा वैचारिक गोष्ठीप्रति सम्वेदनशी हुँदैन कहिले थिएन र आज पनि छैन। यही कारण नरबहादुर भन्डारी उपयुक्त समयमा पदार्पण गरेर भाषा मान्यता दिलाउन जुन योगदान दिए यसको निम्ति सबै भारतीय नेपाली भाषी समूह कृतज्ञ रहेका छन र उनको नाम चिरस्मरणीय रहने बताउँछन्।
4, तपाईं एक्दम छिटो पढेर स्थानिय देखि बिश्व साहित्य का हस्ती हरुको किताब माथी फेसबुकमा कमेन्ट राखी हाल्नु हुन्छ । यो पठन प्रतिको रुचि कहिले बाट जाग्यो ? के स्कुल, कलेज का दिनहरुमा केही प्रेरणा का स्रोत हरुले रुचि जगाइदिएकी ?
उत्तर : हाम्रो समाज पढन्ते समाज होइन। पढनमा खासै रुचि राख्तैन। पढिहाले पनि सतही पढछन। आफूले पढेको किताबको विल्कुल उल्टा व्याख्या सामान्य बातचितमा मात्र होइन तर उनीहरूले लेखेका लेखनमा यस्तो भएको पाइन्छ। यस्तो हुनुको कारण सतही पढाइ कै कारण नै जिम्मेवार हुन्छ। हाम्रा धेरै कथा, कविता, उपन्यासमा आएका ऐतिहासिक तथ्य एवम अन्य सूचनाहरू भ्रामक रहेको धेरै पढन पाइन्छ। मलाई लाग्छ यी सबै सतही पढाइ कै परिणामले हो। फेसबुक आए पछि मैले बुझेँ किताब नपढे पनि फेसबुक खोलेर छोटो टिप्पणीहरू पढदा रहेछन। यसैले मैले पढेका पुस्तकहरूबारे सामान्य छोटो टिप्पणी राखिदिने गरेको हुँ। मेरो उद्देश्य यही साधारण जानकारी सर्वराह होस भन्ने हो।
मेरो समयमा विशेषगरी मेरो जन्मस्थल रङ्ली बजार सिक्किमको एक सानो बजार थियो। टेलिभिजन आएको थिएन। रेडियो पनि सबै घरमा थिएन। हाम्रो घरमा रेडियो थिएन। हुनत फाल्तु समय पनि हुँदैन थियो। स्कुल जाने आउने घरको सानोतिनो काममा हात बडाउने जस्तो कुरालाई दिन गइहाल्थ्यो। केटाकेटीको खेलकुदमा सामेल हुनु र साथीभाइसित छेउछाउ गाउँघरमा घुम्न जाने कार्यक्रम बनिन कुनै समय भइहाल्थ्यो।
सातौं श्रेणीमा पुग्दा म आफ्नो स्कुलको पाठ्यक्रम बाहेक फाल्तु कुरा पढन लागेको थिएँ। घटना के भएको थियो भने म छैटौं श्रेणीमा पढदा हाम्रो क्लासमा ढिलो गरेर एक नयाँ विद्यार्थी भर्ना भएको थियो। स्कुल विदा हुन तीन महीना मात्र थियो। मैले सोचेँ अब यो साथी फेल हुनलाई यति ढिलो पढन आएछ। सायद पढन मन गरेको थिएन होला।
ऊ क्लासमा हामीसित उति नबोल्ने खाली कि त सरसित बात मार्ने कि पढिबस्ने। केही दिनमा मलाई त्यतिबेला अचम्भ लाग्न थाल्यो जब मैले देखेँ कि सरले हरेकपटक उसलाई मात्र सोधिबस्थ्यो। पाठ्यक्रममा भएको नेपाली अङ्ग्रेजी कविता उसले कुनै गलती नगरी सुनाएको देख्दा चकित हुन्थेँ। म आफैले यसरी आवृत्ति गर्दा दुई चार भूल जहिले हुने। मैले बुझेँ म भन्दा ऊ धेरै ज्ञानी रहेछ।
मलाई लाग्यो म धेरै कम पढने बानी गरेको हुनाले यस्तो भएको हो। घरमा पढनलाई कुनै पुस्तक या अन्य सामग्री आफ्नो पाठ्यक्रम बाहेक थिएन। बजारमा किताब पाउने दोकान नै थिएन। भए पनि किन्न सक्ने क्षमता थिएन।
हाम्रो घरमा कुनै कुनै यात्री बास बस्न आउथे। कसैले पत्रपत्रिका उपन्यास धार्मिक पुस्तक बोकेर हिड्ने गरेको देखेको हुँ। यस्ता यात्रीहरूबाट केही पढ्ने सामग्री पाइन्थ्यो। हुन चाहिँ पढने सामग्री पाइए पनि पढेर बुझ्न सक्दिनँ थिएँ।
सातौं श्रेणीमा हुँदा मेरो ठूलो दाइले गान्तोकबाट नेपाली पत्रिकाहरू छुट्टीमा घर आउँदा लिएर आएका पढन थालेँ। दार्जिलिङ्गबाट प्रकाशित हुने "दियो" "दियालो" "जनदुत" "हाम्रो सङ्केत" पत्रिकाहरू हुने गर्थे। सिक्किम मै प्रकाशित पत्रिका "प्रगति" पनि ल्याउँथे। यी पत्रिकाहरूमा कविता, कथा, लेख आदि हुन्थे। यतिबेला भने सबै बुझ्न नसके पनि केही कविता कथा बुझ्न सक्ने हुन थालेको थिएँ। प्रकाश कोविदको ठूलो चर्चा हुन्थ्यो। यही कालमा मलाई पहिलोपटक उनको उपन्यास "सङ्गम" पढन मिल्यो। मैले पढेको पहिलो उपन्यास त्यही थियो। एकदेव ढकाल नाम गरेको लेखकको दुई उपन्यास "राक्षस राज" र आतंक" अनि "वीरसिक्का" पढेको स्मरण छ। यहीबाट पढने रुचि विकास भएर गयो।
5, तपाईं नेपाली, हिन्दी , अङ्रेजी तीन वटै भाषा मा लेख पढ गर्नुहुन्छ । सायद तपाइलाइ अरु भाषा पनि आउँछ होला ? भाषा के रहेछ ? आफुले घरमा बोल्ने मातृभाषा को अबस्था चाहि कस्तो छ तपाइको केस मा ? अनि समाज मा मातृभाषा लाई कसरी लिइन्छ ?
उत्तर : मैले पढन र बुझ्न सक्ने तीन भाषा मात्र हो नेपाली हिन्दी र अङ्ग्रेजी। हिन्दीमा लेख्न सक्ने मेरो क्षमता छैन। यसको व्याकरणमा मेरो पहुँच छैन। बडी नेपालीमा लेख्ने गरेको छु। तर मेरो भाषिक क्षमता कमजोर छ। अङ्ग्रेजीमा थोरै लेखेको छु।
मेरा मातापिताको मातृभाषा तामाङ भाषा हो। तर दुवै बहुभाषी थिए। माता पिता दुवैले तामाङ र नेपाली भाषा बाहेक सेर्पा, यल्मो, तिब्बती, डुक्पा भाषा बोल्न सक्थे।
हामी सन्तानले भने हाम्रो मातापिताको भाषिक दक्षताबाट वञ्चित नै रह्यौँ।
हामीले आफ्नो तामाङ भाषा पनि सिक्न सकेनौं। हाम्रो घरको बोलचाल नै नेपाली भाषा थियो। बच्चा हुँदा नेपाली भाषा बाहेक अरु केही नबुझ्ने।
सिक्किममा पुरानो समयमा भाषाप्रति उस्तो भावनात्मक लगाव थिएन। जुन भाषा आफूलाई सहज लाग्छ त्यही भाषाप्रति सदभावना राख्ने उनीहरूको मान्यता थियो। यसलाई संस्कृति र राजनीतिसित जोडेर बुझ्ने चेतना ढिलो गरी आएको हो। भाषामा आएको राजनीति अर्वाचीन प्रवृत्ति मान्नु पर्ने हुन्छ सिक्किमेली परिवेशमा। हिजोआज भने यसमा जनचेतना बडेर गएको छ। मातृभाषा पठनपाठन, संस्कृतिको सुरक्षा सम्वर्धन हुनुपर्छ भन्ने जागरुकता आएको छ। बिर्सन लागेको भाषाहरू जीवन्त बनिँदैछ। सिक्किममा भाषाका शिक्षकहरू नियुक्त भएका छन। मातृभाषाप्रति चेतना यसले पनि बडाएको छ।
समाज या सम्पूर्ण जातिको मातृभाषाप्रतिको विचार जे जस्तो होस तर म आफूले भने फरक दृष्टिकोण राख्ने गरेको छु। मेरो विचारमा व्यक्तिको मातृभाषा त्यही भाषालाई मान्नुपर्ने हुन्छ जुन भाषाको परिवेशमा ऊ हुर्केको बडेको हुन्छ।
हुनत मातृभाषा भनेपछि जन्मदिने मातापिताको भाषा भन्ने अर्थमा बुझिन्छ। मातापिताको जुन मातृभाषा थियो त्यही भाषा उनीहरूको सन्तानको मातृभाषा हुन्छ भनिने अर्थ रहन्छ। प्रख्यात भाषा शास्त्रीले अझ भाषा अनुवांशिक (जिन) मा हुन्छ भन्छ। उनको सिद्धान्तलाई नेटिभिस्ट भाषा सिद्धान्त भनिन्छ। यदि यो सिद्धान्त सही हो भने सन्तानमा भाषा प्राकृतिक रुपमा नै आएको हुनुपर्ने हो। तर यो सिद्धान्त मेरै परिवारभित्र पनि प्रमाणित भएको देखिँदैन। हाम्रा मातापिताका एघार सन्तान भए। दुई सन्तान छिटै बिते। रहेका नौ सन्तान सबैबारे म भन्न सक्छु कसैले पनि मातापिताको भाषा तामाङ भाषा बोल्न बुझ्न सक्तैन थिए। हाम्रो परिवार मै भाषाको अनुवांशिकी सिद्धान्त कारगर देखिँदैन। भाषा प्राकृतिक होइन नै। यो मानव निर्मित हो। बोर्हेसले भनेका थिए लेन्ग्वेज इज अ फि्कसन। देरिदाले यही कारण भाषामा लेखिएका बोलिएका सबै कुरामा फिक्सलिटि हुन्छ भनेको छ। भाषा कृतिम हुनाको कारणले हामीले यसलाई सिक्नु पर्ने ग्रहण गर्नु पर्ने हुन्छ। भाषा एक शिल्प, कौशल हो। हाम्रो मातृभाषा त्यही भाषा हुन सक्छ जसको परिवेशमा हामी हुर्केका बडेका हुन्छौं।
कोरोनाकालमा काठमाडौंबाट आयोजित तामाङ सभ्यतामाथि एक अनलाइन वार्ता सुनेको थिएँ। वार्ताकार थिइन् अमेरिकाको कोर्नेल विश्वविद्यालयको अवकाशप्राप्त प्रोफेसर केथरिन मार्च। केथरिन मार्चले धादिङ तामाङ महिलामाथि अनुसन्धान अध्ययन गरेकी हुन। उनले भनी उनको मातृभाषा तीनवटा छ जर्मन, फ्रेन्च र अङ्ग्रेजी। यसले मलाई मातृभाषाप्रतिको परिभाषा पुन विचार गर्नुपर्ने लागेको हो। हाम्रो पारम्परिक मान्यता अनुसार हामी एक जाति एक भाषा र त्यही भाषा मातृभाषाको रुपमा लिने गरेका हुन्छौं। यसैले मार्चको यो अडान हाम्रो निम्ति अनौठो लागे पनि तर मध्यकालीन भारतको परम्परा बुझ्दा हामीलाई थाहा हुन्छ त्यतिबेला भारतवासी हिन्दू समुदाय बहुभाषी नै रहेका थिए। महाकवि कालिदासले संस्कृत र प्राकृत दुवै भाषा चलाए। राजशेखर साहित्य शास्त्र "काव्यमिमांसा" संस्कृतमा लेखे तर उनले आफ्नो नाटक "कर्पुरी मञ्जरी" प्राकृत भाषामा लेखे। मध्यकालीन कवि सन्त सिद्ध गुरुहरू सामान्य रुपमै तीन वा तीन भन्दा अधिक भाषाहरू आफ्नो विचार प्रचार गरेको पाइन्छ। कुनै एक भाषालाई प्राथमिकता दिएर अन्य भाषालाई सानो अपवित्र मानेको देखिँदैन। वास्तवमा यही भावनाले नै उनीहरूले संस्कृत इतर भाषामा धर्म ग्रन्थ लेखे र आफूलाई आम जनता पुर्याउन सफल भए। उनीहरूले आफ्नो मातृभाषाको राग राखेन। यसबाट थाहा लाग्छ भारतीय परम्परामा कुनै एक भाषालाई मातृभाषा मानेर आफ्नो जीवन यसैमा समर्पण नगरेर बरु आम जनभावनामा बाँचेको बहुभाषिकता स्वीकारेको देखिन्छ।
मातृभाषाको अवधारणा व्यक्तिको संस्कृति र परम्परासित जोडिएको हुन्छ। यसैले उसको पहिचान यसैबाट निर्माण हुन्छ। भाषाले संस्कृति बोक्ने हुनाले मातृभाषाको महत्त्व धेरै हुन्छ। मातृभाषामा पठनपाठन हुनुपर्छ भन्ने सिद्धान्त यही विचारमा आधारित छ। व्यक्तिले जानेको बुझेको पहिलो भाषामा शिक्षण भए शिक्षार्थीले सहज ग्रहण गर्न सक्दछ।
यद्यपि मलाई लाग्छ भाषा सबै एकसमान हो, सबै भाषाको सम्मान हुनुपर्छ। जसरी प्रत्येक जीवको जिउने अधिकार हुन्छ उसरी नै प्रत्येक भाषालाई विकास हुने वातावरण बनाइनुपर्छ। कुनै पनि भाषाको हत्या हुनु हुँदैन।
6, सुन्दा खुसी लाग्यो तपाइको कथा सङ्रह 2006 मा नै आइसकेको रहेछ । आसा गरौ अब छिट्टै तपाइको अर्को सङ्रह आउने छ । तपसी लेखन मा कसरी आइपुग्नु भो ? कसलाइ पढ्दै हुर्कनुभो तपाईं ?
उत्तर : धन्यवाद।
मेरो लेखाइमा ज्यादै सुस्ती छ। पहिलो कथा सङ्ग्रह पछि हालसम्म ७ वटा मात्र कथा लेखिसकेको रहेछु।
मलाई कथाको विषय दोहोर्याउन उचित लाग्दैन। कथाको निम्ति नयाँ विषयवस्तु खोज्न कठिन हुन्छ। यही कारण धेरै कथा लेख्न सकेको छुइनँ। आजसम्म जति पनि कथा लेखे नयाँ विषयवस्तु रोजेर लेखेको हुँ।
मेरो पढाइको रोजाइमा पहिला नेपाली कथा नै हुन्थ्यो। यसैले नेपाली कथाहरू नै पढिए। कुनै विशेष लेखक रोजाइमा परेको होइन तर सबै लेखकका कथाहरू पढने गरेको थिएँ। लेखक भन्दा लेखनलाई मैले बडी प्राथमिकता दिएर पढेको हुँ।
पछि हिन्दी पत्रिका "सारिका" "कादम्बिनी" "हिन्दुस्तान टाइम्स" "धर्मयुग" मा छापिएका कथाहरू धेरै पढियो। रुसी, फ्रेन्च अङ्ग्रेजी कथाहरू नेपाली र हिन्दी अनुवादमा धेर पढेँ।
अङ्ग्रेजी भाषामा पढेको पहिलो उपन्यास "डा जिभागो" हो तर यसलाई नबुझी पढेछु भनेर पछिबाट थाहा भयो।
नेपाली साहित्यमा इन्द्रबहादुर राईका सबै कृति पढ्ने रहर भएको हो। बि पि कोइरालाका सबै कृतिहरू पढन आवश्यक लागेर पढियो।
कविताको कमजोर पाठक पाउँछु आफैंलाई। धेरै जसो कविता बुझ्न कठिन हुन्छ मलाई।
कृष्ण धरावासीले वैरागी काइँलामाथि लेख्न मलाई आग्रह गरेँ। म प्रायः उनको कविता बुझ्दिनँ थिएँ र पढेको पनि थिइनँ। तर लेख लेख्न भनेपछि गम्भीर भएर अध्ययन गर्नै पर्ने भयो। पहिलोपटक मलाई वैरागी काइँलाका कविताहरूले मलाई सम्बोधन गरे जस्तो लाग्यो जब सबै कविता अर्थपूर्ण भएर देखा पर्न थाल्यो त्यतिबेला मात्र मलाई ज्ञात भयो एउटा राम्रो कविता पढनु भनेको अनेकौं सम्भावनाहरूसित जोगाजोग हुन सक्नु हो। धेरै वटा ढोका खोलिनु जस्तै हो।
विद्यार्थी छँदा कविता लेख्ने गर्थेँ। विद्यार्थी काल मैले दुईवटा उपन्यास लेखेको थिएँ। तर कविताको ठेली र दुवै उपन्यासको पाण्डुलिपि हराइपठाएँ।
१९७७ तिर स्वर्गीय जीवन थिङ्गले मलाई भने " पेम्पा तिमी एउटा कथा लेखेर देऊ, म मेरो सम्पादनमा निस्कदै गरेको "सुधा" पत्रिकामा छाप्छु।" मैले त्यतिबेला आफैंले भोगेको देखेको विषयमाथि लेख्ने विचार गरेँ अनि जन्म्यो "गान्तोक डोमिसाइल र नौकरी" शीर्षक कथा। पत्रिकामा छापियो।
फेरि कथा लेख्ने मन आएन। पत्र पत्रिका पढने बानी रहेको हुनाले त्यहाँ छापिएको नकारात्मक मुद्दामा प्रतिक्रिया भने दिन थालेँ। यस्तै प्रतिक्रियाको शिलशिलाबाट आलोचनात्मक लेख लेख्नतिर अघि बडेँ। मेरो लेखन यहीवाट पाइला चलाउन थालेको हो।
१९८० तिर मार्क्सवादी साहित्य धेरै रुचाएर पढथेँ। चेखभ, गो्र्की, तल्स्तोय, गोगोल, पुश्किन, चेङ्गिज ऐतमातोभ पढियो। दोस्तोभोस्की बुझ्न गाह्रो भएको हुनाले पढन सकिएन। मलाई बुझ्न सहज लाग्ने लेखनमा गोर्की र ऐतमातोभ पर्थ्यो।
इन्द्रबहादुर राईको लीलालेखन आए पछि यसलाई बुझ्न विनिर्माणवाद, संरचनावाद, उत्तरसंरचनावाद, सेमियोटिक्स पढन थालियो। यही बेला फुको फ्रान्सिस फानन, होमी भाभा र लकान गायत्री चक्रवर्ती स्पिभाकतिर बडी आकर्षित भइयो। स्पिभाकको पूरा कलेक्सन किनेको थिएँ। सबै पढन चाहिँ सकिएन। डेरिडाको कृतिहरू निकै पढियो। ज्यादै कठिन भए पनि दि ला ग्रामोटोलोजी र राइटिङ एन्ड डिफेन्स चाहिँ पढेँ।
साहित्य सिद्धान्तका पुस्तकहरू पढदै जाँदा थाहा भयो समयको साथै यी सिद्धान्तहरू परिवर्तन हुँदै जाने र नयाँ अवधारणा आइरहेको देख्दा हामी जस्तो किनारामा रहेका पाठकहरूलाई समकालीनता समात्न चर्को परेको हुँदोरहेछ।
हाल सिर्जनात्मक लेखनले विश्वमा आएका पुराना र नयाँ साहित्य सिद्धान्त कसरी डोर्याएका छन भन्ने बुझ्ने प्रयासमा लागेको छु। यसैले साहित्य सिद्धान्त भन्दा सिर्जनात्मक लेखन बडी पढने गर्न थालेको छु। हुनत समकालीन समयमा सिर्जना र समालोचनाको विभेद मात्र होइन समस्त विधागत विभाजन नै सन्दि्ग्ध बनेको छ। संस्कृति र लेखनले मात्र परिभाषित हुन आउने भएको देखिन्छ।
7, तपाईं लाई सामाजिक सरोकार को बिषय, दर्सन , र धर्म को सूक्ष्म रुप को बारेमा अध्यन र चिन्तन गर्न मन पर्दोरहेछ । तपाइको लागि लेखन के हो ?
उत्तर : हजुर सही हो मलाई सामाजिक सरोकारको विषयले आकर्षित गरेको छ।
हाम्रो समाज भिन्दा भिन्दै विचार संस्कार र परम्पराले विभाजित भएको छ। यही भिन्नताले द्वन्द सिर्जना गरेको हुन्छ। जुन समाजमा विविधताको सम्मान हुन्छ त्यहाँ भने द्वन्द न्युन रहेको हुन्छ।
भारतीय समाज वसुधैव कुटुम्बकममा आधारित छ भन्छ। यो सिद्धान्तले विविधता स्वीकार गर्छ। यही भावनालाई आत्मसात गरेर भारतीय सम्विधान निर्माताले विविधतामा एकताको सूत्र राखे। सम्विधानलाई धर्म निरपेक्ष बनाइयो। धर्म निरपेक्षताको सहयोगी विधि ऐन बनाइयो। मेरो बुझाइ यस्तै थियो।
१९९० तिर भने भारतको धर्मनिरपेक्षताप्रति तीव्र प्रहार भएको राजनीतिक भाषण सुनिन थालियो। यो एक राजनीतिक दावपेँच मात्र हो कि उनीहरूको प्रतिबद्धता हो मैले ठिम्याउन सकेको थिएन।
२०१० देखि फेसबुक वाट्सएप र विविध लेखादिमा मैले एउटा नयाँ शब्द आउन थालेको देखेँ त्यो हो लिब्रान्डु। लिब्रान्डु भनेर भद्दा गाली गलौच गरेको जताततै देखिन थालियो। लिब्रान्डु भनेको लिबरललाई भनेको रहेछ भनेर बुझे पछि लिबरल हुनु भनेको त सबै विचार धर्म आस्थाको समान सम्मान गर्नु हो र एकप्रकारले यो वसुधैव कुटुम्बकम अवधारणासित ठ्याक्कै मिल्ने हो। फेरि किन विरोध?
यसको रहस्य जान्न आधा दर्जन किताब पढिसकेर पनि मलाई अलमल नै भएको थियो। भर्खरै एक नयाँ पुस्तक आएको रहेछ। पुस्तक भारतमा नागरिकता ऐन संशोधनले ल्याएको विरोध प्रदर्शनवारे थियो। समकालीन भारतमा लिबरल धारणाको किन विरोध भइरहेछ किताबले बुझाएको रहेछ। धेरै वर्ष पछि मैले धर्मनिरपेक्षवाद र धार्मिक उदारताबारे किन गाली गलौच गरिन्छ यही किताबबाट बुझेँ।
सबअल्टर्न स्टडिज ग्रुपले १९८० को दशकमा गरेको एक अध्ययनले टेलिभिजनमा रामायण र महाभारतको सिरियल देखाए पछि यसले भारतमा धार्मिक ध्रुवीकरण र धर्म निरपेक्षतामा प्रहार गर्नेछ भन्ने सिद्धान्त राखेको थियो। उक्त अध्ययन पत्रको अडान मलाई विश्वसनीय लागेको थिएन। भारतीय समुदाय त्यति साह्रो धार्मिक कट्टरता भएको छैन। यो टेलिभिजन सिरियलले मनोञ्जनको रुपमा पनि हेर्नेछ। ठिकै हो रामायण र महाभारत हिन्दू समुदायको आराध्य ग्रन्थ हो तर यसले लेखले भने झै उग्रता ल्याउने छैन भन्ने मेरो बुझाइ थियो। तर म कस्तो भ्रममा रहेछु भन्ने कुरा अध्ययन पत्रको तीस वर्ष भित्रै यसको भविष्यवाणी आफ्नै आँखा अघि सत्य भएको देख्दा झसङ्गै भएको छु।
हामीले सामाजिक सरोकार विषय पढेनौँ भने हाम्रो अघि घटिरहेका घटनाक्रमप्रति अनभिज्ञ रहने जोखिम रहन्छ। यसले हाम्रो भविष्य नै भडखालोमा पार्न सक्छ भन्ने कुरा बुझ्नको लागि नै यस्ता ग्रन्थ पढने गरेको हुँ।
मलाई लाग्छ जीवन र जगत जटिल छ। प्रकृति हाम्रो निम्ति अझ पनि रहस्यमय नै छ। मानव शरीर मानव कै निम्ति अझै रहस्यमय रहिआएको छ। लेखन हाम्रो यही रहस्य उदघाटन गर्ने प्रयासको पाइला हो। हुनत लेखन सोझै अभिव्यक्ति र भाषासित जोडिएको हुन्छ। भाषा बिना लेखन हुँदैन। भाषा र लेखनको निम्ति कथाको आवश्यकता यही आएर हुन्छ। हाम्रो बुझाइ वास्तवमा कथाको रुपमा आएको हुन्छ। बिना कथा समाज निर्माण हुँदैन। लेखनलाई यसैले भाषा, अभिव्यक्ति, कथा र रहस्योदघाटनको बाटो भन्न मिल्छ। मेरो निम्ति लेखन जीवनको अनन्त यात्राको एक साथी हो। लेखन भन्नाले वास्तविक लेखन नभएर त्यसप्रकारको बुझाइसित सम्बन्धको अर्थमा भनिएको हो। हाम्रो धामीझाँक्री परम्परामा बताइन्छ झाक्री वास्तवमा आफै एक रोगी हो। उसले जब अर्को रोगीको उपचारको निम्ति चिन्ता बस्छ उसले बिमारीको स्वास्ती मात्र होइन त्यसबाट आफ्नै उपचार पनि भइरहेको हुन्छ। लेखन पनि एक त्यस्तै प्रक्रिया हो उसको लेखन उसको पाठकको निम्ति मात्र नभएर लेखक स्वयमको निम्ति पनि हो र हुनुपर्ने हो। यद्यपि यस्तो तादात्म्य मिलेको भने नहुन पनि सक्छ। यही कारण लेखनमा तनाव रहेको हुन्छ।
8, के भारतिय नेपाली समाज भारत भित्र ' परिचय' को लडाइ लड्न अझै पनि बाध्य छ ? कि सिक्किम र दार्जलिङ लगाएत डुअर्स , असम को अबस्था फरक छ ?
उत्तर : उदयजी यो प्रश्नको उत्तर दिन ज्यादै गाह्रो छ, अतिसम्वेदनशील पनि छ। मैले पनि यो परिचयको संकट भनेर नेपाली समुदायबाट नभएर एक सिक्किमेली लेप्चा समुदायको उच्च अधिकारीको मुखारविन्दबाट पहिलो चोटि सुनेको हुँ।
१९९१ म संस्कृति विभागबाट स्थान्तरन भएर भूमि राजस्व विभागमा पुगेको थिएँ। हाम्रो विभागको प्रमुख लेप्चा समुदायको अधिकारी थिए। उनी सिक्किमको धनाठ्य परिवारको मुखिया थिए। दिल्लीमा विभागीय सभामा भाग लिन गइरहेको बेला नेपाली भाषा मान्यता आन्दोलन लिएर केही प्रतिनिधि दिल्लीमा थिए। उनीहरूसितको बातचितको शिलशिलामा मेरो विभागीय प्रमुखले भने " भारतमा नेपालीहरूमा परिचयको सङ्कट भएको मससुस गर्छ। यही परिचय सङ्कट समाधान गर्न भाषा आन्दोलन गरेका हुन।" म आफै पनि त्यतिबेला यही आन्दोलनमा सक्रिय रहेको हुनाले तरङ्गित भएँ। मैले भाषा आन्दोलनलाई परिचय सङ्कटको दृष्टिकोणले हेरेको थिइनँ। मलाई लाग्थ्यो भाषा मान्यता सम्वैधानिक अधिकार हो र भारतीय नेपाली भाषी समुदायले ती सबै हक र अधिकार उपभोग गर्न पाउनुपर्छ जो एक नागरिकले पाउने हो। भाषा मान्यता रोजगार भाषा विकास र नेपाली साहित्य सम्वर्धनसित पनि उतिकै सान्दर्भिक हुनाले यसलाई भारतमा नेपाली समुदायको जीवनसित जोडेर हेर्न उपयुक्त हुन्छ सम्झन्थे। यही कारण यसको धेरै महत्त्व रहेको मेरो बुझाइ रहेको थियो।
सिक्किममा राजशासनकालमा नेपाली समुदाय भनेर एक छुट्टै पहिचान थियो। सिक्किमको तीन रैथाने समुदाय भनेर भोटे लाप्चे नेपाली भनी स्पष्ट परिचय थियो। यही हुनाले सिक्किमेली नेपालीलाई पहिचानको सङकटको प्रश्न थिएन। यही तरिकाले नागाल्यान्डको गोर्खा समुदायलाई पनि परिचय मुद्दा थिएन। नागाल्यान्डको सत्ताले नागाल्यान्डको जनजातिले पाउने सबै अधिकार त्यहाँको रैथाने गोर्खा समुदायलाई दिएका थिए। तर यहाँ ध्यान दिनुपर्ने शब्द हो नागाल्यान्डमा नेपाली होइन तर गोर्खा भनेर परिचय छ। यसैले भारतको दुई राज्यहरूको नेपाली समुहमा परिचयको सङ्कट थियो भन्न मिल्दैन। भारतीय नेपालीको परिचयको लडाइँ सोझै दार्जिलिङ्गसित जोडिन्छ किनकि परिचयको प्रश्न एक राजनीतिक प्रश्न हो। भारतका नेपाली समूहमा शिक्षाको ज्योति लाभ सबैभन्दा पहिला दार्जिलिङ्गवासीले पाए। १८३५ मा अङ्ग्रेजले सिक्किमबाट दार्जिलिङ्गले हात पारेपछि यसलाई उनीहरूले विकास गरे। चियाबगान लगाए पाठशाला बनाए। बाटो रेल बिजुली ल्याए। भारतमा पहिलोपटक जलविद्युत परियोजना दार्जिलिङ्गमा भएको हो। यसको आवादी द्रुतगतिमा बड्यो।
दार्जिलिङ्गको प्रशासन भने शुरुदेखि अल्पकालिक व्यवस्था जस्तै प्रकारले भएको थियो। यो भूभागलाई घरि घरि विभिन्न प्रशासननिक केन्द्रमा सारेको देखिन्छ।
शिक्षाको प्रचारले भारतमा स्वतन्त्रता आन्दोलनले ल्याएको राजनीतिक चेतनाको लहर दार्जिलिङ्गवासीलाई प्रभावित पार्यो। यही बाट उनीहरूको राजनैतिक अधिकार र स्वायत्त शासनको प्रश्न हल गर्नुपर्ने आवश्यकताको बोध जन्म्यो।
दार्जिलिङ्गले स्वायत्त शासन माग्न थालेको १९०९देखि नै हो। यहीबाट शुरु हुन्छ उनीहरूको परिचय र अस्तित्वको सङघर्ष। १९१७ मा दार्जिलिङ्गको भोटे लाप्चे र नेपाली तीनै समुदाय मिलेर एक सङ्युक्त ज्ञापन चडाएको थियो जसमा भनिएको थियो दार्जिलिङ्ग जिल्लाका वासिन्दाहरू बंगालका अन्य वासिन्दा भन्दा भिन्न छ। परापूर्वकालदेखि नै उनीहरू बंगालदेखि अलग बाँचेको छ। नेपालीहरू हिन्दू नै भए पनि मधेसी हिन्दू भन्दा फरक छ। उनीहरूले यो प्रतिवेदनबाट स्पष्ट बताएको देखिन्छ दार्जिलिङ्गलाई एक भिन्न अस्तित्व भएको प्रान्त मान्नु पर्नेछ र उनीहरूलाई अन्यको शासनाधीन भन्दा स्वायत्तता दिनुपर्नेछ।
भारतमा नेपाली भाषी समूह एक ठाउँमा नभएर अनेक ठाउँ छरिएका छन। भिन्न भिन्नै स्थानको नेपालीहरूको समस्या पनि भिन्न भिन्नै छ। दार्जिलिङ्गको नेतृत्व वर्ग भारतीय नेपाली समूहम सबैभन्दा बडी शिक्षित आत्मसचेत एवम राजनीतिक रुपमा सक्रिय रहने हुनाले समस्त भारतीय नेपाली भाषी समूहको प्रतिनिधित्व गर्न उनीहरू अघि बडे।
दार्जिलिङ्गवासीमा सर्वभारतीय परिवेशमा आफ्नो अस्तित्व अक्षुण्ण राख्नु चेतना यसरी आयो। तर यसले परिचयको आभास र सङ्कटको बोध पनि गरायो। हामीले बुझ्नु पर्ने कुरा के हो भने सबै भारतीय नेपाली भाषी समूहमा एक सरह राजनीतिक चेतना छैन, शिक्षाको स्तर एक समान छैन र आर्थिक आधार पनि भिन्न छ। धेरै राज्यमा अल्पसंख्यक भएर बसेका नेपाली भाषी समूहले नेपाली भाषा बिर्सिसकेका छन आफ्नो पुर्ख्यौली संस्कार धेरथोर भुलिसकेका छन। उनीहरूको स्थानीय समस्या नेपाली समुदाय परिचय सङ्कट भन्दा पनि दैनन्दिन जीवनको भोगाइ र अन्य समुदायसितको सहअस्तित्वमा बडी रहेको हुन्छ। परिचय पहिचानले उनीहरूलाई अन्य समुदायबाट अझ अलग्याउँछ र समस्या बडेर जाने हो घटने होइन। विविधतालाई सकारात्मक दृष्टिले बुझ्ने मुख्य धाराको भारतीय परिवेशमा छैन भने पनि हुन्छ। नभन्दै एकाध त्यस्तो गाउँ समाज छन जहाँ सौहार्दता र सम्पृति भएको देख्न सकिन्छ। मैले देखेको यस्तै एउटा गाउँ हो हिउरे बजार जो महारष्ट्र राज्यको एक सानो गाउँ हो। गाउँमा एक मात्र मुस्लिम परिवार रहेछ तर हिन्दू गाउँलेहरू मिलेर यो एक मात्र मुस्लिम परिवारको निम्ति मस्जिद बनाइदिएको रहेछ। यति कै सुन्दर गाउँ भारतभरिमा अर्को भने देख्न पाएको छुइनँ।
सामान्य रुपमा भारतीयहरू जुन ठाउँमा आफ्नो जात आफ्नो धर्म सके आफ्नै बिरादरी छ त्यही घर बनाएर बस्न रुचाउँछ। अङ्ग्रेजीमा घेट्टो भने जस्तो यही व्यवस्था उनीहरूलाई सुरक्षित लाग्छ। नेपाली समुदाय असम, मणिपुर, मेघालयतिर यही प्रकारले बसोबास गरेका छन। सिक्किममा पनि नेपाली समुदाय यसरी नै रहिआएको देखिन सकिन्छ। हुनत केही गाउँमा भने विविधता पाइन्छ।
समग्र भारतीय समाजमा नेपाली भाषी एक अल्पसंख्यक समुदाय हो। २०११ को जनगणनामा नेपाली भाषी समुदायको सङ्ख्या ३० लाख मात्र देखाइएको थियो। धेरै ठाउँका नेपाली समुदायमा चेतनाको अभाव रहेको हुनाले कि त उनीहरू जनगणनाबाट छुटे कि गलत जानकारी दिए। भारतमा नेपाली समुदायको फैलाउट विचार गर्दा यो भन्दा धेरै हुनुपर्ने हो। नेपाली समुदायले भने करोड अधिक रहेको दावी गर्दछ।
परिचयको प्रश्न दार्जिलिङबाट जन्मेको हो। भारतमा दार्जिलिङ मात्र एक त्यस्तो क्षेत्र वा जिल्ला हो जहाँ नेपाली भाषी समूह बहुसंख्यक मात्र होइन राजनैतिक रुपमा शक्तिशाली छ। यहाँको राजनीति बहुसंख्यक नेपाली समुदायको अधीन छ। तर पश्चिम बंगालको एक जिल्ला हुनाले यसको प्रशासन भने कलकत्ताले नियन्त्रण गर्दछ। जिल्लाको प्रशासनिक नियुक्ति कलकत्ताबाट हुन्छ। पश्चिम बंगालको जनसंख्या हाल १० करोड पुगनपुग छ। दार्जिलिङ्गको जनसंख्या १८ लाख मात्र हो। पश्चिम बंगाल बंगाली बहुल राज्य हो। बंगाली राष्ट्रवादले हावी भएको राज्य पनि हो। अन्य भारतीयहरू झैँ बंगाली राष्ट्रवाद दार्जिलिङगको भिन्न संस्कृति भौगोलिक परिवेशलाई खासै प्राथमिकता दिँदैन। दार्जिलिङ उनीहरूको अधिकार क्षेत्र रहेको मान्दछ। दार्जिलिङ्गवासीलाई यही कुराले पीडा दिन्छ। दार्जिलिङ्गको भूमिको स्वामित्व बंगालीले दावी गर्छ तर यो ठाउँको रैथाने नेपाली समुदायलाई भने त्यही प्रकारको सम्मान दिँदैन। अङ्ग्रेज शासनकालमा दार्जिलिङ्ग अङ्ग्रेजहरूको दमनमा पर्यो। भारत स्वतन्त्र भएपछि फेरि बंगालको दमनमा पर्यो। उनीहरूले मुक्ति पाउन सकेन। दार्जिलिङ्गलाई यही कारण दुखित बनायो। आफ्नो सत्ता आफैसित हुनुपर्ने आवश्यकता बुझेर उनीहरू आफ्नो अस्मिताको सङ्घर्ष पछिल्लो एक शताब्दीदेखि लडिरहेछ।
दार्जिलिङ्गवासीको यो लामो सङ्घर्ष तर उनीहरूले दार्जिलिङ्गको मात्र सत्ताको लागि मात्र नभएर सम्पूर्ण भारतीय नेपालीको निम्ति हो भन्ने भाष्य निर्माण गरे। यही भाष्य सबै भारतीय नेपाली माझ पुर्याए। सर्वभारतीय मुद्दाको लागि भारतीय नेपालीको राष्ट्रिय स्तरमा उपस्थिति दिलाउन नै थप मुद्दा परिचयको सङ्कट जोडिन पुग्यो।
दार्जिलिङमा भाषाको मुद्दा त त्यति नै समाप्त हुनुपर्ने हो जब १९६१ मा पश्चिम बंगाल सरकारले नेपाली भाषालाई सरकारी भाषाको मान्यता दियो। तर राज्य स्तरमा मान्यता पाए पछि राष्ट्रिय स्तरमा पनि यसले मान्यता पाए मात्र भारतीय नेपालीको अस्मिताको सम्मान हुनेछ भन्ने अर्को भाष्य निर्माण भयो। नभन्दै १९९२ मा राष्ट्रिय मान्यता पायो भाषाले। परिचयको सङ्कट यसले मेटाउनु पर्ने हो यदि पुरानो भाष्यले यसलाई परिभाषित गर्नु हो भने। तर यो मुद्दा अहिले गोर्खाल्यान्डले मात्र समेट्न सक्छ भन्ने नयाँ भाष्य निर्माण भएको छ।
दार्जिलिङ्गले आफ्नो समस्यालाई राष्ट्रिय समस्या सम्झन्छ र यसको हल राष्ट्रिय स्तरमा हुनुपर्छ भन्छ। दार्जिलिङ्गले भारतीय नेपालीको समस्याको धुरी दार्जिलिङमा रहेको र बुझ्छ। उनीहरूले यसलाई दार्जिलिङ्गलाई केन्द्रमा राखेर मात्र बुझिरहेका छन। अर्को शब्दमा भन्नू हो जो दार्जिलिङ्गको समस्या हो त्यो नै सबै भारतीय नेपालीको समस्या हो र दार्जिलिङ्गको समस्या समाधान भए सबै समाधान हुने धारणा राखेको देखिन्छ।
भारतमा सिन्धी समुदाय छ। सिन्धीहरूको मूल भूगोल सिन्ध प्रान्त हो जो भारत विभाजन हुँदा पाकिस्तानमा पर्न गयो। पाकिस्तानबाट यी सिन्धीहरू विभाजनपछि भारत आए र गुजरात र महाराष्ट्रमा उनीहरू आवाद भए। स्वतन्त्र भारतमा राज्य विभाजन हुँदा भाषालाई मुख्य आधार बनाइएको थियो। यही आधारमा विभिन्न राज्यहरूको गठन भयो। सिन्धी एक अलग भाषिक समुदाय थियो भारतीय नै थियो तर उनीहरूको निम्ति राज्य निर्माण भएन। सिन्धी भाषीको राज्य छैन।
भारतमा सिन्धीहरू ठूलाठूला व्यापारीहरू छन। भारतीय जनता दलको ठूलो नेता लालकृष्ण आडवानी सिन्धी हुन। विश्वको धेरै देशहरूमा सिन्धीहरू छन र त्यहाँ उनीहरू व्यवसाय मै छन। सफल छन। उनीहरूको एकता दरिलो छ। सिन्धी भाषाले १९६६ मा सम्वैधानिक मान्यता पाएको हो। सिन्धी भाषाले मान्यता पाएको देखेर नेपाली भाषाले पनि मान्यता पाउने रहेछ भनेर नेपाली भाषी समूह प्रेरित भएको हो। सिन्धीहरूले आफ्नो राज्य हुनुपर्छ भनेर धर्ना प्रदर्शन गरेको कहिले समाचारमा आएन।
२०१६ मा भारतीय साहित्य अकादमीले आयोजन गरेको कार्यक्रममा उपस्थिति दिन मुम्बई गएको थिएँ। उक्त कार्यक्रममा सिन्धी साहित्यकारको सहभागिता थियो। एक सिन्धी कविले कविता आवृत्ति गर्दा मैले पहिलोपटक थाहा पाएँ सिन्धीहरूलाई आफ्नो राज्य नभएको पीडा रहेछ भन्ने। उसको कविताको सार थियो एक परिवारले विशाल घर बनाए। त्यहाँ सबै दाज्यभाइको कोठा बनियो। तर एक भाइको कोठा बनिएन। अब उसको घर त छ ऊ त्यही घरको सदस्य हो भनेर सबैले मान्छ तर त्यहाँ उसको कोठा छैन।
कविले सिन्धी समुदायको अवस्था यसरी चित्रण गरेको देख्दा मलाई झसङ्ग गोर्खाल्यान्ड माँगसित तुलना गर्न मन लागेको थियो।
यद्यपि सिन्धी र नेपाली समुदायले पहिल्याएको सङ्घर्षको बाटो भने विल्कुल भिन्न छ। सिन्धी आफ्नो समुदायको आर्थिक सामाजिक समृद्धिलाई बडी महत्व दिएको र परिचयको सङ्कट नरहेको देखिन्छ । नेपाली समुदाय आर्थिकसामाजिक विकास परिचय र आत्मनिर्णयको समाधान पछि मात्र आउने प्रक्रिया हो भन्ने तर्कमा भरोसा गर्दछ। यसैले परिचयको सङ्कट, सङ्घर्षरत एवम चिन्ताग्रस्त।
सिन्धी र दार्जिलिङ्गे नेपाली बीच बुनियादि विभाजन छ। सिन्धी पाकिस्तानको कराची क्षेत्रबाट विस्थापित भएको हो र उनीहरूले मराठी र गुजराती समुदायले मलजल गरेर विकास गरेको भूमिमा उपभोक्ता भएर रहेको छ। दार्जिलिङ्ग तीन सय वर्ष अघि घना बनजङ्गलले आच्छादित थोरै मात्र आवाद भएको क्षेत्र थियो। आजको बिकसित र सबै बुनियादि भौतिक पूर्वाधार भएको दार्जिलिङ नेपाली भोटे लेप्चा समूहले निर्माण गरेको हो। यो उनीहरूको रगत र पसीनाको फल हो। यही कारण दार्जिलिङ्गीय नेपाली यहाँको माटोसित भावनात्मक रुपमा जोडिएको हुन्छ त्यही सम्वेदनशीलता राख्दछ। सिन्धी कुनै एक विशेष भौगोलिक क्षेत्रमा आफ्नो भावनात्मक सम्बन्ध नहेरे सर्वभारतीयतामा आफ्नो अस्मिता बुझ्दछ। दार्जिलिङ्गले माटोको आन्दोलन यही हुनाले गरेको हो र सिन्धी त्यस्तो आन्दोलन रत हुन कुनै ऐतिहासिक आधार छैन।
हामी दार्जिलिङ्गीय नेपालीमा परिचयको सङ्कट यस दृष्टिकोणले पनि हेर्न सक्छौं।
9, नेपाल भित्र लेखिरहिएको नेपाली साहित्य लाई तपाईं कसरी हेरिरहनुभएको छ ? यता हामी छुदेन को उरमाल देखि टीका भाइ को काचको पोखरी सम्म पढ्न पाइरहेका हुन्छौ र कतिपय किताब हरु चाहेर पनि पढन पाइदैन , तुअता तिर यता लेखिएको कुरा कत्तिको पुग्छ ?
उत्तर : भारतमा हाल नेपालमा लेखिएका साहित्यको आकर्षण धेरै बडेको छ। नेपालमा लेखिएका उपन्यासको बजार छ। नभन्दै लेखनाथ पौड्याल बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटा कालदेखि नै भारतीय नेपाली पाठकले नेपालका लेखनलाई सम्मानको साथ हेर्न लागेको हो। नेपालका सबै प्रकाशनहरू भारतमा सबै उपलब्ध त हुँदैनन् तर जे जति उपलब्ध हुन्छन तिनीहरूले पाठक पाएकै हुन्छ।
मेरो दृष्टिमा नेपालको समकालीन साहित्यले आफ्नो क्षेत्र फराकिलो बनाएको छ। पछिल्लो कालका लेखनलाई उत्तराधुनिकतावादी लयोटार्डको शब्दमा भन्नू हो भने अघिल्ला चरणका लेखन मेटानेरेटिभ अथवा महाख्यान थिए। विशेष दर्शन धर्म र आदर्शको मापदण्डमा लेखिएका हुन्थे। विविध सर्जक रहे तापनि वैचारिकतामा एकरूपता थियो। सबैको सार एकरस रहन्थे।
समकालीन नेपालका लेखन भने लिट्टल नेरेटिभ अथवा लघु आख्यानको रुप लिएर आएको छ। किनारमा रहेका समुदाय, संस्कृति, परम्परा, भाषा, विचार लेखनमा आउन थालेको छ। यसले नेपाली लेखनलाई देश र धर्मबाट समाज र समाजबाट व्यक्तिमा अवतरण गराएको छ। नेपालका आजका लेखन समाजप्रति बडी सचेत देखिन लागेको छ। पुरानो साहित्य निर्देशनात्मक थिए। लेखक ज्ञानी/गुरु र पाठक अज्ञानी/शिष्यको तिर्यकता देखिन सकिन्थ्यो। लेखकको वरियता रहेको थियो। हिजोआजका नेपालका लेखनले यही वरियताको तिर्यक सम्बन्ध मेटाइदिएको भान हुन्छ। भुईँको आवाज दबिएको थिचिएको हेपिएको श्रेणीवाट समाजको माथिल्लो तहमा विराजमानहरूप्रति औला ठड्याउने सचेत गराउने काम भएको छ। सत्ता र शासितको अमेल सम्बन्धले समाजको संरचनामा प्रश्न राखेको एक नयाँ सौन्दर्य शास्त्र विकसित हुन थालेको बुझिन्छ।
सारांशमा भन्नू हो भने भारतीय पाठक नेपालका लेखनसित हिजोआज परिचित छन।
10, के भारतिय नेपाली साहित्री आख्यान र निबन्ध पट्टि अलि बढी लहसिएको हो यश बखत ? नेपाली मा लेखिइरहेको साहित्री को स्तर लाई लिएर तपाइको पाठकिय प्रतिक्रिया के छ ?
उत्तर : भारतीय नेपाली साहित्यमा निबन्ध धेर लेखिएको छैन। हालमा केही सर्जकहरू सजक भएर निबन्ध सिर्जनामा लागेका छन।
भारतीय साहित्य प्रारम्भिक कालमा सशक्त आख्यानको साथ देखा परेको हो। तर पछि गएर कविताले ओझेल बनायो। कविता नै बडी लेखिए। भारतीय नेपाली साहित्यमा सबैभन्दा बडी सङ्ख्या कविहरू नै छन र कविता पुस्तक अधिक रहेका छन। जब नेपालबाट उत्कृष्ट उपन्यास लेखिन थालेर बजारमा आउन थाल्यो यसले भारतीय सर्जकहरूमा प्रभाव पार्यो। पाठकमा जान आफ्नो उपस्थिति दर्ता गर्न उपन्यास लेख्नु पर्ने रहेछ भन्ने बुझे। यसमा लेखकीय अस्मिता, सिर्जनधर्मिता, लोकप्रियता एवम साहित्य जगतमा आफ्नो कुरा दह्रो र सहज राख्न सक्ने क्षमता सबै समेटिएको बुझिनु पर्छ। नेपालका सर्जकहरूलाई नाम र दाम दुवै दिन सकेको बुझे यताका सर्जकहरूले। यसले झन आकर्षण बडायो। समकालीन समयमा भारतीय साहित्यले आख्यान लेखनमा फडको मारेको विदित छ।
लेखनको धारमा भने अन्तर आएको छ। ओकियुयामा ग्वाइन, इन्द्रबहादुर राई, पिटर जे कार्थक, मच्छिन्द्र प्रधान जस्ता उपन्यासकारहरूले जुन धारमा लेखे आजको नयाँ परिपाटी भिन्न परिपाटी लिएर आएका छन। ती अघिल्ला सर्जकहरू आख्यानलाई विषयात्मकता भन्दा कलात्मकताप्रति जोर दिएका थिए। भाषिक कला र विचार केन्द्रमा रहेको हुन्थ्यो भने आजका आख्यान विषयकेन्द्रित बडी भएर आएको देखिन्छ। लेखनलाई समाजपरख बनाउने चेष्टाको चेतनाले प्रबलता पाएको छ। समकालीन चेतनालाई लिएर लेखिएको लेखन बडी आएको छ। अघिल्ला उपन्यासकारहरूले सर्वकालिक विषय (युनिभर्सल) आफ्नो रचनाको केन्द्रमा राखेका थिए भने आजका उपन्यासकारले तात्कालिक (टपिकल) विषयलाई लिएर लेखेका छन।
Comments
Post a Comment